तृष्णा तृप्ति

- बद्री अधिकारी

अभि आफ्नो पालोमा हत्तारिदै आकस्मिक कक्षमा के पुगेको थियो कि एउटी महिलाले रूदै आफ्नो विलाप सुनाउन थालिन्– “डाक्टर साहब त्यो ग्रुपको रगत त कँही पाइएन, खोइ के गरौँ, मेरी छोरीलाई कसै गरी पनि तपाईले बचाइदिनुप¥यो ।”
“साँच्चै डाक्टर साहब धरान, विराटनगर, धनकुटा, राजविराज, लाहान, जोगवनी, फारबेसगञ्ज, सिलिगुडी कहीँ पाइएन , अब हामी के गरौँ ?” अर्की अधवैँश महिलाले कुरा थपिन् आत्तिदै...........।
“नआत्तिनुहोस् ..........., अत्तिएर समस्याको सामधान हुँदैन । हामी त केवल प्रयोगकर्ता मात्र हौँ । ईश्वरमाथि भरोसा राख्नुहोस् ।” यति भन्दै नर्सको हातबाट बिरामीको फायल लिएर सरसर्ती हेर्दै नजिकै बेडको बिरामीको अवलोकन गर्दै एउटा औषधी थपेर नर्सलाई सम्झाउँदै ऊ अन्य बिरामी भएतिर लागेको थियो ।
“डाक्टर साहब, केही उपाय गरिदिनुस् न, मेरी छोरीको अवस्था प्रतिक्षण बिग्रदैँ गइरहेको छ ।” बिरामीकी आमा, ऊ सँगसँगै हिँड्दै याचना गरिरहेकी थिइन् ।
दगुर्दै आएर आत्तिदै एउटी नर्सले उसलाई भनिन् –“डाक्टर साहब, उहाँको प्यासेन्टको अवस्था एकदमै बिग्रिदै गइरहेको छ । आमा, तपाईँ बिरामी भएतिर जानुहोस् !”
“सिस्टर, ए.बी.नेगेटिभ रगत पाउन दुर्लभ हुन्छ । तपाईँ रगत चढाउन तयार हुनुहोस् । म आफ्नो रगत दिन्छु । मेरो रगत पनि त्यही ग्रुपको हो ।”
“म तपाईँको गुणलाई आजन्म भूल्ने छैन ।” बिरामीकी आमाले हात जोड्दै खुसी हुँदै भनेकी थिइन् ।”
“आमा तपाईँ चिन्ता नगर्नुहोस् । हामी डाक्टरहरूले जीवन बँचाउनका लागि सङ्घर्षको थालनी घरिघरि आफैँबाट सुरु गर्नुपर्ने हुन्छ, यो कुनै नौलो कुरो होइन ।”
उसले यसरी आफ्नो रगत दिएर रीचालाई बचाएको थियो । आज तिनै रीचाले उसलाई आफ्नो घरमा बोलाएकी थिइन् । रीचाकी आमाले पनि साह्रै ढिपी गरेकी थिइन् । समय नहुँदा नहुँदै पनि उसले उनीहरूको आग्रहलाई टार्न सकेनथ्यो । रीचाकी आमाले अस्ति अस्पतालमा उसँग भनेकी थिइन–“डा.अभि के म तिमीलाई छोरो भनेर सम्बोधन गर्न सक्छु ?”
“भइहाल्छ नि..........., आखिरमा म तपाइँको छोरोसमान उमेरकै हुँ नि ।”
“आमाले छोरो भनेपछि मैले भाई भन्नुप¥यो होइन !” रीचाले प्वाक्कै बिचैमा भनिन् ।
“दिदी बहिनी नभएको मजस्तो मान्छेले एउटी दिदी पाउनु भाग्यको कुरा हो ।” उसले मुस्कुराउदै भन्यो ।
“अभि भाइ,.... तिमीले आफ्नो रगत दिएर मलाई बचाएका छौ । म तिम्रो यो गुणलाई आजीवन भूल्ने छैन ।” रीचाको मुखबाट भावुक स्वर बाहिरियो।
“दिदी मलाई यसो भनेर नहोच्याउनुहोस् । म पहिला मानिस हुँ अनि डाक्टर, मान्छेले मानवीय गुण प्रदर्शन गर्दछ, थोरैधेरै जे भएपनि । झन म त मृत्युलाई सदा पछि पार्न रुचाउने डाक्टर, त्यसैले त्यसमा मेरो पनि अदृश्य स्वार्थ लुकेको हुन्छ ?”
“भो मैले हारेँ, तिमीले जितेऊ !”– रीचाले मुस्कुराउँदै भनिन् ।
रीचा र उनकी आमासँग यती राम्रो सम्बन्ध भएको कारणले पनि होला उसले उनीहरूको आग्रहलाई टार्न नसकेको । मान्छे पारस्पारिक सहयोग र हेलमेलकै कारणले नजिकिन्छ, अनि रिस, द्वेष, ईश्या र छुद्राइबाट नजिकको नाता भए पनि टाढिन सक्छ । उसले यसरी मनोसंवाद गर्दै रीचाकोमा जाने उद्देश्यले अस्पतालको पार्किङ स्थलबाट मोटरसाइकल स्टार्ट ग¥यो । गेट खुल्लै भएकोले घर कम्पाउन्डभित्र लगेर मोटरसाइकल अड्यायो । मोटरसाइकलको आवाज सुनेर रीचा बरन्डामा निस्किइन् ।
“दिदी नमस्कार ! म ढिला त भइन नि ?”
“नमस्कार ! डाक्टरहरू पक्का समयको ख्याल गर्छन्, त्यो मलाई थाहा छ । जाऊँ हिँड आमा बैठक कोठामा तिमीलाई पर्खिरहनुभएको छ“। आमा नजिक गएर उसले निधार झुकायो (‘दर्शन गरे’ भन्दै ।
“चिरन्जिवी होऊ’ मनोकामना पूर्ण होस्’’। रीचाकी आमाले निधारमा हात राखिदिँदै अगाडिको सोफामा बस्ने सङ्केत गरिन् ।
“........................”
“छोरा तिम्रो घरचाहिँ कहाँ हो ?”
“घर छैन पहिला पहिला काठमाडौँमा भाडामा बस्तै थियौँ । अहिले बरगाछिमा डेरा लिएर बसेको छु । बुबा हुनुहुन्न, आमाले मलाई हुर्काउनु भएको । अहिले आमा मसँगै हुनुहुन्छ“ ।
“छोरा अभि तिमीलाई भुटेको मासु खुब मनपर्छ होला ?” रीचाकी आमाले ऊतिर हेर्दै मुस्कुराउदै सोधिन् ।
“आमालाई कसरी थाहा भयो “?–उसलेआश्चर्य मान्यो ।
“आमा भएपछि छोराछोरीलाई के मन पर्छ के मन पर्दैन त्यो त थाहा भइहाल्छ नि !” दयालु मुस्कान छर्दै रीचाकी आमाले भनिन् ।
“भाइलाई टमाटरको अचार पनि धेरै मन पर्नुपर्ने !”
“.................!” ऊ आश्चर्य मान्दै आमाछोरीलाई मौनसँग पालैपालो हेर्न थाल्यो । उसको हेराईमा आश्चर्यको भाव झल्केको जो–कोहीले पनि अनुमान गर्न सकिन्थ्यो ।
“रीचा तिमी भाइसँग गफ गर्दै गर, म भान्सातिर लागेँ ।” प्रतिउत्तरको प्रतिक्षा नगरी रीचाकी आमा उठेर भान्सातिर लागिन् ।
“भाइ तिमीले मैले रोकिरहेको ट्रकमा लगेर स्कुटर कसरी ठोक्काएँ ! के सोच्तै हुनुहुन्थ्यो ? भनेर सोधेका थियौ हैन ?”
“.............” उसले नबोलिकन टाउको हल्लायो समर्थनमा । रीचाले नजिकै टी टेवलमाथि राखेको अति सुन्दर डायरी उठाएर उसलाई दिँदै भनिन्–“भाइ यो मेरो बुबाको डायरी हो यसलाई हामीले बुबाको मरणोप्रान्त मात्र प्राप्त गरेका हौँ । यस डायरीलाई पढ, तिमी आफैँ बुझ्ने छौ । म आमालाई सघाउन गएँ ।”
दिदीलाई कोठाबाट बाहिरिएको हेरिसकेपछि उसले डायरीका पानाहरू पल्टायो । डायरीको पहिलो पृष्ठको मध्य भागमा अति सुन्दर अक्षरले लेखिएको थियो–‘व्यक्तिगत’ विस्तारै पाना पल्टाउँदै अभि मनमनै डायरी पढ्न थाल्यो ।
कसैलाई खुसी तुल्याउनका लागि घरिघरि मनले नमानी–नमानी कुनै काम गर्नु पर्दौ रहेछ, परिणामको बारेमा सोच्तै नसोची, गरिएको कामको परिणाम त्यस्तो होला भनी घरिघरि कल्पनासम्म गरिएको हुँदोरहेनछ । आज मलाई पनि त्यस्तै लागिरहेको छ र लाग्दैछ । मैले ठीक गरेँ या बेठीक ! परिणाम प्राप्ति पछाडि मलाई आफ्नै अतीतले यसरी लखेटिरहलाझैँ लागेको थिएन । मानिसले सबै कुरा सोच्तोरहेनछ । मैले पनि त्यस बखत सोचिनँ क्यारे ! केवल मैले सोचेको थिएँ भने तिम्रो तृष्णा मेटियोस् । तिम्रो तृष्णा त मेटियो होला तर अहिले म आफ्नो सुक्रकिट तिमीलाई प्रदान गरेर तड्पिन विवश भइरहेको छु । साँच्चै भनौ भने म यो सत्यलाई आफूभित्र लुकाउँदै थाकिसँके । तिमीलाई के–कस्तो भइरहेकोछ ? खोइ ! किन हो आजकाल तिमी त मेरो फोन पनि उठाउँदिनौ ? मैले त तिमीमाथि कुनै अन्याय गरेझैँ लाग्दैन । अन्याय गरेँ भनौँ भने तिम्रो अभिलाषा पुर्तिको माध्यम बनेँ । न्याय गरेँ भनौ भने त्यो आफ्नो कार्यले शाश्वत पछ्याइरहेछ शरीरको छायाँले झैँ, खोइ ! के भनौँ ? सोचेर लेख्नका लागि अक्षरहरू अल्मलिन थालिसकेछन् । वाक्यहरू भुल्दैछु ।अल्मलिँदै भए पनि आज म यो डायरीमा मनको पीडा उतारिरहेको छु । सायद यसो गर्दा मेरो मनले शान्ति पाउँछ कि ? आशा गर्नु र सत्य बोल्नु पाप होइन । पाप त त्यो हो, जो अरहरूसँग लुकाइन्छ । यो मेरो विचार हो अरुलाई ठीक नलाग्न सक्छ ।
साँच्चै म त्यस बखत श्रीमानको खराब वंशबाट सन्तान नजन्माउने तिम्रो दृढता देख्ता मेरो मुखले तिमीलाई जेसुकै गरी सम्झाउने प्रयास गरेको भएतापनि अन्तरमनले चाहिँ तिम्रो इच्छा र सोचको मुरीमुरी प्रशंसा गरिरहेको थियो । सत्य भन्नुपर्दा तिमीले नारी भएर पनि आफ्नो खराब वंशलाई त्याग गरी अर्काको असल वंशको खोजी गरेको देख्ता म तिम्रो अदम्य साहसको भित्री हृदयले बारम्बार प्रसंसा गरिरहेको थिएँ । तिम्रो म धेरै नै प्रशंसक भएको कारणले पनि होला, त्यसबखत तिमीलाई म स्वयम् सहयोग गर्न आनेकाने गरेझैँ गरेर तम्तयार भएको । यसलाई तिमी मेरो मानविय कमजोरी पनि भन्न सक्दछौ वा भावुक मनको अभिव्यक्ति पनि अथवा तिमी जे सम्झ र अरुले जे ठानुन् ।
मैले तिमीलाई त्यस बखत टेस्ट ट्यूव–आइभिएफको सल्लाह दिएको थिएँ । तिमीले आर्थिक समस्याको कुरा राख्ता केही हदसम्म मैले अफिस फन्डबाट नै सहयोग गर्ने वचन दिएको थिएँ । मेरो साथी नै डाक्टर भएकाले मेरो अनुरोधमा ऊ लागत मूल्यमा सहयोग गर्न तयार भएको थियो । तिमीलाई त्यहा सुक्रकिट रोजाउदा अरुको नराखी मेरो नै राख्ने इच्छा जाहेर गरेकी थियौ । मैले सम्झाउने कोसिस गरेँ, तिमी मानिनौँ, तिमीले कुन्ती, द्रौपतीको उदाहरण दिँदै लामो प्रवचन नै दिएकी थियौ, आफ्नो सोच ठीक हो भनेर, म त्यस बखत तिमीलाई खुसी देख्न चाहन्थेँ । एउटा महिला मित्र गुमाउने मेरो चाहना थिएन । मेरो नाम जोडिएको मभित्रको दानवीर त्यस बखत तिमीलाई सुक्रकिट दान गरेर गर्व गरिरहेको थियो । अवचेतन मनको प्रवल चाहले मेरो चेतन मनलाई गाँजेर तिमीलाई सहयोग गर्न तयार पारिसकेको थियो क्यार !
तिमी आफ्नो श्रीमानालाई आफू बिरामी भएको नाटक रचेर अस्पताल भर्ना भै ९महिना सम्म इलाज गर्नु पर्ने कुरामा राजिपार्न सहजै शफल भएकी थियौ । तिम्रो श्रीमानको सहजताले म निकै अचम्भित भएको थिएँ । ऊ तिमीलाई भेटन प्राय अस्पताल आँउदैनथ्यो बिरामी हुनाले र ड्रग सेवनगरी घरमै बसिरहने हुनाले ।

तिम्रो बच्चा जन्माउने ‘तृष्णा–तृप्ति’ भइसकेको थियो, मेरो विराटनगर शाखामा सरुवा भएपछि, छोरो नै जन्मिएछ । मैले फोनमा बारम्बार सम्पर्गको प्रयास गर्दा तिमीले स्वीच नै बन्द गरिदियौ । अफिसमा नभएको खवर पठाउन लगायौ । इमेल गरेँ, जवाफ पठाइनौँ । सायद इमेल पनि पढिनौँ कि ? हो तिम्रो चाहना पूर्ति भैसकेकाले तिमीलाई मेरो आवश्यकता महसुस नभएको हुनसक्छ । तर अहिले मलाई बुबाको कर्तव्यले रातदिन सताउन थालेको छ । मैले आफ्नो सुक्रकिट नै तिमीलाई किन दिएछु ? हर्ष र पश्चातापको दोसाँधमा अहिले म आफूलाई पाइरहेको छु । साँच्चै तिम्रो इच्छा पूरा गरेपछि मलाई दैवले ठगेर होला अर्को सन्तान हुन सकेन । मेरी श्रीमतिको अर्को सन्तान जन्माउने चाह अधुरै रह्यो । वास्तविकतासँग उनी परिचित भइन् भने अवस्य मलाई सराप्छिन् होला । साँच्चै म आजकाल उनीसँग आँखा जुधाएर गफ गर्न नसक्ने भइसकको छु । यो सुन्दा तिमी खुसी हुन्छौ या दुःखित । म अड्कल गर्न सकिरहेको छुइनँ । उनले तिम्रो र मेरो कुरा चाल पाए मलाई के भन्लिन ? तिमीलाई के ठान्लिन् ? म त उनको नजरबाट सदाका लागि गिर्ने नै छु । तिमी आँटिली छौ, त्यसो नहोला । अब त मेरी छोरी पनि ठूली भइसकिन् । तिम्रो छोराभन्दा दुईवर्ष मात्र त जेठी हुन् नि ! श्रीमतीको नजरबाट गिरेर बाँच्न त सकिएला तर छोरीको नजरबाट गिरेर बाँच्न सकुलाझैँ लाग्दैन । छोरीले चाल पाए उनले मलाई कर्तव्यनिष्ठ बाबु ठान्लिन् ? भविष्यप्रतिको चिन्ताले मलाई चितुवाको वेगले लखेटिरहेछ । म लखतरान भैसकेँ । साँच्चै त्यो भेदले मलाई भविष्यमा विक्षिप्त त बनाउँदैन ? मेरो यो मर्दै बाँच्दै गरेको अवस्था देख्यौ भने तिमी खुसीहुन्छौं या दुःखित ? मलाई अड्कल गर्न पनि मन लाग्दैन । बाबुको कार्तव्यले गाँजेर बैङ्कमा बुझ्दा तिम्रो खातामा मैले जम्मा गराई दिएको रकम जम्मा भइसकेको जानकारी पाएँ । रकम जम्मा गरेको पाँच वर्षसम्ममा पनि तिमीले रकम नचलाएको बैङ्क खवरप्राप्तिले म साह्रै दुःखित भएको छु । के तिमीले मलाई त्यस योग्य पनि सम्झिनौँ ? आजकाल मलाई प्रेसर हाई र डाइभिटिजले गाँजेको छ हृदयरोग त पहिलेदेखि नै छँदैछ । सायद मेरो मृत्यृको कारण यिनै रोग हुनेछन् । तिमी इच्छा मुताविककी आमा हुन पाएकीमा खुसी छौ होली ? म साइनो उजागर गर्न नसक्ने बाबु हुन पुगेकोमा कुन्ठित मन र चिन्तित दिमाग बोकेर छट्पटीमा मेरा दिनहरू व्यतित भइरहेका छन् । तिमीलाई त मेरो सम्झना आउँछ कि आउँदैन ? अवस्य आउनुपर्ने मलाई त त्यस्तै लाग्छ । तिम्रो छोरो जन्मिएपछि लोकले प्रष्ट देखेको, बुझेको, पत्याएको र प्रमाण भएको उसको बाबुको मृत्युको खबरले म रमाउन पनि सकिनँ र दुःखित हुन पनि । म तिम्रो लोग्नेसँग खुसी हुनु र रिसाउनुको कारण पनि त केही थिएन् र छैन पनि । म उसलाई मित्र पनि मान्दिनँ र शत्रु पनि ठाँन्दिन । मैले मान्नु र नमान्नुको कुनै अर्थ पनि छैन । तिम्रो छोरो टिचिङमा डाक्टर पढ्दैछ भन्ने खबरले म ज्यादै खुसी भएको थिएँ । म अदृश्य अभागी बाबुले रमाउन बेकार होला तिम्रो नजरमा, रमाउन पाउने त मेरो नीजि अधिकारभित्रको कुरो हो तिमीले निषेध गर्न सक्दिनौ चाहेर पनि । असल वंश रोजाई तिम्रा लागि धन्य रहेछ । तिमीले टिफिनमा बोकेर ल्याएको भुटेको मासु र टमाटरको अचारको स्वाद अहिले पनि मेरो जिब्रोमा झुन्डिरहेको छ । घरमा पनि श्रीमती मलाई अति मन पर्ने ती खाद्य सामग्री बनाउन भुल्दिनन् । अहिले मलाई श्रीमतिमाथि अन्याय गरेझैँ लागिरहेको छ । यसलाई तिमी के ठान्छौं ? अब त तिम्रो तृष्णा तृप्ति भयो होला नि ! तिमीलाई सुख दिएँ र दुःख लिएँ तथापि म उफसम्म गर्दिन किनकि म तिमीलाई दुःखित देखेर रमाउन सक्दिनँ । तिमीलाई सम्झना भए त्यतिबेला पनि तिम्रो इच्छापूर्तिको साधन हुन रुचाएको थिएँ । तिमीले मेरो मूल्याङ्कन कसरी गरेकी छौं ? म अनविज्ञ छु । जानकारी लिने प्रयास पनि गर्दिन किनकि यसरी पानीबिनाको माछाजस्तै छट्पटिन मलाई विशेष आनन्द लाग्छ । सायद मलाई पनि यो आनन्द लिने लत बसिसक्यो क्यारे ! तिमी त यसलाई पनि दुर्व्यसन नै भनौली किनकि तिमी त्यास्तालाई घृणा गर्दथ्यौं । के म पनि अब तिम्रो घृणाको पात्र भइसकेँ ? आरोप लगाए मलाई माफ गर ! छोराको न्वरानमा तिमीले मलाई बोलाउन सकिनौँ म आँट गरेर तिम्रोमा जान पनि सकिन । यथार्थसँग साक्षत्कार गर्ने मसँग क्षमता थिएन । रश्मि ! तिमीले छोराको नाम राखेको चाल पाएँ, सुखी लाग्यो । ऊ ज्ञानी छ, जीवन बचाँउनेमा लागेछ । उसलाइ हेर्ने तृष्णा जागेकोले एकपटक टिचिङसम्म पुगेको थिएँ । साह्रै मेहनती र सङ्गत पनि राम्रो रहेछ । तिम्रो अभिलाषा पूरा गर्ने क्षमता उसमा छ भन्ने मैले पूर्ण विश्वास लिएको छु । टेस्ट ट्यूबमा जम्ल्याहा, तिम्ल्याहाको बढ़ी सम्भावना हुन्छ भन्थे तर तिम्रो भाग्यनै मजबुत रहेछ !
मेरी छोरी रीचा पनि पढेलेखेकी ज्ञानी छिन् । उनले पनि विवेक पु¥याउन सक्छिन् । रीचाकी आमासँग म कसरी क्षमा मागौँ ! त्यो अधिकार मैले गुमाइसकेको छु । उनको मन मेरो दोष थाहा पाए कुडिन सक्छ । यो यथार्थ संम्भव भए मेरो मृत्युपछि मात्र उजागर होस् । हे ईश्वर ! मैले तिमीसँग यही वरदान माँगेँ ।
डायरीतिरका अन्तिम हरफ पढ्दै जाँदा अभिको दिमागमा अनेकौँ कुराहरू सलबलाउन थालेका थिए । हातको पढिसकेको डायरीलाई टी टेवलमाथि राख्तै आफूले आफैलाई प्रश्न गरिरहेको थियो । रीचा दिदीको बुबा र मेरी आमा बीचमा के सम्बन्ध थियो ? रीचाकी आमाले भुटेको मासु मन पर्छ भन्नुको कारण ? के मेरी आमाले टेस्ट ट्यूवबाट मलाई जन्माएकी हुन् ? के म रीचाको बाबुको सुक्रकिटबाट जन्मेको हुँ । रीचा दिदीको र मेरो रगतको ग्रुप मिल्नुको कारण ! आश्चर्यजनक यावत प्रश्नहरूको गाँठो खोल्ने प्रयास गरिरहेको थियो अभि ................। उसलाई एक प्रकारको विद्युतीय तरङ्ग आफ्नो शरीरमा सञ्चालन भइरहेझैँ लागिरहेको थियो । निधारमा चिट्चिट पसिना आउनुका साथै अनौठो गर्मी आफूमा अनुभव गर्दै थियो । अभि वास्तविक बाबुलाई पनि सराप्न सकिरहेको थिएन भने आर्का्तिर सुक्रकिट माग गर्ने आफ्नी आमालाई पनि आरोपित गर्न सकिरहेको थिएन । आमाको दृढ उद्देश्यबाट आफ्नो जन्म भएको हुँदा हर्ष र बिस्मातको मध्य भागमा आफू अल्मलिए झैँ उसलाई लाग्दै थियो ।उसले टी टेवलबाट डायरी उठाएर पुनः एकपटक ओर्काइफर्काइ हेर्दै फरर पानाहरू पल्टायो । डायरीको मध्यभागमा एउटा फोटो च्यापिरहको रहेछ । आफ्नी आमाको जवानीको फोटो देख्ता ऊ झस्कियो । फोटोको प्रमाणले उसको सङ्का विश्वासमा रूपान्तरित भैसकेको थियो ।
अभिकी आमा रश्मि, केहिक्षण अगाडि रीचाले दिएको डायरी पढिरहेकी थिइन् । उन्को मुहारको भाव बदलिरहेको देखिन्थ्यो । अनुहारभरि दुःखका रेखहरू थपिँदै थिए । अचानक पढ्दै गरेको डायरी टी टेवलमा राखेर कोठामा भएका सबैको मुहारमा उब्जेको भावलाई उनले पढ्ने कोसिस गरिन् !
“यो लेखेको कुरा सत्य हो । यसलाई म लुकाउन चाहन्थेँ तर लुक्न सकेन । मेरो भाग्यको दोष भनौ या दानवीर सरको कमजोरी या भावुकता !? उहाँमाथि अनादार गरेर म उहाँलाई आरोपित गर्न चाहन्न । उहाँ राम्रो साहित्यकार भावुक र सहयोगी स्वभावको हुनुहुन्थ्यो । उहाँ बढीनै भावुक हुनाले कुरा गोप्य रहन सकेन,यो मेरो कर्मकै फलहोला ! उहाँ र मबीच कुनै अनैतिक सम्बन्ध थिएन, केवल मित्रता थियो । उहाँसँग मैले असल शन्तान उत्पादनका लागि दान माँगे उहाँले दिनुभयो । दान दिनु र कसैको मन नदुखाई दान लिनु पाप होइन । धार्मिक ग्रन्थले पनि यसलाई स्वीकार गरेको छ । यो कुरा धार्मिक र ब्यबहारिक दुबै रूपमा चलिरहेकै छ । उनी यति भन्दै उठेर आलमारी भएतिर लागिन् ।
कोठामा रहेका रीचा, रीचाकी आमा र अभि एकआपसमा मुखामुख गरिरहेका थिए । सबैको दिमाग आ–आफ्नो ढङ्गको सोचाइमा व्यस्त थियो क्यारे ! किनकि उनीहरू एकआपसमा बोल्न सकिरहकेका थिएनन् । अभिकी आमाले आलमारीबाट एउटा चेकबुक निकालिन् र आएर सोफामा बस्दै चेकमा सही गरेर रीचाकी आमालाई दिँदै भनिन्–“दिदी यो दानबीर सरको नासो तपाईँलाई फर्काइरहेकी छु । मेरो भुल भए अज्ञानी सम्झेर माफ गर्नु होला ।” यति भन्दै अभिकी आमा (रश्मि) घुँक्क–घुँक्क गर्दै दुबै हत्केलाले आफ्नो अनुहार छोपेर रून थालिन् । उनको आँखाबाट आँसु बगिरहेकोथियो । कैयौँ वर्षदेखि थुनिएर बग्न नसकेको मनको पीडा आँसु बनेर आँखाबाट बगिरहेको झैं लाग्दथ्यो ।
“बहिनी रश्मि ! उहाँले तिमीलाई दिएको चीज मलाई फर्काएर उहाँको आत्मालाई कष्ट पु¥याइरहेकी छौं । यो तिमी नै राख । तिमीले कुनै भुल गरैकी छैनौं । हरेक आमाले आफ्ना सन्तान भविष्यमा असल र योग्य भै परिवार, समाज र देशलाई केही दिन सक्नेहुन भन्ने चाहना राख्नु खराब कुरो होइन । तिमीले त असल वंश रोज्ने नयाँ विचार प्रयोग गरेर राम्रो प्रतिफल प्राप्त गरेको प्रमाण समाजमा पेस गर्दै हरेक आमालाई वंश रोज्ने अधिकार हुनुपर्छ भनी नयाँ युगको थालनी गरेकी छौं।” रीचाकी आमा उठेर उनको नजिक गएर बस्तै पिठिउमा धाप मार्दै सम्झाउँन थालिन् ।
“नाई, दिदी नाई............।” आफ्ना दुवै हत्केलाले झन कसिलो ढङ्गले अनुहार छोप्तै रश्मिले मुन्टो हल्लाइन् ।
“उहाँकी नजरकी अदम्य साहस भएकी महिला, किन सत्य कुरो उजागर गर्न डराएकी ? सुनलाई आगोको भट्टीले शुद्ध पार्छ भने कसैको प्रयोगात्मक विचारलाई असङ्ख्य मानिसको समर्थन र विरोधको सङ्ख्यात्मक हिसाबले समाजमा स्थापित र बिस्थापित गर्दै लान्छ र लगिरहेको छ । तिमी नरोऊ, कायरताले मानिसको मनोबल गिर्छ । यो सत्यतालाई सञ्चारमाध्यमद्वारा प्रत्यक्ष प्रसारण गर्नुपर्छ । त्यसको चाजोपाजो अभि र रीचाले मिलाउने छन् । म तिमीलाई साथ दिनेछु ।” रीचाकी आमाले उनको पिठिउँलाई मायालु ढङ्गले सुमसुम्याउँदै भनिन् ।
“नाई दिदी, त्यसो नभन्नुहोस् । म तपाईँको आज्ञालाई पालन गर्न सक्दिनँ । समाजको कठोर आलोचनाले म जिउँदै मर्ने छु ।” रश्मिले झन भयभित हुँदै भनिन् ।
“अर्काको शरिरको अङ्ग आफ्नो शरीरमा प्रत्यारोपण गरेर संसारलाई हेर्न र बाँच्न मिल्ने तर राम्रा सन्तान प्राप्तिकोलागि कसैकी पत्निले आफ्नो पति बाहेक अन्य पुरूषसंग शारीरिक सम्बन्ध स्थापित नगरी केवल संकलित वीर्य बाट सन्तान जन्माउन किन नमिल्ने !?“
“भो .. दीदी भो... यस्तो प्रश्न संसारका बिद्वानहरुलाई गर्नुहोस्....म थाकेकी अर्ध बीक्षिप्तले के उत्तर दिन सक्छु र ! यो पुरूष प्रधान समाजमा महिलाले सदैब थिचिएर नै त बाँच्नु पर्दो रहेछ.....।“उन्को मुख बाट थकित स्वर निस्केर कोठाको बताबरणमा बिलिन भयो।
“बहिनी, तिमी युग प्रवर्तक हौ । चाहे आज तिम्रो कुरा समाजले मानोस् या नमानोस् । प्रयोगात्मक आफ्नो विचारलाई तिमीले स्थापित गर्न त्यसलाई उजागर गर्नै पर्छ । मलाई त लाग्छ, तिम्रो राम्रो प्रतिफल प्राप्तिको नयाँ विचारलाई सुनेपछि समाजका बहुसंख्यक मानिसहरूले एकै साथ समर्थन गर्ने छन् । अब तिमी एक्ली छैनौं। हामी पनि तिमीसँगै छौं ।” रीचा र अभिलाई पुलुक्क हेर्दै रीचाकी आमाले भनिन् मानौ उनी आफ्नी छोरी र अभि समर्थनमा छन् या छैनन् बुझ्न पनि खोजिरहेकी थिइन् झैँ प्रतीत हुन्थ्यो।
“नाई दिदी नाई, म गलिसकेँ ......।” आफ्ना हत्केलाले झन कसिलो ढङ्गले अनुहार छोप्तै रश्मि सुक्सुकाउन थालिन् ।
“बहिनी म भन्छु, अब तिमीले उहाँकै घरमा गएर बस्नुपर्छ । छोरो अभि तिम्रो मात्र छोरो होइन रीचाको पनि भाइ हो ।” रीचाकी आमाको निर्णायक स्वर कोठामा छरियो ।
“दिदी ! छोरी रीचा ! तपाइँहरुको यो आफ्नोपन, मायालु बिचार, आँटिलो स्वभावले मलाई रुवाइरहेछ, हँसाइरहेछ, बाँच्ने प्रेरणा प्रदान गरिरहेछ तर यो कुनै उपन्यास र कथा होइन । यो कुरा समाजले पचाउने छैन । समाज पनि आफ्नै निर्दे्शित नियमद्वारा सञ्चालित हुन्छ, त्यसलाई एकैचोटी आमुल परिवर्तन गर्न खोज्नु भनेको दुर्घटना निम्त्याउनु मात्र हुनेछ । समाजले हामीलाई बहिष्कृत गर्नसक्छ । अब मेरो शरिरमा आलोचना सहने क्षमता छैन । अभि र मलाई यो सत्यलाई गोप्य राख्न सहयोग पु¥याएर बाँच्न दिनुहोस र तपाइँहरु पनि खूशीखूशी बाँच्नुहोस यसमै हामी सबैको भलाई हुनेछ ।” रश्मिले दुवै हात नम्रसँग जोड्दै याचना गरिन् ।
रिचाकी आमाले सबैको मुहारको भावलाई पढ्ने प्रयास गर्दै गम्भिर स्वर ओकलिन–“रश्मि ! हामिहरू कति संकुचित बिचारका छौं बिदेशी भन्दा ! हाम्रै नेपालमा तिमिले अभिलाइ जन्मदिए जसरी बर्से्नि कैयौं बिदेशी नेपाल आएर बच्चा जन्माएर स्वदेश फर्कन्छन र फर्किरहेका छन् । नराम्रो भएत अबस्य पनि मानिस यसरी धाउने थिएनन् । गोप्य सम्बन्ध द्वारा घटेका यस्ता घटनाहरु हाम्रो समाजमा खिजिगरे पाइएलान् र म यो सन्तानको बाबु हुँ भनेर गर्वले छाति पिटने प्रसस्त बाबुहरुको डि.एन.ए. परिक्षण गर्ने हो भने ती मध्ये कतिपय छोरको बाबुहरू प्रमाणित नहुन सक्लान् ? तिम्रो प्रयोग त वैज्ञानिक ढंगको हो, यसलाई लुकाउनुपर्ने कुनै अनिवार्यता छैन । तथापी तिमी त्यसैमा खूशी हुन्छौं भने म जबरजस्ती गर्दिन । किनकी मेरो कुरालाई असंख्य मानिसले समर्थनमा बोलेर अभिव्यक्ति गर्न नसकेपनि निधार खुम्च्याएर सोच्न बाध्य हुनेछन् । ढिलै भएपनि एकदिन यो सत्य स्थापित हुनेछ ।“
“दिदी ! तपाई र तपाईको बिचार कति महान छ ! धन्य मैले तपाइँजस्ती दिदी पाउने सौभाग्य प्राप्त गरेँछु ।” रश्मिले आफ्नो साडीको आँचलले आँसु पुछ्दै भनिन् ।
अभिको मुहारमा कर्तव्यको बोझ थपिएको अनुमान गर्न सकिन्थ्यो भने रिचाको मुहारमा असल भाइ पाएकोमा खुशीका रेखाहरु सल्बलाउदै थिए । रश्मिको मुहारमा शान्ति र त्राशको समिश्रणता झल्किरहेको थियो । रिचाकी आमाको आँखामा सबैप्रती मायाको सागर बगिरहेको थियो ।
त्यहाँ उपस्थित कसैको मुहारमा विस्मत,ग्लानी र पछुतोको भाव देखिदैनथ्यो । नयाँ प्रयोगले कसैको पनि गरिमामा चोट नलागेकोले सबैको मुहारमा हर्षका रेखाहरु सलबलाई रहेका थिए।क्षणमै कोठाको रोदन र बिलापलाइ हर्ष र ऊल्लासको कुचोले बडारी सकेको थियो ।
“अभि भाइ ! तिमी प्रचारको ब्यबस्थाको लागी टिभि च्यानेलतिर सम्पर्ग बढाउ म यसको लेख तयारीगर्ने छु । आमाहरूले हामिलाइ सहयोग गर्नुहुनेछ ।“ रिचाको हर्षित र दृढ स्वर पुनः एक पटक कोठाको बाताबरणमा छरिएर बिलिनहुदै गयो ।
रश्मिले बिस्फारित नेत्र कोठामा डुलाइन । सबैजना उनिलाइनै हेरेर मुस्कुराइ रहेका थिए । रश्मि हर्ष न बिस्मत ! धर्ती र आकाशको बीचमा अल्झे झैँ ऊनी समर्थन र बिरोधको मध्यभागमा अल्झिरहेकी थिइन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु