साहित्यमा ज्ञानदिलदासको देन

- विमल लामिछाने

परिचयः
नेपाली कविताको प्राथमिक कालको उत्तराद्र्ध वा दोस्रो चरणतिर देखापरेका जोसमनी सम्प्रदायका सन्त कवि ज्ञानदीलदास हुन् । ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार (हाल फाकफोकथुम ३) भन्ने ठाँउमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको वाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो ।
श्रीकृष्णको प्रारम्भिक शिक्षा दीक्षा घरमा नै गुरुकुलिन पद्धतीबाट भएको थियो, जव उनि पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिलदासको आश्राममा पुगेर गुरुबाट दिक्षित भए तब उनको नाम ज्ञानदिलदास भयो । उनलाइ यो नाम गुरु श्यामदिलदासले दिएका थिए । गुरु श्यामदिलदास जोसमनी सन्तसाहित्यका प्रकाण्ड विद्धान थिए ।

उदय लहरी, टुङ्ना र भ्mयाउरे भजन

हालसम्म प्राप्त यिनका अध्यात्मचेतनामूलक साहित्यिक कृतिहरूमा उदय लहरी (सन् १८७७), ‘टुङ्ना भजन ’ र ‘झ्याउरे भजन’ (सन् १८७८–७९) नै मुख्य रहेको पाइन्छ । जसमा ६० वटा भजन छन् । भजन सङ्ग्रहमा झ्याउरे लयमा र तामाङ सेलोको लयमा लेखिएका विशेष दुई किसिमका भजनहरू छन् यसलाई झ्याउरे र टुङ्गना भजन भन्ने गरिएको छ । उदयलहरी–ले यिनको साहित्यिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सफल बनेको छ । यो कृति १०९ श्लोकमा संरचित रहेको छ । अन्य कृति र अन्य सन्त कविहरूको तुलनामा यिनको भाषाशैली रसिलो र सजिलो रहेको पाइन्छ ।
कवि ज्ञानदिल दासले नेपालमै लेख्न सुरु गरेको भएपनि दार्जिलिङको रङ्गबुलमा धामको स्थापना गरि बस्दा सन् १८७७ सालतिर लोकछन्दमा उदयलहरी रचना गरेको जानकारी पाइन्छ । यी जम्मै श्लोाकहरू लोकलयमा संरचित रहेको पाइन्छ ।
कवि ज्ञानदिल दासले धर्म प्रचारका क्रममा थुप्रै भजन रचना गरेका थिए भनिन्छ । उनले ६० वटा भन्दा धेरै भजनको रचना गरेका थिए भन्ने मत विद्वानहरूको छ । उपलब्ध कृतिहरूका आधारमा उनका तीन प्रमुख काव्य कृतिहरूको चर्चा यहाँ गरिन्छ । १. उदय लहरी, २. झ्याउरे भजन र ३. टुङ्ना भजन ।
भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ ।
उदय लहरीको मुख्य उद्देश्य ज्ञान, भक्ति र वैराग्यको प्रतिपादन गर्दै ब्रह्मानन्द प्राप्तिको उपाय बताउनु हो । यसमा कविले रजोगुण र तमोगुणमा विजय गरी सतवगुणको उद्घाटन गर्नुपर्ने मत व्यक्त गरेका छन् ।

सत रज तमको महाँ युद्ध भयो
सतको अर्जिली तम गुण गयो
निसाफी विचारी निसाफ हेरिदेऊ
सतगुणी निर्धाको सरण अब लेऊ ।

उनका झ्याउरे भजन २४ पद्यमा झ्याउरे लयमा लेखिएको छ । यसरी नै टुङ्ना भजन पनि नेपाली लोकलयमा लेखिएको छ । यसमा १८ हरफ छन् । यसमा गीतात्मक लालित्य पाइन्छ भने यो रहस्यवादी छ । यसमा गाउँले बोलीको आत्मीयता पाइन्छ तर भाव भने गहिरो पाइन्छ–


धुनीको छेउ छाउ टक्रयाक टुक्रुक जोगी ज्यान बसेको ।
निधारै भरी फुस्रै र धुस्रै खारानी घसेको । १

वंसी बज्यो तिरिरि, अनहदको छन् छन
कमल फुल्यो रन्वन् भमराको भन् भन
राम जी ! जोगी घुम्यो फन् फन् नि । २

ज्ञानदिलदासले कर्मकाण्ड, हिंसा, घुस, गरिबी र मानिसको पाखण्डीपनप्रति विद्रोह मचाएका छन् । ब्रह्मज्ञानलाई नै ज्ञानहरूमा सर्वाेत्कृष्ट मान्दथे । ज्योतिषीहरूलाई पनि उनी कर्मकाण्डी ब्राह्मण पुरोहित झैं रुढीवादी संस्कारको पृष्ठपोषक, आडम्बरी, धूर्त र फटाहा मान्दथे । पाखण्डी–फटाहाहरूमा धार्मिक–आध्यात्मिक चेतना वा साँचो ज्ञान हुँदैन भन्ने विश्वास उनको थियो । यी कविता पंक्तिहरूले प्रष्ट पार्दछ–

ग्रह गोचरको जाप गर भन्छन् ।
सुझ–न–बुझ अम्ला मात्रै गन्छन् ।।
क्या गर्छाै ज्योतिषी हो अभागे तालो ।
देख्छौ त भन्छौ नजरमाथि जालो ।।

ब्रामण भएर ब्रम्ह नचिन्नेहरुकालागि कविले आलोचना गरेको पाइन्छ । उनका कविताले हत्या हिंसा गरेर भाकल पूरा हुुुुुुुुुुन्छ भन्नेहरुलाई चोटिलो ब्याङ्ग प्रहार गरेको भेटिन्छ । धर्मका नाममा पशुवली चढाउनेप्रति उनले यसो भनेका छन्ः

धन जन भन्छन् देवीमाई भाक्छन्
पशुघात भयो भन्या धर्म कहाँ राख्छन्
गरिबमारा पशुघात जो कोही गर्छन्
नर्क तलाउ भासमा सहज गै पर्छन् ।।११।।
देवीमाई पत्थर जो पूजि जान्छन्
सतलोक धाममा ती कहाँ जान्छन्
धाम चिन सतलोक जमुनाका तीर
लोभ पाप छोडी हरीतिर फिर ।।१२।।
ब्राह्मण हुँ भन्या ब्रह्म नचिन्या ।
वैली बाख्री कता छन् खोजी खोजी किन्या ।।
छेदन्ने, धागडको पकाइहालौं रक्ती ।
तेस्तै कन भन्नू यमराजको भक्ति ।।


ज्ञानदिलदासका केही चर्चित भजन रचनापनि भ्mयाउरे लयमा नै रहेको पाइन्छ । तर यी भजनले भाव गहिरो बोकेका छन् । यी भजन अहिले पनि उत्तीकै महतवका साथ नेपाल र भारतका विभिन्न स्थानमा भजन टोलीहरुले गाउने गरेका छन् ।

गौवाके सँगमे तीड विगारे– तीड दुध भै मिले मेरा भाइ
धातुके सँगमे पत्थर विगारे– पत्थर धातु भै मिले मेरा भाइ
गुरुके सँगमे चेलो विगारे– चेलो गुरु भै मिले मेरा भाइ
ज्योतिके सँगमे वर्तन विगारे– वर्तन ज्योति भै मिले मेरा भाइ ।

उक्त हरफहरूमा रसायन विज्ञानको कुरा उठाइएको छ । जसमा एउटा बस्तुले अर्काे वस्तुको निषेध गरेर गुणात्मक विकास सहित नयाँ वस्तुको उत्पादन गरेको बुझाईएको छ । गाईले घाँस खान्छ, घाँसको निषेध गर्दछ तर घाँस दुधमा परिणत हुन्छ , धातुले पत्थरको निषेध गर्दछ तर पत्थर धातुमा परिणत हुन्छ । गुरुले चेलालाई गुरुमा परिणत गर्दछ, आगोले दियोको वर्तन जलाउँछ, तर वर्तन ज्योतिमा परिणत हुन्छ भनिएको छ ।
ज्ञानदिलदासको यो बुझाई न्यूटनको प्रकृति विज्ञानसँग मेल खान जान्छ । न्यूटनले एउटा प्रथम दैवी प्रेरणाको स्थापना प्रस्तुत गर्दै भनेका थिए की “प्रकृतिको सम्पूर्ण व्यवस्थामा प्रयोजना व्यप्त छ, जसमा हरेक चिज अर्काको निम्ति उत्पादन भएका हुन्छन्, जस्तो विरालाहरू यस कारणले बनाइएका छन् की तिनीहरूले मुसाहरूलाई खाउँन र मुसाहरू यसकारणले बनाइएको छ की विरालाहरूले तिनीहरूलाई खाउँन । समग्र प्रकृति यसकारणले बनेको छ की सृष्टि कर्ताको बुद्धि प्रकाशित होस् ।”
त्यसैगरी यिनको रचनामा सौन्दर्य चेत र विद्रोह दुवैको मिश्रण पाइन्छ ।

नरुनु उभिएर मेरो चिहान छेउ,
म छैन त्यहाँ, म सुत्ने गर्दिन,
म बहने गर्दछु बतास सरी बहिरहेको छु,
म चमक हुँ पारशमणीको उजेलिरहेको छु,
पाक्दै गरेको बालीमा पस्रिने सूर्य प्रकाश हुँ म,
शरद ऋतुमा तप्किने स्निग्ध वर्षा हु म,
म विनम्र तारा हुँ, रातभरी चम्कि दिन्छु,
मेरो चिहन छेउ उभिएर नरुनु म त्यहाँ छैन,
साँचो कुरा म मर्दै मरिनँ ।।

यहाँ कविले निष्ठासाथ जीवनलाई मानव भक्ति र मुलुकको हितार्थ खर्चन सके त्यो मान्छे भौतिक रुपमा सकिएपनि विभिन्न रुपमा चित्रित भइरहन्छ र बाँचिरहन्छ भनेका छन् । यहाँ सौन्दर्य चेत र विद्रोह दुवैको मिश्रण भेटिन्छ ।
कविता र भजनहरूमा बाह्य वस्तुको चित्रणमा भन्दा आफ्नै जीवनको आन्तरिक अनुभूतिको सग्लो अभिव्यक्ति दिइएको पाइन्छ । यसर्थ यी रचनाहरूलाई भावप्रधान मान्न सकिन्छ ।

विज्ञ तथा साहित्यकारहरुका दृष्टिमा ज्ञानदिलदास
भानुभक्त र ज्ञानदिलदासमा तुलना गरेरपनि केहि लेखकहरुले कलम चलाएका छन् । डा. दिवाकर प्रधानले यी दुइ कविको तुलनात्मक अनुशीलन यसप्रकार गरेका छन् –
काव्यलेखनमा आलोचनात्मक दृष्टि र युग चेतनाका सन्दर्भमा भन्ने हो भने भानुभक्तका तुलनामा ज्ञानदिलदास निकै विद्रोही, प्रगतिशील , यथार्थवादी र आधुनिक चिन्तकका रूपमा देखा पर्छन् ।
भानुभक्त सनातन धर्मका अन्धानुयायी र कर्मकाण्डवादी थिए भने ज्ञानदिलदास सनातनधर्मका आलोचक, कर्मकाण्डवादका विरोधी र धर्मसुधारक थिए । ज्ञानदिलमा एउटा समाजसुधारकमा हुनुपर्ने सत्यनिष्ठा, धैर्य सङ्घर्षशीलता, लगन, उत्साह, बौद्धिकता र पाण्डित्य थियो भने कुशल कविमा हुनुपर्ने रसमयता, सरलता र ध्वन्यात्मकता पनि थियो ।
जोसमनी मत प्रचार–प्रसार गर्ने क्रममा यिनी दार्जिलिङ र सिक्किमका कुना–काप्चा, कमान–बस्ती, हाट–बजार क्षेत्रतिर घुम्दा–डुल्दा नेपाली समाजको विभिन्न अवस्थाबारे राम्रो अध्ययन गरेकाले आफ्ना अधिकांश काव्यरचनाहरूमा पनि त्यसै अनुरूप सामाजिक संङ्गति–विसङ्गति, ढोङ र सङ्कीर्ण मनोवृतिमाथि कोमल–कठोर शब्दहरूमा विरोधभाव जनाएइको भेटिन्छ । समाजमा धर्मका ठेकेदार र हिंसात्मक वृति अपनाएका विषयमा रातदिन डुबेका तथाकथित पाखण्डी पुरोहित बाहुन बाजेहरूलाई ढाड खुस्किञ्जेल व्यङ्ग्य प्रहार गरेका छन् ।
कवि ज्ञानदिलदासका काव्यात्मक शैलीमा रचिएका उदयलहरी, झ्याउरे भजन र टुङ्ना भजन रचनाहरूमा त्यस समयको सामाजिक–सांस्कृतिक, राजनीतिक–प्रशासनिक, आर्थिक–वैचारिक, धार्मिक–आध्यात्मिक जस्ता विविध पक्षहरूलाई अङ्कन गरिएको पाइन्छ ।
दार्जिलिङ राजकीय महाविद्यालयका उप–प्रध्यापक समेत रहेका डा. राजकुमार क्षेत्रीले २०७१ तिर लेखेका छन्– ज्ञानदिलदास तीक्ष्ण बुद्धि भएका हुनाले सानैदेखि वेद, पुराण तथा रामायण–महाभारत आदि जस्ता धर्म–अध्यात्मचेतनामूलक शास्त्रहरूको गहन–अनुशिलनमा लागेका थिए । आफ्ना अग्रज तथा गुरु सन्त श्यामदिलदासबाट दीक्षित भएपछि यिनी जोसमनी बनेका हुन् । नेपालमा जन्मेर भारत आई आफ्नो इहलीला शेष गर्ने जोसमनी सन्त सम्प्रदायका सबैभन्दा प्रभावशाली र चर्चित सन्तको रूपमा हामी ज्ञानदिलदासलाई भेट्छौं ।
ज्ञानदिलदासका कृतिहरू सरल र ठेट नेपाली भाषामा सामाजिक–धार्मिक अन्धविश्वास , कुरिति र विसङ्गतिप्रति गम्भीर दार्शनिक एवम् आध्यात्मिक विचारहरूको अभिव्यक्ति व्यांग्यात्मक र आलोचनात्मक स्वर–शैलीमा रचिएका छन् । यिनका काव्य रचनाहरू नितान्त मौलिक, एवम् अभिव्यञ्जनापूर्ण शैलीमा प्रभावकारी ढङ्गले लेखिएका छन् । यसैले उनलाई सन्त काव्यधाराको एकजना अत्यन्त प्रतिभाशाली र प्रभावशाली तथा चेतनाशील प्रतिनिधि कविको तथा प्रतिष्ठित ब्याक्तिको रुपमा चिनिन्छन् ।

डा. स्वामी प्रपन्नाचार्यले चाहिँ दार्जीलिङबाट धर्म प्रचारकै उद्देश्यले भए पनि सिक्किम प्रवेश गरेका सन्त कवि ज्ञानदिलदासले गीत र भजनका अतिरिक्त उदयलहरीका केही अंशहरू पनि सिक्किममा रचना गरेका हुन् भन्ने विचार प्रकट गरेको पाइन्छ । उनले फरक विचार र फरक शैलीका कवि तथा विलक्षण प्रतिभाका धनी कवि ज्ञानदिलदास हुन् भनेका छन् । उनले धर्म र संकृति भन्ने लेखमा नेपाली साहित्यका अमूल्य निधि थिए पनि भनेका छन् ।

पारसमणी शर्मा (आकाशवाणी गान्तोक) लेख्छन्ः कवि ज्ञानदिल दास सिक्किमेली नेपाली साहित्यका पृष्ट पोषक थिए, मार्ग दर्शक थिए, प्रणेता थिए । यिनलाई सिक्किमेली नेपाली साहित्यका आदिकवि पनि मान्न सकिन्छ । विलक्षण प्रतिभाका धनी कवि ज्ञानदिलदास नेपाली साहित्यका अमूल्य निधिका रूपमा परिचित छन् भने उनले सिक्किमेली नेपाली कविता साहित्यको पृष्ठभूमिलाई बलियो आधार प्रदान गरेका छन् ।
डा. केशवप्रसाद उपाध्यायले ज्ञानदिल दासलाई नेपाली कवीर भनेका छन् । उनको कवित्व प्रतिभा प्रभावशाली र तेजस्वी छ । उनी जोसमनी सन्त परम्पराका महान धर्मगुरू मात्र नभएर नेपाली कविता साहित्यका अमूल्य रत्न तथा सिक्किमेली नेपाली कविता साहित्यका आदिकविका रूपमा स्थापित कवि भनेका छन् ।

डा. पुष्प शर्मा लेख्छिन्– ‘धर्म प्रचारको क्रममा उनले सन् १८७८–७९ तिर गेलिङ धाममा झ्याउरे भजन र टुङ्ना भजनको रचना गरेको मानिन्छ । झ्याउरे भजन र टुङ्ना भजन चाहिँ आजपर्यन्त पनि गेलिङधाम वरिपरिका वासिन्दा, नयाँ बजार, सोरेङ, च्याखुङतिरका मानिसहरू मुख–मुखै गाउने गर्छन् । उनले सिक्किममा रहँदा–बस्दा सामाजिक सुधार संस्कारको भावना र धर्म प्रचारकै उद्देश्यले भए पनि केही गीत भजनहरू रचना गरेका थिए भन्ने अनुमान गर्नसकिन्छ र यसबाट सिक्किमेली समाज केही मात्रामा प्रभावित प्रेरित भएको थियो भन्ने अनुमान गर्नसकिन्छ । यसैले ज्ञानदिलदासका रचना–कृतिहरूलाई पनि सिक्किमेली नेपाली कविताको बीज वा पृष्ठभूमिका रूपमा लिनुपर्ने स्थिति रहेको पाइन्छ । लोक छन्द झ्याउरेलाई कवित्व मर्यादा दिने प्रथम कविनै ज्ञानदिलदास हुन् । यी दुवैमा पद् लालित्य, भाव माधुर्य, रस घनत्व र कल्पनाको सुन्दर संयोजन हेर्न र अनुभव गर्न सकिन्छ ।’

निकर्षः
अग्रगामी सोच र चिन्तनका धनी श्री कृष्ण लामिछाने “ज्ञानदिलदास” लाई साँस्कृतिक युग परिवर्तनका सम्वाहकका रुपमा लिन सकिन्छ । उनी उच्च विचारका व्यक्तित्व थिए । परिर्वतनशिल सोच र चिन्तनकै कारण उनले एक पछि अर्काे सफलता हाँसिल गरेका इतिहासहरू पढ्न सकिन्छ । प्रयोगको विधिलाई मूल मन्त्र मान्ने उनी बहुआयमिक व्यतित्व थिए । उनले दिएको मुलुकप्रतिको देन अतुलनीय छ । उनले समाजलाई बुझ्ने र बदलने कुरामा कहिलै कन्जुस्याई गरेनन् । आखिर नेपाल भारत लगायतका थुप्रै मुलुकहरूमा आफ्नो प्रभुत्व जमाएर नै छाडे यस कार्यमा उनलाई हजारौ चेलाहरूको साथ मिल्यो । आज पनि उनको यो विचारलाई आत्मसाथ गर्दै हजारौले ज्ञानदिलदासको साहित्य खोजी गरिरहेका छन् ।
झापा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु