युग चेतनाका कलात्मक प्रतिबिम्बमा ‘स्मृतिका पहाड’

- विजय सापकोटा

कविता के हो अथवा कविता कस्तो हुनुपर्छ भनेर मानिसहरूले मन्थन र बहस गर्दै आएकै सयौँ वर्ष बितिसकेको छ । कविता कहिले जन्मियो, यसबारेमा समेत मानिसहरूले आफ्ना अनुमानहरू दिन भ्याएका छन् । हाम्रा आँखाले देख्न सकिने प्रमाणहरूकै आधारमा पनि कविताले गरेको यात्रा निकै लामो छ । यो लामो यात्राको अवधिमा कविताका सर्जक र तिनका सिद्धान्तकार धेरैथरी जन्मिएका छन् । ती सर्जकहरूका कविताका विविधतामय फाँकीहरू कविताका सिद्धान्तकारहरूसित कहिले सहमत हुँदै त कहिले बाझ्दै इतिहासदेखि वर्तमानसम्मै आइरहेका छन् । मेरो विचारमा कविताको इतिहास भन्नु नै सिद्धान्त र सिर्जनाबीचको द्वन्द्वात्मक अवस्था हो ।
कविता प्रमुख कि यसको सिद्धान्त ? यो प्रश्नको उत्तरमा निश्चय नै बहुमतले भन्ने छ पहिले कविता अनिमात्रै सिद्धान्त । उसोभए कवितालाई कुनै सिद्धान्तभित्र कैद गरेर त्यसलाई अथ्र्याइनुको औचित्य के छ ? यसको प्रस्ट उत्तर मसित छैन । यसका बारेमा आफ्नै किसिमका मतहरू हुन सक्छन् । कविताको सैयौँ वर्षको लामो यात्रामा आजसम्म आइपुग्दा कति सिद्धान्तहरूले कविता लेखाए होलान् अनि कति सिद्धान्तहरू कविताको जगमा निर्माण भए पनि होलान् । अझ कतिपय अवस्थामा कठोर सैद्धान्तिक अनुशासनको दमनमा परेर कति असल कविताहरू मृत भए पनि होलान् । सिद्धान्तले कतिलाई कवि बनाइदियो होला कति कविलाई भत्काइदियो पनि होला । यो कुराले मलाई गहिरोसित छुन्छ ।
जसरी मानिसको जीवनशैलीले फड्को मा¥यो, त्यसैगरी उसका अभिव्यक्तिका शैलीहरू पनि कहिले युगसँगै त कहिले युगजीवनको मनोविज्ञानभन्दा पनि केही कदम अघि बढ्ने गरी आएका देखिन्छन् । स्वभाविक हो, युगचेतनाको उपल्लो दर्जाको कलात्मक प्रतिबिम्बन कविता युगजीवनभन्दा केही खुड्िकला अगाडि हुनु । यस हिसाबले कुनै सैद्धान्तिक ढाँचाको सीमाबद्धता तोडेर स्वच्छन्द विचरण गर्नु अबको कविताको एउटा चरित्र हो जस्तो लाग्छ । भलै, शास्त्रीयता अँगालेर लेखिएका कविताहरू आफ्नो परम्परालाई नै धान्न व्यस्त छन्, यद्यपि युगचेतनाका हिसाबले तिनमा पनि समयको बोली नबोलिएका हैनन् । तर स्वतन्त्र ढङ्गले लेखिएका कविताहरूको संरचनागत अवस्थितिका बारेमा प्रश्न गरिनुचाहिँ बेक्कारको कुरा जस्तो लाग्छ मलाई । योचाहिँ सत्य हो कि कविताको बोलीका बारेमा मतअभिमत प्रकट गर्ने अधिकारचाहिँ सबैलाई छ ।
आफूले गरेको यो ठहरले अरुका कविताबारेमा केही बोल्नु पूर्णतः खतरायुक्त लाग्छ मलाई । अझ विविधतामय दैन्दिनीमा एकैदिनमा पनि अनेक स्वरुप र चिन्तनमा बाँचेको मानिस (कवि) का तत्क्षणका भावनालाई ठोकुवा गरेर त्यसको छातीमा एउटा विचारकोट्याकठोकिदिने कुरा पटक्कै न्यायसङ्गत लाग्दैन । त्यसो त हरेक मानिसको जीवन र जगत्लाई हेर्ने आफ्नै किसिमका दृष्टिकोणहरू हुन्छन् । आफूले विश्वास गरेको मान्यतालाई नै उसले आफ्नो जीवनशैली बनाएको हुन्छ । मानिसहरू आफ्नो सुविधा अनुसार कसैले त्यसलाई आदर्श भनिदिन्छन्, कसैले विचार त कसैले आस्था । कवि हुनुुको अर्थ यो आदर्श, विचार अथवा आस्था जेसुकै भनिएपनि यिनलाई सर्वसाधारणले भन्दा अझ प्रभावशाली, सुन्दर अनि कलात्मक ढङ्गले अभिव्यक्त गर्न सक्नु हो । यसकै प्रयत्नस्वरुप हरेक कविले आफ्ना कवितामा आफ्ना मान्यता स्थापित गर्न खोजेको हुन्छ र त्यही मान्यता ढल्कुवा उसको भावनालाई आफ्ना व्यक्तिगत आग्रह वा पूर्वाग्रहका आधारमा पाठक अथवा समीक्षकले मन पर्ने वा नपर्ने रुपमा वर्गीकरण गर्छन्, व्याख्या विश्लेषण गर्छन् र यसैको आधारमा उसको कवित्वको स्थान निर्धारण समेत गरिदिन्छन् ।
त्यसो त जडता हाम्रो समाजको आदर्श हो, परम्पराले निर्देशन गरेको बाटोलाई जस्ताको तस्तै पछ्याउन सक्नु आदर्शवान् हुनु हो । हामीकहाँ मानिसहरू सामान्यतयाः परिवर्तनलाई सजिलो गरी स्वीकार्दैनन्, परिवर्तनलाई सुरुमा शङ्कालु, अविश्वास अनि विरोधको आँखाले हेर्नेहरू धेरै हुन्छन् । अझ एकथरी लेखनको हिसाबमा त यो किसिमको वैचारिक जडतालाई नै आदर्श मान्ने चलन छ । जडता परिवर्तनको चाहनालाई विचलन भन्ने पनि गरिन्छ । यो अवस्थामा एउटा कविको कवित्वको चर्चा गर्नु मजस्तो अनाडीका निम्ति त फलामको चिउरा चपाउनु सरह नै हो ।
तर यतिखेर यही अप्ठ्यारो पहाड चढ्नु छ मैले । अघिल्तिर छ डा विदुर चालिसेका ९७ वटा कविताहरूको सङ्ग्रहको पाण्डुलिपि ‘स्मृतिको पहाड’र मैले केही लेख्नु छ यसका बारेमा । कुनै अप्रकाशित किताबका बारेमा केही लेख्नु आफैँमा अग्लो न अग्लो पहाड चढ्ने कुराजस्तै लाग्छ मलाई । किनभने प्रकाशित नहुन्जेलसम्म त त्यसमा पूर्णतः सर्जककै हक लाग्छ, ऊ त्यो सिर्जनासँग जिउँदो र सक्रिय सम्बन्ध राख्नसक्ने अवस्थामा हुन्छ । बाहिर आइसकेपछि सर्जकले यो हक गुमाउँछ र त्यो पाठकमा सर्छ । अर्को कुरा, कविताको विवेचना माथिको आफ्नो धारणा वकितम् गरिसकेपछि फेरि पनि यही काममा लाग्नू मेरो दुस्साहस वा मुख्र्याइँ जे पनि हुन सक्छ । उसमाथि लामो समयदेखि प्राध्यापन पेशामा लागेका, विद्वान्, अन्वेषक हरेक हिसाबले आफूभन्दा उम्दा र जेठा व्यक्तित्वमाथि लेख्नु मेरो निम्ति अर्को खतरनाक कुरा हो । त्यसैले म यहाँ इमान्दार हुनै पर्दछ र भन्छु– डा. विदुर चालिसेको कवित्वको स्थान निर्धारण गर्नु मेरो बसको कुरा होइन, यो उनका कविताप्रतिको पाठकीय दृष्टिकोण मात्रै हो ।
व्यक्तिगतरुपमा चालिसेसित मेरो लामो चिनजान छैन । साँच्चै भन्ने हो भने परिचयको चाँजो पनि यही कविता सङ्ग्रहले नै जुटाइदिएको हो । नेपाली भाषा साहित्यका एक विद्वान् प्राध्यापकका रुपमा मैले उनलाई सुनेको र पत्रपत्रिकामा पढेको हुँ । यसहिसाबले पनि डा. चालिसेका कविताका बारे केही बोल्नका लागि म उपुयक्त पात्र हुँ या होइन आफैँ अलमलमा छु । आफूभन्दा लगभग एउटा पुस्ता अघिल्लो कविलाई एक पुस्ता पछिको पाठकले पढ्नु निश्चय नै रोचक कुरा हो । अघिल्लो पुस्ताको संवेगलाई पछिल्लो पुस्ताले स्पर्श गर्नु, आफ्नो पुस्ताको सापेक्षतामा मूल्याङ्कन गर्नु रोमान्चकारी अनुभव हुन सक्छ । डा. चालिसेको आफ्नो अनुज पुस्ताप्रतिको यो विश्वास जडताविरुद्धको उनको गतिशील चाहना भनेर मैले बुझेको छु, म विश्वस्त छु यो बुझाइमा कुनै अतिशयोक्ति छैन ।
विदुर चालिसेका कविताको विषय क्षेत्र अरु समकालीन नेपाली कविताहरूजस्तै सामयिक जीवनका विविध सन्दर्भ–प्रसङ्गहरूकै पेरिफेरिमा निर्धारित भएको पाइन्छ । पछिल्लो समय नेपाली कवितामा अत्यधिक प्रयोग गरिएको विकृत राष्ट्रिय राजनीति उनका धेरैवटा कवितामा दोहोरिएको छ । तर उल्टो दिशामा चलिरहेको मूल्यहीन राजनीतिको केन्द्रिय असरतिर उनको चासो छैन, यो जगजाहेर, जगप्रताडित सन्दर्भलाई सायद उनी फेरि आफ्ना कवितामा बिम्बिन गर्न चाहँदैनन् । उनका कविता विकृत राजनीतिको जगमा उभिँदा उभिँदै पनि यसका विकृतिको गहिरिएर चिरफार गर्नमा भन्दा पनि नैतिक र दार्शनिक मूल्यको खोजीगर्नतिर बढी उद्यत देखिन्छन् । कवि चालिसेको बौद्धिकता यहीँ झल्किन्छ । जनउत्तरदायित्वहीनता र नैतिकहीनताले गाँजिएको राजनीतिक नेतृत्व र तिनलाई गणेश परिक्रमा गरेर आफ्नो स्वार्थपूर्तिमा लागेको समाजको कथित जिम्मेवार वर्गका प्रवृत्तिलाई ठाडो चित्रण नगरी कुनै सन्दर्भमार्फत् त्यसलाई आफ्नो दृष्टि दिनु उनको निजत्व हो । नेपाली राजनीतिक प्रवृत्ति त गलत दिशातिर उन्मुख छँदै नै छ, राजनीतिलाई कलुषित बनाउने तप्काको संरक्षण, सम्बद्र्धन एवम् भक्तिगानमा आफू हुनुको गौरवलाई नै बेचिदिने ठूलो हिस्साले राजनीतिको यो गलत दिशालाई अझै महागलत बनाउनतिर ठूलो योगदान पु¥याइरहेको कुरामा कवि चालिसेको बढी असन्तुष्टि देखिन्छ । यसर्थमा उनका कविताको एउटा मुख्य स्वरचाहिँ गलत राजनीतिद्वारा संरक्षितपतनोन्मुख समाजको दिशाहीनताको अवस्था नै हो ।
युगजीवनको सामाजिक, सांस्कृतिक मनोविज्ञान र यसका प्रवृत्तिहरूप्रति कवि चालिसेको विशेष चासो देखिन्छ । सबल अथवा दुर्बल जुनसुकै पाटोको उठान गरे पनि उनी आफू स्वयम् त्यसको निर्णयक बनेर पाठकलाई नैतिक उपदेशको पुलिन्दा भिराउने अथवा कुनै फैसला सुनाउने किसिमको गल्ती कवितामा गर्दैनन् । उनी त एउटा प्रवृत्ति अथवा प्रसङ्ग उठाएर त्यसलाई एउटा दृष्टान्त, सन्दर्भ अथवा दृश्यमा लगेर छाडिदिन्छन् जसले गर्दा कविताको प्रभावलाई कुन रुपमा ग्रहण गर्ने हो पाठकले आफ्नो वैचारिक र भावनात्मक आग्रह अनि सुविधाअनुसारको सहुलियत पाउँदछ । इमान्दार कविमा यो गुण हुनै पर्दछ, जुन गुण चालिसेमा छ । समसामयिक जीवनको यान्त्रिकता, निरीहता, प्रथा वा कुप्रथाको सङ्गति, असङ्गति, मानिसको वैभवशाली सुविधायुक्त जीवनको आडम्बर, मानिसले भुल्दै गरेको आफ्नो जमिन र धरातल, दैन्दिनीभित्रको जटिलता, नैराश्यता, अप्राप्ति, दिग्भ्रमित वर्तमान्, अहम्, अकर्मण्यता, आदर्शहीनता, कृतघ्नता, पिपलपाते अवसरवाद, आडम्बर, भ्रष्टता आदि हाम्रो समयका कुरुपताहरू उनका कवितामा पनि समेटिएका छन् जसरी नयाँ कविहरूले प्रसतुत गर्दछन् । तर यी साझा प्रवृत्तिहरूको निरन्तरतामा पनि कवि चालिसेको कवित्वको निजत्वचाहिँ के हो भने यी यस्ता प्रवृृत्तिहरूसित भावुक हुने अथवा आक्रोशित हुने किसिमको संवेगले बहकिँदैनन् । उनी त त्यसप्रति तटस्थ सन्तदृष्टि प्रक्षेपण गर्दै घटना, प्रवृत्ति र पात्रहरूको अवस्थालाई अभिव्यञ्जित गरिदिन्छन् । यो नै उनका कवितालाई अरु धेरैका उस्तै कविताबाट छुट्याउने एउटा महत्वपूर्ण कडी हो जस्तो लाग्दछ ।
प्रकृति र जीवन, जीवन र भवित शक्ति पनि कवि चालिसेको कविताका प्रमुख विषय बनेका छन् । तर उनी प्रकृतिको कोरा र नाङ्गो चित्रणमा ध्यान दिँदैनन् न त कुनै कलात्मक आलम्बनमा प्रकृतिको सौन्दर्यलाई अझै शृङ्गारित गर्ने भावुकतामा नै डुब्छन् । उनको प्रकृति त जीवनसँग गाँसिएर आउँछ । अर्थात्, निरपेक्ष किसिमको प्रकृतिको चित्रण उनको कविताको विषयक्षेत्र होइन । उनी प्रकृतिलाई जीवन र त्यसका घटना–परिघटनाहरूको सापेक्षतामा आफ्ना कवितामा उभ्याउँछन् । कतिपय कवितामा प्रकृतिको मानवीकरण पनि भएको छ । प्रकृतिपरक अझ प्रकृतिपूजक नेपाली कवितामा प्रशस्तै प्रयोग भएका बिम्ब र प्रतीकहरूप्रति उनको रत्तिभर मोह देखिँदैन । कवि चालिसे प्रकृतिको कुनै विशेष परिघटना वा दृश्यलाई टिप्दछन् र त्यसलाई युगजीवनका सन्दर्भ र प्रवृत्तिहरूको सापेक्षतामा कविताको बोली र लय दिन्छन् । प्रकृतिको स्वच्छन्दता, शुद्धता एवम् नियमबद्धतालाई मानव व्यवहारको अशुद्धता र अनुशासनहीन प्रवृत्तिसँग व्यतिरेक गरेर हेर्ने रोमान्टिसिज्मप्रतिको कविताको आकर्षणचाहिँ थुप्रै कवितामा अनुभूत हुन्छ । प्रकृति मानव–सन्दर्भसित अन्तर्घुलित भएर आउँदा त्यसले जीवनको दुर्बलतालाई बढी प्रकाशित गरेको देखिन्छ । प्रकृतिसँग हुर्किएको अतीतको स्मृतिमोह पनि उनका कवितामा पाइन्छ ।
जीवनका बहुआयामिक पक्षहरू, मानव जीवनसित सम्बन्धित घटना, परिघटनाहरू, तीसँग सम्बन्धित मानवीय संवेदनाका पक्षहरू चालिसेका कवितामा प्रशस्तै आएका छन् । मानिसका स्वभाविक अथवा अप्रत्यासित कुनै पनि किसिमका भोगाइहरूले जन्माउने संवेदनशील वा संवेदनाहीन अवस्थासित जोडिएर जीवन र जगत्लाई दार्शनिक आँखाले हेर्ने चेष्टा पनि चालिसेका कवितामा भएको पाइन्छ । मानिसका संवेगजन्य वैधव्यको उत्खननमा उनको विशेष आकर्षण छ । मानिसका उन्माद, दुःख, इश्र्या, लोभ, नैराश्य, लालच, अहम्, भय, करुणा आदि संवेगजन्य अनि तिनले विरेचित गर्ने स्वार्थी, कृतघ्न, निकृष्ट, लज्जाहीनता जस्ता व्यवहारहरूदेखि भावुकता, आनन्द अनि संचेतनाका व्यवहारहरू पनि कवितामा विषय बनेर आएका छन् । तर निराशाविरुद्ध आशाको खोजी अनि असत्विरुद्ध सत्को खोजी उनका कवितामा दृढतापूर्वक भएको देखिन्छ ।
जीवन र समाजसापेक्ष कवितालेखनले कवि चालिसेलाई प्रगतिशील कविका रुपमा उभ्याएको छ । उनका कतिपय कवितामा वर्गीय व्यवस्थाप्रतिको अस्वीकृति मुखरित भएको छ । शदीयौँदेखि समाजमा व्याप्त आर्थिक र सामाजिक असमानतालाई महत्वका साथ उनी कवितामा प्रस्तुत गर्दछन् । शोषण, विभेद र यसको दारुण एवम् कारुणिक असर उनका कवितामा अभिव्यञ्जित भएको हुन्छ । परम्परागत तरिकाको शोषणसँगसँगै परिवर्तित हुँदै गइरहेको शोषणका तौर तरिका र नवीन स्वरुप ग्रहण गर्दै गएका शोषकहरूका प्रवृत्तिहरू उनका कवितामा उधिनिनुले कविको समाजबोधलाई प्रष्ट पार्दछ । उपभोक्तावादले दिएका अभिशप्तताहरू र त्यसले उनीहरूको जीवनमा निम्त्याएका जटिलताहरू उनका कवितामा आएका हुनछन् । देशको जनउत्तरदायित्वहीन राजनीतिले यही शोषणलाई पुट दिएको उनको ठहर छ । एनजीओको पसल थापेर गर्ने गरिएको गरिबीको शोषणलाई पनि उनले आफ्ना कवितामा महत्वका साथ उठाएका छन् ।
उल्लिखित विषयवस्तुबाहेक चालिसेका कविताको आयाम राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्य विषयसम्म फैलिएको छ । उनका कवितामा देशको गौरवपूर्ण इतिहासको स्मरणमा वर्तमानमा हरेक हिसाबले खुम्चिनुको देश–पीडा बोल्दछ । साकार र निराकार, प्रत्यक्ष र परोक्ष विषयका विविध क्षेत्रआयामलाई पनि उनका कविताले स्पर्श गरेका छन् । नेपाली समाजमा पछिल्लो समय अत्यन्तै जल्दोबल्दोरुपमा उठेको राष्ट्रियताको आवाजलाई उनले पनि टिपेका छन् । मातृभूमि र परिवार प्रेम अनि कतिपय सामयिक घटना सन्दर्भहरूलाई पनि सकेसम्म उनले कविताको बोली दिएका छन् ।
कवि विदुर चालिसेका कविताको मूलस्वरुप एकै किसिमको छैन । वस्तु पक्षको विविधताले कवितामा व्यञ्जित हुने विचार पक्षमा पनि विविधता ल्याउनु अस्वभाविक पनि होइन । विषयगत विविधताले कविताको वैचारिक पक्षलाई पनि इन्द्रेणी रङ दिएको छ । उनी कतै प्रगतिवादी, प्रगतिशील देखिन्छन् भने कतै अस्तित्ववादी भएर जीवन र जगतलाई भविता र शून्यतामा विश्लेषण गर्दछन् । कतै भने जीवनको निस्सारता र शून्यतासितै सृष्टिको चक्र खोजिरहेका हुन्छन् । पूरै सङ्ग्रहलाई एउटा निश्चित वैचारिक आग्रह राखेर पढ्न खोज्ने पाठक यी आपसमा विरोधाभास वैचारिक पक्षहरूसित अलमलिन पनि सक्छ, तर मेरो विचारमा कविताको वस्तु र भाव पक्षसित स्वभाविकता गाँस्ने किसिमले चालिसेका कवितामा विचार पक्ष आएका हुनाले पाठकले विनाआग्रह यस सङ्ग्रहका कविताहरू पढ्दाचाहिँ यिनले न्याय पाउँछन् जस्तो लाग्छ । निश्चय नै लेखनमा वैचारिकताले ठूलो महत्व राख्दछ । कतिपय मानिसहरू कवितामा वैचारिक जडताको पक्षमा सदैव उही स्वरुपमा उभिएको पनि देखिन्छ । यो आग्रहले कवितालाई पूर्वनिर्धारित फ्रेमभित्र खालि शब्दमात्रै यताउति पारिएको लेखौट मात्रै बनाउने खतरा हुने मात्रै होइन, यो यसलाई यथार्थकै रुपमा पनि देखिएकै हो । एउटा कुरा सत्य हो कविले कवितामा स्थापित गर्न खोजेको विचार उसले जीवन र जगत्लाई हेर्नका लागि आफूभित्र जुन किसिमको दार्शनिक र वैचारिक चेतना निर्माण गरेको हुन्छ त्यहीँबाटै प्रादूर्भाव हुने हो । तर यसको मतलब यो पनि होइन कि कविता विचारको बोझले थिचिएर यसको सौन्दर्य नै भत्कियोस् । कवि चालिसे नेपाली कविताको यो रोगबाट सकेसम्म जोगिन खोजेका छन् । त्यसैले होला एउटै सङ्ग्रहभित्रका कविताहरूमा वैचारिक अनेकता पनि भेट्न सकिन्छ । मेरो विचारमा यो जडताको विपक्षको कुरा हो । यति विविधता हुँदाहुँदै पनि विदुर चालिसेका कविताहरूले समग्रमा प्रगतिशील जीवनदृष्टि बोकेका छन् ।
चालिसेका कविताको प्रस्तुति अलि पृथक् महसुस हुन्छ । दृश्यात्मकता चालिसेका कविताको मुख्य विशेषता लाग्छ । कवि चालिसे कविताको भावभूमिलाई चलायममान दृश्य बनाउँदछन् र बिट मार्ने बेलामा मात्रै त्यसमा हल्का वैचारिक–दार्शनिक रङ्ग घोल्दछन् । दृश्यहरूको वर्णन गर्ने उनको शैलीमा कतै कतै कवित्वलाई उनीभित्रको दार्शनिकताले जितेको पनि देखिन्छ । जे होस् नियमित देखिने वा भोगिने दृश्य अथवा घटनालाई उनी आम मानिसले जस्तो सहज, स्वभाविकरुपमा ग्रहण नगरी त्यसमा जीवन दर्शन अथवा भावनात्मक वैचारिकताको घोलेर आत्मबोधको सम्यक ज्ञान प्रकट गर्दछन् । उनी प्रायः द्रष्टा बनेर आफ्ना कवितामा पोखिन्छन् ।सामान्यतयाः त्यो द्रष्टा तटस्थ उभिँदाउभिँदै पनि त्यसले बिम्बात्मकरुपमा कहीँ न कहीँ जीवन दर्शनलाई अभिव्यक्त गर्न भने चुक्दैन । वर्तमानको ‘अब्जर्भेसन’ उनी प्रायः दार्शनिक आँखाबाट गर्दछन् । शैलीमा अतीत स्मरण अथवा अतीतमुखी प्रस्तुति चालिसेका कवितामा पाइन्छ । विभिन्न दृश्य र घटना अनि तीसँग जोडिएका अमूक पात्रहरूका जडता, भ्रष्टता, स्वार्थ, अन्धता, कुन्ठादेखि तिनका संवेदना–संवेदनाहीनताका अवस्थाहरूलाई चित्रात्मक रुपमा प्रस्तुत गर्छन् र कविताको उत्कर्षमा तिनले आफूमा जन्माएको प्रतिक्रियालाई व्यक्त गर्दछन्, जुन प्रतिक्रिया कवि चालिसेको कविताको मूलभावका रुपमा रुपान्तरित हुनपुग्दछ । कहिलेकाहीँ उनको कवित्वलाई उनीभित्रको दार्शनिक कविले बढी थिचेको पनि महसुस हुनसक्दछ जब कहिलेकाहीँ मूर्त विषयको प्रस्तुति पनि अमूर्ततातिर ढल्किन्छ । दुईटा अलग दृश्यलाई एउटै भावमा एकाकार गराउनु चालिसेको खुबी हो । त्यो यस्तो भइदिन्छ कि दुवै प्रसङ्ग, प्रवृत्ति र चरित्रलाई व्यतिरेक नगरी पाठकले एउटै संवेदनाले हेरिदिन्छ ः

भोकथ्यो गाउँमा, उजाड थे सब
फूलहरू फुल्थे पाखाभरि जतातता
आसुहरूबग्दथे चुलाहरूमा हरपल

चालिसेका कवितामा बिम्ब प्रतीकहरूको प्रयोग भरपूर छ । कवितामा शब्दविशेषलाई बिम्बात्मक स्वरुप दिनु नौलो कुरा पनि भएन । तर उनका कविता पूरै पङ्क्तिले नै भाषिक सौन्दर्यको दृष्टान्त प्रस्तुत गर्छन् अझ तिनलाई सँगसँगै लयात्मक स्वरुप पनि दिइने हुनाले तिनले कलात्मकतामा पनि बल पु¥याएका छन् ः

जलिरहेको फोटो हेरिरहेँथे,
त्यहाँ बा हुनुहुन्थेन, म पनि थिइनँ,
फरक थियौँ, जीवित र मृत मूर्दामा
तैपनि बाबु छोरा थियौँ नातामा ।
एकलास एकलासका लाश !

खाल्डो अरुका लागि खन्थ्यो
ऊ आफैँ पुरिन्थ्यो, पुरिइरहन्थ्यो
चलिरहन्थ्यो जीवन उसको श्रम

चालिसे मुक्त लयमा लेख्छन् । तर उनका कवितामा गद्यको कठोरता नभई कोमलताको प्राधान्यता पाउन सकिन्छ । उनका कविताका पङ्क्तिहरूभित्र भेटिने आन्तरिक लयको कुशल विधानले कवितालाई लयात्मक बनाइदिएको हुन्छ । चालिसे भित्रको कवि कोमल र शान्त रसले यति भरिपूर्ण छ कि विसङ्गत विषयवस्तुहरूमा पनि उनको लेखनीले आक्रोश व्यक्त गर्दैन । कुनै दृष्टान्त अथवा प्रतीकहरूमा मिसाएर उनी त्यसको विसङ्गत अवस्थालाई प्रस्तुत गर्छन् । मलाई लाग्छ, यो चालिसेको कविताको सबल पक्ष हो ।
चालिसेको कवित्वको प्रवाहमयताले देवकोटीय आशुकवित्वको छनक दिन्छ भने प्रस्तुतिले मोहन कोइरालालाई सम्झाउँछ । उनीभित्रको कवि भाव छचल्किँदैन त्यो गड्गडाएर निस्कन्छ । जसको फलस्वरुप कविताको योजनाविधानभन्दा बाहिरको आयामलाई पनि कविताले स्पर्शित गरिदिन्छ भने कतै एउटै कवितामा पनि वैचारिक असङ्गति पाठकले महसुस गर्न पनि सक्छन् भने कतै कतै मूर्त विषय र प्रस्तुतिलाई पनि अमूर्त अनुभूत गर्न सक्छन् । यसलाई कविदोष नभनी विदुर चालिसेको कविताको एउटा विशेषता भन्ने हैसियतमात्रै मसित छ ।
मलाई चालिसेको शब्दभन्डारले निकै प्रभावित बनाएको छ । शब्द चयन र प्रयोगका दृष्टिले उनमा मौलिकता पाइन्छ । कवि चालिसेसित पोखिनका लागि शब्दहरूको खानी नै छ भनेँ भने पनि अतिशयोक्ति हुन्छजस्तो लाग्दैन । शब्दको प्रयोगगत विविधता त छँदैछ, सँगसँगै उनी नेपाली मौलिक, झर्रा अनि आम मानिसका तर बिर्सिँदै गएका शब्दहरूको प्रचूर प्रयोग गर्दछन् । शायद भाषाविज्ञानको क्षेत्रगत ज्ञानले पनि होला उनमा शब्दहरूप्रतिको मोह देखिन्छ । अस्मिलो, पुर्खिनु, करेउली, अरेकली, डिबडिबे, फिलफिल, खगर, कन्दरा, ककारा, खराखर, घाटे, दाँवल, विगुत, पामर, मताव, बछेडा, सुद्धि, धतुरो, घटुवारे जस्ता शब्दहरूको निकै लामो सूची बन्न सक्छ जसलाई विदुर चालिसेले आफ्ना कवितामा प्रेमपूर्वक प्रयोग गरेका छन् । चालिसको कविताको पूर्ण भावमा कहीँ कतै पनि वैराग्यताप्रतिको प्रेम देखिँदैन, तर अध्यात्म, बैराग, शोक, शून्यता आदि बुझाउने शब्दहरूको सघन प्रयोग उनले गरेका छन् । खरानी, भिक्षा, धाम, डमरु, योगिनी, रागिनी, घाटे, बैरागी, बैरागिनी, दहन, साधक, शैतान, कैलाश, मन्दिर, शङ्ख यस्ता कतिपय शब्द र तिनलाई प्रतिनिधित्व गर्ने घटनाविशेषलाई हेर्दा शायद कविलाई कुनै विशेष घटनाले निकै गहिरोसित प्रभावित बनाएको छ (यो मेरो गलत अनुमान पनि हुनसक्छ ।) ।
साठीको दशकपछि नेपाली कविताको स्वरुप र स्वर दुवै बदलिएको छ । मेरो विश्वासमा साठीको दशकले नेपाली समाजको स्थिति र मनोविज्ञानमा ल्याएको ठूलो परिवर्तनसँगै अझ त्योभन्दा अझै अगाडि अगाडि नेपाली कविता हिँडिरहेको छ । त्यसो त कविता सदैव कवि बाँचेको समयभन्दा अलिक अगाडिको होस् नभए पनि युगजीवन सँगसँगै हिँडिरहोस् भन्ने मेरो चाहना हो । सामयिक नेपाली कविता आफ्नो समयसित पक्कै हिँडिरहेको छ, केही कविहरू समयभन्दा अगाडि पनि हिँडिरहेका छन् । मेरो अनुमानमा तीसको दशकतिर कविता लेखनमा प्रवेश गरेका विदुर चालिसे पनि समयको यो नूतन आवाजदेखि अदेख त छैनन्, उनका कवितामा पनि युग जीवनको बोली नै छ । तर पनि उनका कवितामा मैले भेटेको अलग विशेषताचाहिँ के भने उनी युगजीवनलाई पूर्व र उत्तर दुवै समयको आँखाले हेर्न चाहन्छन्, कवितामा कोरा यथार्थ अथवा कल्पनाको आवेगमा मात्रै सीमित नभई त्यसलाई दार्शनिक दृष्टि पनि दिन चाहन्छन् । सोझो भाषामा लेखिएका राजनीतिक नाराका कविता, सत्ताको भजन अथवा कुनै कोमलाङ्गीको कामुकता अनि यौनको उद्दात्त वर्णन गरिएका कविताको लोकप्रियता बजारमा ह्वात्तै बढिरहेको सन्दर्भमा त्यसका प्रशंसकहरू विदुर चालिसेका कवितालाई नाक खुम्च्याउन सक्छन् । तर कवितामा भावको गहिराइ, विचार र जीवनदृष्टिको गहनता अपेक्षा गर्नेहरूका लागि भने यो कविता सङ्ग्रहले निराश तुल्याउने छैन भन्ने कुरामा मचाहिँ विश्वस्त छु । किनभने यो मानिसहरूका लागि लेखिएको कविता हो । जस्तो कि बेलायती कवि एड्रियन मिचेल भन्छन् ‘प्रायः मानिसहरू धेरैजसो कवितालाई बेवास्ता गर्छन् किनभने तिनमा औसत मानिसलाई बेवास्ता गरिएको हुन्छ’ । चालिसेका कविताहरू मिचेलले औँल्याएको यो खतराबाट लगभग मुक्त छन् भन्ने मेरो बुझाइ छ ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु