वीरगञ्ज रिप्ले

- शेरबहादुर कार्की

अगाडि बा1च-5743 नम्बरको पाथीभरा लेखिएको बस उभिएको थियो। छेउमा म अनि कवि अमिर भण्डारी थियौं। बसको झ्यालमा ठूलो अनुहार भएकी सेतो रङकी युवती झ्यालबाट बाहिर हेरिरहेकी थिइन। काँकरीभिट्टाको गर्मीले हाम्रो ज्यान लिन लागेको थियो। यहाँ यति गर्मी हुँदाहुँदै पनि वीरगञ्जलाई सम्झेर शितलता नै अनुभव गरिरहेका थियौं। घरिघरि त्यो झ्यालकी युवतीसित घरि मेरा घरि अमीरका आँखाहरू चार हुन्थे।
‘दा, बस चेञ्ज गरौं होइन?’ अमीरको रुमानी भाव बस पार्कभरि पोखियो। मलाई सन्की चढि

रहेको थियो। नाथु वाशरूम गएर दुईखेप मुखमा पानी छ्याप्दा बीस रुपियाँ तिर्नुपरेको तातो रिस त्यहाँको गर्मी भन्दा उखर्माउलो भइरहेको थियो। ‘साला बीस रुपियाँमा त मुख मात्रै होइन अरु पनि धुन्छु’ भनिराखेर बाहिर आउँदा बसको यस्तो दृश्यले रिस त कतिबेला हराएछ थाह नै भएन। अमीरका कुरापछि म अलिकति हाँसी दिएँ। लगभग बीस पच्चिस मिनटसम्म घरि अमीरका घरि मेरा उनीसित आँखाहरू चार हुने क्रिया चलिरह्यो। त्यसपछि त्यो बस आफ्नो लक्ष्यतिर अघि बढ्न थाल्यो। ती युवतीका दुई आँखाहरूले हाम्रा दुई-दुई आँखालाई छोडेर गए। केही क्षणमा गोपाल पनि आइपुगे हातमा पानीको बोतल बोकेर। मुखमा रजनीगन्धको सानो पाकिट शायद एउटा डल्लै लगाएको थिए।



दार्जीलिङका साथीहरू कमल भट्टराई अनि किरण काम्बाङलाई पर्खिन्दा खाना खाइसक्यौं। वहाँहरूले सिलगढीमै खाइसकेका थिएछन्। बसको टिकट गरी सकेका थियौं। राधा चारआलीबाट चढ्ने भएर अघि गइसकेकी थिइन् तर जीविका दिदीले हामीलाई साथ दिइरहनु भएको थियो। आँखा जुध्ने बसभित्रका आँखाहरू अघि गइसकेका थिए। अहिले हामीसित अचाहिँदो गर्मी र चिसो पानीका बोतलहरू मात्र थिए। गर्मीले टाउको तातिएकाले गिदी पनि लाभाजस्तै बग्ने स्थितिमा थियो। शरीरबाट पसिनाका थोपाहरू पहाडको झरणाजस्तै निधारदेखि नितम्बसम्म रनाथनगर्दै थिए। परिश्रम अनि दुःखले मात्र पसिना नआउँदो रहेछ, जीवनमा प्रथमपल्ट फिल गरें। तर समाजमा दुःख र परिश्रमी पसिनाको मात्र मूल्याङ्कन हुँदो रहेछ।
हामी वास्तवमा नेपालको वीरगञ्जतिर हिँडेका। सिक्किमबाट पाँच जना र दार्जीलिङबाट दुई जना गरी सात जनाको टोली थियो। वीरगञ्जमा नेपाल-भारत साहित्य महोत्सवमा भाग लिन दुई स्थानका कविहरू हिँडेका थियौं। कवि कति हुँ हामीलाई यो त थाह छैन। तथापि कहीँ कतै अवसर आउँदा सिक्किमबाट र दार्जीलिङबाट मिलेर जाने गरेका छौं। केही गर्दा पनि साँढे पाँच घडीले बजाउन सकिरहेको थिएन। समय हो कति बलवान हुन्छ, थाह थियो तर आज पक्का भएको अनुभूति पनि भयो। बल्ल-बल्ल समय भयो। यात्रुहरू आ-आफ्नो स्थानमा बस्न थाले। हामी पनि आफ्नो स्थानमा गएर बस्ने भयौं। सबैले आ-आफ्नो लगेज अनि ब्यागहरू मिलाएर राख्यौं। अनि मिलेर बसमा बस्यौं। बसका अधिकांश मानिसहरू हाम्रो रङका थिएनन्। बस पनि उस्तो थिएन। तर पनि सुविधा उत्तिकै थियो। हाम्रो टोलीको कसैको हातमा पानी, कसैकोमा फेन्टा अनि कसैकोमा स्प्राइटको बोतल मात्र थियो। रातिको यात्रा भएकोले गर्दा सबैले आ-आफ्नै जोहो गरेका थिए। मेरो हातमा एक बोतल फेन्टा थियो, अमिरकोमा पानी, जीविका दिदीकोमा पानी, कमल अनि किरण सरहरूको हातमा पनि पानी थियो। गोपाल सरको हातमा स्प्राइट थियो। सबैले पानीका बोतलहरू आ-आफ्नो छेउमा जहाँ ठाउँ छ त्यहाँ मिलाएर राखे। गोपाल सरले स्प्राइटको बोतल बडो जतनका साथ उनकै छालाको एकहाते ब्यागमा हाले।
बल्ल बसले काँकरीभिट्टालाई छोड्नको निम्ति आफ्नो टायर घुमायो। विस्तारै गुड्न थाल्यो। समतलको कालो लमतन्न सुतेको निर्लज्जित सडकको छातीलाई चिरेर बसले आफ्नो लक्ष्यतिर बढ्न थाल्यो। यो बसमा हाम्रो लगभग 12 घण्टाको यात्रा हुनेछ। अब हाम्रो टोलीमा चारआलीबाट राधालाई चढाउन मात्र बाँकी छ। पसिनाका दानाहरू कुदिरहेछन्, बस गुडी रहेछ। दार्जीलिङका मित्रहरूमा कमलसित पहिला चिया कवितामा चिनजान भएको थियो। कुरा गर्न तथा औपचारिकताबाट माथि उठ्नमा हामीलाई धेरै सहज भयो। किरण काम्बाङसितको भने यो हाम्रो पहिलो भेट हो। म अनि गोपाल बसको एकै सिटमा बसेका छौं। गोपाल झ्यालतिरको सिटमा बसेका छन्। बस गुढ्दा झ्यालबाट आएको हावाले केही शीतल अनुभव भइरहेको थियो।
समतलको आकाशमा सूर्य पश्‍चिम क्षितिजतिर हराउँदै-हराउँदै जाँदै थियो। हामीले विस्तारै अँध्यारोको अनुभव गर्न थालेका थियौं। जीविका दिदी र राधा आफ्नै गफमा तल्लीन। म र गोपाल छिल्लिनमा। किरण र कमल सरमा के गफ भइरहेको थियो, दुवै गम्भीर थिए। अमीर अर्कै सिटमा अर्कै मान्छेसित बस्नु परे तापनि झ्यालबाट सन्ध्याको रङसित रुमानी भइरहेको अनुहारमा स्पष्ट देखिन्थ्यो। उसै पनि अमीरको नेपालमा साहित्यिक यात्रा भएको हुनाले उत्सुक थिए। विस्तारै हामीले बोकेका पानी अनि फेन्टा सकिन्दै गए। जसरी उज्यालोको आभा धरतीबाट हराउँदै जाँदै थियो उसरी नै हाम्रोमा भएका पानी र फेन्टा पनि सकिन्दै जाँदै थिए। विस्तारै हामी चारआली, धुलाबारी, विर्तामोड, दमक हुँदै हुँदै बढिरहेका थियौं।
मलाई वीरगञ्जप्रतिको मोह धुव्रचन्द्र गौतमको अलिखितदेखि अमर न्यौपानेको पानीको घामसम्मले जागेको हो। यसमा पनि झन पानीको घामले मलाई वीरगञ्जको चोक-चोक, गल्ली-गल्ली, त्यहाँको जन-जीवन, बाँच्ने शैली र टाँगाको पीडासम्म अनुभूत गराएको हो। भिजाएको हो। त्यही कारण मेरो निम्ति वीरगञ्जको साहित्यिक यात्राले फरक महत्व राखेको थियो। यो यात्रामा मेरो फरक मोह थियो। मनमा पानीको घाममा भएका टाँगावालाहरूसित उसरी नै कुरा गर्ने सपना पूरा हुने भएकाले स्पन्दनले तीव्र गति समाएको थियो। जीवन धान्नको निम्ति बिहानीको भुकभुकेदेखि साँझको रिमरिमसम्म टाँगाका पाङ्ग्रा गुडाउनुपर्ने परिश्रमको मोहले मलाई खिचिरहेको थियो। जति यो यात्रामा पूर्व नेपालदेखि वीरगञ्जको लक्ष्य नजिक हुँदै जाँदै थियो, उति आफूलाई मोहले चिथोरिरहेको थियो। बस कोशी ब्यारेकको पुलमाथि गुडी रहेको थियो। आफूले जानेसम्म कोशीको बाढ विषय गोपाल र अमीर भाइलाई जनाए। राधाले पनि केही कुरा थपिन्। राधा धनुषा ढल्केबरकी भए पनि सिक्किम विवाह गरेर आएकी हुन्। त्यसैले उनलाई यस विषयमा अझ ज्ञान थियो। उनले कोशीले वर्षमा एकपल्ट गर्ने क्षतिबारे धेर-थोर जानकारी दिइन्। यसले नेपालका केही स्थानसहित भारतको विहार राज्यलाई धेरै क्षति गर्ने गरेको र यो पुल पनि जीर्ण भएको राधाबाट आधा जानकारी प्राप्त गर्‍यौं। कोशीको ब्यारेक पुग्दा ठूलो साँझ टरेर रात्रिकाल शुरू भइसकेको थियो। तथापि, पुलमा लगाइएको बिजुलीको उज्यालोले कोशी कसरी उर्लिएको थियो देख्न सकिन्थ्यो।
सबैले कोशीलाई पनि विदा दिएर मोरङ जिल्लामा प्रवेश गरी सकेका थियौं। अर्थात बस मोरङको बाटोमा गुडी रहेको थियो। जति दक्षिण छिर्दै गयो उति गर्मी बढ्दै थियो। अब त एकक्षण बस रोक्दा पनि गर्मीले शीरदेखि पाइतालासम्म ताण्डव गरिहाल्थ्यो। रातिको दस बज्न लागेको थियो। मोरङको बाटो सिद्धिएको थियो। हामी सुन्सरीमा प्रवेश गरिसकेका थियौं। खाना खानको निम्ति बस रोकियो। सबै यात्रुहरूले एकपल्ट आङलाई तनाक-तुनुक पारे बसभित्रै अनि विस्तारै ओर्लिए। बाहिर गर्मी उत्तिकै भए पनि बेला-बेला कताबाट चिसो हावा आउँदैथियो। सबै यात्रुहरू अर्धनिन्द्रा अवस्थामा लस्याङ-लस्याङ गर्दै बाहिर निस्किए। खान खुवाउने ठाउँका मानिसहरूले ‘ल खाना खानु होस्, ल खाना खानुहोस्’ भन्दै बसको वरिपरि घुम्दै अनुरोध गरिरहेका थिए। यतिबेला मलाई भने गाउँको याद आयो। गाउँमा पुछारे अन्तरे चिन्ता बस्दा यसरी नै थानको वरिपरि घुम्थ्यो। फरक यति थियो यहाँ चिन्ता बस्दा झाँक्री र ढोले कालो पोथी र अण्डा लिएर थानको वरिपरि घुम्थे तर उनीहरू बसको वरिपरि घुमिरहेका थिए। हामी पनि बसदेखि निस्कियौं। सबै गान्तोक र दार्जीलिङदेखि बनिएर बान्की परेर हिँडेका थियौं। अब मधेसको उखर्माउलो गर्मी, धुलो अनि पसिनाले हाम्रो रङ-रोगन गुमिसकेको थियो। त्यहीमाथि यो रातको समय। मैले यतै किनेको फ्लेक सिग्रेट अनि लाइटर बोकें। यतिबेला गोपाल भाइले ब्यागबाट स्प्राइटको बोतल निकाले। सबै आ-आफनो रोजाईको खाना खान थाले। हामीले त काँकरीभिट्टामा मै नाइटोले कलकत्ता देख्ने गरी खाएका थियौं। राधा र जीविका दिदी एक-एकवाट चियर लिएर बाहिर निस्किए। बसको चालकद्वय पनि उनीहरूसित थपिए। बसको वरिपरि पिउने यात्रुहरूले सूर्य सल्काएर तृष्णा मेटिरहेका थिए। त्यस हुलमा हामीले चाहिँ फ्लेककै स्वाद लियौं। गोपाल भाइले स्प्राइट म र अमिरसित सियर गरे। आज त किन-किन स्प्राइट पिउनुको आनन्द फरक थियो। फरक स्वाद थियो। हामीले पसिना पुच्छै स्प्राइटलाई विदा दियौं। बाहिर सल्लाह भएअनुसार हामी फेरि बसमा पस्यौं।
ब्यागबाट निकालेर गोपाल भाइले टी-सर्ट र पेन्ट खोलेर हापपेन्ट लगाए। उनको समर्थन गर्दै मैले पनि माथिको टी-सर्ट खोलें अनि अर्को सर्ट लगाउँदै गर्दा उत्तापटि चालक बस्ने छेउको स्थानमा भएका चेली यात्रुहरूले हेरिरहेको देखें। अब मलाई पर्‍यो फसाद। हापपेन्ट निकाली सकेको थिएँ। बसको सिटमा बसेर पेन्ट खोल्न थालेँ। निक्के कसरत गरेपछि हापपेन्ट लगाउन सफल बनें। उतापटिको सिटमा अमीर भाइ पनि मजस्तै बसेर पेन्ट खोल्न लागेका रहेछन्, ‘ला खोइ मेरो बक्सर?’ भनेर आफै तर्सिन्दा म पनि छक्क परें। तर हामीले हाम्रो काम गर्‍यौं अनि बसदेखि हापपेन्ट, टी-सर्ट र चप्पलमा बाहिर निस्कियौं। केही शीतल भएको अनुभव गर्‍यौं। आनन्द आयो। फ्लेग जोगाउने जुक्तिमा फेरि सूर्यसित स्प्राइटको मज्जा लियौं। कतिले खाना खाए। कतिले सिग्रेट मात्र। सबै सकेपछि फेरि हिँड्यौं। यात्राको अर्कै आनन्द। आफ्नो आफ्नै आनन्द।
धनुषा पुग्दा विहानको 2 बजीसकेको थियो। ढल्केबरमा बसेर तातो चिया पियौं। यात्राले थकित भएको शरीरलाई तातो चियाले केही ऊर्जा भर्‍यो। खुब मीठो थियो। निकैबेरसम्म त्यहाँको आनन्द लियौं। चिया मज्जाले पियौं। यो ढल्केबर हामीसित जाने राधाको माइतीघर पनि हो। हामी फेरि बसमा चढ्यौं। बिहानको 6 बजी हामी वीरगञ्जको छातीमा छताछुल्ल भयौं। केही टाँगा अनि झिँगाहरूले स्वागत गरे। एकजना बुढो टाँगावाल आएर हामीलाई लानको निम्ति कस्सिए। अमर न्यौपानेको पानीको घामकै जस्तो लाग्ने एकजना टाँगावालले हामी 7 जनालाई नै लाने विचार गर्‍यो। तर उसको शरीर भने आफैलाई हिँडाउनु मुस्किल भएको हामीले अनुभूत गर्‍यौं। अनि हामी दुईवटा टाँगामा चढेर आयोजकले हाम्रो निम्ति मिलाएको धर्मशालातिर लाग्यौं। हामीलाई आयोजक समितिका सदस्यहरूले बसपार्कमै स्वागत गर्न आएका थिए। उहाँहरूले नै हामीलाई धर्मशालासम्म पुर्‍याए। त्यो दिन यता-उता के के गर्दै बित्यो। घाम र गर्मीले गर्दा कहीँ कतै जान मुड पनि भएन। हरेक घण्टामा नुहाउँदै सुत्दै बस्यौं। साँझमा भारत र नेपालका केही साहित्यकारहरूसित परिचय भयो। यसरी नै आयोजक समितिले 11 अगस्तको कार्यक्रमको जानकारी गराएर प्रीतिभोज भएपछि आ-आफ्नौ गुँडतिर लाग्यौं।
बस हिटौडाको लक्ष्य लिएर बेगिन थाल्यो। सबैले आफ्नो उत्सुकता र आनन्दलाई अँगालेका छन्। आफू-आफैमा रुमानी बनिरहेका छन्। विभिन्न प्रकारका उत्श्रृङ्खलताहरू बसभरि खित्काहरूसितै पोखिन्छन्। हिन्दी-नेपाली भाषीका कविहरूले बसमा रमाइलो गर्दै थिए। कतिले कविता भन्ने, कतिले शायरी भन्ने, सुन्नेभन्दा भन्नेको भीड थियो। सुन्नेभन्दा भन्नेहरूको आतुरताले बसमा फरक प्रकारको कासन दिइरहेको थियो। कवि गोपाल, अमीर र म बसको पछिल्लो सिटमा बसेका थियौं। अरूलाई के कस्तो भयो, हाम्रो कानलाई भने कासन नै भयो। हिटौंडा एकाडेमीको बस अनि कार्यक्रम पनि हिटौंडा एकाडेमीमै आयोजना भएको थियो। हामी कार्यक्रम स्थलमा पुग्यौं। मञ्च थियो। पाल टाँगिएको थियो। चौकीहरू मा.वि.वि. शाहको गीतमा भएको दाँतका पङ्क्तिजस्तै मिलाएर राखिएका थिए। स्कूलका नानीहरूले राम्रोसित स्वागत गरे। मन प्रफुल्लित बनिरहेको थियो। यहाँ भारतबाट आउनेहरूमा नेपाली भाषीमा मेरो र कवि कमल काम्बाङले कविता सुनाउनु पर्ने रहेछ। कार्यक्रम औपचारिकरूपमा शुरू भयो। केही नृत्यहरू, केही कविताहरू अनि केही भाषणहरू मिश्रित कार्यक्रमको अर्कै आनन्द आयो। कार्यक्रम सञ्चालक मित्र कवि राम अविकास थिए। कार्यक्रममा पहिलो कविता मित्र छवि अनित्यले भने। कार्यक्रम सकियो। हिटौंडाको दर्शन गर्ने कार्यक्रम भयो। 11 अगस्तको यो कार्यक्रम निक्कै आनन्दित रहेको थियो। हिटौंडा वरिपरिका विभिन्न पर्यटकीय स्थान अनि धार्मिक स्थानहरूको दर्शन गरियो। यसमा पहिला शहीद पार्क एउटा लक्ष्य रहेको थियो। यो पार्कमा नेपाल देशका एक प्रगतिशील नेता कामरेड मदन भण्डारीलाई समर्पित गरेको प्रतीत भयो। कामरेड मदन भण्डारीको पूर्णाङ्ग सालिग पनि निर्माण गरिएको थियो। निक्कै मज्जाले सजिएको यो पार्कले हाम्रो लगभग दुई घण्टा समय लियो। केही फोटोहरू खिचियो। केही स्मृतिहरू बोकियो। केही आनन्दहरू, केही हर्षहरू अनि सबैभन्दा महत माया लिएर त्यहाँबाट धार्मिक स्थानतिर लागियो। उत्तरबाहिनी जानभन्दा अघि एउटा मन्दिरको दर्शन गराइयो। यस मन्दिरमा बली दिने अलग्गै स्थान बनाइएको रहेछ। बली दिने स्थानको बाहिर भित्तामा भालेको नक्सालाई डिजिटलीकरण गरेर बास्दै गरेको बनाएर राखिएको थियो। कवि गोपाल, म र अमीरलाई यो ब्ल्याक ह्युमर लाग्यो। कवि गोपालजीले अघिबाटै बली प्रथाको विरोध गरिसकेका थिए। अमीर र म भने भालेको चर्चा गरेर रमाइलो मान्यौं। भालेलाई पनि शंकर लामिछानेले प्याजलाई जसरी च्यातेर एब्स्ट्रयाक्ट बनाएका थिए उसरी नै भालेको भुत्ला वाचिपादेखि शीरिरसम्मलाई च्यातेर हामीले पनि एब्स्ट्रयाक्ट बनायौं। यसरी घुम्दै हामीले कुष्माण्डासरोवर त्रिवेणी धाम, 108 गाई धाराको दर्शन गर्‍यौं। यसपछि पुनः वीरगञ्जतिर फर्कियौं।
हिटौंडाको अग्ला-होचा, ठूला-मसिना डाँडाहरूलाई चिर्दै हामी चढेको बस समतलको छातीमा गुढ्न थाल्यो। हिटौंडाको चिसो विस्तारै हामीदेखि भागी रहेको थियो। जति जति हामी हिटौंडालाई छोड्दै थियौं उति उति गर्मीले हामीलाई गाँजी रहेको थियो। केही उपाय नभएपछि हामी गीत गाउन थाल्यौं। बसको निक्कै लामो यात्रा भएकाले बाटो कटनी गीतलाई बनायौं। नारायण गोपाल, गुलाम अली, रामकृष्ण ढकाल, अरुण थापा, किशोर कुमार, कुमार सानूदेखि उदित नारायणसम्मलाई भ्याउन सक्यौं। गीतहरूमा खुब आनन्द लियौं। हाम्रो यात्रा साहित्यिक मात्र नभएर पर्यटकीय, धार्मिक दर्शन अनि साङ्गीतिक पनि बन्यो। यसरी गीतकै वेसुरहरूमा झुमेर भाबर वीरगञ्जको छातीमा उत्रियौं। बसले सिधै खाना खाने स्थानमा लगेर राखिदिएकोले गर्मीमा खानाको निम्ति हिँड्न नपर्ने भयो। खाना खाने स्थानमा बढ्यौं। नेपाल देशका साहित्यकारहरूमा खुब मज्जाको उपस्थिति रहेको थियो। हामी कोही-कोहीसित परिचय गर्न थाल्यौं। परिचय त के भन्ने आफ्नो नामसम्म सुनायौं। उनीहरूको सुन्यौं। यही क्रम चलिरहेको थियो। अरूहरू पनि यस्तै के के गरिरहेका थिए। परिवेश आनन्ददायी थियो।
केही परबाट एकजना नारीले हाँस्दै हात हल्लाइन्। आफू आफ्नै धुनमा निमग्न। फेरि हाँस्दै हात हल्लाइन् उसरी नै अघिकै नारीले मतिर हेर्दै। मैले आफ्नौ वरिपरि कसैको उपस्थितिलाई हेरें, कोही थिएनन्। मलाई लाग्यो। उहाँहरू झुकिए। दुईजना सँगै बसिरहेको स्थानबाट एकजना उठेर आउनु भयो अनि ‘नमस्ते’ भन्नु भयो। म जिल्ल परेको अवस्था यहाँ आएर टुट्यो। उहाँ मेरो काठमाण्डौको फेसबुककी साथी कल्पना कल्पकुञ्ज श्रेष्टजी हुनुहुँदो रहेछ। ‘सञ्जीवनी’-की उपन्यासकार। यसरी नै अर्की मित्र पनि काठमाण्डौकै रञ्जना निरौला रहिछन्। ‘कलम र म’ कविता संग्रहकी सर्जक। आँखाहरूले चिने। मनमा आनन्द लाग्यो। निक्कैबेर कुरा चल्यो। हाम्रो बस्ने स्थान एकै रहेछ। उहाँहरू अन्तराष्ट्रिय नेपाली साहित्य समाजले गान्तोकमा आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउन आउँदा रञ्जनाजीले मलाई सरस्वती प्रतीक्षाको नथिया, नयनराज पाण्डेको यारी, कुमार नगरकोटीको दोचा, कलम र म, सञ्जीवनी आदि किताबहरू दिनुभएको थियो। त्यस समय मैंले भेट्न सकेको थिइन। यस समय रित्तो थिएँ। खाली थिएँ। अफ्ठ्याराहरू मात्र थिए। शून्यताहरू थिए। यतिकैमा गोपाल र अमीरको आग्रहमा खाना खान लाइन लाग्नमा जुट्यौं। उहाँहरू पनि आफ्नै साथीहरूसित कुरा गर्न लागे। हामीले खाना खाइसकेर बाहिर निस्कँदा रञ्जनासित पुनः भेट भयो। फेरि केही समयसम्म कुरा गर्‍यौं। त्यही क्रममा खाना खाँदै गर्दा कवि शान्ति प्रियवन्दना राम्रोसित झुकिनु भयो मसित।
12 अगस्तको मूल कार्यक्रम शुरू भयो। दुई नम्बर प्रदेशका मुख्यमन्त्री मुख्य अतिथि रहेका थिए। दुई सत्रमा विभाजित कार्यक्रममा पहिलो चरणमा सम्मान तथा वार्ता समावेश गरिएको थियो। पहिलो सत्रको कार्यक्रमपछि समकालीन कविताको प्रवृत्ति विषयमा सामायिक चर्चा भयो। यति कार्यक्रम हुँदैगर्दा दिनको लगभग एक बजीसकेको थियो। हामी फर्किनु पर्ने थियो। गोपाल भाइको स्कूलमा स्वतन्त्रता दिवसको जिम्मेवारी, अमीर भाइको कार्यालयमा वेभसाइडको जिम्मेवारी अनि आफ्नौ पनि कार्यालयमा कामको व्यस्तता। बसको टिकट बिहानै जीविका दिदीले मिलाई दिइसक्नु भएको थियो। अब हतार थियो हामीलाई। विस्तारै समयसितै क्रमैले कार्यक्रमले गति लिइरहेको थियो। जीविका दिदीले आयोजक समितिलाई आग्रह गरिदिनु भएछ। माइकमै एनाउन्स भयो अनि क्रमैले कविताहरू वाचन भए। दार्जीलिङ, सिक्किम अनि नेपालका केही कविहरूको कविता सुनी सक्दा चार बजी सकेको थियो। यस्तैमा सम्मानको कार्यक्रम पनि समाप्त भयो। यसरी हामी लगभग कार्यक्रम स्थलबाट पाँच बजी सबैसित विदा मागेर निस्कियौं। राधा माइतघरतिर लागिन्, जीविका दिदी कार्यक्रमस्थल मै पछिबाट आउने भएर बसेपछि हामी निस्कियौं। फर्किने भएका हामी हतारसाथ कोठामा गएर लुगा पोको पारेर हतार-हतार बसपार्कतिर झिँगा र धुलोलाई चिर्दै लाग्यौं।
रात्रि बस। गर्मीको ताण्डव। पसिनाको धारा। यी सबै आनन्द नै थिए। केही बोतल पानी किन्यौं। केही बोतल स्प्राइट। बस चल्न लागेको थियो। जस्तो हामी चढ्यौं उस्तै बस हिँड्यो। उही खित्काहरू। उही उत्श्रृङ्खल कुराहरू। उही छिल्याईहरू। गोपाल भाइ र म एकै ठाउँमा बस्यौं, किरण सर र कमल सर एकै ठाउँमा अनि अमीर भाइ फेरि पनि एक्लै परे। तर पनि सबैले आनन्द लिएर यात्रा गरिरहेका थियौं। गर्मी त उत्तिकै थियो। कोही बेला चिसो पानी खान्थ्यौं। कोही बेला स्प्राइट। बिस्तारै जसरी वीरगञ्जलाई छोड्दै आउँदै थियौं उत्तिकै साँझको रिमझिमले अर्कै अनुभूति दिइरहेको थियो। जति जति कालो अलकत्रे सडकलाई चिरेर अघि आउँथ्यौं उति नै अँध्यारोले निल्ने गर्थ्यो। रातको दश बजी खाना खाने स्थानमा ल्याएर बस रोक्यो। धनुषा कस्तो राम्रो नाम। धनुषाको ढल्केबर झनै राम्रो नाम। यहाँदेखि दक्षिण जाँदा सीता माता जन्मिएको स्थान जनकपुरी। राति नै भएपनि मन शान्त बन्यो। भोकले शरीर अशान्त थियो। एउटा होटलमा गएर खाना अर्डर गर्‍यौं। आयो खाना, तातो नै रहेछ। दायाँ-बाँया नहेरी खान थाल्यौं। थप्ने समयमा एक जना निक्कै दाजु देखिने व्यक्तिले चिलिम्चीमा खाना लिएर आए। गोपाल भाइले उसले लगाएको भेस्ट देखाएर थ्री इडियट मुभीमा राजु रोस्तोगीको घरमा उसको बाबालाई चिलाएको ठाउँमा आमाले बेल्नाले रोटी बल्दैगर्दा कन्याई दिएको सिनको स्मरण गराए। यसपछि त खाना के जान्थ्यो र। अमीर, गोपाल र म सबै एकै साथ उठ्यौं। बाहिर आएर गोपाल र अमीरले अघि नै स्प्राइट सकिएकाले फेरि किने। म त्यही होटलमा गफ गर्न लागें। एक जना भद्र महिलाले मलाई पहिला पनि देखेको जिकर गरेपछि मलाई पनि गफ गर्ने मुड भयो। अनि कुराको के के सिलसिला अघि बढाएँ। उनी उत्तर दिँदै थिइन। अचानक मैले ‘तपाईंको हस्बेन के गर्नुहुन्छ?’ भन्दा उनको अनुहारमा भदौको बादल मडारियो। कारण जान्ने ईच्छा भएन। यस्तै के के कुरा गर्दैगर्दा बसमा यात्रुहरू चढ्न थाले। हामी पनि पानी र स्प्राइट खाएर चढ्यौं। बस हिँड्न थाल्यो। के के कुरा सोच्दैगर्दा कतिबेला निदाइएछ।
बिहानीको सुनौलो उज्यालोसितै हामी काँकडीभिट्टाको आगनीमा उत्रियौं। वीरगञ्जको धुवाँ-धुलो र अनौठोपनभन्दा काँकडीभिट्टाको आगान सफा र स्निग्ध लाग्यो। छरितो र सुन्दरता पनि उत्तिकै थियो। यसरी नै सबैले त्यो सफा आगनीमा हामीले खुब आनन्द लियौं। बित्थामा पहिला वीस रुपियाँ तिरेको वासरूममा गएनौं। अर्कै वासरूम खोज्यौं अनि त्यहाँ गएर फ्रेस भएर आलु-पुरी मज्जाले खायौं। त्यसपछि गान्तोकको लक्ष्य लिएर हिँड्यौं।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु