युनिकाः मन छुने मार्मिक उपन्यास

- अर्जुन यावा

धेरै भएछ नलेखेको। खासगरि कुनै पुस्तक पढेपछि, पढेको पुस्तकमाथि। रहरमा कविता-कथाहरू लेख्ने प्रयाससम्म गर्छु। लेख्छु। नेपाल छिरेका समय दुई-चार पुस्तक ल्याउँछु। नयाँ, प्रकाशनको आधारमा होइन। मेरो निम्ति नयाँ। विगत दुईवर्षदेखि प्रायः नेपाल जाने-आउने क्रम चलिरहेको छ। यसक्रममा धेरैवटा पुस्तकहरू पढ्ने अवसर प्राप्त भयो। तर, विक्रम संवत 2072-मा प्रकाशित उपन्यास ‘युनिका’- भर्खरै मात्र पढ़्ने अवसर प्राप्त भयो। यसै वर्षमात्र दमकमा भेट भएको हो आख्यानकार घनश्याम ‘पथिक’-ज्यूसित। त्यसअघि नै सिक्किममा हाम्रो परिचय भइसकेको हो। गजलकार जीविका अश्रुबाट पाउनसकें उनको ‘युनिका’। लेखकहरूसित पहिले पनि नभेटेको होइन। भेटिएका लेखकहरूका कृतिहरू पहिले पनि नपढेको होइन। तर, युनिका पढेपछि समीक्षा गर्न नसके पनि मनमा लागेका कुराहरू केही त लेख्नुपर्छ भनेर मनमनै मलाई मेरै मनले भनेपछि मैले के गर्ने? लेखकले- ‘कृपया मेरो दुर्बल पक्षहरूको उजागर गरिदिनुहोला ताकि भविष्यमा सुधारेर म फेरि नयाँ आख्यानको स्वाद पस्किन सकूँ’ भन्नुभएकै छ लेखकीयमा। ‘युनिका’-माथि मैले केही भन्ने अथवा लेख्ने दुस्सहास हुनसक्छ। त्यसैले अघिबाटै क्षमाप्रार्थि छु ‘पथिक’-ज्यूसित। तर, दुर्बल पक्षहरू देखाउन म सक्दिन।
भारततिरबाट प्रकाशित हुने प्रकाश कोवितका धेरै उपन्यास सानोमा खुब पढेको हूँ। प्रेमरसले पूर्ण उनका उपन्यासहरू जति पढें, प्रायः एकैरातमा पढीसिध्याउथें। वास्तवमा भन्ने हो भने मलाई उपन्यास पढ़्ने बानी बसाएकै प्रकाश कोवितका उपन्यासहरूले हो। उनका उपन्यासहरू अनि अन्य धेरैका उपन्यासहरूसितै पछिपछि पाठ्यक्रममा परेका नेपाल र भारततिरका उपन्यासहरू पनि घेरै पढियो। तर, पछिपछि पढिएका उपन्यासहरू एकैरातमा छिचोल्न सकिनँ। पाठ्यपुस्तकबाहिरका धेरै उपन्यासहरू पढें, विशेष नेपालतिरबाट प्रकाशित। पढेर तर थोरै लेख्ने जाँगरसम्म चलाइन। किन? थाहा छैन। युनिका जति पढ़्दै गएँ, उति मलाई प्रकाश कोवितको धेरै सम्झना गरायो। जीवनमा तर कहिल्यै भेट्ने अवसर मिलने कोवितसित। युनिका पढ़नअघि नै ‘पथिक’-ज्यूसित भेटने अवसर पाएँ। जम्मा 260 पृष्ठको ‘युनिका’ एकैरातमा पढी सिध्याउन चाहेपनि मेरो निम्ति सम्भव बनेन। किन? बताएर आफैलाई ओभानो बनाउन उचित लागेन। बताइन।
‘भाइ तपाईंले घनुको युनिका पढ़्नुभयो?’
‘को घनु?’
‘के त, दमकमा भेटेको?’
‘हँ...।’
‘लौ...। पथिक क्या। हिमशिखर टेलिविजनका कार्यक्रम सञ्चालक। घनश्याम पथिक।’
‘ए..। अनि त्यसो भन्नु न त।’
एकदिन यस्तै कुराकानी भएको थियो दिदी ‘अश्रु’-सित। ‘अश्रु’ अर्थात गजलकार जीविका ‘अश्रु’। सम्झना भयो पथिकज्यूको। कत्ति सरल मानिस। मिलनसार। छिट्टो मित्रता गाँस्नसक्ने। मनमा बस्ने। उनको उपन्यास पनि त्यस्तै हुनुपर्छ भन्ने लाग्यो। ल्याएँ। पढें। पढ़्दैगर्दा मनमा लेख्छु केही भन्ने सोच्दै गरेको हो। किनभने उपन्यासमा जति कथा पढिरहेको थिएँ त्यति कहीं, कतै आफूलाई पाइरहेको थिएँ। जति घटनाहरू हुँदै जान्छन्, उति आफै दुःखी हुन्छु। पुगेको हुन्छु विगतमा, अतीतमा। सैद्धान्तिक आधारमा बाँधिएर यहाँ केही लेख्न नसक्ने यो अवस्थामा यति भन्न मन लागेको छ ‘पथिक’-ज्यूसित - ‘यो केवल तपाईंको उपन्यास मात्र होइन। उपन्यासमा तपाईंका कल्पना मात्र छैनन्। यो एउटा सत्य हो। कतै, कहीं, कसैले भोगेको। भोगिरहेको।’
जम्मा-जम्मी दुईपल्ट पुगेको हूँ म काठमाडौं। एकपटक साहित्यिक कार्यक्रमका लागि। एकपल्ट पोखरादेखि पुस्तकहरू किन्नैको लागि। म आफै थोरै घुमेको काठमाडौंभित्रै धेरै घुमिरहेको उपन्यासले काठमाडौं धेरै चिनायो। काठमाडौंको अवस्था बुझायो। भविष्य चम्काउन हजारौं-लाखौं सपनाहरू बोकेर काठमाडौंमा पुग्ने युवाहरूको अवस्था देखाएको छ युनिकाले। अघि भनें- यहाँ मनमा लागेका कुराहरूलाई जस्ताको तस्तै लेख्ने प्रयास गर्दैछु। त्यसैले यहाँ सम्झनामा रहेका कुराहरू लेख्दैछु। पढ्दा थोरै टिपेका कुराहरू लेख्दैछु। पढ़्दा धेरै टिप्पणी गर्नसम्म मेरो निम्ति बाधा बनिरहेको थियो। तर, मन लागेको छ लेख्न।
तराई झापाको एउटा स्कूलबाट शुरू भएको उपन्यासको कथाले फ्ल्यासब्याकमा काठमाडौंको बसपार्कमा ‘कान्छो’ र ‘समिक’ छुट्टिन लागेको घटनादेखि वास्तवमा उपन्यास शुरू हुन्छ। उपन्यास शुरू गर्नेसाथै मलाई तानेको होइन युनिकाले। उसो त प्रेम प्रसंगमाथि लेखिएको भन्ने थाहा पाएपछि खै किन हो किन पढ्न निक्कै उत्सुक बनेको हूँ। अझ पढ़्दैजाँदा लेखिएको रहेछ- ‘म बुद्धलाई चिन्छु तर बुद्धले मलाई चिन्दैनन्। मैले बुद्धलाई पढेको छु तर बुद्धले मलाई पढेका छैनन्।’ त्यसपछि त उपन्यास म पढ़्छु नै भन्ने लागेको हो। फेरि लेखिएको रहेछ- ‘बुद्ध र सगरमाथाको नामले चिनिएको नेपाल...।’ उपन्यासमा मात्रै प्रेमकहानी छैन। प्रेमरसमा आधारित उपन्यासमा प्रेमरसका कुराहरू मात्रै छैनन्। हिन्दी चलचित्र ‘तेरे नाम’ हेरेपछि धेरैले चुकचुकाएजस्तै ‘युनिका’ पढिसकेपछि मलाई पनि चुकचुकाउनु मन नलागेको होइन। तर, ‘तेरे नाम’-को पोस्टरमा ‘काश ये कहानी सत्य ना होता...’ यस्तै के लेखिदिएजस्तै उपन्यासको अन्तिम पृष्ठतिरै भए पनि ‘काश यो कथा सत्य नभइदिएको भए...’ लेखिएको भए हुने नि जस्तै लागेको हो मलाई।
बसपार्कबाट ‘कान्छो’-को बस छुट्टिसकेको समय- ‘गाडीले अचानक स्टार्ट बन्द गर्‍यो। म हत्त न पत्त उत्रिएँ। कान्छो गएतिर हेरें। फर्किए हुन्थ्यो झैं लाग्यो मनमा। फेरि नफर्कियोस् जस्तो लागिहाल्यो। फर्की भने फेरि छुट्न गाह्रो हुन्थ्यो।’ पढिसकेपछि कान्छो नै युनिका हो कि..? भन्ने जिज्ञासा जागिरहेको थियो। यस्ता धेरैवटा जिज्ञासाहरू घरिघरि उठिरहने भए पनि त्यो बुझ्न उपन्यासको अन्तसम्म पर्खिरहनु नपर्ने एउटा पक्ष उपन्यासमा छ। पहिले त्यो नहुनु पर्नेथियो, कुनै पनि जिज्ञासाको खुलासा अन्तमा हुनुपर्ने थियो जस्तो लागेका भए पनि यही कुराले उपन्यासमा सत्यता झल्काएको पाउन सकिने मलाई लागेको हो। यही एउटा पक्ष हो जसले उपन्यास काल्पनिक नभएर यथार्थ लाग्नसक्छ।
अर्को एकठाउँ लेखिएको छ- ‘हिजो पैदल हिँड़्नेले आज बाइकको चाहना गर्छ। बाइक चढ़्ने कारको कल्पनामा चुर्लुम्म डुब्छ। यस्तै चाहना गर्दागर्दै मान्छेको एकदिन अन्त्य हुन्छ।’ उपन्यास प्रेमिलकथा मै घुमिरहँदारहँदा पनि जीवनप्रतिको दर्शन यसरी पाउन सकिन्छ उपन्यासमा। माया, प्रेम, आफ्ना-आफन्त, धन-सम्पत्ति सबै निरर्थक हुन्। जस्तै चाहना गरेपनि, जतिनै प्राप्त गरेपनि, संसारै जिते पनि एकदिन मृत्यु हुन्छ मान्छेको। त्यसपछि भौतिक संसार नै छोड़ेर जानुपर्छ। त्यसैले यी सबै व्यर्थ हुन्। सपना, कल्पना, चाहना निरर्थक बन्छन्। आख्यानकारले तर पाठकलाई पटक्कै कथादेखि बाहिर डुलाएको अनुभव हुँदैन। 13औं अध्यायमा आएर पृष्ठ 99-मा भनिएको छ- ‘देश द्वन्तमा फसेको छ। जताततै माओवादी आतङ्क छ। सँगसँगै सुरक्षा फौजको नियन्त्रण तङ्क पनि। मान्छे नमरेको समाचार हुँदैन।’ अनि अझै लेखिएको छ- ‘...देश, परिवार र समाज सम्झिँदै मन अत्यन्तै दुःखी बन्छ।’
उपन्यास प्रेमकथालाई उनेर लेखिएका भए पनि यसरी देशको अवस्थालाई राम्ररी चित्रण गरिएको पाइन्छ। जब देश सुरक्षित बन्दैन आफैमा, जब देश आफैबाट आफै आतङ्कित बन्छ, तब देशवासी सञ्चोले बाँच्न सक्तैनन्। माओवादी र नेपाल सरकारमाझ किन रगत बगाउने जुवारी चलिरह्यो? चलिरहन्छ? किन नेपाल रङ्गीन बनिरह्यो? बनिरहन्छ? त्यो विश्‍वले बुझेको हुनुपर्छ। तर बुझ्नु र नबुझ्नुले पीडा जसले भोगेका छन् उनीहरूलाई कति फरक पर्ला? आखिर भोग्नु त जनताले थियो। भोग्यो जनताले। भोगिरहेका छन्। तीमध्येका नै थिए पात्रहरू समिक, युनिका, सुमन र मितहरू। उनीहरू जस्तै युवाहरू थिए, जो भविष्य खोज्न, भविष्य बनाउन दिनहुँ काठमाडौं पुग्छन्। काठमाडौं। आशाको केन्द्र। भविष्य निर्माण केन्द्र।
जीवनप्रतिको दर्शन यसरी पनि दिन चाहन्छन् लेखक- ‘राम्रा सपना कहिल्यै विपना हुँदैनन् अनि राम्रा विपना कहिल्यै आफ्ना हुँदैनन्। जिन्दगीको रीत नै यही छ त के गर्छौ?’ उसो त भनिन्छ भावीले जे लेखिदिएको छ, त्यो पुग्छ नै। विधाताले जति दिएको छ, त्यति नै पाइन्छ। त्यसो भन्दैमा कुनै कुराको चाहनै नराख्नु कतिसम्म तर्कसंगत होला? त्यो मलाई थाहा छैन। लाग्छ, चाहना राख्नु भनेको सपना देख्नु पनि हो। सपना देख्नु मात्रै भाग्यमा भर पर्नु पनि होइन। भनिन्छ, भाग्य त बनाउनुपर्छ। भाग्य बनाउनलाई कर्म गर्नैपर्‍यो। संघर्ष गर्नैपर्छ। प्रयास गरिरहनै पर्‍यो। कहिलेकाहीं तर कर्म, संघर्ष र प्रयासले पनि कहाँ भविष्य तय गर्न सकिँदो रहेछ त। उज्ज्वल भविष्यका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यही शिक्षार्जनमा जस्तै परिस्थितिमा पनि सफलता प्राप्त गरिरहने समिक तर आफ्नो प्रेममा कहिले सफल बन्न सकेका छैनन्। त्यसैको शिकार बनेका उनी घरिघरि प्रेममा हार्दै-जित्दै, लड़्दै-उठ्दै गरेका छन्। उपन्यास लेखाएकै त्यसैले हो, मलाई लागेको।
उपन्यासमा सभ्य समाजको असभ्य व्यवहारप्रति पनि लेखकले राम्रो व्यङ्ग्य प्रहार गरेका छन्। उनी लेख्छन्- ‘दुर्गन्ध नराम्रै भए पनि बागमती पवित्र नदी त हो।’ पवित्र मानिने बागमती किन मैलो बग्छ? किन पवित्र नदीले दुर्गन्ध दिन्छ? अप्रत्यक्ष प्रश्‍न उठाइएको पाइन्छ यसरी। समाजलाई तीखो प्रहार गरिएको पाइन्छ।
युनिकाले साँच्चै मेरो मन छोएको हो। पात्रहरूमा लेखक यतिबिघ्न डुबेका छन् कि लाग्छ यहाँ उपन्यासका पात्र वा पात्रा होइनन्, पथिकज्यूले आफ्नै कथा सुनाइरहेछन् लाग्छ। ‘विछोडमा मात्र प्रेमीहरू पागल हुन्छन् भन्थे तर म मिलनमै पागल भइसकेछु। बहुलाइसकेको छु।’ पृष्ठ 99-मा आएर उपन्यासका मूल पात्र समिकको यो भनाइ वास्तविक लाग्छन्। साँचो प्रेम गर्ने प्रेमीहरू वास्तवमै मिलनमा पागल बनिसकेका हुन्छन्। त्यसैले विछोडको पीडा सहन गर्नै नसक्ने हुन्छन्। विछोडको पीडा भोग्नपरे कतिले अमूल्य जीवन नै त्यागि दिन्छन्। देह नै त्यागिदिन्छन्। प्रेममा पागलै बनिसकेका भए पनि युनिकासितको अव्यक्त प्रेमको प्रस्तावसम्म समिकले राख्न सकेका छैनन्। बल्ल प्रस्ताव राख्ने निर्णय गरेर पनि रित्तै फर्कन्छ उ। यतिबेला समिक भन्छ- ‘हिँड़्दा हिँड्दै मैले गोजीको गुलाब छामें। मुटु ढुकढुक हुनथाल्छ...।’ चोखो माया गर्नेलाई साँच्चै गरिएको माया व्यक्त गर्दा पनि कतै टुट्ने हो कि भन्ने भय हुन्छ नै। यहाँ समिकलाई त्यस्तै भएको हो। पढ्दा पाठकलाई त्यस्तै महशुस हुन्छ, जसलाई पथिकज्यूको सफलता मानेको छु।
पथिकज्यूसित भेट भएको कुरा अघि गरिसकेको छु मैले। सिक्किम र नेपाल दुवैतिरको भेटबाट उनलाई थोरै चिन्नसकेको जस्तो लाग्छ। उपन्यास (पृष्ठ 122)-मा समिकले युनिकालाई भनेको छ -‘ए प्रभु सोचेको चै के थियौ त? जान्न त पाऊँ’। युनिका घरिघरि समिकसितको सामिप्यबाट टाडिन खोजिरहेकी हुन्छ। समिक झन-झन युनिकाको समिप हुन चाहन्छ। यस्तै अवस्थमा भनिएको यो वाक्यांशमा प्रयोग गरिएको ‘ए प्रभु..।’-ले लेखक ‘पथिक’-ज्यूलाई हू-बहू बोकेको पाइन्छ। उनको व्यावहारिक जीवनमा साथीहरूसितको बोलचालको क्रममा यसरी नै ‘ए प्रभु...’ भन्ने गरेका धेरैपटक सुनेको हूँ। उनको व्यावहारिक जीवनसित मेल खाने यस्ता धेरै शब्द वा वाक्यांशहरू छन् उपन्यासमा, जसले उपन्यासलाई जीवन्त पारेका छन्, यथार्थ बनाइदिएका छन्। उपन्यास काल्पनिक नभएर सत्य लाग्नुका यस्तै कारणहरू हुन्, थोरैमा मेरा निम्ति। उसो त साहित्य अनुकरण हो भनिन्छ। अझै अनुकरणको पनि अनुकरण हो भनिन्छ। उसो भए ‘युनिका’-लाई पनि पथिकज्यूको जीवनबाट कहीं, कतै, कुनै पक्ष त अनुकरण भएको हुनैसक्दैन भन्न पनि त नसकिएला नि।
माया, प्रेम, प्रेमी-प्रेमिका सबै चलमलाइरहने थोक लाग्छन्। जसरी उपन्यासमा युनिकालाई कहिल्यै स्थिर देखिन्न। अहिले समिकबिना जीवन बाँच्नै नसक्ने, फेरि भराई नै समिकसितको सम्बन्धलाई लिएर निर्णय लिनै नसकेर दोधारमा पारिदिने गर्छे ऊ। कहिले अंकल आएको बाहनामा सधैं रातभरिभरि फोनमा बोलिरहने उनी एउटै म्यासेजको भरमा समिकलाई रातभरि छटपटाउन लगाउँछे, कहिले अंकलकै बाहनामा प्रेम दिवसमासम्म भेट गर्न नसक्ने भइदिन्छ। उपन्यासमा घरिघरि डोहोरिरहने यस्ता क्रमिक घटनाहरूले पाठकप्रति पनि आशंका सिर्जना गरिदिन्छ- ‘साँच्चै प्रेम दिवसकै दिन उनका अंकल आएका हुन्? साँच्चै अंकल नै वास्तवमा प्रेम दिवसको दिनै बाधक बनेका हुन्? कि युनिका अरु कोहीसित पनि प्रेम गर्छे?’ यस्ता धेरै प्रश्‍नहरू घरिघरि उठिरहन्छ पाठकको मनमा। बाउको बहना पारेर आफ्नो प्रेमी (समिक)-सित विवाह गर्न नसक्ने निर्णय लिने युनिकाले तर अन्तमा ‘उनले रोजेकै केटोसित विवाह गरि अरे’ भन्ने समिकले सुन्नुबाट पाठकलाई अघिसम्म लागिरहेको आशंका ठीकै रहेछ भन्ने लाग्छ। मलाई त्यस्तो लागेको हो। यसबाहेक पनि कान्छोसित छुट्नु किन गाह्रो परेको समिकलाई? के कान्छो नै युनिका थिई? घरिघरि किन नाटक? यस्ता प्रश्‍नहरू उठ्छन् अनि शान्त भइहाल्छन् पनि। यस्तै मनमा उठेका जिज्ञासाहरूले जवाब पनि पाउँदै जान्छ। तर, समिकले कहिले पनि अंकल आएकै हो? अंकल नै हामीबीचको ‘भिलियन’ बनेका हुन् त? भनेर जान्ने, बुझ्ने र अंकल चिन्नसम्म चाहेनन्। यदि युनिकाले आफैले रुचाएकै केटोसित विवाह गरिन् भने को थिए उसले रुचाएको केटो? अरु नै कोही थिए भने किन समिकसित सामिप्य राखिन्? समिकले पहिलोपल्ट म्यासेज गरेर प्रेम प्रस्ताव राख्दा किन स्वीकार्न नसकेकी? यस्ता कुराहरू मनमा उठ्न सक्छ। उपन्यास कतै सत्य घटना नै होइन? भन्ने लाग्नुको अर्को कारण पनि हो यो। नभए लेखकले पात्रको मनमा सिर्जिएको आशंकालाई अन्तमा गएर पनि स्पष्ट पार्नसक्थे। त्यसो नहुनु भनेको पनि कि त कथाले सत्यता बोकेको मान्नसकिन्छ, होइनभने सत्यता झल्काउन लेखकको चातुर्य देखिन्छ। जसो भए पनि यसलाई अहिले लेखकको सफलता लागेको छ।
शिक्षा र व्यवसाय दुवैलाई हेर्ने हो भने उपन्यासको मूल पात्र समिक र लेखक ‘फथिक’-ज्यू दुवैलाई ठ्याक्कै एउटै धरातलमा उभिएको पाउन सकिन्छ। समिक गजलकार। पथिकज्यू पनि। समिक झैं लेखक पथिकज्यू पनि विज्ञानका विद्यार्थी, विज्ञानकै शिक्षक-प्राध्यापक। त्यसैले समिक विज्ञानसित सन्तुष्ट छैनन्। त्यसैर भन्छन्- ‘एउटा मायाको गहिराई नाप्ने यन्त्र, मायाको सापेक्षित आद्रता नाप्ने यन्त्र बनाउन सकेनौ। हाय मेरा वैज्ञानिकहरू।’ वास्तवमा यो लेखकको असन्तुष्टिभन्दा पनि विज्ञानभन्दा मान्छेको मन, मान्छेको भावना, मान्छेको कल्पना कति शक्तिशाली छ, कति माथि छ भन्ने देखाउन वा बुझाउन चाहेको बुझिन्छ। मान्छे-मान्छेले मिलेर बनेको समाज मान्छेबिना अर्थ नलाग्नसक्छ। अगुल्टो नठोसी आगो पनि बल्दैन भनेजस्तै समाज अनि समाजमा रहेका दुई व्यक्तिको सम्बन्ध पनि कहिलेकाहीं त्यस्तै हुन्छ भन्ने कुरालाई लेखलले राम्ररी दर्शाएका छन्। समिक र युनिकामै केन्द्रित उपन्यासमा युनिकाको घरिघरिको घुर्क्याइपनाले कथाले घरिघरि आरोह-अवरोह गरिरहेको पाइन्छ। यही क्रममा आपस्तमा सम्बन्ध जस्तै बिग्रिएको भए पनि काम लाग्ने भनेको आपद-विपदमै हो। यही कुरा लेखकले यसरी भनेका छन्- ‘गाह्रो पर्दा शत्रुले त सहयोग गर्छ भने म शत्रु नै त होइन। मेरो एक मात्र फोनले उसलाई केही सान्तवना मिल्छ भने किन नगर्ने?’
प्रेम गर्ने युगल प्रेमीहरूलाई लेखकले राम्रैसित शिक्षा दिन चाहेको यहाँ बुझिन्छ- ‘अब जिन्दगीभर प्रेमको नाममा यो समिकले एकथोपा आशु पनि बलिदान गर्ने छैन।’
लेखुँ-लेखुँ र लेख्नुपर्ने लागेका कुराहरू धेरै थिए मनमा। लेख्न यति नै सकें। अँ, एउटा कुरा सम्झनामा आयो। त्यो के भने, प्रेमरसमा आधारित वियोगान्त उपन्यास ‘युनिका’ साधारण पाठकहरूका निम्ति पनि पठनीय छ। सरल र सहज भाषाशैली, शब्द, वाक्यहरू उपन्यासको अर्को सबल पक्ष मलाई लागेको हो। तरै पनि, डेढा लाग्छ, जाग्राम (जागो बस्नु) जस्ता कतिपय शब्दहरूले सायद आञ्चलिकताको फरकपन बोकेको हुनुपर्छ। अर्को कुरा, ‘लभोमिटर’ शब्दले मनमा खुब रमाइलो लाग्यो।
लेखकीयमा पथिकज्यूले भन्नु भएको छ- ‘मैले साहित्यको नयाँ विधा रोजें- आख्यानको।’ हो, मैले चिनेको ‘पथिक’-ज्यू गजलकार हुन्। असल गजलकार। अनि हुन् असल कवि। यसबाहेक मैले चिनेको उनी एक कुशल टीभी कार्यक्रम सञ्चालक हुन्। होइन रहेछ तर त्यति मात्रै उनको व्यक्तित्व। इन्द्रबहादुर राईसितको 2010-को भेटमा भन्नुहुन्थ्यो- ‘एउटा डाँडालाई एकजनाले पूर्वतिरबाट हेर्दै जस्तो देखिन्छ, अर्को व्यक्तिले पश्‍चिमतिरबाट हेर्दा त्यस्तो देखिन्न। फेरि उत्तर र दक्षिणतिरबाट हेर्दा अर्को-अर्कै देखिन्छ।’ मैले पथिकज्यूलाई पूर्वबाट मात्रै हेरिरहेको थिएँ। पत्रकार, कवि र खासगरि गजलकार मात्रै देखेको थिएँ। अब थोरै चल्मलाएँ। उपन्यासकार हुन्। बुझें। उपन्यासकार मात्रै होइन असल उपन्यासकार। पाठकको मनमा सिधै गएर छ्याप्प बस्नसक्ने उपन्यासकार। उपन्यास लेखनको जुन पाटो समाए पथिकज्यूले, त्यसैलाई अझ प्रगाड बनाउने छन्। पथिकज्यूसितको यो मेरो आत्मविश्‍वास। शुभकामना।
- (गान्तोक, सिक्किम, भारत)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु