"याङसिला" उपन्यास भित्रको संसार

- प्रा. डा. के.आर. खम्बू

यसपल्ट त्रिवि शिक्षण पेशाबाट सेवानिवृत भइ सात समुन्द्र पारी साहित्यीक जीवन बिताइ रहनु भएका लेखक तथा उपन्यासकार प्रा.डा. हरिराज भट्टराईज्यूको एक पछिल्लो प्रकाशन उपन्यासको विद्युतीय प्रति मेरो गाउँले लेखनाथ भण्डारी भाइले पठाई दिनु भएको थियो ।
यो डा. भट्टराई ज्यूद्वारा लिखित ‘याङसिला’ नामक उपन्यास ३/ ४ महिना अघिनै पाइएको भए तापनि कार्यव्यस्तताले गर्दा तत्कालै पढ्न भ्याएको थिइन । तर यसलाई लामो बिदामा पड्ने सूचीमा राखेको थिएँ । यस उपन्यासलाई २०७५ को लामो गर्मीबिदा सुरु हुनसाथ खोल्न पुगेँ । जतिजति जेठ महिनाको गर्मी चर्किँदै जान्थ्यो, उतिउति याङशीलाको पन्नाहरू पल्टिदै जान्थे । हरफ हरफ, पन्ना पन्ना अनि अनुच्छेद गर्दै खण्ड १, २ गर्दै एकदिन खण्ड १३ वा १४ पुगेरै छाडियो । याङशीलामा मैले यात्रा, भूगोल, अनि भूगोलको पहिचान वनस्पति र प्राणीहरू, मानव समाज, समाज भित्रका परम्परा र अन्धविश्वाशहरू, जबरजस्त माया पीर्तिका सञ्जालहरू, त्यसबाट सृजिएका रोमाञ्चकारी रहस्यहरू, प्राकृतिक यौन मनोविज्ञानका कुण्ठा वा विकृतिहरू, जनसंस्कृति र राजसंस्कृतिहरू, अनुनय, विनय, आडम्बर र स्वाभिमानहरू आदि धेरै कुरा झालाक(झुलुक झुल्किँदै क्षितिजतिर बिलाएका पाएँ ।
उपन्यासको पृष्ठभूमि नेपालको राजधानी देखि पूर्वाञ्चल हुँदै चीनको ल्हाशा र चीनको राजधानी बेजिङ लाई लिइएको छ । कथा नेपालका प्राचीन एक शिल्पकार अरनिको चीनमा नेपाली वास्तुकला प्रचार गर्न गएको ऐतिहासिक पृष्ठभूमिलाई लिइएको जस्तो देखिन्छ तर यो कति प्रमाणित कुरो हो भन्ने कुरा इतिहासबिदहरू नै जानून् । यहाँ बखान गरिएको कलाकारहरूका क्रियाकलाप प्राचीन भनी हाल्न नमिल्ला जस्तो देखिन्छ । कलाकार अरनिको भूमिकामा पञ्चसरलाई लिइएको होकि जस्तोपनि लाग्दैन । अर्कै फ्यान्टासी औपन्यासिक धारमा बगेको अनुभूति हुन्छ ।
यस याङसिला उपन्यासमा नेपाली कलाकारहरूको एक टोली महाचीनको सम्राट टिमुर खाँको निमन्त्रणामा नेपाल सरकारको तर्फबाट प्राचिन प्यागोडा शैलीको दरबार बनाउन महाचीन पठाइएको प्रसङ्गबाट प्रारम्भ हुन्छ । औपन्यासिक पात्रहरू नेपालबाट जानेमा पञ्चसर, मौनी,गुइठे, धने, जोखे, क्यातुके, नाम्चे, होक्से, बिरसे, जन्तरे आदि हुन् भने चीन तर्फकामेलम्ची, याङशीला, ओमु, केरुङ, तोला,जिमू, कान्छा लामा, वाङ्दि आदि हुन् । लेककले ती ११ जना कर्मीहरूको छनौट नेपालका जाति र जनजातिहरूको प्रतिनिधित्व गर्ने गरी गरिएको जस्तो भान हुन्छ । तर नाम भने मौनी बाहेक अरूका पहाडी गाउँले सामाजिक जीवनमा विशेषण जोडिएको पाइन्छ, जस्तै गुँइठे,जोखे आदि ।
समीक्षात्मक कथा यस्तो छः ( पञ्चसरको नेतृत्वमा रहेको ११ सदस्यीय कलाकार कर्मी टोली सप्तकोशीको किनारामा एक्कासि देखा पर्छ । उक्त टोली बिचको केहि वार्ता सुन्दा उक्त टोली कान्तिपुरबाट आएको भन्ने बुझिन्छ । सप्टकोसी तरेपछि उक्त टोली दुई भागमा बाडिदै एक टोली पञ्चसरको नेतृत्वमा मौनी सहित धरानको बुढासुब्बातर्फ लाग्छ भने बाँकी ९ सदस्यीय कर्मी टोली तमुर खोलैखोला ओलाङ्चुङगोलातर्फ लाग्छ । मौनी वाणीहिन हुन्छ तर उ पाटीमा लेखेर आफ्नो मनोभाव दोहोरो अभिव्यक्त गर्न सक्छस अर्थात् उ उक्त टोलीको बुद्धिजीवी वा ब्रेनबक्स झैँ देखिन्न्छ । पञ्चसर र मौनी विजयपुरको बुढासुब्बाको दर्शन गरेर साँगुरी भन्ज्याङ हुँदै मुलघाट तरेर हिले-तिनजुरेतिर लाग्छन् । तीनजुरे मिल्के भञ्ज्याङको प्राकृतिक स्वरूपको खुब व्याख्यान गरिएको पाइन्छ ।अनि गुफापोखरी वा सिद्धपोखरीको किम्बदन्तीबाट सृजिएको फ्यान्टासी भित्र लेखक निकै अलमलिन्छन् । अन्तमा मेन्छायम डाडाको किम्बदन्तीभित्र लेखकले दुई यात्रुहरूलाई निकैबेर विचरण गराउँछन् । किरात लिम्बू संस्कृति र परम्परालाई देखाउने उदाहरण स्वरूप गाउँमा आएको दुई यात्रू पाहुनालाई स्वागत मात्र होइन गाउँकी अनाथ दुई अबोध बालिकाहरू (सिजहाङ र सानजाङ) यात्रु मौनीलाई अर्पन वा चढाइएको अनौठो संस्कारको प्रसङ्ग यहाँ उल्लेख गरिएको देखिन्छ । यो त्यस बेलाको जनश्रूतीमा आधारित हो वा होइन सोही लिम्बु जनजातिहरूले भन्न सक्लान, तर यस्ता किम्बदन्ती मलाई थाहा नभएकोले बोल्ने साहस गरिन ।
त्यसपछि ताप्लेजुङ लेलेप हुँदै दुई सदस्यीय यात्रु टोली ओलाङ्चुङतिर लाग्छ । तर अघिल्लो टोली त्यहाँबाट भोटतिर लागी सकेको हुन्छ । तसर्थ उक्त टोली पनि उतैतिर सोझिन्छ । ल्हासा पुगेपछि मात्र सप्तकोशीबाट छुटेका अन्य साथीहरूसँग हरि र मौनीको भेट हुन्छ । त्यहाँबाट भने एक औपचारिक कर्मी टोली भइ चीनको राजधानी बेजिङतर्फ लाग्छ । यो टोली राजधानी पुगेपछि सम्म्राट टिमुर खाँले मेलम्ची नामक एक सरकारी कर्मचारीलाई सहयोगको लागि जिम्मा लगाइन्छ । मेलम्चीले एघार सदस्यीय कर्मी टोलीको सहयोगको लागि एघारै वटी चिनियाँ युवतीहरू व्यवस्था गरी दिन्छिन् ।
त्यसपछि भने मेलम्ची र पञ्चसरको नेतृत्वमा पहिलो प्यागोडा शैलीको दरबार बनाइन्छ, तर राजाले उक्त दरबार मनपराएको बहना गर्दै जनताको नाममा अर्पिन्छन् । अनि आफ्नो चित्त बुझाउन अर्को दरबार बनाउन आदेश गरिन्छ ।
दोस्रो पल्ट दरबार बनाउँदा कर्मीहरू त्यति जाँगरिला वा उत्साही देखिन्न । उनीहरूलाई आफ्नो गर गाउँको सम्झना आउन थाल्छ । यही बीच मेलम्ची र पन्चसर दरबार बनाउने ठाउँ खोज्न टाढा गाउँतिर लाग्छन् । ओमु पनि मौनीको उपचार गर्न अर्कैतिर लाग्छे । यसै बीच बाँकी कर्मीहरू बस्ने आवाश गृहमा जघन्य यौन अपराध भएको देखाइन्छ र एकजना जोखे नामक कर्मीलाई वलत्कार गरेको आरोप प्रमाणित भएकोले मृत्यु डण्ड दिइन्छ । त्यसपछि, बाकी कर्मीहरूलाई तुरुन्त फिर्ता पठाइन्छ ।
मौनी र पञ्चसर भने आवास बाहिर भएकोले छाडिएका देखिन्छन् । त्यसपछि मौनी र ओमु आफ्नो समस्या राजासँग राख्न दरबार जान्छन् । उनिहरू दरबार पुग्ने बेलामा बाटैमा ठूलो प्राकृतिक प्रकोप हुरी आँधीमा परेको देखाइन्छ तर बचेर घर फर्के कि फर्केन केही खुलाएको छैन ।
अपितु दोस्रो दरबार निर्माणपछि राजाले प्रवेश गर्न अघि नेपाल भ्रमण गर्न चाहन्छन् । यो अवधिमा मेलम्ची रहस्यमय तरिकाले हराउँछिन् । राजाको औपचारिक भ्रमण तय भएपछि पञ्चसर टिमुरखालाई नेपाल लिएर आउँदा ल्हासामा माहा(प्राकृतिक प्रकोपमा परेको देखाइन्छ । अचानक सारा सहरमा ठूलो ङ्कट आइ पर्दा मानिसहरू ज्यान बचाउँन भागाभाग हुन्छन् । । यहिक्रममा पञ्चसर पनि ज्यान बचाउन आस्रयको लाघि गुम्बा जाँदा नाटकीय रूपमा याङसीलासँग भेटहुन्छ । केही गनथन चल्दाचल्दै अचानक पुनः मेलम्चीसँग पनि गुम्बामै भेटेको देखाइन्छ । त्यसपछि ती दुबै युवतीलाई गुम्बाको लामाले पञ्चसरसँग बिहा गरी दिइ आशिर्वाद दिदै बिदा गर्छन् । अनि ती पन्चसर दुई पत्नी सहित काठमाडौं भित्रीएको प्रसङ्गसँगै उपन्यास टुङ्गाइएको छ । बस यति हो कथा बस्तु ।
मैले यो पुस्तक अध्ययन गर्दा खट्किएका केही कुराहरूमा पहिलो खण्डमा अत्यधिक संस्कृत शब्द वा वाक्य प्रयोग गरिएकोले यति क्लिष्ट भएको छ की साधारण नेपाली पाठकले बुझ्न गारो पर्छ । तर एकचौथाइ भागमा भने साधारण नेपाली प्रयोग गरिएकोले बुझ्न सरल बनेको छ । कहिकहि झर्रो नेपाली शब्दहरू पनि पढ्न पाउँदा मौलिक आख्यान जस्तो पनि लाग्छ । अर्को तिर नेपाली आदिम नारी र चिनियाँ नारीहरूको संस्कार परम्पराको प्रसङ्गको चित्रण देख्दा विश्वेश्वर कोइरालाको सुम्नीमा उपन्यासलाई पनि उछिनेको देखिन्छ । मनोवार्ता वा आत्मरती यस उपन्यासका जलप बनेका छन् ।
मैले सुने बमोजिम तिब्बती संस्कृतिमा बहुपति प्रथा(पोलिएन्ड्री) हुन्छ तर गुम्बामा बिहा गर्दा बहुपत्नी(पोलिगाइनी)संस्कार अनुसार लामाले कसरी बिहा गरिदिँदै नेपाल पठाए होलान भन्ने जिज्ञाशा काँचै रहन्छ ।
तर यस्ता केही कुराहरू बाहेक उपन्यासका अन्य कुराहरू जस्तै भौगोलिक वर्णन, प्रकृतिको चित्रण, मेलम्ची जस्ती बुद्धिमान, कुशल नेत्री आँटी र साहसी नारी र मौनी जस्ता वाणिहिन भए तापनि चाणक्य जस्तै हरेक अप्ठ्यारामा तत्कालै उपाय रच्न सक्ने बुद्धिमान पात्रहरूका चरित्रहरू भने अनुकरणीय छन्, सम्झन लायक छन् ।हरेक घटना एकपछि अर्को रहस्यमयिक तरिकालेआउने हुनाले पढ्न सुरू गरेपछि नसकि बस्न मन लाग्दैन । यो यस पुस्तकको एउटा अनुपम विशेषता हो । क्लिस्ट शब्दावलीका बावजुत पनि पाठकलाई आकर्षन गरीरहन लेखक सफल बनेका छन् ।
यस उपन्यासमा नारी पात्रहरू मध्य मुख्य भूमिका याङसीलाको नभएर मेलम्चीको देखिन्छ । यसर्थ पुस्तकको शीर्षक पनि मेलम्ची राखेको भए राम्रो हुने थियो । तर याङसिला नेपालमै जन्मी चिनमा हुर्केकी चेली भएकीले सायद लेखकले यो नाम जुराए होलान् । समग्रमाम जस्तो कोरा पाठकले धेरै भन्नु मेरो अनुशासन भन्दाबाहिरको कुरा हो । मैले सिधै पढेर सिधै भनुभूति उकेलेको मात्र हुँ ।
अन्त्यमा पुस्तक लेखक प्रा.डा. भट्टराई ज्यूलाई यति बृहत आख्यान सहितको उपन्यास हामी समक्ष ल्याउनु भएकोमा हार्दिक बधाई तथा उहाँकै भनाई अनुसार नेपाली साहित्य जगतमा महाकवि देवकोटाको मुनामदन पछि भोट चीनसँग जोडिएको यो दोस्रो साहित्यीक कीर्ती बनोस् भन्नु भएझैँ उहाँको सदिच्छा पुगोस्, यही मेरो शुभकामना छ । यसैगरी मलाई यो पुस्तकको इलेक्ट्रनिक भर्सन पठाइ दिने भाइ लेखनाथलाई मुरी-मुरी धन्यवाद ।

भद्रपुर, झापा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 14 श्रावण, 2075

लेखकका अन्य रचनाहरु