दशगजापारिको यात्रा...

- अर्जुन यावा

सन् 2013-मा पहिलोपल्ट साहित्यिक यात्रामा काठमाडौं पुगेपछि 2017-मा दोस्रोपल्ट पोखरा पुगेका थियौं। सगरमाथाकै सम्मुख धम्पुससम्म। बेलाबखत नेपाल यात्रामा पुगिरहेको मेरो निम्ति 10 र 11 जुलाई 2018-को यात्रा तेस्रो साहित्यिक यात्रा थियो। यसपटक म र मेरा अग्रज साहित्यकार श्री युवा बराल पुगेका थियौं दमक। हप्ता-दशदिन अघि नै हुनुपर्छ रातको 9.30 बजीतिर कवि एवं पत्रकार दाजु अम्बर लाछिकाठीले फोन गरेर ‘औ..., प्रवीणजीले फोन गरेको छैन होला। यो पाली दमक जानुपर्छ है। सिक्किमका साथीहरूलाई साहित्यिक निम्तो छ। चिया-कविताले साथीहरूलाई पालैसित पठाउने सोचेको छ’ भन्नुभएको थियो। भर्खरै आफ्नो चौथो कृति ‘छिचिमिरा’ कथासंग्रह लोकार्पण गराइसक्नु भएका श्री युवा बराल दाजुसित दुई-तीन दिनसम्म सम्पर्क हुन सकेको थिएन। उहाँको घर बिरिङ, पूर्व सिक्किममा। बेलाबखतको बसाई राजधानी गान्तोकमा। सरकारी नोकरीले गर्दा धेरैजसो बसाई चुङ्थाङ उत्तर सिक्किममा। त्यसैले व्यस्त उहाँ। पछि सम्पर्क भयो। जाने पक्का भइहालेको थिएन। जुलाई 7 तारिक नै होला, सल्लाह भयो हामीबीच 9 जुलाईको दिन सिलगढ़ी गएर बस्ने। भोलिपल्ट सिलगढ़ीबाट दमक हानिने। 8 जुलाईको दिन फोन आयो बराल दाजुको। घरेलु समस्याका कारण 10 तारिक सिलगढ़ीमै भेटने सल्लाह भयो।
.....
सिलगढ़ी पुगेँ 9 जुलाईको दिन। मित्र सुरज ‘रोसुरि’-ज्यूसित भेट भयो भेगा सर्कलमा। पेशाले पत्रकार उनी स्वयं एक असल कवि। 12 जुलाईमा काठमाडौं जाने भन्नुहुँदैथियो। उहाँसितको मेरो काम सिद्याएपछि साँझमा पुगेँ ज्ञानज्योति मोड़, सालबारी, सिलगढ़ी। वरिष्ठ साहित्यकार श्री कालुसिंह रनपहेंलीको निवासस्थानमा। बराल दाजुले पठाउनुभएको ‘छिचिमिरा’ हात लगाएँ। निकै रातिसम्म धेरै कुरा भयो। त्यसपछि उहाँ भोलिको कार्यक्रमको निम्ति तयारीमा लाग्नुभयो। म पढ़न थालेँ रुवाई। बिहान रनपहेंली सर लाग्नुभयो आफ्नै जन्मथलो लाटपञ्चरमा आयोजन भइरहेको साहित्यिक कार्यक्रमतिर। म निस्किएँ दमक यात्रामा। बराल दाजुसित बारम्बार फोनसम्पर्क भइरहेकै थियो। काकरभिट्टामा भेट्ने सल्लाह थियो। बाटोमा जाँदैगर्दा फेरि पानीट्याङ्कीमै भेट्ने सल्लाह भयो। पानीट्याङ्की पुगेर थोरै प्रयास गरिन फोन लगाउन। पटक्कै लागे पो त।
बल्ल आइपुग्नुभयो। गाड़ीबाट ओर्लनेबित्तिकै भन्नुभयो- ‘ट्राफिक जाममा फसेर नि हौ भाइ...।’
त्यसपछि लाग्यौं रिक्सा चढ़ेर पारीतिर। मेची तर्दैगर्दा दाजु निक्कै भावुक देखिनुभएको थियो। थोरै मुस्कुराई रहनुभएको दाजुसितै थिएँ म। ‘यतिबेला म कस्तो देखिएको छु होला नि...?’ प्रश्‍न गरेँ आफैसित अनि ओंठ चुच्चो नपारी हानीदिएँ एक शेल्फी, आफैलाई हेर्न। हेरेँ अनि देखाएँ दाजुलाई पनि फोटो। थोरै हाँसेका थियौं दुवै। पुल तरेपछि हाम्रो देब्रेतिरको थोरै उक्कालोमा रिक्साचालकले भुइँमा झरेर एउटा हातले स्ट्रिङ अर्को हातले रिक्साको सीटमा समाएर सक्दो बल निकालेर रिक्सा तानिरहेका थिए। वास्तवमा रिक्सा होइन उनले हामीलाई तानिरहेका थिए। सायद त्यसो पनि होइन। उनलाई व्यावसायले तनाइरहेको थियो।
यतिबेला हाम्रो छाँया हामीले देखिरहेका थिएनौं। हाम्रो टाउकोको ठीक माथि थियो घाम। पछ्याइरहेको हामीलाई नै। रिक्सा चालकको हात, पाखुरा, निधारको छेउ हुँदै चल्नीतिर फुल्लिरहेका थिए शरीरका नशाहरू। दाँयातिरबाट हाम्रो देब्रेतिर बगिहरेको मेचीजस्तै उनको निधार र गर्धनबाट उँधोतिर बगिरहेका थिए पसिनाका धाराहरू। धर्सा-धर्सा परेर। रिक्सा गुड़िरहेको थियो। रिक्सामा हामी दुई थियौं। साथमा थियो आ-आफ्नो ब्याग। रिक्सामा पनि हामीलाई बाहिरतिरबाट आइरहेको तातो हावाले असजिलो बनाइदिइरहेको थियो। हामी चढ़ेको रिक्सा तानिरहेका उनलाई कस्तो भइरहेको थियोहोला? त्यो उनैलाई भन्दा राम्ररी अरुलाई कसरी थाहा हुनसक्छ?
‘दाजु, हेर्नुस न। विचरा यस्तो गर्मी छ। उक्कालोमा यसरी पसिनासरि हुँदै तानेको देख्दा त रिक्सा चढ़नु पनि पापैजस्तो लाग्छ।’
मेरो कुराले दाजु थोरै मुस्कुराउनुभयो र भन्नुभयो- ‘हो नि भाइ। तपाईं-हामी साहित्यमा रुची राख्ने मान्छे। अरुको दुःख-कष्टले छिट्टो बिझाउँछ।’
फेरि भनेँ- ‘यो पनि सर्प र भ्यागुताको कथा जस्तै नि दाजु?’
दाजुले बुझ्नुभयो अनि भन्नुभयो- ‘हो नि भाइ।’ अनि थोरै मुस्कुराउनुभयो। साँच्ची, मैले युवा दाजुलाई धेरैजसो मुस्काइरहेको मात्र देखेको छु, अहिलेसम्मका भेटहरूमा। उहाँ नमुस्काएको समय कस्तो देखिनुहुन्छ होला, अर्थात रिसाएको क्षण? अहिले सोचिरहेछु।
‘रिक्सामा चढ्दा पनि यस्तो पसिनासरि भएको बिजोग हेर्नुपर्छ। माया लाग्छ।’ अघिकै प्रसंगमा भनेँ मैले ‘नचढ्नु पनि फेरि उहाँहरूको रोजगारी नै त्यही हो। हामी नचढ़नु भनेको पनि त उहाँहरूको पेट मार्नु जत्तिकै लाग्छ...।’
काकरभिट्टा नपुगेको धेरै भएछ भन्ने भन्सारमा नेपाल जाने र भारत आउनेहरूको देब्रे र दाहिनेतिर अलग-अलग बाटो छुट्याइएको देखेपछि थाहा भयो। सामाजिक सञ्जालद्वारा सम्पर्कमा हुनुहुन्थ्यो दिदी जीविका अश्रु। बराल दाजुसित ‘म पर्खिरहन्छु, एघार बजीसम्म आइपुग्नुहोला’ भन्नुभएको रहेछ। भन्सारमा जाँचको निम्ति देखायौं आ-आफ्नो ब्याग, अनि पस्यौं नेपाल।
.....
दमक पुगेर बसबाट ओर्लिँदा दिउँसो सायद दुई बज्न लागेको थियो। ‘दमक साहित्य-कला महोत्सव 2075’-को आयोजक साहित्य कला संगम, दमकका कोही पनि सदस्यसित सम्पर्क गर्न सकेका थिएनौं। तर, गान्तोकबाट प्रस्थान हुनअघि नै हामी चनाखो बनेर कार्यक्रम स्थलको जानकारी राखेका थियौं। प्रवीण खालिङज्यू र अम्बर लाछिकाठी दाजुले जीविका दिदीको नेपालको मोबाइल नम्बर पनि दिनुभएको थियो। गजलकार श्री अनिल फागोको पनि मोबाइल नम्बर दिँदै हाम्रो निम्ति उहाँले नै छुट्टै बस्ने व्यवस्था गरिदिनुहुने जानकारी पाएपछि हामी मख्खै थियौं। दमकमा बसबाट ओर्लिएपछि सिटी सफारी चढ़ेर पुग्यौं कार्यक्रमस्थल सेतुमारी रोडस्थित होटल कात्यायनी इन। पुगेर थाहा भयो, हामी कति चनाखो थियौं। कार्यक्रम स्थल सिद्धार्थ बोर्डिङ स्कूलमा सारिएको रहेछ। सिटी सफारी चालकलाई फरक्क फर्काएर उतै पुग्यौं। उनकै मोबाइल पनि यतिबेला प्रयोग गरेका थियौं हामीले।
कार्यक्रम स्थल पुग्दा गेटैमा भेट्यौं गजलकार श्री पुष्प अञ्जली दम्पति। उहाँहरू जहिल्यै जहाँ जाँदा पनि सँगै देखिन्छन्। सिक्किममा सँगै। असममा सँगै। नेपालमा त सँगै नदेखिने कुरै आएन। खुब मिलेको जोड़ी, उत्तिकै मिलनसार पनि। उहाँलाई नै भनेर जीविका दिदीसित सम्पर्क गर्‍यौं। माइधारतिर निस्किसक्नुभएको रहेछ। आइपुग्न समय लाग्ने थाहा भयो। ‘गजल साँझ’ बेलुकी 5 बजीदेखि मात्रै थियो। त्यसैले पुष्प दाई-भाउजु लाग्नुभयो कोठातिर। हामी लाग्यौं कार्यक्रम सञ्चालित भवनतिर। गेट छिर्‍यौं। हलबाहिर थिए नेपाल र भारततिरका साहित्यकारहरू। कोही फोटो खिचिरहेका र खिचाइरहेका। कोही क्यामेरामा अन्तर्वार्ता लिइरहेका, दिइरहेका। नाम थाहा नभए पनि आयोजक समिति सदस्यहरूलाई परिचय-पत्र आ-आफ्नो छातीमा झुण्ड्याइएका हुनाले खोजीरहनु परेन। एकजनालाई भन्यौं- ‘हामी सिक्किमबाट आएका। दुईजना छौं।’ सायद नरपति पाण्डे हुनुहुन्थ्यो। आयोजक संस्थाका अध्यक्ष। आगन्तुकहरूका लागि भनेर पूर्वतय गरिएको कोठा अथवा होटलसम्म पुग्न चाहन्थ्यौं हामी। उहाँले सिधै कार्यक्रम चलिरहेको हल देखाउनुभयो। भित्र चलिरहेको थियो भाषिक कार्यशाला तथा साहित्य संगोष्ठी। निक्कै ठूलो प्रोग्राम हल। चार-पाँचसय मानिसहरू अटाउने। हलभित्र लगभग 20 देखि 25 प्रतिशत दर्शक-श्रोताहरू। पहाडबाट मधेश झरेका हामीलाई निक्कै गर्मी भइरहेको थियो। एकाबिहानैदेखिको यात्राले थकाइरहेको पनि।
‘पहिला रूम पुग्न पाए केहीक्षण थकान मेटाउनु हुन्थ्यो, नि भाइ...?’ बराल दाजुले भन्नुभयो। तर, पसिनासरि हामी पसेका थियौं कार्यक्रम हेर्न। अझै गर्मी। केहीक्षणमा निस्कियौं। हलमा भित्रिनअघि हामीले भेटेकाहरूसित फेरि भेट्यौं। नेपालकै साहित्यकार एवं सञ्चारकर्मी श्री घनश्याम पथिक, पत्रकार-साहित्यकार, रंगकर्मी श्री भुपेन्द्र तिम्सिना र अरुहरू। भारततिरबाट मणिपुरका राहुल राई ‘बोगिको’, बुद्धि सुवेदी, असमबाट विष्णु शास्त्री, सिलगढीबाट मुक्ति उपाध्याय र अरुहरू भेटेका थियौं। उहाँहरूको गलामा मोटा-मोटा रुद्राक्षको माला देख्दा एकप्रकार कस्तो-कस्तो लागेको थियो। कौतुहल थियो, किन लगाएका हुन् सबैले एकैप्रकारको माला? तर, खोजी गरिएन। एउटा सेल्फी लिएका थियौं हामीले। देब्रेछेउमा म। दाहिनेछेउमा बोगिको साथी। मेरोछेउमा बुद्धि सुवेदी। बोगिको साथीको छेउमा बराल दाजु। सेल्फी लिइसक्दा-नसक्दा बोगिको साथी लाग्नुभयो अर्को समूहसितको फोटोग्राफीका लागि। मोबाइलमा फोटो हेरेँ। बोगिको साथी र म दुई छेउमा थियौं। आधि-आधिपाटो मात्र निस्किएछ अनुहार दुवैको।
आयोजकहरूलाई फेरि खोज्यौं। सायद सबै व्यस्त थिए। एकजनासित फेरि कोठा जाने कुरा राख्यौं। एकैक्षण पर्खिने आग्रह भयो। त्यसपछि उहाँलाई देखिएन। कता हराउनु भयो-भयो। सायद हामीजस्तै धेरैजनाले धेरै कुराहरू सोधीरहेका थिए। त्यसैले धेरै व्यस्त हुनुहुन्थ्यो। मोबाइल सीम पाउन सकिन्छ कि, केही व्यवस्था होला कि भन्ने आशा थियो। नहुने भयो। गेटबाहिर निस्कियौं। तल्लोपटि थियो एउटा दोकान। सोध्यौं सीमकार्डबारे। पहिलाजस्तो नेपाल नागरिकता र फोटोबिना नमिल्ने रहेछ। दोकानअघि भेटिएका भाइसित निकै समय बितायौं गफ गरेर। सिक्किमतिर पहिल्यै आएका रहेछन् उनी।
‘केहीबेर बजारतिर गएर आउँ होइन भाइ? खाजा पनि खानुपर्ला।’ बराल दाजुको प्रस्ताव थियो। तर त्यसो गरेनौं। फर्कियौं गेटभित्र। दिउँसोको कार्यक्रम सकिएछ। सबै बाहिरिँदै थिए। अनिल फागोज्यूसित पहिले भेट भएको थिएन। निकैपटकको प्रयासपछि फोन सम्पर्क भयो। बेलुकी 4.30 बजीमात्रै आइपुग्नुहुने जानकारी पायौं। अब कोठा पुग्नलाई जीविका अश्रु दिदी नपर्खी नहुने पक्कापक्की थियो। त्यस्तै भयो।
.....
दिदी आइपुग्नुभयो। सिक्किमबाटै पहिले नै आफ्नो जन्मथलो पुग्नुभएकी धेरै गजलकार भनेर चिनिने जीविका दिदी दमकमा अहिले कवि भएर आइपुग्नु भएको थियो। हाम्रो निम्ति भने अभिभावक र आयोजक। सिटी होटल पुग्यौं। कोठा खाली थिएन। सम्पर्क गर्नुभयो कसैलाई उहाँले। त्यसपछि सिटी होटलका एकजना भाइले पुर्‍याउनुभयो छेवैको सेन्ट्रल होटलमा। बेलुकी फेरि जानुथियो गजल साँझमा सहभागि बन्न।
जगलकार अश्रु दिदी गजल साँझ नउम्काउँ भन्ने ध्येयमा हुनुहुन्थ्यो। दिउँसै भेट भएको थियो दार्जीलिङबाट आउनु भएकी वरिष्ठ साहित्यकार विन्द्या सुब्बा गुरुमा र उहाँसितै खरसाङबाट आउनुभएकी उषाकिरण दिदी। साँझ 6 बजीसकेको थियो। उषाकिरण दिदी दमक आइपुग्दैदेखि अस्वस्थ हुनुहुन्छ भन्ने सुनेका थियौं। यतिबेलासम्म उहाँहरूका लागि कोठा दिइएको रहेनछ। दशगजापारिकाहरूका संयोजक हुनुहुन्थ्यो श्री दीपक सुवेदी। विन्द्या गुरुमा र उषाकिरण दिदीको लागि कोठा मिलाइदिन्छु भनेर निस्कनु भएको थियो। उहाँलाई भोलिपल्टसम्म देखिएन। सायद उहाँ पनि कतै व्यस्त बन्नुभयो। त्यसैले अश्रु दिदी नै अभिभावक उहाँहरूका लागि पनि यतिबेला। दिदीकै कोठामा आराम गरिरहनुभएको थियो विन्द्या गुरुमा र उषाकिरण दिदी। यतिबेलासम्म दिदीलाई निक्कै गाह्रो भइरहेको थियो। आयोजकलाई घरिघरि सम्पर्क गरिँदै थियो। तर भनेजस्तो प्रतिक्रिया थिएन। जीविका दिदी यतिबेला क-कसलाई हो फोनमै निक्कै थर्काइरहनु भएको थियो। कसो-कसो गरेर सिटी होटलको ठीक अघिल्तिरको अर्को होटलमा एउटा कोठाको व्यवस्था गरिदिनुभयो। अश्रु दिदी स्वयंले आङभार लिएर। भन्नुभयो- ‘एउटा कोठा मिलाइदिनुस्। आयोजकले तिर्छ पैसा। तिरेनन् भने म तिराउँछु।’ बल्ल कोठा मिल्यो। बराल दाजु औषधि-पानीको व्यवस्थामा व्यस्त हुनुहुन्थ्यो।
झमक्क साँझ परिसकेको थियो। उता, सिद्धार्थ बोर्डिङ स्कूलको हलमा गजल साँझ जमिसकेको खबर आइसकेको थियो। त्यसैले जीविका दिदी सशरीर हामीसितै हुनुहुन्थ्यो तर भित्रभित्रै भुट्भुटिरहनु भएको थियो। बराल दाजु यही बेला केही औषधि र एक बोतल ‘मकालु’ लिएर आइपुग्नुभयो। उषाकिरण दिदीले आफै पनि औषधि ल्याउनुभएको रहेछ। युवा दाजु स्वास्थ्य सम्बन्धि निकै सचेत हुनुहुन्छ भन्ने मैले यही बेला बुझेँ। औषधिहरूको नाम हेर्दै कुन औषधि कुन विमारको लागि हो भनेर खुट्याइरहनु भएको थियो। त्यसपछि जीविका दिदी, बराल दाजु र म मिलेर विन्द्या गुरुमा र उषाकिरण दिदीलाई उहाँहरूका लागि मिलाइएको होटलको तेस्रो तलाको कोठासम्म पुर्‍यायौं। अनि, हामी निस्कियौं गजल साँझको निम्ति। निस्कँदैगर्दा ‘बराल नानी, जाँदा-जाँदै मलाई रिचार्ज पनि गरिदिनुस न है। ब्यालेन्स सकिएछ। घरतिर फोन गर्नु थियो’ भन्नुभयो विन्द्या गुरुमाले। इजी रिचार्ज नभएपछि रिचार्ज कार्ड नै पुर्‍याइदिएँ मैले। रिचार्ज कार्डसितै जीविका दिदीले पठाइदिनुभयो एक प्याकेट भुजा अर्थात मुरई। त्यसपछि हामी पुग्यौं गजल साँझको माहोलमा रम्न।
.....
दिउँसो जुन महौल देखिएको थियो कार्यक्रमको, त्यस्तो थिएन गजल साँझ। अघिल्लो पंक्तिदेखि पछिल्लो पंक्तिसम्म मानिसहरू खचाखच थिए। स्टेजमा थिए गजलकारहरू। यतिबेला भइरहेको उद्घोषणाबाट थाहा भयो, बाजागाजाका साथमा स्वयं हार्मोनियम समाएर गजल गाउना तयार हुनुहुन्थ्यो गजलकार श्री अनिल फागो। देख्यौं टाड़ैबाट हामीले। भेट्न सकेनौं। गजलहरूसित खुब जमेको थियो माहोल। सबै रमाइरहेका थिए। हामी रमायौं। सबैले साथ दिइरहेका थिए। म गजल सुन्ने मात्रैमा परेँ। तर, फागोज्यूको गजलमा म पनि साथ दिने प्रयास गरिरहेको थिएँ-
मर्नै पर्छ भने नि देशकै निम्ति मर्न सकुँ
गर्नै पर्छ भने नि देशकै निम्ति गर्न सकुँ...। यस्तै-यस्तै गजलहरू थिए।
गजलकार अमला अधिकारी दिदीको त कुरै आएन। पूरै मञ्च उचालिएझैं भइरहेको थियो उहाँले गजल वाचन गरिरहनुभएको समय। गजलमा उहाँ भनिरहनु भएको थियो-
औकातअनुसार सिकाइन्छ जिन्दगी चलाउन
हजामलाई कैंची ग्वालालाई मदानी चलाउन।...
अनि चेताउनी दिइरहनु भएजस्तो लागिरहेको थियो पुरुषप्रधान समाजलाई गजलमै। भन्नुहुँदैथियो-
वंस चलाउनु श्रीमानलाई छोरो चाहिएको छ
म छोरी जन्माउन चाहान्छु सृष्टि चलाउन।
एक साधारण श्रोताको दृष्टिमा मलाई लागेको हो दुई-चारजनाका गजलहरू कमजोर थिए। तर रूपक अलंकार, अनन्त अनुराग, दिग्गज धौराली, पुष्प ‘अञ्जली’ जस्ता राम्रा-राम्रा धेरै गजलकारहरू पनि थिए।
.....
दिउँसो आयोजक पक्षले प्रवन्ध मिलाएको थियो खाने व्यवस्था। त्यतिबेला खाएको आलु-चिउरा र अण्डाले हामीलाई छोड्दैगएको बुझेपछि जीविका दिदीलाई इशारा गर्‍यौं। निस्कियौं हलबाट। बाहिर सवारी साधन थिएन। फेरि समस्या। कार्यक्रम स्थल एकातिर, बस्ने व्यवस्था अर्कोतिर। हामी नयाँ ठाउँमा नयाँ मान्छे। सवारी साधनको व्यवस्था हुनुपर्ने नि, भन्ने लागिरहेको थियो। फेरि जीविका दिदी नै अघि सरिन्। एक-एकजना गर्दै अरुहरूसितै हाम्रो निम्ति पनि कसैलाई बाइकसवार गराउनु भयो अनि कसैलाई सिटी सफारी पठाइमाग्नुभयो।
भुपेन्द्र तिम्सिना दाजुले 10.45 तिर पुर्‍याइदिनुभयो जीविका दिदी र मलाई सिटी होटलसम्म। होटलमा भन्यौं- ‘लु हामीलाई खाना दिनुहोला। भोक लागेको छ।’ भोक सबैलाई लागिरहेको थियो। होटलमा तर आयोजक पक्षले 10 जनाका लागि खाना भनेका थिएछन्। नौजनाले खाइसक्नुभएछ। हामी पाँच-छःजना थियौं। कार्यक्रमस्थलमै खाने व्यवस्था भएपनि हामी पुग्नअघि नै सिद्धसकेको हुनाले पठाइएको थियो होटलमै हामीलाई। वास्तवमा खानाको लागि दिइएको समय हामीलाई जानकारी नै थिएन। रातको 11 बज्नै लागेको थियो। केही उपाय नलागेपछि सिटी होटलबाट निस्किएर गयौं सेन्ट्रल होटल। त्यहाँ पनि उपाय नलाग्लाजस्तो थियो। अन्तमा वाइवाइको व्यवस्था भयो। नेपालका अन्य साथीहरू निस्किसक्नुभएको थियो। रह्यौं हामी तीनजना। युवा दाजुले 6 प्लेटको अर्डर दिनुभयो। 6 प्लेट त सकिन्नहोला भनेर 1 प्लेट क्यान्सल भयो। झण्डै 20 मिनटपछि आइपुग्यो हाम्रो अर्डर 5 प्लेट चिकन वाइवाइ। सम्झेका थियौं, वाइवाइ न हो, कति हुन्छ र। अर्डर आइपुगेपछि थाहा भयो, एकप्लेट खाइसक्नु पनि...। बलै गरेर पनि खाइसक्यौं। दिदी जानुभयो आफ्नो कोठातिर। युवा दाजुले वील भुक्तान गर्नुभएपछि हामी हेर्नथाल्यौं रुस विश्‍वकप 2018-को फ्रान्स र वेल्जियममाझ भइरहेको दोस्रो सेमीफाइनल। सप्पैले भनिरहेका थिए बेल्जियमले जित्छ। हामीलाई थकाई थियो। हाल्फटाइमपछि सुत्यौं।
.....
फ्रान्स पुगेछ फाइनलमा। बिहान थाहा भयो।
हामीलाई सातबजी पुग्नुथियो ‘दशगजापारिका कविता’-मा कविता सुनाउन। सिक्किम, दार्जीलिङ, खरसाङ, सिलगढी, असम, मणिपुर र अन्य भारतीय भेगबाट अथवा दशगजापारिबाट (सीमापारिबाट) आएकाहरू सबै एकै समूहमा थियौं। हिन्नेबेला थाहा भयो, भारतबाट आउनुभएका दुई वरिष्ठ साहित्यकार विन्द्या गुरुमा र उषाकिरण दिदी ‘मकालु’ पानी पिएरै सुत्नुभएछ। उषाकिरण दिदीले भन्नुहुँदैथियो- ‘बेलुका ल्याइदिनुभएको मुरई हेर्दै सुत्यौं नि...।’ अनि थाहा भयो, राति व्यस्त हुनुहुन्थ्यो आोजक पक्ष, बिहान होला अध्यक्ष आउनुभएछ हालचाल सोधीखोजी गर्न। खुशी लाग्यो।
यतिबेला भने यातायातको पनि व्यवस्था रहेछ। हामी चढ्यौं बसमा। उषाकिरण दिदीको स्वास्थ्यमा उत्ति सुधार आइनहालेको हुनाले विस्तारै आउँछु भन्नुभयो। हामी गयौं कविता सुनाउन। कविता सुनाउनअघि मञ्चबाहिर नै श्रद्धेय विन्द्या गुरुमासित युवा दाजु, अश्रु दिदी र मैले शेल्फी लियौं। विन्द्या गुरुमाले ‘मलाई पनि पठाइदिनु है वाट्सएपमा’ भनेर नम्बर दिनुभयो। त्यसपछि लाग्यौं हामी कविता वाचनका लागि। मञ्चमा थियौं हामी विन्द्या सुब्बा (दार्जीलिङ), मुक्ति बराल (सिलगढी), युवराज काफ्ले (सिलगढी), कृष्ण प्रधान (सिलगढी), शरद छेत्री (सिलगढी), विशाल केसी (सिलगढी), राहुल राई ‘बोगिको’ (मणिपुर), बुद्धि सुवेदी (मणिपुर), बुद्धि तेम्बे, अर्जुन निरौला (असम), कविता छेत्री (असम), सुकराज दियाली (सिलगढी), विष्णु शास्त्री (असम), युवा दाजु, जीविका दिदी र म सिक्किमबाट अनि थिए अरुहरू धेरै। हामीले कविता सुनाउँदैगर्दा आइपुग्नुभएको थियो उषाकिरण दिदी। मञ्चमा चढ्नेबित्तिकै हामीलाई स्वागत जनाउँदै लगाइदिनुभएको थियो रुद्राक्षको माला। हिजो अरुको गलामा यही माला देख्दाको कौतुहल थियो। किन सबैले एकैप्रकारको माला लाएका थिए सबैले भन्ने अहिले बुझेँ। मैले जीवनमा पहिलोचोटी लगाइरहेको थिएँ रुद्राक्षको माला। त्यसैले धेरै खुशी लागिरहेको थियो। सानैमा आमा-पापाले धेरै कथाहरू सुनाउनुहुन्थ्यो। भन्नुहुन्थ्यो असली ‘रुद्राक्ष’-लाई जो-कोहीले समाउन सक्दैन। उड़ेर जान्छ। उड़ेर गएपछि कहिले बाँसमा बस्छ। बाँस काटेर, चिरेर हेर्दा पनि फेरि उड़ेर जान्छ। यस्तै-यस्तै कथा भन्नुहुन्थ्यो। कति सत्य हो? थाहा छैन। पछिबाट बुझेको थिएँ- रुद्राक्ष पहिरिँदा हाम्रो रक्तचाप र दृदयको गति बढ्न दिँदैन। कतिसत्य हो, त्यो पनि ज्ञान मसित छैन। तर, स्त्री, पुरुष, बालक-बालिका सबैको स्वास्थ्यको निम्ति फाइदाजनक मानिने कुरा कतै पढ़ेको थिएँ।
भित्तामा टासिएका थिए- कविता, छन्द कविता, मुक्त कविता, गजल, मुक्तक, रुवाई, हाइकु आदि काव्यका अलग-अलग विधाका सर्जकहरूको सतस्वीर अलग-अलगै व्यानरहरू। हामी परेका थियौं ‘दशगजापारिका कविता’-को व्यानरमा। कवितावाचनपछि स्टेजबाट हामी झर्‍यौं पुनः दर्शकदीर्घमा सम्मिलित बन्न। यहीबेला दुई-तीनदिन अघिदेखि अनलाइन सम्पर्कमा रहेका मोरङका मित्र नारायण राई आइपुग्नुभएछ। साथमा ल्याउनु भएको थियो ‘निगुरो’ पत्रिकाको प्रवेशांकको दुई प्रति। एकप्रति शेरबहादुर कार्कीलाई अर्को मेरै निम्ति। हाम्रो पनि कविता छापिएका थिए। उहाँसित हुनुहुन्थ्यो मोरङबाटै ईरान राई, जसलाई हाइकु वाचन कार्यक्रमका लागि विशेष निम्तो थियो। ‘निगुरो’-को प्रवेशाङ्क र ‘अभियान’-को पाँचौं अङ्क आदान-प्रदान गर्‍यौं अनि सम्झनाका लागि खिच्यौं मोबाइलमा फोटो। त्यसपछिको छोटो कुराकानीपछि छुट्टियौं हामी। यहीबेला ब्रेकफास्ट तयार भएको खबर आयो। हामीले हिजै पाठ सिकेका थियौं। त्यसैले लाजनमानी लाग्यौं भान्सातिर। त्यतिबेला काव्यिक चर्चा पनि चलिरहेको थियो। यहीबेला पहिलोपल्ट सुनेको थिएँ कविताको एउटा प्रारूप ‘एलक’। अर्थात- एक लहरे कविता। कतिले ‘एहक’ भन्न रुचाएका थिए। अर्थात- एक हरफे कविता। भारतसित विशेष सिक्किममा त्यसैलाई केहीवर्षअघि शुरू गरिसकेका हुन् कवि श्री अमर बानिया ‘लोहोरो’-ले ‘काव्याणु’ अर्थात काव्यको सबैभन्दा सानो रूप भनेर।
क्रमवद्धरूपमा एकपछि अर्को कार्यक्रम चलिरहेकै थियो। दमक नगरपालिकाको सहयोगमा दुईदिनव्यापि भव्य कार्यक्रम जो आयोजन गरिएको थियो। धरैकुरा सिक्न सकिने, जान्न सकिने, बुझ्न सकिने भए पनि हामीलाई हतार थियो सिक्किम फर्किन। यहीबेला जीविका दिदीले पुनः सम्झना गराउनुभयो ‘हिमशिखर टेलिभिजन’-मा ‘अन्तरङ्ग’ कार्यक्रमका लागि जानुथियो साहित्यकार एवं कार्यक्रम सञ्चालक श्री घनश्याम पथिकज्यूसित। ‘पुस्तक पाइयो भने ल्याउनु है’, भन्ने साथीहरूको सुझाउ पनि भएको हुनाले पुस्तक पसल पनि पुग्नुथियो। त्योभन्दा मेरो निम्ति एकपल्ट माइधार पुग्नपाए हुन्थ्यो भन्ने लागेको थियो। पोहोरसाल आमा-पापा बित्नुअघिसम्म पनि समय-समयमा आमाले कुरा गरिरहनु हुन्थ्यो। भन्नुहुन्थ्यो- ‘एकपल्ट तँलाई माइधार पुर्‍याउनुछ।’ सायद भाकल थियो। त्यो बेला सम्झेको थिएँ- ‘पापाको स्वास्थ्य ठीक होस। त्यसपछि पापा-आमा, श्रीमती र छोरीलाई लिएर एकपल्ट पुग्नुपर्ला।’ जीवनमा चाहेका कुराहरू सबै पूरा हुँदैनन्। माइधार पुग्ने-पुर्‍याउने मेरो रहर पनि अधुरै थियो। योपाली एक्लै भएपनि पुगिरहनु पर्‍यो भन्ने लागेको थियो। यो पाली पनि पूरा हुन सकने, इच्छा। हिँड़नअघि मोरङकी युवा कवयित्री संध्या साप्कोटाले ‘खै हजूरको सिक्किमबाट ल्याउनुभएको कोसेली? दिनुपर्‍यो।’ भन्दै थिइन्। भए-नभएको 10 प्रति अभियान सिद्धिसकेको थियो। अन्तमा फोन नम्बर लिएँ, दिएँ पनि। जीविका दिदीले फोटो खिचिदिनुभएपछि लाग्यौं बाटो।
.....
घनश्याम पथिकज्यूले सिटी सफारी पठाउनुभएछ। हामी लाग्यौं हिमशिखर टेलिभिजन स्टुडियोतिर। स्वयंले धेरैपटक लिएको छु अन्तर्वार्ता। कहिले साहित्यिक पत्रिकाको निम्ति त कहिले समाचार पत्रिका। कहिले रेडियोको निम्ति त कहिले टेलिभिजनकै निम्ति पनि लिएको हूँ। उसो त पत्र-पत्रिकाहरूका लागि सानो-तिनो अन्तर्वार्ता पहिले पनि दिएको थिएँ। टेलिभिजनकै निम्ति अन्तर्वार्ता दिने भएको यो पहिलोचोटी थियो। त्यसैले उत्सुकतासितै थोरै असजिलो पनि लागिरहेको थियो। यही कुरा पथिकज्यूसित राखेको पनि थिएँ। उहाँसित स्टुडियोमा थियौं युवा दाजु र म। पहिलो पालो मेरै थियो। पथिकज्यूसितको आधिघण्टाको कुराकानी कतिबेला सकियो पत्तै पाइएन। बल्ला थाहा भयो, कहिलेकाहीँ लिनजस्तै अन्तर्वार्ता दिन पनि उत्तिकै रमाइलो लाग्दो रहेछ। हिमशिखर टेलिभिजनका सम्पूर्ण टोलीप्रति कृतज्ञ छु। यो अवसर मिलाइदिनुहुने अश्रु दिदीलाई त कसरी बिर्सन सक्छु र...।
स्टुडियोबाट निस्किएर लाग्यौं दमक बजारतिर पुस्तक पसल खोज्दै। दुई-तीनवटा पसल चहारेपछि युवा दाजुले पथिकज्यूको ‘युनिका’ उपन्यास किन्नुभयो। चाहेको र मगाइएका कुनै पुस्तक पाउन सकिएन। त्यसपछि लाग्यौं हामी काकरभिट्टातर्फ। सिलगढीसम्म सँगै आएपछि युवा दाजु सिक्किमतिर हाँकिनुभयो। मेरो सिलगढीमा काम थियो। काम भएन। भोलि तीनबजीसम्म पर्खनुपर्ने भयो। त्यसैले लागेँ सिटोङतिर, नस्पतिगाउँ। भोलि अर्थात 12 जुलाईको राति नौ बजीतिर आइपुगेँ गान्तोक। खै किन हो 2013-मा पहिलोपल्ट साहित्यिक यात्रामा काठमाडौं पुगेर फर्किएपछि लेख्दै गरेको संस्मरण अहिलेसम्म सिध्याउन सकिन। अब सक्दिन पनि। यो पाली लेख्नु मन लागेको थिएन। तर, लेख्न बसेँ। के लेख्नु? कामै नलाग्ने भए पनि केही लेखेँ। लेख्नलाई कतिकुरा टिपेको थिएँ। अभाग्यवश हराइपठाएँ। सम्झेका कुराहरू लेखिदिएँ।
.....
अहिले 2013-को सम्झना भइरहेको छ। सिक्किमबाट संयोजक विजय कटुवाल साथी र भानुप्रकाश मार्मिक सर, कालेबुङबाट मनोज बोगटी। बान्श्‍वर, बागबजार र अरुतिर पनि 13 र 14 जुलाईको दिन बिहानैदेखि आधिरातसम्म एकपछि अर्को धेरैवटा कार्यक्रमहरूमा पुगेका थियौं। त्यहीबेला पहिलोपल्ट भेट भएको थियो गायक खेमराज गुरुङ, जो अहिले वितिसक्नुभयो। सँगै भेटेका हौं राम्रो गजल पनि लेख्नुहुने गायिका बहिनी चन्द्रा चामलिङ। साहित्यकार बुलु मुकारुङ, कवि शरण मुकारुङ र थुप्रैसित भेट भएको थियो। सम्झनामा छन् अझै उतिबेलाका कुराहरू। आयोजक पक्षमा शशी लुलुम्बु र उहाँको टोलीको आतिथ्य सत्कार कहिल्यै भुल्न सकिन्न। सम्झिएको छु अझै नाटककार-साहित्यकार प्रवीण पुमाको साथ। उहाँले नै पुर्‍याउनु भएको थियो रेडियो नेपाल, भेटाउनु भएको थियो नवराज लम्सालसित। घुमाउनु भएको थियो राजदर्वार, उहाँले नै चढ़ाउनु भएको थियो धररा, जो पछि भुइचालोले लड़ाइसकेको छ।
दमक यात्रापछि सम्झिरहेको छु यस्तै थुप्रै कुराहरू। धन्यवाद दिनचाहन्छु अहिले मित्र प्रवीण खालिङ र अम्बर लाछिकाठी दाजुलाई। अहिले लागेको छ, माइधार पुग्नै छ अझै। त्यसैले दमकको यो अन्तिम यात्रा होइन। पूरा भएको छैन दशगजापारिको दमक यात्रा। थाहा छैन कहिले पूरा हुनेहो? तर यात्रा अझै बाँकी नै छ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु