बाघचाल

- अर्जुन यावा

म सानै छँदा
कहिले सिकुवामा बसेर
कहिले आगनको डिलमा
कहिले खुट्टे पिरा ओछ्याएर
कहिले टुक्रुक-टुक्रुक बसेर
मेरा पापा-कोपाहरू
खेल्नेगर्थे बाघचाल।

कहिले भुइँमा काठको चोइटाले
कहिले ढुङ्गामा कोइलाले कोरेर
रुमाले कोठाभित्र उस्तै साना-साना कोठाहरू कोरेर
खेल्थे-खेलाउँथे बाख्रा र बाघहरूको खेल
हो, पापा-कोपाहरू
यसरी खेलिरहन्थे बाघचाल।

साना-साना ढुङ्गाहरूको
हुन्थे चारवटा बलवाल बाघ
अनि हुन्थे मकैका दानाहरूको
बीसवटा निरीह बाख्राहरू।

बाघ र बाख्राहरू
यता र उता
उता र यता गरिरहन्थे
अनि
खेलिरहन्थे बाँच्ने-बँचाउने खेल
बाघचालमा।

कत्ति रमाइलो हुन्छ
पर बसेर अरुकै खेल हेर्न।

म हेरिरहन्थे
पापा-कोपाहरू
खेलिरहन्थे-खेलाइरहन्थे
बाघ र बाख्राहरू।

कहिले पापाको बाघ, कहिले बाख्रा
कहिले कोपाको बाघ, कहिले बाख्रा
बाघ र बाख्राका गोटीहरूसित
ओल्लोकोठा र पल्लोकोठा गरिरहन्थे
पापा र कोपाका दिमागी जाल
जसले जाल बुन्नसक्यो जीत उसैको।

कहिले निरीह बाख्राहरू
लड्थे एक-एक गर्दै, बाघहरूअघि
कहिले बाघहरू पनि पर्थे
बलवान बाख्राहरूको थुनामा।

फरक त समय र चालको हुँदोरहेछ
बाँच्ने र बँचाउने खेलमा।

अहिले आफ्नै जिन्दगी मलाई
बाघचालजस्तै लाग्न थालेको छ
कहिले आफैलाई मकैको दाना बनाउँछु
कहिले फेरि आफै ढुङ्गाको गोटी सम्झन्छु।

पापा-कोपाको खेलमा
एकको हार हुन्थ्यो,
अर्कोको हुन्थ्यो जीत
म कहिले हार्छु, कहिले आफै जित्छु।

हार र जीतहरूमाझ
पापा र कोपाहरूको खेलजस्तै
चालिरहेछु, सारिरहेछु आफैलाई
बाघचालका गोटीसरह
एउटादेखि अर्को
अर्कोदेखि फेरि अर्को कोठाहरू
अनि
खेलिरहेछु हरेक दिन यहाँ
बाँच्ने र बँचाउने खेल, जिन्दगीको।
...
(पिन्टेल भिजेल, सिलगढ़ी,

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु