देखेको देशतिर घुम्दा

- डा . के . आर . खम्बू

२०७५ को गर्मी बिदामा मैले दुईवटा महत्त्वपूर्ण पुस्तकहरू पढ्न भ्याएँ । पहिलो पुस्तक थियो “याङ्सीला” र दोस्रो थियो वरिष्ठ वातावरण पत्रकार तथा लेखक मोहन मैनालीद्वारा लिखित ‘देखेको देश’ । यो नयाँ पुस्तक, ३१४ पृष्ठ भएको निकै ओजनदार थियो । जतिसुकै पृष्ठ भए तापनि पढ्दै जाँदा पट्यार नलागी सकिने खालको थियो । यो पुस्तक देशको विभिन्न कालखण्डमा घटेका घटनाहरूका तथ्य र सत्यको आधारमा लेखिएका आलेखहरूको सङ्ग्रहित रूप थियो । वातावरण र समाजबारे चिन्तन गरिएको ज्ञान वर्धक पुस्तक थियो । यो पुस्तक पढेपछि आफूलाई अनुभूति भएका केही कुराहरू बारे घोत्लिने प्रयास गरेको छु ।
नेपालको वातावरण पत्रकार जगतमा निकै अघिदेखि ख्याति प्राप्त एक सर्जक श्री मोहन मैनाली यस पुस्तकका लेखक हुन् । यो पुस्तक पढ्नु भन्दा अघि मैले उहाँका अरू दुई कृतीहरू क्रमशः उपल्लो थलो र मान्टा हराएको देश पनि पढी सकेको छु । ती दुबै पुस्तक मा नेपालको विभिन्न कालखण्डमा घटेका घटनाहरू मात्र होइन नेपालको वास्तविक भूगोल र वातावरणको पनि सचित्र परिचय दिँदै त्यस्ता गटित घटना र वातावरणले हाम्रो समाजमा कस्तो प्रभाव पारेको हुन्छ भन्ने कटु सत्य समेत छर्लङ्ग पारेका छन् । मलाई घुम्ने रहर हुँदा हुँदै पनि सपना झैँ भइ सकेका पश्चिम नेपालका पहाडी र हिमाली क्षेत्रहरूमा ती दुई पुस्तकहरूले मनग्गे घुमाएका छन् । पहिलो पुस्तकले गोरखा, मनाङ, मुस्ताङ, लमजुङका उपल्लो थलोतिर लग्दै चीनको सिमानासम्म पुर्याएको थियो भने दोस्रो पुस्तकले मध्य पश्चिम र सुदूर पश्चिम नेपालको हुम्ला, जुम्ला, दार्चुला, मुगु आदि ठाउँहरूमा घुमाउँदै माओवादी आन्दोलनताका मान्ठा हराएको समाज देखाएको थियो । उक्त पुस्तकले त मलाई तिप्तला भन्ज्याङ कटाएर चिनको मानसरोवर तालसम्म पनि पुर्याएको थियो ।
वरिष्ठ लेखक मोहन मैनालीद्वारा लिखित यो तेस्रो पुस्तक ‘देखेको देश’ को सम्पादक श्री शरदचन्द्र ओस्ती हुन भने यसको प्रकाशक बुकहिल प्रकाशन हो । यो पुस्तक ७ खण्ड भन्दा धेरै भागहरूमा बाडिएको छ भने हरेक खण्डलाई बेग्लाबेग्लै उप-शीर्षक दिइ पुस्तकलाई वैज्ञानिक ढाँचामा ढालिएको छ । हरेक खण्डभित्र बिभिन्न उपशीर्षकमा तत्कालिन घटेका घटनाहरूको आधारमा लेखिएका आलेखहरू सोही अवधिका विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखलाई सङ्कलन गरी यहाँ राखिएका छन् । एकदुईवटा लेखका पृष्ठभूमिमा लेखक बाहिर गएपनि बाँकी सबै लेखहरू नेपालकै पृष्ठभूमिमा तयार पारिएका छन् । यसर्थ हरेक लेख पढ्न लालयीत भइन्छ साथै ती लेखहरूबाट बिगतमा घटेका घटनाहरूलाई सिंहावलोकन गर्दै धेरै शिक्षा हासिल गर्न सकिन्छ । उहाँ स्वयम् वातावरण पत्रकार भएको हुनाले उहाँका हरेक लेखहरू तथ्य र सत्यको खोजिमा समर्पित भएका छन् । वातावरणमा आउने परिवर्तन र त्यसले समाजलाई पारी रहेको असर भारे प्रत्येक लेखमा केही नकेही कुरा भन्न खोजिएको छ ।
वातावरण भन्नाले आकाश, पृथ्वी, वायु, जल, वनस्पति तथा जन्तुहरू पर्छन् । वातावरणमा आउने परिवर्तनसँगै प्राणी जगतमा पर्ने टडकारो असर, अनियन्त्रित मानवक्रियाकलाप, प्राकृतिक स्रोत र साधनको दुरुपयोग, त्यसले निम्ताएको अपरिहार्य वातावरणीय सङ्कट आदि यस पुस्तकको विषय वस्तु भएको पाएँ ।
पहिलो खण्डमा हाम्रो परिवेश शीर्षक अन्तर्गत जियोलोजिकल टाइमस्केलको बारे चर्चा गर्दै पृथ्वीको उत्पतिसँगै वनस्पति र प्राणीहरूको उत्पति, महादेशीय तख्ताहरूको विचलनद्वारा बनिएका महासागर र महादेशहरू अनि दक्षिणी गोण्डवाना भूमिको एउटा सानो टुक्रा उत्तर पूर्वी दिसातिर सर्दै आउँदा तिव्बतीय पठारसँग ठोकिन जाँदा टथिस समुन्द्रको सतह उठी हालको हिमालय पर्वत माला सृजना भएको र अनि नयाँ अन्तरीपको रूपमा गाँसिन आएको इण्डिया र चिनको तिब्बती पठार माझमा नेपाल बनिएको बारे प्रकाश पार्ने प्रयास गरेका छन् । यसरीनै दोस्रो खण्डको शीर्षक हाम्रो वातावरणमा देश भरी मानवीय क्रियाकलापले गर्दा वातावरणमा र्हास आइ रहेको कुरा चर्चा गरिएको छ । उहाँले वातावरण परिवर्तनको कारक कसरी मानिस र राज्यको नीति भयो भन्ने कुरा ओ एउटा जङ्गल मासी गाउँ, गाउँ मासी जण्गल भन्ने उपशीर्षकमा चितवन जिल्लाको थारू जातिको उदाहरण दिँदै राम्रो चित्रण गर्नु भएको छ । जल र जङ्गलसँग अन्यानस्रित सम्बन्ध भएका आदिवासी थारू जातिलाई आफ्नो भूमिबाट सहरीकरण भइरहेको क्षेत्रमा बसाइ सराइ गर्दा के कस्तो असर परेको छ भन्ने कुरा पनि विश्लेषण गरेका छन् ।
यसैगरी अर्को खण्ड हाम्रो विकास भन्नेमासहजै बुझिने गरी तेरथुमको एकजना पत्रकारसँगको वार्तामा भनिएको कुरो भत्केको गाउँ, बनेको सहर भन्ने उपशीर्षक अन्तर्गत हाम्रो गाउँ बस्ती कसरी सहरीकरण भइरहेको हुन्छ भन्ने कटु सत्य प्रस्तुत गरेका छन् । अर्थात् गाउँमा एउटा घर भत्कनुको अर्थ त्यहाँबाट बसाइ सर्नु पनि हो । नेपालको सयौं वर्ष अघिदेखिको दीर्घ रोग झैँ रहेको बसाइ सराइको समस्यालाई व्याख्या गर्न चुक्नु भएको छैन । परापूर्वकालमा रोजीरोटीको खोजिमा भारतको दार्जीलिङ, आसाम, वा भारतकै विभिन्न स्थानहरूमा जान पर्ने बाध्यता थियो । आजपनि सोही समस्या जिउकातिउ रहेकोले गर्दा युवाहरू खाडी प्रदेशहरू, मलेशेया देखि कोरिया मात्र होइन युद्धको ज्वाल दन्कि रहेको मध्य पूर्वी एसियाका (अफगानिस्तान, इराक, लेबानन, इजराइल आदि) देशहरूमा पनि रगत र पसिना चुहाइ रहेका कटु सत्य यहाँ उल्लेख गरेका छन् ।
यसैगरी उहाँले नेपालको शैक्षिक अवस्था र विद्यार्थी समस्या बारे दिक्क मान्दै बेलायती लेखक जेबि प्रिस्टीले सयौं वर्ष अघि भनेका कुरा झ्याल, ढोका, गाडी पल्टाउने हो भने विद्यार्थीहरूलाई उत्कृष्ट दर्जा दिए हुन्छ भन्ने कथन हाल नेपालमा चरितार्थ हुने उल्लेख गरेका छन् । तर आफ्नो इच्छा भने विद्यार्थीहरू त्यस्ता विध्वंशकारी होइन सृजनशील बनुन भन्ने चाहना राखेको उल्लेख गरेका छन् । यही पुस्तकको अर्को महत्वपूर्ण आलेख पुस्तक पढ्दा आफूलाई पनि पुस्तकहरू सङ्कलन गर्ने र अध्ययन गर्ने इच्छा जागेर आउछ ।
यस पुस्तकभित्र उनले सबै बिधाहरूलाई अटाउने प्रयास गरेका छन् । आफू लण्डनको क्यू गार्डेनमा फ्याक्ट एनालाइसिस सम्बन्धी गोष्ठीमा सहभागी हुन जाँदा प्रसिद्ध वनस्पति विद जोसेफ डाल्टन हुकर १६७ वर्ष अघि नेपालको पूर्वी क्षेत्रमा पर्ने आफ्नो गाउँ तेरथुम पनि घुमेको कुरा बडो रोचक तरिकाले प्रस्तुत गरेका छन् । हुकरको सर्भेक्षण रिपोर्टमा उल्लेखित वनस्पतिहरू जस्तै लोठसल्लो,गुराँस, समाजिक संरचना, बाक्लो पर्ने हिमाली हिउँ अहिले जलवायु परिवर्तनले गर्दा जोखिममा परी सकेको बताएका छन् । यतिमात्र होइन अर्का प्रसिद्ध भूगोल विद् टोनी हेगेनले नेपालमा लामो समयसम्म बसी नेपालको पहिलो भौगोलिक संरचना सम्बन्धि नक्सा प्रस्तुत गरेको तथ्य पनि यहाँ उल्लेख गरिएको छ । नेपाल बारे प्रचार प्रसार गर्न उनले नै पहिलो ‘उहिलेको नेपाल’ नामक डकुमेन्टरी फिल्म बनाइ विश्व सामु प्रस्तुत गरेपछि मात्र संसार भरीका पर्यटकहरू यहाँ आकर्षित हुन थालेको वास्तविकता खोलेका छन् । हुन त हेगेनको डकुमेन्टरी फिल्म भन्दा पहिले बेलीले पनि डकुमेन्टरी बनाएका थिए रे, तापनि उक्त डकुमेन्टरी काठमाडौं उपत्यकामा मात्र सीमित थियो रे । तर हेगेनको डकुमेन्टरीले हिमाल, पहाड र मदेश तीनवटै क्षेत्रहरू बारे परिचय गराएर विश्व सामु नेपालले आफ्नो पहिचान कायम गर्न सकेको तर्क पनि प्रस्तुत गरेका छन् ।
हरेक आलेखले केही न केही गहन विषयवस्तुलाई कोट्याउन खोजिएको छ । सदाचारी र भ्रष्टचारी देश भन्ने सवाललाई लिएर एक जमानामा नेपाल विश्वमा तेस्रो सदाचारी देश भए तापनि अहिले खप्नै नसकिने भ्रष्टचार बढेको देश बनेको देखेर आक्रोशित भएका छन् ।
बुद्धिजीवीहरू तलाउ झैँ जमेर बस्ने होइन , चलायमान हुनु पर्छ, अन्याय अत्याचारको विरोध गर्न साहस गर्नु पर्छ उनी भन्छन् । छिमेकीबाट सिमा मिचाइ पाएको देखि सहयोगको नाममा कन्जुस्याइ गरेको कार्यहरू देखाउँदै असाध्य पिरोलिन्छन् । अफगानिस्तानको काबुल एयरपोर्टमा ओर्लिँदा जुन उमङ्ग र नौलोपन अनुभव भएको थियो त्यो बख्तरबन्द गाडीमा सिधै युद्ध क्षेत्रको सैनिक कार्यालयमा पुर्याउँदा इन्तु न चिन्तु हुन्छन् । पाइला पाइलामा जीवन रक्षा गर्न धौधौ परेको प्रतक्ष महसुस गर्छन् । अनि आफ्नै देशको माटो सम्झन्छन्, हिमाल सम्झन्छन्, खोला, नाला, नदी सपाट तराइ सम्झन्छन् । तर पनि युद्ध कालीन द्वन्द्वको बिभत्श रूप आफ्नै गाउँघरमा देखिएको चित्र सम्झेर शान्तिको याचना गर्छन् ।
अन्तिम परिच्छेदतिर पत्रकारिता जगत बारे आफ्नो अनुभव पोख्दै राज्यको चौथो अङ्ग इमानदार नभए झूठको खेती गर्नेहरू मौलाउने र राज्यले नै ठूलो क्षति ब्यहोर्नु पर्ने हुन्छ भन्ने उदाहरण यहाँ प्रस्तुत गरिएको छ । त्यस्ता अफवाहले जनताहरू दिक्भ्रमित भइ पत्रकारीता जगतले नै ठूलो बदनामी कमाउने तथ्यतालाई उदाहरण सहित व्याख्या गरेका छन् । धरानको एक महिलाले नाटककै रूपमा आफुले प्रसंसनीय कार्य गरेको झूटो समाचार पत्रिकामा छापेर लोकपृय बन्ने अभिनय गरेको सम्झना यहाँ गराएका छन् । यस्तै अर्को उदाहरण एक असन्तुष्ट विद्यार् समूहले रितिक रोशन काण्डको प्रायोजित गरेर देशव्यापी विरोध गराएको देखि सोही ठाउँको एक पत्रकारले कुखुरा पालन सम्बिन्धी प्रश्नहरू कुखुराको रोग विशेषज्ञसँग लिएको अन्तरवार्ता गलत तरिकाले छापिदा करोडौका कुखुराहरू मारिएर किसानले ठूलो खति व्यहोर्नु परेको बास्तविकता यहाँ संस्मरण गराइएको छ । यस्ता विगतमा घटित घटना देखाउँदै सत्यबाट तथ्य खोजेर प्रमाणित नगरिएको समाचार प्रचार गर्न नहुने प्त्रकारीताको आचारसंहिता हुन पर्छ भन्छन् । पत्रकारहरू सधैँ सचेत हुने र पित्त पत्रकारीताबाट जोगिन पर्ने सल्लाह पनि दिइएका छन् ।
लेखकले पुस्तकको सन्देशकै रूपमा होला प्रारम्भमै एक फारसी कविता “आफ्नो अनुहार ऐनामा नराम्रो देखिए, ऐना नकुच्याऊ; बरु आफ्नै अनुहार कुच्याऊ ...!“ लाई स्
स्थान दिएका छन् भने पुस्तकको समापन परिच्छेदमा आफ्नो जीवतथ्याङ्क (बायोडाटा) बारे रोचक ढङ्गले प्रस्तुत गरदै आफूलाई बेलायतको राजा बनाइदिन्छु भने पनि
आफ्नो थातथलो नछोड्ने बचन दिन चुकेका छैनन् । सायद यो लेखकको जन्मभूमि प्रतिको आफ्नो अगाध माया र कर्तव्य पनि होला ।
यसरी यस पुस्तकमा रहेका विभिन्न व्यञ्जनहरूको स्वाद चाख्दा चाख्दै समापन हुन पुग्छ । आलेख छोटा, छोटा छन् तर कुनै नकुनै घटना बोकेरै आएका छन् । समग्रमा यो पुस्तकसाधारण पाठकदेखि वातावरण सम्बन्धी अध्ययन अनुसन्धान गर्ने अनुसन्धान कर्ता वा विद्यार्थीहरूले पनि एकपल्ट पढ्न भ्याए हुने कुरा मैले ठानेको छु।
अन्तमा, निकै दिन पछि भएपनि यस्तो विक्किपेडिया जस्तो ज्ञानवर्धक पुस्तक हामी पाठक समक्ष ल्याउनु भएकोमालेखक श्री मोहन मैनालीजीलाई धेरै धेरै बधाईकासाथ धन्यवाद दिन चाहन्छु । यसरी नै अन्य यस्तै वातावरणीय प्रभाव सम्बन्धी पुस्तक भविष्यमा पनि तयार पार्न सक्नुस्, यही छ शुभकामना ।

भद्रपुर ८, क्याम्पस मोड, झापा (नेपाल)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु