सुनको औंठी

- मुक्ति भण्डारी

कुन्नि कसको भनाइ थियो—‘जिन्दगी अनुभवको शास्त्र हो ।’ यसपालि एउटा अनौठो अनुभव भयो । सोँच्दै नसोँचेको, आसै नगरेको कुरा केही क्षणका लागि प्राप्त भएर गुमाउनु पर्दा पनि पीडा हुँदोरै’छ । जसरी सपनामा पैसाको मुठो खोपीमा लुकाएको बालक ब्युँझेपछि पैसा नदेखेर अमिलो मन लिएर घोरिइरहन्छ, जसरी कुनै अज्ञात सुन्दरीलाई अङ्गालो हाल्नै लाग्दा ब्युँझिएको ठिटो नमीठो अनुहार लिएर टोलाउँछ । करिब त्यस्तै मनोदशामा थिएँ म एकाविहानै ।
कुरा थियो औंठीको । दाइको बिहेमा पाएको सुनको औंठी खुकुलो भएकोले कोटको खल्तीमा राखेँ । राती अबेर सुत्ने बेलामा पनि थियो तर विहान उठ्दा थिएन । छोटकरीमा कथा यत्ति हो । तर यो कथा होइन, तलाउमा फ्याँकिएको ढुङ्गा हो, जसले अनन्त तरङ्गहरू ल्याउने सामथ्र्य राख्दछ । एकछिन त होस्, कसैलाई सुनाउँदिन, जसरी आयो उसरी नै गयो भन्ने सोँचेर अरु अरु काममा लागेँ । तर मनले के मान्थ्यो, आफ्नो स्वभाव देखाइहाल्यो । अनेक कुराहरू खेल्न थाले । अचानक आफै उडेर आएका जोडी परेवाले घर छोड्दा दिनभरि झोंक्राएकी आमालाई सम्झेँ, आफै आएर घरमा बसेका मौरी आफै भाग्दाको दिनको बुवाको कान्तीहीन अनुहार सम्झेँ र सम्झेँ मित्र सुरजलाई जसले सुनाउँदै थियो आफ्नो प्रेम कहानी । भन्दै थियो—ऊ मेरो जीवनमा अनायासै आई, अनायासै गई तर आसा नै नगरेको बेलाको प्राप्तिमा हुने आनन्दभन्दा गुमाउँदाको पीडा हजार गुणा बढी हुँदोरै’छ । अनि औंठीलाई सम्झें—‘प्यारी औंठी ! तिमी पनि त अनायासै प्रेमिका बन्न आएर केही दिनमै बेपत्ता भएकी सुन्दर स्त्री झैं भयौ ।’
केही दिन अघि भुन्टीले जिस्किँदै भनेकी थिई—“अब त सुनको औंठी टर्लक्क होला नि हजुरको !” औंठी गोजीमा राख्दै गर्दा सोँचेको थिएँ—‘यो नाथे औंठी लगाएर हिँड्ने कुरो हुन्न । यसलाई बेचेर उसलाई एउटा सुन्दर उपहार किन्दिनु पर्ला ।’ तर, यतिबेला त्यो कुनै भुन्टी वा उसको भुन्टेको हातमा प¥यो कि भुइँमा गड्यो यसै भन्न सकिन्न ।
हामी जब समस्यामा पर्छौं तत्काल हामी भित्रका अनेकौं आदिम चेतनाहरू, आदिम संस्कारहरू सल्बलाउँछन् । कताबाट मनमा आयो ‘सुन भेट्टाउनु र हराउनु दुबै अनिष्टका सङ्केत हुन् ।’ मन भरङ्ग भयो । म भित्रको शिक्षित, आधुनिक मान्छे पराजित भयो । साँच्चिकै नराम्रो हुने त होइन ?! खासमा हामी आफूलाई जतिसुकै शिक्षित, चेतनशील, आधुनिक सम्झे पनि आफू भित्रका आदिम छापलाई मेट्न निकै गाह्रो छ । आफूलाई जतिसुकै उत्तरआधुनिक ठान्ने मान्छे पनि बिरालोले बाटो काटेको देखी देखी यात्रामा निस्कन हिच्किचाउँछ, हाच्छ्युँ आएको बेला काममा निस्कन अन्कनाउँछ । हामीलाई जन्मदेखि नै सिकाइएका, सुनाइएका मूल्य मान्यता र विश्वासले हामीलाई जीवनभर जकड्ने रै’छन्, नछोड्ने रै’छन् ।
अँ, प्रसङ्ग थियो औंठीको । मनलाई शान्त पार्न कसैलाई नभन्ने सर्तमा एउटा साथीलाई सुनाएँ, उसले त्यस्तै सर्तमा अर्कोलाई सुनाएछ । अर्कोले अर्कोलाई गर्दै १५ मिनेट भित्रमा भोजमा उपस्थित मध्ये थाहा पाउनेकोभन्दा नपाउनेको सङ्ख्या कम भयो । सबैले पुर्लुक पुर्लुक मलाई हेर्छन् अनौठो नजरले । मानौं म अर्कै ग्रहबाट आएको मान्छे हुँ । कतिले एकान्तमा लगेर खानतलासी गरे त कतिले अर्तीबुद्धि दिन थाले । उसो त हाम्रो समाजमा निःशूल्क एवम् सर्वसुलभ ढङ्गले पाइने चिज भनेकै अर्ती हो । अरुलाई अर्तीउपदेश दिन कुनै योग्यता चाहिँदैन । यसैबीच एकजनाले चामल मन्त्रेर रगतै बान्ता गराउँछु भन्दै थिए मलाई दिक्क लागेर त्यहाँबाट भाग्ने प्रयास गरेँ । जाँदाजाँदै एउटा ज्ञान पलायो—‘कुनै कुरा छिटोभन्दा छिटो सबैले थाहा पाऊन् भन्ने छ भने कसैलाई नभन्ने सर्तमा एकजनालाई सुटुक्क कानमा भन्नू ।’
“छिः पढेर मात्र बुद्धि आउँदो रै’नछ । आफ्नो सामानको त ख्याल गर्नुपर्छ नि । हेर हेर डिग्री पढेको मान्छेको बुद्धि !” एकजना चीर परिचितको आवाज सुनेँ जसले आफ्नो छोरो लम्फू भएर पढ्न छाडेकोमा भन्दा मैले पढेकोमा बढी चिन्ता लिन्थे ।
“यो मान्छे पहिल्यै देखिको हरिलठ्ठक हो । घाँस काट्न जाँदा कविता लेखेर बस्थ्यो, १० बजेतिर रित्तो डोको लिएर आउँथ्यो ।” अर्काले मौकामा चौका हान्यो । नसुनेझैं सुनिरहेँ ।
“यसका सन्तान नै यस्तै हुन्, हजुरबाको गोता गा’को छोरो, छोराको गोता गा’को नाति । यस्तो वेहोसी तालले के गरेर जीवन कटाउनी होला ?” अर्की शुभचिन्तकले शुभचिन्ता प्रकट गरिन् ।
अनि अर्की भद्र महिलाले त केसम्म भन्न भ्याइन भने—“यो यस्तै हो । पोहोर साल तरकारीमा बेसार भनेर केशरी हाल्ने यै त हो नि ।” समूहमा भएका १५÷२० जना महिलाहरू हलल्ल हाँसे । म भने योभन्दा बढी सुन्न नसकेर त्यहाँबाट परै गएर बसेँ ।
यतिबेला म एकान्तमा बसेर त्यै औंठीलाई मनमनै गाली गर्दै छु । जसले मलाई बेकारमा मूर्ख बनाएर गयो । ‘थुइक्क साला औंठी ! बिना काममा तीनपुस्ते गाली खुवाइस् यार !’
सोँच्दै छु हाम्रो जीवन पनि त एउटा यस्तै सुनको औंठी न हो । जसलाई न चाहेर प्राप्त हुन्छ न चाहेर गुमाइन्छ । जाबो उडेर आएका परेवा उडेर गए भनेर जान्दा जान्दै आमाले किन झोंक्राउनु पथ्र्यो ? बिना कुनै लगानी आएका मौरीले घार छोडेर जाँदा बुवाको अनुहार किन कान्तीहीन हुनुपथ्र्यो ? सपनामा पैसा देखेको बालक, युवतीलाई अङ्गाल्न नपाउँदै ब्युँझेको युवक वा अनायासै आएर अनायासै जाने प्रेमिकालाई सम्झेर टोलाउने मित्र सुरज वा ‘फ्रि’मा पाएको औंठी हराउँदा बेचैन हुने म किन वास्तविकता जान्दा जान्दै पनि, बुझ्दा बुझ्दै पनि दुःखी हुन्छौं ? यो अनुत्तरित प्रश्न मनमा घुमिरहन्छ त्यै हराएको सुनको औंठी झैं ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु