अतीतका अनुसन्धान र अनुभूतिहरू

- प्रा. डा. के.आर. खम्बू

कहिलेकहि, कोठा भित्र कल्पयन्त्रीय दुनियाँमा विचरण गर्दा दिक्क भइन्छ । यस्तो अवस्थामा आफ्नो पुरानो सङ्ग्रहालय तिर जान्छु । कोठा सानो छ । अनुसन्धानका नमुनाहरू पुरानी सकेका छन् । विद्यावारिधिको अनुसन्धान काल भरी राती सुत्न र नमुना सङ्कलन गर्न स्थलगत सर्वेक्षणमा जाँदा बाहेक सधैँ झैँ यही प्रयोगात्मक म्युजियम कोठामा व्यस्त हुन्थें । यस कोठामा नमुनाहरू राख्ने दराज, रसायनहरू तथा स्थलगत औजार बाकस, नमुना पहिचान टेबुल, ल्यापटप टेबुल र पुस्तकका सानो दराज आदि अटाइएका थिए । तर अहिले त्यो बेलाको जस्तो व्यवस्थित रहने कुरै भएन । तरपनि यस भित्र पस्दा आफूले गरेका कार्यको सम्झना र अनुभूतिहरू ताजा बनाउँछ ।
त्यसपछि, म पुनः आफ्नो चुनौतीपूर्ण अतीतलाई सम्झिँदै हर्पेटोफाउना सङ्ग्राहलयबाट करिब दश मिटर उत्तरमा अवस्थित ‘कछुवा अनुसन्धान तथा संरक्षण केन्द्र तिर जाने गर्छु । यो मेरो त्यो बेलाको जीवित सङ्ग्रहालय पनि हो । किनभने यस अनुसन्धान स्थलमा मैले उभयचर र सरीसृपहरूका विशेष जीवित नमुनाहरूलाई यहाँ राखेर अस्थायी रूपमा अध्ययन अनुसन्धान गरेको थिएँ । मेरो जीवन साथीले सुरु सुरुमा यहाँका थरी-थरीका जन्तुहरू (भ्यागुता, कछुवा, छेपारो, सर्प आदि) देख्दा दिक्क मानेको जस्तो लाग्थ्यो । तर रहँदै जाँदा विभिन्न प्रजातिका कछुवाहरूल विचरण गरेको, चारो खाएको हेर्दै जाँदा उनीपनि माया गर्न थाल्छिन् ।
वर्षा याममा यस भित्र नाना थरीका वनस्पति झार उम्रेर पसी सक्नु हुन्न । भदौ असोजतिर झार पन्साउँदा भने केही बचेका कछुवाहरू देखा पर्छन् । यसरी देख्न साथ उनले मलाई खबर गर्छिन् । म आफ्नो फिल्ड क्यामरा लिएर त्यहाँ पुग्छु । कुन रहेछ ? पहेँले वा काले भनी सोध्दा छुटाइ दिन्छिन् । तिनिहरूलाई हातले स्पर्श गर्दै कुन अवस्थामा रहेछ भनी नोट गर्छु । त्यसपछि जीवन साथीले फोटो खिची दिन्छिन् र ती कछुवाहरूलाई सुरक्षित स्थानमा पुर्याई दिन्छिन् ।
डेढ दशकभन्दा अघि यस संरक्षण केन्द्रमा नेपालको नयाँ हर्पेटोफाउना (घस्रिने जन्तु) उभयचर तथा सरीसृपका केही महत्त्वपूर्ण प्रजातिहरू राखी अध्ययन तथा अनुसन्धान गरिएका थिए । अस्थायी रूपमा राखिएका ती प्रजातिहरू निम्न अनुसारका थिए-
उभयचर प्रजातिहरूमा पाङ्ग्रे भ्यागुतो (Kaloula taprobanica), उडुवा वा कुथुर्के भ्यागुतो (Rhacophorus maximus), अकाशे भ्यागुतो (Sphaerotheca rolandii), पाटे औले टिकटिके पाहा (Nanorana/ Paa patenagensis) आदि थिए । सरीसृप वर्गका कछुवा प्रजातिहरूमा पहाडी खोले पात कछुवा (Cyclemys oldhamii), गुलाबी घेरे खबटे धूरी कछुवा (Pangshura tentoria circumdata)( हुन् भने छेपारो प्रजातिमा कोक्ते वा ओकेटोके (Gecko gekko) हो । यसैगरी सर्प समूहमा पर्ने चन्दने पत्करे सर्प (Psammodynastic pulverulentis), रातो पुच्छ्रे हरेउ (Trimeresurus erithritis)आदि थिए । घस्रिने जन्तुका यी प्रजातिहरू मैले अनुसन्धान गरेको अवधि भन्दाअघि कुनै अनुसन्धान कर्ताले सप्रमाण प्रस्तुत गर्न सकेका थिएनन् ।
यो सानो अनुसन्धान केन्द्रलाई परस्थानीय वासस्थान बनाई उभयचरका ठकठके (पुच्छ्रे उभयचर), कुथुर्के, पाङ्ग्रे र सिक्रे भ्यागुतोहरूलाई प्रजनन गराउन कोसिस गरिएका थिए । तर विषम जलवायु परिवर्तनको कारण पूर्ण सफल हुन सकेन । सरीसृपका प्रजातिहरूमा कोक्ते र कछुवाको भने दुई पुस्तासम्म प्रजनन गराउन सफल भइयो । यसरी उत्पादित कछुवाको दोस्रो पुस्ते सन्तानअहिलेपनि उत्तराधिकारीको रूपमा बाँची रहेको छ ।
अनुसन्धान कालमा कोक्ते वा टोकेटोके साँझ बिहान आफ्नै नाउँ काढे झैँ कराउँदा अनौठो आवाज सुनिन्थ्यो अनि आफ्ना टोलका बासिन्दाहरू छक्क पर्दै हेर्न आउथे । यो प्रजातिले पनि फुल निकै वर्षसम्म प्रसस्त पार्यो, तर एक पुस्ते बच्चा काढ्ने बाहेक मौलिक गुँड (Niche) नमिलेकोले दोहोर्याउन सकेन ।
वास्तवमा यो कछुवा अनुसन्धान तथा संरक्षण केन्द्र यस क्षेत्रकै नमूनाको रूपमाथियो । यस केन्द्रलाई दुई खण्डमा विभाजन गरी कछुवाको प्रकृति अनुसारको वासस्थान निर्माण गरिएको थियो । एउटा खण्डमा पानी वा जल कछुवा र अर्को खण्डमा पाखे कछुवा बस्ने वातावरण तयार पारियो । जलीय कछुवा बस्ने फाँटमा दुई साना पोखरीहरू समेत निर्माण गरिए । यी दुई पोखरीमा विभिन्न स्थानबाट भेटेर वा उदार गरेर ल्याएका प्रजातिहरू राख्दै गइयो । अनुसन्धानको मध्य कालतिर त यहाँ जल कछुवा र स्थल कछुवाका नमुना प्रजाति सङ्ख्या बढेर झन्डै 15 पुगेको थियो । यहाँ राखेर अध्ययन गरिएका ती नमुना प्रजातिहरू यस प्रकारका थिए-
पहेलो खबटे सुन कछुवा (Indotestudo elongata),कालो खबटे तीन धर कछुवा (Melanochelys tricarinata), गुलाबी घेरे धूरी कछुवा (Pangshura tentoria circumdata), पहेँल्चो भूडे धूरी कछुवा (P. flaviscens), कालो भूडे धूरी कछुवा (P. smithi smithii), बाटुलो धुरे कछुवा (P. tecta), पहाडी खोले पात कछुवा (Cyclemys oldhamii), ढकने नरम खबटे कछुवा (Lissemys punctatum) र मुजुरप्वाँखे नरम खबटे कछुवा (Nelsonia hurum) आदि
यी मध्य चार प्रजातिहरू मात्र निकै वर्ष सम्म यस परस्थानीय वासस्थानमा जिउँन सफल भए । जब यो वासस्थान पूर्णरूपले प्राकृतिक वासस्थान जस्तो भयो तब दुई प्रजाति (पहेलो खबटे सुन कछुवा र ढकने वा बिर्के नरम कछुवाले त फुल पार्न पनि सफल भए । यी दुई मध्य पहेँलो खबटे लाम्चे कछुवाले मात्र कोरल्दै चार वटा बच्चा काढ्यो । तर ढकने नरम खबटेको फुलहरू खौलिएर गए । एक दशक सम्म माउ कछुवाहरू बाच्छन् । त्यसपछि भने अहिले सम्म पहेँले खबटे सुन कछुवाका दोस्रो पुस्ताका दुई वटा सन्तान मात्र बाँचेका छन् ।
अर्को तर्फ पहाडी खौले पात कछुवाको एउटा मात्र पोथी नमूना यहाँ राखीएको हुँदा यसबाट कुनै प्रजनन हुने सम्भावना भएन । तर पनि यो मेरो अनुसन्धानको प्रमुख सजीव गुरु प्रमाणको रूपमा सुखानी शहीद स्मृति पार्कको कछुवा उदार तथा संरक्षण केन्द्रमा स्थानान्तरण गर्नु अघिसम्म बाँची रह्यो ।
यो माथि उल्लेख गरिएका अनुसन्धान कार्य गर्ने प्रेरणा कहाँबाट पाएँ भन्ने कुरा जब म यो मेरो सानो पोखरीको डिलमा बसेर सोच्ने गर्छु, अनि चलचित्रको फित्ता घुमे झैँ पुराना सम्झनाहरू मस्तिष्क भित्र अटेसमटेस हुँदै झुत्ती खेल्न थाल्छन् । नढाँटी भन्नु पर्दा यो सारा अनुसन्धान कार्यलाई यहाँसम्म ल्याउने प्रेरक प्रसङ्ग एउटै थियो । त्यो हो -
‘गोजीमा हात हालेर अनुसन्धान गर्ने कुरामा मलाई विश्वास छैन” भन्ने वाक्य ।‘
यो वाक्य तत्कालीन म्युनिख विश्वविद्यालयका प्राध्यापक डा. हर्मन स्ल्याइख (Prof. Dr. Hermann Schleich)को हो । यस्तो भनाई उहाँसँग भेट हुन अघि कहि कतै सुने वा सुनिन मलाई थाहा छैन । तर जुन परिस्थितिमा यो वाक्य मलाई भनियो, त्यसले जीवनको मोडलाई नै परिवर्तन गरी दियो । अनि यो गुरु मन्त्र बन्दै बाँकी जीवन भरी छाया भएर पछ्याइ रह्यो । यसको परिवेश यस्तो थियो-
भरखर विद्यावारिधिको लागि निर्देशक बसी दिन सकारात्मक हुँदै गएको स्थिति थियो त्यो । नयाँ शोधकर्ता विद्यार्थीलाई स्वीकार गर्न अघि केही परीक्षण गर्ने भनि आश्वासन दिइ सकेका थिए । यतिकै आश्वासनमा पनि म निकै खुसीले फुरुङ्ग परी सकेको रहेछु ।
जर्मन वैज्ञानिकसँगको पहिलो भेट भएको दिन हुन्छ । सोही दिन बेलुकी पख हरपेटोफाउना सर्भे गर्न सँगै जानको लागि वासस्थानमा बोलाइएको हुन्छु । म सामान्य क्याम्पस जाँदा लगाउने लुगामा ब्याग बोकेर वासस्थानमा पुग्छु । पुगी भेट हुनसाथ प्रोफेसरले भन्छन्-‘नयाँ छौं, मैले स्थलगत कार्य गरेको हेर्नु, इच्छा लागे सघाउनु, नभए मलाई पथ प्रदर्शन गर्नु’ ।
तर म गर्ने कि हेर्ने मात्र; निर्णय गरेको हुन्न । त्यसपछि स्थलगत सर्भेक्षनकोलागि तुरुन्त बाहिरिन्छौं । बाटोमा सँगै हिँड्दा पनि म निकै बुज्रुक बन्दै गफ निकाल्न थाल्छु । आफ्नो दुई तीन वर्षे प्रशासकिय अनुभवले नयाँ गुरुलाई निकै प्रभाव पार्ला भन्ने सोच्छु । अनि त्यस बेला सम्म गरेका कार्यहरूका फेहरिस्त एक पछि अर्को खोल्दै धारावाहिक रूपमा भन्दै जान्छु । उनि भने घुँडासम्म आउने बाटोको नालाको हिलोमा पसेर एउटा हाते जालीले हिलेपानीमा भएका जन्तुलाई छान्ने हेर्ने र फाल्ने गरिरहेका हुन्छन् ।
म चाही यसरी भनी रहेको हुन्छु- ‘मैले अनुसन्धान कार्य पोखराको फेवा तालको लिम्नोलोजीमा अध्ययन गरी स्नातकोत्तर तहको थेसिस समेत लेखेर अनुभव प्राप्त गरेको छु; बेगनाश ताल र रूपा तालको बारे पनि अध्ययन गरेको छु । आफ्नो विद्यार्थी कालमा पनि नेपालको र भारतका विभिन्न पार्क, चिडियाखाना, ऐतिहासिक ठाउँहरूमा शैक्षिक भ्रमण गरेर त्यसबाट निकै ज्यान हासिल गरेको छु । यस भन्दा अघि दुई तीन क्याम्पसहरूमा पढाएर निकै अनुभव बटुलेको छु; मेरो क्याम्पस सेवा कालमा शिक्षणको कार्यको अतिरिक्त क्याम्पसको विकास निर्माण कार्यमा सहभागी हुँदै नयाँ भवन निर्माण गर्न पनि पछि परेको छुइन । यसै क्रममा ठाकुरराम क्याम्पस, वीरगन्जको र मेची क्याम्पसको स्नातक तह विज्ञान मैले सुरुवात गरेको हुँ । यसरी सुरु गरेर गुणस्तरीय शिक्षा दिँदै पहिलो ब्याज पनि निकाली सकेको छु ।“
“त्यसो भए के त ?” मतिर नहेरी आफ्नो खोजी काममा व्यस्त हुँदै भन्छन् ।
म अझआँखा चिम्लेर लगातार भन्दै जान्छु- “अझ अहिले त म आफ्नो क्याम्पसको सहायक क्याम्पस प्रमुख पदमा पनि गत तीन वर्ष देखि कार्यरत छु । प्राणी शास्त्र केन्द्रीय विभागका सबै वरिष्ठ सरहरू मेरा गुरु हुन् । उहाँहरूका पनि अनुसन्धान कृतीबाट थोरबहुत ज्ञान पाएको छु ।हाल त्रिविका केन्द्रीय पदाधिकारीहरूलाई पनि चिन्दछु । मैले राष्ट्रिय गोष्ठी तथा अन्तर्राष्ट्रिय गोष्ठीहरूमा पनि सहभागी भइ अनुभव प्रात गरी सकेको छु । अब म तपाइसँग पिएचडी गर्न चाहन्छु ... ... ।“
यस्ता मेरा कुराले युरोपियन प्रोफेसरल निकै प्रभावित भए होलान भन्ने मलाई विश्वास थियो । तर जब हातभरी हिलो पारेर अचम्मित मुन्द्रामा मतिर पुलुक्क हेर्दै भन्छन्- ‘ए नयाँ नेपाली महाशय !), तिमिले भनेका यी सबै कुरा तिम्रो नजरमा ठीक होलान् । तिम्रा प्रभावशाली उच्च पदाधिकारीहरूसँग तिम्रो राम्रै सम्बन्ध होला । तर मलाई कुनै लिनु दिनु छैन । तिम्रो गुरुहरू अति अनुभवी होलान, तर म चिन्दिन । समग्रमा मलाई यति थाहा छ कि जति व्यक्तित्व प्रभावशाली भएपनि गोजीमा हात हालेर चाही कुनै अनुसन्धान गरिँदैन है । बस मलाई यति थाहा छ । कुरा यति हो, धन्यवाद ।‘ यति भन्दै पुनः आफ्नो कार्यमा व्यस्त हुन्छन् ।
जर्मनी जीववैज्ञानिकको मेरो अभिव्यक्ति प्रति यस्तो टिप्पणी देख्दा म झसङ्ग मात्र होइन मर्माहत हुन्छु । तुरुन्त आत्मनिरीक्षण गर्छु । अनि आफैले भनेको कुराले मलाई नै आत्मा ग्लानि हुन्छ । साँच्चै म त त्यो आहालको डिलमा एउटा हात पेन्टको गोजीमा र अर्को हात कमरमा राखी आँखा चिम्लेर गफ सुनाइ रहेको रहेछु । उनि चैँ हाफ सर्ट, हाफ पेन्ट र बहु गोँजे अस्कोट र पिठ्यूँमा काँधे झोला बोकेर दुबै हातले दलदल हिलो माटोलाई छान्दै भ्यागुतो पक्रने प्रयास गर्दै गरेका रहेछन् ।
म रातो पिरो हुँदै तुरुन्त ह्याण्ड ब्याग आलिमा राख्छु; पेन्ट माथि सुर्कन्छु, सर्टको बाहुला पनि सुर्कन्छु हनि जुत्ता खोलेर डिलमा राख्छु । त्यसपछि तुरुन्त त्यही दलदले हिलो भएको खाडलमा पसेर धमिलो पानी जिलाउँदै भ्यागुतो खोज्न थाल्छु । यसरी वैज्ञानिक अनुसन्धान गर्न फिल्डमै उत्रिन पर्छ भन्ने पहिलो पाठ त्यही सिक्छु । अन्ततः यही बन्छ मेरो अनुसन्धान यात्राको प्रारम्भिक बिन्दु ।
त्यस रात मलाई निन्द्रा लागेन । नाना थरीका तर्कनाले रात बित्यो । भोलि पल्ट क्याम्पस खुल्न साथ क्याम्पस प्रमुखको कार्यालय पुगेर आफूले समालेको सहायक क्याम्पस प्रमुखको पदबाट राजीनामा दिन्छु । त्यसपछि प्रशासनिक झन्झटबाट मन मस्तिष्क मुक्त बनाएर हल्का तथा स्वतन्त्र हुँदै अनुसन्धान कार्यमा लीन हुन पुग्छु ।
यसर्थ जब म यो सानो कछुवा संरक्षण केन्द्रमा पस्छु अनि प्रा. डा. हर्मन स्लाइखको सोही ’गोजीमा हात हालेर अनुसन्धान हुँदैन’ भन्ने वाक्य सम्झिन्छु । अनि आइ हाल्छन् विगत दिनका अनुसन्धानका तीतो पिरो अनुभव र अनुभूतिहरू, एक पछि अर्को गर्दै आँखा भरी, मन भरी ।
अहिले पनि जब मेरा सहकर्मी साथीहरू वा मेरा विद्यार्थीहरू अनुसन्धान सम्बन्धी कुराकानी गर्न आउँछन्, तब सर्वप्रथम यही कुरा दोहोर्याउँछु ‘गोजीमा हात हालेर चैँ अनुसन्धान हुँदैन है ।‘ किन कि अनुसन्धानको लागि ढोका बाहिर निस्कनै पर्छ । अनेकन वाध अडचन वा चुनौतिहरूलाई सामना गर्दै गन्तव्य बिन्दुमा पुग्ने कोसिस गर्नै पर्छ । अनुसन्धान कार्य भनेको अन्त्य नहुने एक लामो यात्रा हो ।

- भद्रपुर ८, क्याम्पस मोड; झापा (नेपाल)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु