‘लाल्टिनको उज्यालोमा’ सरस्वती ज्ञवाली

- डा. ऋषिराम शर्मा

सार
(‘लाल्टिनको उज्यालोमा सरस्वती ज्ञवाली’ शीर्षकको यस लेखमा कृतिभित्रका विभिन्न साक्ष्यहरू र तथ्यहरू प्रस्तुत गर्दै सिर्जनात्मक समीक्षा प्रस्तुत गरिएको छ । पाल्पाको मदन पोखरामा जन्मेर गुल्मीको बलेटक्सारका प्रदीप ज्ञवालीसँग (२०४०) सालमा वैवाहिक सम्बन्धमा आबद्ध सरस्वती ज्ञवालीको ‘लाल्टिनको उज्यालोमा’ पुस्तक २०७३ मा प्रकाशित एक निकै चर्चित र विशिष्ट संस्मरणात्मक कृति हो । यो यस (२०७३) वर्षको उत्कृष्ट दश गैर आख्यान कृतिमा समेत सूचीकृत भइ सकेको छ । उनले पश्चिमी पहाडी प्रकृतिका शिक्षालयहरू (गाउँ, पाखा, पखेरो, भिर, खोला, नाला, जंगल, चुलो चौको) मा गृहिणी, शिक्षिका, आमा, बुहारी, नेता र पत्नीको भूमिकाका अनेकौं कोर्सहरू कुशलतापूर्वक पूरा गरिन् र यसै सन्दर्भमा उनले तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, द्वन्द्वकाल र गणतन्त्रात्मक व्यवस्थादेखि मन्त्रीक्वार्टरसम्मको यात्रा गर्दा उनले जे सिकिन्, जे भोगिन् र जे देखिन् ती सम्पूर्ण कुराहरू चलचित्रका दृश्य भैंm यस कृतिमा देख्न पाइन्छ । यो कृति अक्षर क्रियसन्स (प्रकाशन) का लागि अर्चना थापाले प्रकाशित गरेकी हुन् ।)
एक रातमै जन्म घर माइती घरमा बदलिएको थियो, बिरानो लाग्ने गरी (पृ. ३) । परे एक दुई महिनामा एउटा चिठ्ठी । सबै “सुहागरात” र “हनिमुन सनिमुन” त्यही चिठ्ठीसँग (पृ. ३६) । मान्छे हो, सर्वसाधारण मान्छे जस्तै नेताकी स्वास्नीको पनि यौवन हुँदो रहेछ, सँगै बस्ने सँगै हिँड्ने रहर लाग्दो रहेछ (पृ. १२६) । पार्टी एउटै हुँदा पनि सम्बन्ध किन चिसिन्छ ? वर्ग फेरिएर कि विचार फेरिएर (पृ. १३८) । कतिपय नेताहरू पद पाएपछि आफ्नो धरातल बिर्सिंदा रहेछन् । ... समाज बदल्न त त्यस्तै हो आपूmचाहिँ बदलिँदा रहेछन् (पृ. १६२) ।
यी हुन् पाल्पाकी चेली र गुल्मीकी बुहारी गुमनाम स्रष्टा सरस्वती ज्ञवालीको ‘लाल्टिनको उज्यालोमा’ कृतिभित्रका केही प्रतिनिधि वाक्यहरू । कृति पढ्दै जाँदा लाग्छ; देखेर लेख्नेहरू भन्दा भोगेर लेख्नेहरूको कलममा जीवन्तताको जादु हुन्छ ः अर्काका आँखाको आँसुमा लेखिएको रचनाभन्दा आफ्नै आँखाका आँसुबाट बनेका रचना मार्मिक हुन्छन् । बाँध बाँधेर ल्याएका विम्बभन्दा कलकल बगेर आएका विम्बमा सम्प्रेषणको शक्ति हुन्छ । पीडाभित्र असीम आनन्द, सङ्घर्षभित्र अनन्त सुख, मृत्युबोध भित्र जीवनबोधको ऊर्जाले भरिएको उनको यो कृतिभित्र राजनीति, चेतना र स्वाभिमानको ऊर्जा छ, ममता, नम्रता र जीवनबोधको इन्धन छ, इमानदारिता, क्रान्तिकारी आदर्श, पारिवारिक दायित्व एवं समृद्ध र सम्पन्न राष्ट्रको सुन्दर सपना छ ।
कञ्चन पानीको कुनै रङ्ग हुँदैन जब त्यसमा कुनै रङ्ग मिसाइन्छ त्यो त्यसैअनुसार बदलिन्छ, बालापनकै कलिलो उमेरमा प्रगतिशील विचार र कम्युनिष्ट विचारधाराले स्पर्श गरे पछि सरस्वती प्रगतिशील र कम्युनिष्ट बनिन्, क्रान्तिकारी र कुशल सङ्गठक बनिन् । विवाह गर्न आएको प्रस्तावमा विहे नगर्ने सरस्वतीको अडान अनि विवाह नगरे बुढी कन्या बस्... भन्ने आफ्नै आमाको आक्रोशपूर्ण धम्कीका विरुद्ध समेत मौन विद्रोह गरिन् । पार्टी सम्बद्ध आफ्नै दाजुको आड पाएर उनी पार्टीप्रति प्रतिबद्ध मात्र भइनन् भूमिगत कार्यकर्तासँग विवाह गर्ने अडान लिइन् र आपूmले पनि भूमिगत जीवन बिताउने (पृ. २४) आफ्नो जोखिमपूर्ण योजना बताइन् । यसरी कलिलो उमेरमै उनीभित्रको राजनीतिको ऊर्जा प्रदीप्त भयो र उनले पार्टीले जुराइदिएको लगन र रोजिदिएको वर शशि अर्थात् प्रदीप ज्ञवालीसँग कामरेडी मायाका साथ २०४० सालमा कामरेडी विवाह गरिन् । स्मरण रहोस् उक्त वैवाहिक कार्यक्रम स्थलमा वर अर्थात् प्रदीप ज्ञवालीले प्रिय मेरो जीवनमा स्वागत छ (पृ. १२७) भन्ने कविता मन्त्रध्वनि मार्पmत सरस्वतीलाई जीवन साथी बन्न आह्वान गरेका रहेछन् ।
‘लाल्टिनको उज्यालोमा’ भित्रकी सरस्वतीमा चेतना र आँटको अनन्त ऊर्जा छ, अठोट, आत्मविश्वास र विचारप्रति अगाध निष्ठा छ । उनी जहाँ जान्छिन् शिक्षाको विरुवा हुर्काउछिन्, भेदभावका झारहरू गोडछिन् र स्वास्थ्यको चेतना छर्छिन् । उनी एक यस्ती मैनवत्ती हुन् जसले आपूm पग्लेर पार्टी, समाज र परिवारलाई अग्लो ठाउँमा पु¥याउने काममा लागिन्, आपूm बलेर अरूलाई ऊर्जा दिइन् । सुरुमा जब उनी पढ्नका लागि भागेर तानसेन (पृ. १३) पुग्छिन्; लगाएको एक जोर कपडा, कक्षा ६ का केही किताब बाहेक केही थिएन, थियो त केवल अलिकति उज्यालो, परिवारसँग विछोडिएको पीडा र अलिकति जे होला टर्ला भन्ने आँट मात्र (पृ. १७) । उनी जब विहे गरेर गुल्मी पुग्छिन् त्यहाँ गाउँमा शिक्षाको चेतना भर्न तत्कालीन गाउँले ठालुहरूका दिमागमा वत्ती बाल्न दिउँसै लाल्टिन बालेर मौन आन्दोलन गरिन् मैले बाध्य भएर सबैका आँखा खोल्न, समाजको आँखामा उज्यालो खोज्न दिउँसै लाल्टिन बालेँ... त्यही लाल्टिनको उज्यालोमा देखिएको सानो गोरेटो नै पो मेरो मूलबाटो थियो कि !’ (पृ. ७) उनले लेखेकी छन् ।
‘लाल्टिनको उज्यालोमा’ भित्रकी सरस्वतीमा नम्रता र ममताको ताकत छ । सरस्वती महिला र पार्टी सङ्गठनका काममा जहाँ–जहाँ पुगेकी छन् त्यो ठाउँ माइती गाउँ भएको छ र जुन घरमा बसेकी छिन् त्यो घरमा उनले साख्खै छोरीले भन्दा बढी माया पाएकी छिन्, अर्घाखाँचीमा डिल्लीराजको घरमा बस्दा होस् वा अन्यत्र यसको कारक उनमा फलेको विनम्रताको फल नै हो । सरस्वतीमा ममता, मातृवात्सल्यको अनन्त स्रोत छ ।
सरस्वतीमा आँटको र स्वाभिमानको सगरमाथा छ, स्वार्थका लागि स्वाभिमानलाई बन्धकी राख्नेहरूको भिडमा उनी एक्ली भैंm प्रतीत हुन्छिन्– पुस्तकभरि नै । नेता पत्नी भएर प्रचुर लाभ लिएका थुप्रै नेता पत्नीहरूको लाइफ स्टाइल एकाएक बदलिएको र आपूm ग्रामीण मौलिकता कायम राख्न सकेकोमा गौरवान्वित हुन्छिन् ठाउँ ठाउँमा । साधारण आइमाई ठानेर सन्धिखर्कमा छोराको उपचारमा डाक्टरले गरेको त्रूmर व्यवहार र प्रदीप प्रत्नी भनेर चिनेपछि एकाएक विनम्रतामा अनुवाद भएको उही डाक्टरको नरम व्यवहार देखेर उनलाई दिक्क लाग्छ, अनि उनी छोराको उपचार अस्पतालमा नगरी क्लिनिकमा गराउँछिन् । उनी जागिर लगाइदिएर ठूलै गुन लगाएको सम्झनेहरूका विरुद्धको आक्रोश स्वरूप बाह्र दिन हाजिर भएर विनातलव जागिर छोड्दा स्वाभिमानी स्वाद पाएको अनुभूत गर्छिन् (पृ. १४४) । उनका यी र यस्ता कैयौं चोटिला स्वाभिमानी उदाहरणहरू पुस्तकैभरि व्याप्त छन् ।
सरस्वती ममता, जिम्मेवारी र पारिवारिक मेलमिलापको अजस्र स्रोत बनेकी देखिन्छिन् प्रस्तुत कृतिमा । पञ्चायत कालमा पार्टी दस्तावेज जोगाउने अभियानमा उनी घरकै लिस्नोबाट लडिन्, तर पेटमा हुर्किरहेको मायाको चिनोलाई भुइमा ठोक्किनबाट जोगाउन सकिनन्, पार्टी सशक्त बनाउँदा छोरी अशक्त बनिन् । पार्टीले सिङ्गो मुलुकको क्षितिज ढाकिरहँदा उनले छोरी क्षितिजको सेरोफेरो भित्र नै सुन्दर संसार देखिन्, उज्यालो देखिन् र मातृवात्सल्य र पारिवारिक दायित्वको आदर्श बोकेर प्रदीपको राजनीतिक राजमार्ग चौडा पारिदिइन् । उनी भन्छिन् ः आज श्रीमान् यो ठाउँमा छन् । मैले मेरो लाइफ भन्दै हिडेको भए पक्कै पनि उनलाई घरायसी झमेलामा फस्नु पथ्र्यो, यात्रामा ठेस लागे जस्तै हुँदो हो । त्यति मात्रै कहाँ हो र सासू बुहारीको सम्बन्धका बारेमा समाजमा स्थापित मानक भत्काउँदै उनले एउटा लाखौंमा एक मेरी सासू च्याप्टरमा नै लेखेकी छन् ः खै कसरी मैले पहिलो भेटमै विश्वास जितेँ थाहा भएन । उहाँ मेरी कर्म दिने आमा बन्नु भयो कहिल्यै सासू बनेर शासन गर्नुभएन (पृ. १९२) ।
बालविवाह, पार्टीका पुरुष साथीहरूले महिलाका कामप्रति गर्ने उपेक्षा भाव (८६), बुहार्तनका पीडा (४६), कुशल शिक्षिकाका रूपमा भोगेका अनुभूति (४८), जागिरका लागि भौतारिँदाको पीडा (९९), बिरालाले छाउरा सारेभैंm सार्दै जाँदा दुम्कीबासको नजिकको दुःखपूर्ण बसाइ (११८), पत्रिकामा गलत समाचार सम्प्रेषित भएर पैदा भएको पीडा (१०९), बहुदल र प्रजातन्त्र आएपछि पनि आफ्नो र पारिवारिक जीवनमा व्याप्त अभाव, विपन्नता, कष्ट र पीडाजन्य ग्लानि (११८), गाडीले व्याक गरेर मार्न खोजेको भयावह क्षण (१३१), राजधानीको झोपडी (१४५), हुरीले उडाएको त्यही झोपडीको दुर्दशा (१७२), २०५४ सालको पार्टी विभाजनपछि प्रदीपमाथि भएको साङ्घातिक आक्रमण (१४६) जस्ता विषयहरू भावगम्भीर रूपमा पूरै पुस्तकभरि प्रस्तुत भएका छन् ।
अरूलाई लाल्टिनको उज्यालो बाँड्ने सरस्वतीको जीवनमा एक रात निराशा र मृत्युबोधले आत्महत्याको अँध्यारो बाटो रोज्यो । विरालाले छाउरा सारेभैंm चिचिला बच्चा लिएर दुम्कीबासको एकलासमा बस्दै गर्दा उनलाई बाँच्न मन लागेनछ, निष्पट्ट अँध्यारो रातमा पनि देश, समाज, पति, छोराछोरी र परिवार सबै सबैलाई चटक्क छाडेर आत्महत्या गर्न हिडिछन् । निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको उदय पश्चात् पनि पञ्चायती प्रेतहरूले नै प्रजातन्त्रको पोसाकमा रजाइँ गरेको देखेर होला उनका सुन्दर सपनाहरू निभ्दै गएछन् र आफ्नो पारिवारिक दैन्यता र देशको दुरावस्थाजन्य पीडा, विक्षिप्तता तथा डिप्रेसनले मृत्युवरण गर्ने कहाली लाग्दो भयावह अवस्थामा उनलाई पु¥याएछ । मध्यरातमा राजमार्गमा पुगेर खोलामा हाम्फाल्ने कि ट्रकमुनि किचिएर मर्ने भन्ने द्वन्द्वले उनको आसन्न मृत्युलाई एकछिन अलमल्याएछ र त्यसै अलमलका बीचबाट पुनः पारिवारिक अवस्था, सामाजिक दायित्व सहितको जीवनबोध जागृत भएछ र उनी करिव दुईघन्टा पश्चात् मध्यरातमा पुनः आपैm ओछ्यानमा फर्किछन्, उनी भन्छिन् ः एक मनले विनय खोलामा हाम फालेर मरौं जस्तो लाग्यो, फेरि के भयो कुन्नि मनमा लास कहाँ पु¥याउला, दुनियालाई दुःख । बरु पुलमा सुते त सबैलाई सुख, लास खोज्नु पनि परेन । एकै चोटि झ्याम्म । ... घरमा अपाङ्ग छोरी, छोरा, बुबाआमा कसैलाई पनि मैले सम्झिनँ उठें... । तत्कालै उनीभित्र एककासि जीवनबोध र आँटले कायर मृत्युलाई तर्साउन फणा उठाएछ क्यार । उनी भन्छिन् ः अलि काँपेजस्तो भएँ, ओहो ! मैले यो के सोचें ? यो त कायरहरूले मात्र सोच्ने हो, मेरो तीन महिने बच्चाको हाल के होला ? ... म फर्कें मृत्युदेखि टाढा त्यो दुधे बच्चलाई सम्झेर (पृ. ११९) ।
‘लाल्टिनको उज्यालोमा’ कृतिका धेरै ठाउँमा सरस्वतीको दिमाग होइन मुटु बोलेको छ, हृदय पग्लेको छ । उनका भाषामा शब्दाडम्बर निषेध छ अर्गानिक सौन्दर्यको प्रवेश छ । उनी स्वयं भन्छिन् ः भाषाभन्दा भावना मुख्य कुरा हो भन्ने सोचेर पढिदिनु हुनेछ भन्ने ठानेकी छु (पृ. भूमिका) । हो उनको कथा र भाषाले पाठकलाई विभिन्न भावदशामा पु¥याएको छ; करुणा र वीरताका सञ्चारी (ग्लानि, हर्ष, चिन्ता, आवेग, अवहित्था जस्ता) भावहरू पुरै कृतिभरि उद्बुद्ध भएका छन् र पाठकको हृदयलाई साधारणीकृत तुल्याउन सक्षम भएका छन् ।
यति हुँदाहुँदै पनि प्रस्तुत कृतिमा जहाँ–जहाँ वेदना छ, दुःख छ, र आँसु छ, त्यहाँ त उनको मुटुनै पोखिएको छ तर जहाँ–जहाँ राजनीति छ, सङ्गठन छ र विचार छ त्यहाँ उनी निर्धक्कसँग बोल्न हिच्किचाएभैंm लाग्छ, सायद पार्टीका साथीहरूको पोल खुल्ला र आफ्ना सहयात्रीको राजनीतिक यात्रारथमा रोडा अड्केला भन्ने लागेर पो हो कि ?
नेपाली गाउँ, समाज र कुना कन्दरामा दियालाको उज्यालो बाल्ने कैयौं अरू सरस्वातीहरू होलान्; टुकीको उज्यालो बाल्ने अनगिन्ती लक्ष्मीहरू होलान्; जुनकिरीको उज्यालोमा रमाउने असङ्ख्य देवीहरू होलान् ती सबैलाई सरस्वती ज्ञवालीले यस कृतिमार्पmत आ–आफ्ना जीवनका व्यथा र सङ्घर्षका कथाहरू सिमल्न सिकाएकी छन् र तिनलाई सुन्दर आकृतिको कृति बनाउन सकिने भाव जगाएकी छन् । यसरी ज्ञवालीले ‘लाल्टिनको उज्यालोमा’ कृतिमार्पmत चेतना र सृजनाको ज्योति छरेकी छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु