आवेग

- बद्री अधिकारी

अचानक बजारमा छिमेकी महावीर काकाको छोरासँग जम्काभेट भएकाले मलाई महावीर काकाको सम्झनाले लगारिरहेको थियो । जीवन भोग्ने क्रममा अनेकौँ कुरा देख्न अनि भोग्न र सुन्न पाइँदो रहेछ । कति कुराहरू सुनेर बिर्सिइँदा रहेछन् भने कति कुराहरू बिर्सनै सकिँदोरहेनछ । आफूलाई घत लागेको कुरा अनि घटना र दृश्यहरू मानिसका दिमागमा सदा ताजा रूपमा तह लागेर बसेका हुँदा रहेछन् । मलाई यस्तै लागिरहेको थियो । किनकि काकाले भनेका हरेक शब्दहरू अहिलेसम्म मैले भुल्न सकिरहेको थिइनँ । बीस वर्षअगाडि काकाले भनेका हरेक शब्द मलाई याद भैरहेका थिए । अरूहरू काकालाई दोषी ठान्दथे भने मेरो अन्तरमनले उनलाई त्यो दर्जा दिन सकिरहेको थिएन । कत्तिपय काम कुरा गर्दा स्वयम् गर्ने मानिसलाई हेक्का हुँदो रहेनछ । सायद उनलाई पनि त्यस्तै भएको थियो क्यारे ! मेरो मनले पनि उनलाई सोही तराजुमा राखेर तौलिरहेको थियो । मेरा आँखा अगाडि उनको टिठ लाग्दो मुहार र दयनीय अवस्था नाँचिरहेको थियो । म उनको विचारलाई दिमागबाट हटाउन टाउको झड्कार्दथेँ । तर मेरो प्रत्येक पटकको प्रयास विफल भइरहेको थियो । जब जब मलाई कुनै घटनाले पच्छाउने गर्दथ्यो । तब म त्यस विषयलाई नलेखीकन शान्तिले बस्न नै सक्दिनथेँ । काकालाई आफूले दिएको वचन पनि पूरा गर्न सकिरहेको थिइनँ । मैले ढिप्पी गर्दा उनले आफ्नो जीवनगाथा सुनाएका थिए । उनको उत्कण्ठा विचित्रको थियो । सायद उनी आफ्नो अनुभव समाजमा छरेर केही दिन चाहन्थे क्यारे । “मेरो जीवनगाथा कसैलाई नसुनाउनू तर लेखेर छापिदिनू !” उनको चाहनाले म केही क्षण सोच्न विवश भएको थिएँ । अहिले पनि त्यस बिहानीको दृश्य आँखाअगाडि झलझल नाँचिरहेको छ ।
८८
छिमेकी महावीर काकाको घरमा निकै हल्लीखल्ली भइरहेको थियो । म पनि आफूलाई रोक्न नसकेर त्यतैतिर लागेको थिएँ । बुहारी डाँको छाडेर फत्फताउदै रोइरहेकी थिइन्— “लौ न नि हाम्रो आमालाई त के भयो ?” महाबीर काका मानिसले सोधेको प्रश्नको मुस्किलले जवाफ दिँदै आँखाबाट बगेको आँसुलाई पुछिरहेका थए । महावीर काका श्रीमती सुतेको ओच्छ्यानको खुट्टातिर नुन खाएको कुखुराझै झोक्राईरहेका थिए । कोठा सानो भएकोले मान्छे ठेलामठेल गरेर महारानी सुतेको खाटतिर चिह्याइरहेकाथिए । उनी कोल्टे फर्केर सुतिरहेकी थिइन् । देखिएतिरको कन्चटबाट रगत बगेर तन्ना भिजेको थियो । काका टुक्रूक्क बसेर जोर घुँडामा निधार अड्याएर रोइरहेका थिए । केही क्षणको रूवाइपश्चात सुकसुकाउँदै उनले टाउको उठाएर कोठामा उभिएका मानिसहरूलाई एकपटक हेरेका थिए ।
“महारानी अब मलाई कसले खैनी माडेर दिन्छ ? तिमीले मलाई छाडेर गयौ ! हे ईश्वर तिमी मलाई पनि लिएर जाउन एक्लै बाँच्न चाहन्न ।”
साँच्चै काका रोएको देख्दा मलाई नरमाइलो लागिरहेको थियो । काका त्यसबेला साठी वर्ष पुगिसकेका थिए भने काकी पचपन्न पुगेकी थिइन् । महारानी बूढेशकालमा पनि राम्री देखिन्थिन् । बूढेशकालको अवस्थालाई देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो कि उनको बैँसालु अवस्था विछट्टै आकर्षक थियो होला । द्वयको कहिल्यै झैझगडा भएको मैले देखेको थिइनँ । उनीहरूलाई बरण्डामा बसेको देख्दा परेवाको जोडीजस्तो लाग्थ्यो । काका खैनी खाने गर्दथे । काकाले कर गरेपछि काकी खैनी माडिदिने गर्द्थिन् । “खैनी माड न खाऊँ तिमीले माडेको सारै मिठो हुन्छ ।” “नातिनातिनाले घेरिसके बूढाको इत्रने बानी गएको छैन । लाज पनि हुनु पर्ने !” काकी फतफताउँदै खैनी माड्न थाल्दथिन् । म बसेको ठाँउमा यति मिलेका लोग्ने स्वास्नीको जोडी देखेको थिइनँ । मलाई उनीहरूको बोलीचाली खुबै मन पर्दथ्यो । काका मलाई ठूले भन्दथे भने काकी ‘ठूले नानी’ भन्ने गर्द्थिन् । काका मसँग दुःखसुखका कुरा गर्दथे । उनी प्रायः मसँग मनको कुरा लुकाउदैनथे । विश्वासले भरोसा जन्माउँछ र भरोसाले आत्मीयतामा वृद्धि हुन्छ । आत्मीयता भएको ठाँउमा गोपनियता रहन सक्दैन । म मोरङ आएको थिएँ । त्यस पछाडि काकाको बारेमा मलाई केही थाहा थिएन । काकाको छोरासँगको साक्षातकारले गर्दा उनको सम्झना मभित्र जागृत भएको थियो ।
केही खानेकुरा बोकेर म महावीर काकासँग जेलमा भेट गर्न गएको थिएँ । मैले उनीसँग आफ्नोबारेमा सुनाउन कर गरेको थिएँ । उनी मसँग सत्यता ओकल्न हिच्किचाइरहेका थिए र मेरो ढिपीले उनीलाई लाचार बनाइरहेको थियो ।
“ठूले खोइ म के भनौ ! मलाई भन्नै असजिलो भइरहेको छ । दश मनमा एक मनले पनि सोचेको थिइनँ । महारानीले मलाई यसरी छाडेर जाली भनेर ।” उनले तरक्क आँखाबाट आँसु खसालेका थिए । उनको आँखाले आँसु खसालेको देख्दा मेरो मन पनि भक्कानिएको थियो । आफूलाई नियन्त्रण गर्ने प्रयास गर्दै मैले भनेको थिएँ –“काका ! मेरो उद्देश्य तपाईंको मन दुःखाउनु थिएन, क्षमा गर्नुहोला ।”
“यसमा क्षमाको कुरा रहेन । मैले यो कुरा अहिलेसम्म कसैलाई भनेको छैन.। तिमी पढेलेखेको मान्छे, प्राप्त वस्तुलाई सही ठाँउमा प्रयोग गर्न जान्दछौ भन्ने मैले आशा बोकेको छु । ठूले ! बैँसमा म निकै चञ्चले थिएँ । महारानी पनि औधी राम्री थिइन् । बुबाआमाले मेरो सानै उमेरमा महारानीसँग विवाह गरिदिनुभयो । हामी दुई एक अर्कालाई खुब माया गर्द्थियौँ । उनी पनि म कतिखेर कामबाट घर फर्केर आउँछु भनेर आँखा ओच्छ्याएर बसेकी हुन्थिन् । म पनि काम सक्ने वित्तिकै बिना अलमल घर जाने गर्दथेँ । दिनहरू बितेको हामी दुईलाई थाहा नै भएन । बिना कचकच नै तीन जना छोरा– छोरीको बिवाह गरी दियौँ ।” यति भनेर काका टोलाएका थिए । बैँसको चञ्चलता उनको आँखामा तरङ्गिदै थियो । उनले पुलुक्क मलाई हेरेर आफ्नो कुरा जोडेका थिए —“कुन समयमा के हुन्छ भन्ने पूर्वज्ञान भएको भए अहिले मेरो अवस्था यस्तो हुने थिएन होला ! महारानी र म त्यो दिनसम्म कहिलै ओछ्यान अलग गरेर सुतेका थिइनौँ । हामीद्वय सुतिरहेका थियौँ, पल्लो कोठामा छोराबुहारी सुतिसकेका थिए । जाडो जाने समय गर्मी आउने बेला ! रातको अन्दाजी दश बजिसकेको थियो । मैले महारानीको पिठिउ सुमसुम्याएको थिएँ ।
“कत्ति चलेको !”–उनी झर्केकी थिइन् ।
“छुनै हुँदैनस !–किन रिसाएकी ठुस्स परेर ?”
“मलाई त झर्को पो लाग्दछ है, यो तिम्रो दिनहुको कचकचले ।” “एक छिन त हो । नाइ नभन न ।”–मैले खुसामद गरेको थिएँ ।
“पल्लो कोठामा छोराबुहारी बिउँझै होलान्,नचल न भनेको ।”
“मलाई सारै मन लागेको छ क्या ।”मैले उनलाई आशलाग्दो पारालेहेर्दै आफ्ना हात जोड्दै याचना गरेको थिए।
“बूढेशकालमा पनि कति इत्रिएको पात्तिने पनि उमेर हुन्छ नि ।”
“दुईतीन वर्षदेखि आजकल खाली तिमी यसै भनिरहेकी छौ, आखिर म पनि त मानिस हुँ, मेरो पनि दिल हुन्छ,त्यसमा चाहनाहरू लुकेका हुन्छन् ।” यसो भन्दै मैले उनीलाई पगाल्ने प्रयास गरिरहेँ ।
“नगर भनेको , तिमी मान्दैनौ, .ऐले म हल्ला गरिदिन्छु ।” यति भन्दै झन खाटको पल्लो कुनातिर सरेकी थिइन् ।
“ए ! अहिले तलाई एकलोहटा पानी खन्याइदिन्छु अस्तीको जस्तै अनि चालपाउछेस् ।”मैले उनिमाथि पुरूषत्व वार्षाएँ ।
“लुलु, लु त हेरौँ कसरी पानी खन्याउँदा रहेछौँ आज त हल्लापो गरिदिन्छु ।”उनका क्रोधिला ठूल्(ठूला आँखा मतिर टाँसिएका थिए।आज उनी पुरै प्रतिबादमा उत्रिरहेकी थिईन ।
उनलाई रिसाएको देखेर म मनमनै फतफताएँ । “लातको भूत वातले कहाँ मान्दछ र !” उनको त्यस प्रकारको अस्वीकृतिले म भित्रभित्रै मुरमुरिइरहेको थिएँ । पहिला पनि म उनको व्यवहारबाट मुरमररिँदै छट्पटीका साथ रात बिताउन बाध्य हुने गर्दथेँ । दिनभरि शरीर आलस्य भैरहन्थ्यो । लगातार केही समयदेखि मैल उनीबाट त्यस प्रकारको व्यवहार भोगिरहेको थिएँ । कुनै दिन स्वीकृति प्राप्त गर्न सफल भए पनि उनीबाट सहयोग हुँदैनथ्यो । उनको सहयोग बिनाको मौन समर्थनले म आफू तृप्त नभएको महशुस गर्दथेँ। त्यस दिनको उनको त्यो विरोधले म भित्रभित्रै क्रोधित भैरहेको थिएँ । ‘रीस उठेको बेला ब्राम्हणले वेत पढ्दैन ।’ म त्यस बेलासम्ममा खाटबाट उत्रिसकेको थिएँ । सायद उनी पनि मेरो कचकच पन्छाउन सफल भएकीमा खुसी भई अर्कोपट्टि फर्केर झकाइसकेको थिइन् क्यारे ।
भूइँमा रहेको पानीको लोहोटा उठाएर मैले उनको टाउकोमा पानी एकैचोटी घोप्टिनेगरी हुत्याएको थिएँ । अच्चम्मको कुरा, नचाहँदा नचाहँदै मेरो हातबाट लोहटा फुत्किएर बेगका साथ उनको कन्चटमा बज्रिसकेको थियो । मैले उनलाई हिर्काउन चाहेको थिइनँ केवल पानी मात्र घोप्ट्याउन खोजेको थिएँ तथापी नसोचेको कुरा भइसकेको थियो । उनी हातखुट्टा झड्कारेर तनक्क परेर तन्किएकी थिइन् । त्यो उनको तन्काई मृत्यु प्राप्तीको अन्तिम सङ्केत थियो क्यार ! मभित्र उत्तेजनाको ठाँउमा भय उत्पन्न भएको थियो । आवेश समात्त भइसकेको थियो । डरले म लगलग कामिरहेको थिएँ । मानिसहरूले आफूलाई के भन्लान् ? उनीहरूसँग आँखा कसरी मिलाउनु ? प्रहरीको यावत सवालको जवाफ कसरी दिनु ? पत्र–पत्रिकामा फोटोसहितको नाम छापिँदा समाजमा प्राप्त गरेको इज्जतको हूर्मत हुँदैन र ? यस प्रकारको प्रश्न र मनोसंवादले म गली नै रहेको थिएँ । आँखा हुँदाहुँदै अन्धो र कान हुँदाहुँदै बहिरो भएको थिएँ ।”
“.........” नबोलीकन मैले काकाको मुहारको अवलोकन गरेको थिएँ । उनको मुहारमा असङ्ख्य पीडाका रेखाहरू तरङ्गित भइरहेका थिए जसलाई शब्दमा उल्लेखगर्न मलाई कठिन भै रहेकोछ ।
८८८

उनले आफ्ना हातलाई निकै सजाय दिएका थिए क्यार ! हातभरी चोटका दाग र आलो घाउ प्रष्ट देखिन्थ्यो । उनले आफ्नो पीड़ा यसरी जोडेका थिए। “महारानीले मलाई छाडेर गइसकेकी थिइन् । मेरो हातबाट अकल्पिनिय दुर्घटना घटिसकेको थियो । यी हातलाई जति नै सजाय दिएपनि कम हुन्छझैँ लाग्छ र लागिरहेको छ मलाई, के गरौँ के नगरौ हुँदै थियो । आत्महत्या पनि गर्न सकिरहेको थिइनँ र भाग्न पनि सकिरहेको थिइनँ । छोरा(बुहारीलाई बोलाउने सामर्थ्य पनि ममा थिएन । प्रहरी समक्ष आफूले रीसको झोँकमा हिर्काउँदा महारानीको मृत्यु भएको स्वीकारे पनि क्रोध उत्पन्न हुनुको कारण भन्न सकेको थिइनँ । कसरी भन्नु ! बस्ताबिकताले म अरूहरूको नजरबाट झन होचिन्छु जस्तो लाग्यो । होचिनु मात्र होइन हाँसोको पात्रनै हुन्थे होला । खैर जे होस ! तिमीलाई विश्वास गरेर भनेको छु, मेरो विषयमा कथा लेखेर छापिदियौ भने अरूद्वारा यस्तो घटनाको पुनरावृत्ति हुँदैन कि !” काकाको उत्कण्ठाभित्र सकारात्मक पक्ष लुके झै मलाई भान भएको थियो । जेलमा उनले मसँग यसरी आफ्नो कथा सुनाएका थिए । उनको चाह बमोजिमको कथा मैले लेख्न सकेँ..या सकिन..! खोई..! म स्वयम् आनुमानगर्न सकिरहेको छुइँन...! त्यसैले मैले यो काम पाठ्कहरूलाई सुम्पिएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु