टालेको हाफ-पेन्ट

- डा. चन्द्र गिरी

पशुपति नाम भए पनि उसलाई सबैले पस्पते भनेर बोलोउथे उसको गाउँमा/ पस्पतेले स्कुल पढ्दा बर्षमा एउटा नया लुगा पाउथ्यो, दशैँमा। उ तेसैमा खुसी थियो। बर्षको २-३ जोर लुगा उसले किन नपाउने भन्ने कुरा उसको दिमागमा कहिले आएन । एउटा पायो, उ तेस्मा नै दङ्ग थियो।

गाउँभरिको लुगा सिलाउने दाने दमाईले टीकाको दिनभन्दा अगाडि नै सबैको लुगा सिउन धौ धौ पर्थ्यो । आखिर उसलाई गाउँभरिको र मगर गाउँको पनि लुगा सिलाउने जिम्मा थियो। किनेको लुगा लाउने चलन पटक्कै थिएँन उसबेला। पस्पते, दाने दमाईकोमा धर्ना दिएर उसको लुगा टीकाभन्दा अगाडि नै सिलाउन गुहार माग्थ्यो।आफुभन्दा १-२ वर्ष जेठो दाने दमाईले पस्पतेको लुगा सिलाउन कहिलै ढिलो गरेन।
दशैँमा सिलाएको नया हाफ पेन्टले नि कति थामोस् र ! रातदिन लाएपछि केहि महिनामै यता र उता प्वाल परिहाल्थ्यो , तर पनि उसले टाल्नु पर्ने ठाउमा टालेर लगाएकै थियो ।उसकी कान्छी फुपूलाई दया लागेर,वर्षा याम लाग्नु अगावै नया हाफ-पेन्टको लुगा किनेर ल्याईदिनु भएछ । दाने दमाईले तुरून्तै सिलाई दियो । कान्छी फुपूलाई देखाउनु पर्ने कृतज्ञता देखाउन पस्पते चुक्यो । मनभरि खुशीले दङ्ग भए पनि कान्छी फुपूसंग गएर उसले धन्यवाद पनि भनेन । सायद गाउँमा तेस्तो चलन पनि तेति थिएन त्यसबेला ।

जब पस्पतेले कान्छी फुपूले दिएको हाफ-पेंट को "महत्व" बुझ्यो, त्यतिबेला उसकी फुपू स्वर्गबास भइसक्नु भएको थियो/ फुपू कति दिलदार अनि समझदार हुनुहुँदो रहेछ, पस्पतेले बल्ल बुझ्यो । ऊ छटपटियो तर केहि गर्न सकेन । बेला वितिसकेको थियो । समयमा चुकेपछि त्यो धन्यवाद दिने मौका कहिले आएन ।यो अनुभवबाट पस्पतेलाई आफुलाई माया गर्नेप्रति ढिला नगरी विनम्रतापुर्वक कृतज्ञता व्यक्त गर्नुपर्छ पाठ सिकेको अनुभूति भयो । तर बिडम्बना, उसले जीबनमा आफुलाई सदाशयतापुर्वक सहयोग गर्नेहरूलाई धन्यवाद दिन भने चुक्यो, चुकिरह्यो ।

नर्थ क्यारोलाइना, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु