ज्ञान, विज्ञान र विवेकको त्रिवेणी जीवन

- डा. नवराज सुब्बा

उहिले विद्यालय पढ्दा कक्षाकोठामा धन ठूलो कि विद्या ठूलो? कलम ठूलो कि तरवार ठूलो? गाउँले जीवन राम्रो कि शहरी जीवन राम्रो? भनेर हामी वादविवाद गर्दथ्यौं । हामीले पक्ष र विपक्षबारे अध्ययन र विश्लेषण गरेर पक्ष र विपक्षमा राख्ने तर्कहरू मनमनै तयार पार्दथ्यौं । यी दुई पक्ष र विपक्षमा कुनमा बोल्ने हो त्यसको निर्धारण प्रतियोगिताकै बेला गुरूको सामु गएर गोलाप्रथाद्वारा पक्ष वा विपक्षको निर्धारण तत्काल हुने गर्दथ्यो । हेर्दा सरल लाग्ने वादविवाद प्रतियोगिताको यो अभ्यासले भावी जीवनमा आइपर्ने जुनसुकै चुनौती स्वीकार गर्न मानसिक रूपमा तयार पारेको, जीवन जिउने कला सिकाएको, जीवनलाई हेर्ने दृष्टिकोण र मार्गको प्रारम्भिक दर्शन गराएको थियो । यस क्रियाकलापमा विभिन्न सन्देशहरू अन्तर्निहित थिए, जस्तै– तिमी कुनै पक्ष र विपक्षको कुरा सुन, जान, मनमा गुन अर्थात् दुवै पक्षको राम्ररी अध्ययन र विश्लेषण गर । जीवन र जगतका विषयवस्तुलाई दुवैतर्फबाट नियालेर हेर । दुवैका राम्रा र नराम्रा पक्ष केलाऊ तर पूर्वाग्राही नबन इत्याादि ।
जीवनको अन्तिम चरण अर्थात् मर्ने बेलामा कतिपय साहित्यकारहरू विज्ञानको महत्व अवमूल्यन गर्दै अभिव्यक्त भएका छन् । कोही अनायास आफू ज्ञानको पक्षपाति हुन गएको घोषणा गर्ने गर्दछन् । विज्ञानले दिएको उपहार कलम, कागज वा मोबाइल, ल्यापटपसित जीवनभर सिर्जनामा रम्दै मर्ने बेलामा उल्टै विज्ञानकै खोइरो खनेको देख्दा मलाई उदेक लाग्दछ । म यसलाई पूर्वाग्रही सोंच ठान्दछु । यो बुझाइमा परेको एकाङ्कीपन वा फरकपन हो । यसरी विज्ञानलाई चोर औंलाले कमी देखाउँदा बाँकी चार औंलाले हामीलाई हाम्रो अज्ञानतातिर संकेत गर्ने गर्दछ । हुन त यो पङ्तिकार साहित्यकारहरूलाई उपदेश दिने कुनै सफल साहित्यकार होइन । एउटा पाठक तथा एक सामान्य लेखकको रूपमा समकालीन नेपाली साहित्यमा रहेको जनधारणाप्रति गरिएको यो एक विश्लेषण र प्रतिक्रिया मात्र हो । ज्ञान, विज्ञान र विवेकलाई हेर्ने मेरो व्यक्तिगत अवधारणा हो ।
शब्द व्युत्पत्तिलाई नै पहिले नियालौं । वि+ज्ञान= विज्ञान । ज्ञानमा ‘वि’ उपसर्ग लागेर विज्ञान बनेको छ । यसले विज्ञान र ज्ञान आपसमा सम्बन्धित छन् भन्ने देखाउँछ । सोचिए जस्तो वि+देश= विदेश जस्तो यिनीहरू विपरार्थी शब्द होइनन् । वि+नियम= विनियम जस्तै एकअर्काका परिपूरक हुन् । समष्टिमा ज्ञान भनेको गन्तव्यको अन्त हो भने त्यहाँ पुगिने माध्यम नै विज्ञान हो । यसैले विज्ञान भनेको विधि वा तरिका हो भने त्यसको सहयोगले प्राप्त अद्यावधिक निष्कर्ष नै ज्ञान हो । यसैले विज्ञानले ज्ञानलाई परीक्षण गरेर परिमार्जित ज्ञानको निष्कर्षमा पु¥याउँछ ।
कतिपय साहित्यकारहरूले विज्ञानबारे आधारभूत मूल्य र मान्यताको जानकारी नहुन सक्छ । पाश्चात्य वाङ्मयमा आधुनिक कालको आरम्भमा विज्ञानलाई अधुरो र अपूरो भनेर काव्यिक प्रलाप प्रकट भए । प्रथम र दोस्रो विश्वयुद्ध तथा नागासाकी र हिरोसिमामा भएको बमविस्फोटले गरेको नरसंहारपश्चात विज्ञानलाई गाली गरियो । जसको प्रभाव नेपाली वाङ्मयमा पनि परेको छ । ज्ञान मर्दछ हाँसेर रोइ मर्दछ विज्ञान भन्ने उक्तिले साहित्यमा निर्धक्क प्रवेश पाए पछि परिवेष, परिणाम र पात्रको तालमेल मिलाएर गरिएका साहित्यिक सम्प्रेषणले पाठकमा यसले गहिरो प्रभाव जमायो । तर्कशास्त्रको कशीमा यथेष्ट मात्रामा नघोटिकन पाठकले सहज पत्याइ दिएर होमा हो बोलीमा लोली मिलाउँदा आम जनमानसमा यसले साँच्चै एकप्रकारको भ्रम पारेको छ कि भन्ने मेरो ठहर छ । त्यसो भए हाम्रा धर्मग्रन्थ र पुराणहरूमा वर्णित ब्रम्हास्त्र आदि शस्त्रहरूको उपस्थितिलाई के भन्ने? यिनीहरूले युद्धमा गरेको नरसंहारलाई अभिशाप भन्ने कि नभन्ने? ती युद्धहरूमा पनि ज्ञान र शस्त्र वा विज्ञान दुवैको प्रयोग भएको छ । शस्त्र आफै प्रकट नभएर विजय हासिल गर्ने ज्ञानको उदयपश्चात मात्र युद्धमा अस्त्रशस्त्रको ताण्डव नृत्य मञ्चित भएका छन् ।
विश्वमा आज जातीय भेदभावको ज्ञान र चेतना फैलाएर तनाव, द्वन्द्व र नरसंहार सम्मको स्थिति उत्पन्न भएका छन् । मानिस शिक्षित र सचेत भएपछि स्वतन्त्रता खोज्छ त्यसपछि ऊ आन्दोलन, विद्रोह र द्वन्द्व अनि नरसंहारसम्मको स्थिति ल्याउन समेत तम्सन्छ । के उसो भए यसलाई पनि ज्ञानको अभिशाप मानेर भोलिदेखि ज्ञानको मूल्यलाई अवमूल्यन गर्ने? यसमा सहमत हुने ठाउँ छैन । बरू, ज्ञान र विज्ञानको बीचमा विवेक घुसाएको खण्डमा समस्या समाधान हुन सक्दछ । ज्ञानले ज्ञानसम्मत निष्कर्ष निकालेको अर्थात् विज्ञानले विज्ञानसम्मत निष्कर्ष निकालेको तर विवेकसम्मत निष्कर्ष निकाल्न नसक्दा ज्ञान वा विज्ञान असफल हुने अवस्था आउँछन् । तर अल्पज्ञानको आधारमा हुन गएको विज्ञानको प्रयोगबाट उत्पन्न दुष्परिणामलाई केवल विज्ञानको मात्र दोष देख्नु पक्कै न्यायोचित हुदैन ।
विज्ञानिक साधनलाई आज मानिसले सेवक बनाएर काममा लगाएका छन् । कलकारखाना चल्ने रोबोटले औद्योगिक उत्पादन र निजी कम्प्यूटरले मानिसको क्षमता, उत्पादकत्व र गुणस्तरमा अभूतपूर्व उन्नति गरिदिएको छ । विज्ञानले आविष्कार गरेर विकास गरेको हवाइजहाज, मोटर, रेल चढेर मानिस सजिलै देशविदेश घुमफिर गर्ने गरेका छन् । यसरी विज्ञानले मानप जीवन र जगतलाई सहज बनाएको छ । यसो भन्दैमा वैज्ञानिक उन्नतिको फलस्वरूप मानिस अल्छि भएकाले नसर्ने रोग लाग्यो भनेर त्यो दोष पनि विज्ञानलाई नै दिनु पनि तर्कसम्मत हुँदैन हुँदैन । बीसजना मानिसले गर्ने काम एउटै मेशीनले गरिदियो भनेर मजदुरी खोसियो भन्दै विज्ञानलाई सराप्नु मिल्ला र? अवश्य मिल्दैन । हो हतियारले मालिक चिन्दैन । गाडिले पनि मालिक चिन्दैन । त्यसो भन्दैमा मेसिन वा गाडि चलाउन जानेन भने त्यो आफैलाई घातक हुन सक्छ । चलाउन नजानेर हुने ज्यानको नोक्सानीको दोष पनि त्यो हतियार वा गाडिलाई वा विज्ञानलाई नै दिनु पनि पूर्वाग्रही सोचकै परिणाम हो ।
विज्ञान अपूर्ण छ भनेर तर्क गरिन्छ । यो अवश्य सत्य कुरो हो । किनभने विज्ञानले कुनै पनि सत्यलाई तथ्यसम्मत ढंगले प्रमाणित गर्नु पर्दछ । यो विज्ञानको विशिष्ठता हो, सीमा वा कमी हो । यस अर्थमा विज्ञान अधूरो छ वा अपूर्ण नै छ । यसैले विज्ञानले ज्ञान जस्तो अन्तिम सत्य हुँ भनेर आफू घमण्ड गर्दैन । बरू ज्ञान आफू अन्तिम सत्य हुँ भनेर घमण्ड गर्न पछि नपर्ला । संसारका वैज्ञानिकहरू कुनै पनि सत्यउपर तथ्यपरक ढंगले निष्कर्षमा पुगेपछि सवाल कालो सेतोमा छुट्टिन्छ, र विश्वव्यापी तथ्यको रूपमा स्वीकार्य हुन्छ । विज्ञानले पानीमा हाइड्रोजनको दुइटा र अक्सिजनको एउटा परमाणु मिलेर पानीको एउटा अणु बन्दछ भनेर जब भन्दछ, मेरो देशमा परमाणुको संख्या अलि फरक पर्छ भनेर कुनै वैज्ञानिकले विवाद गर्दैन । किनभने यसले परीक्षण र तर्कको लामो चरण पूरा गरिसकेको छ । तर नेपालको एउटा ज्ञानीको ज्ञान अर्को जात, धर्म वा भूगोलका मानिसलाई कदापि जच्दैन । किनभने ज्ञान तथ्यपरक नहुन पनि सक्छन् । ज्ञानलाई ज्ञानीहरूले जडशुत्र बनाएर पेवा बनाउन पनि खोज्छन् । तर विज्ञान खुल्ला सत्य हो सर्वत्र तथ्य हो । हो, सबै सत्यलाई विज्ञानजस्तो तथ्यले प्रमाणित गर्न असम्भव छ, भन्ने सुविधाको आड़मा सबै ज्ञान सबैलाई जच्दैनन् भन्ने कुरा ज्ञानीहरू स्वयम्ले बुझ्नु पर्दछ । म ठूलो, तँ सानो भन्ने भावना त्याग्नु पनि जरूरी छ । अर्थात् ज्ञान ठूलो, विज्ञान सानो अर्थात् विज्ञान ठूलो, ज्ञान सानो भन्ने पूर्वाग्रहबाट मुक्त सोंचको खाँचो छ ।
ज्ञान वा विज्ञान मध्ये कुनै एक सानो वा अर्को ठूलो अवस्य होइन । साहित्यकारहरूले जीवनभर त्यही विज्ञानको सुखसुविधा लिएर मर्ने बेलामा विज्ञानप्रति कृतघ्नता जनाउनु पटक्कै शोभनीय देखिदैन । औषधी गर्दा निको भएन भनेर निराश भएपछि हिजो विज्ञानले गरेका सबै गुनलाई विर्सेर त्यही विज्ञान अधूरो रहेछ भनेर सत्तोसराप गर्नु भन्दा पनि हरेकको आफ्नो सीमा हुन्छ भनेर बुझ्नु पर्दछ । मानिस जन्मेपछि मर्दछ यो ज्ञानले पनि भन्छ विज्ञानले पनि त्यही भन्छ । एलोपैथी चिकित्सा प्रणालीले निको नभए आयुर्वेद वा अन्य प्रणालीमा जान सकिन्छ । एलोपैथी लगायत अन्य प्रणाली पनि विज्ञानकै देन हुन् । उपचारले रोग निको पार्छ तर एकदिन हुने मृत्युलाई कसैले निको पार्न सक्दैन । त्यत्रो चमत्कार गर्ने विज्ञानले खै मानिसलाई अजम्बरी बनाउन सकेन त! भन्ने व्यङ्योक्ति शैलीमा विज्ञानको अवमूल्यन गर्न खोज्नु निराशाभाव वा कृतघ्न शैली हो ।
निराशावादी निष्कर्षमा पुगेपछि साहित्यकारले सोच्नुपर्छ मैले दिने कुरा अब सकिएछ । किनभने आध्यात्म र साहित्यमा भिन्नता हुन्छ । आध्यात्म धर्म निकट छ, साहित्य भावना निकट । धर्मले मृत्युपछिको एउटा काल्पनिक मार्गचित्र देखाउँछ । जुन कुरा विज्ञानले गर्दैन, किनकि जुन कुरा प्रमाणित गर्न वा सिद्ध गर्न सकिदैन । प्रमाणित गर्न नसकिने कुरा विज्ञानले ज्ञानजस्तो दावी पनि गर्दैन । अवश्य, साहित्यिक मनबाट आध्यात्मिक विचार आउनु अस्वभाविक हैन । त्यसैले कुनै वस्तुगत कारणवस मनमा उत्पन्न निराशा र कुण्ठालाई मनोपरामर्श र आध्यात्मिक चिन्तनले सम्बोधन गर्नु राम्रो कुरा हो । साहित्यकारले आफ्नो अवस्था जानेर बुझेर सामान्य अवस्थामा आफू नफर्कुन्जेल संयमित रहनु पर्दछ । पाठकलाई निराशावादी सन्देश तथा नकारात्मक भाव सम्प्रेषण गरेर दिग्भ्रमित पार्नु हुँदैन । जीवन केही होइन रहेछ, सत्य कहीं छैन रहेछ जस्ता नकारात्मक सोंच वा शून्य वा हीन धारणाको विकास व्यक्तिको मानसिक स्वास्थ्यसित गाँसिन्छ ।
जसरी शरीरलाई अन्त्य गर्ने रोगको उत्पत्ति पनि शरीर भित्रै हुन्छ त्यसरी नै समाज बिगार्ने तत्व वा मानिसको जन्म पनि समाजमा नै हुन्छ । समाजले नै जन्माएको र सदा सम्मान दिएको साहित्यकारवर्गले सदा यही समाज र सामाजिक प्रणाली सफल होस् भनेर भरसक सर्वजनहिताय नभए बहुजनहिताय कर्म र सिर्जना गरि सकारात्मक सन्देश प्रवाह गर्नु पर्दछ न कि जीवनदेखि पलायन हुने निकासतर्फ उन्मुख व्यक्तिवाद वा स्वार्थवादको पक्षपोषण । मानिस स्वभावैले बैगुनी जाती हो भनिन्छ । तर म भन्छु, मानिस मर्ने बेलामा कमसेकम पूर्वाग्राही नबनोस् ।
सभ्यताका प्रारम्भिक चरणमा पनि मानिसले ज्ञान आएर विज्ञानकै सहाराले ढुङ्गामा धार लगाएर हतियार बनायो, शिकार खेल्यो, विज्ञानको सहयोगमा आगो बाल्न जान्यो, आगोमा मासु पोल्यो वा खाना पकाउन जानेकाले नै मानिसको अस्तित्व आज यहाँसम्म संभव भयो । यसैले मानिसको अस्तित्वसित ज्ञानसितै विज्ञान पनि परापूर्वकालदेखि गाँसिएर आएको छ । यद्यपि यही हतियारले मानिसले जनावर मात्र मारेन पक्कै आफ्नै वंश पनि मा¥यो । हुन त, युद्ध, र द्वन्द्व पनि जनसंख्या नियन्त्रणको प्राकृतिक नियम नै मानिन्छ । हाम्रो ध्यान यस्ता मानवनिर्मित मानवक्षति न्यूनतम् होस् भन्नेमा केन्द्रीत हुनुपर्दछ । त्यसैले ज्ञान र विज्ञानलाई विवेकको करेली लगाएर हाँक्न सके मात्र मानिसको अस्तित्व दीर्घकालीन हुनेछ । आज वैज्ञानिकहरूले मानिसको वस्ति पृथ्वीमा मात्र सीमित भएमा एकदिन मानवजातिको लोप हुने भएकाले अन्य ग्रहमा पनि मानव वसोवासको संभावनाको खोजी गरिरहेका छन् । फरक गुरूत्वाकर्षण र परिवेशयुक्त ग्रहमा मानिसको आयु १०० वर्षबाट बढाउन सकिने विज्ञानले दावी गरिरहेको छ ।
यसैले अनन्त ज्ञान, सटिक विज्ञान र आशावादी सोंचलाई सदा विवेकको करेलीले हाँके मात्र मानवजातिको अस्तित्व अनन्तकालसम्म सम्भव छ । र अन्त्यमा,
हेर ! हाँसेको ज्ञान मर्ने बेलामा पनि
कत्ति रून्छ अज्ञान जाने बेला भो भनि ।।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु