एक सुन्दर उपन्यास:मञ्जूषा

- दीपक दर्शन

कथाकार तथा आख्यानकार सबु सुवेदीको पहिलो उपन्यास हो ‘मञ्जूषा’ । शिखा बुक्सले प्रकाशन गरेको यो उपन्यास युवा प्रेमको सफल प्रस्तुति हो । उपन्यास लेखनमा पहिलो प्रयास भए पनि सुवेदीको लेखन परिपक्व छ । उनको उपन्यासमा नयाँ लेखकमा देखिने कमजोरी सामान्यतः देखिएको छैन । सरल तर परिस्कृत, सहज तर मिठासपूर्ण, काल्पनिक तर यथार्थको पुट भएको मञ्जूषा परिकल्पना, भाषाशैली एवं प्रस्तुतिका दृष्टिले लोभलाग्दो छ । केन्द्रीयतामा प्रेम भए पनि उपन्यासले विविध सामाजिक विषयवस्तुमा स्पर्श गरेको छ ।
उपन्यासको भाषा सरल छ । समाजको यथार्थ कथावस्तुसँग लेखकीय परिकल्पना मेल खाएको छ । वर्तमान समाज एवं माओवादी द्वन्द्वकालीन समाजको तारतम्ययुक्त स्वाभाविक चित्रण छ । युवा एवं किशोर उमेरजनित प्रेम सम्बन्धका विविध पाटाहरूलाई केही स्वाभाविक अनि केही आदर्शको जलपका साथ केलाइएको छ ।
कथासार
साँच्चिकै तपाईंले पाँच जनासँग प्रेम गर्नुभयो ?’ कथा यसरी सुरु हुन्छ । शैली अँगालिएको छ पूर्वदीप्ति । पत्रकार रुपेशलाई आप्mनो भोगाइ पस्कन्छिन् मञ्जूषार्— अंग्रेजी साहित्यमा मास्टर्स सकियो । लभमा पीएचडीको शोधपत्र गरेँ, त्यसको नतिजा यही जिन्दगी हो ।’
मञ्जूषा थाकेकी छिन् पाँचजनाको प्रेमबाट, अघाएकी छिन् जीवनबाट । उपन्यास लेखिकाका रूपमा प्रसिद्धि कमाइसकेकी मञ्जूषा चुरोटको सर्कोसँगै जीवन उडाइदिने आत्मपीडक व्यंग्य निचोर्छिन्र्, प्रेमले मलाई स्ट्रङ र बेशर्म दुवै बनायो ।’
निम्न मध्यम परिवारकी मञ्जूषा जिल्लाकै सबैभन्दा राम्रो बोर्डिङ स्कुलमा पढाउँछिन् । दुई वर्ष भइसकेको छ पढाउन थालेको । स्कुल टाढा छ, साइकल चढेर जान्छिन् । तेस्रो वर्ष कक्षा एकमा पढाउने क्रममा एकजना विद्यार्थी नित्यमसँग स्नेह गाँसिन्छ उनको । नित्यम सम्पन्न परिवारको बालक । नित्यमकै माध्यमले उनको भेट हुन्छ नित्यमको अंकल विनोदसँग । भर्खरै किशोर वय पार गरेकी मञ्जुषाप्रति कुराकानी सुरु भएदेखि नै लोभिएको छ विनोद । विनोद नित्यमलाई ट्युसन पढाउन राजी तुल्याउँछ मञ्जुषालाई । आर्थिक भरथेगका लागि सुरु गर्छिन् पढाउन । विनोदले अनेक तिकडम लगाउँछ, विवाह गर्ने वाचा गर्छ, आप्mनी बूढी आमामार्फत भावनात्मक दबाब दिएर आफूसँग प्रेम गर्न बाध्य तुल्याउँछ विनोद र्। समाने शोभते प्रीति’ भन्ने कुरा बुझेकी भए पनि मञ्जुषा पग्लन्छे विनोदको तापमा । आशाको पंख लगाएर उड्छिन् सोझी मञ्जूषा । शारीरिक सुख लुट्छ पिपासु विनोद मञ्जूषाबाट । स्वार्थ पूरा भइसकेपछि परिपक्व नभइसकेकी मञ्जूषासँग टाढिन्छ विनोद । सपनाको सुन्दर संसार सजाएर बसेकी मञ्जूषामाथि सोच्नै नसकिने किसिमले घात गर्छ विनोद । स्कुलको जागिरसमेत छोड्नुपर्ने बनाउँछ, असीम कष्ट दिन्छ । मञ्जूषा सचेत हुँदाहुँदै पनि फस्छिन् विनोदको जालमा । बिना कुनै गल्ती सजाय भोग्छिन् मञ्जूषा ।
जनयुद्धकालीन समय छ । जताततै त्रास व्याप्त छ । मञ्जूषाको दोस्रो प्रेमी बनेर आइपुग्छ लडाकू सिद्धार्थ । सिद्धार्थलाई साँच्चिकै माया गर्छिन् मञ्जूषा पनि तर त्यो सुषुप्त छ । उनीहरूबीच बौद्धिक बहस हुन्छ । मञ्जूषाको तर्कमा दम देख्छ सिद्धार्थ । लडाकू जीवन छोडेर मञ्जूषासँग घरजम बसाउने चक्कर उसको पार्टीले थाहा पाउँछ । सिद्धार्थ मारिन्छ । भावनात्मक प्रेम फक्रन नपाउँदै निमोठिन्छ । मञ्जूषाको जीवनको दोस्रो प्रेमी, जो प्रेमका लागि पार्टीको गद्दारीको आरोप सहनसमेत तयार भयो । जमिन छेडेर नउम्रिँदै निमोठिएको बिरुवाझैं भयो दोस्रो प्रेम ।
तेस्रो प्रेमी छ गौरव । मञ्जूषाभन्दा कमजोर आर्थिक अवस्था भएको ड्राइभर गौरव मञ्जूषालाई बिहे नै नगरी आप्mनो बनाउँछ । आफ्नो हीन भावना प्रदर्शन गरेर भविष्यको सपनामा मञ्जूषाको सर्वस्व ग्रहण गर्छ । पैसा, बूढी आमाको सेवा अनि भावनाको दोहन सबै गर्छ गौरव । अनि मञ्जूषाकै प्रेरणा वा करबलमा भविष्य राम्रो बनाउने सपना बोकेर विदेसिएको गौरव सम्पर्कविहीन हुन्छ । दुवईमै फिलिपिनो केटीसँग घरजम गरेर बसेको खबर आइपुग्छ, ऊ मञ्जूषाको प्रेमले तानिएर नेपाल नफर्कने पक्कापक्की हुन्छ । गौरवकै विश्वासमा परेर उनले अमेरिकाबाट आएको सम्पन्न केटाको विवाहको प्रस्ताव अस्वीकार गरेकी हुन्छिन् । के थाहा गौरवबाट धोका हुन्छ भनेर !
मञ्जूषाको चौथो प्रेमी बनेर फेसबुकमार्फत जोडिन आइपुग्छ राजु । कतारमा थियो राजु । राजुसँग च्याटमा कुरा गर्दागर्दै उनीहरूबीच प्रेम बस्छ । राजुको प्रस्ताव स्वीकार गरेपछि चौथोपटक प्रेममा पर्छिन् मञ्जूषा । तीन महिनापछि राजु नेपाल फर्कन्छ । उनीहरू सँगै घुम्छन् पूर्वका सहर एवं पर्यटकीय स्थलहरू । यसबीचमा आएको बिहेको कुरा राजुकै कारण अस्वीकार गर्छिन् मञ्जूषा । तर एक दिन, राजुले गेस्टहाउसमा राखेर जबर्जस्ती यौनसम्बन्ध राख्न खोज्छ राजु । मञ्जूषा उसको मुखमा थुकेर फर्कन्छिन् । उसले पनि वासना शान्त पार्न मात्रै प्रेमको नाटक गरेको रहेछ । झल्याँस्स हुन्छिन् उनी । आखिरमा राजुले मञ्जूषाकै साथी प्रतीक्षासँग बिहे गर्छ ।
यसरी चारचारवटा प्रेम असफल भइसकेकी २७ वर्षीया मञ्जूषा काठमाडौं आउँछिन् । संघर्ष सुरु हुन्छ काठमाडौंमा । फेरि एकपटक प्रेममा पर्छिन् मञ्जूषा । हिरो बन्न संघर्षरत निगम मञ्जूषाकै कमाइ खाएर बस्छ, शारीरिक सुख लिन्छ, केही दिँदैन तर अधिकार जताउँछ । निगमकै लागि ऋणमा भासिएकी छिन् मञ्जूषा । एक दिन त मञ्जूषाकै कोठामा हिरोइन डिम्पलसँग सुतिरहेको रंगेहात फेला पार्छिन् मञ्जूषा । यो प्रेम सम्बन्ध पनि टुट्छ ।
यहाँनेर पत्रकार रुपेश र मञ्जूषाको वार्ता सकिन्छ । कथाले लिन्छ अर्कै गति । अब मञ्जूषा जीवन बुझ्ने भइसेकी छिन् । तर गन्तव्य टुंगो छैन । एक्लो छ जीवन । मञ्जूषा लेखिकाका रुपमा ख्यातिप्राप्त छिन् । चलचित्रका कथा लेख्छिन् । पढाउँछिन् । यद्यपि अब उनीसँग पैसा छ, प्रसिद्धि छ, सबथोक छ । तर .....अधूरो, अपूरो, केही खाली खाली छ उनको जीवन ।
विद्यार्थीहरूसँग मञ्जूषाको आत्मीय सम्बन्ध छ । जयस, हरीश, शेखर, चन्दन आदि खुलेरै जिस्कन्छन् उनीसँग । एकदिन एउटा केटो विपन आउँछ उनको जीवनमा । अनिताको प्रेममा विछोड बेहोरेको विपन अगाध प्रेम गर्छ मञ्जूषालाई । उमेरको फरक छ, तर प्रेममा सबकुछ जायज छ । उनीहरूबीच शारीरिक सम्बन्ध पनि गाँसिन्छ । भावनात्मक सम्बन्ध अझ प्रगाढ छ । यसबीचमा केही समय मञ्जूषाको पाँचौं प्रेमी निगमले दुःख दिन खोज्छ । अन्तमा सबै सेटल हुन्छ, निगम ठेगान लाग्छ । कुरा अघि बढ्छ विपनसँगै तर कसरी ?
अन्तमा मञ्जूषा भन्छिन्र्—मैले छैटौं प्रेम विपनसँग गरेकी थिएँ या थिइन । तर सबैभन्दा मीठो अनुभूति उसैसँग सम्हालेँ ।’ अनि त्यही रात, सँगै सुतेको विपनलाई एक्लै छाडेर गन्तव्यहीन बाटोमा लाग्छिन् मञ्जूषा ।
निष्कर्ष
समाजका सूक्ष्म पक्षलाई कथामार्फत सरल, सहज र सरस भाषाशैलीमा उतार्नु सबल लेखकीय पक्ष हो । उपन्यासको कथा नौलो नभए पनि शैली नौलो छ, सरलताको मिठास घोलिएको छ भाषामा । परिवेश स्वाभाविक छन् । पात्रविन्यास सामान्य छ । मूल कुरो त उपन्यासले कहीँ कतै रोकिन दिँदैन पाठकलाई । सरसर्ती अघि बढिरहन बाधा छैन । सलल्ल बगिरहन पाइन्छ जीवनका आरोह अवरोहहरूको साधारणीकरण गर्दै । हल्काफुल्का दर्शनका टुक्राहरूसँग साक्षात्कार गर्दै । यस अर्थले उपन्यास सफल छ ।
यसो भन्दैमा उपन्यासमा कहीँ कतै कुनै त्रुटि नै छैन भन्न सकिने अवस्था छैन । वर्णविन्यासगत त्रुटिहरू छन् तर कम मात्रामा । कथा प्रेमकै हो, यसमा पनि के के न नौलो होला भनेर अपेक्षा नगर्नु नै वेश होला । एउटा औसत एवं भनिआएकै कथालाई स्वाभाविकताको जामा पहिराएर नयाँ तरिकाले प्रस्तुत गर्नसक्नु उपन्यासकारको खुबी देखिन्छ । पहिलो प्रयासमै यो खालको उत्कृष्टता हेर्दा नेपाली साहित्य क्षेत्रले उपन्यासकारसँग ठूलै आशा राख्नसक्ने सम्भावना प्रचूर छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु