आई अब्जेक्ट !

- सन्जु बजगाईं

आईमाई !
अरे ओ आईमाई !!
तेरो सर्वोच्चताले थामेको यो सृष्ट्रि
म देख्न सक्छु तर हेर्नदिन्न
आँखा बोकेर पनि, कानुनलेझैं
पट्टी बाँधेर अन्धो बाँचेको
यो नपुङ्सक समाजलाई ।

सयौं जन्ती र आफन्त डाकेर
सातफेरो अग्नी साक्षी राखेर
ऊ लुरुक्क आएकी हो
मैले छाती ठोकेर ल्याएको हो
त्यसैले आई अब्जेक्ट !
आउने र ल्याउनेबिच
हिस्सा बराबरीको हुनुहुन्न ।

जान्दछु, नोट चपाएर मिल्दैन पेट भर्न
नभए नोट त अझ, मिल्दैन केही चपाउँन
सधैं, म कमाउँछु उसले खाने
ऊ पकाउँछे मैले खाने
त्यसैले आई अब्जेक्ट !
कमाउँने र पकाउँनेबिच
सिक्का बराबरीको हुनुहुन्न ।

गर्जने, राजा ठहरिएको सिंहले हो
म्याउँ त गाँस ढुक्ने बिरालोको
म आकाश हुँ गर्जन थाम्ने
ऊ शून्य पाताल, आवाज नपुग्ने
त्यसैले आई अब्जेक्ट !
आकाश र पातालबिचको
समागम बराबरीको हुनुहुन्न ।

शक्ति, एउटा सार्वतिक परिकल्पना
स्वभिमान, खामबन्दी भएको सानो कथन
मेरो, र त, पुरुषत्व जन्मसिद्ध
उसको र त, दासत्व जन्मसिद्ध
त्यसैले आई अब्जेक्ट !
दासत्व र पुरुषत्वबिच
बहस बराबरीको हुनुहुन्न ।

कालीको भक्त हुँ म: रक्षा गर्छिन्
महालक्ष्मीको भक्त हुँः दौलत दिन्छिन्
लिनु परेवापत पो गरेकोछु भक्ति
आईमाईबाट सेवा त निशुल्क छ यहाँ
त्यसैले आई अब्जेक्ट !
देवी र आईमाईबिच
नाता बराबरीको हुनुहुन्न ।

आईमाई !
अरे ओ आईमाई !!
तेरो सर्वोच्चताले थामेको यो सृष्ट्रि
म देख्न सक्छु तर हेर्नदिन्न
आँखा बोकेर पनि कानुनलेझैं
पट्टी बाँधेर अन्धो बाँचेको
यो नपुङ्सक समाजलाई ।

लन्डन

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु