यातना प्रेम

- कृष्ण बजगाईं

चुनाव पर्यवेक्षण गर्ने विदेशीको हुलमा एकजना नेपाली मूलका बेलायती नागरिक पनि थिए । बेलायतमै जन्मिए पनि नेपालको राजनीतिका बारेमा उनलाई खुब चासो थियो । चुनावको नतिजा नआउन्जेल उनले काठमाण्डौं छाडेनन् । चुनावी परिणामलाई सुक्ष्मरुपमा अध्ययन गर्न रेडियो, टिभी र पत्रिकाका अगाडि बसे ।
युवाहरुलाई बेरोजगार बनाई कामदारको रुपमा विदेश जान बाध्य पार्नेहरुलाई भोट हाल्न तिनै युवाहरु फर्की आएको अचम्मको दृष्य टिभीमा देखिसकेका थिए ।
भ्रष्टचारीहरु भारी मतले चुनाव जितेको समाचार पढेर रन्थनिए ।
ज्यानमाराहरुले विजय प्राप्त गरेको समाचार हेरेर निस्सासिए ।
गुण्डाहरुले चुनाव जितेर सडक थर्काएको सुन्दा मुरमुरिए ।
महँगी बढाएर जनताको ढाड सेक्नेहरु सम्मानित मतले निर्वाचित भएको थाहा पाएर आगो भए ।
जतिजति निर्वाचनको परिणाम आउँदै गयो उतिउति उनको रक्तचाप बढ्दै गयो । पुरै परिणाम आईनसक्दै अचानक उनी बेहोश भए ।
होशमा आएपछि आफूलाई अस्पतालको इर्मेजेन्सी वार्डमा देखेर डराए । ‘के भयो मलाई ? किन यहाँ ल्याईयो ?’ सामुन्ने उभिएकी नर्सलाई सोधे ।
‘उच्च रक्तचाप बढेका कारण तपाईं बेहोश हुनु भएकोले अस्पताल ल्याइएको हो । त्यस्तो कुनै खतरा छैन । डाक्टरका अनुसार अब तपाई घर जान सक्नु हुन्छ ।’ नर्सले छोटकरीमा बताईन् ।
ऊ ठिंग उभियो । नभन्दै आफू ठीक रहेको महशुस गर्यो । अस्पतालबाट बाहिर निस्केर होटल जान ट्याक्सी चढ्यो । ट्याक्सीको रेडियोमा उही चुनावी परिणामको विश्लेषण र सरकार बनाउने रस्साकस्सीको चर्चा हुँदै थियो ।
‘महँगी बढाउनेलाई भोट ! ज्यानमारालाई भोट !! आततायीलाई भोट !!! मेरो रक्तचाप बढाउने समाचार बन्द गरेर अरु कुनै गीत लगाउनुहोस् ।’ ड्राइवरलाई आदेश दिए ।
‘के गर्नु हजुर, हामीहरु सायद यातना प्रेमी छौं होला । यातना दिन पाउँदा दिनेहरु खुशी हुन्छन् । यातना पाउँदा हामी पनि खुशी नै हुन्छौं । र त पटकपटक उनैलाई चुनावमा जिताउँदछौं । हामी दुईचारजनाले बल गरेर केही नहुने रहेछ ।’ ट्याक्सी ड्राइवरले निराशा व्यक्त गर्दै अर्को स्टेशन ट्युन गर्यो ।
मियाबिवी राजी तो क्या करे पाजी ... रेडियोमा हिन्दी गीत बजिरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 आसाढ, 2075

लेखकका अन्य रचनाहरु