अमुक आमाको आग्रह

- राजु अधिकारी

आज अर्को छोरो उनलाई रेखदेख गर्न आउने दिन, आमालाई अलिकति भए पनि आशा छ। दाइहरुले आमाको लागि केहि गर्न सकेनन, मेरो पालो आयो भने यसो गर्छु, उसो गर्छु भनेर उसले बाहिर फलाक्दै हिडेको थियो पहिले। त्यसैले केहि गरिहाल्छ कि भन्ने आशा छ आमालाई। हुन त पहिले पहिले आउने छोराहरुले पनि यस्तै वाचा गर्थे तर त्यहाँ आइसकेपछि सबै वाचा बिर्सन्थे। त्यसैले आमा त्यतिधेरै आशाबादी पनि छैनन।
धेरै भयो आमा बिरामी भएको। त्यसैले उनका सन्तानहरु पालैपालो गरि उनलाई रेखदेख गर्न आउछन। त्यति ठुलो बिरामी पनि होइन, त्यसैले अस्पताल लग्नुपर्ने जरुरत पनि छैन। सायद गरिबीले गर्दा राम्रो खानपान नभएर हो की अथवा अनेक थरि चिन्ताले पिरोलिएर होला, उनलाई नानाथरि रोगले सताइरहन्छन। अपार सम्पत्ति हुदाहुदै पनि सम्पतिको राम्रो ब्यबस्थापन र परिचालन गर्ने मान्छे नहुँदा आमा सधैँ नै गरिबीमा बाँचिन, अझै पनि निकै गरिब छिन्। सन्तानहरु ठुला भए पछि सम्पत्तिको रेखदेख गरेर गरिबीबाट उतार्लान भन्ने उनको ठुलो आशा थियो। तर उनका सबै जसो सन्तानले उनको आशामा तुषारापात गरिदिएका छन्। उनीहरुले त उल्टै आमाको सम्पत्तिको दुरुपयोग गर्दै आफु आफुमा झगडा गर्दै आमालाई झन पछि झन गरिब बनाउदै लगेका छन। त्यसैले आमालाई निकै पिडा छ, उनी रातदिन उदाश भएर ओछ्यान मै सुति रहन्छिन। हरेक पटक नया छोरो आउदा उनले केहि आशा गरेकी हुन्छिन तर आजसम्म हरेक पटक उनका आशाहरु निराशामा परिणत भएका छन। हेरौ आज आउनेले केहि गर्छ कि भनेर उनले उसको बाटो कुरेर बसेकी छिन्।
आमा बोल्न सक्दैनिन, उनी जन्म जातै त्यस्तै हुन। तर उनी सुन्न र देख्न सक्छिन। उनी शालीन र निकै धार्मिक स्वभाबकी छिन। उनी एउटा कोठामा छिन। उनको निजी कोठा हो त्यो। त्यहि कोठामा उनको जीवनका सम्पूर्ण दिनहरु बितेका छन्। सफा गर्ने मान्छेको कमीले गर्दा कोठा अलि फोहोर छ, छोराछोरीहरुले पनि त्यति वास्ता गर्दैनन् कोठा सफा गर्न। तैपनि त्यो कोठा उनलाई निकै प्यारो लाग्छ। उनले त्यसलाई छोड्न चाहदैनिन। तर आजभोली उनलाई त्यो कोठा पनि अलि नियास्रो लाग्न थालेको छ। उनलाई आफ्नो स्थिति देखेर भित्रभित्रै छटपटी छ। उनी त्यसलाई छोराछोरीसंग व्यक्त गर्न चाहन्छिन तर उनी अमुक छिन्। इशाराले आफ्नो कुरा बुझाउने प्रयास गर्छिन तर छोराछोरीहरुले उनको इशारा बुझ्दैनन।
उनी सुत्नको लागि कोठामा खाट राखिएको छ। उनी सुतेको खाटको उत्तरतिर भित्ता छ, त्यहि भित्तातिर नै उनको सिरानी पनि छ। खाटको पुर्व तिर अनि पश्चिम तिर शिशाका झ्यालहरु छन। उनलाई पूर्वको त्यो झ्याल निकै मन पर्छ, बिहान हुने बित्तिकै चराहरु चिरबिर गर्दै त्यहि झ्यालमा उनलाई ब्युझाउन आइपुग्छन। त्यहि झ्यालबाट उनले सुर्यको पहिलो किरण पनि प्राप्त गर्छिन अनि शिशिरको सिरेटो रोक्दै त्यसले न्यानो घाम प्रदान गर्छ भने ग्रिष्ममा शितल पवनले उनको मन चंचल बनाई दिन्छ। पश्चिमको झ्यालले पनि सुर्योदयको बेलाको मलिन किरण अनि सुन्दर दृश पस्केर उनलाई ऋण लगाएको छ। उत्तर तिर उनको शिरानिमा रहेको भित्तासंग पनि उनलाई कुनै शिकायत छैन, त्यो भित्ताले उनको कोठा अर्को कोठाको कोलाहलबाट छुट्याउन मद्दत पनि गरेको छ। दक्षिणतिर अर्थात उनको गोडातिर त्यो कोठाको मूल ढोका छ। त्यो ढोका बाहिर ठुलो गाउँ छ। तर त्यो गाउँ निकै नै फोहोर छ। त्यो गाउँमा बस्ने मान्छेहरु निकै असभ्य र फोहरी छन। उनीहरुले आमाको ढोका भएको ठाउमा आएर शौच गर्छन, त्यहिं फोहोर फाल्छन, कहिले पनि त्यो ठाउ सफा गर्दैनन। अझ त्यो भन्दा पनि चिन्ताको बिषय त त्यो दक्षिणतिरको मूल ढोकामा पल्ला छैनन्, त्यो ढोका सधैं खुला रहन्छ।
त्यसैले त्यो दक्षिण तिरको ढोका र त्यसै संग जोडिएको फोहोर गाउँले उनलाई निकै सताई रहेको छ। हुन त त्यो मूल ढोका हो, त्यो ढोका नभए आमाको कोठामा आवतजावत गर्न पनि सम्भब छैन तर ढोका भए पछि ढोका जस्तो त हुनु प-यो नि, चाहिएको बेला खोल्ने अनि नचाहिएको बेला बन्द गर्न सक्ने तर पल्ला नै नभएपछि उनी त्यो ढोका बन्द गर्न सक्दिनन। अनि त्यो ढोकाको बाहिर रहेको त्यो गाउँ र उनीहरुले शौच गर्ने ठाउँ यति धेरै फोहर छ की त्यहाँ अनगिन्ती हानिकारक किटाणुहरु छन। उनको धार्मिक सोचाइ अनुसार सयनकक्ष संग जोडिएर रहेको त्यो शौच गर्ने ठाउँ उनको लागि अपशकुन जस्तो भएको छ किनभने त्यहाँ मानिसहरुले शौच गर्छन। कहिलेकाही उनको गरिबी र दु:खको मुख्य कारण त्यहि फोहोर गाउँ नै हो किन भन्ने पनि उनलाई लाग्छ।
उनलाई थाहा छ उनका अनेकौ रोगका मुख्य कारण तिनै शौच गर्ने ठाउँका किटाणुहरु हुन। कहिले घाँटी दुख्ने, कहिले छाति दुख्ने, कहिले पेट दुख्ने अनि कहिले ज्वरो आउने। जहिले पनि कुनै न कुनै रुपमा ती किटाणुहरुले उनलाई दुख दिई रहेका छन्। ती किटाणुहरु करौडौको संख्यामा छन्, अनि दिनदिनै नया किटाणुहरु जन्मिदै छन्। उनका शरीरमा भएका बाह्य किटाणुसंग लड्ने स्वेत रक्त कोषिकाहरू भन्दा ती हानिकारक किटाणुहरु निकै नै धेरै छन्। त्यसैले उनका शरीरका स्वेत रक्त कोषिकाहरू ती किटाणु संग धेरै समय लड्न सक्ने छैनन् भन्ने उनलाई थाहा छ। उनलाई डर छ कुनै दिन ती गाउँका किटाणुहरुले उनको शरीर पुरै भरेर उनको अस्तित्व नै खत्तम नगरिदिउन।
धेरै भयो उनले इशारा गरेर त्यो ढोकामा पल्ला हाल्न छोरा छोरि संग आग्रह गरेको। तर कसैले पनि त्यो ढोका बनाउनेमा ध्यान दिएका छैनन। छोराछोरीहरुले उनको इशारा बुझ्दैनन् या जानीजानी नबुझेको जस्तो गर्छन, उनलाई थाहा छैन। त्यो गाउँको मुखिया निकै बदमास छ उसले जानीजानी त्यो गाउँ फोहर राख्छ अनि आमाको कोठा नजिकै गाउलेहरुलाई शौच गर्न लगाउछ ता की किटाणु र दुर्गन्धले उनलाई पिडा होस। अनि आमालाई लाग्छ त्यहि मुखियाले नै सायद उनका छोराछोरीहरुलाई त्यहाँ ढोका हाल्न नदिन अनेक तिगडम खेली रहेको छ। त्यो गाउँको मुखिया पनि समय समयमा बदलिरहन्छ। आमाले नया आउनेले त अलि सफा राख्ला अनि दुर्गन्ध बाट बचीएला भनेर आशा राख्छिन तर जुन जोगी आए पनि कानै चिरेको जस्तो भएको छ। मुखिया बदलिन्छ तर उनीहरुको नियत बदलिदैन। तिनीहरु सप्रिएलान अनि आमालाई शान्तिहोला भनेर सोच्नु सुर्य पश्चिमा उदाउला भनेर आशा गर्नु जस्तै हो। हरेक पटक गाउँको मुखिया फेरिएपछि उनका छोराछोरी त्यो मुखियालाई भेट्न जान्छन। आमाले आशा गरेकी हुन्छिन की सायद ढोका हाल्ने कुरा गर्लान भनेर तर सधैँ झैँ त्यो कुरा उनका छोराछोरीले उठाउदैनन।
नयाँ छोरो भित्र पस्दै आमालाई खुट्टामा ढोग्दै भन्यो- ‘ ल आमा म आए, अब हजुरको सबै समस्या समाधान हुन्छ। तपाई यसरि बिरामी भएर बस्नु पर्दैन। तपाइको कोठा पनि सफा गर्छु म, तपाईलाई पनि सफासुग्घर गरेर सुन्दर बनाउछु। तपाईलाई मिठा मिठा परिकार खुवाउछु, तपाईलाई अब कहिले भोकै सुत्नु पर्ने छैन। तपाइको सम्पत्तिको राम्ररी ब्यबस्थापन गर्छु अनि तपाईलाई संसारकै सबभन्दा सुन्दर र गौरबशाली आमा बनाउछु।’
हुन त उनले ती कुराहरु पहिले पनि सुनेकी हुन तर यसपाली उनलाई अलि बढि आशा छ।
छोरो आएको अर्को दिन तुरुन्तै त्यो दक्षिणको गाउँको मुखियालाई भेट्न गयो। अनि जानुभन्दा पहिले आमासंग सबै समस्याहरु राख्ने बाचा गरेर गएको थियो। प्झार्केर आएर उसले बह्न्यो- ‘आमा अब हजुरको सबै समस्या समाधान हुन्छ, मैले त्यो मुखिया संग सबै कुरो गरेर आएको छु। आमाले केहि सम्म पर्खिन तर केहि परिवर्तन भएन। समस्या ज्यु को त्यु छ। त्यो छोरोले पनि पहिलेकाहरुले जस्तै उनको आशामा तुषारापात ग-यो।
उनलाई यकिन भैसकेको छ की उनका सन्तानहरु उनलाई रेख देख गर्न आउने बहानामा रेख देख भन्दा पनि उनको सम्पति माथि मस्ती गर्न आउछन र आफुलाई मनग्गे पुग्ने गरी लगेर जान्छन। उनीहरुले पालै पालो गरेर आमाको सम्पति लुटेका छन्, मोज मस्ती गरेका छन् तर आमालाई सधैँ गरिब अनि दुखि बनाएका छन्।
त्यो सबै देखेर आमालाई रिस उठ्छ, तर उनी अवाक छिन। कस्ता नालायक सन्तान जन्मिएछन भनेर उनी दु:ख मनाउछिन तर केहि गर्न सक्दिनन।
उनको बिगत कति रमाइलो थियो, उनी आफ्नो बिगत सम्झिदा निकै रमाउछिन।
कति सुन्दर थिईन उनी। उनी जन्मिदा उनको कपालको रङ्ग अरुको जस्तो नभएर निख्खर सेतो थियो। त्यो सेतो कपाल बिहानीको सुर्यको किरण पर्दा उनको शीर सुन जस्तै टल्किन्थ्यो। उनको त्यो कपाल नै उनको बिशेष पहिचान थियो। त्यही कपालले नै उनलाई समाजमा चिनाएको थियो। तर अहिले त्यो कपाल कति फोहर भैसकेछ, त्यहाँ चाया, जुम्रा र लिखा परेका छन्, कति त झरेर पनि सकिदै छ, तर त्यो सुन्दर कपाललाई स्याहार सुसार गर्न उनीसंग तागत छैन, अनि उनका छोराछोरीहरुलाई त्यसको सुन्दरता प्रति वास्ता छैन।
आफ्ना मातापिताले दिएको निलो बुट्टे चौबन्दी चोली अनि हरियो गुन्युमा उनी कति सुहाउछिन। उनलाई त्यो त्यो पहिरन यति धेरै मन परेको छ की उनले त्यो पहिरन बाहेक अर्को पहिरन फेरी कहिले पनि लगाएकी छैनिन। तर अहिले उनले लगाएको त्यो चौबन्दी पनि ठाउँ ठाउमा फोहरको धब्बा बसेर कुरूप भैसकेको छ। उनको त्यो हरियो सुन्दर गुन्यु पनि धेरै ठाउमा फाटिसकेको छ। ती फाटेका कति ठाउमा उनले आफै सियो लगाएर सिलाएकी छिन् किनभने उनलाई गुन्युका ती कपडाहरु छुट्टिएर नजाउन भन्ने छ। तर यता टाल्यो उता च्यातिन्छ उता टाल्यो अर्कोतिर च्यातिन्छ। बाहिर कतै जाँदा आफु संगै हुर्के बढेका आफ्ना संगीहरु सुन्दर पोशाकमा सजिएर निकै खुशी हुदै कुरा गर्छन तर उनीसंग पुराना झुत्रा कपडा र दु:ख बाहेक केहि छैन। त्यसैले पनि आमाले आफ्ना संगीहरुलाई बिरलै भेट्छिन। आमाको झुत्रा लुगा देख्दा देख्दै पनि छोराछोरीहरु कसैलाई वास्ता छैन, नया सफा अनि नच्यातिने चौबन्दी र गुन्यु आमालाई किनिदिने। तर केहि छैन, जीउ रहे ती गुन्यु चोली त किनिदै गरिएला तर पिर त जीउ नै नरहला भन्नेमा भयो त्यो दक्षिणको ढोकैको फोहोर गाउँले गर्दा।
आमा मनमनै कुर्लिन्छिन- ‘मलाई रोग लागेको छ, त्यो रोगको जडबाट मलाइ पहिले मुक्त गराउ अनि अरु सबै म आफै गर्न सक्छु। त्यो गाउँ र मेरो कोठाको खुल्ला ढोका नै मेरो रोगको मुख्य कारक हो। त्यहाँ किन तिमीहरु ढोका जडान गर्दैनौ? ढोका जडान गरे त सबै समस्या समाधान भैगो। चाहिएको बेलामा म ढोका खोल्छु अनि नचाहिएको बेलामा बन्द गर्छु। गाउँको दुर्गन्ध र किटाणु त्यसले नियन्त्रण गर्छ अनि मेरो बिरामी त्यत्तिकै निको हुदै जानेछ। यति सजिलो उपाय तिमीहरुले किन बुझ्दैनौ? त्यहाँ ढोका हालिदेउ, अनि बन्द गरिदेउ। तिमीहरु त्यो मुखियासंग किन डराउछौ? आफ्नो घरमा ढोका हाल्न पनि के को डर हो? त्यो ढोका बन्द भए पछि म बिस्तारै ठिक हुदै जानेछु, तिमीहरुले अरु केहि गर्नु पर्ने छैन। मेरो केश पुन: पहिले जस्तै सफा र चम्किलो हुनेछ। मेरा गुन्यु चोलीहरु सफा र नयाँ हुनेछन, मलाइ मेरा संगीहरुसंग भेट गर्दा लाज लाग्ने छैन, मेरो सबैले इज्जत गर्नेछन्। तर त्यो ढोका खुल्ला भैरहे, त्यहाँबाट किटाणु आइरहे, दुर्गन्ध आइरहे अरु जे गरे पनि मेरो बिरामी ठिक हुने छैन। म दिनप्रतिदिन त्यहि रोगले गल्दैजानेछु अनि म एकदिन तिनै किटाणु र त्यहि रोगको कारणले मर्ने छु। ती किटाणुहरु निकै घातक छन्, तिनलाई परास्त गर्नु मेरो बशको कुरा होइन, त्यसैले उनीहरुले यहाँ आक्रमण गर्नु अगावै उनीहरुलाई रोक। मेरो इशारा किन बुझ्दैनौ तिमीहरु? यहि काखमा खेलेर हुर्केका तिमीहरु आमाको यो दर्द अनि बेदना अनि इशारा किन बुझ्दैनौ मुर्खहरु? म कसरी सम्झाउ? के इशारा गरु? अब निकै ढिलो भैसकेको छ, यदि अझै पनि त्यो दक्षिणको त्यो ढोका बन्द गरेनौ भने केहि बर्षमै तिमीहरुले यो खाटमा आमाको लाश मात्र पाउनेछौ।’

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु