विश्वयुद्ध सङ्ग्रहालयमा युद्धको पीडा

- इन्दिरा दीक्षित

अस्ट्रेलियाको राजधानी क्यनबेरा घुम्ने क्रममा पार्लियामेन्ट हाउसपछिको अर्को आकर्षक केन्द्र अस्ट्रेलियाको युद्ध सङ्ग्रहालय थियो । सन्ततिहको आग्रह र हाम्रो इच्छाको सम्मिश्रणबाट बाटो लाग्ने दिनको तय भयो ।
सधैँजस्तै टाढाको बाटो लाग्दा बाटोमा पिकनिक मनाउने हाम्रो पुरानै चलन त छँदै थियो । सोहीअनुरूप रुचिअनुसारका परिकार बनाएर बिहान सबेरै सिडनीको एसफिल्डदेखि राजधानी क्यनबेरातिर लाग्यौँ । छोरी, छोरा, ज्वाइँ र हामी जम्माजम्मी पाँच जना ठीक परेर निस्कँदा बिहानको आठ बजिसकेको थियो । व्यस्त सहरको बाटो उही त हो ! बिदा नै भए पनि ट्राफिक जाम अत्यधिक हुने । बल्लतल्ल एक घण्टाजतिमा मोटर–वेतिर पुगियो । त्यसपछि त बाटो खुल्ला निस्फिक्री चलाउन मिल्ने परकिमि १२० जतिको गतिमा कार हुइँकियो । मोटर–वे लागेपछि गन्तव्य नपुगेसम्म यताका बाटाहरू शून्यप्रायः हुन्छन् । नेभिगेटरका अनुसार युद्ध सङ्ग्रहालय पुग्न करिब २८५ किमिजति रहेछ ।
बाटो वरपरको दृश्य एकनासको थियो । पट्यारलाग्दो बाटो, जति हेरे पनि उस्तै जताततै खालीखाली । नेपालमा पाइलैपिच्छे पसल र चमेना नास्ता गर्ने ठाउँँ हुन्थ्यो तर यता यस्तो कतै हुँदैन । निर्धारित ठाउँँमा बाहेक अन्यत्र केही छैन । यताका सुन्दर वस्तु भनेका सबै बनावटी नै हुन् । ठूला बाटाघाटा, ठूला बिल्डिङ, सहर–बजार, झकिझकाउ चिजबिजदेखि लिएर मान्छे पनि मलाई त बनावटी पुतली हुन् कि जस्तो लाग्छ । प्राकृतिक सुन्दरता मैले कतै भेटिनँ ।
हाम्रो देश नेपाल त यो देशभन्दा निकै सुन्दर छ । एकनासको पट्यारलाग्दो बाटोमा गुडिरहेको गाडीभित्र प्रायः सबै सहयात्री निदाउन थालेका थिए । मेरो मन उडेर नेपाल पुग्यो । मनमनै नेपाल र अस्ट्रेलिया दाज्न थालेँ । यो ठूलो देश, माहादेश अस्ट्रेलिया तर यो निर्जन टार र जङ्गलभन्दा अरू के छ र ? मेरो देश नेपालमा के छैन र ? त्यति सानो देश भएर पनि प्राकृतिक सम्पादाले भरिपूर्ण छ ! कलकल बगेका निर्मल नदीनाला, हिमालदेखि झरझर झरेका झरना, बडेबडे तालतलैया, शृखलाबद्ध सेता हिमाल, अग्लाअग्ला पहाडी चुचुराहरू, तरेली परेका तराईका फाँट, सबैथोकले सम्पन्न भएको सानो मेरो देश– नेपाल ! तर, यो ठूलो देशमा यस्तो केही देखिएन । यत्तिको लामो बाटो हिँड्दा पनि कतै पानी बगेको देखिएन; न त हिमाल नै देखियो । देखियो त खाली उजाड र नीरस ठूल्ठूला उपत्यका अनि बडेबडे निर्जन जङ्गल मात्रै भएको बिरानो दुनियाँ ! पानी हेर्न पनि समुद्र काटेर ल्याउनुपर्ने ! यस्तो दुनियाँंको कसरी विकास भएको होला ?
सायद, यहाँका रास्ट्रसेवक नेताहरू इमानदार भएर होला । हाम्रा देशका राजनेताहरूमा पनि थोरै इमानदारिता भएको भए देश कस्तो हुन्थ्यो होला ! अत्मबल र इमानदारिता ठूलो कुरा हो । अठोट भए जे पनि हुने कुराको प्रमाण अस्ट्रेलिया नै हो कि !
यो निर्जन देशमा यत्तिको विकास भएको देख्दा अनि आफ्नो देशमा सबै थोक भएर पनि देशबासीले परदेशिनुपरेको देख्दा मन कटक्क हुन्छ । यो सबै कुराको चिन्ताभन्दा पनि म त देशाटनमा आएकी देशको चिन्तालाई पन्छाएर केही दिन भए पनि सन्ततिसँगै यतैको रमाइलोमा रम्नु नै पर्छ ।
बेतोडले दौडिएको हाम्रो गाडी, आधा बाटो सकिएपछि करिब आधा घण्टाजति खाना खान रोकियो होला । त्यसरी बेग मारेर कुदाउँदा पनि चार घण्टामा करिब बाह्र बजेतिर राजधानी क्यनबेरा पुगियो । सिडनी सहरबाट उत्तरपट्टि रहेको अस्ट्रेलियाको राजधानी क्यनबेरामा हेर्न घुम्न लायकका चिजबिजहरूमध्ये यहाँ अवस्थित युद्ध सङ्ग्रहालय “वार मेमोरियलतिर” आजको गन्तव्य भएकोले त्यतैतिर लागियो ।
९ध्बच ःझचष्ब िया ब्गकतचबष्बि० यानि कि अस्ट्रेलियाको युद्ध सङ्ग्रहालय, कम्पाउन्ड बाहिरैदेखि भव्य देखिएको थियो । कलात्मक तरिकाले बनाइएको भवनको बाहिरी ढोकादैखि नै युद्धका झलकहरू देख्न पाइने यो वार मेमोरियलको जोन क्रस्ट ९व्यजल ऋचगकत० र इमल सोइर्सन ९भ्mष् िक्यभभचकतभल० द्वारा डिजाइन भएर बनाइएको र सहिदको सम्झना गर्ने दिन नोभेम्बर ११ सन् १९४१ मा उद्घाटन भएको रहेछ ।
ठूलो कम्पाउन्डभित्र पस्नेबित्तिकै युद्धमा प्रयोग भएका सामग्रीहरू यत्रतत्र देखिँदै थिए । सङ्ग्रहालयभित्र पस्ने ढोकासम्म विश्वयुद्ध हुँदा प्रयोग भएका तोप, तोप पड्काउने यन्त्र, ट्याङ्कर, ट्रली आदि अरू पनि युद्धमा प्रयोग भएका वस्तुहरू राखिएको रहेछ । बाहिरी चिजबिजहरू हेर्दैहेर्दै ठूलो जमिन ओगटेको विल्डिङको द्वारबाट भित्र पस्यौँ । भित्रको दृश्य अचम्म र अनौठो रहेछ । आँखाले देखेको चिज समेटेर उतार्न गाह्रो हुन्छ तैपनि मोटामोटी सम्झेको दर्साउन कोसिस गरेकी हुँ ।
वास्तवमा भवनभित्र धेरै नै ठूलाठूला फराकिला कक्षहरू थिए । ती कक्षहरू दुईतिर पारिएको थियो । एकापट्टि तिरको लङमा प्रथम विश्वयुद्ध हुँदाको झलक देखाइएको रहेछ । प्रथम विश्वयुद्ध कोकोसँग कति बेला भयो ? कसरी भयो ? सहिद कति भए ? सामान केके प्रयोग गरिएका थिए यी सबै हुबहु चित्रण गरिएको थियो । सैनिकको लडाइँ गर्ने तरिका, सैनिक बस्ने ठाउँँ, बङ्कर आदि पनि चित्रण गरिएको थियो । त्यति बेलाको युद्ध गर्ने तरिका सारै दुखदायी रहेछ । पुरानै खालका युद्ध सामग्री, पुरानै शैली, दुःखसँग लडाइँ लडेका सैनिकको चित्रण, यो सबै हेर्दा मन भावुक बन्दो रहेछ । ओहो ! ती बिचरा सैनिकहरू ! मन लागेर होस् या बाध्यताले होस् ! कसरी आफ्नो देशका खÞातिर लड्दा रहेछन् र वीरगति प्राप्त गर्दा रहेछन् । त्यो सबै हेर्न र पढ्न मिल्ने गरी नजिकै कम्प्युटरमा पनि राखिएको रहेछ ।
घुम्दै जाँदा अर्कोतर्फ त्यति बेला प्रयोग भएका बन्दुक, तोप, ट्याङ्कर, सैनिकले प्रयोग गर्ने लुगालगायत उनले युद्धरत अवस्थामा प्रयोग गरिसकेका हरेकजसो सामान बटुलेर राखिएको थियो । हेर्दै जाँंदा सैनिकलाई गोलीलाग्दा फुटेको चस्मा, च्यात्तिएको सैनिक पोसाक, प्वाल परेर फाट्दा पनि डोरीले बाँधेर लगाएका सैनिकका जुत्ता, फलामले बनेका लुगा, फलामे टोप आदि युद्धमा सैनिकले प्रयोग गर्ने जति सबै सामान सजाएर जतनले राखिएको रहेछ । यी सबै देख्दा त्यति बेला सारै कष्टसाथ सैनिकले लडाइँँ गरेका रहेछन् भन्ने देखिन्छ ।
ओगटेको ठाउँँ ठूलो र सजाइएका चिजबिज धेरै थिए । युद्धक्षेत्रमा फेलापरेका सामानवाहेक कारुणिक तस्बिर पनि झुिन्डएका थिए । ती सबैको बयान गर्न र सम्झन अलि कठिन हुने त्यत्रो ठूलो ठाउँमा केके मात्रै हुँदो हो । दिमागले झलक्क देखेका चिजलाई कति बटुल्न सक्छ र ? जे होस्, त्यहाँ पुग्दा प्रथम विश्वयुद्ध हुँदा केके भएको थियो भन्ने कुराको मोटमोटी ज्ञान मात्रै हैन कि युद्ध मैदानमा नै पुगेझैँ भान हुँदो रहेछ । यो लामो लङ पूरा फन्को मारेपछि अर्कोपट्टि लाग्यौँ ।
अर्कोपट्टि एरियामा दोस्रो विश्वयुद्ध हुँदाको झलक देखाइएको रहेछ । यो निकै ठूलो र तीनतला ओगटेको ठाउँँ थियो । तरिका उस्तै भए तापनि त्यति बेला अलि विकसित भएका हातहतियारहरू रहेछन् । गोलाबारी, ट्याङ्कर, फाइटर प्लेन, समुद्रमाथि हिँड्ने ठूला सैनिक जहाज, समुद्रको भित्रभित्रैबाट युद्ध गर्न मिल्ने सामुद्री जहाज आदि अरू पनि धेरै युद्ध सामग्रीहरू सजिसजाउ गरेर राखिएको थियो । सबै त म के जानूँ र ! तर जुन चिज हेर्न पुग्यो सोही ठाउँँमा आफू पुगेको भान हुने गरी वातावरण र ध्वनि बनाइएको रहेछ । बन्दुक नजिक पुगे त्यही पड्केको भान हुने, प्लेन नजिक पुगे सोही प्लेन उडेको आवाज आउने, जहाज नजिक पुगे पानीभित्रै भएझैँ भान हुने, कसरी होला उस्तै बनाएर मिलाएर राख्न सकेको ! यस्तो तरिका सोच्न र मिलाएन सक्ने यी विकसित देशका मान्छेको बुद्धि झन् कस्तो होला ! अचम्म र अनोठो लाग्यो । स्वदेशी विदेशी थुप्रै मान्छेहरू यो सङ्ग्रहालय अवलोकन गर्दै थिए । सबैको ध्यान यी अनौठो गरि सजाएर राखिएका वस्तुहरूमा नै केन्द्रित थियो । यिनले चाख मानेर हेरेको खेख्दा यो सङ्ग्रहालयको सङ्कलन र सजावट निकै राम्रो रहेछ जस्तो लाग्यो ।
हेर्दै जाँदा धेरै चिजहरू देखिए । युद्ध हुँदा उडाइएका फाइटर प्लेन, हेलिकप्टर अनि युद्धमा ध्वस्त बनाइएका पानीजहाजका भग्नावशेष आदि सबै चिज बटुलेर जतनले राखिएको रहेछ । कुन चिज कहाँ प्रयोग भएको र कसले ध्वस्त बनाएको भन्ने जस्ता कुराहरू पनि लेखिएका रहेछन् । त्यस्तै कुनकुन ठाउँँमा कति मान्छेले सहादत प्राप्त गरे आदि इत्यादि सबै खुलाएर राखिएको रहेछ । किताबमा मात्र पढेर सबै बिर्सिसकेका कतिपय ऐतिहासिक कुराहरू आँखाअगाडि नाचिरहेझैँ लाग्यो ।
युद्धमा प्रयोग भएका सामान र तिनका भग्नावशेषहरू देखे र भेटेसम्म समेटेर जगेर्ना गर्नु ठूलो कुरा हो । तर, यो सबै हेर्दाहर्दै म सोच्न थालेँ– यति ठूलो विश्वयुद्ध हुँदा कति चिजको नाश भयो होला ! संसारका कति ठाउँँ ध्वस्त भए होलान् ! धन र शक्तिको तुजुकमा गरिएको युद्धभित्र सिपाहीबाहेक कति निर्दोष व्यक्तिहरूले ज्यान गुमाए होलान् ! कतिको घरवार नष्ट भयो होला ! कतिको परिवार तितरबितर भयो होला ! साथै ती आज्ञाकारी सैनिक कतिले ज्यान गुमाए होलान् ! अनि, ती सैनिकका परिवारको बिचल्लि कति दर्दनाक भयो होला ! यस्तो सोच्नै नसकेको चिजबिज हेर्दाहेर्दै भाउन्न होला जस्तो भयो ।
मेरो भावुक मनले धेरै परसम्म सोच्न थालेछ । छोरीले नजिकै आएर “जानेहैन मम्” भनेर बोलाउँदा पो म झस्केँ । मनमनै ती सहादतप्राप्त सैनिक तथा युद्धमा होमिएकाजति सबैलाई श्रद्धाञ्जली दिएँ र अर्कोतर्फ लागेँ ।
भुइँतलाको अवलोकनपछि भ¥याङ चढेर बीचको तलामा पुग्यौँ । बीचको तलामा अझ अर्कै किसिमको दृश्य देखिँदै थियो । एकापट्टि लङमा पूरै अँध्यारो बनाएर ठूलो युद्धपोत पानीजहाज राखिएको रहेछ । त्यो जहाज राति अँध्यारोमा चलाउने भएर रातकोजस्तै दृश्य बनाइएको होला ! जहाजनजिकै पुग्दा हल्काहल्का समुद्रको पानीमाथि तैरिएजस्तो आवाज पनि सुनिदै थियो । वरपर युद्धमा प्रयोग भएका विभिन्न सानाठूला पानीजहाज, हेलिकोप्टर, फाइटर प्लेन आदि अरू पनि सरजामहरू समेटेर राखिएको थियो ।
अर्कोपट्टि कुनामा अँध्यारो बनाएर ठूलो फाइटर प्लेन राखिएको थियो । यो पनि रातिराति उडाउने भएर होला अँध्यारो बनाएर राखिएको । युद्धका समयमा प्रयोग भएको उक्त फाइटर प्लेनको वरिपरि घुमेर हेर्दा केही बिग्रेकोजस्तो, टुटेफुटेका निसानीहरू देखिन्थ्यो । सायद, युद्धरत अवस्थामा घायल भएको थियो कि ?
सानादेखि अजङ्गका ठूला युद्धमा प्रयोग गरिएका निर्जीव वस्तुहरूको अवलोकन गरियो । मुख्य कुरा त जुन परिस्थिति र प्रयोजनका लागि यी सामग्री प्रयोग भएको हो । त्यस्तै परिस्थितिको सृजना गरी चित्रण गरिएका सबै चिजबिजहरू हेर्दाहेर्दै हामी पनि त्यतैकतै हराएजस्तै हुँदो रहेछ । त्यता भएका युद्ध सामग्रीहरू कतिपय युद्धस्थलमै प्रयोग भएका थिए भने कतिपय बनावटी कृत्रिम थिए । कृत्रिम भए पनि त्यति वेलाको परिस्थिति राम्ररी झल्कने किसिमले बनाइएका थिए । अर्कोपट्टि लङमा विभिन्न किसिमका मिसाइलहरू राम्ररी मिलाएर लस्करै राखिएका थिए । साना, ठूला, चुच्चा, थेप्चा आदि विभिन्न आकार–प्रकारका ती मिसाइलहरू छुट्टाछुट्टै कोठाजस्तोमा जतनले राखिएको थियो । बीचको तलामा भएको अनुपम दृश्य घुमीघुमी हेरेपछि हामी अझमाथि उक्लियौँ ।
माथि टुप्पोमा अनेकन सामानहरूका बीचमा एउटा ठीक्कको हल पनि रहेछ । कुर्सी टम्म पारेर राखिएको उक्त ठाउँँमा बसेर स्याटलाइटद्वारा खिचेको युद्धरत अवस्थाका चलचित्र हेर्न मिल्ने व्यवस्था गरेको रहेछ । हामी पनि केहीबेर बसेर हे¥यौँ । समय अभावले सबै चलचित्र बसेर हेर्न नमिले पनि अलिअलि एकै क्षण हे¥यौँ– फाइटर प्लेन उडेको, बम फ्याँकेको, गोलाबारुदको बीचमा अतालिएका सैनिकहरू आदि इत्यादि । सबै हेरेको भए पनि हेरिसाध्य नहोला जस्तो दृश्य थियो । हामी हेर्नेलाई त हेरिरहन साह्रो भयो भने युद्ध भोगेकालाई सहन कति गाह्रो भयो होला ! अनुत्तरित प्रश्नले मलाई घोचिरह्यो ।
यो सबै हेर्दाहेर्दै निकै समय बितेछ । आजको पूरै दिन यो अस्ट्रेलियन युद्ध सङ्ग्रहालयले सकेछ । फर्कने बाटो पनि निकै लामो भएकोले अझै धित मर्ने गरी हेर्ने मन हुँदाहँदै फर्कनैप¥यो ।
करिब चार घण्टाको लामो पट्यारलाग्दो बाटोभरि उही सङ्ग्रहालयभित्रका वस्तुहरू आँखा वरिपरि नाच्दै थिए । घुमीघुमी मेरो मन नेपालतिरै पुग्यो । यत्रो विध्वशकारी युद्धको छिटासम्म पनि नेपालमा पुगेन । सानो एउटा स्वतन्त्र राष्ट्र, कहिले कसैको अधीनमा रहेन । लडाइँँ झैझगडाबाट परै बसेको, शान्त रहन मनपराउने र शान्तिदेश नेपाल ! विश्वका धेरै देशहरूले कुनै समयमा शान्तिक्षेत्रको प्रस्तावलाई स्वीकार गरेका थिए । तर, सुन्दा राम्रो लाग्ने शान्तिक्षेत्र नेपाल, सुनाइमा मात्र सीमित भएको एकादेशको कहानीजस्तै लाग्ने शान्तिका कुराहरू आजको कोलाहलपूर्ण अशान्त नेपालमा कुनै दिन विश्वका धेरै राष्ट्र«हरूले शान्तिक्षेत्र मानेका थिए भन्ने कुरा आज हाम्रा सन्ततिले पत्याउलान् र ?
हाम्रै छिमेकी देश भारतमा भएको बेलायती उपनिवेशवादले धेरै विकासका कार्य ग¥यो । ठूल्ठूला बँंगलादेखि स्कुल–कलेजलगायत उद्योगधन्दा, बाटोघाटो र रेलवेको विकास गरेर गयो । मुख्य कुरा उपनिवेशबाट दिक्क भएका भारतीय जनतालाई पराधीनबाट स्वतन्त्र हुन सिकायो । स्वदेशप्रेम र स्वदेशप्रति इमानदार हुनुपर्छ भन्ने कुरा नेतादेखि जनतासम्म सबैले जाने । फलस्वरूप अहिले दक्षिण एसियामा उदाउँदो तारा बनेको छ । तर, हाम्रो देशले पराधीनताको दुःख कहिले खेप्न नपरेकाले देशप्रेम मौलाउनै पाएन कि ! प्रेम नभई गरेको कार्य झारा तिरेसरि भयो कि ! फलस्वरूप विकास कहिल्यै भएन । आफ्नो स्वार्थ मात्र परिपूर्ति गर्न जानेका र दुख कहिल्यै नबुझेका नेता राजनेता कहिले बन्न सकेनन् अनि पराधीनताको स्वाद नपाएका जनतामा पनि देशप्रतिको भावना, कर्तव्य, अपनत्व आदि कहिल्यै पलाउन पाएन कि ! फस्वरूप आजको दुरवस्था भोग्नुपरेको पो हो कि ?
अस्ट्रेलिया पनि त स्वतन्त्र हुनुअघि बेलायतकै अधीनमा थियो । नियम, कानुन व्यवस्था, कार्यशैली आदि सबै उसैले पहिला बसाल्यो । त्यही नियमअनुसार चल्नाले अहिले त्यो देशले यत्रो विकास गरेर विकसित मुलुकमा आफ्नो नाम लेखाउन समर्थ भयो । मलाई लाग्छ कतै हाम्रो मुलुक नेपाल पनि कसैको अधीनमा नभैदिएकाले यो अवस्थामा रहेको हो कि ? यी सबै त मेरा मनको उपज मात्र हुन् । जे होस्, आजको यात्रा सफल भएझैँ लागेको छ । आज मैले सङ्ग्रहालयभित्र जेजति कुराहरू देखेँ मेरा लागि अमिट र अविस्मरणीय बन्नेछ । यस्तो दुर्लभ चिज देखाएदिएका मेरा सन्ततिहरूप्रति कृतज्ञ हुनैपर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 कार्तिक, 2075

लेखकका अन्य रचनाहरु