बोझ

- तीर्थ सिग्देल

पृथ्वीको सुन्दर रचनाले यसै मन खिच्छ । किनकी हर कोही मानिसले सुन्दर परिकल्पना गर्न सक्दैन । तर, मान्छेको जिवन यति सुन्दर त कहाँ हुँदो रहेछ र ?
यसको केही मिनेट नबित्दै यो भनाइले ध्यान खिच्छ ।
हातको रेखा हेरेर भाग्य देखिने भए, राशिफल पढेर लेखेको कुरा पुग्ने भए...
शायद जीवनको परिभाषा त्यतिबेला फेरिने थियो, जतिबेला हामी भाग्यमा बिश्वास गर्दछौं । त्यस्तै राशीफल पढेर दैनिकी सुरु गर्दा परिणाम प्राप्त हुने भए मानिसहरुमा उत्साह मर्ने थियो, जाँगर हराउने थियो ।
भाग्य र भबिस्यको फैसला यदी भाबीले लेखेको जस्तो भइदिने भए, छैठीको दिनमा लेखिएको कर्मको रेखा आजसम्म तन्किएर आँउदा पनि मान्छेले कर्म गर्न छाडेको छैन । कर्मको धर्ममा अल्झिएर मान्छे शायद मान्छे बनेको हो, नत्र ऊ अहिलेसम्म भगवान बनिसक्ने थियो ।
तर, एउटा कुरा त पक्कै हो । जसरी जून पछि घाम आँउछ, रात पछि दिन आँउछ, त्यसरी नै मान्छेको जीवनमा दुःख पछि सुख पक्कै आँउछ । यो सास्वत सत्य हो । तर, भाग्यमा भर परेर होइन, राशीफल पढेर होइन, कर्म गरेर ।
आज ऊ निक्कै भाबुक देखिई ।
मैले भने, उही कुरा दोहेर्याएँ ।
जून पछि घाम आँउछ, रात पछि दिन आँउछ, त्यसरी नै मान्छेको जीवनमा दुःख पछि सुख पक्कै आँउछ ।
उसले त्यति बिश्वास गरिन । यो कारण बुझ्न मैले त्यति कर त गरिन । तर, पछि ऊ आँफै खुल्दै गई । तब मात्र थाहा भो ऊ एउटा भयानक पीडाबाट गुज्रिएकी रहिछ ।
भनी, यो दुनियाँमा सम्झाउने मान्छेको कमी छैन, खाँचो छ त केबल सम्झने मान्छेको...
आज ऊ एउटा पीडा बोध गरिरहेकी छे । उसलाई आज आफ्नै जीवन बोझ बनिरहेको छ । केबल उसँग एउटी सहारा छे, छोरी । तर, ऊ उसलाई आफुजस्तै बन्न दिने पक्षमा छैन । हो, हरेक मान्छेहरुका सपना हुन्छन्, उनीहरु हरेक रात सपना देख्छन् । खासगरी आफ्नो र आफ्ना सन्तानका बारेमा सपना देख्छन् । र, सपनालाई बिपना तुल्याउन मरिमेट्छन् ।
सम्भवतः उसले पनि यही सपना देखेकी होला, बर्तमानमा । बिगत भने उसको त्यस्तो रहेन । उसले सानैमा बिहे गरी । अहिले ऊ त्यस कामलाई गल्ती ठान्छे । किनकी उसले धोका खाई । उसलाई परिबेशले धोका दियो । परिबेश आज उसँग छैन ।
ऊ पढ्न चाहन्थी, यद्यपि उसलाई परिबेशले पढ्न रोक्यो । किनकी ऊ कुलतमा फँसेको रहेछ । त्यही भएर त ऊ आज हत्तपत्त कसैलाई बिश्वास गर्दिन । उसको बिश्वास मरिसकेको छ । यतिसम्म की ऊ आजकल कसैको फोनसम्म रेस्पोन्स गर्न चाहन्न ।
अझ बढी पुरुष सँग त ऊ बोल्न नै चाहन्न । किनकी उसको परिबेशले दिएको धोकाको परिणाममा ऊ आज अरुसँग पनि उही ब्यबहार गरिरहेकी छ । उसलाई थाहा छ, हरेक पुरुषमा एउटा खराब पात्र लुकेको हुन्छ । गलत चरित्र हुर्केको हुन्छ । र, पुरुषले जहिल्यै पनि आफ्नो स्वार्थ मात्र सिद्ध गर्न चाहन्छ ।
म सम्झाउन खोज्छु ।
जिन्दगीमा जति अप्ठेरा परिस्थिती आउछन नि, त्यति नै नयाँ कुरा सिक्ने मौका मिल्छ । प्रायः मान्छेलाई सुखले भन्दा दुःखले बढी सिकाउछ ।
ऊ खासै सम्झन तयार देखिन्न ।
तर, मैले उसलाई कतिपय उदाहरण दिएर भनें । अब बिगतलाई हेरेर मात्र जिवनको परिभाषा लेखिन्न, बर्तमानमा पनि रमाउन र जिउन सक्नु पर्छ । नत्र जिवन निरस बन्छ । किनकी हाम्रो जिवन त आधा जसो बितिसकेको छ । अब बाँकी जिवन कसरी बिताउने भन्नेमा लाग्नु पर्छ । नत्र यही सुन्दर जिवन बोझ बन्छ ।
हरेक कुराको उदाहरण दिन सजिलो हुन्छ । तर, उदाहरण बनेर देखाउन त्यति नै गाह्रो हुन्छ, सर !
उसको यो भनाईमा भने म अलिकति सहमत देखिँए । र, मैले मेरो प्रयासमा केही हदसम्म सफलता पाएको महसुस गरें । किनकी अघिसम्म ऊ मेरा हरेक कुरामा त्यति ध्यान दिन्न थी । म बोलिरहँदा अधिकांस अर्कोतिर फर्केकी हुन्थी । तर, अहिलेदेखि उसको ध्यान मेरा कुरामा छ । ऊ म बोल्दा म तिर नै हेरिरहेकी छ ।
मैले आजसम्म जति यसप्रकारका समस्या भएका बिरामीहरुलाई परामर्श दिएको छु । आज लाग्दैछ, यो मान्छे अलिक भिन्न छे ।
मैले सोधें, तिमी अब के गर्न चाहन्छौ ? जागिर, ब्यापार वा अरु नै कुनै नयाँ काम ?
मलाई चुनौती मन पर्छ, ढुंगाहरुसँग जुध्न मन पर्छ, पहाडमा कुद्न मन पर्छ, कांडाहरुसँग खेल्न मन पर्छ, किनकी म यी सबमा जिन्दगीको परिभाषाहरु भेट्न चाहन्छु ।
उसको टिप्पणी यस्तो आयो । तब मलाई लाग्यो ऊ भित्रबाट एउटा ज्वालामुखी बिस्फोट भएर आयो, जसको माध्यमबाट म एउटा सफलता हासिँल गर्न चाहन्थें । साँच्चै भन्ने हो भने, म मेरो केशमा पर्फेक्ट हुन चाहन्थें । अब त्यो पूरा हुँदैछ ।
हुन पनि, के कारणले हो , मैले आजसम्म हेरेको केशबाट म पछि हट्नु परिरहेको छैन । एउटा मनोचिकित्सक हुनुको सफलता जो मैले प्राप्त गरेको छु ।
उसले मुख फोरी । डाक्टर साहेव...
म बास्तवमा पढ्न चाहन्थें । त्यसपछि जागिर खान चाहन्थें । कलेज जिवनले मलाई अल्मल्यायो । म कतै रुमल्लिएँ, अल्मल्लिएँ । अहिले सोच्छु, त्यो उमेर नै त्यस्तै रहेछ । शायद कुमालेको माटो जस्तो... चिया पकाउन तताएको पानीजस्तो, जहाँ दुध हालेर खाए पनि हुने त्यसै खाए पनि हुने । मैले गल्ती गरें ।
परिबेश मेरो कलेजको साथी बन्यो । कसरी, कसरी ...? थाहा छैन, आज जब म त्यो दिन सम्झन्छु । तब आँखा त्यसै रसाउँछ, मन भक्कानिएर आँउछ । मैले कलेज पढ्दा पढ्दै बिहे गरें, उसँग । तर, उसँगको संगत र पारिबारिक जीवन मेरा लागि निरस बन्यो ।
उसले एक दिन यतिसम्म गर्यो । मेरो एसएलसीको सर्टिफिकेटसम्म च्यातिदियो । म त्यतिबेला जागिर खाँदै पढ्न चाहन्थें । त्यस पछि ...
झुटो बोलेर गाँसिएको सम्बन्धले एकदिन सजाय पाउदो रहेछ सर...
त्यसकारण मैले बरु सत्य बोलेर सम्बन्धलाई विदा दिन तयार भएँ । मैले उसलाई त्याग्ने निर्णय लिएँ । किनभने असत्य धेरै दिन टिक्दैन भन्ने मलाई थाहा थियो, बरु सत्य बोलेर बाँकी जिवन फरक तबरबाट बिताउने निश्चय गरें मैलै ।
उसको भनाइलाई आजलाई मैले बिट मार्ने कोशिस गर्ने प्रयास गरें । र, यसो भनें
जिबनमा जति नै दुःख पीडा किन नहोस ? आखिर सम्हालिएर मुस्कुराउनु पर्छ । किनकी यहाँ दुःख पनि आफ्नै हो र दुख्ने मुटु पनि आफनै ।
त्यसपछि बल्ल ऊ हाँसी । र, भनी...
शायद डाक्टर साहेब । हो, आज म धन्य रहेछु । मैले तपाइजस्तो महान ब्यक्तिलाई भेट्न पाएँ, जसकारण मैले यति ज्ञान पाएँ । पक्कै तपाईले भनेजस्तो आखिर मुटु पनि आफ्नै हो, मन पनि आफ्नै मस्तिस्क पनि... ।
बास्तबमा यी तीन चिजको समन्बय नै मानब चेतना हो रहेछ । किनकी, जिवनमा आइपर्ने जति पनि दुःख हुन्छ, त्यसलाई पार लगाएर अघि बढेमा सफलता प्राप्त हुने रहेछ... ।
जिन्दगीमा जति धेरै अफ्ठ्याराको सामना गरिन्छ, उति नै प्रगतिको शिखर चढिने रहेछ । असफलता नै सफलताको जननी हो भनेको त्यसै होइन रहेछ ...।
जिवनरुपि सफलताको सिँडी चढ्नलाई पक्कै पनि साह्रो त पर्ला नै । तर, त्यसपछिको खुशीले संसारलाई जित्न सकिने रहेछ ...।
आफ्नै जिवन जलाएर खरानी बनाउनु भन्दा तत्कालीन परिबेशबाट मुक्ति पाउन कुनै सामान्य प्रयास पनि काफी नै हुने रहेछ ...।
म अब जानी नजानी आफ्नो मुटु जलाउने छैन, आफ्नो दुःख सम्झेर रुने छैन । अब म आफ्नै जिवनलाई बोझ ठान्ने छैन, बरु त्यो बोझरुपि जिवनको काँडा झिकेर मिल्काइ दिने छु । ................
झापा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु