मदनमणि दीक्षित र ‘त्यो युग’

- इन्दिरा दीक्षित

परिवारिक भेटघाटको सिलसिलामा केही दिनअगाडि मदनबुवा (मदनमणि दीक्षित) को घरमा पुगेकी थिएँ । वयोवृद्ध दम्पतीसँगै निकैबेरको पारिवारिक भलाकुसारीपछि मदनबुवाले सोध्नुभयो, “अचेल तिमी के गर्दै छ्यौ बुहारी ?”
म के जवाफ दिउँ र ! भर्खर लेखनतिर बामे सरेका मेरा पाइला, मदनमणि दीक्षित जस्तो महान् हस्तीको अगाडि कसरी मुख खोलौँ ? तैपनि साहस जुटाएर भनेँ– “आजभोलि फुर्सदिलो भएको छु, त्यसैले केही पुराना पुस्तक पढ्न र लेख्नतिर ध्यान गएको छ ।”
“के के पढ्यौ ?”
उहाँको सोधाइको जवाफ दिन झन् गाह्रो भयो । थोरै मात्रामा पढेका पुस्तकको कसरी नाम लिनु ! बीचमा केही सोध्नुभयो भने मेरो अल्पबुद्धिले उहाँको चित्तबुझ्दो जवाफ दिन सकुँला र ?
“थोरै पुस्तकहरू पढेकी छु, जसमा हजुरका पनि एकदुईवटा पढेँ, अझै अरू पढ्न मन छ ।”
मेरो जवाफमा मुस्कुराउँदै बुवाले भन्नुभयो— “केही लेखेकी छ्यौ ?”
एउटा कथाको पुस्तक त लेखेकी थिएँ तर कसरी देखाउनु र ? पचास–साठीवटा जति ठुल्ठूला ठेली लेख्नुभएका विद्वान् दार्शनिकका अगाडि मेरो एउटा जाबो कथाको पुस्तक देखाउन सकिनँ । फेरि पनि झूटो बोल्न मन लागेन । मैले भनेँ– “एउटा कथाको किताब त लेखेको छु ।”
“ल्याएकी छ्यौ ? खोइ हेरौँ ।”
“तर हजुरलाई देखाउन योग्य छैन कसरी देखाउँ र ?”
मेरो भनाइमा आपत्ति देखाएझैँ उहाँले भन्नुभयो– “देखाऊ न, म हेर्छु ।”
बुवाको आग्रहलाई टार्न पनि सकिनँ । अनमन भावले ब्यागबाट निकालेर उहाँको हातमा राखिदिएँ । मदन बुवाको भावभङ्गीलाई डराउँदै म हेर्दै थिएँ तर उहाँले प्रफुल्ल हुँदै ओल्टाइपल्टाइ गर्दै मेरो पुस्कतको नाम लिँदै भन्नुभयो– “सम्बन्धका घुम्तीहरू –कथासङ्ग्रह । ओहो ! ९५ वर्षको मेरो उमेर भयो, आजसम्म दीक्षित परिवारकी महिला सदस्यले मैले लेखेको भनेर मेरो हातमा कुनै पुस्तक राखिदिएको मलाई थाहा भएन, तिमी बुहारीले लेखेर मेरो हातमा राखिदियौ, मलाई ज्यादै खुसी लाग्यो ।”
मदन बुवाको मुखबाट निस्केका एकएक शब्दले मलाई अचम्मित बनायो । मभन्दा पहिले मेरो परिवारकी महिला सदस्यले कुनै किताब लेखेका थिएनन् र ? अथवा लेखेर पनि उहाँको हातमा नपरेको हो कि त ? जे भए तापनि मदनबुवाको हँसिलो मुहार देखेर मनमनै सोच्न थालेँ, किताब लेखेर मैले राम्रै काम गरेकी त !
यताउता हेर्दै थुप्रै पुस्तकहरूमध्येबाट मदन बुवाले ‘त्यो युग’ नामक एउटा पुस्तक उठाउँदै भन्नुभयो– “ल यो किताब पढ ! एकपटक हैन तीनपटक पढ अनि के बुझ्यौ, केही लेखेर मलाई देखाऊ है !”
“हवस् !” भनेर खुसी हुँदै घर फर्कें ।
मेरो हातमा परेको ‘त्यो युग’ नामक पुस्तक निकै गहकिलो रहेछ । पुस्तकभित्र भएका गहकिला कुराहरू मेरो सानो दिमागभित्र कसरी बसोस् र ! यस्ता कुरा कहिल्यै पढेको होस् न पढ्ने मौका मिलेको होस् ! सौभाग्यले मदन बुवाको दर्शन गर्ने मौका जुर्न गयो र उहाँले लेखेका यस्ता पुस्तक पढ्ने मौका मिल्यो । कठिनसाथ चौथाइ बुझे पनि कृतज्ञ भए झैँ लाग्यो ! तैपनि मदनबुवाको आज्ञालाई आदेश मान्दै सागरबाट एक अञ्जुली पानी उगाए जस्तै पुस्तक पढेर मनमा लागेका केही उद्गारहरू व्यक्त गर्न मन लाग्यो ।
वेदमा भएका कुराहरूको सूक्ष्म विश्लेषण भएको ‘त्यो युग’ नामक पुस्तक पढ्दा वैदिक युगमा पुगेझैँ लाग्यो । जान्न मन हुँदाहुँदै पनि जान्न नपाएका कतिपय कुराहरू यो पुस्तक भित्र रहेछ । त्यो युग भन्नाले प्राचीन युग जसमा हाम्रा पूर्वजहरू कसरी दिनचर्या गर्दारहेछन्, वेद भनेको के हो ? वेद कसरी सुरुवात भयो ? वेदको उद्गम स्थल कताकता थियो ? वेद मन्त्रको उत्पत्ति र लिपिबद्ध गर्ने कार्य कहिले र कुनकुन व्यक्तित्वले गरेका थिए ? पछि जनमानसमा वेद सर्वमान्य कसरी बन्यो ? आदि इत्यादि मैले नबुझेका र मनभित्र कताकता वेद कस्तो होला भन्ने जिज्ञासाको समाधान भएजस्तै लाग्यो ।
वेदका बारेमा मलाई जिज्ञासा लाग्नु पनि स्वाभाविक नै थियो । म सानो छँदा मेरा बाजेले बिहान सबेरै मुखाग्र गरेको रुद्रीपाठले मेरो निद्रा बिउँझाउँथ्यो । सधैँ सुन्दासुन्दै मलाई पनि कण्ठ भएजस्तै हजुरबुवासँगै म पनि गाउन थाल्थेँ । मैले नबुझी नबुझी सुन्दासुन्दै कण्ठ भएका यी वेदका ऋचाहरू कस्ता होलान् ! अनि नजानी नजानी बोलेका यी शब्दको अर्थ के होला ! कसलाई सोध्नु र ? हजुरबुवादेखि बाहेक परिवारमा वेद कसले पढ्यो र सोध्नु ! मनको कुरो मनैमा दबियो । तर आज मदनबुवाको वेदबारेमा अनुसन्धानमूलक यो पुस्तक पढ्न पाउँदा निक्कै खुसी पनि लाग्यो ।
प्राचीन आदिकालमा अक्षर र वाणीको उत्पत्ति नहुँदा मानिसहरू विभिन्न आकृति कुँदेर आफ्नो भावना व्यक्त गर्थे, त्यो प्राचीन युगका मान्छे सिकारबाटै आफ्नो जीविका चलाउँथे र गुफामा बस्थे । बासस्थानबाट शिकारतिर जाँदा आफ्ना आवश्यक वस्तुका केहो चित्र कोरेर हिँड्ने गर्दा रहेछन् । अझ रोचक कुरा त के भने तिनले कोरेको आकृति सजिलो गरी स्पष्ट बन्यो भने झट्टै त्यो चीज मिल्दो रहेछ ! जस्तो सिकारमा जाँदा मृगको अपेक्षा गरेर आकृति बनाउँदा स्पष्ट बन्यो भने झट्टै मृग मिल्दो रहेछ ! यस्ता कुरा कति सत्य होलान् ? हामीसामु उजागर गर्ने मदनबुवाले पनि अनुमानकै आधारमा लेख्नुभएको त होला भन्ने पनि लाग्छ ! र पनि विश्वास गर्न मन लाग्छ, किनभने ती प्राचीन गुफाहरूमा अझै पनि देखिएका विभिन्न आकृतिले यो कुरा प्रस्ट्याए झैँ लाग्छ ।
अक्षरको उत्पत्ति कहिलेदेखि भयो भन्ने यकिन गर्न गाह्रो भए तापनि वैदिक युगको वेद श्रुतिसंवत् अर्थात् बोलेको कुरा सुनेर नै कण्ठस्त गर्ने रहेछ । जसलाई ऋतकाल भनिँदो रहेछ । यिनै ऋतकालका श्रुतिवेद अक्षरको विकास भएपछि लिपिबद्ध बनाएर ऋग्वेद हुन पुग्यो । यसैगरी यजुर्वेद र सामवेदको उदय भयो । सबैभन्दा कान्छो अथर्ववेदले निक्कैपछि वेदको मान्यता पाएको देखिन्छ । यिनै छोटाछोटा वेदका मन्त्रहरूबाट पछि विभिन्न व्यक्तिले पुराण, उपनिषद् आदि अरू शाखा–प्रशाखामा विभाजन गरेर आआफ्नो रायअनुसारको लेख तयार पारेको देखियो ।
सबैभन्दा पुरानो ऋग्वेद रहेछ । यो युगमा वर्ण विभाजन थिएन । जातजाति र गोत्र केही थिएन । जात भनेकै महिला र पुरुष मात्र देखियो । तैपनि सन्तान उत्पादनका लागि अनि मातृप्रधान व्यवस्था, महिलाले सन्तान उत्पादनका लागि केही समय इच्छाइएको पुरुषसँग बस्ने अनि सन्तान जन्मिएपछि आफ्नै इच्छाअनुसार छोडेर जाने चलन देखियो ।
पुराणहरूमा सुनेकै पनि हो, कुनै राजाको विवाह देवकन्या या अप्सरासँग उनैको इच्छाअनुसार निश्चित अवधिका लागि हुने गर्छ, कारण जे जस्तो दर्शाए पनि सन्तान प्राप्तिपश्चात् महिलाहरू आआफ्नै स्वस्थानमा फर्केका हुन्छन् ।
परापूर्व अर्थात्् वैदिक कालमा विवाहको कुनै व्यवस्था थिएन । सहगोत्रीय अझ एकै परिवारको महिला पुरुष पनि सन्तान उत्पादन गर्न सहबास गरेको देखियो । सायद त्यतिबेला जनसङ्ख्यामा निकै कमी भएर हो कि !
बिस्तारै समयमा परिवर्तन हुँदै गयो र मातृसत्ताबाट पुरुषसत्तातिर उन्मुख हुँदै गएको देखियो । युग परिवर्तनसँगै समाज पनि परिवर्तन हुँदै गयो । पशुपालन र घुमन्ते शैलीबाट बिस्तारै मानिसहरू समूहमा बस्न थाले । यस्तो समूहको आआफ्नै गण बन्न थाल्यो । गणका एक जना सर्वमान्य मुखिया गणपति बन्ने चलन बस्न थाल्यो । विकास–क्रमसँगै खेतीको सुरुवात हुन थाल्यो । त्यसपछि क्रमशः वर्ग र समुदायमा विभाजित भयो । आर्य, अनार्य, द्रविण, नाग, देवता, राक्षस, यक्ष, गन्दर्भ आदि विभिन्न वर्ग र समुदायमा मान्छे विभाजित हुन थाले ।
यसरी विभाजित समुदायमा आर्य समुदायले अनार्य समुदायकालाई लखेट्ने, हेप्ने र सकेसम्म आफ्नो समुदायमा ल्याउन खोज्ने गर्दथे जसले गर्दा बेलाबेलामा लडाइँ झैझगडा भइरहन्थ्यो । देवता समुदायकाले आफूले आफैलाई उच्च र योग्य मान्ने गर्थे । यी देवताहरूमा सबैलाई परास्त गर्ने शक्ति थियो । राक्षस जाति र नागजातिहरू यी देवताभन्दा टाढै बसेर आफ्नो जीविकोपार्जन गर्न थाले । यिनको मुख्य पेसा कृषि र पशुपालन नै थियो । जीविकोपार्जन मात्र नभई बिस्तारै सम्पत्ति जगेर्ना र अर्थआर्जन गर्ने व्यवसायको रूपमा व्यापारका लागि जलमार्गबाट अन्यत्र लैजाने गर्न थाले । आपसमा मिलेर सम्पन्न बन्दै गएका राक्षस समुदायका प्रगति देख्न नसकेका देवता र देवताको गणमालिक इन्द्रले बेलाबेलामा यिनका सम्पत्ति लुट्ने र आफ्नो गुणगान गाउने ऋषि र मनपरेका व्यक्तिमा बाँड्ने गर्दारहेछन् । यसैले होला बेलाबेलामा देवासुर सङ्ग्राम भएको कुरा पुराणहरूमा पनि सुनिन्छ ।
समय र समाजको परिवर्तनसँगै धनसम्पति आर्जन र सञ्चिततिर पनि समाज उन्मुख भएछ । धन भएका धनीहरूले समाजमा भएका गरिब र पिछडिएका वर्गलाई आफ्नो दास बनाउने र तिनैबाट आफ्ना काम गराउने गर्दा रहेछन्, नयाँ खेतीको प्रविधि आविष्कार र गौ पालन प्रचुर मात्रामा हुन थाल्यो । फलस्वरूप धनी वर्गका व्यक्तिहरू विलासितातिर पनि उन्मुख हुन थाले । विलासितामा प्रमुख स्थान जुवाले ओगट्यो, जुवाले सर्वस्व भएका कतिपय पुराणमा जोडिएका कथाहरूले पनि यस्तो कुराको पुस्टि हुन्छ । यसरी ‘त्यो युग’ नामक पुस्तकमा समाजको परिवर्तित स्वरूपको मोटामोटी रूपरेखा पढ्दा अहिलेको युगमा पनि यी सबै हुबहु लाग्ने कुराहरू धेरै पहिले नै वेदमा लेखिएको रहेछ ।
समाज र सामाजिक व्यवस्थाबाहेक वेदमा विभिन्न कालखण्डमा भिन्दाभिन्दै ऋषिहरूले ऋचाहरू थप्दै गएको देखिन्छ । समय र परिस्थितिअनुसार आवश्यकताका कुरा, परिवर्तनका कुरा, स्तुतिगानका कुरा लिपिबद्ध गरिएको देखियो ।
वेदमा भएअनुसार वैदिक कालका ऋषिहरू निकै शक्तिशाली रहेछन् । उनले आफ्नो शक्तिद्वारा प्रकृतिमा देखिएका चीजबिजहरू र ब्रह्माण्डमा भएका चीज–बिजहरूसँग आफ्ना लागि आवश्यक भएका वस्तुहरू माग्दै आफ्ना ऋचाहरू बनाएका र लिपिबद्ध गरेका जस्तो देखियो । ऋषिहरूका वाक्य ब्रह्मवाक्य र प्रत्येक शब्दहरू मन्त्र बन्दारहेछन् । त्यसैले होला वेदका प्रत्येक ऋचा वेदमन्त्र बनेका होलान् !
यो पुस्तक नपढ्दासम्म ऋषि र मुनि भनेको एकै होला जस्तो लाग्थ्यो । वेदको कथनअनुसार ऋषि र मुनिमा केही भिन्नता पनि रहेछ । मुनि भनेका ठूला विद्वान्, ज्ञानको भण्डार भएका ज्ञानी, सबैलाई ज्ञान बाँड्ने ज्ञानदाता, शान्त स्वभावका सन्त तपश्वि हुँदारहेछन् । ऋषि भनेका वेद लेख्ने मन्त्रद्रष्टा, गुरुको पदवी पाएका शिक्षक, यज्ञकर्ता अनि यज्ञ र मन्त्रद्वारा सारा ब्रह्माण्डलाई आफ्नो अनुकूल पार्न सक्ने व्यक्तित्व भएका हुँदा रहेछन् ।
मदनमणि दीक्षितजस्ता विद्वान्ले वेदलगायत अरू धेरै देशी–विदेशी दार्शनिक, इतिहासविद्हरूले लेखेका दर्शनशास्त्रहरूको गहिरो अध्ययनपश्चात् आफ्नो धारणा व्यक्त भएको यति ठूलो पुस्तकमा लेखिएका गहन कुराहरू मैले कति बुझेँ होला ? तैपनि सागरको किनारमा बस्दा छालको छिटाले शरीर भिजेजस्तै ‘त्यो युग’ नामक पुस्तकबाट मेरो सोचाइमा निकै परिवर्तन आएजस्तो लाग्यो । यो त मेरो नितान्त व्यक्तिगत बुझाइ मात्र हो । कुरा अझ अर्कै पनि हुन सक्छ ।
यति पढिसक्दा मेरो दिमागभित्र अनुत्तरीय कुराहरू धेरै नै घुम्न थालेका छन् । यी हाम्रा पूर्वज भनेका ऋषि र मुनि कस्ता व्यक्तित्व भएका थिए होलान् ? जसले यस्तो वेदजस्तो दिव्य मन्त्रहरूको लिपिबद्ध गरे ! तिनमा यत्रो असीमित ज्ञान कसरी उब्जियो होला ? जसले ब्रह्माण्डलाई मन्त्रद्वारा आफ्नो अनुकूल बनाएर प्राणीहरूको हितमा उपयोग गरेका रहेछन् । सबैलाई आदेश दिन सक्ने चिर आयु भएका यी ऋषिहरूको व्यक्तित्वसँग देवता पनि डराएजस्ता देखिन्थे । यस्तो कसरी भयो होला ? यस्ता अनेकौँ अनुत्तरीय र नबुझेका कुराहरू कसरी जान्ने होला र ?
संसारमा पहिलो सभ्यताको मूल मानिने सिन्धु उपत्यकाको मोहेन्दोदजाडो र हरियुपिया (हरप्पा) बाट फैलिएका अग्निपूजक यज्ञकर्ता वेदका अनुयायी आर्यहरू आजको दक्षिण एसियाका विभिन्न भागमा आफ्नो प्रभाव फैलाएर बसेका रहेछन्, जसलाई त्यतिबेला र अहिले पनि आर्याव्रत भनिन्छ । ‘त्यो युग’ नामक पुस्तक पढिसकेपछि यिनै आर्यहरू हाम्रा पूर्वज र हामी उनैका सन्तान हौँ भन्ने कुरामा कुनै दुविधा रहन्न ।
पुस्तकभित्र रहेका मिहीन र उच्च स्तरका कुराले संस्कृत पढ्नै हुँदैन, संस्कृत त बाहुनहरूले मात्र पढ्ने हो भन्दै आफू–आफूमै विभाजित भई अन्जानबस विपरीत हावामा रुमल्लिएका आजका युवाहरूले मदनमणि दीक्षितद्वारा लिखित ‘त्यो युग’ नामक पुस्तक पढ्नैपर्ने जस्तो लाग्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु