वीरभद्र राजधानी पसेपछि

- डिल्लीप्रसाद अधिकारी

आफ्नो छाती धेरै विस्तृत पारेर
यो गाउँले तिमीलाई शहर पठाउँदा
गाउँका हरेक घडेरी बन्दकी परे
वीरभद्र! तिमी राजधानी पसेपछि
अनिकाल सहकालमा साटिन्छ
खडेरी लहलह शरदमा झुल्छ
अकाल मृत्यु स्वस्थ्य जीवनमा हाँस्छ
गाउँकै नाममा योजना फक्रिन्छ
गाउँलेहरूले यही आशा गरे
तिमी राजधानी पस्यौ
सुविधाको साम्राज्यमा तिमीले
तर हामीलाई बिर्सनसम्म बिर्सियौ
इञ्जिनियर भएर तिमीले
राजधानीमा अट्टालिका बनायौ
डाक्टर भएर वीरभद्र तिमीले
राजधानीमा ठूलो अस्पताल बनायौ
त्यहाँसम्म छिर्न सक्नलाई
हाम्रा गाउँलेको हैसियत छैन
शिक्षाका क्षेत्रमा तिमीले महङ्गो
वीरभद्र मेमोरियल स्कूल बनायौ
जहाँ पढ्न हाम्रा नानीहरूको
हैसियत भएर पनि सामर्थ्य छैन
गाउँका निम्ति कुलो बनिने रकम
गाउँका निम्ति पिउने पानीको बजेट
सडक खन्ने योजना
कहाँ खर्चिएर सकियो
राजधानी छिरेको वीरभद्र!
तिमीलाई नै राम्ररी थाहा छैन
हामीलाई भने यत्ति थाहा छ
गाउँमा अहिले पनि पिउने पानीको
समुचित व्यवस्था हुन सकेको छैन
हाम्रा सरकारी स्कूलमा
केटाकेटीले किताब पाएकै छैन
टीबी लागेको दलवीर बाजेले
उचित उपचार पाएको छैन
हामीलाई ठूला योजनाभन्दा
साना कामहरू चाहिएको छ
तर राजधानी पसेको वीरभद्र
अचेल ठूला कुरा गर्ने भएको छ।।

गाउँमा अहिले पनि त्यस्तै छ
मलामी पनि हामी जाँदैछौं
जन्ती पनि हामी रमाउँदैछौं
वैशाख आउँछ फूलभन्दा धेरै वृष्टि लिएर
असारमा आरू पनि पाक्छ
मुहान नफुटेर गाउँमा
खेतका गरामा धाँजा फाट्छ
नस्पाती पोहोरसम्म फल्दै थियो
यसपाली सबैतिर ट्रयाक्टर चल्छन्
ट्रिपरहरू कुदिरहन्छन्, निर्माण भइरहन्छ
तर खोलाले गति बिर्सेको छ
पानी कता लुक्यो लुक्यो
माछाहरू छटपटाइरहन्छन्
वीरभद्र! तिमी राजधानी पसेपछि
गाउँ अस्तव्यस्त छ
मराउमा, उत्सवमा, मेलापातमा
गाउँलेहरू सुख र चैनको
जिजिविशाहरूमा छटपटाउँछन्
तिमी त्यता राजधानीमा
बर्थ डे, डिनर र डिस्कोमा रमाउँदा
हामी यता गाउँको अन्तरमा
रोगको निदान मृत्यु कुरिरहेको
मधौरो पृथदोजलाई रुङ्छौं
बिस्ताह्रै टाडिदै गएको हाम्रो सम्बन्ध
परिचय हराएर कुन्नि को भइने
यो अन्योल बढिरहेछ वीरभद्र!
तिमी राजधानी पसेपछि हाम्रो आस्था
खिया लागेर सकिँदै छ।

कहिले त तिम्रो सन्देश लिएर
कति दलालहरू राँको बालेर
राती हाम्रो गाउँमा पस्छन्
हाम्रा आवश्यकता साना साना छन्
हाम्रा अभाव साना साना छन्
तर तिनीहरू ठूला कुरा गर्छन्
कुरा जब हाम्रो मिल्दै-मिल्दैन
अनेकताको विष पिलाएर
उनीहरू हामीलाई चिरा चिरा पार्छन्
त्यसैले वीरभद्र!
राजधानी गाउँमा रमाउन सक्दैन
रमायो पनि भने यो विस्फोटक हुन्छ
सलाम वीरभद्र!
राजधानी पसेपछि तिमीलाई
हामी बिर्सदै जाँदैछौं
हाम्रो सम्बन्धविच्छेदको यो दस्तावेज
कवितामा यसरी बोलिरहेछौं।।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु