नभेटिएको उपहार

- देवेन्द्र चिनार

कुन पुरुषको शुक्रकीट कुन महिलाको पाठेघरमा पुगेर म जन्मिएँ मलाइ थाहा छैन । सन्तानको रहरले जन्मिएको हुँ वा जवानीको रहरले? मैंले कहिल्यै यो प्रश्नको जवाफ पाइन । मातृदूधको स्वाद कस्तो हुन्छ भनेर कसैले मलाइ सोधेन । कसैले त्यो नसोधेरैे ठीक ग¥यो । सोधेको भए उत्तर पाउँदैनथ्यो होला । सायद उत्तर पाएको भए पनि बजारमा बट्टामा पाइने पाउडरको दुधजस्तोे पाउने थियो होला, नमीठो । नसोध्ने त्यो कसैप्रति आभारी छु ।
मलाइ हुर्काउने आमा कुमारी थिइन । अर्थात उनको विवाह भएको थिएन । मेरी आमा घरकी एक्ली छोरी थिइन् । आमा सुन्दर थिइन्–दुधकोशीको वगरमा हुर्केकी जस्ति । आमाकी आमा अर्थात मेरी हजुरआमाले मलाइ साह्रै माया गर्थिन् । उनले सुनाएका कथाहरु अझै पनि मेरो दिमागबाट लर्किएका छैनन्–उनको याद नलर्किएजस्तै । हजुरबाको अनुहार त मैंले कहिल्यै देखिन । मेरी आमा जन्मनेबित्तिैकै खस्नुभएको रे! कहाँ खस्नुभएको हो भनेर मैंले सोधिन ।
छिमेकका अरु केटाकेटी हुके जसरी नै म पनि हुर्किएँ । धूलोमा खेलेर हुर्किएँ । सिंगान खाएर हुर्किएँ । स्कूल पुरानो थियो–पानी परेको बेला कक्षाकोठाभित्रै केराको पातलाइ छाता बनाएर पढें पनि । स्कूलमा दिशापिसाब गर्ने घर थिएन–पिसाब गर्न ऐसेलु झाडीतिर गएका केटी साथीहरुलाई कुरीकुरी भनेर तर्साएर हुर्किएँ । पिसाब गर्ने बेला हामी केटा साथीहरको प्रायः एउटै प्रतिस्पर्धा हुने गथ्र्यो–कसले पिसाबको धारा टाढा सम्म पु¥याउने भनेर । त्यो प्रतिस्पर्धामा कहिेलेकाहीं प्रथम स्थान हासिल गरेर हुर्किएँ । गृहकार्य नगर्दा शिक्षकले दिएको सिप्किनोका उपहार लिएर पनि हुर्किएँ ।
मेरी हजुरआमाको मृत्यु हुँदा म सानै थिएँ । ६–७ वर्षको । मैंले पहिलोपटक मृत्युलाई देखेको त्यही बेला हो । तुलसीको मन्दिरनेर हजुरआमालाइृ सुताएर एकोहोरो शंख बजाउँदा मृत्यु नाँचैजस्ते लाग्यो । आमा रोइरहनुभएको थियो । नजानेरै म पनि रोएँ । हजुरआमाको मृत्युको अर्थ बुझेर रोएको होइन, मेरी आमा रोएको देखेर म पनि रोएको थिएँ । मेरी हजुरआमालाई घाटमा लैजाँदा म पनि सँगै गएँ । आमाले दागबत्ति दिनुभएको थियो । धन्य मेरी आमा!
हजुरआमाको मृत्युपछि मेरी आमाको जीवन असजिलो भएको महसुस गरें । तैपनि मेरा रहर र चाहनाहरुलाई जहिल्यै मेरी आमाले सिमलका फूलजस्तै सुन्दर तरिकाले पूरा गरिन् । कति रात रोइरहेकी हुन्थिन् । किन रोएकी? भनेर सोध्दा पनि केही बोल्थिनन् र मेरो कपालमा हलुका स्पर्श गरेर मलाइ भुलाउँथिन् । आफ्नै पाठेघरमा हुर्किएको नभएपनि मलाइ मेरी आमाले आफ्नै पाठेघरलाई जत्तिकै माया गरिन् ।
................................................... .............................................
मेरो देशका धेरै युवाजस्तै म पनि मेरो देशमा चलेको दुइथरी सत्ताको सिकार भएको युवा हुँ । सैनिक र छापामारको देश थियो मेरो देश । मेरो देशका खोलामा रगत मिसिएको पानी बग्थ्यो । धान खेत र गहुँ बारीमा लाश फलेका हुन्थे । फूलमा बारुदको गन्ध मिसिएको हुन्थ्यो । मधयरातमा माहुरीका घारबाट आँसुका स–साना कुला बगेका हुन्थे । मन्दिरको चउरमा बसेर हत्याका योजनाहरु तयार पारिन्थे । मान्छेसँग मान्छे डराउनुपथ्र्यो । सुन्दर युवतीका वैंशबाट सैनिक वा छापामार कसैका यौन उद्वेगहरु जबरजस्ति छरिएका हुन्थे । रेडियोले मृत्युको गीत गाए जस्तो लाग्थ्यो । बाँसका कुनै पनि रुख हरिया रहन पाएका थिएनन् । र ती सबैको एउटा कारक म पनि थिएँ । हो म रहर हराएको छापामार थिएँ । स्कूलमा पढ्न गएको म स्कूलबाटै जङ्गलतिर लागेको थिएँ । रहरले होइन, बाध्यताले । एक्लै पनि होइन, अरु साथीहरुसँगै । स्कूलमा राष्ट्रिय गान गाएको बेला भेंडाजस्तै बनेर । मलाइ के थाहा? घरबाट स्कूल हिंड्ने बेला मेरी कुमारी आमाले खाजा खान दिएको पैसा नै मेरी आमाले मलाई दिएको अन्तिम भौतिक चिज थियो । माया र आशिर्वाद त सधै पाएकै छु होला ।
छापामार युद्ध ननिको लाग्थ्यो । सायद रहरबिना, सोंचबिना, आमाको आशिर्वादविना छापामार बनेका जो कसैलाई मलाई जस्तै हुन्थ्यो होला । पलप्रतिपल आमाको याद आउँथ्यो । १७ वर्षको उमेरमा बन्दुकको नाल समाउनुपर्दा मेरा हात काँप्थे । आँखा डराउँथे । खुट्टा ढुँगामै भासिन्थे । तर त्यो मोर्चामा सबै कुराहरु सहेर, छातीभित्रै दबाएर हाँस्नुपथ्र्यो । अरुले जे जसरी त्यो गरे त्यो सहे मैंले पनि त्यसै गरी सहें । सहनुको विकल्प नै पो के थियो र? न भागेर जान सकिन्थ्यो, न मागेर जान पाइन्थ्यो ।
त्यसरी छापामार भएको धेरैे महिनापछि हो, घर जानका लागी बिदा पाएँ । ३ दिनको बिदा । घरमा जाँदा सैनिकको बुट र राइफलको शिकार हुनुपर्ला भन्ने डर एकातिर थियो भने मेरी आमालाइ भेट्ने रहर अर्कातिर । आखिर आमाको मायाले जित्यो र म घर गएँ । घरमा पुग्ला झमक्क साँझ परिसकेको थियो । दैलो खुल्लै रहेछ । तर आमा घरमा थिइनन् । कतै पनि थिइनन् । वल्लो–पल्लो कुनै घरमा गइन । जान मन नलागेर नगएको होइन । स्कुलबाट सँगै गएका साथीहरुको बारेमा सोध्दा उत्तर दिन नसक्ने भएकाले गइन । आखिर मृत्युको उत्तर दिन कहाँ पो सजिलो हुन्छ र? मसँग गएका धेरै साथीहरु बादलको माथी पुगिसकेका थिए । घरमै बसें । पानसको बत्ती बालें । तेैपनि आमा कतैे गएकी होलिन् र फर्केर आउलिन् भन्ने आशाले आमाकै विस्तारामा पल्टें । आमा सुत्ने खाटको सिरानीबाट ४५ डिग्रीको कोण बनाएर हेर्दा आँखा ठोक्किने भित्तामा मेरो ठूलो तस्विर थियो । अगेनामा चिसो खरानी पनि । त्यो बाहेक घरमा अर्थोक केही थियो भने त्यो शुन्यता मात्र थियो । कसो कसो आमाको सिरानी काखमा लिन मन लाग्यो । सिरानीमुनि पत्र रहेछ । कुनै अप्रिय राती मेरी आमाले मलाइ सम्झेर लेखेको पत्र थियो त्यो । पढें । आमा शहर पसिछन् । एउटा सैनिकको प्रेमसँगै । म रातभरी मझेरीमा बसेर रोएँ । आमालाइ सम्झेर रोएँ । फेरी छापामारको मोर्चामा फर्कन मन लागेन । झिसमिसे बिहानीमै उखुको लठ्ठी टेकेर ओरालो लागें । कुनै अजनवी शहरमा जाने मनसँगै । तर सकिन । झोलुङ्गो तरेपछि बायाँको बाटो समाएँ जुन बाटोले फेरी जङ्गलमै पु¥यायो । त्यसपछि म कहिल्यै घर गइन ।
छापामार भएर म कसरी लडें , छापमार हुनुको पीडा कसरी साक्षी भएर भोगें भन्ने कुरा समयले लेख्नेछ । इतिहासले त्यसलाई सुरक्षा दिएर राख्नेछ । झण्डै ५ वर्षसम्म जीवनभन्दा लडाइलाइ अगाडी राखेर, हत्केलाभन्दा बाध्यतालाई सम्झेर, सपनाको माया मानेर बिताएको समय र अयोग्य लडाकुको रुपमा क्यान्टोन्मेन्टबाट एउटा चेक लिएर बिदाइ भएको क्षण इतिहासको कुनै सागरमा बिलाउला अथवा पर्वत बनेर उभिएला तर त्यसको एक हिस्सा म पनि भएँ ।
क्यान्टोनमेन्टको गेट बाहिर मेरो आफ्नो भन्ने कोही पनि थिएन । मेरो बास पनि थिएन । आमा नभएको घरमा जान मन पनि लागेन । कहाँ जाने र के गर्ने भन्ने कुरा सोंच्नै सकिन । होसमा हो वा बेहोसीमा म काठमाडौं जाने बस चढेछु । बस नारायणीको पुलमा पुगेपछि मात्रै मेरो मनस्थिती सामान्य अवस्थामा फर्किएको महसुस गरें । सामान्य अवस्थामा–तर पूर्व सामान्य अवस्थामा भने होइन । अल्झन र बल्झनको सामान्यावस्थामा ।
काठमाण्डु या त धेरै रहर र पैसा हुनेहरु बस्ने शहर हो या केही पनि नहुनेहरु पस्ने शार । म दोश्रो वर्गमा परें । सँगै लडाई लडेका कमरेड साथीहरु काठमाण्डुमा महल बनाएर बसेको सुनेको छु तर आफ्नो गास र बास दुवैको टुँगो थिएन । अयोग्य लडाकु हुनुको पीडाको प्रमाणपत्र बोकेर त्यही शहरमा छिरें । रहर र बाध्यताको पर्याय बनेको शहरमा ।
काठमाडौंमा जिउनु लडाइको अग्रपंक्तिमा उभिएर ग्रिनेड चलाउनुजस्तै रहेछ । कठिन । निर्दयी शहर । दया माया प्रवासिएको शहर । किन काठमाडौं यस्तो भएको होला भन्ने सोंच्दै घुमिरहें । कहिले श्लेषमान्तकको वन, कहिले टेकु घाट, र प्रायः पाटनका पुराना गल्लीहरुमा मेरो दिन बित्थ्यो । राती सुनधाराको एउटा होटलमा बस्थें । आखिर, क्यान्टोनमेन्टबाट बाहिरिने बेला पाएको चेकको पैसाले केही महिना काठमाडौंमा खर्च गर्न पुग्थ्यो नै । सुरा र सुन्दरीको स्वाद लिन पनि पुग्ने थियो ।
काठमाडौंमा मलाई शहरभन्दा शहरमा मानिस अजीव लाग्न थाले । कसैका आँखामा पैसा फूलेका, कसैका आँखामा जवानी फुलेका । धेरैका आँखा भने फुस्रा थिए–वालुवा फूलेजस्ता ।
एकदिन श्लेषमान्तकको छेउमा बसेर आर्यघाटबाट उडिरहेका चिताको मुस्लो गनिरहेको थिएँ । श्लेषमान्तकको सिधा माथीको आकासमा सूर्य आइपुगेदेखि साँझ पर्दासम्म २३ वटा लास जलेर उडेको धुवाँको मुस्लो गन्न भ्याएछु । मेरो अलि थोरै दुरीमा, स्पष्टै भनुँ म बसेको बेञ्चको पल्लो छेउमा एउटी युवती बसेकी थिइन् । त्यस्तै २५–२६ वर्षको हुँदो हो उनको उमेर । पहेंलो टिसर्ट, नीलो जिन्स पाइण्ट र कालो चश्मा लगाएकी थिइन् । आपसमा हेराहेर भए पनि बोलचाल दिनभरी नै भएन । उनले सायद मैंले पहिले बोल्न सुरु गरे हुन्थ्यो भन्ने सोंचेकी थिइन् क्यारे । तर मैंले कहिल्यै पनि अपरिचितसँग सम्बाद सुरु गर्दिन । चाहे त्यो अपरिचित जति नै सुन्दर युवती किन नहोस् । आखिर कुराकानी भयो । उनैेले सुरु गरिन् । धेरै कुरा भए । मृत्युको रुप हेर्न आएकी रे त्यहाँ । मैंले मेरो बाल्यकाल सम्झिएँ । मेरी हजुरआमाको मृत्यु हुँदा बजेको शंखको आवाजमा मृत्यु नाँचेजस्तै लागेको थियो । उनीसँगको कुराकानी निकैे मीठोलाग्यो । तातो खरानीमा पोलेको आलु जस्तै । त्यो रात म उनकै कोठाम गएँ । नेपालटार ।
२ तले घर । घर अगाडी बगैंचा । भुईतलाको देव्रेपट्टिका २ कोठाहरु भाडामा लिएकी रहिछन् । एउटा भान्सा कोठा र अर्को सुत्ने कोठा । खाना खाएर सुत्यौं । एउटै कोठामा तर छुट्टाछुट्टै विस्तारामा ।
त्यो पहिलो रात, आफ्नो कथाको पहिलो श्रोता बनाइन् मलाई ।
उनले आफ्नो कथा यसरी सुनाइन् ।
“...मलाइ जन्माउने आमावुवा धनी थिए । वुवा इण्डियन आर्मी । आमा घरको काम गर्थिन् । कुनै अभावको महसुस नगरी मेरो बाल्यकाल वित्यो । घरकी एक्ली छोरी थिएँ म । दाजुभाइ पनि थिएनन् । वुवाको पल्टन कहिले कता कहिले कता हुन्थ्यो । हरेक साल १ महिनाको विदामा वुवा घरमा आउनुहुन्थ्यो । वुवा छुट्टीमा आउको बेला मैंले १ वर्षको लागी वुवाको माया सापटी लिएर बस्नुपथ्र्यो । हरेक छुट्टिमा आउँदा वुवाले हामीलाई हाम्रो पुख्र्योली घर लैजानुहुन्थ्यो । म्याग्दीको वावियाचौर ।अहिले त २ वर्ष भइसक्यो त्यहाँ नगएको पनि । कस्तो भयो होला त्यो ठाउँ अहिले?”
“किन?” उनको कुरालाई बीचैमा रोकेर फ्याट्ट सोधें ।
“वुवा बाँचिरहनुभएको भए सायद.....” यो भन्दा धेरै बोल्न सकिनन् । एकछिन दुवै चुप भयौं । बत्ती बालेको थिएन । बत्ती बलेको भए उनको आँसु देख्नुपथ्र्यो होला ।
“३ वर्ष पहिलेको फागुन १७ गते । वुवाको मृत्युको खबर आयो । म असाध्यै रोएँ । तर मेरी आमा रोएको देखिन । सायद मनमा निकै आँसु बगाएकी पो थिइन् कि । तर आमाको गालामा आँसुले छोएन । सैनिककी पत्नी भएपछि मन त्यती साह्रो पीडा खप्न सक्ने हुँदो हो भन्ने सोचें । ३ दिनपछि वुवाको शव आयो । दाहसंस्कार ग¥यौं । आर्यघाटमा । मलाइ आमा भएर पनि टुहुरी भएजस्तै भयो ।
समय बित्दै गयो । दिनहरु फेरिंदै गए । प्रत्येक दिन उदास र अनौठा लाग्न थाले । दिनजस्तै मेरी आमाको स्वभाव पनि फेरिंदैे थियो । म चुपचाप यी सबै कुराको साक्षी भएँ ।
एकदिन आमाले एउटा केटा लिएर आउनुभयो घरमा । मेरो विहे गरिदिन रहेछ । मलाई त्यो केटा खासै मन परेन । तर छोरी हुनुको पीडा, मेरो इच्छा विपरीत मैंले त्यही केटासँग विहे गर्नुप¥यो । भद्रकालीको मन्दिरबाट हाम्रो विहे भयो । उसका परिवार र साथीहरु अनि म र मेरी आमा मात्र थियौं विहेमा । पण्डित त हुने नै भइहाल्यो । विहेपछि हामी यहीं डेरा स¥यौं । फर्पिङको म जन्मेको हुर्केको घर आमाकै जिम्मामा छाडेर ।
मेरो विहे भएको त्यस्तै १ महिनापछि मेरी आमाले पनि बिहे गरिछन् । तर मलाइ भनिनन् । यो सुनेर अचम्म लाग्यो । वुवाको मृत्युमा आँसु नझरेका आँखाभित्रको सपना सायद यही थियो होला । अहिले नरायणगढको पोखरा बसपार्कमा होटल गर्छिन् रे । उनको मोबाइल उनले बिहे गरेको दिनदेखि नै स्विच अफ छ । भेट्न मन त छैन, तर एकचोटी फोनमा सबै कुराहरु सोध्न मन छ । तर खै उनी पनि फोन गर्दिनन् । ”
“अनि लोग्ने?”
“हो साँच्चि ! मेरो लोग्ने पनि सैनिक नै थियो । बिहे हुँदा उसको पोष्टिङ पाल्पा थियो । केही महिना हाम्रो वैवाहिक जीवन राम्रैसँग चलेको थियो । सिपाहीकी स्वास्नी हुनुको मर्म मैंले राम्ररी बुझ्न सक्थे्ं । मीठो मिलनको सपनामा, अङ्गालोमा रहेको सपनामा लोग्नेको दीर्घायुको लागी दीयो जलाइरहें ।
गएको मंसिरमा मेरो लोग्नेले दोश्रो विहे गरेछ । त्यसपछि उसको र मेरो सम्बन्ध छुट्यो । आज बिहान उसको मृत्युको खबर सुनें । कसरी म¥यो भनेर सोध्न मन पनि लागेन । नन्दले फोन गर्नुभएको थियो । ससुराले पनि फोन गरेर घरमा बोलाउनुभएको छ, लमजुङ घरमा । तर जान मन छैन । जो सँग विहे गरेको हो उसले नै धोका दिएपछि उसका वावुआमा दिदीबहिनीको के अर्थ? उसको मृत्युको खबरले मनमा चिसो चाहिं भयो । मन दुख्यो । जे भए पनि हिन्दु केटी हुनुको धर्म होला, लोग्ने भन्ने शब्दको नाता गाँसिएपछि उसको मृत्युमा आँखाबाट आँसु झर्दो रहेछ । मन दुख्दो रहेछ । धन्न । उसको दोश्रो विहेको खबर पाएपछि उसको नामको सिन्दुर र चुरा पार्सलमा राखेर उसलाई पठाइदिएकी हुँ । त्यो बेला मेरो मनले मेरो परम्परा भूले होला, समाजको रित विस्र्यो होला तर अहिले सम्झिंदा ठीकै गरेको जस्तो लाग्छ । नत्र आज सिन्दुर पुछ्नुपथ्र्यो, चुरा फुटाउनुपथ्र्यो । ” यति भनेर ऊ सुक्कसुक्क गर्न थाली ।
“अनि सन्तान?” सोध्न चाहेर होइन अचानकै यो प्रश्न मेरो मुखबाट फुत्किएछ । यही प्रश्न त मैंले दिउँसो नै सोधिसकेको थिएँ ।
एकछिन उनी केही पनि बोलिनन् । चकमन्न रातमा त्यतिबेला बाहिर अलिअलि पानी पर्न थालेको थियो । बगैंचामा भएको टिनको पातामा पानीले हानेको आवाज विस्तारै बढ्दै जान थाल्यो । भित्र सायद उनको छातीमा नदेखिने गरी ज्वालामुखी पो फुट्यो की?
“सरी” भन्ने लागेको थिएँ । उनको आवाज कानसम्म आइपुग्यो ।
“हरेक नारीलाई आमा हुने रहर सबैभन्दा ठुलो रहर हुन्छ । मलाई पनि थियो । मन नपरेरै विहे गरेको भए पनि लोग्ने भइसकेपछि उप्रतिको श्रद्धा जागेर आउँदो रहेछ । आमा हुने रहर थियो । तर उसैको आग्रहमा सात हप्ताको गर्भपतन गराएँ । यो मेरो ऊ प्रतिको सबैभन्दा ठूलो विश्वाश र मायाको उदाहरण थियो । तर त्यसपछि उसको र मेरो शारीरिक सम्पर्क नै भएन । मलाइृ रहर लागेर उसको छातीका रौं सुस्तरी चलाउँदा पनि उसले बहाना बनाएर मलाइ नछोइ सुत्न थाल्यो । गर्भ फालेपछि मलाई आमा हुने रहर झनझन बढ्न थाल्यो । तर त्यो व्यर्थ थियो । किनकी त्यो बेलासम्म लोग्ने पाल्पा फर्किसकेको थियो भने मेरो ब्याचलरको परिक्षा सुरु हुने बेला पनि थियो । तिमीले मलाई के सोंच्छौ त्यो तिमी नै जान, तर त्यो गर्भ फालेर धेरै ठीक गरेजस्तो लाग्यो । नत्र........” त्यसपछि उ केही पनि बोलिन ।”
“आजै किन त पशुपतिमा? घरमा बोलाउनुभएको रहेछ, घर गएको भए राम्रो हुन्थ्यो नि” मैंले अर्ति दिएजस्तै गरी बोलें, प्रसङ्ग बदलेर ।
“उसको मृत्युको खबरले मलाई भित्रभित्रै असह्य पीडा दियो । म कोठामा त्यत्तिकै बस्न पनि सकिन । कहाँ जाउँ के गरौं भन्ने अन्योलमै म पशुपति गएकी थिएँ । म मृत्युको चित्र हेर्न पनि गएकी थिएँ त्यहाँ । लास जलेका थिए । मनमा पहिरो चल्दै थियो । तिमी मेरो छेउमै थियौ । दिनभरी तिमी पनि बसेको ठाउँबाट उठेनौ । म पनि उठिन । तिमीलाई देखेर अजिव लाग्यो । बोल्न मन थियो तर सकिन । तिमी नै पहिले बोल्छौ कि भनेर तिमीलाई घरिघरि हेर्थें । धेरैपटक हाम्रा आँखा ठोकिएका पनि थिए । तर तिमी बोलेनौ र मैंले नै पहिला तिमीलाई बोाउनुप¥यो । तिम्रो कुरा सुनें । तिमीलाई त्यत्तिकै छाड्न मन लागेन । त्यही भएर म सँग जाउँ भनेकी हुँ । तिमीले मान्यौ । म सँगै आयौ । अब तिमी कहीं नजानु । यहीं बसे हुन्छ । तिम्रो पनि कोही छैन यो शहरमा र मेरो पनि ।”
उसको कुरामा विष घोलिएको जस्तो लागेन । मह जस्तै मीठो नभए पनि महको चाकाजस्तै चाहिं अवश्य थियो । चपाइरहन मन लाग्ने । मैंले केही उत्तर दिइन । नचाहेर उत्तर नदिएको पनि होइन । भेट र परिचय हुनासाथै उनको कोठामा जाने प्रस्ताव मान्नुको अर्थ उनका हरेक प्रस्ताव मान्नुको लक्षण थिएन नै । नागबेलीको लहराजस्तै गरी यो कुरा उनलाई भनें । केही बोलिनन् ।
बिहान म गन्तव्यविहीन यात्रामा रत्नपार्क जाने माइक्रो बस चढेर गएँ ।
र, आज यो कथा लेखिरहँदा म उही नेपालटारको कोठामा छु र मेरो छेउमै अनिता मस्तसँग निदाइरहेकी छे । सोंच्दैछु, भोली तलब बुझेपछि अनितालाई के उपहार ल्याइदिउँ?

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु