ठुटा

- पुण्य खरेल

उनको सबैले बोलाउने नाम ठुटा हो । उनी त्यस्तै साढे चार फुट अग्लो होलान् । उनका हातगोडा मोटामोटा, डबल नारीको भन्छन् नि मान्छेहरु, हो त्यस्तै । कुनै रुखको टुप्पो भाँचिएर वा काटिएर रहेको छोटो, मोटो भाग ‘ठुटो’ भनिन्छ । सायद ‘ठुटा’लाई त्यही उपनाम दिएको हो कि ! सानैदेखि उनी अलिक अजिर, अलिक ज्याद्रो, अलिक निडर, बलियो । अब त सोर सत्र वर्षका भए । हेर्दा लाग्छ उनी बञ्चरो चलाउनकै लागि, कुटे–गैंती चलाउनकै लागि जन्मिएका हुन् कि ! हलो जोत्नकै लागि जन्मिएका हुन् कि भन्नु जस्तो ! ढाकर बोक्नकै लागि जन्मिएका भन्नु जस्तो । स्कुल पढ्ने उनको आर्थिक अवस्था थिएन । न उनका बाबुआमाले फिससिस तिरिदिन सक्थे, न नयाँ लुगा किनिदिन सक्थे, न त कलमकापी नै किनिदिन सक्थे ! यो त्यति बेलाको कुरा हो, जति बेला निर्वाहको साधन कुटो, कोदालो, बञ्चरो, हँसिया, खुर्पा, खुकुरी, डोको, ढाकर आदि मात्र थिए ।
एक दिनको कुरा हो, उनी धरानबाट एक मन नून, एक टिन मटितेल ढाकरमा बोकेर घर आइपुगेका थिए । त्यो सबै नून र मटितेल सुब्बा जगतमानले किनेर लगे । नून एक रुपियाँ मानोका दरले र मटितेल डेढ रुपियाँ बोतलका दरले हिसाब गर्दा नूनको चालीस रुपियाँ र मटितेलको अठ्ठाईस रुपियाँ गरी अठसठी रुपियाँ ठुटाका बाबु धनवीरले लिए । त्यस दिन आराम गरेर घर बसेको ठुटा अर्को दिन जगतमानकै खेत जोत्न गोरु धपाएर बेंसीतिर जाँदै थिए । अर्को दिन उनी बञ्चरोले जगतमानको पाखाको चिलाउने रुखको फेदमा हान्दै थिए । त्यो निकै ठुलो रुखको फेदबाट दुई जोर हला पनि निकाल्नु थियो भने यो सालभरिलाई दाउरा पनि चिर्नु थियो ।
बिहानभरि ठुटाले बञ्चराले चिलाउनेका फेदमा चोट पारे । खाना खाने बेला भयो, दिन ढल्कियो, सिधा उभिएको चिलाउनेको त्यो अजङ्गको रुख अहँ ढलेको छैन । ठुटाले रुख कतापटि लड्ला ? अनुमान गर्न काट्न छाडेर अलिक पर्तिर माथि, तल्तिर, उत्तर, दक्षिण गएर हेरे । जगतमानले पनि कतापटि लड्ला त्यो रुख भनेर त्यस रुखको टुप्पो, त्यसका हाँगाबिंगा नियाल्दै हेरे । ठेकान गरेर यतैपटि लड्छ भन्न सकिने अवस्था थिएन ।
अरु त अलिक परपर उभिए पनि फेद काट्ने मान्छे वडो सतर्क हुनुपथ्र्यो । भर्खरै, यस्तै ठुलो रुख ढाल्दा बाबुछोरा नै रुखले किचिएको कुरा गाउँलेका कानभरि थियो । त्यसैले ठुटा डराएका पनि थिए । जगतमान पनि सतर्कतासँग त्यहीं हेर्दै थिए । जगतमानकी श्रीमती खाजापानी लिएर आइपुगिन्– “ए ठुटा ! आऊ खाना ल्याएँ !” ठुटालाई बोलाइन्, “आऊ सुब्बा पनि !” लोग्नेलाई पनि बोलाइन् ।
“होइन यो रुख त त्यत्रो काटिसक्यो ठुटाले, छिनाउन लागि सक्यो ! तैपनि ढल्दैन ! छक्कै पा¥यो त यस रुखले !” जगतमानले भने ।
“मलाई त यति बेलासम्ममा दुई तिन गिँड छुट्याइ सक्छु जस्तो लागेको थियो ।” ठुटाले भने ।
“अब हावाले पनि लडाउनु सक्छ ! यतापटि पनि ढल्नु सक्छ ! अलिक पर, उत्ता बसुङ् !” जगतमानले भने ।
अलिक पर्तिर यस्सो रुखका पत्करहरु मिलाएर रुखको लम्बाइभन्दा पर्तिर बसे । भुटेका मकै, साँधेको गुन्द्रुक, दुईदुई बटुका छनुवा ल्याएकी रहिछिन् ! जगतमानले भने त्यहाँ खाएनन् । रुख ढालेपछि घरमै गएर खाने कुरा गरे ।
ठुटा खाजा खाँदै थिए । सररर हावा चल्यो । हावा अलिक जोडले चल्यो । हावा झन्झन् चम्कियो । त्यही बोल ठुलो आवाज गरेर गाउँ नै थर्काउँदै रुख ढल्यो । टाढाटाढाका चराहरु अकासमा बतासिए । गाउँ वरपरका मान्छेका कान चट्काला भए । खाजा खाइसकेर ठुटाले त्यस चिलाउनेका फेदबाट नापेर एकएक जोर हलोका लागि दुई गिंड टुव्रmाएर बाँकी भाग दाउराका लागि गिंड्दै, चिर्दै दुई दिन र आधा दिनमा त घर जत्रो दाउराको रास ठड्याइ दिए । पाँच रुपियाँका दरले साढे बार रुपियाँ हुन्थ्यो ठुटाको बनी, तर जगतमानले पन्ध्र रुपियाँ ठुटाका हातमा राखिदिए ।
अर्को दिन फेरि ठुटा पर्तिर काशिनाथका बारीको बाँझो पल्टाइ दिँदै थिए । अझ अर्को दिन लयप्रसादका लागि नून मटितेल लिन ढाकर र तोक्मामा सजिएका थिए ।
यी दृश्यहरु हेरिरहेका जगतमानका मनमा के भूत पस्यो ! उनको हुर्केको छोरो खसेको तीन वर्ष भएको थियो होला ! ठुटाप्रति उनमा त्यसैत्यसै संवेदना जाग्दै त थियो । तर व्यक्तिएको थिएन । उनलाई ठुटाले धरानबाट लयप्रसादको नून र मटितेलको भारी कहिले लिएर आइपुग्छ ? हतार लाग्यो । उनले ठुटाले ढाकर बोकेर आउने बाटो चियाउँदै एघार वटा दिन बिताए । बारौं दिनका दिन परको त्यो वरडाँडाबाट केही ढाकरहरु वडो गलेको जस्तो गरी यतातिर तेर्सिए । त्यसमध्येको अलिक होचो ढाकर ठम्याउन खोजे उनले । ढाकर उतिकै अग्ला जस्ता देखिन्थे । लयप्रसादको घर त्यतै बाटामास्तिर थियो । तर ती ढाकरहरु लयप्रसादका तिर लागेनन् । यतैयतै बाटैबाट आए । बुझे जगतमानले त्यो कुनै पनि ढाकरमुनिको मान्छे ठुटा होइन ।
बारौं दिन गुज्रिन लाग्यो । घाम डाँडामा बस्न आँटे । यस्तै बेलामा घामलाई उछिन्दै वरडाँडामा दुई वटा ढाकर झुल्किए । एउटा ढाकर त भुइँमै हिंडेको हो कि झैं होचो थियो । साँच्चै त्यो ढाकर लयप्रसादको घर ताकेर उक्लियो । जगतमानलाई अलिक ढुक्क भयो । ठुटालाई भेट्न उनलाई हतार लाग्दै थियो ।
ठुटा नून र मटितेल लयप्रसादलाई आज जिम्मा लगाएर अर्को दिन त पल्लाघर गुमानसिंको घर बनाउन ढुङ्गा फुटाउने र ओसार्नेमा मस्त छन् । ‘यो ठुटाले काम गर्न पनि कति सकेको ! नगलेको पनि !’ जगतमान यसै बोल्ने निहुँमा त्यतै गए र गुमानसिंलाई भने– “अनि त्यतिको राम्रै घर हुँदाहुँदै के पो आँट्यौ हौ भाइ ?”
“होइन, राखन धरन, ढिकीजाँतो, बाख्राको खोर, टाट्नो कति थोक चाहिने हो हो ! एउटा मतान बनाउँ भनेर दाइ !” गुमानसिंहले भने ।
अनि हाओ ठुटा ! हिजै पो नून लिएर धरानबाट आइपुगिस् होइना ? एक दिन पनि थकाइ नमारी ! बलियै हो हाओ जीउ तेरो !” जगतमानले ठुटालाई भने ।
“के गर्नू ? बढाउ ? यो पापी भुँडीले पो यस्तो पा¥यो । भाइबुइनी छन् अझै काम गर्न नसक्ने, खान चाहिँ उतिकै चाहिने ! बाबुआमा पनि त्यस्तै ! के गर्नु र अनि काम नगरी धरै छैन नि बढाउ ! गरिबले गलें भन्नु पनि पौंदेन, जोरो आयो भन्नु पनि पौंदेन नि बढाउ !”
“एक छिन भरै बेलुका घर फर्किन्दा मेरा घरमा निस्की है ल ठुटा !” जगतमानले भने ।
“अहिले भन्दा हुन्थेन, बढाउ ?” ठुटाले सोध्यो ।
“हुनु त किन नहुनु ? तैपनि अब अहिले काम गर्दै छस् ! काम सकेर छुट्टी भोएपछि आइजा न भरै तिर ! ल ?”
साँच्चै भरे कामबाट छुट्टी लिएपछि ठुटा बडो जिज्ञासु बन्दै जगतमानका घर पुगे । जगतमान घरबाहिर खाटमा ठुटा आउने बाटो हेरिरहे जसरी साँच्चै हेरिरहेका थिए ।
ठुटाले अघि काम गर्दा फुकाएको अस्कोट त्यतिकै हातमै चेपेर गएका थिए । सिकुवामा रित्तै रहेको मुढा तानेर बसे– “बढाउले किन बोलाउनु भाको थियौ ? के काम थियो ?” बोले पनि ।
“होइन, ठुटा छोरा ! मेरो त्यो पर्दिपे खसेदेखि अलिक मलाई पिर प¥यो । मलाई के भयो के भयो ? तैंले त्यो मुटु फुट्ने गरी काम गरेको देख्ता पनि मलाई नराम्रो लाग्यो हौ ठुटा नानी ! मैले तेरो बढिआमालाई पनि केही भनेको छुइना ! उसलाई भनें भने त ऊ त ड्याङ्ङै रुई जान्छ हौ ! अनि म उसलाई मेरो मनको कुरा अहँ भन्दिना !”
“अन्त ...” जगतमानले भित्री गोजीबाट सयसयका १५ वटा नोट निकाले र ठुटाको हात तानेर हातमा राखिदिँदै भने– “यो मैले तँलाई खर्च दिएको ! तैंले याँ जत्ति मुटु फुटाएर गरे पनि पेटभोरि खानु पनि पुग्तैना, आङभोरि लाउनु पनि पुग्तैना ! अन्त, तँ यो खर्च लिएर जा ! धरान–विराटनगर जा ! काठमान्नु जा ! तँ यस्तो निरोगी, विर छस् ! त्याँ गोएर कमा हौ ! मलाई त तैंले मुटु फुटाएको देख्ता ‘पर्दिपे’ जस्तै लाग्यो । पर्दिपे र तँ सँगसँगै खेल्थ्यौ ! अन्त, तँ पनि त छोरै त होस् नि ! नि ?”
ठुटा जिल्ल प¥यो । साँच्चै त्यो पन्ध्र वटा सयसयका नोट दिएकै हुन् कि, ख्याल ठट्टा गरेका हुन् कि ? बा फेरि तानेर हाँस्तै आफ्नै गोजीमा हाल्छन् कि ? उसकै हातमा ती नोट रहिरहन्छन् कि ? उसका मनमा कुरा खेले । उसको कुनै वक फुटेन ।
जगतमानले फेरि भने– “तँ भाग्य खोज् ठुटा नानी ! यो तँलाई रिन दिएको होइन । तँलाई खर्च दिएको । तैंले जतन गर्दा काठमान्नुमा एक वर्ष खान पुग्छ तँलाई !”
ठुटा जगतमानका घरबाट आफ्ना घर जाने बाटामा आए । ऊ अघि गुमानसिंहका घरमा काम गर्दै गर्दाको भन्दा भिन्न स्थितिमा थिए । ३ दिनको हाजिरा १५÷– रुपियाँ गोजीमा हुँदा त मन सन्किएर उड्ने जस्तो हुने उनका हातमा आज दस महिनामा भेला हुने बनीको एक मुष्ट रकम थियो । ठुटा अहिले हावामा हिड्दै थिए कि जमिनमा ? ऊ बुझ्दैनथे । जे भएपनि यो रुपैयाँले उनलाई भित्रैबाट बिथोलेको थियो । उनको अब भोलिदेखिको दैनिकी के हो ? लयप्रसादको बाँझो जोतिदिन जाने कि नजाने ? उनले पर्सिका लागि भनेर भाका राखेको गैराघरेको दाउरा चिर्न के गर्ने ? निकोर्सी नि त ? पैयूँबोटे ठुलदिदीले सारै ढिपी गरेर घर छाप्न साइत निस्केको भनेकी थिइन्, बुधबार पर्छ अरे त्यो दिन, भिनाजु पनि नभएकी एकली ठुलदिदी ! अब उनले ती भाका बन्दोबस्तहरु के गर्ने ? के गर्ने यो पन्ध्र सयको ठुलो पैसा ? बाबुआमालाई दिने कि ? केही दिने र केही बोकेर साँच्चै ‘भाग्य खोज्न’ बाटा लाग्ने कि ? सोचाइ र चिन्तनको यस्तो घच्चारोमा उनी चेपिए कि के भन्नु र !
उनका मनमा झुलुक्क एउटा बिचार झुल्कियो– ‘आठ सय रुपियाँ आमाका हातमा राखिदिने र सात सय रुपियाँ बोकेर भाग्य खोज्न साँच्चै बाटा लाग्ने ।’ हिड्दा हिड्दै घर पुग्नै लाग्दा उनको मनले खम्बिर ग¥यो, त्यही कुरा । अब उनी एक दिन पनि ढिलो गर्दैनन्, देउता जस्ता लाग्ने जगतमान बढाउले भनेको कुरा पनि मान्छन् र आमाबाबुको गर्जो टार्ने बाटो पनि गर्छन् ।
साँच्चै ठुटा घरबाट हिडे । जगतमानले साँच्चै वल्लोघर पल्लोघर ठुटाले मुटु फुट्ने गरी काम गरेको फेरि देखेनन् । आफ्नो पर्दिपेको साथी ठुटालाई फेरि कतै देखेनन् । महिना दुई महिनापछि त जगतमानका मनमा पर्दिपेको नक्सा र ठुटाको नक्सा फ्युजन भएछ कि क्याहो, उनलाई एकै पो भयो, पर्दिपे सम्झिँदा ठुटाको नक्सा नै आँखामा नाच्न थाल्यो ।
ठुटाको कुनै चिठी चफेटो आएन । ठुटाका आफ्नै बाबुआमा पनि निकै छट्पटाए । जगतमानसँग आव्रmोसित पनि भए । उनले त्यो पैसो दिएर छोरो कता परदेश भासियो, बिलायो भनेर पिरिए । कसैकसैले ‘काठमान्नुमा भेटें ! ए गफाडी भएछ, साएपहरुसँग पो हिड्छ अरे !’ भनेर सुनाउँथे ।
“घरमा आउने कुरा गरेन ?” सोध्थे ।
“दसैंमा आउँछु भन्थ्यो” भनेर जवाफ पाउँथे ।
एउटा दसैं, अर्को दसैं गर्दै नौ–दस वटा दसैं बिते तर ठुटा घर आएनन् । हुँदाहुँदै पन्ध्र वर्ष बिते । ठुटाका बाबुआमा बुढाबुढी हुँदै गए । ठुटापछि उनको भाइले बाबुआमालाई दुखसुख स्याहार्दै छन् ।
पन्ध्र–सोर वर्षपछिको कुरा होला । जगतमान गाउँको अध्यक्ष भए । उनलाई काठमाडौं जाने आउने काम सामान्य जस्तै भयो । काठमाडौंमा पुग्दा त्यता सडकमा ‘कतै ठुटालाई देख्छु कि ?’ आसा पनि हुन्थ्यो । उनलाई पर्दिपे र ठुटा साँच्चै पर्याय जस्तै भएका थिए । पर्दिपे त मरेर गएकै हो के भेटिनु र ! तर ‘ठुटालाई भेट्न पाए त !’ जगतमानका मनको एउटा कुनामा अतृप्त क्षुधा बसिरहेको थियो ।
शिक्षा मन्त्रालयमा जानु थियो उनले । ट्याक्सीमा केशरमहल गए । केशरमहलमा आफ्नो काम सिध्याए । बाहिर निस्कँदा आफूले ल्याएको ट्याक्सी त हिडिसकेछ । त्यसकारण बाहिर गेटसम्म आएर गेटको पश्चिम छेउमा ट्याक्सीको प्रतीक्षामा उभिए । उनी सडकमा रित्तो ट्याक्सी आउला र रोकेर डेरा जाउँला भन्ने प्रतीक्षामा थिए । अचानक एउटा सुट लगाएको खाइलाग्दो मान्छे, उनले चिनेचिनेको जस्तो, होचोहोचो मान्छे भुट्भुटे एकाछेउमा उभ्याएर हेलमेटसँगै उनका अगाडि उभियो र भन्यो– “बढाउ जस्तै लाग्यो र पो !”
जगतमानलाई त्यो आवाजले एक्कासि भावुक बनायो । उनका आँखाबाट बलिन्द्र धारा सलल्ल बगे । पर्दीपे खस्ता पनि लोग्ने मान्छेले रुनु हुँदैन भन्ने लागेर उनी रोएका थिएनन् । उनकी सुब्बेनीले त्यत्रो घात गरेर रुँदा आँसुलाई भित्रभित्रै पचाएथे । आजु ‘ठुटा’का अगाडि आँसुले उनलाई लज्जित जस्तै बनायो– “के पो भैगयो हौ !” उनले आँसु पुछे र “ठुटा नानी हो ?” वक फुटाए ।
“हो त बढाउ अनि ! कताबाट यहाँ आइपुग्नु भयो ? जाउँ ऊ पर्तिर ठमेलमा बस्छु म ! जौं उतै !” ठुटाले भने ।
“अनि घर पनि पो बनाइस् कि हौ काठमान्नूमा ?” जगतमानले पत्यार नलाग्ने उत्तरको अपेक्षा गरे ।
“यसो दुःखसुख बस्न हुने ५–६ कोठाको किनेको छु बढाउ ! जौं घरतिरै !” ठुटाले आग्रह दोहो¥याए ।
“हाओ ! अन्त, म त पर धरहराको छेउमा, त्यो एभरेस्ट हुटेलमा पो डेरा गरेर बस्तैछु हाओ ! डेरामा पुगेर अब भोलितिर त गाउँ फिरुङ् कि पो भन्दैछु । अन्त, तँ त हाओ घरमा खावर पनि नगरी, चिठी चफेटा पनि पठौंदैनास् ! तेरो बाबुआमा त झन्नै हाओ ... ! मलाई झन्नै काँच्चै खायो नि हाओ ! तँ त बाँचेकै र’छ नि हाओ ! थुक्क मोरा ! त्यो पर्दिपे बज्या पनि मरिनगको भए त नि ?” जगतमान फेरि भावुक बने ।
“ए बढाउ पनि ! यत्रो वर्षपछि पनि त्यस्तो शोक मानिरहनु ... ! जौं उ मेरो भुट्भुटेमा पछाडि बसौं ! म लैजान्छु !” ठुटाले भने ।
“लाखे है ! पर्खी है ! म तँलाई राम्ररी हेर्छु हौ ! हाओ हो रैछ हाओ ! यी तेरो चिउँडोमा खत छ ! तेरो दाहिने हात देखा त ! यी ! नारीमा यत्रो खत छ यी ! ठुटा नै हो रछ ! तेरो बञ्चरो चिर्ने हात, अनौ जोत्ने हात, तोक्मा बोक्ने हात ... हौ ... ! त्यही हात कि अर्कै हाओ यो भुट्भुटे कुदाउने ? हाओ ! काठमान्नुको भैगोइस् नि ! अनि तेति तेरो धनवीरे बाबु, आमालाई किन रुवाउँछस् हाओ अन्त ? त्यति नाथु, पाल्नु सक्छस् नि यति भुट्भुटे कुदाउनु सक्नेले ! ल्याइजा न हाओ बाबुआमालाई ! ...” केके केके भन्न थाले जगतमान ।
ठुटाले तानेर ल्याए भुट्भुटे छेउमा ‘बढाउ’लाई, अनि आफू चढेर पछाडि बस्न आग्रह गरे । “हाओ अन्त लडाइगोइस् भने ?” जगतमानले भने ।
“लडिन्दैन होला नि त बढाउ !” ठुटाले भने र खिरिर्र ठमेलको यस्सो दखिनपटि एक झिमिकमा घर पु¥याए ।
“यो घर तँ आफैं बनाइस् कि हाओ नानी ? अब त ‘ठुटा’ भन्नु पनि अप्ठेरो पो लाग्यो हौ !” जगतमानले भने ।
“बढाउ ! मेरा दुईटा बाऊ, एउटा बाउ ‘धनवीर’ र अर्को बाउ ‘बढाउ’ जगतमानलाई देखाउँदै ठुटाले भने– “धनवीरले जन्माए, हुर्काए ! तर बढाउ ! तपाईंको त्यो सयसयका नोटको बिटो, मेरा आँखामा आज पनि छ, “भाग्य खोज्न जा !” भनेर तपाईंले पठाएको, त्यो साँझ ! हो बढाउ ! तपाईं मेरो अर्को बाउ ! म आजसम्म त्यहीं हलै जोतिरहेको हुन्थें, मेरो बाबु धनवीर जस्तै, पल्लोघर च्याँसेकाका जस्तै, तल्लो घर टाउके तुम्बा जस्तै ! त्यहीं कुवाको व्याङ भर तीं घोप्टो, नेप्टो, चेप्टो भर हुन्थें । हुन त यहाँ अरुहरुका हेर्दा मैले क्यै खालो सारेको छैन, अरुहरुको हेर्दा त म के हुँ र ! तर ती गाउँका च्याँसेकाका–टाउके तुम्बालाई हेर्दा नि ...” ठुटाले भने ।
“अनि बुहारी ल्याइस् कि नानी ?” जगतमानले सोधे ।
“छैन बढाउ ! पैला, तपाईंले भन्याजस्तो बाबुआमालाई त ल्याऊँ ! अनि मात्रै बुहारी ल्याउँला भन्ने सम्झेको छु बढाउ !” ठुटाले भने ।
जगतमानले घरको यो कोठा, त्यो कोठा, भान्साकोठा, चर्पी, माथि तल हेरे । छक्क परे । अनि हाओ नानी जादु गरेर पो कमायौ छौ नि ! हाओ यो जतिको घरको दाम कति पर्छ हौ ? घरै किन्यौ कि घडेरी किनेर बनायौ हौ ?”
“घर आफैं बनाउन त एकलो मान्छे, कताको जिली कताको गाँठी बढाउ ! किनेको हो पश्चिम श्याङ्जाको एक जना पौडेलसँग !” ठुटाले भने ।
“हाओ नानी छोरा ! ग¥यौ छौ हाओ ! म त खुसी, खुपै खुसी भैगोएँ हाओ ! तर त्यो तिम्रो बाबुआमालाई ल्याऊ है ! सुख् देऊ है !” भन्दै ठुटाले कमसेकम आज एक दिन त बसौं भनेर ढिपी गर्दागर्दै जगतमान हिडे । उनी हिड्दै गर्दा उनको अनुहार धेरै भावुक बनेको थियो ।
करिब ६ महिनापछि होला, ठुटा गाउँमा गए । जगतमान बढाउलाई पनि एक जोर लुगा लगेर ढोगे । अनि बाबुआमालाई तीर्थ गराउँछु, म्यूजियम देखाउँछु, चिडियाखान देखाउँछु, बालाजु, बुढानीलकण्ठ देखाउँछु भनेर अलिकति खर्च भाइलाई पनि दिई राखेर बाबुआमा लिएर आए काठमाडौं । ठमेलको त्यही घरमा लिएर आइपुगे । बाबुआमालाई यता हातमुख यसोरी धुने, यता दिसापिसाब यसोरी गर्ने, यसोरी सुत्ने बेला झूल टाङ्ने, यता बिजुली यसोरी बाल्ने, यसोरी निभाउने, यसोरी झ्याल खोल्ने, लगाउने केके केके सिकाए । बाबुआमालाई बिहानै चिया आउँथ्यो । खाना पकाउने, चिया खाजा पकाउने एउटा केटो थियो ।
“काँ बस्ने ?कस्को छोरा हौ नानी ?” धनवीरले भान्से केटालाई सोधे ।
“मेरो घर त सुर्खेत हो हजुरबुबा !” भान्से केटाले उत्तरा गरे ।
“सुर्खेत भनेको आठराई कि फेदेन कि ? कता पो पर्छ हौ नानी ?”
“सुर्खेत त पश्चिम हो हजुरबा !”
“ए ! त्यसो भनेपछि तेर्थुम् नै रछ ! ताल्जुङबाटु तेर्थुम् त पश्चिमै त हो !”
“यहाँबाट पश्चिम हजुर्बा ! ताप्लेजुङबाट पश्चिम भनेको होइन । यहाँबाट ताप्लेजुङ जति टाढा छ त्यति नै टाढा पश्चिम पर्छ मेरो घर” भान्से केटाले भने ।
“हाओ ...! अन्त कसोरी चिनाजानी ग¥यौ हौ ? हाम्रो ठुटा पनि काँकाँको मान्छे चिन्यो हौ ? ल हौ राम्रो मिल ! झगडा नगर ! नबाझ है हाओ ! ठिकै छ हाओ !” धनवीरले आशिर्वचन पनि दिए ।
दस–पन्ध्र दिन, मैना दिन बसेपछि धनवीरले छोरालाई भने– “हाओ जेठा ! अन्त हामीलाई त धेरै अल्मल्याई गोइस् नि हौ ! अब तँ त गाउँ जाँदैनास् ! अन्त हाओ ! तेरो आमालाई, मलाई कैले पु¥याउँछस् हाओ ?”
“अब यतै बस्ने नि ! केको जानू गाउँतिर बित्थामा ! अब यतै तपाईंको बुहारी ल्याऊँ ! ब्या गरौं ! अनि अब यतै बस्ने नि ! बुहारीले भाततिउन दिन्छ ! तुङ्बा बनाउँछ, हालिदिन्छ ! खाने बस्ने नि ! यीं बिजुली छ, यीं टिभि हेर्ने, घुम्ने, यीं बस्ने !” ठुटाले भने ।
“थट् ! कस्तो कुरा गर्छ हाओ यो केटा त ! अनि याँ त पोखरी डाँडा पनि छैना, बडहरे काका, बाँसघारी डाँडाघरेहरु खोइ हौ ? अनि हाओ केटा ? म यहाँ सप्पै देखिसक्युङ ! तँ यहीं रतिइस् ! तँ यहीं बस् ठिकै छ ! तँ सक्तैनस् हामीलाई पु¥याउन भने, हामीलाई गाडी चढाइदे हाओ ! तेरो भाइको न्यास्रो त आँखैमा बसेको छ ! तेरो आमा त सपनामा पनि “कान्छा ! कान्छा !” भनेर कराइ पठाउँछ हाओ !”
ठुटाले बाबुआमालाई रत्याउन के सकोस् ! जन्मीहुर्की गरेको, सप्पै दाजुभाइ, इष्टमित्र भएको प्यारो गाउँ, त्यही गाउँका डाँडाखोल्सा, कान्लाकरेंसासँग स्मृतिका सबै अक्षर टाँसिएका छन् । मर्दाखेरि ड्याम् ! ड्याम् ! बन्दुक पड्काउँदै लाने च्यानडाँडो गाउँमै छ । धनवीर २४ घण्टामा साढे तेइस घण्टा आफ्नै गाउँमा हुन्छन् । आधा घण्टा यहाँ । अनि कसरी टिक्थे काठमाडौंको त्यो ठमेलमा ! उनी हतारिए, “छिटोछिटो हामीलाई पठा केटा !” भनेर करकर गरे । नभन्दै ठुटाले हवाइ जहाजको टिकट ल्याएछ ३ वटा । बाबुआमालाई घर पु¥याउने पक्का गरेछ ।
अर्को दिन ताप्लेजुङको सुकेटारमा एघार बजे हवाइजहाजबाट ओर्लिएर, साँझ बुबाआमालाई घरमा लिएर पुग्यो । कान्छो भाइ मुसुक्क हाँस्यो । दुई–तीन दिन बसेर ठुटा फिर्ता आयो काठमाडौं ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 13 मङ्गसीर, 2075

लेखकका अन्य रचनाहरु