सतीश छेत्रीको “रङ्ग-महिमा”

- राजु “हिमांशु”

भारतीय नेपाली कवितासाहित्यमा ऊर्जाशील र क्रियाशील युवा कविहरुको वर्तमान जमातमा स्पष्ट रुपमा चिनिन थालिएका असल र अति संवेदनशील एकजना कविको नाम हो सतीश छेत्री । गद्य कवितालेखनमा अनवरत् लागिपरेका सतीश छेत्रीले यसपल्ट फेरि एउटा कवितासङ्ग्रह पाठकवर्गअघि पस्केका छन्।“रङ्ग महिमा” शीर्षक राखिएको यिनको कवितासङ्ग्रह साहित्य अकादेमीको “नवोदय योजना” अन्तर्गत ई0 सन् २०१६मा प्रकाशित भएको छ । यिनले सन् २००७मा “ आँखाहरु साह्रै दोषी हुन्छन्” कवितासङ्ग्रह प्रकाशित गरिसकेका छन्। नाटक लेखन र मञ्चनमा पनि लागिपरेका सतीश छेत्री एकजना राम्रा अभिनेता पनि हुन्।
पचपन्नवटा कविताहरु ‘रङ्ग-महिमा”-भित्र सङ्गृहीत छन्। सङ्ग्रहको एकचालीसौँ कविताको शीर्षकलाई नै पुस्तकको शीर्षक राखिएको छ । विविध विषयमा लिखित कविताहरुले कवितात्मक सौन्दर्य प्रस्तुत गरेका छन्। प्रतीक र बिम्बद्वारा सुसज्जित कविताहरु दुरूहता बोकेर हिँड्ने शैल्पिक परम्परादेखि सुदूर छन् ।
“रङ्ग-महिमा”-मा प्रयुक्त भाषा-शैली सरल र सम्प्रेष्य छ । शैलीगत सरलता र विचारगत तरलता प्रस्तुत गर्दै काव्यिक मिठास पस्किनुमा सतीश छेत्री सफल छन्। यिनले मानवीकरण शैली (Personification style)-लाई धेर सम्भरण गरेका छन्। यिनी निर्जीव वस्तु र चीजलाई बोल्ने बनाउँछन् ,हिँडाउने गराउँछन् । यिनको मानवीकरण शैलीले चित्रकारिता पनि सिर्जना गरेको पाइन्छ । अर्थात् यिनको कविताभित्रका कुरा पाठकको आँखामा दृश्य भएर उभिन्छन् । चित्रमा आँखाले देखेका थोकहरुले मन पनि छुन्छन् र पाठक प्रभावित बन्छ अनि उसलाई कवितापठनपछि आनन्दानुभूति हुन्छ। यो कवि सतीश छेत्रीको सीप हो,विशेषता हो ।
सानो सानो कुरो र दृश्यबारे लेखिएका कविताहरुले ठूलो सत्य दर्शाएका पाइन्छ “रङ्ग-महिमा”-भित्र । सतीश छेत्रीभित्रको कविले तारमा झुन्डिएका पानीका थोपाहरुलाई पनि छोडेका छैनन् । तर तीबारे सुन्दर कवितात्मक रूप सिर्जना गरेका छन् । यिनको “अञ्जानमा”(अनजानमा?) कविताले भन्छ –
“बसमा झुण्डिएर
जाँदैछन्
पानीका थोपाहरु
तारैतार!
जिस्किएर कोही झर्दैछन्
गुलाबको काँड़ाको चुच्चोमा
अनि त्यहाँबाट झर्दैछ (झर्दैछन्?)
फेरि आँसु जस्तै
तप्प !
(२)


घाँसमा ।

‘अनडू’ नहुने जीवनमा
थोपा फर्किएर
फेरि तारमा
बस्न सकेन !! “
साधारण विषयमा लिखित यस कविताले जीवनपछि मृत्यु निश्चित रहेको असाधारण र अकाट्य सत्य दर्शाउँछ । झन्डै यस्तै अर्को कविता छ “अस्तित्व” ।
“रङ्ग-महिमा”-भित्र निर्जीव विषयवस्तुमा मानवीय चेतना आरोपित भएको राम्रो कविता छ “खबरकागजका चिसा दिनहरु”। यस कविताको एउटा अंश यस्तो छ-
“यही यस्तै
तपतप चुहुने
खड़ेरी परेको दार्जीलिङको
भिजेको खबर
ओसार्दा ओसार्दा
चिसो लागेको छ
खबरकागजलाई
उ आजभोलि
स्याँकस्याँक सुँकसुँक
गरिहिँड्छ। ”
यिनको कवितामा व्यङ्ग्योक्ति (Irony)-को पनि प्रयोग भएको देखिन्छ । उदाहरणार्थ ‘देशको छाया’ कवितालाई लिन सकिन्छ । यस कविताले भेदभाव(Discrimination) र अस्वीकृति(Disfavor)-को प्रस्तुतिमा काव्यिक आइरोनी पस्केको छ । कवितांश यस्तो छ –
“देखाइ नसक्नुको
मुटुकों गन्हाउने पिलो
पुरानो धुसाले
छोपेर हिँड़छ
देशको पाप पखाल्ने गङ्गा। ”
त्यस्तै अर्को कविता छ “खोकीको हल्ला !”। अराजक व्यवस्था र त्यसले निम्त्याएको
क्रमभङ्गको प्रतीकको रुपमा खोकीलाई प्रस्तुत गरिएको छ यस कवितामा। केही कवितांशहरु हेरौं –
“खोकीको अर्थ हुँदैन
र पनि अर्थ खुट्याउन खोज्छन् विश्लेषकहरु !
यसरी नै खुट्ट्याउँदा-खुट्ट्याउँदै
(३)


पहाड़को डाँड़ाबाट सरिसक्छ
सय वर्षभन्दा धेरै दिनको घाम!
..........
खोकीको बजारमा
दबिएका छन् बोलीहरु !
........
खोकीलाई त
नियम व्याकरण पनि चाहिँदैन
समाजमा। ”



कवि सतीश छेत्रीका कविताहरु विविध विषयक छन् अनि लेखनशैलीको ढाँचामा पनि विविधता विद्यमान पाइन्छ ।उदाहरणार्थ “रङ्ग-महिमा”-भित्रका निम्नलिखित कवितांशहरुलाई हेरौं ।
‘आँखा”कविताको अंश यस्तो छ –
“हुन त
छुनै पनि सकेको छैन अनुभूतिको औँलाले
ब्रह्माण्डको विशाल छात्ती!(छाती?)
म त
पानीको छाला छोएर
उसलाई स्पर्श दिनखोज्छु”
कविले पानीलाई छाला भएको प्राणीको रुपमा उभ्याएको देखिन्छ। कवितामा अञ्जुलीले पानी उघाएर ब्रह्माण्डप्रति तर्पण दिएको जस्तो आध्यात्मिक भाव मुखरित भएको छ ।
अर्को उदाहरण हेरौँ । “ बाटो र चक्का” कविताको अंश यस्तो छ-
“निरन्तर बलिरहेको मैनको शिखा जस्तै त
हौ नि आखिर
तिमी पनि।”
परिवर्तनशीलता एउटा आवश्यकता हो मानवजीवनको ।सकिँदै जानुपर्ने सत्य निहित हुन्छ त्यहाँ । त्यसैको नमूना छ उक्त कविता ।
अब “घाउको मोह”-को शैलीलाई हेरौं ।
“घाउको सम्मोहनले लट्टिएपछि मन
मल्हमसँग डराउन थाल्छ
जस्तै कि अँध्यारोमा ओथ्रा बसेको आँखा
(४)




तिर्मिराउँछ उज्यालोले चेपबाट चिहाउँदा !”(चियाउँदा?)
यसरी लेखनशैलीगत विविधता पाइन्छ “रङ्ग-महिमा”-भित्र। यद्यपि शैलीपक्षभन्दा भावपक्ष नै टड्कारो पाइन्छ कविताहरुमा ।
सतीश छेत्रीमा आध्यात्मिक चेत पनि प्रबल रहेको बुझिन्छ । त्यही चेतबाट उब्जिएको कुरो कवितामा प्रतिपादित हुन पुगेको देखिन्छ । तृप्त क्षण ,माटोको संस्कार,कस्तुरी,दृश्योदघाटन,बोध,
असमञ्जसता आदि कविताले त्यो इङ्गित गर्दछन् । तर यिनी आध्यात्मवादी कवि होइनन् । यिनले आध्यात्मचेतले प्रेरित भएका कविताहरु मात्र लेखेका छैनन्। अपितु विविध विषयक कविताहरु पनि रचेका छन्।
दुस्थिति प्रकृतिजनित होस् अथवा मानवसृजित,त्यसले मानवमनमा व्यग्रता उब्जाएको नै हुन्छ । कवि पनि तटस्थ बस्न सक्दैनन् । तर सतीश छेत्रीका कविताहरुमा प्रकृति तथा मानवजनित व्यतिक्रमप्रति ठाड़ो र उग्र विरोध पाइन्न । अपितु अप्रत्यक्ष रुपमा कोमल विद्रोह भने प्रस्फुटित भएको पाइन्छ।
दार्जीलिङमा भत्कोस र उछितो देखेर कोमल विद्रोह गर्छन् कवि सतीशले “प्याजले रुवाएको आँसु” कवितामा यसरी-
“किन लावालस्कर चढ़छ
बङ्गोप सागरको बगरबाट गङ्गटाहरु
दार्जीलिङको मञ्चमा ?
र आँखा बाहिर निकालेर घुमाउँदै भन्छ
‘म रुँदैछु!’
उनीहरुलाई भन्दिनू नि ! कसैले-
‘प्याजलाई ताछ्न छोड़,
कोट्याउन छोड़।”
“रङ्ग–महिमा”–मा सङ्कलित “दृश्यपट”राम्रो कविता भएको छ। दृश्य,पार्श्व दृश्य र दृश्य परिणति उप-शीर्षकमा विभाजित यस कवितामा यौन शोषण र व्यभिचारको विरुद्धमा कवितात्मक विद्रोह प्रस्तुत भएको छ। बिम्ब र वक्रोक्तियुक्त कविताको एउटा अंश यस्तो छ-
“दृश्य-२
वैंशको(बैंसको ?) एक झर्को पानीले पनि नरुझाएकी उसले
चट्याङसँग तर्सिएर
गर्दैछे प्रार्थना –
-हे भगवान!
मेरो कपाल नबढोस् ।
(५)


-नभरियोस् मेरो ओठमा रङ्ग ।
-नउम्रियोस् मेरो छात्तीमा ;(छातीमा ?)
मासुको रुख ।
-चिन्दै नचिनोस् भगवान ! मलाई
‘केटी मान्छे’ भनेर ।”

प्रकृतिलाई नै प्रत्येक कलाको मूलभूत आधार मानिन्छ। प्रकृति र कविमाझ घनिष्ट सम्बन्ध हुन्छ। कविले प्रकृतिलाई चेतनसत्ता मान्छन्। प्राकृतिक प्रकोप र सौन्दर्य ,परिवर्तन र क्षयआदिले द्रवित भएर, दुखेर ,मोहित भएर कविता सिर्जना गर्छन् कविहरु । कविताको विषय मान्छेपछि प्रकृति हुने गर्छ । यस प्रसङ्गदेखि
कवि सतीश छेत्री पनि अलग्ग रहन सक्दैनन् । यसैले यिनका पातहरु र दह ,दृश्योदघाटन,पैह्रो,बर्खाको गीत,
पैह्रोको मुख,आकाशको आयतन,माटोको संसार ,गाउँको गोरेटो ,फूल, खड़ेरी, भाव, पानीको जात प्रभृति कविताहरु प्राकृतिक विषयवस्तुमा आधारित छन्। त्यहाँ मानवीय चेतना आरोपित पनि भएका छन्। त्यहाँ व्यङ्ग्योक्ति पनि पाइन्छ । प्रकृति प्रयोग भएर कविताहरु जीवन्त बनेका छन्। अत: विविध काल र चित्तवृत्तिमा रचित विविध विषयक कविताहरुको सङ्ग्रह “रङ्ग–महिमा”-भित्र प्रकृति प्रयोगको सुन्दर दृष्टान्त पनि पाइन्छ।
पर्यावरणीय चेत उकास्दै लेखिएको जनचेतनामूलक कविता “खड़ेरी”-मा अदेख व्यङ्ग्य विद्यमान पाइन्छ । “खड़ेरी”-ले भन्छ-
“झोड़ामा कुच्याएर फ्याँकिएको
सेन्थटिक प्याकेटबाट
फुत्त निस्कन्छ खड़ेरी

दगुर्दै गएर अलि तल ...
खन्न थाल्छ पहाड़को जरा
त्यसलाई
जतिसक्दो छिटो पल्टाउन परेको छ
महाकाल बाबाको थान्”
भूमिकाकार सोनाम लामा लेख्छन् – “....सङ्ग्रहित कविताहरु भाव र विचारका दृष्टिले मूलत: दुई प्रकारका छन्। अध्यात्मपरक,जीवन-जगतका शाश्वत मूल्य-मान्यता र चराचरमाथि प्रबल आस्था प्रकट गरिएका कविताहरु अनि भौतिक यथार्थपरक अवलोकन र अङ्कन गरिएका कविताहरु । ...पूर्वीय अध्यात्मचेती आस्था र मूल्य मान्यताविशेषकै कारण यहाँका कविताहरू हाम्रा अधिकांश युवा स्रष्टाहरुमा पाइने अभिव्यक्तिको नितान्त ठाड़ो वा उग्र शैलीको अभाव छ । यो कवि सतीश छेत्रीको कवित्व र कविताहरुका एउटा विशिष्ट चिन्हारीगत पक्ष हो । ...... यहाँका कविताहरुमा समसामयिकताको पनि पौल छ । .... वास्तवमा भन्ने हो भने यहाँको कवित्वको मूल वा वास्तविक शक्ति भनेको नै यिनीद्वारा
(६)



(यहाँद्वारा ?) प्रस्तुत गरिएका विचार वा दर्शन नै हो। ... कविताहरुमा केही सामान्य प्रमादहरु पनि छन्। ...कतिपय कविताहरुमा भाव दोहोरिएका पाइन्छन् । ...विस्मयादिबोधक चिन्हको अनावश्यक प्रयोग गरिएको पाइन्छ। ”
भारतीय नेपाली कविताको पुस्तकप्रकाशनको परिप्रेक्ष्यमा कुरा गर्नु हो भने वर्तमान कालमा कवितासङ्ग्रहहरु भटाभट प्रकाशित भइरहेका छन्। कविता विधाको भविष्य उज्ज्वल देखिन्छ । त्यही उज्ज्वल भविष्यतर्फ अग्रसर भइरहेका कवि सतीश छेत्रीको “रङ्ग –महिमा”-को प्रकाशन सराहनीय मान्नु पर्छ।
विषयवस्तुमा,कविताको प्रस्तुतिमा तथा भाषाशैलीगत नवीनता पस्किनु नै आजको कविता चेष्टारत रहेको देखिन्छ । जातीय आस्तित्विक समस्या ,व्यवस्थाजनित व्यतिक्रम आदि प्रतिकूलताप्रति विद्रोह गर्नु र जनचेतना जाग्रत बनाएर कविताको स्वरलाई तीक्ष्ण पार्नुमा आजका कविताकारहरु लागिपरेका छन्। भाषाशैलीमा सरलता अङ्गीकार गरेर पाठकमुखी हुँदै गइरहेको वर्तमान नेपाली कविता पनि
शिल्पविज्ञानसितै अद्यतन हुनुमा अग्रसारित भएको देखिन्छ। कविताकार सतीश छेत्री पनि अग्रसारित देखिन्छन् ।
अमेरिकी कवयित्री माया एञ्जेलोको एउटा कथन यस्तो छ- “ I’ve learned that people will forget what you said, people will forget what you did but people will never forget how you made them feel.”
यस प्रसङ्गमा भन्नु हो भने सतीश छेत्रीले पनि के भने त्यो श्रोताले बिर्सने छन्, के गरे त्यो पनि बिर्सने छन् । तर यिनले कविताद्वारा पाठकलाई कस्तो अनुभव गर्न लगाए त्यो बिर्सने विषय हुने छैन। कविले मन छोएर लेखेका कविताले पाठकको मन स्पर्शित हुनुमा कविताको सफलता निहित हुन्छ । त्यसैले कवितालई हृदयको व्यापार पनि भनिएको छ । बुद्धि पस्किने कविताभन्दा मन सुम्सुमाउने कविता नै पाठकप्रिय भएको देखिन्छ । मन छुने कवितालेखनमा लागिपरेका छन् कवि सतीश छेत्री पनि ।
निष्कर्षमा व्याकरणिक केही त्रुटिहरुलाई पन्साएर भन्नुपर्दा “रङ्ग–महिमा” राम्रा कविताहरुको सङ्ग्रह भएको छ। यसपल्ट खरसाङबाट कविताको खेती राम्रो भएको छ । कवि सतीश छेत्री राम्रा कविताहरु उत्पादन गर्न सक्षम भएका छन्। कवि सतीश छेत्रीलाई बधाई र शुभकामना ज्ञापन गर्दै पुछारमा यति भन्छु –
“Use poetry. Say what you want to say. Let the readers decide what it means. Write poetry.”


डाउहिल

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु