सुषुप्त ज्वालामुखी

- भूधरा उपाध्याय

कोशी ब्यारेजको बन्द ढोकाले नेपाली जनताको आर्थिक , सामाजिक , भौतिक र मानसिक ब्यथा बढ्दै गइ रहेको थियो भने खोलिएको ढोकाले बिहारका जनताको गाँस, बास र कपाससँगै इहलीला नै समाप्त पार्ने भय थियो । बर्षौनी बर्षायामसँगै यी अकल्पनीय ब्यथाहरु आइ रहन्थे तर बर्षायाम सकिनासाथ सबै साम्य हुन्थे । यसपालीको बर्खामा पनि यस्तै समाचारहरु आइरहेका थिए । भारतले आफ्नोमात्र स्वार्थ हेर्यो , बिहारतर्फ बाढीको व्यवस्थापन गरेपछि मात्र नेपालमा पुलको ढोका खोलिने , नेपालका बासिन्दाको रातको निद्रा र दिनको चयन खोसियो , हजारौं घरबार विहिन तर पनि नेपाल सरकार मौनजस्ता समाचारले मलाई कोशीको वास्तविक पीडा बुझ्न झक्झकायो।

म एउटा प्राविधिकको नाताले कोशी ब्यारेजको निरीक्षण गर्न सरकारी तर्फबाट तम्सिएँ। मलगायत हामी पाँचजना त्यो पुलको अध्ययनको लागि राजविराजको बाटो लाग्यौं । हामीले राजबिराजको एउटा लजमा झोला बिसायौँ । सिमसिम पानी परिरहेको भए पनि हामी कोशी ब्यारेजतिर लाम्कियौँ । ब्यारेजको दुबैपट्टी रातो झण्डा फर्फराइरहेको थियो । पुलको एकातर्फ रातो बत्ती बालिएको थियो । कोशी नदीमा पानीको बहाब अति नै बढेको थियो । झण्डै झण्डै पुललाई नै पानीले छुने हो किजस्तो देखिन्थ्यो । पुलमा उभिएर पानीलाई निहार्दा रिङ्गटा लागेझैँ हुन्थ्यो । घरीघरी त पुल नै हल्लिएजस्तो लाग्थ्यो ।

हामीले आफ्नो ज्ञान र सीपको प्रयोग गरेर पुलको चेक जाँच गर्न थाल्यौँ । निरीक्षणको क्रममा देखिएका प्राविधिक कुराहरुको टिपोट गर्दै गयौँ । हामीले निरीक्षण गर्न थालेको तीन दिन भएको थियो । मैले पुलको एक किनारामा सधैँ एउटा अधबैंसे मानिस उभिएको देखें । शुरुका दिनमा त खासै वास्ता गरिन तर तेस्रो दिन पनि उसलाई त्यही अवस्थामा देख्दा मेरो ध्यान ऊतर्फ केन्द्रित भयो । दिनको करिब चार बजेतिर त्यो मानिस पुलमा आउँथ्यो । पुलको डण्डी समातेर पानीको बहावलाई एकोहोरो हेरिरहन्थ्यो । म उसको छेउबाट धेरैचोटी ओहोरदोहोर गरेँ । उसको छेउमा डण्डी समातेर पानीको बहावलाई नियालेझैँ गरेँ तर उसलाई कुनै असर परेन । उसले मलाई पुलुक्क पनि हेरेन । मलाई त्यो व्यक्तिको रहस्य बुझ्न मन लाग्यो।

जुन दिनदेखि हामी कोशी ब्यारेजको अध्ययनमा लाग्यौँ , लगातार पानी परी नै रह्यो । झरीमा भिजेर होला मलाई रुघा खोकी र ज्वरोले सतायो । दिनको ठिक एघार बजे म सप्तरी अस्पताल पुगेँ । टिकट काटेर डाक्टरलाई देखाउन छिरे । डाक्टरले चेकजाँचपछि मलाई सामान्य औषधि दिदै आराम गर्ने सल्लाह दिए । कोठामा आएर एउटा गोली खाएर सुतेको थिएँ भुसुक्कै निदाएछु । निद्रामा कोसी ब्यारेजको रेलिङमा दुबै हातले समाएर उभिएको त्यै मान्छेलाई देखेँ । पानीको बहाव यति धेरै भएछ कि त्यो मान्छेको कम्मर कम्मर पानी पुगेछ । अब डुब्ने भयो भन्ने चिन्ताले म छटपटिन थालेँ तर ऊ भने आरामले उभिइ रहेको थियो ।उसलाई त्यो पानीबाट निकाल्ने कोशिश गर्दा गर्दै मेरो निद्रा भङ्ग भयो । ब्युझदाँ मेरो शरीर पूरै पसिनाले भिजेको रहेछ ।

अघिको दबाईले काम गरेछ । ज्यानमा ज्वरो थिएन । सपनामा पनि मलाई नछोड्ने त्यो मान्छे को होला ? आखिर त्यो किन सधैँ त्यहाँ बस्छ ? यही जिज्ञासाले मलाई साँझपख पुलतिर लम्कायो ।

"सर ! तपाई किन आउनु भयो ? आज एकदिन त आराम गरेको भए हुन्थ्यो नि ! "- मसँगै पुलको अध्ययन गर्न खटिएको रामहरिले भन्यो ।

" दबाई खाएपछि अलि ठिक भयो । कति सुतिरहनु भनेर यतै आएँ।" मैले त्यो मान्छे उभिने ठाउँतिर हेर्दै जवाफ दिएँ ।
“आज त खाली छ नि ! खोई त्यो मान्छे अहिलेसम्म आएनछ? “

“ नाम लिया सैतान हाजिर ! ऊ पर हेर्नुस् त सर ! “

रामहरिले इशारा गरेतिर हेरेँ । त्यो मान्छे लमक लमक पुलतिरै आइरहेको थियो । पुलमा उभिदा उसको अनुहारको एकातिरको गालामात्र देखेको थिएँ । अहिले मेरो सामुन्ने आइ पुग्न लागेको थियो । उसलाई देखेर म आश्चर्यमा‌ परेँ । ऊ त मलाई दिउँसो दबाई लेखिदिने डाक्टर पो रहेछ । म झटपट उठेँ , उसको सामुन्ने गएँ र दुबै हात जोड्दै बोलें -“ नमस्कार डाक्टर सा’ब ।”
उसले मलाई हेर्दै नहेरी जवाफ दियो -“ नमस्कार !”
ऊ एकछिन पनि रोकिएन । सरासर आफ्नो बाटो लाग्यो ।
डाक्टर सा'ब , डाक्टर सा'ब .....! " मैले पछाडिबाट आवाज दिएँ । उसले मेरो आवाजको कुनै वास्ता गरेन । मन खिन्न भयो । एकछिन ऊ गएको पछाडिबाट हेरिरहेँ । ऊ साबिक कै ठाउँमा पुग्यो । ब्यारेजको डण्डीलाई समातेर प...र ... प...र हेरिरह्यो ।

म चिया पसलतिर लागेँ तर दृष्टि भने डाक्टरतिरै थियो । " एक कप चिया दिनु त साहुनी । रङ्ग अलि कडा हाल्नु , चिनी चाहिँ नराख्नु है ।"

"जवानी मै चिनी रोग लागेछ यो भाइलाई त !" - साहुनी जिस्किदै बोलिन् ।

" चिनी रोग लागेको होइन साहुनी ! आज कडक चिया खान मन लागेर पो !"
साहुनी चिया बनाउन लागिन् ।

" मलाई पनि चिया बना है ठूली ! साह्रै तल तल पो लाग्यो ।"

" तिमीलाई चिसो चियाको तलतल लाग्यो होला नि !" - साहुको बोली खस्नै नपाई साहुनी बोलिन्

" अस्ति डाग्डरले भनेको सुनिनस् ? चिसो चिया खानु त परै जाओस् , सम्झेँ भने पनि मर्छु रे त ! त्यो दिनदेखि मैले धरोधर्म हेरेको पनि छैन त्यसलाई ।"

"उस् ।" ओठ लेप्राउँदै साहुनीले हाम्रो अगाडि चिया राखी दिइन् ।

" कुन डाक्टरले जाँचेको साहुजी तपाईँलाई ? " मैले जिज्ञासा राखेँ ।
चिया सुरुप्प पारेपछि साहुजी बोले -
" यहाँ कति डाग्डर छन् र फेरि फेरि जाँच्नलाई ? त्यही एउटा डाग्डर त हुन् नि ! ... उनैले ।"

"ऊ त्यो पुलमा उभिने डाक्टर हुन् तपाईलाई जाँच्ने ?" मैले चोरी औँलाले देखाउँदै सोधेँ।

मैले देखाएतिर हेर्दै उनी बोले -" त्यत्ति फुर्सदिला डाग्डरलाई देखाएको होइन मैले । बोल्न त फुर्सद छैन उनलाई ।"

" ए .....! "
त्यसपछि म चूप नै बसेँ ।

हामीले सात दिनमा पुलको अध्ययन पुरा गर्यौँ। काम सकिएकोले हाम्रो काठमाण्डौ फर्किने तयारी शुरु भयो । साथीहरु त्यही दिन फर्किए तर म भने दुई दिन राजबिराज नै बस्ने भएँ । दिनको ठिक चार बजे कोशी ब्यारेज पुगेँ । डाक्टर आई सकेका रहेछन् । डाक्टरको छेउमा गएर बोलेँ -" डाक्टर सा'ब नमस्कार ! "
उनले सुनेको नसुनै गरेर टारिदिए । मैले फेरि भनेँ -" डाक्टर सा'ब मलाई हजुरसँग कुरा गर्नु छ ।"

" म यहाँबाट फर्किदा कुरा गरौँला । अहिले मलाई एकान्तमा रम्न दिनुस् ।" उनले मलाई नहेरी जवाफ दिए ।

-" हवस् भरे भेटौँला ।" भन्दै म त्यहाँबाट बाहिरिएँ ।
त्यहीँ नजिकैको चिया पसलमा बसेँ । समय बिताउन मलाई धेरै कठिन भयो तर पनि प्रतिक्षा गरी रहेँ । उनी झमक्क साँझ परेपछि मात्र त्यहाँबाट हिडेको देखेँ। उनी आउने बाटोमा उभिएँ । उनले उनकै गाडीभित्र बस्ने इशारा गरे ।

"डाक्टर सा'ब म पुलको प्राविधिक अध्ययन गर्न आएको ईन्जिनियर सुवास । आजै मात्र हाम्रो काम सकियो । साथीहरु बिहानको गाडीमा काठमाण्डौ फर्की सके । म चाहिँ दुई दिनपछि मात्र फर्किन्छु ।" मैले गाडीको ढोका लाउँदै भने ।
"भन्नोस् ! मैले के सहयोग गर्नु पर्यो तपाईलाई ? " डाक्टरले गाडी स्टार्ट गरे। गाडी आफ्नै रफ्तारमा अघि बढ्यो ।

" रिसानी माफ होस् डाक्टर सा'ब ! म तपाईको रहस्य जान्न चाहन्छु । दिनभरि तपाई फ्रेस हुनुहुन्छ । बिरामीसँग राम्ररी डिल गर्नु हुन्छ तर साँझमा ....? " मैले सकेसम्म नरम स्वरमा भने ।
उनले गाडी घ्याच्च रोके । म डराएँ ।

"सरी डाक्टर सा'ब मैले हजुरको व्यक्तिगत कुरो सोधेर ठेस पुर्याएँ तर मेरो उदेश्य त्यस्तो थिएन । "
म गाडीको ढोका खोलेर बाहिर निस्किएँ । ढोका लगाउँदै निहुरिएर डाक्टरलाई भनेँ - " सरी डाक्टर सा'ब ! " मैले दुबै हात जोडेँ ‌।

" हामी भोलि यहीँ पुलमा भेटौँला !" डाक्टरले बोल्दै गाडी गुडाए।

म खुसीले पुलकित भएँ । उभिएर गाडी गएको आँखाले देखुञ्जेल हेरी रहेँ अनि बिस्तारै होटल फर्किएँ ।

कोशी ब्यारेज पुग्दा ठिक चार बजेको थियो । डाक्टरलाई देख्नासाथ म खुसी भएँ तर उनी भने गम्भीर थिए । सामान्य भलाकुसारी पश्चात मैले सोधेँ -" डाक्टर सा'ब ! हजुरको यो पुलमा दैनिकरुपमा बिताउने नैराश्यपूर्ण एक्लो समयको राज के हो ?"
डाक्टर निकै समय चूप रहे । रिसाए कि के हो ? मैले आफैँलाई प्रश्न गरें ।
-" डाक्टर सा'ब मैले हजुरको बारेमा अनावश्यक चासो लिएँ ।"
-" तपाईको प्रश्न ले मेरो मन नराम्ररी चिमोटिएको छ । यो मेरो एकान्तको रहस्य म आफैले कसरी सुनाउँ भन्ने सोचिरहेछु।" डाक्टरले लामो सास ताने । म भने उनको मुख हेरी रहेँ ।

उनले पुलको रेलिङबाट हात हटाएर ढाडलाई रेलिङमा अड्याए । फेरि दुबै हातले रेलिङलाई नै विपरीत तिरबाट समाते । कोशी नदीको आफूतिर आउँदै गरेको पानीको बहाव हेर्दै आक्रोशित भएर बोले -
" मलाई यो कोशीको भेल हेर्दा मनमा ज्वालामुखी उठेर आउँछ। यसले गर्ने बिनासलाई सम्झदा प्रचण्ड ताप बनेर पानी सुकाइ दिउँ झै लाग्छ ।"

डाक्टरको कडा स्वरले मलाई झस्कायो । उनको अनुहारमा रिसको ज्वाला बलेको मैले प्रष्टै देखेँ । मैले उनको कुममा थपथपाएँ अनि सकेसम्म नरम स्वर बनाएर सोधेँ - "के भयो डाक्टर सा'ब ?"

उनी मतिर नहेरी बोल्न थाले -
"म हाम्रो विवाह भएको मिति जहिल्यै बिर्सन्थेँ । मेरी पत्नी सधैं यही कुराले मलाई छेड हानी रहन्थिन् । असार पच्चीस गते हाम्रो बिहे भएको पच्चिस बर्ष हुदै थियो । यसपाली चाहिँ मैले जसरी भए पनि यो मिति सम्झिनु थियो । उनले साथीभाइ र केही आफन्तलाई निम्तो दिएकी थिइन् । पच्चिसौँ वैवाहिक उत्सवको दिन बेलैमा घर पुग्छु र पत्नीलाई छक्क पार्छु भन्ने सोचेँ । अस्पतालबाट करिब तीन बजे निक्लिएँ । बाटोमा सुन पसलभित्र छिरेँ । एउटा सुन्दर सुनको हार पत्नीको लागि किनेँ । म घरतर्फ जाँदै थिएँ, अस्पतालबाट फोन आयो । एकछिन् त सोचेँ होस् उठाउँदिन । फेरि क्षणभरमा नै बिचार परिवर्तन भयो र फोन उठाएँ । -"सर ! यहाँ एउटा इमर्जेन्सी केश आयो । हजुर झट्टै अस्पताल आउनु पर्यो । "
- "आज तिमीहरुले सल्भ गर न! मलाई समय मै घर पुग्नु छ।"
- " हैन सर धेरै समय लाग्दैन । बिरामीको मृत्यु भइ सकेको जस्तो छ । खाली हजुरले मृत्युको घोषणा गर्न मात्र बाँकी छ।"

मैले गाडी अस्पतालतर्फ मोडेँ । मलाई फोन गर्ने मेरो सहायक मेरै बाटो हेरेर बसेको रहेछ । उसले इमर्जेन्सी वार्डतिर देखायो। - "के भएको रहेछ ?" मैले जिज्ञासा राखेँ ।
- डुबेको रहेछ डाक्टर सा'ब ।"
- "पुलिसलाई खबर गर्यौ?- "
- " छैन। "
म बिरामी राखेको ठाउँमा पुगेँ । बिरामीलाई एम्बु ब्यागको सहायताले कृतिम श्वास दिइरहेको थियो । मैले उसको नाडी छामेँ । पल्स भेटिएन । हात अलि कडा भइसकेको थियो । छातीको ढुकढुकी चेक गरेँ । त्यो पनि बन्द भइसकेको थियो ।
-" नो चान्स । स्टप इट । मृत्यु केही घण्टाअघि भएको हुनसक्छ। कोशिस गर्नु बेकार छ ।" मैले मेरा सहयोगीहरुलाई भनेँ।
एक नजर नाडी घडी हेरेँ । अाधी घण्टामा त घर पुगिहाल्छु भन्ने सोचेर अलि ढुक्क भएँ ।
"बिरामीको आफन्त को हुनुहुन्छ? " - मैले सोधेँ ।

-"कोही छैन । कोशीको बाढीले बगाएकाहरुको उद्दार गर्दा गर्दै बगेर आएको देख्यौँ । हतार हतार तानेर किनारामा ल्यायौँ । घोप्टो पारेर पानी पनि छदायौँ अनि दौडाउँदै यहाँ लिएर आयौँ। एकजनाले बेलिबिस्तार लगाए ।
उसको कुराले मलाई च्वास्स भयो । मैले फर्किएर बिरामीलाई हेरेँ । एम्बु ब्याग भर्खरै हटाइएको अनुहारमा‌ मेरो आँखा पर्यो । केही सुन्निएको अनुहार ! देख्दै म आत्तिएँ । हतार हतार मैले फेरि बिरामीको नाडी छामेँ । छाती छामेँ अनि उसकै छातीमा टाउको राखेर भक्कानिएँ। "

-" डाक्टर सा'ब ! डाक्टर सा'ब ! यस्तो के गरेको डाक्टर सा'ब ? " - मलाई मेरा सहयोगीले उबाट अलग गराए ‌।

-" ऊ मेरो छोरो , मेरो बच्चा ! कोही त बचाउ उसलाई !"
म रोएँ कराएँ ।"

मेरो आँखा आँसुले भरिए । डाक्टरको अनुहार हेर्ने समेत हिम्मत भएन ।
हामीबीच निकैबेर मौनता छायो ।

फेरि उनै बोले -" त्यो दिनदेखि मैले हाम्रो वैवाहिक बर्षगाठ कहिल्यै बिर्सिनँ अनि यो भेल मेरो मानसपटलमा सुषुप्त ज्वालामुखी बनेर यादगार रह्यो।"

डाक्टरको आवाज कोशीको बहावसँगै तैरदै मेरो कानमा आएर ठोक्कियो र विलिन भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु