‘भाया साक्रा’ नियात्रासङ्ग्रहको एक फन्को

- प्रा.डा. खेम दाहाल

कृष्ण बजगाईँ आख्यान, कविता तथा निबन्धमा सक्रिय जवान लेखकको नाम हो । ‘कमरेड भाउजू’ कथा सङ्ग्रह, ‘युरेसियाको स्पर्श’ निबन्ध सङ्ग्रह पढेर पाठकहरूले निज बजगाईँलाई रुचाउन सकेको निजले युरोपका प्रसिद्घ ठाउँ हेरेर नेपाली पाठकलाई खुसी गराएको र संसारभरि छरिएका नेपाली पढ्न जान्नेहरूलाई रिझाएको अनुभूति हामीले गर्दै आएका छौँ । युरोपमा कामको खोजीमा गएका एक नेपालीले परिवार पाल्नका लागि आर्थिक उपलब्धि गर्नु, समय र अर्थतन्त्र खर्च गर्दै गाउँ र सहर घुमेर नेपाली भाषामा यति धेरै ज्ञानको स्रोत हामी पाठक समूहलाई प्रदान गर्दै नेपालप्रति झुकेर लेख्नु, चिन्तन गर्नु तथा युरोपका विभिन्न कला, धर्म, संस्कृति एवम् जीवन उठाउने स्रोतलाई प्रचारमा ल्याउने जमर्को गरिरहनु र जाँगरको स्रोतलाई ताजा राख्नु सानो काम होइन ।
भाया साक्रा एक्काइसवटा सानाठूला निबन्धको पुस्तक हो । यसमा आठ पृष्ठदेखि एघार पृष्ठसम्मका निबन्धहरू संङ्गृहीत छन् । यी सबै निबन्धहरू, नियात्रा, कलासम्बद्घ एवम् डायस्पोरिक चेतनाबाट अभिप्रेरित छन् । ‘भाया साक्रा’ भनेको एउटा ठाउँको नाम, त्यो अनौठो नाम, ‘प्राचीन रोमका कुमारी’ भित्र समेटिएको नाम र त्यसमा परिचय गराइएको स्थान, प्राचीन समयमा वर्षाबाट बचाउन छानो लगाइएको पथ, ढुङ्गा ओछ्याइएको बाटो, रोमन सम्राट मन्दिर जाने बाटो, आजको भौतिक विश्वमा रातो कार्पेट ओछ्याई ठुलाबडा महामानव आउँदा गरिने सिँगारपटारको प्राचीन रूप–रोमको पुरानो मार्गलाई ‘भाया साक्रा’ भनिएको पाइन्छ (पृ. १५१) । ‘भाया साक्रा’ निबन्ध सङग्रहले बेलायत नदेखेका नागरिकलाई सूचनासूत्रको काम गर्छ, शरद् ऋतु र त्यसमा सुरु हुने बेलायती जाडो, त्यहाँको कठिन जीवन र कठोर स्वभावका बेलायती नागरिक, हावापानीबाट यातना भोगेको शरीर, क्याम्ब्रिज विश्वविद्यालय, त्यसले दिएको विशिष्ट योगदान तथा न्युटनको जन्मघर तथा त्यसको सुखद छहारी जानकारीमा आउँछन् । यस सङ्ग्रहमा न्युटनको वैज्ञानिक योगदानको चर्चा गरिएको छ, चार सय वर्ष अगाडिको स्याउको बोट, दुई सय वर्ष अगाडि ढलेको इतिहास, अर्का जीवशास्त्री डार्विन र उनको योगदान, उनको क्रमागत विकासको नियमको सुत्रपात, प्राणीको आजको अवस्था, नाटककार बर्नाड शा, उनको जीवनको चित्रण, उनको शाकाहारी जीवन शैली, दीर्ध जीवन, पुरस्कार प्राप्त गर्ने क्षमता, विश्वयुद्घको खुलेर विरोध गर्ने आँटका धनी, उनलाई पढिरहन सके हुन्थ्यो भन्ने प्रकारको रुचि र ज्ञान बढेको अनुभूति गरिन्छ । यस सङ्ग्रहमा ‘वक्ताको कुनो’ (स्पिकर्स कर्नर) का विषयमा जानकारी गराइन्छ, जसमा टेकेर सप्रमाण कसैलाई आलोचनाको विषय बनाउन सकिन्छ । यस्तो ठाउँमा कसैले प्रश्न सोध्न पाउँछ र आलोचकले कसैको कमजोरी खोतल्न पनि पाउँछ । त्यसै गरी उपन्यास कथामा आउने काल्पनिक पात्र सर्लक होम्सको खोजी, उनी नओबाउने डोब झैँ भएपछि उनको नाममा आएका पत्रहरू एउटा डेरा झैँ गरी उनको स्थायी स्थल ‘बेकर स्ट्रिट–२२१’ कायम भएको जानकारी, पात्र काल्पनिक तर चालचलन यथार्थ, यथार्थको भ्रम ९क्ष्ििगकष्यल या चभबष्तिथ० को उचित निर्वाह गरिएको स्थिती बोध गराईन्छ । यस्ता पात्र हामीसँग पनि हुन्छन्, ‘एक चिहान’ उपन्यासका शिवनारान, ‘लङ्गडाको साथी’ उपन्यासको लङ्गडो, ‘रूपमती’ उपन्यासकी बरालपुत्री, ‘अनुराधा’ उपन्यासकी अनुराधा, ‘भ्रमर’ उपन्यासका शेखर, ‘कट्टेल सरको चोटपटक’ का कट्टेल सर, ‘माधवी’ उपन्यासकी माधवी, ‘सारङ्गी’ उपन्यासका बलवीर गन्धर्व, ‘मुलुक बाहिर’ उपन्यासकी म्याउचीलाई पाठकले भुल्दैनन् जस्तो लाग्दैछ । त्यस्तै सूचना, ज्ञान र संसारको अनुभव अथाह हुने विषय हुने भएकाले जति कुरा हेरिएका छन्, तिनको स्मरणमा केही लेखिएको छ । यसमा स्टोनहेज अथवा ढुङ्गा जस्तो छ, केहीले हिर्काउँदा धातुको जस्तै आवाज आउँछ, त्यस्ता प्राचीन वस्तु हेर्न लाइनमा बसेर नगद तिरेर, टिकट लिएर समय र पैसा खर्च गरेर मात्र उपलव्ध हुने मौका हो । त्यस्तै रोआल्ड डाह्ल जस्ता बाल कथाकार जसको आफ्नै सन्तान हेर्दै कथा लेख्ने क्षमता प्रसिद्घ भएको, जासुसी काम गर्ने डाह्ल, हेमिङ्वेको साथको फोटो, छाप्रामा बसेर लेख्ने चलन र उनको जीवनको उत्तरार्धमा गरिएको टिपोट, अभिनयकलाका धनी चार्ली चाप्लिन, उनको अभिनय कला र विश्वलाई हँसाउने पात्र आफ्नै दुःखपूर्ण बाल्यकाल संस्मरणका आदिबाट चार्लीको जीवनलाई प्रेरणाको स्रोत मानिएको अवस्था रहेको छ । चार्लीले नाजीहरूको चरित्रको अभिनय गर्दा र हिटलरको चरित्रको ‘ग्रेट डिक्टेक्टर’ चलचित्र अभिनय गर्ने चार्लीलाई श्रद्घाञ्जली गर्दै उनको जीवनलाई आत्मसात् गर्न सके सफल बन्न सकिने गरी प्रस्तुत गरिएको छ ।
युरोपमा साहित्यकार, कलाकार र प्रसिद्घि कमाएका मानिसका घर, डेरा तथा नामसँग जोडिएका स्थानहरू नेपालका पशुपतिनाथका मन्दिर जस्तै रहेछन् । मानिसहरूले पालो पर्खिएर, पैसा तिरेर घामपानी सहेर प्रतीक्षा गरेको वस्तु हेर्ने गर्दा रहेछन्, जस्तै ः चाल्र्स डिकेन्सको नामसँग जोडिएको स्थल एक हो । सहरका दुःखलाई आख्यानमा समेट्ने चाल्र्सको सङग्रहालय हेरिएको अनुभूति प्रकाश गरिएको छ । त्यस्तै वेल्स राज्यमा हिन्दूको मन्दिर हेर्न धेरै दुःख गरेर टाढासम्म धाएर, ससानो बाटोबाट पुगिने र सहरबाट धेरै टाढाको स्थल हेरिन्छ । धर्ममा प्रलोभन देखाएर हिन्दूलाई क्रिस्तान बनाउने अभ्यास र साधना संसारभरि भएझैँ वेल्स राज्यमा पनि भइरहेको अनुभूति प्रकाशमा ल्याइन्छ । बाथ सहरको भ्रमण गर्दा गर्दे जेन अस्टिनसँग भेट भएन, उनको नामको सङ्ग्रहालय भेटियो, ‘सेन्स एन्ड सेन्सिविलिटी’, ‘एमा’ जस्ता कृति लेख्ने कुमारीको मैनको मूर्ति सजीव रहेछ । उनी त्यस सङ्ग्रहालयको केही पर बसेकी थिइन् भन्ने बुझिन्छ । त्यस्तै नेपोलियन बोनापार्टको युद्घमा मैदान युद्घ र त्यस युद्घमा भएका हताहतका झलक फ्रान्स र अङ्ग्रेजका बिचको युद्घ, उनले स्थापना गरेको धार्मिक सहिष्णुता, पाठशाला र शिक्षा, अफिसरबाट सम्राट बनेका नेपोलियन फ्रान्सका महान व्यक्ति हुन् । उनको स्मरणमा एउटा सुन्दर निबन्ध रचना भएको छ । युद्घ भूमिबाट माटो झिकेर एक ढिस्को बनाइएको स्मरण पनि छ ।
नियात्रालाई रोचक बनाउने, नेपालका ठाउँसँग मिलाउने, तुलना गर्ने र आफ्नो देशका कतिपय सम्पदा अपमानमा परेका छन् भनी देखाउने, नेपालको भूमिबाट टाढा हुँदाको पीडा बोल्ने, कुनै स्थानमा कसैको माध्यमबाट जानकारी ग्रहण गर्ने, साथमा भएका सदस्यको रुचि विचार गर्ने, खानेपिउने र बस्ने सुत्ने सुविधाको खोजी तथा चासो राख्ने एवम् उक्त धरोहर कुन दृष्टिले उपयोगी होला भनी समीक्षा–टीकाटिप्पणी गर्ने क्षमता पहिलाका कृतिमा भन्दा यस कृतिमा फरक पाइएको भाया साक्रा पठन र मनन योग्य देखिन्छ । वि.सं. २०७४ मा साझा प्रकाशनबाट प्रकाशनमा आएको ‘युिरेसियाको स्पर्श’ मा भन्दा यस भाया साक्रामा वस्तु विश्लेषणको क्षमता बढेको अनुभूति गरिएको छ । ‘भाया साक्रा’मा नेपालप्रति झुकाउ रहेका उदाहरणहरू प्रशस्त छन्, ‘मेनिन गेट’ यसको उदाहरण हो जसमा युद्घवीर नेपालीहरूको नामसूची पढिएको छ । ती वीरहरूले अरू देशका लागि युद्घ गर्नु परेको र ज्यान गुमाउनु परेको बाध्यता अर्कै कुरो हो, तथापि यिनले विश्वलाई थर्कमान बनाए, त्यो प्रशंसाको विषय हो । यहाँ इपर सहर प्रथम विश्वयुद्घ भएको भूमि, सन् १९१४–१९१८ को समय, जर्मन सेनासँग गठबन्धन सेना (बेलायत, फ्रान्स र रुस) को घमासान युद्घ, त्यसले जन्माएको त्रास, भारतीय नागरिक भनेर लेखिएको सूची, त्यसलाई सँच्याउने नेपालीको दवाव, अग्लो ठाउँमा बनाइएका नौ डल्ला आकारका संस्मरण दिने खालका भएकाले हेर्न लायक मानव निर्मित सम्पत्ति र त्यसभित्रको मानव मनोरञ्जनको स्रोत (खाने, पिउने, डुल्ने, खेल्ने ससानु संसार), गोष्ठी भवन, तिनको मूल्य नौ ग्रहको जस्तै लागेको अनुभीतिबाट नयाँ कुरा सम्प्रेषित हुन्छ ।
साहित्यकारसँगको भेटघाट, चरीचुच्चे रेलको यात्रा, ल्युवेन सहर–नेपालका विशिष्ट पाहुनाहरू, साहित्यमा रमाउने क्षण, त्यस्तै अर्को दृश्य बाङ्गो धरहरा, पिसा टावर (सन् ११७३–१३७३), साझो सिधा बनाउने प्रयास र ढल्नबाट जोगाउने प्रयत्नहरू, इटालीको रमझम, त्यस्तै भ्याटिकन सिटी, शिवलिङ्गको आकारको चोक, क्रिस्तानको पवित्र स्थल, आठ सय जनसङ्ख्या भएको देश, नेपालको कुनै गाउँ र वार्ड जस्तै, धर्मगुरु पोप नै राजाजस्तो हुने ससानु देश पनि रहेछ, त्यहाँ इमानदारी छ, परबाट गएका जनताले अर्काको देश बनाइदिने, पोपले भनेको कुरादेखि बाहेक केही भन्न नपाइने कानून, अहिलेको वैज्ञानिक प्रमाण, सूर्यलाई पृथ्वीले घुम्छ भनेका कारणले ग्यालिलियो नजरबन्द गरिएका र त्यही अवस्थामा मरेका रोचक–घोचक विषयलाई सम्प्रेषणमा ल्याउने निबन्धको विषय आलोचना प्रधान, समीक्षा प्रधान र नियात्राप्रधान रहँदै जान्छ । धार्मिक संसारको पुरानो इतिहास खोज्दै ‘प्राचीन रोममा कुमारी’ निबन्ध, नयाँ सहरमा ज्वालामुखीको पहाड हेरिएको बताइन्छ । यहुदीहरूले पसिना बगाएर बनाएको विशाल रङ्गशाला ‘कोलोसियम’ वास्तुकलाको चिनारी यस कृतिका गरिमा रहेका छन् ।
‘भाया साक्रा’मा शीर्षक दिने, प्रसङ्ग मिलाएर अनुच्छेद छोडने, निष्कर्षझैँ गरेर अन्त्यमा आफ्नो विचारतिर मोडिने, र वस्तु चिन्ने क्षमता विकसित भएको छ । यसको उदाहरणका लागि ‘नौ ग्रहको तीन फन्को’, ‘चरीचुच्चे रेलमा’ जस्ता उचित र सजिला शीर्षकलाई हेर्न सकिन्छ । यस पुस्तकलाई साङ्ग्रिला पुस्तक प्रा.लि. काठमाण्डौले प्रकाशनमा ल्याएर उल्लेखनीय काम गरेको छ । कलासाहित्यको मोह हुनेहरूले यस पुस्तक सङ्ग्रह गर्नुहुनेछ ।

नियात्राकार – कृष्ण बजगाईं
कृति– भाया साक्रा(नियात्रासङ्ग्रह)
प्रकाशक – साङ्ग्रिला बुक्स, काठमाण्डौं
पृष्ठ – १८५

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु