छलाङ

- विजय सापकोटा

बसपार्कको भीडमा कसैले मेरो नाम काढेर बोलायो । तर त्यो स्वर परिचित थिएन । यताउति हेर्दा आफ्नो अघिपछि कोही चिनेजानेको जस्तो पनि लागेन । त्यसैले निकैबेरदेखि नआएको बस आउने बाटो हेर्दै छट्पटाउने आफ्नै उपक्रममा थिएँ । एकछिनपछि कसैले मेरो काँधमा हात राख्यो र रोब जनाउने आवाजमा भन्यो –“के हो भाइ ? किन नचिनेझैँ गरेको ?”
फर्किएर हेरेँ – सूर्तिले कैला बनाएका दाँत देखाएर त्यो अनुहार मेरो व्यवहार मन नपरेझैँ गरी हेरिरहेको थियो ।
‘हत्तेरी...यो त रुपाखेती दाइ हो । तर त्यस्तो फिस्टे मान्छे मोटाएर चिन्नै नसकिने पो भएछ । मैले हतार हतार हाँस्न खोज्दै भनेँ – “चिन्नै नसकिने गरीे मोटाउनु भएछ ।’ अब म पूरै ऊतिर फर्किएँ । ऊ ह... ...ह गर्दै जोडले हाँस्यो । हाँस्दा मुखको चेपबाट गुट्खा वा पानपराग केहीको खैरो रस चुहियो । उसले मुख बन्द गरेर स्वाट्ट रस भित्र तान्यो, लत्पतिएको रस हातले पुछ्यो अनि त्यही हात पुठ्ठातिर दलेपछि मतिर तेस्र्यायो ।
मैले सिकसिको मान्दै हात मिलाएँ ।
“के छ नि खबर ? कता हो आजकाल ?” मतिर एकैपटक दुईवटा प्रश्न तेस्र्याए पनि मेरो उत्तर सुन्ने धैर्यता नराखी सँगै उभिएकी दुब्ली महिलालाई इशारा गर्दै उसले भन्यो –“उहाँ विजय भाइ । म कुरा गरिरहन्छु नि ।”
तिनले काँधमा सानो ब्याग बोकेकी थिइन् र हातमा भने जुटको झोला गह्रुङ्गो गरी झुन्डिएको थियो । तिनले मतिर हेरेर मुसुक्क हाँसिन् । मैले उनी उसकी श्रीमती हुन् भन्ने अन्दाज लगाएँ र मुस्कुराउँदै हात जोडेँ । तर यी तिनै थिइन् कि उसले नयाँ बिहे गरेको थियो ? मलाई खसखस लागिरहेथ्यो । त्यसैले सोधेँ–“जानुका भाउजू हो ?”
“हो त भाइले सम्झिरहुनभएको रहेछ ।” आफ्नोे शङ्का निवारण हुने बित्तिकैै मेरो मुखबाट निस्कियो–“ओहो...कमरेड महिमा ! कति रहर लागेको थियो, तपाईँलाई भेट्न ।”
अब तिनको अनुहार एक्कासी बत्ती बलेजस्तो देखियो । तिनले उज्यालिएर भनिन्–“मलाई पनि भेट्न असाध्यै मन लागेको थियो । घरमा तपाईँको कुरा भइरहन्छ ।”
सानो सडक पेटीमा आउनेजानेको घुइँचो धेरै थियो । मानिसहरु हामीसित ठोकिँदै जाने गर्दथे । त्यो घच्चाघच्चीमा उभिन उनलाई धेरै गाहे भइरहेको देखेर मैले भनेँ –“कतै बसेर गफ गरुँ न हुन्न ? यो भीडमा किन उभिइरहनू ?”
उसले काँधमा बोकीरहेको कालो झोला मिलाएझैँ ग¥यो । हातमा भएको मोबाइल हे¥यो अनि विचार गरेझैँ गरी भन्यो–“हुन्छ, तर अलिकति हतार नै छ । पन्ध्र मिनेटजति बस्न सकिन्छ ।”
अनि छेउको चियापसलतिर उसैले डोहो¥यायो ।
ड्ड
राती दश बजेपछि सधैँ कफ्र्यू सुरु हुने गथ्र्यो । पौने दश बजेतिर पुलिसको भ्यान साइरन बजाउँदै यसरी फन्को मार्ने गथ्र्यो मानौँ ऊ आफैँलाई पनि कफ्र्यू लाग्नु अगावै बासस्थान पुगिसक्नु छ । दश बज्दा न बज्दै सहर सुनसान भइसक्थ्यो । पुलिसको भ्यान पनि छेउ लागेपछि भुस्याहा कुकुरहरुको गस्ती सुरु हुने गथ्र्यो ।
सहरको पुरानो चोकमा एउटा डबली छ । त्यो डबलीसितै गाँसिएको पुरानो तीनतले घरको तेस्रो तल्लामा मेरो डेरा छ । हरेक तलामा एउटा एउटा कोठा छ । पहिलो तल्लामा तलको डेरीबाल एउटा सहयोगीसँगै बस्ने गर्छ । दोस्रोमा को बस्छ मलाई थाहा छैन । तेस्रोमा म छु र माथि बुइँगल खाली छ । डेरीबालासित पनि मेरो आजसम्म कुराकानी भएको छैन । ऊसितको मेरो सम्बन्ध कहिलेकाहीँको जम्काभेटमा झर्ने मुस्कानको भन्दा बढी अरु केही पनि छैन । त्यो मुस्कान पनि मेरो तर्फबाट मात्रै जाने हो बदलामा एउटा रोबर्टको जस्तो हेराइबाहेक केही मिल्दैनथ्यो । ऊजस्तो रैथानेका लागि कतै पाखातिरबाट झरेको मजस्तो विद्यार्थी बढी शङ्काको घेराभित्र रहने समय थियो त्यो ।
त्यसरात दश बजिसकेको थियो । बाहिर सिमसिम पानी पर्दैथियो । पुलिसको भ्यानले अघि नै चक्कर लगाइसकेको थियो । पानीको कारणले हो कि आज कुकुरकोे गस्तीचाहिँ सुरु भइसकेको थिएन ।
म सुत्ने तरखरमा लागेको थिएँ । त्यहीबेला तल मूल ढोका ढक् ढक् गरेको आवाजले मलाई ओछ्यानमा आरामसित पल्टिन दिएन । कुरा स्पस्टै छ, कफ्र्यूको रात कसैले ढोका ढक्ढक् गर्छ भने जो केही पनि झस्किने गर्छ । यति राती कोही पनि सामान्य अवस्थामा गएर ढोका खोलीहाल्ने साहस गर्न सक्दैन । उसमाथि पाखाभित्ताका गाउँहरुबाट बजारतिर झरेका मजस्ता विद्यार्थीहरु यो सहरमा ढुक्कले बस्न सक्ने अवस्था पनि थिएन । त्यसो त मैले सुरक्षाका लागि बडो मज्जाको उपाय लगाएको थिएँ । मेरो कोठामा राजारानीको तस्विर झुन्ड्याइएको थियो । बाहिर सडकबाट देखिने गरी नेपालको झन्डा पनि राखेको थिएँ मैले त । म मात्रै किन मेरा धेरै साथीहरु त्यसो गर्थे । तर यसको मतलब हामी व्यवस्थाका पहरेदार थियौँ भन्ने पक्कै होइन । हामीले त खाली सुरक्षाका लागि मात्रै त्यो उपाय अपनाएका थियौँ । बाँकी क्रान्तिको कुरो । क्रान्तिको हावाले हामीलाई पनि नछोएको होइन । युद्धका समाचार सुन्दा यति हामी रोमान्चित हुन्थ्यौँ कि विश्वासिला साथीहरुको बीचमा भोलिदेखि नै युद्धमा उत्रिहाल्ने हो भनेजस्तो कुरा गथ्र्यौँ । खोजी खोजी कम्युनिष्ट साहित्य पढ्थ्यौँ । यो सत्य हो, म परिवर्तनको पक्का पक्षपाती थिएँ । तर देशमा गर्ने भनिएको त्यो परिवर्तन म बाँचेरै देख्न चाहन्थेँ । यदि कसैले युद्धमा ‘तँ मर्दैनस्’ अथवा ‘अङ्गभङ्ग पनि हुँदैन’ भन्ने ग्यारेन्टी गरिदिएको भए शायद म पनि युद्धको अग्रपङ्क्तिमा हुन्थेँ होला । तर समस्या यो थियो कि मारिन, बेपत्ता हुन अथवा धरपकडमा पर्न कोही बन्दुक नै बोकेर हिँड्नुपर्दैनथ्यो । त्यसैले ओछ्यानबाट उठेर मैले एकछिन आफूसित कुनै ‘अवैधानिक’ साहित्य त छ कि छैन भनेर विचार गरेँ । यतिखेर मेरो सम्झनामा आएन । अनि अन्तिममा राजारानीको फोटोे हेरेर सुस्तरी झ्यालको एउटा फक्लेटो खोलेर हेरेँ ।
मेरो सौभाग्य, बाहिरको वातावरण मेरो कल्पनाभन्दा बिल्कुलै बाहिर थियो । त्यहाँ कुनै खतराको सङ्केतसम्म पनि थिएन । एउटा मान्छे लरबराउँदै ढोका छेउमा यता र उता गरिरहेको थियो । अघि आफ्नोे ठाउँ छाडेका मेरा अङ्गप्रत्यङ्ग्य साबिकको ठाउँमा आए । सडक पूरै सुनासान थियो । अघिसम्म पानीले भिजेको सडक बिजुलीको उज्यालोमा टल्किरहेको थियो । हल्ला सुनेर होला वल्लोपल्लो घरका झ्यालबाट मजस्तै रमितेहरु चियाइरहेका थिए ।
त्यो मान्छे ढोकाको छेउबाट डबलीतिरै फर्कियो र घुँडा मारेर बस्यो । एकछिन नबुझिने गरी भुत्भुतायो । हेर्दाहेर्दै त्यो त आवाज निकालेर रुन पो थाल्यो । रुने कोटा पनि पूरा गरेझैँ एकछिनपछि बसेकै ठाउँबाट आकासतिर हेरेर जोडले चिच्यायो–“माओेवादी– मूर्दावाद !’
‘माओवादी–मूर्दावाद !’
त्यसपछि त्यो उठ्यो र ढोकामा आएर एक लात्ती हान्यो ।
मूल ढोका खुल्यो । मूलढोकाको जिम्मेवारी डेरीवालालाई नै थियो । उसलाई त मैले देखिनँ तर हकारेको सुनियो –‘के हो भाइ, आधारातमा आएर हल्ला गर्ने ? टाइममा आउनुपर्दैन ?’
त्यसको लर्बराएको आवाज सुनियो–‘सरी दाइ । अबदेखि यस्तो गर्दिनँ ।’
मैले झ्याल लगाएँ, ढोका उघारेँेँ र ती दुईको कुराकानी सुन्न थालेँ ।
‘यस्तो इमर्जेन्सीको बेलामा पनि यस्तो गर्ने हो ? ज्यानको माया छैन ? मुखमा जे आयो बोलेको छ... ...।’ डेरीवालकोे चिन्ता सुन्दा मलाई त्योमान्छे उसकै कोही होला जस्तो लागेको थियो । ‘हस् दाइ, भोलिदेखि यस्तो हुन्न ।’ त्यसको लरबरिएको स्वर सुनियो ।
‘चूपो लागेर सुत्ने नि त्याँ । हल्ला ग¥यो भने म टिपेर फ्याँकिदिन्छु ।’ डेरीवालाले चेतावनी दिँदै ढोका थुनेको आवाज सुनियो । मैले मटानमा निस्किएर झुकेर हेरेँ । यतिबेलासम्म त्योचाहिँ डेरावालको कोठालाई पार गरेर माथिल्लो तल्लामा आइसकेको थियो । अब मलाई पक्का विश्वास भयो–त्यो त मेरो छिमेकी पो रहेछ ।
त्यो ताल्चा नखोलीकनै आफ्नो कोठाको ढोका घँचेटिरहेको थियो । मलाई हाँसो उठ्यो । तर मुस्कुराएँ मात्रै । साँचो झिक्न होला गोजीतिर हात लग्यो । त्यसलाई पाइन्टको गोजीबाट साँचो निकाल्न जति गाह्रो भएको थियो त्योभन्दा बढी ताल्चामा साँचो छिराउन भएको थियो । बल्लतल्ल साँचो छिराएपनि त्यसले ताल्चा खोल्न सकेन । शायद त्यसले गलत साँचो प्रयोग गरेको थियो ।
ढोकामा एक लात हान्दै उसले एउटा भद्दा गाली छोड्यो–‘मा...माओवादी !’ अनि त्यो भुइँमा पछारियो ।
त्यसको हविगत देखेर अब ममा करुणा जागिरहेको थियो । त्यसैले म भ¥याङ झरेर उसको अगाडि खडा भएँ र सोधेँ– ‘दाइ, म खोलिदिऊँ ?’ तर त्यसले मेरो कुराको कुनै जवाफ नदिइकन खालि मुखमा मात्रै हेरिरह्यो । म रक्सी पिउँदिन । त्यसैले होला रक्सीले मातेका मान्छेहरुको आँखामा हेर्न मलाई डर लाग्ने गर्दछ । त्यहाँ एकैपटक आक्रोश, घृणा, करुणा, व्यङ्ग्य र अरु कतिपय भावहरु गिजिङमिजिङ मिसिएर आएका हुन्छन् जस्तो लाग्छ र ती निमेषभरमै घरी केमा बदलिन्छन् घरी केमा पत्तै हुँदैन । त्यसैले जुनसुकै बेला रक्स्याहाले दिने प्रतिक्रिया जे पनि हुनसक्ने खतरा हुन्छ । म उसको आँखाबाट छलिएर ढोकातिर लागेँ ।
ढोका खोलिसकेर मैले उसलाई उठ्न इशारा गरेँ । तर ऊ उस्तै चिसो र बेपर्वाह तरिकाले मलाई हेरिरहेको थियो । आखिरमा ऊ उड्न खोज्यो तर सकेन । मैले उसको फिस्टे ज्यानलाई सजिलै भर दिएर उठाएँ । त्यसको पाइन्ट पूरै भिजेको थियो– त्यो पिसाबले थियो अथवा पानीले थाहा भएन ।
भित्र ओछ्यानमा नपु¥याउँदै त्यो लत्रिइसकेको थियो । मैले त्यसलाई उसकै हालतमा छाडिदिएर गुम्म परेको त्यो कोठालाई जिज्ञासाले नियालेँ । भुइँ नाङ्गो थियो । त्यहाँ चुरोटका ठूटा, चक्लेट, बिस्कुट, चाउचाउ र परागका खोलहरु यताउता फ्याँकिएका थिए । लुगाफाटा छरिएका थिए । भित्तामा चाहिँ कृष्णको बाँसुरीमा मग्न ठूलो पोस्टरको छेउमा दुई आइमाईले पुष्पाञ्जली दिइरहेको पोस्टर र सँगै ऐश्वर्या रायको अहिले नै बोल्लाजस्तो मादक पोस्टर टाँगिएको थियो । झ्यालनिरको कुनामा सानो बाँसको ¥याकमा चाउचाउ, बिस्कुट र चिनी चियापत्तीका पोका देखिन्थे । त्यसको नजिकै भुइँमा दम दिने स्टोभको छेउमा सानो डेक्ची, कचौरा र स्टिलका गिलास, चम्चा अनि तिनको छेउमा प्लास्टिकको नीलो बाल्टी र नीलै रङको सानो बाटा देखिन्थे । ‘कोठामा भात पकाउँदो रहेनछ ।’ मैले सोचेँ ।
त्यसले आँखा चिम्लिरहेको थियो । शायद निदायो होला । त्यसैले म चूपचाप निस्कन लाग्दै थिएँ, त्यसले आँखा नखोलिकनै मलाई सोध्यो –‘भाइ माओवादी हो ?’
‘होइन दाइ ।’ उसको अनौठो प्रश्नमा सामान्य जवाफ दिँदै मैले सोधेँ –‘किन र दाइ ?’
‘यति राम्रो मान्छे माओवादी नबन है । साला...मेरो लाइफ चौपट बनाइदियो । साला माओवादी ...मेरो मुटुको टुक्रा... ...।’ बरबराउँदा बरबराउँदै त्यो फुस्सै निदायो । बाहिर निस्किएर ढोका तानिदिएँ ।
ड्ड
यसरी भएको थियो यो रुपाखेतीसित मेरो परिचय ! मैले झलक्क त्यो रात सम्झिएँ । अनि चियाको अर्डर गरिसकेपछि उसलाई सोधेँ – “अनि दाइ के गर्दै हुनुहुन्छ नि आजकाल ?”
ऊ मोबाइलमा केही हेर्दै थियो । उसले निकैबेरपछि मात्रै टाउको उठायो र भन्यो– “मेरो कहानी त पाँचवटा फिलिम बनाएर नसकिने खालको पो छ त भाइ । के गरिनँ भाइ मैले । व्यापार बिजनेस गरिनँ कि, जेलनेल भोगिनँ कि, ठेक्कापट्टा गरिनँ कि ? कहानी लामो छ भाइ । एकदिन फुर्सदमा दाजुभाइ बसेर बात मारुँला ।”
मलाई उसका कुरामा भन्दा पनि उसको कुरा गर्ने शैलीमा आएको परिवर्तनले जिल्ल्याइरहेको थियो । तर केही भनिनँ ।
“म त गाउँपालिकाको वडाअध्यक्ष पो छु त भाइ ।”
रुपाखेतीले जे भन्यो त्यो मेरो लागि यो जगत्को अन्तिम आश्चर्य थियो । मसित उसको कुराप्रति प्रतिक्रियाका कुनै शब्द नै थिएनन् । मैले उसलाई टुलुटुलु हेरिरहेँ ।
“के गर्ने भाइ । मलाई त यो अपजसिलो काममा हात हाल्न मन पनि थिएन । उसमाथि आफू व्यवसायी परियोे । तर सबैले अब हाम्रो गाउँठाउँमा कसैले विकास गर्न सक्छ भने तैँले नै हो भनेर उक्साए । आफूलाई पनि हो जस्तो लाग्यो । धेरथोर कमाइयो पनि । सहरमा घर घडेरी पनि जोडियो । लौ त भनेर म पनि यता लागेँ ।’ स्वादले आफ्नो पराक्रमको वर्णन गरिसकेपछि उसले आवाज सानो बनाएर भन्यो –“तर भाइ, यो चुनाव भन्ने कुरा सारै खर्चिलो पो हुँदोरहेछ । नाथे वडाअध्यक्ष बन्न पनि ३० लाख भन्दा माथि नै खर्च भयो होला ल । चुनाव नजितेको भएचाहिँ म डुब्ने नै थिएँ भाइ ।”
म पुरै निस्सासिएँ । केही नसोधूँ भन्दा भन्दै सोधेछु –“अनि कुन पार्टीबाट नि दाइ ?”
“हे हे भाइ कस्तो ठट्टा गरेको । अहिले चुनाव जित्न सक्ने सामथ्र्य अरु कुनै पार्टीको छ र ?” रुपाखेतीले मलाई उडाउँदै भन्यो ।
मैले बेवास्तापूर्वक बाहिर हेरिरहेकी उसकी श्रीमतीतिर हेर्दै सोधेँ–“अनि भाउजूलाई चाहिँ टिकट दिएन पार्टीले ?”
“कस्तो अबुझ बनेको ? आइमाईलाई मुख्य पदमा टिकट दिएर चुनाव जित्ने टाइम छ र भाइ यो ? उसमाथि म राजनीतिमा आइसकेपछि त उसले घरव्यवहार, बच्चाबच्ची पनि त सम्हाल्नुप¥यो नि । दुवै झोला बोकेर हिँडेर त घर बरवाद हुँदैन ।” उसले बडो बुज्जकी भएको भाउ लगाउँदै भन्यो–“आखिर बूढालाई टिकट दिए नि बूढीलाई दिए नि कुरा एउटै त हो नि । पद त एउटै घरमा आयो नि होइन र ?”
रुपाखेती सामान्य हिसाबले कुरा गरिरहेको थियो । तिनी पनि सामान्य नै देखिन्थिन्, तर मचाहिँ पटक्कै सामान्य हुन सकिरहेकै थिइनँ । आफूले सङ्गत गरेको साधारण मान्छे जीवनमा आएको यो ‘महान् छलाङ’लाई विश्वास गर्न नसकेर म घरि घरि घोत्लिइरहेथेँ ।
ड्ड
शनिबारको विहान थियो । म ओछ्यानमै पल्टिएर एफ एममा समाचार सुनिरहेको थिएँ । ढोकामा ‘ट्याक ट्याक’ आवाज आयो । कुनै साथी आएको ठानेर मैले विनासन्देह ढोका खोलेँ । ढोकामा उही उभिएको थियो । हिजो रातीको रक्स्याहा बिहान तरोताजा नैे देखिन्थ्यो मानौँ सखारै मन्दिर गएर आएको होस् । मुसुक्क हाँस्दै उसले भन्यो–“गुडमर्निङ है सर । सुतिरहनु भएको थियो कि ?”
जवाफमा म पहिले मुस्कुराएँ अनि भनेँ–“होइन..., भित्रै आउनुस् न ।”
“भित्र होइन, म त चिया पिउन बाहिर जाऊँ भन्नलाई आएको ।” चियाको प्रस्तावपछि उसले बिना हिच्किचाहट भन्यो –“हिजो राती अलि नै बढी भएछ । तपाईँलाई केही नराम्रो त भनिनँ नि ?”
“छैन दाइ । बाहिर त नजाऊँ होला । कालो चिया पिउनु हुन्छ भने म पिलाउँछु ।”
केही नभनी ऊ चप्पल फुकालेर भित्र पस्यो मानौँ मेरो यही प्रसतावलाई पर्खिरहेको होस् ।
मैले स्टोभ सल्काएर चिया बसालुन्जेल मेरो बायोडाटा सङ्कलन गरिसकेको थियो उसले । बीचबीचमा मैले पनि उसको सामान्य जानकारी लिइरहेको थिएँ । ऊ पनि जिल्लाको दुर्गम गाउँकै रहेछ । काठमाडौँमा फुटपाथमा लुगा बेच्थ्यो अरे । अहिले यहीँ बसपार्क छेउमा सानो रेडिमेड कपडाको पसल चलाउन थालेको दुई महिनामात्रै भएछ ।
चियाको गिलास समातेपछि उसले मसित चुरोट सल्काउने अनुमति माग्यो । मलाई चुरोटको गन्ध पटक्कै मनपर्दैन । तैपनि यो अरुचिलाई दबाएरै उसलाई अनुमति दिएँ । उसले चुरोटको प्याकेट निकाल्दै भन्यो–“तपाईँको त यस्तोे लत छैन होला, नभएकै राम्रो । यी मलाई हेर्नु न कहिले त दिनमा एक बट्टासम्म पनि उडाउँछु ।”
तर उसले के सोच्यो कुन्नि चुरोट सल्काएन । चूपचाप चियाको चुस्की लिनथाल्यो । अब गम्भिर बनेझैँ गरी भित्तातिर हेर्नथाल्यो । फेरि चियाको सुर्को लगायो र गहिराइबाट निष्कर्ष निकालेझैँ गरी भन्यो–“तपाईँको र मेरो विचार मिल्दोरहेछ ।” उसले राजारानीको फोटोतिर सङ्केत गर्दै भनेको थियो । मैले कुरा बुझिहालेँ । एक हिसाबले म खुशी पनि भएँ । यो मेरो लागि एउटा प्रयोग पनि थियो । कसैको तस्विर पनि सुरक्षाको कवच बन्न सक्नेरहेछ । आफ्नो प्रयोग सफल बनेकोमा खुशी लाग्यो ।
“राजाविनाको देश सम्भव हुन्छ ? राजारानी त हाम्रा लागि भगवानसरह हुन् । कसैले हतियार देखाएर धम्क्याउँदैमा हाम्रो श्रद्धा मर्छ त भाइ ?” उसले आफूलाई बडो गमदारीरुपमा प्रस्तुत गर्न खोजिरहेको थियो । तर मैले हो, होइन केही नभनी चूपचाप उसका कुरा सुनिरहेको थिएँ ।
“बुझ्नुभो ? मैले यी माओवादी डाँकालाई त्यत्तिकै घृणा गरेको होइन । यिनले त मलाई बरबाद बनाएका छन् नि भाइ ।” अघिसम्म निष्क्रिय बसेका मेरा इन्द्रियहरु उसको यति कुराले जागरुक भएर ज¥याकजुरुक उठे ।
“के भयो र दाइ त्यस्तो ?” म एकदमै हतारिएको थिएँ ।
“मेरो परिवार नै खत्तम बनाइदिए भाइ । प्राणभन्दा प्यारी मेरी सोझी स्वास्नीलाई भड्काएर आफूसित लिएर गए ।” हठात् मैले हिजो बेलुकाको उसको आक्रोश सम्झिएँ र भनेँ–“अपहरण नै गरेको हो त दाइ ?”
“अपहरण नै त हो नि जर्वजस्ती गरेपछि ।” उसले अलि ठूलो स्वरमा भन्यो ।
“भाउजूलाई मन नपरिकन त जानु भएन होला दाइ ।” मैले उसको कुरालाई अविश्वास गरेझैँ भनेँ ।
“अब अल्लारे उमेरमा त जो पनि राजनीतिमा लागिहाल्छ नि भाइ । उसमाथि आइमाईको जात...थोडै दिमागले चल्छ र । उनीहरुले उसलाई धम्क्याए, फकाए, अनि ऊ गई ।” मेरो कुराले ऊ रिसाएझैँ देखियो । मैले कुरा बुझिसकेको थिएँ, त्यसैले कुरालाई बढाउन चाहिनँ । त्यसैले प्रसङ्गलाई अलिकति मोड्दै सोधेँ –“अनि आजकाल सम्पर्क छ त दाइ ?”
“कहाँ हुनु भाइ । केही अत्तोपत्तो छैन । खबरमात्रै पाए पनि मन हल्का हुन्थ्यो ।”उसले चियाको अन्तिम घुट्की लिँदै भन्यो –“विचरीले नभेट्न त खोजेकी होइन होला । उसमाथि हाम्रो त लभ म्यारिज हो भाइ । अपराधीहरुले मेरो प्रेमको गला घोटे । उसकै यादमा म रक्सी र चुरोटको कुलतमा फसेँ भाइ । प्रेमको पीडा भुल्ने एउटै बाहना यही बनेको छ मेरो ।”
भलै, उसले फिल्मी डाइलग बोलेको थियो । तर उसका आँखा भने रसाइरहेका थिए ।
“नआत्तिनुस् दाइ । एकदिन भाउजू तपाईँलाई खोज्दै आउनुहुनेछ ।” मैले उसलाई सान्त्वना दिएँ । उसले मेरै कुराको छेउ समातेर भन्यो–“यही एउटै आशमा त बाँचेको छु नि म ।”
परिस्थिति अर्कै बसिकेको थियो । मैले चिनेको रक्स्याहा अब प्रेमवियोगीमा परिणत भइसकेको थियो । उसको हालत देख्दा मलाई त ऊ अब रुन्छ कि जस्तो लागिरहेको थियो । तर त्यस्तो भएन । उसले सामान्य भएर भन्यो “जाऊँ भाइ फिल्म हेर्न । सलमान खानको हम दि दे चुके सनम लगाको छ । म तपाईँलाई बाहिरै भात खुवाउँला ।”
मलाई त्यो अनौठो प्राणी लागिरहेको थियो । हाँसेर सोधेँ–“फिल्म खुबै हेर्नुहुन्छ कि कसो दाइ ?”
“सबै त हेर्दिनँ । तर सकेसम्म लभस्टोरी फिलिमचाहिँ छाड्दिन ।”
ड्ड
त्यही यतिबेला रुपाखेती हलुवास्वारी बजाइरहेको थियो । उसकी श्रीमतीचाहिँ आफ्नो अघिल्तिरको प्लेटको सारो न सारो देखिने सेल ओल्टाइपल्टाइ गरिरहेकी थिइन् । उसले उनलाई अरु केही अफर गरेन अथवा उनले इच्छा गरिनन्, म चाल पाइनँ ।
मलाई रुपाखेतीका कुरा सुनेर वाक्क लागिसकेको थियो । म उसको जीवनको परिवर्तनप्रीत असहमत थिएँ अथवा मलाई उसका कुरा मन परिरहेको थिएन, त्यो म जान्दिनँ । तर अब मलाई उसित कुरा गर्न पटक्कै जाँगर पनि थिएन । तर जसका बारेमा सुन्न मन थियो तीचाहिँ केही बोलिरहेकी थिइनन् । तिनलाई बोलाउन पनि गाह्रो नै थियो । तिनी हामीदुईको कुराकानीलाई यसरी बेवास्ता गरिहेकी थिइन् मानौँ हामीलाई चिन्दिनन् । उसमाथि रुपाखेतीले तिनलाई बोल्ने मौका दिए पो ।
तैपनि मैले तिनलाई हेर्दै सोधेँ –“अनि भाउजूको राजनीतिक जीवनचाहिँ कस्तो चल्दैछ नि ?”
“मज्जाले चल्दैछ बाबु । भात पकाउने, भाँडा माझ्ने, बच्चा स्याहार्ने यस्तै सक्रियतापूर्वक नै बितिरहेको छ ।” तिनले हाँसेर भने पनि अनुहार उज्यालो थिएन ।
तिनी अरु पनि केही बोल्ने सुरमा देखिएकी थिइन् । तर रुपाखेती यहाँ पनि आफ्नो धारणा राख्न अग्रसर भयो– “युद्ध लड्नुभन्दा खुला राजनीति गर्नु धेरै कठिन कुरा हो भाइ । युद्धमा दुश्मन एउटै हुन्छ, खुलामा त दुश्मन कति हो कति । उसमाथि सोझा र इमान्दार राजनीतिमा टिक्ने समय पनि रहेन यो ।”
तिनले भनिन्–“हो रहेछ बाबु । युद्धमैदानमा भन्दा परिवार र आफ्नै सर्कलभित्र युद्ध लड्न निकै गाह्रो हुँदोरहेछ ।”
तिनको सङ्ेकत प्रष्ट थियो । यसले मेरो खसखसलाई अझै बढायो ।
ड्ड
रुपाखेतीसँग मेरो उठबस बाक्लिँदै गयो । हलमा नयाँ फिल्म लाग्नेबित्तिकै शनिबारको पहिलो शो फिल्म हेर्न जानेदेखि मम खान जानेसम्म ऊ मेरो साथी भयो । यसको फाइदा मलाई के थियो भने मैले कतै पैसा तिर्नु पर्दैनथ्यो । त्यसो त बोर्डिङ स्कुल शिक्षकको तलबले नियमितरुपमा निर्धारित शीर्षकभन्दा बाहिरका यस्ता खर्चहरु धान्न सम्भव पनि थिएन । रुपाखेतीसँगको मेरो सम्बन्ध बलियो हुनुमा यही सामान्य स्वार्थले ठूलो काम गरेको थियो । तर कुनै हिसाबले पनि ऊ मसित गाँसिनुपर्ने अवस्था थिएन । तैपनि हाम्रो सम्बन्ध आत्मीय हिसाबले नै बढ्न थालेको थियो ।
मसितको सम्बन्धमा ऊ एकदमै सरल र निर्दोष व्यवहार देखाउँदथ्यो । यद्यपि व्यक्तिगतरुपमा ऊ अत्यन्तै चलाख र होशियार देखिन्थ्यो, यो कुरो सामान बेच्ने उसको शैलीबाट मैले धेरैपटक अनुभव गरेको थिएँ । आत्मीयता पनि यति अगाडि बढिसकेको थियो कि फुर्सद भयो कि उसको पसलमा गएर गफ चुट्ने र उसलाई काममा सहयोग गर्ने भइसकेको थिएँ । प्रायः स्कुल सकेर सीधै उसको पसलमा पुग्ने गर्थेँ र हामी साँझ पसल थुनेर सँगै फर्किने गथ्र्यौँ । डेरा छेउको सुन्दरचाको भट्टी अघिल्तिर आइपुग्दा त्यहाँबाट आएको ममको गन्धले मेरो भोको पेटलाई र लोकलको गन्धले उसलाई तान्ने गथ्र्यो । त्यसपछि एक डेढ घन्टा हामी त्यहीँ हराउँथ्यौँ । फर्किँदा लगभग बोकेझैँ गरेर मैले उसलाई ल्याउनुपथ्र्यो । ऊ पूरै बेसुरमा हुन्थ्यो र मातेपछि उसले बक्ने विषय एउटै हुन्थ्यो– माओवादी र उसकी स्वास्नी । प्रेम गरेर ल्याएकी आफ्नी सोझी स्वास्नीलाई माओवादीले ललाइफकाइ गरी लगेर आफ्नो जिन्दगी तहसनहस बनाइदिएको उसको गुनासो हुने गर्दथ्यो । ऊ ओछ्यानमा नपुग्दासम्म यति नै कुरा बरबराइरहेको हुन्थ्यो । उसलाई ओछ्यानमा पल्टाइदिने, जुत्ता मोजा फकालिदिने र ओढ्ने ओडाइदिने सबै काम म यति हार्दिकतापूर्वक गरिदिन्थेँ कि मानौँ उसको सेवा गरेर मैले ठूलो पुण्य कमाइरहेको छु ।
त्यसो त हामीबीचको सम्बन्ध निकै नजिकको भइसकेको थियो । हामी खाना पनि सँगै खान थालेका थियौँ । बिहान म कलेजबाट फर्किँदासम्म ऊ खाना बनाइवरी खाएर पसल खोल्न गइसकेको हुन्थ्यो । उसले राखिदिएको खाना खाएर म स्कुलतिर जाने गर्थेँ । सुन्दरचाको भट्टी नपसेको साँझको खाना हामी दुवै मिलेर बनाउने गथ्र्यौँ ।
त्यो दिन म स्कुल छुटेर उसको पसलमा पुग्दा ऊ अघिपछिको भन्दा फरक मुडमा देखिन्थ्यो । मलाई देख्नेबित्तिकै हतारिएर हात समात्यो र भन्यो –“धन्न सही टाइममै आयौ भाइ ।”
“किन के भयो र दाइ ?”उसले ठट्टा गरिरहेको जस्तो लागेर मैले पनि हाँसेरै सोधेँ । उसले जवाफ नदिइकनै मलाई पसलको भित्रपट्टि लग्यो अनि पाइन्टको खल्तीबाट पट्याइएको कापीको पाना दिँदै साउतीको स्वरमा भन्यो–“उनको चिठी हात प¥यो नि भाइ ।”
“कसको चिठी दाइ ? भाउजूको ?” एकाएक म उत्तेजित भएछु । तर त्यो पाना खोलेर हेर्नचाहिँ धक लाग्यो । म अलमलिएको देखेर उसैले भन्यो–“पढ्नुस् त भाइ । मैले त पटक्कै बुझिन के लेखेको हो के ।”
चिठी पढ्ने वैधानिकता प्राप्त भएपछि म नजिकको मुडा तानेर बसेँ र चिठीमा घोत्लिएँ ।
चिठीको व्यहोरा चल्तीको भाषामा पटक्कै थिएन । प्रयोग गरेका शब्दहरु पनि भाषणमा प्रयोग गरिनेजस्ता थिए । त्यहाँ फिल्मी प्रेमका भावुकता पनि थिएनन् । संबोधन नै उसलाई ‘प्रिय साथी’ भनेर पो गरिएको थियो ।
म दङ्ग परेँ । जीवनमा पहिलोपटक छापामारको प्रेमपत्र पढिरहेको थिएँ । त्यसका कतिपय शब्दको अर्थ म आफैँ पनि बुझ्दिनथेँ । तर जति बुझ्थेँ तिनले मेरो मस्तिष्कका जरा र रोमरोमपर्यन्त खल्बली मच्चाइरहेका थिए ।
चिठीमा आफू ‘क्रान्तिमा होमिनुको कारण युगले दिएको अभिभारालाई कर्तव्यनिष्ठ भएर पूरा गर्नु हो’ भनेर प्रस्ट पारिएको थियो । पटक पटक आफू ‘मुक्ति युद्धमा मारिन सक्ने खतरा’ देखाउँदै ‘सर्वहारा वर्गको मुक्तिका निम्ति एकपटकमात्र होइन सैयौँ पटक बलिदान हुन तयार भएको’ दृढता दोहोरिएर आएको थियो । चिठीमा ‘कायरको जिन्दगी नबाँची जनयोद्धाको मृत्युवरण गर्नु गौरवमय हुने भएकाले’ उसलाई पनि ‘क्रान्तिमा लाग्न’ अनुरोध गरिएको थियो । चिठीको मूल प्रसङ्ग यस्तै कुराको आसपास घुमेको थियो । करिब ३ पेजको त्यो चिठीमा देशको वर्तमान अवस्थाको समेत चिरफार गरिएको थियो र ‘जनमुक्ति सेना’ कसरी ‘दुश्मनहरुका श्वेत किल्ला ध्वस्त बनाउँदै विजयको नजिक भइसकेको छ’ भन्ने कुराको पनि चर्चा गरिएको थियो ।
चिठीमा उनीहरुको व्यक्तिगत सम्बन्धका बारेमा केही पनि चर्चा गरिएको थिएन । चिठीको बिट मार्ने बेलामा मात्र यति लेखिएको थियो –‘मेरो पहिलो प्रेम पार्टी र जनता हो, त्यसपछिको प्रेम मात्रै तपाईँ हो । त्यसैले क्रान्ति सम्पन्न नभइकन म फर्किने छैन । यदि तपाईँलाई मेरो माया लाग्छ र म फर्कने दिनसम्म पर्खन तयार हुनुहुन्छ भने मुक्तिपछि हामी साथै हुने नै छौँ । यदि सक्नुहुन्न भने पनि तपाईँलाई अर्को विवाह गरेर नयाँ जीवन सुरु गर्न मेरो तर्फबाट अनुमति दिएको छु । तपाईँ अर्को जीवन सुरु गर्न स्वतन्त्र हुनुहुन्छ । वीरगति भएन भने मुक्तिको सुन्दर विहानीमा हाम्रो भेट हुने नै छ ।’
तपाईँलाई माया गर्ने
महिमा
लामो भाषणजस्तो प्रेमपत्र पढेर म अवाक् भएँ । न त्यसमा आफ्नो प्रेमको पीडा, व्यथा अथवा मिलनको चाहनालाई अभिव्यक्त गरिएको थियो न त त्यसको प्रत्युत्तरको नै अपेक्षा गरिएको थियो । तर चिठीका धारिला र जोशिला वाक्यहरुले मलाई नै जुरुकजुरुक उचालिरहेका थिए । मैले जोशिएका आँखाले उसलाई हेरेँ–उसको फ¥याकफुरुक अर्कै किसिमको थियो ।’
मैले चिठी पट्याएर उसको हातमा दिँदै सोधेँ–“अनि कसरी पाउनु भयो त योे चिठी ?”
“खै एउटा नचिनेको बूढो बूढो मान्छे थियो । जवाफ पठाउने भए लेखेर राख्नू, फर्कँदा मिल्यो भने पस्छु भनेको छ ।” अनि उसले मतिर हेर्दै सोध्यो–“साँच्चै के लेख्ने होला भाइ यसको जवाफ ?”
यो प्रश्न मेरा लागि पनि उत्तिकै कठिन थियो । त्यसैले प्रश्न उहीतिर तेस्र्याइदिएँ–“के लेख्नु हुन्छ त जवाफमा । यसमा त राजनीतिको कुरा बाहेक केही छैन । कि जानुहुन्छ तपाईँ पनि ?”
जवाफमा उसले हाँसेर कपाल कन्यायो । मेरो मनमा एउटा जिज्ञासा जन्मियो–“साँच्चै चिठीमा दिएका दुई विकल्पमध्ये रुपाखेतीले कुन विकल्प रोज्ला ?’
ड्ड
“मलाई त भाउजू सांसद भइसक्नुभयो होला भन्ने लागेको थियो ... ...।” मलाई पटक पटक यही कुरालाई तन्काउन मन लागिरहेको थियो । किनकि मेरो सामान्य चेतनाले पनि उहिले नै तिनको राजनैतिक चेतना र प्रतिबद्धताको उचाइ महसुस गरेको थियो । त्यसैले रुपाखेतीको सापेक्षतामा उनको राजनीतिले निकै छलाङ मार्नुपर्ने आग्रह नाजायज पनि थिएन ।
रुपाखेती यो कुरा सुन्नु नपरे हुुन्थ्यो झैँ गरी मोबाइलमा घोरियो । उनले उस्तै सटिक र सोझो जवाफ दिइन्–“हामी क्रान्तिमा लामबद्ध भएको सांसद मन्त्री बन्न थिएन, जनताको मुक्तिका लागि थियो ।” तिनको बोलाइको शैली ठ्याक्कै युद्धको सिपाहीको जस्तो थियो– ओजिलो र सटिक ।
“तर फाइदा उठाउने त अरु नै भए नि त... ...।” म जानाजान कुरा कोट्याइरहेको थिएँ । मलाई तिनको मौनताको बाँध फुटाएर तिनको आक्रोश र असन्तुष्टिलाई छताछुल्ल बनाइदिन मन थियो । तर त्यसो हुँदै भएन । उनले लामो सास फेरेर भनिन् –“त्यही त ठूलो बिडम्बना भयो नि ।” र, उनी फेरि चूप लागिन् ।
अघिदेखि चूप बसेको रुपाखेतीले निर्णय सुनाएझैँ गरी भन्यो–“युद्ध हाँक्नेहरुले सरकार चलाउन सक्छन् नै भनेर ठोकुवा गर्न त सकिँदैन नि । युद्ध भनेको हतियारको बलले लड्ने हो, सरकार दिमागले चलाउने हो । सरकार चलाउनु भनेको युद्ध गरेजस्तो कि मार्ने कि मर्नेजस्तो सीधा कुरा त होइन नि ।”
ड्ड
चिठी पाएको साँझमा रुपाखेतीले मलाई राम्रा अक्षरमा प्रत्युत्तर लेखिदिन अनुरोध ग¥यो । तर मैले आलटाल गरेँ । किनकि त्यसको प्रत्युत्तर त खालि प्रेमको प्रदर्शन गर्ने खालको मात्रै होइन सम्बन्धकै बारेमा अन्तिम निर्णय गर्ने किसिमको हुनजान्थ्यो । म यो खतरा किन मोल्थेँ र ! त्यसैले मैले उसलाई ‘अरुलाई लेखाएको चिठीमा तपाईँको ह्दय कहाँ बोल्छ र ’ भनेर फकाएपछि ऊ फुरुङ्ग परेर आफैँ लेख्न तयार भयो । मैले उसलाई चिठीको अपेक्षाका बारेमा चाहिँ राम्रोसित सम्झाएको थिएँ । तर म त्यो चिठीलाई लिएर जति गम्भिर थिएँ, ऊ भने पटक्कै थिएन ।
पूरै रात छ्याङ्गै बसेर उसले दुई पेज लामो चिठी लेखेछ । विहान मलाई क्याम्पस नै जान नदिई उसले चिठी सस्वर वाचन गरी सुनायो । ठाउँठाउँमा मलाई वाक्य अझै मीठो बनाइदिन पनि आग्रह गथ्र्यो । तर यो चिठी उसकी श्रीमतीको चिठीको प्रत्युत्तर जस्तो थिएन, न त उनले गरेका गम्भिर कुराहरुलाई वास्ता नै गरिएको थियो । त्यसमा त उसको प्रेमको एकोहोरो ‘इजहार’ थियो, बिछोडको ‘दर्द’ सहेर बस्नुपरेको अवस्थाको वर्णन थियो अनि ‘दुई आत्माको फेरि मिलन हुने दिनको बेसब्र इन्तजार’ थियो । अन्तिममा उसले यति कुराचाहिँ लेख्न भ्याएको थियो कि ऊ उनी फर्केर नआन्जेलसम्म पर्खीबस्ने छ र सहरमा एउटा नयाँ घर बनाएर नयाँ बेहुलीका रुपमा उनलाई भित्र्याउने छ ।
मलाई उसको निर्दोष भावुकता अझ भनूँ पागलपन देख्दा असाध्यै टीठ लागेर आयो । यदि उनी युद्धमै मारिएको खबर आयो भने यो दुई विपरीत धारमा उभिएको प्रेमको के हविगत होला ? कल्पना गर्दैमा म भावुक बनेँ ।
तर त्यो चिठी उसले पठाउन पाएन । फर्कनेबेलामा पस्छुृ भनेको मान्छे फेरि फर्किएर आएन, निकैदिनसम्म पनि ऊ नआएपछि उसको उत्साह केही घट्यो । तर ऊ निराश भने थिएन । अब दुवै चिठी उसको पर्सको चेपमा सँगै टाँसिएर रहन थाले जस्तो कि रुपाखेतीले भनेजस्तो ‘दुई आत्माको मिलन’ त्यहाँ भइरहेथ्यो ।
तर सङ्कटकालमा एउटी विद्रोही छापामारको पत्र र सँगसँगै त्यसको प्रत्युत्तर पर्समा राखेर खुलेआम हिँड्नु निकै खतरनाक कुरा थियो । कुनै पनि बेला आर्मी पुलिसले खोतखातल गर्नसक्थ्यो । त्यसैले चिठी बोकेर नहिँड्नका लागि म उसलाई सल्लाह दिइरहन्थेँ । तर जवाफमा ऊ भन्थ्यो –“भाइ, यो चिठी मात्रै होइन यसमा त तिम्री भाउजूको आधा शरीर नै छ । मर्नै परे पनि यो चिठी त छाड्दिन भाइ म ।”
भो त अब ? म नाजवाफ बन्थेँ ।
त्यो चिठीसित उसको भावनात्मक सम्बन्ध यति प्रगाढ भइसकेको थियो कि कोठामा एक्लै बस्दा ऊ त्यही पढेर बसिरहेको हुन्थ्यो । मलाई लाग्छ, उसलाई त्यो चिठीका लाइन लाइन कन्ठ भइसकेका थिए । त्यो चिठी मैलो न मैलो र पुरानो जस्तो भइसकेको थियो । एकदिन त त्यसका अक्षरहरु नै फुलेको देखेँ र त्यसबाट अर्कै किसिमको गन्ध पनि आइरहेको थियो । पछि बुझ्दा रुपाखेतीले त्यसमा अत्तर छर्किएको रहेछ । बासनदार बनाएको अरे !
अब रुपाखेती व्यवहारिक हिसाबले पनि बदलिँदै गइरहेको थियो । भट्टी जान छाडेको थियो, चुरोट पनि निकै कम गरिरहेको थियो । ऊ अब आफ्नो व्यवसायतिर ध्यान दिन थालिसकेको थियो । हरेक दिन गुरुमन्त्रजस्तो प्रसङ्ग या विनाप्रसङ्ग एकवर्षभित्र घडेरी जोडिसक्ने सपना बताउँथ्यो । कतिचोटि त उसले घडेरी हेर्न (किन्ने हिसाबले होइन) मलाई लिएर पनि हिँडेको थियो । कुनै जग्गा उपयुक्त जस्तो लाग्यो भने ऊ त्यहीँ बसेर घरको घरको नक्शा पनि कोर्न थालिहाल्थ्यो । अनि भन्थ्यो– “ऊ आउनेबेलासम्ममा म यहाँ चिटिक्कको दुईतले घर बनाउँछु । अब बाँकी जीवनभर उसलाई भात खाएको थालसम्म पनि माझ्न नदिई सुखमा राख्नेछु ।” मलाई रमाइलो पनि लाग्थ्यो, कहिलेकाहीँ चाहिँ उसमा पागलपनको सुरुवात त भएको होइन जस्तो पनि लाग्थ्यो ।
रमाइलो कुरा त उसले कविता लेख्न सुरु गरिसकेको थियो । दैनिकजस्तो गीत, गजल अथवा मुक्तक लेख्ने गथ्र्यो । उसको आसुकवित्वको विकास यति तीव्ररुपमा भइरहको थियो कि त्यसको प्रवाहमा कहिलेकाहीँ त म आफँै पनि हराइदिन्थेँ । अनि मेरो भावुकताको गहिरो बनिदिन्थ्यो कि कहिलेकाहीँ त म बिछाडिएका प्रेमी प्रेमिकाको मिलन गराइदिने साइड हिरोको भूमिकामा आफूलाई पाउने गर्थेँ । तर मेरो कच्चा उमेरको कच्चा अनुभवले पनि त्यो प्रेम सफल हुने सम्भावना अत्यन्तै कम देख्दथ्यो । एउटाको राजनीतिक चेतना र अर्काको फिल्मी सपना बीचको संघर्षमा यो प्रेम दुर्घटित हुने सम्भावना निश्चितप्रायः थियो ।
एकदिन सामान लिन काठमाडौँ जान्छु भनेर गएको रुपाखेती फर्किएर आएन । मनमा लाग्यो–‘पक्कै पनि आर्मीको चेकिङमा त्यही प्रेमपत्रले उसलाई फसायो ।’ केही दिनसम्म फर्किन्छ कि भन्ने आशा पनि थियो तर ऊ फर्किएन । उसको परिवारसँग मेरो कुनै हिसाबको सम्बन्ध अथवा सम्पर्क थिएन, न त उसको चिनजानका अरुसँग नै । यो बेला उसलाई खोज्दै आर्मी पुलिसकहाँ जानसक्ने मेरो साहस पनि थिएन । ऊप्रतिको मेरो सद्भाव र आत्मीयता मनमनमै सीमित भयो ।
बरु रुपाखेती हराएको दोस्रो हप्तामै डेरा सरेर आइपर्नसक्ने भवितव्यबाट आफूलाई जोगाउने प्रयास गरेँ मैले । तर रुपाखेती र उसको प्रेमको कारुणिक कथाले भने क्रान्तिले जत्तिकै मलाई लखेटिरहेको थियो ।
ड्ड
“साँच्चै दाइ...तपाईँ सामान किन्न जानु भएपछि फर्किएर आउनु भएन । सम्पर्क पनि भएन । के भएको थियो दाइ ?”
“काँ भाइ मलाई त चेकपोस्टबाटै घोक्रेठ्याँक लगाइहाल्यो नि । भाइले त भन्थ्यौ नि पर्समा नबोक्नु भनेर । तर के गर्ने त्योबेलाको अल्लारे बुद्धि !” उसले भन्यो–“आफ्नो सफाइमा केही बोल्न दिएको होइन । सीधै लगेर ठोसिदियो । यति चरम यातना दियो कि भाइ... ... कुनैबेला त सहनै नसकेर बरु गोली ठोकेर मारिदे भनेर कराउँथेँ पनि ।”
“हो र दाइ... ..?” मैले विश्वास र अविश्वासको दोधारमै उसलाई सोधेँ –“अनि कति राख्यो त दाइ ?”
“राख्यो नि भाइ झन्डै पाँच वर्ष । कहिले कता कहिले कता ।” रुपाखेती अब राजनीतिक योद्धाका रुपमा आफूलाई साबित गर्दै थियो । उसले मेरो प्रतिक्रिया नलिइकनै फेरि उही कुरा दोहो¥यायोे– “हातमा हतियार लिएर भिड्नु र निहत्था भिड्नुमा निकै फरक छ भाइ । तर हाम्रो पार्टीको बिडम्बना नि भाइ बन्दुक बोकेर लडेकाहरुले मात्रै योगदान गरेको ठहर्ने, हामीजस्ताको त भ्यालु नाइँ ।”
किन हो उसले स्वास्नीतिर पुलुक्क हे¥यो । यसअघि तिनी भए न भएको पनि उसले वास्ता गरिरहेको थिएन । मैले देखेँ–तिनले ओठ लेप्राएर घृणापूर्वक उसलाई हेरिन् र दाँतले बल लगाएर माथिल्लो ओठ टोकिन् ।
तिनको अनुहारको भावले मलाई के प्रेरणा प्रदान ग¥यो कुन्नि मलाई रुपाखेतीको कुनै पनि कुरामा विश्वास नै लागिरहेको थिएन । अघिसम्म पश्चिमतिर ठेक्कापट्टा गरेँ भन्दैथियो, फेरि व्यवसायको कुरा पनि गर्दै थियो अनि यो जेलनेलको कुरा कहाँबाट आयो –त्यो पनि पाँच पाँच वर्ष !
रुपाखेतीलाई स्वास्नीचाहिँको असन्तुष्टिसित केही लेनादेना थिएन । उसले म के महसुस गरिरहेको छु पनि वास्ता नगरिकन भन्यो –“खासमा नि भाइ, युद्धको बेलामा सबै काम भूमिगत नै हुने त हो नि । मैले भाइलाई थाहा नदिएको मात्रै हो, म त त्यही बेलादेखि नै पार्टीको काममा थिएँ नि ।”
म हासौँ कि रोऊँको असजिलो अवस्थामा पुगेँ ।
अब रुपाखेतीले आफ्नो गौरवमय योगदानको चर्चालाई बिट मार्दै भन्यो–“आ ...भाइ मैले यो बीसवर्षको बीचमा भोगेका कुराहरुको फिलिम नै बनाउने भने पनि पाँचवटा त बन्छ नै । यति छोटो बसाइमा कहाँ सम्भव हुन्छ र बताउन । एकदिन दाजुभाइ दुःखसुखका कुरा गर्ने गरी सँगै बसूँला नि । तर जे होस्, पार्टीले चाहिँ मेरो योगदान देख्यो है ।” रुपाखेतीले यसरी सास फे¥यो मानौँ उसले निर्वाण प्राप्त गरिसक्यो ।
मेरो शरीरका जराजुरीमा आक्रोश यति धेरै भरियो कि अघिल्तिरको चियाको गिलास उठाएर त्यसको थुतुनो भाँचिने गरी हिर्काइदिऊँ जस्तो एउटा आवेग भित्रैदेखि उठेर आयो र मेरो जिउ हल्लाइदियो । ऊ भने थप्दैछ –“के भन्ने भाइ...अहिले पनि बादलझरीको टाइममा हड्डी हड्डी दुख्छ । लामो बाटो त हिँड्नै सक्दिनँ । एउटा कान नै कम सुन्न थालेको छु... ...।” यो के...त्यसले त स्वास्नीतिर फर्किएर आँखा पो सन्कायो ।
मभित्र घृणा यति भरियो कि मेरो मुखभरि थुक जम्मा भयो । मैले थुक्नुपर्ने त त्यसको मुखमा थियो । तर घुटुक्क निलिदिएँ । तिनको अनुहारमा हेरेँ– तिनले आफ्नो टाउको फर्काइसकेकी थिइन् । ती उस्तै उदास र अँध्यारिएकी थिइन् ।
मैले आफूलाई पनि उनीजत्तिकै उदास र निराश पाएँ । लाग्यो– ‘हरेक आक्रोश निराशामा परिणत गर्नु मेरो पुस्ताको गम्भिर गल्ती हो ।’

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु