मान्छे र पैसा

- सञ्जु बजगाईं

छैटीको दियो बालेर रातभर
निभ्ला कि भन्दै जाग्राम बसी
संतानको भाग्य बोलाउँछ
पैसामा भाग्य खोजिरहेको
एउटा सोझो अनाम परिवार ।

बामे सर्दै हुर्किएको बालकले
पैसा कमाएर भाग्यमानी बन्नु छ
पैसा नभएर अनाम भएको
निर्धो त्यो पुस्त्यौनी परिचय
कसैगरी फेरबदल गर्नु छ ।

पैसा र भाग्यको सहयात्रा
आर्शीवादबाट शुरु गराउँदै
आषिश दिनेहरु भन्दछन्
ठूलो–ठूलो मान्छे भएस् र,
पैसा, बेस्सरी कमाएस् ।

पैसा र भाग्यको हिसाब
शिशुकक्षा शुरु गर्दै स्कूलमा
भन्दछन् गुरुहरुले गर्वसाथ
राम्रो पढ्न सक्यो भने मात्र
धेरै कमाउँने जागिर भेटिन्छ !!

पैसा र भाग्यको स्तोत्र
प्रभातबाटै मठ–मन्दिरहरुमा
पाठ गर्दै पण्डितले भन्दछन्
प्रभु ! यो चराचर जगतलाई
धनधान्यले पूर्ण बनाईदेउ ।

परिवार, गुरु र धर्म सबले
पैसामा भाग्य खोज्न भनेपछि
पैसाकै चिन्तन गर्छ मष्तिस्क
पैसा नै श्रवण गर्छन् कानहरु
र, पैसाकै दृष्टि देख्छन् आँखाहरु ।

भाग्य भन्नु नै यहाँ पैसा रहेछ,
नाम त झनै पैसाभित्रै रहेछ
ठूलोमान्छे भन्नु पैसा भएपछि
ज्ञान भनेको पनि पैसा रहेछ
ईश्वरसँग पैसा माग्न थालेपछि
ईन्द्रियहरु पनि पैसा नै त भएछन् !

पैसाले भाग्यमानी भएपछि
मानवता अब किन चाहियो ?
पैसाले ठूलोमान्छे बनेपछि
ईमान्दारीता कसलाई चाहियो ?
नैतिकता त आजभोली पैसासँगै पचाईयो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु