डिप्रेसनमा देश

- सरोज उद्दीप्त कटुवाल

एक मुठी आशा

एक अञ्जुली कुन्ठा बोकेर

हरेक बिहान मेरो देश

आफूलाई ऐनामा हेर्छ ।

देख्छ

शालिन, शौम्य र सुकोमल उस्तै रूप

र उस्तै भक्कानिन्छ देब्रे छातिमा हात लगाएर

शृष्टीको उपहार निला ती आँखाहरू

सप्तरङ्गी फूल फूलाउन मिल्ने समथर निधार

संसारकै शिर आफ्नो शिर

शान्ति को सन्देश जन्मेको ओठ

व्यर्थ लाग्छन् सबै सुन्दर आकृतिहरू

ईतिहासका पानाको विरताको ताज

इमान र स्वाभिमानको विशिष्ट अंक

सब बेकार ठान्छ ,

मलिन मुद्रामा छ मेरो देश ।

आफु देश बनेर देशको मुहारमा तेजाब फलाउनेहरू

राष्ट्रवादको भाषण गर्न भ्याइरहेछन्

स्वाभिमान र स्वाधीनताका दस्तावेजहरू

माटोको मृत्यु पर्खे जसरी बसेका छन् ।

सबै कुरा जन्माउन सक्ने भयेर पनि बाझोपन बेहोरेको मेरो देशको

कहाँबाट जन्मियोस्

मुहारमा कान्ति

जहाँ नजन्मिएको वालकले ५० डिग्रीमा उसिनिएर बाकसमा आएको बाबुको सम्झनामा

उस्तै जीवन रेखा कोर्नुपर्छ

जहाँ उम्रदै गरेको चेतना, चन्चलता र आत्मविस्वाशलाई बन्धकी राखेर

खुसी बेच्न हराउनु पर्छ ।

माटोे संग साटिएर जिउने चाह मारेर

परिवारकोलागि अक्सिजन खोज्न भौतारिनु पर्छ ।

जहाँ बाच्नका लागि बाच्न नपाउने

हास्नका लागि हास्न नपाउने पुर्बसर्तहरु छ्न

माटो खानेहरु खाइरहेछन

मान्छे खानेहरु खाइरहेछन

सपना खानेहरु खाइरहेछ्न

मेरो देश डिप्रेसनको औषधि खाइरहेछ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु