बौद्धिक निबन्ध आउनै छोडेका बेला "झ्याम्ली बाख्राको पाठो"

- प्रा. डा. गोविन्दराज भट्टराई

नेपाली जातिले नै गौरव मान्नुपर्ने नाम हो डा. शिव गौतम । अघिल्लो वर्षको भेटमा उहाँले यस प्रकाशनको शीर्ष निबन्ध झ्याम्ली बाख्राको पाठो सुनाएर जानुभयो । मैले अरु पढ्ने बाचा गरेको थिएँ । हार्भार्डमा पढाउने भाग्य लिएर आएका नेपाली स्रष्टाका निबन्ध कस्ता होलान् भन्ने जिज्ञाषा पनि थियो । निकैपछि उहाँका निबन्धहरु प्राप्त भए । सबै परोक्ष (भर्चुअल) सल्लाह अनुसार नै थियो ।

भूमिकामै लेखकले भन्नुभएको छ— जिज्ञासावश यी विषयहरुमा घुम्ने रहरले ... । हो पनि उहाँ जिज्ञासाले प्रेरित भै ज्ञानका अनेक डाँडा र खोल्सामा पस्तै नौलो सार खिचेर पाखा निस्कनु हुन्छ, पाल्सी कुरा शीर्षक निबन्ध पढ्दा यो प्रष्ट हुन्छ; यो पढ्दा सारै आनन्द आउँछ कारण हामीले सधैँ प्रयोग गर्ने गरेको तर यसको कारण र यस पछिको सिद्धान्तको खोजी नगरिएको कुरा रहेछ ‘पाल्सी’ ।

बाल्यकालबाट शुरु भएको पाल्सी जिज्ञासा अहिले आएर केही खुल्यो । यो गुप्ताक्षर (गुप्तवाणी पनि) क्रिप्टोलोजी भएको प्रयोगको कुरा रोमन जुलियस सिजारसम्म जोडिएको कति रहस्योद्घाटक छ । तर नेपाली भाषामा यसको अर्थ खोल्न धेरै प्रयत्न भएको छ, ‘फारसी’बाट सर्दै आएर ‘पासरी’ हुँदै ‘पाल्सी’ आएको ऐतिहासिक अनुमान सुन्दर छ । अहिले कम्प्युटर साइन्स अन्तर्गतिकोसुरक्षा प्रणालीले पाल्सीको विस्तारित रुप लिएको सुन्दा के लाग्छ भने यो पनि एउटा गुप्त भाषा, कूट भाषा, एक समानान्तर भाषा रहेछ तर अध्ययन नभएको। यस बिनन्धले आफ्नो भाषातिर फर्कन हामीभित्र गहिरो जिज्ञासा उत्पन्न गरिदिन्छ । सबै निबन्ध यस्तै कलाले निर्मित छन्।

अर्काे निबन्ध छ आगोको खोजी । यसमा पुगेपछि लेखकको निबन्ध लेखन शैलीलाई अझै नजिकबाट छाम्न पाइन्छ । यो बाल्यकालका अति सामान्य जिज्ञासाबाट शुरु हुन्छ । आमाले गरेका कर्महरुबाट; कति बिस्तारै कति सहजतापूर्वक अझै माथिका अझै परका प्रचलन बुझ्दै, शास्त्र पल्टाउँदै पूर्व र पश्चिम सबै चाल्दै अग्निको उत्पत्ति, विस्तार र प्रयोगमा पुगिन्छ, यसबाट उत्पन्न हुने भय र ध्वंसका कुरा देवताको दृष्टिकोणका कुरा सँगसँगैकति व्यापक ज्ञान सागरमा पुगिन्छ । लेखकको अध्ययन, तर्कशक्ति र पाठकलाई बिस्तारै फकाउँदै आफ्नो विद्वत्ता प्रदर्शन नगरी
विनयशीलताभित्र सबै लुकाउने कला पढेर वा देखेर म साँच्चै प्रभावित छु। एक निर्दाेष भावको आरम्भबाट विस्तारित व्यापक ज्ञान र सन्देह उन्दैअनेक सूचना थप्तै एकलाख पच्चीस हजार वर्ष पर पुगेको छ । एउटा सानो सूत्र शंकेत पक्रेर लेखकले महान् सभ्यताहरुको संकथनमा पाठकलाई उतार्ने काम गर्नु भनेको ठूलो शिल्प हो । ‘आर्थर’बाट ‘आतिसबाजी’, हुँदै ‘अग्नि’ ध्वनि उत्पादक अनेक शब्द, ‘प्रमिथस’ र ‘प्रमथ’ अहिलेका आणविक शस्त्रास्त्रसम्म बालस्मृतिदेखि अन्धविश्वास, मिथक, पुराकथा, खोतल्दै जीवनको विराट आँगनका आगाको उपस्थिति देखाउनु
साँच्चै नै बौद्धिक पाठकलाई आह्वान गर्ने खालको छ निबन्ध । यसको शैली स्याम्युअल जोनसनले भनेझैँ ‘लूज स्याली अव्माइण्ड’ मस्तिष्कको चिन्तन–तन्तुलाई विस्तारै खोले जस्तै लाग्छ । पाठकले यस निबन्धबाट एउटा कुरा पक्रौँला भन्ने ठान्न सक्छ तर यहाँ त्यस्तो कुरा छैन । लेखकको मनले अनेक तर्कना उत्पन्न गर्दै जीवनको लक्ष्य मानव सेवा हो कि प्रभुसेवा हो कि वा लक्षरहित रहनु पर्ने हो कि ? एउटै समाधान छैन । यसले पाठकमा अनेक चिन्तन पथ खोलिदिन्छ तर उत्तरजीवितता (after-life) नै जीवनको लक्ष्य जस्तो गरी त्यो भाव भित्री हृदयमा लुकिबसेको जस्तो लाग्छ । अझ कला साहित्यप्रति मानिसको ग्रस्तता अथवा केहीले नछुटाउने सम्मोह बुझ्दा यही नै प्रधान लक्ष्य हो कि जस्तो पनि लाग्छ । त्यसैले साहित्यकारको सम्पूर्ण शक्ति यसकै निर्माणमा विस्तारमा, विमर्शमा, बोधमा समर्पित हुन्छ।

लेखक खेल्ने एउटा प्राचीनतम मैदान छ, भाषाको; ती फैलिने सभ्यताहरुको; सिन्धुघाँटीदेखि मिश्र, फेरि गृसदेखि चाइना, इरान, अरब, अफ्रिकासम्म पुगेको शब्दहरुले जोडेकोएउटा शब्द टिपेर तिनको व्युत्पत्ति र अन्यसँग जोडिएका कुरा अघिल्लो निबन्धमा हेरिएझैँ असुर निबन्धको यो प्राचीनता बालकृष्ण पोख्रेलले मात्र सत्य निरुपरण गर्न सक्नु हुन्थ्यो होला । ‘सुर’ ‘असुर’का भेदको विश्लेषण कम्ती विचारउत्तेजक छैन । उता मध्यपूर्वी भूभागहरु ग्रीस पर्सिया हुँदै इरान पुग्छन्; ई.पृ १००० भन्दा उताका कुरा जोरोष्टर, जराथुष्ट्र हँदै जान्छ । त्यहाँसम्म पुगेर ‘अहुर’ मा असूरको उत्पति खोज्ने लेखकको सभ्यता–चिन्ता र ज्ञान गहिराई सानो छैन । धेरै बौद्धिक र पुराशास्त्री अवशेष ध्वनिहरु पक्रेर हिन्दू–अरव मैदानमा गरिएको आवत–जावत बडो गहिरो छ । यो अति प्राचीनताको, धुमिल इतिहासको सूत्र खोज्दै असुर शब्द पहिल्याउँदै लेखकले गरेको अक्षर जगत्को मनोयात्रा यस्तो छ : तर के वेदको असुर शब्द र प्राचीन इरानको ‘अहुर’ शब्दको कुनै सम्बन्ध छ ? त्यसै गरी प्राचीन इरानी (वा अवेस्ताको) ‘दैव दाएव’ हुँदै अहिलेको ‘दिव’ शब्दहरुसँग वेदको ‘देव’ शब्दको सम्बन्ध छ ? प्राचीन इरानका धेरै कुरा, पहिले ग्रीकहरुको अनि पछि मुसलमानको आक्रमणमा परेर तहसनहस र नष्ट भएर गएकाले पनि यस्तो सम्बन्ध होला नहोला भन्न गाह्रो
होला ।

अरु कुरा खस जातिको इतिहासले बताउँछ कि ? मलाई पनि सबै थाहा छैन । असुर शब्दको सीमाहीन विस्तृतिको कुरा सुन्दा आज पो हामी खुम्चेछौँ जस्तो पनि लाग्छ । लेखकको मनोजगत्मा इजिप्ट, टर्की, ग्रीस, उत्तरी भारत फेरि दक्षिणपूर्वी एशिया सारा जोडिन्छ । तर ससाना झिल्का बल्छन् निभ्छन्— टुङ्गो छैन । हाम्रा गुरुहरुले पुष्प चढाउने एउटा श्लोक छ- सुरासुरैर्बन्दित पाद पुष्पम् । ती दुवैका बीचमा पो पुष्प चढाएर अर्काे निबन्धतिर लाग्छु । यो गम्भीर अध्येता, इतिहासकार आर्कियालोजिष्ट यस्तैले मात्रै फुकाल्ने निबन्ध हो ।

“अज्ञात अविज्ञान प्रतिको डर, ज्ञात परिचितसँगको वियोगको भय असुरक्षा आदि दुखको स्रोत नभएर अरु के हुन ?” भन्ने भाव बोकेर आउने अर्काे निबन्ध छ दुःखसुखका कुराहरु । यो पनि एक उत्कृष्ट, दार्शनिक तहको निबन्ध हो । दुःखसुखको व्याख्याको । आफ्नो बाल्यकालमा अकारण उत्पन्न हुने क्रोध, आमासँग पोखिने रिस र घोडा प्रशङ्ग– अलेक्जान्डर दी ग्रेटको घोडा, प्राचीन गृसकोशत्रू छक्याउने काठको घोडा, हाम्रो उच्चैस्रवा, भारतको अश्वमेध, सिन्धु घाँटी र घोडा, घोडा र शास्त्र, वेदान्त मिथक र पूर्वआधुनिक सभ्यताका घोडा–लिदी सम्मका प्रशङ्ग, घोडाका जात,
भारतका अरबका गर्दागर्दै निबन्ध फेरि भारतवर्ष फर्किन्छ, प्राचीन अर्वाचीन कालका युद्ध, द्वन्द्व, धर्म संस्कृति गर्दै शास्त्र ग्रन्थ फुकाएर अनेक कुरा मिसाउँदै फेरि सामान्य जीवनमा अवतरण गर्दछ ।

गहिरा पाठ छन्, प्रशंग छन्, मिथक पुराण इतिहास र भाषाको व्युत्पत्तिशास्त्र छुँदै जाँदा पाठकलेहाम्रा साझा अभ्यासको व्याख्या अनुभव गर्दछ । कत्रो ज्ञान, विवेक, तर्क र बौद्धिक विमर्शले बनेको छ यो निबन्ध ।

नकारात्मकताको सकारात्मक कुराः नेतिनेतिदेखि क्यान्सरको ओखती यो चाहिँ तर्कशास्त्रद्वारा साधित ज्ञानहरु चिनाउनेकुरा हो भन्ने प्रमाण निबन्ध हो । यसमा अक्षरारम्भदेखि उठ्दै गएर धेरैमाथि अक्षरलिपिको चर्चासम्म पुग्छ । यसमा लिपि अक्षर लेख्य परम्पराको बारेमा विश्वसभ्यताको सारतत्व खिचेर प्रस्तुत गरिएको छ । जननी लिपि ब्राह्मी वरिपरि अरु अनेक छन । हिट्टाइट सभ्यताको प्राच्य ग्रिक लिपि, पूर्वका पाणिनी कालदेखिका स्वर व्यञ्जनादि, अक्षरको आशय र त्यसको पालो अनि पछिका गहिराई । म एक अंशको उद्धरण प्रस्तुत गर्दछु :

अक्षरहरुको आह्वान
म केटाकेटी हुँदा अक्षरहरुले मलाई भने—
‘तिमी क्षर छौ अनि निरक्षर छौ तिमी हामीलाई वरण गर हामी तिमीलाई वर दिन्छौँ
तिमीलाई तिम्रा रहर दिन्छौँ । ॐ मा हामी नै ‘अ’ देखि ‘म’ सम्म छौँ हामी नै कहिल्यै न नासिने
ब्रह्म हौँ तिमी अञ्जान छौ । हामी तिमीलाई पहिचान दिन्छौँ तिमी अज्ञ अनि अनभिज्ञ छौ हामी
तिमीलाई विज्ञ बनाइदिन्छौँ हामी अक्षर हौँ, हामी अमर छौँ तिमी मान्छे हौ, तिमी मर्छाै हामीलाई
बस्न मन्दिर देऊ हामीलाई तिम्रो शरीर देऊ अक्षरहरुलाई मैले उनीहरुको नियत सोधेँ कुनै कैफियत
छ कि भनेर सोधेँ अक्षरहरुले मलाई भने— ‘हाम्रो कुनै स्वार्थ छैन तिमीले कुनै अर्थ निकाल्नु हुँदैन
पछि तिमीलाई मन लागे हामीलाई तिमीबाट पाटीपाटीमा सारिदेऊ कितापकितापमा सारिदेऊ
कागत कागतमा सारिदेऊ तिमीजस्तै बालक बालकमा सारिदेऊ ।’

डा. शिव गौतमको प्रत्येक निबन्ध गहिरो छ, बौद्धिक विस्तार र तार्किक प्रस्तुतिले त्यो बाँधिएर आउँछ । अब म प्रत्येक निबन्धको विस्तार गर्दिन, विस्तारमा त लेखएिकै छन्, अब म उहाँको निबन्ध शक्तिकोतर निकाल्न पट्टि लग्छु । फेरि त्यसरी तर निकालेर पातमा राखिदिएपछि मानिसहरु यो कराहीको दूधतिर नहेर्ने हुन्कि भन्ने पनि डर छ । ता पनि जेसुकै होस्त्योआफैँ निकालून्।
यस्तो लागेर म डा. गौतमको निबन्ध लेखनबारे केही शब्द लेख्न लागेको छु । उहाँको विषयवस्तुको बोधको व्यापकता नै यी निबन्धका उल्लेख्य कुरा हुन् । यस्ता व्यापक बौद्धिक निबन्ध लेख्नेमा राहुल साङ्कृत्यायन पछि नेपालीमा प्रा बालकृष्ण पोख्रेल, जनकलाल शर्मा, र माधव पोख्रेल मात्र हुन्। अरु महाकवि, शंकर, कृष्णचन्द्रमा लालित्य र विचार बराबर पाइन्छ तर अनुसन्धानतर्फ डुबाउने बौद्धिक जिज्ञासालाई निमन्त्रणा गर्ने डा. गौतमका निबन्धको बोझिल
चुम्बकले तानेको कुरा धरैले अन्यत्र अनुभव गर्ने छैनन् । किनभने संसारको भाषा परिवारको, तिनका दुरस्थ सम्बन्धको, अनेक विम्बले बुझाउने अर्थ–साम्यको अनुसरण गर्न सामान्य पाठकलाई मुश्किल छ । हो भन्न मिल्दैन होइन भन्ने प्रमाण ठोकुवा पनि छैन । यी निबन्ध यस्तै तार्किक शक्तिले बुनिएका हुन्छन्। यी बौद्धिक भाषामा तार्किक निबन्ध हुन्।

भाषा साहित्य संस्कृतिको आद्यरुपतिर चिन्तन र व्याख्याले धेरै निबन्धको मेरुदण्ड बनाएका छन् । यो उद्धृतांश पढ्दा लेखकको ज्ञान गहिराई र चिन्ता स्वयम् प्रकट हुन्छ : अक्षर नाम राखे पनि थुप्रै लिपिहरु र अक्षर मरेर गए । जस्तो प्राचीन उत्तर भारतमा (अहिलेको पाकिस्तान, अफगानिस्तान क्षेत्र) दाहिनेबाट देव्रेतिर लेख्ने चलन भएको ‘खरोस्ठी’ भन्ने लिपि चल्थ्यो, त्यो मरेर गयो । त्यस्तै यहाँ लेख्दै गरिएका ‘देवनागरि’ लिपिभन्दा पहिलेको ब्राह्मी लिपि पनि मरेर गयो । इरानको प्राचीन लिपिलाई अहिले अरबी लिपिले विस्थापित गरेको छ । अरबहरुले इरानलाई
जितेपछि त्यहाँ अरबी लिपि आयो तर अरबी लिपिले सबै इरानी आवाज टिप्न नसकेपछि अरबीका केही अक्षरमा थोप्लाथोप्ली थपेर नयाँ अक्षरहरु पनि थपियो । त्यस्तै युरोपमा धेरै ठाउँमा ल्याटिन लिपिको चलन आयो । अंग्रेजी लगायत थुप्रै भाषा ल्याटिन लिपिमा लेखिन्छ । कति ठाउँको स्थानीय उच्चारण मिलाउन ल्याटिन अक्षरमा तलमाथि धर्काधर्की जोडजाड गरेर नयाँ अक्षर पनि थपथाप गरिएको छ । टाढा जानै पर्दैन, फ्रेन्च र जर्मन भाषामा प्रयुक्त अक्षर हेरे पुग्छ । तिब्बती भाषाका लागि अक्षर बनाउन एकजना विद्वान्लाई भारत पठाइएको थियो भनिन्छ (स्रङचङ गम्पो
राजाको आदेशमा) र भारतीय लिपिको आधारमा तयार पारिएको लिपिले सबै उच्चारण समात्न नसकेकोले केही मौलिक अक्षर पनि समावेश गरेको रहेछ ।

सुन्दाखेरी शीर्षक निबन्ध झ्याम्ली बाख्राको पाठो सहज र सरल विम्बमा छ । पहाडको कृषि समाजमा हुर्केका हामीलाई यो सुपरिचित विम्ब लाग्ला । यद्यपि वर्तमान नेपालका पचास प्रतिशत बालबालिकाले यो विम्ब बुझ्ने छैनन्। त्यति तीव्र गतिमा समय बदलियो, भूगोल उही छ इतिहास र संस्कृति अर्काे भयो । त्यो झ्याम्ली बाख्राको पाठो देखेकालाई छोएर उफ्रेको समूहलाई यो संग्रह अत्यन्तै रोचक लाग्ने छ कारण हामी तिनैकौतुहल र आश्चर्य नाघ्दै अर्काे अकल्पनीय जगत्मा ओरालियौँ । तर ती रहस्य कसरी फुक्छन्— विस्तारै ‘तीन–आँख्ले’मा जसरी । त्यो ओरियनको पटुकाले कसरी पूर्वीय ज्योतिषविज्ञानमा ग्रहगणितको सारा परम्परा सम्झाउँछ । सारा ग्रह–नक्षत्रका गुणा, पूर्व र पश्चिम, बालगंगाधर तिलकको अनुसन्धान र अन्यान्य प्रमाण एवम् अनुमानका विषयमा यत्रो ज्ञान फिँजाउन बाँकी छ । यसमा त खगोलशास्त्रको बीज ता बाल्यकालमा आमा हजुरआमाले किरकिटी देखाएर ब्यूँझाएका दिनमै शुरु भएको थियो ।

फेरि अरुन र बरुन शब्दको उत्पत्तिबाट टेक्तै परपर ग्रिक, हिट्टाइट, इटालेली सभ्यता पुग्छ । ग्रिसेली ‘जिआ’ र हाम्रो ‘ज्या’को सुदूर सम्बन्ध बताउने प्रयत्न छ । शब्दका अर्थ मिथकहरु बन्दै देशदेश पुग्दछन्। यी सबै ता मेम्वायर हुन्— संस्मरण । बाल्यकालको अज्ञात निर्दाेष मनले सम्झेको अर्थको विस्तार हुँदै असीम भएका कुरा । अनेक कुराबीच अर्थहरु जोड्ने प्रयत्न— यस्तै । तर खोजीको अन्त्य छैन । मनका लहड ज्ञानका तरङ्ग भएर उठेका मात्रै । अर्काे स्रष्टाले अर्काे परम्परालेती ठाउँमा अरु नै कृष्णविवर देख्ला ।

आठदुना सत्र— हाँस उठ्ने उट्पट्याङ गीतको एउटा सूत्र— ज्यादा गणितीय छ । यसमा अङ्क ८ र त्यसमा जोडिएका प्राचीन अर्बाचीन आकार प्रकृति मान्यता छन् । एक शब्दले त्यसको ध्वनिले नै लेखकको कल्पना तन्तु फुकाइरहन्छ । माकुराले जालो बिछ्याउँदै फेरि फर्के जसरी ।

रुमाल ओछ्याएर अरुण नदी तर्ने गुरु षडानन्दको नाम मनमा उठेपछि मात्र ‘योगी’बाट ‘जोगी’मा जान्छ; ‘योग’मा पुग्छ, अनि अनेक प्रकारका ध्वनि लोप र ध्वनि आगमको भाषावैज्ञानिक विश्लेषण कुरा चल्दै बुद्धि, विवेक ज्ञानतिर प्रवेश गर्छ । सत्यासत्य ठहर गर्न कत्रो पटुका खोल्नुपरेको छ ।

शीर्ष निबन्ध झ्याम्ली बाख्राको पाठोमा बाल्यकालदेखि कसरी स्वअस्तित्व चेतना प्रवेश गर्छ र कसरी अन्त्यमा अहंभित्रै मानिस गँुडुल्किएको, चिनिनसक्नु हुन्छ भन्ने दृष्टान्त छ । स्वत्व चेतनाको खोजी मनोवैज्ञानिक आध्यात्मिक व्याख्यामा यो टुङ्गिन्छ ।

अर्काे निबन्धमा समय मापक एकाई ‘६०’ र त्यसको प्रमाणिकता खोजेर, इजिप्ट, बेविलोन, ग्रीस भारतवर्ष कहाँ कहाँ पुग्छ । अलिक गणितीय र साङख्यिकीतिर प्रवेश गर्छ; अर्काे निबन्ध सृष्टिबारेको चिन्तन लिएर आएको छ ।

अरु पठन सकेपछि एकदिन एक्ले निबन्ध उडेर आइपुग्यो । सो निबन्ध हो सपना । यो अत्यन्तै सरल दृष्टान्तमा बुझाउन खोजिएको जटीलतम विषय सम्बधको विशद व्याख्या विश्लेषण लिएर आएको निबन्ध हो । यस निबन्धले सामान्य ज्ञानबाट, अज्ञानबाट कुराको उठान गरी सपनालाई अथ्र्याउँदै यसका रुप, स्वभाव, चरित्र विशेषताको कुरा गर्दै विशेषगरी मनोविज्ञान र अध्यात्मसम्म पुग्दछ । वीचमा सांस्कृतिक चेतना, मिथकीय झल्का र विविध पक्षीय तर्क
आउँछन्। यसमा स्रष्टाको ज्ञान र विद्वत्तासँग सरलता मिसिएको छ । सबैलाई आजीवन छोइरहने यो पहेलीबारे कुनै प्रामाणिक उत्तर ता छैन होला तर प्रशङ्गमा आएको म्याट्रिक्स मैले पनि हेरेको थिएँ (ब्लेड रनर पनि) । त्यसैगरी यो निबन्धमा मन छुने केही पाठ छन्— छुट्याउनै गाह्रो, जीवनको क्षणिकतालाई सम्झाउन भनिएको होला, एउटा बाहिर देखिने (भौतिक) र अर्काे नदेखिने (आत्मिकभनौँ कि दैवी वा आध्यात्मिक) ध्यान र भगवान् प्राप्तिको भित्री प्रशङ्ग फोटो खिच्न सकिने भए कस्तो हुन्थ्यो तर सकिँदैन । फिट्दा कुन तास कुन घरी आउँछ, सिलसिला हुँदैन यसका क्यू हुन् । रहस्यवाट शुरु भएको यो अत्यन्तै पठनीय मनोवैज्ञानिक विषयको निबन्ध मन तान्ने खालको छ । नेपाली साहित्यमा भने यस विषयको विमर्श भएको छैन, विश्वविद्यालयका मनोविज्ञानका पाठ्यक्रममा मात्रै । यहाँ आत्मा र भर्चुअल जगत्मिसिन्छन्, छुट्टिन्छन्। असम्भव लाग्छ ।

यसरी डा. गौतमका बौद्धिक वैचारिक विश्लेषणात्मक निबन्धले नेपाली निबन्ध लेखनको एउटा अत्यन्तै ठूलो रिक्त स्थान पूरा गर्नेछन् । निबन्ध भनेको ज्ञान विवेक दर्शन विचार सबै मथेर फिटेर निस्कनेकुरा हो भनिन्छ । लकाँले त सबै विधामा सर्वाेच्च निबन्ध नै हो भनेका छन्। ज्ञानलाई अघि बढाउने फिट्ने निबन्धकार शिव गौतमका जस्तै । पाश्चात्य जगत्का महान् विश्वविद्यालयको सेवा गरी विविध विषयका ज्ञान फिटेर नेपालीलाई दिने डा. गौतमलाई नेपाली
स्रष्टा र पाठकले हार्दिक अभिनन्दन गर्नेछन्, मैले गरेको छु। हाम्रा स्रष्टाले नेपाली निबन्धलाई ससाना मनोगत्कल्पना दहमा डुब्ने र भावुकताको मलमले नरम बनाउने मात्र काम गर्दछन्तर निबन्धको उच्च रुप यहाँसम्म पुग्ने रहेछ भनी डा. गौतमका निबन्धलाई दृष्टान्तको रुपमा लिन सकिन्छ । उहाँको निबन्धले एक नयाँ र सशक्त आयाम खोल्नेछ । यी निबन्ध पढेपछि नेपाली कलमले पनि विश्वव्यवस्थासँग संवाद गरोस्र अन्य भाषाका प्राज्ञले जसरी चल्ती ज्ञानको परिधि
नाघेर भत्काएर अलिक फराक आँगन देखाओस् भने जस्तो उत्साह थपिन्छ । हमाीले व्यापक, बौद्धिक शंकथनतिर पनि जानुपर्छ । मलाई एउटा कुरा भन्न मन लागेकोछ— कति ठाउँमा प्रशंगले गर्दा केही कुराको पुनरावृत्ति छ । त्यो उहाँले मुठार्नु हुनेछ । आजलाई यत्ति ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु