पेनाल महाकाव्यमा सूक्ष्म दृष्टि

- सदानन्द अभागी

परिचय
रामायण देखि ‘पेनाल’ महाकाव्यसम्म आइपुग्दा नेपाली साहित्यमा महाकाव्यको संख्या २५० को हाराहारीमा पुगेको अनुमान लगाउन सकिन्छ । देवेन्द्र लम्सालजीको यो महाकाव्यले २०७४ साल मङ्सिरमा जन्म लियो । ‘पेनाल’ महाकाव्यका सर्जक देवेन्द्र लम्सालको जन्म वि.सं.२०११ साल भाद्र १६ गते ज्याग्दी खोला स्याङ्जामा पिता विश्वनाथ लम्साल माता नेत्रादेवी लम्सालको पुत्ररत्नको रूपमा भएको थियो । लम्सालजीका ज्याग्दी र म (खण्डकाव्य २०३६), ज्याग्दीको किनारमा बल्छी खेलेर (कवितासङ्ग्रह २०४२), स्मृति पटलमा पिताजी विश्वनाथ (स्मृतिकाव्य २०५०), अभिशप्त प्रेम (कथासङ्ग्रह २०५२), बौलाही राइँदाल्नी (सामाजिक काव्य २०५३), शान्तिको खोजीमा (गीत÷ कवितासङ्ग्रह २०६०), दम फुस्केका मानिसहरू (कवितासङ्ग्रह २०६३) र पेनाल (महाकाव्य २०७४) गरि आठओटा कृतिहरू बजारमा आइसकेका छन् । लम्सालजीको सम्पादनमा ज्याग्दी खोलाको तरङ्ग (त्रैमासिक पत्रिका) ले पनि निरन्तरता पाएको छ भने उहाँ ज्याग्दि खोला साहित्य प्रतिष्ठान स्याङ्जाको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । देवेन्द्र लम्सालजी शङ्खनारायण सााहित्य पुरस्कार, स्याङ्जा, काली गण्डकी साहित्यकला पुरस्कार, स्याङ्जा, गण्डकी साहित्य पुरस्कार पोखरा र पं.आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कार स्याङ्जाबाट पनि आभूषित भै सक्नु भएको छ ।
कृतिको संरचना – पेनाल गद्य महाकाव्य हो । यसमा १९ सर्ग, ९७४ खण्ड ३७६ पृष्ठ, अनुच्छेद अधिकांस ३१ न्यूनतम २ चरणबाट तयार चतुस्पदी संख्या २२ मा संरचित कला बन्धन मुक्त महाकाव्य हो । यस महाकाव्यको प्रकाशन श्रीमती सुभद्रा कुमारी लम्सालले गर्नु भएको छ र मूल्य संस्थागत रु. ११००÷– र व्यक्तिगत रु. ६००÷– राखिएको छ । महाकविले यो कृतिलाई ‘सम्पूर्ण परिवर्तनकामी योद्धाहरूप्रति’ समर्पण गर्नु भएको छ ।
कृतिप्रति साहित्यकारहरूको धारणा– दादा वादलाई झल्काउने एउटा प्रयोग काव्य हो ‘पेनाल’ शीर्षकमा प्रा.डा. गोविन्दराज भट्टराई लेख्नु हुन्छ –‘‘ यो कृति पढ्दा मलाई दादावादी नकरात्मकताको सम्झना भयो । मलाई के लाग्छ भने यस महाकाव्यमा दादावादको गहिरो प्रभाव छ । यो प्रभाव परिस्थिति तथा वातावरणले पारेको प्रभाव हो, महाकाव्यकारको मनमा रहेको दर्शनले उत्पन्न गरेको दादावादी दृष्टिकोण हो ।’’ गद्यमहाकाव्य पेनालः जनयुद्धको सर्वोत्कृष्ट साहित्यका सम्बन्धमा शीर्षक दिएर प्रा.डा.नारायण प्रसाद खनालले यस महाकाव्यको यसरी मूल्याङकन गर्नु भएको छ – ‘‘पेनाल वस्तुत ः चिन्तनप्रधान महाकाव्यको उत्कृष्ठ नमुना हो र यो पनि प्रयोगधर्मिताबाट मुक्त छैन किनकि यो परम्पराबद्ध महाकाव्य होइन ।’’ यसरी नै ‘पेनाल’ महाकाव्यका स्रष्टालाई साधुवाद शीर्षक दिएर विश्वप्रेम अधिकारीले यस महाकाव्यको मूल्याङ्कन यसरी गर्नु भएको छ –‘‘ आजसम्म लेखिएका प्रगतिवादी महाकाव्यमध्ये अब्बल महाकाव्य हो ‘पेनाल’ । प्रष्ट भन्न पर्दा ‘पेनाल’ प्रयोगधर्मी महाकाव्य पनि हो ।
महाकाव्यको सर्गगत अध्ययन–
प्रथमसर्ग– महाकाव्य लेखन परम्परामा देवी–देवताको स्तुतिवबाट( मङ्गलाचरणबाट) थालनी गरेको पाइन्छ तर लम्सालजीले सुमन्त्र, सुमति, सुबुद्धिले सुमार्गमा समाएर सुमेरुमा पु¥याओस, समुद्रमा डुवाएर सिपी टिप्न पाइओस,सुर गजमा चढेर सुरगुरुकोमा पुगेर सद्बुद्धि आर्जन गर्दै एउटा महाकाव्यको सुरतार झिक्न सकिओस् भन्दै सद्गुरुको साथै आत्मा–पूजााका भावना पस्कदै महाकाव्यको थालनी गरिएको छ । यस सर्गमा कविले महाकाव्यमा सबै प्रकारका गुणले युक्त, सबै प्रकारका घटनाक्रमलाई समेट्न सक्ने, महाकाव्यमा लीन हुँदा कोक्ती, रसबरी, हिङ्गाष्टक सेवनको अनुभूति हओस्, पूजा सिर्जना र रचनालाई गर्नु पर्ने, पूजा शक्तिलाई गरिने, शक्ति आकाश माटो, घाम, वायु र पानीमा हुने । यी सबै मानिसमै मौजुदा रहने भएकोले सर्वप्रथम आफ्नो पूजा गर्नु (आफ्ैन सम्मान गर्न सकेमात्र अरुको सम्मान हुन्छ) पर्ने, सबैको सम्मान हुन सके मात्र , सबैको व्यक्तित्वको विकास हुने र शान्तिको स्रोत बन्ने । कविले कविता कस्तो हुनु पर्छ भन्ने धारण पनि राखेका छन् । कविताले कविको, कविले मान्छेको मान्छेले राष्ट्रको सम्मान गर्नु पर्छ र ‘‘राष्ट्रले कविताको मर्म बुझोस् कवितामय बनोस् देश÷देशमय बनोस् कविता कवितामय बनून जाति÷ जातिमय बनोस् कविता’’। यसरी नै कविले वर्तमान परिस्थितिलाई केलाउने प्रयास गरेका छन् । युवाहरू विदेश पलायनले गर्दा कोदाबारीहरू सिरूबारीमा परिण भएको ‘‘सिरूको चित्कारभित्र सभ्यताको ललकार हाँसि रहेको’’ । बास्तवमा कविले आजको युवाशक्ति विदेश पलायन भएर सुखले आर्जन गर्न नसकेको र पसिनाको उपलब्धी त्यति हुन नसकेको त्यसको परिणतिमा कविको धारणा यसप्रकार छ –
‘‘यतिखेर पहाडका भैंसीहरू थारै छन्
राँगाहरू सहर गए र ममचा भए
बोकाहरू खसी भएर र पठेक्रीहरू बैला छन्
उर्वर युवा युवतीहरू विदेश पलायन भए
गाउँ घरमा वृद्धवृद्धा, केटा केटी र महिला छन्
मसानघाट नजिक नजिक सरेको छ ’’
कविले यस सर्गमा धेरै कुराको उठान गरेका छन् । फेसबुकले लमिको काम गरेकोकुरा, समयलाई मान्छेले किच्न खोजेका कुरा, हजुरीहरूले आफ्नै खटिरा मुसार्दै अर्काको खटिरामा नुनचुक लगाएका कुराहरू,जीवन दुबो झै उम्रेको कुरा, जीवनहरूको द्वन्द्व र युद्ध चकेको कुरा, चैतको खरमा आधुनिकताको झिल्को परेर यथास्थिति र अग्रगामीको द्वन्द्व बढेको, पुरातनको समाप्ति र नविनताको प्राप्ति खातिर खरबारी डढेका कुरा, मानिसले रौद्ररूप धारण गरेर मान्छेकै पक्षमा लडदै छन् र मान्छेकै विरुद्धमा मर्दै छन् भन्ने धारणा ,मादक पदार्थका कुरा, राष्ट्रिय हाँसो हाँस्न खली खानु पर्ने कुरा, जिउने नाममा मानिस मरिरहेका कुरा,गोली र हतियारले आफन्तका गर्दन गिँड्दा गर्दनबाट चुहेका रगत जस्तै कविता बनेर धर्तीमा पोखिन खोजेका कुरा, हिजो फुलेका गुराँस हतप्रभ भएर गएका र नयाँ कोपिलाको पालो आएको कुरा इतिहासको गर्भ बाट इतिहास जन्मने कुरा, आदि आदि घटेका घटना, तिनको परिणति आदि आदिलाई समेटेर कविता जे देखें त्यही लेखें भनेर कविले आवहान गर्दै लेख्नु हुन्छ –
‘‘आओ गौरीबाल्डीहरू ! परिवर्तनको राँको बालेर
स्वतन्त्र आकाशमा विद्वता र विवेक चम्काउँदै
वेमानीको पहाड भत्काउँदै
इमानदारिताको बुल्डोजर चलाउँदै
थाँक्रा थाँक्रामा नवीनताका काँक्रा फलाउँदै
आओ वीर साहसी र मेहनती परिवर्तनकारीहरू
म कविता बनेर कविताकै लयमा
ताली ढोक्दै आउने छु र कवितै गाउने छु ’’
कविले दोस्रो सर्गतिर संकेत गर्दै कविता फकाउन थाल्दै, बाटोभरी कविताका ज्योति बाल्दै बाटोमा काँडा भए फाल्दै यस सर्गको बिट मार्नु भएको छ ।
दुतीय सर्ग –अब म कविता फकाउन थाल्दै छु भन्दै पहिलो सर्गको समाप्ति पछि कविले यस सर्गमा कवितालाई सरस्वतीको रूपमा लिंदै वीणा धारिणी, सुकण्ठकारिणाी, गायिका वीनताकी माता मानव जीवन सक्षम र असल बनाउन कसरी सकिन्छ भन्दै आग्रह गरिएको छ । अज्ञानीलाई ज्ञानको आगो झोसेर ज्ञानी बनाउन , काव्यलहरमा समुद्रको छालभै, हावाको नवअमृत भै प्रेमीको प्यार भै आऊ, मानवकालागि सूक्ष्म दृष्टि लगाऊ, बत्तीमनि अँध्यारो हुन भएन, प्राणधारी, दुखित, पीडित, त्रसित र मूच्र्छित, हेलित गाउँलेलाई हेर,मानव जीवनका सबै कष्ट मेटाउन आऊ भन्दै कविले मानव स्थितिको बारेमा कविकै शब्दमा अध्ययन गरौं –
‘‘यहाँ मानव छन् काकाकुलसरि व्याकुल शोकाकुल
छ प्रतीक्षा दीर्घ नव सृष्टिको, सिर्जनाप्यासीहरूको
जीर्ण स्थिति नीति परम्पराको रीतिको महान परिवर्तन
होला कहिले जीर्णोद्धार ! छन् मानवहरू आतङ्कित’’
पृष्ठ २५–२६ श्लोक २६
कविले मानवका सबै क्रियाकलाप खान पान शारीरिक तन्दुरुष्टिको साथै राष्ट्रिय क्रियाकलापमा महान परिवर्तको लागि कामनना गरेका छन् । मानव जीवनप्रति लक्ष्य गर्दै मानवमा जन्म मृत्यु हँदाहुँदै विचारको सङ्कुचन , चेतन बुद्धि, विवेकको प्रयोग नगरि पाशविक व्यवहार, चरित्रहीनता, र पथभ्रष्टताको कारणले मानवमा मानवता र विवेकको गुण पलायन हुँदैछ भन्ने कविको धारणा छ । ‘‘मानिसद्वारा मूच्र्छित मानव बाटै त्रसित मानवहरू मानवकै सहारा खोज्न लस्करै हिडेका छन् । यस्ता मानिसदेखि पीडित भएर होस गुमाउनेको नाडी छाम्न र मर्म बुझ्न आउनु भनिएको छ । कविले मानवीय विविध घटनाक्रममा देखिएका विकृति विसङ्गति, अन्याय अत्यचार, राष्ट्र निमार्णमा देखिएका बाधा अवरोध, स्वाभिमान जोगाउन, सिप जाँगर विद्वता, सभ्यता संस्कारमा उच्चता, दासताबाट मुक्ति दिलाउन, स्वाभिमान सहित ज्ञानको कल्पवृक्ष हुर्काई दिन आकाश जस्तै, स्थायी र वायुजस्तै स्वजन जिउन सक्ने बनाउन, आत्मानुशान र आत्मासंयम प्रदान गर्न र ‘सत्यमा जिउनुको विकल्प लिएर आऊ’, कविते भन्दै, आपूmमा कविता ,चढ्यो, अज्ञानता हट्यो भावभङ्गको लता बढ्यो त्यसोहुँदा ‘एउटा मुक्तिको जीवन भोग्न एउटा युक्तिको युग थेग्न जाँदैछुको धारणा सहित यो सर्गको अन्त्य हुन्छ ।
तृतीय सर्ग –मुक्तिको जीवन भोग्न र युक्तिको युग थेक्न जाने दुतीय सर्गमा भविष्यवाणि गरेका कविवर भावनामा चढेर कल्पनामा उडेर आकाश गङ्गाको सयर गर्दै धर्तीमाताको फेरमार्दै व्योमलोकमा अवतरण गर्दै जून मामासँग मीत लाउँदै घाम मामासँग गीत गाउँदै ताराहरूको घरघरमा पस्दै सन्चो विसन्चो सोधनी गर्दा जून अल्छी भएकोले तताउन नसक्ने र घाम पक्षपाती भएकोले खोल्सा खोल्सी सेकाउन सक्दैन भन्ने सन्देश ताराहरूबाट पाएपछि कविको जून र घामप्रतिको आस्था बिच्कियो भन्दै यो सर्गको थालनी भएको छ । यस सर्गमा कविले सवल क्रान्तिको इतिहास बोकेको मुलुक र ज्विन र युद्धको प्रागैतिहासिक बोकेको मुलुकामा पैतला टेक्टा लघुता भास भएको जस्तो लाग्दा कर्णप्रिय आवाजहरूको प्रतिध्वनिमा मानिस भेलाहुने, विचारहरूसाट, सत्य बोल, सबैको हितको लागि सामूहिक इच्छाको कदर गर्दै स्वार्थलाई वदर गर्दै अघि बढ्ने सन्देश प्राप्त गर्नु, क्रान्ति सकिए पनि क्रान्तिका अवरोधलाई उठ्न नदिन क्रान्ति गर्नु पर्ने, विकृतिका जरा काट्न पर्ने, विसङ्गतिका झार उखेल्न पर्ने जस्ता धारणा राख्दै कवि भन्छन् –‘‘क्रान्ति परिवर्तन हो, परिवर्तन क्रान्तिहो, क्रान्ति गर्नु पर्छ ’’ । विद्रोह जन्मनुको कारण पनि कविले यसरी प्रस्तुत गरेका छन् –
‘‘जहाँ बुद्धि विवेक कमान हुँदैन
त्यहाँ इमान्दार, कर्मठ र त्यागीहरूको सम्मान हुँदैन
धैर्यको वाँध फुट्छ र विद्रोह छताछुल्ल पोखिन्छ’’ ।
(पृष्ठ ४५ श्लोक ५)
कवि कोलम्बसले पत्तालगाएको अमेरिका, माक्र्सले कल्पना गरेको भौतिक संसार, बुद्धले तपस्या गरेको मानव जीवन र क्राइस्टले सोचेको आदर्श संसार भन्दा बेग्लै ‘बाह्रौं ग्रह’ जहाँ एउटा मात्रै देश जसलाई जिउँदा मानिसले नदेखेको नभोगेको वैज्ञानिकहरूले पत्ता नलगाएको ‘थिर्पिवी’ भन्ने स्वर्ग जस्तो देशमा कवि पुग्दछन् । पृथ्वीमा मानिस बसे जस्तै त्यस देशमा नामिस बसेको पाउँछन् । यी नामिसहरू मानवीय व्यवहार भएका, एकले अर्कोलाई प्रेम गर्ने, आफ्नो भाग्य आफै निर्माण गर्ने, मेहनती, इमान्दार, स्वाभिमानी, समयको सदुपयोग गर्ने, सङ्घर्षशील कर्तव्य परायण, देशको सुरक्षा गर्ने, उत्साहित, संतुष्ट सर्वगुणले युक्त रिस, ईष्र्या, डाहबाट मुक्त , अमृत वीज रोप्ने विष उम्रे गोडेर फाल्ने, स्वावलम्वी आदि आदि आदर्सले युक्त भएका , कविले पाउँछन् । थिर्विपीमा थिर्वितपीले शासन गर्ने, शासनमा ‘निष्पक्षता’ आदर्श बोकर सिद्धान्तमा देश हाँक्ने, एउटै ग्रहको एउटै देश तर अनेकौं भाषा संस्कृति अनेकौ धर्म र अनेकौ भेष ,मानिसहरू सबै दीक्षित, नारीको उच्च सम्मान, थिर्विपति जनकल्याणकारी, सबैले मन पराउने र नामिसहरूले पनि अघोर प्रेम गर्ने, त्यहाँको जीवन सत्यम, शिवम् र सुन्दरमको लागि भएको, घरयासी प्रयोजनका हतियार (बन्चरो, हलो, कुटो आदि) बाहेक कुनै हतियार नभएको सबै नामिसहरू सेना प्रहरीको रूपमा शान्तिसुरक्षाको काम गर्ने, हरेक काममा पारदर्शिता, चोरी डकैती, हत्या बलत्कार, गुण्डागर्दी, पकेटमार, ठगी जालझेल, धर्मका नाममा शोषण, जनताको नाममा दारिद्रयको भाइसरस फैलाउने न्याउरी मुसाहरू, सवार्थको लागि माटो बेच्नेहरू, विद्वता, विवेक र गरिमा बन्धककी राख्नेहरू, चाकडी, चाप्लुसी, नातावाद, कृपावाद, फरियावाद, भ्रष्टचार, कमिसनखोर, धूर्त फटाहा , सीता हरण गर्ने रावण गर्भवती पत्नीलाई वनमा लगेर छाड्ने राम, आदिका नाम त्यहाँ सुन्न र काम देख्न नपाइने, सङ्क्षेपमा भन्नुपर्दा थिर्पिवीमा कुनै पनि नराम्रा कामहरू नहुने र सबै काम सबै व्यक्ति राम्र्र राम्रा गुणले भरिएका पाइने धारणा आएका छन् काव्यमा । कविले ‘‘विस्तीर्ण थिर्पिवीको चच्छुस्वादन गर्दै विस्तृत भूगोलको विस्तृति नियाल्दै, थिर्पिवीको सामाजिक आर्थिक र सांस्कृतिक विविध पक्षमा हेर्दै पृथ्वीमा पनि कोही यस्ता पक्षधर पाइएमा अनुगृहित हुने धारणा सहित यो सर्गको बिट मारिन्छ ।
चतुर्थ सर्ग –यस सर्गमा कविले तृतीय सर्गमा राखेका धारणामा अघि बढ्छन् । जन्मिएका बालकहरू प्रेमका उपहार, सुनियोजित यौनका उपहार, कुनै अनाथ नपाइने, जन्मे पछि २५ वर्ष छोराछोरी बाबु आमाको काखमा आनन्दमय जीवन विताउँदै २५ नाधेपछि थिर्पिवीबाट अंश लिने, काम हुन्छ । बच्चालाई राष्ट्र राष्ट्रियताका लागि अर्पण गर्न सिकााइने, विवाह प्रेमपद्धति बाटै गरिने केटा केटिकोमा जाने या केटी केटोकोमा जाने जता गए पनि एउटै अंशमात्र पाउने ,बाँचुन्जेल आफ्नै कमाई आफ्नै जमाई मरे पछि त्यो सम्पत्ति सबै सरकारको, समयको सदुपयोग, प्रतिदिन तीन घण्टा सरकारको लागि श्रमदान गर्नु पर्ने कुरा, बनिसकेको स्थितिले नीति बसाल्ने, नीतिले प्रवृत्ति, प्रवृत्तिले संस्कृति, संस्कृतिले सभ्यता, सभ्यताले शिष्टता शिष्टताले स्वर्ग, स्वर्गले मानवता मानवताले ईश्वर जन्माउने अर्थात मानवताबाटै ईश्वरको जन्म हुने कुरा, समयमा काम गर्नेले जित्ने, गरे हुन्छ भन्ने धारणा, पसिना बगाएरै कमाउनु पर्ने, मानिसका मगजहरू संचित्र्य भएकाले तिनीहरूबाटै यन्त्रहरू बन्ने, उपकरणहरू बन्ने, प्रगति र उन्नतिका द्वारहरू खुल्ने, कपडा, ओषधीको सुविधा, जनताले आफ्नो देशलाई भूस्वर्ग बनाएका, पहाडलाई काँचो माटो झै खेलाएर सुन्दर मूर्ति बनाउने, नदीनालाबाट बिजुली निकाल्ने चाडपर्व मान्ने ‘सूर्य पर्व’ मा सूर्यलाई अग्निपुञ्ज शक्तिको रूपमा मानिने, ‘पानी पर्व’मा निर्मल, पवित्र, र अमृत जललाई ईश्वर समान मानिने, ‘भूमि पर्व’ मा भूमिलाई ममतामयी माताको रूपमा मानिने, ‘वायु पर्व’मा बलिष्ठ प्राण रक्षकको रूपमा मानिने, आकाश पर्व सम्पूर्ण ब्रह्माण्डलाई छातीमा राखेर सृष्टि रच्ने आकाशको रुपमा सम्मान गर्ने, पूजाहरूमा नारी पूजा र पुरुष पूजा गरिने, वृद्धवृद्धा (७० वर्ष नाधेका)लाई वृद्धवृद्धा आश्रममा राखिने र राम्रो सेवा दिइने, सबैले समान पक्षपात केही नहुने, हलो जोत्ने हलिले वैज्ञानिक आविष्कार गर्ने, डाक्टरहरू उपचार सकेर भैंसीलाई घाँसकाट्ने, कवि र कथाकारले कर्मका कविता र कर्मका कथा लेख्ने, कलाकारले विभिन्न प्रकृतिलाई समाएर कलाको सिर्जना गरेर वसन्त ऋृतुनै बनाई दिने, कलालाई जीवनमा ढालिदिने जस्ता धारणालाई कला र साहित्य मार्फत थिर्पिवीको यथार्थता पस्किने काम भएको छ र अन्तिममा थिर्पिवीको विकास प्रगति हेर्न लम्कने धारणा राख्दै यस सर्गको बिट मारिन्छ ।
पञ्चम सर्ग – अव वैज्ञानिक प्रगतिको अवलोकन गर्ने धारणा राखे बमोजिम कविले भीर पाखामा लाली गुँरास फलपूmल खेती, घाँसबाली, भूक्षयमा तटबन्ध, काँस, बाँस, जडिबुटी, आदि व्यवस्थापन गरेर आत्म निर्भर गराउने जस्ता धारणा सहित यस सर्गको थालनी गरिएको छ । यस सर्गमा वैज्ञानिक हरूले रकेटको आविस्कार गरेर पृथ्वमिा प्रषेपण गर्ने निर्णय बमोजिम ढाडे बिरालो सहित पृथ्वीमा प्रक्षेपण गरिएको रकेट रुसको हिमछादित मरुभूमिमा अवतरण गरेको, रुसले चन्द्रमाँमा रकेट छाडिसकेकोले त्यति चासो नलिए पनि २।२ मुसा रकेटमा राखिदिएको र रकेट निर्धारित समयमा थिर्पिवीम फर्केको । रकेटमा बिरालोले मुसा खाएको देखेर एक जोडा युवायुवतीलाई पृथ्वीमा पठाइएको र रकेट जनवादी चिनको कोइलाखानीको नजिक ओर्लिएकको चाइनिजहरूले रमाइलो मान्दै एकजोडा बाँदर पठाएकोले बाँदर वंस बृद्धि भएकको, यसपछि होनहार दुई युवा पृथ्वीमा पठाउँदा रकेट नेपालको ललतिपुरको भट्टे डाँडामा अवतरण भएको युवाहरू घुम्दै घुम्दै नयाँ सडक पुग्नु अलपत्र पर्दै पशुपतिनाथको मन्दिरमा पुग्नु पशुपतिनाथका मगन्तेहरू भेट्नु सिना मङ्गलको एक रेष्टुरेन्टमा पस्नु मासु रक्सि खानु पैसातिर्नु पर्छ भन्नेथाहा नहुँदा पिटाइ खाँदै नालामा धकेलिनु फोहोर मैलासँगै फिर्ता हुनु रक्सिले नछाडेकोले रकेटबाट ओर्लने बित्तिकै साले भन्दै मुक्क्याउन थाल्नु सनसनी फैलिनु , दुई युवतीलाई रकेटमा राखी फेिर पृथ्वीमा पठाउनु रकेट बाबरी मस्जिदमा अवतरण हुनु हिन्दु नारीहरूले सिन्दुर पोत उपहार दिनु मुस्लिम नारीहरूले बुर्का उपहार दिनु । कोही थिर्पिवीमा जाने भए लैजाने धारण ती दुई युवतीले राख्नु र एक राजनीतिज्ञ जान तयार भएर जानु र त्यहाँ पुगे पछि उसले मैमानव भन्न थाल्यो र उसको नामै मैमानव रहनु, । यो देखे पछि राजा र रानी स्वयम् जान तयार भएर रकेटमार्फत पृथ्वीतिर लाग्नु, रकेट नागलोकको रकेट निर्माण स्थलमा अवतरण गर्नु, नागलोकी वैज्ञानिकहरूले दोभाषे जन्तर तयारपार्नु थिर्पिवीका राजारानी हुन् भन्ने जानकारी भए पछि नागलोकको राष्ट्रपतिलाई जानकारी दिनु, राम्रो स्वगत गर्दै सेतो दरवारमा लगिनु, थिर्पितपीले र रानीले यहाँ स्वगतमा राखिएका विविध चीजको स्वाद लिनु र यहाँका मदिरा लिएर गएर थिर्पिवीका जनता र वैज्ञानिकलाई खुवाउनु र वैज्ञानिकलाई बनाउन लगाउनु र थिर्पामृत नामाकरण गरेर सबैले खान थाल्नु , लठ्ठिनु, वेथितिले जरा गाड्नु , थिर्पिवीमा पृथ्वीका सबै विकृति प्रवेश हुनु , समाजमा भाँडभैलोले स्थान लिनु, अकर्मण्यको वीउ रोपिनु आस्था विघटित हुनु, थिर्पामृत खाने झल्लिने, कामकाज छोडेर झल्लिनेजस्ता कर्मकको थालनी भएको धारणा कविले प्रस्तुत गर्नु भएको छ । सारांसमा भन्दा थिर्पामृतले थिर्पिवीको समाजलाई तहसनहस पारेको वर्णन आएको छ र यस्ता समस्याले थिर्पिवीमा कुन विकास हुने हो भन्दै यो सर्गको बिट मारिएको छ ।
षष्ठ सर्ग––यो सर्गमा थिर्पामृतले मुलुक विग्रेकोले केही मानिसले चेत्नु, संयमित र सतर्क हुनु , पृथ्वीबाट थिर्पामृत ल्याएर थिर्पितवीले देशमा भाँडभैलो मच्चाएको आरोप लाग्नु, बुद्धिजीवीहरू चिढीदै गएको धारणा राख्दै यस सर्गको थालनी भएको छ । देश यस्तो अवस्थाबाट गुर्जिदैगर्दा मैमानवको नेतृत्वमा जूँपितपी नामक संस्थाको स्थापना गर्नु । ‘प्रजातन्त्र, स्वतन्त्रता र समाजवाद’ संस्थाको मूल उद्देश्य बनाइयो र मैमानवले अत्याधिक टाठा बाठाहरू जम्मा गराएर थिर्पितपी थिर्पामृतको सेवनले दरबारमा लडेको हुँदा थिर्पितपीको यस्तो क्रियाकलापबाट देश नचल्ने भएकोले क्रान्ति गर्नु पर्ने, थिर्पिवीमा भित्र्याइएका विकृति विसङ्गतिलाई हटाउनु पर्ने, माौलिक हक कायम हुनु पर्ने, थिर्पामृत सबैले छाड्नु पर्ने जस्ता भााषण गर्दै मैमानवले सबै योद्धा बन्नु पर्ने, यौटा युद्ध लड्नु पर्ने, चेतनका हतियार बोकेर अचेतन दुश्मनहरूलाई ठोक्नु पर्ने, भन्दै जूँपितपीका नेताहरूले गोप्यवार्ता गरेर प्रत्येक गाउँमा साठी÷ असी क्रान्तिकारीहरू पठाउने, पूँजीतपी समर्थक बाहेक सबैलाई खेद्ने, गोद्ने, जग्गा कब्जा गर्ने घरमा भोटेताल्चा लगाउने आदि घटना अनुरूप क्रान्तिको थालनी भएको र नामिसहरूले भोग्नसम्म यातना भोगेका,आतङ्कित जनता ज्यान बचाउन भागेका अति मार्मिक घटनाक्रमलाई कविले यसरी प्रस्तुत गरेका छन् –
‘‘भागे सिधासादा नामिसहरू बस्तैको प्यारो घर छाडेर भागे
लागे नामिसहरू विवस भएर जङ्गलतर्फ लागे
कब्जामा गयो थिर्पिवी पूँजितपीका क्रान्तिकारीहरूको
आँपूmले दुःख गरेर भोगेका घरबार छाडेर भागे,
दुःखका साथीसँग विदावादिको अवसर पनि पाएनन् ्
गोठका भेडाबाख्रा गोरुभैंसी छाडेर भागे
खानालाई साँची राखेको एक मुठी अन्न पोको पार्न भ्याएनन्
( षष्ठ सर्ग श्लोक २२)
कविले नेपालमा भएको माओवादी युद्धमा जनताले भोगेका यथार्थपरक घटनाजस्तो घटनाक्रमलाई जोडेको भान हुन्छ । नेपालका जनताले जुन दुःख भोगेका थिए त्यही दुःख थिर्पिवीका नामिसहरूले भोगेका छन् । थिर्पिवीको मैमानवले चलाएको क्रान्तिे सफल भएको छ । क्रान्तिनेताले क्रान्ति सफल भए पछि दिने भाषण मैमानवले यहाँ दिन थाल्छ । स्वर्गको ढोका खुलेको, व्योमको ढोक खुलेको स्तन्त्रताको भाग्योदय भएको, दुखको समुद्रपार भैसकेको ,वलवान समय आएको, जीवनको समय, लक्ष्यको समय आएको, छ समयको सदुपयोग गर्नु पर्छ आफ्नै खुट्टाले टेक्नु र उठ्नु पर्छ धनी र गरिवको खाडलहरूलाई विचारका बगरले पुर्नु पर्छ आडम्बर र अन्धताका खोलहरू च्यातेर फाल्नुपर्छ ब्वाँसा, स्याल र फ्याउराहरूलाई चेतनाको ढयाङ्ग्रो ठटाएर भगाउनु पर्ने, नयाँ जोस जाँगर र उमङ्गलिएर अघि बढ्नु पर्ने, समुन्नतीका बिरुवाहरू उमार्नु पर्ने, सम्पन्नताका बीउ छर्नु पर्ने, उठ्नु, हिँड्नु र जुट्नु पर्छ जस्ता धारणा मैमानवले भााषाणमा राख्दै नामिसहरूसँग ‘हामी अव हेरुँ स्थिति कता ढल्किन्छ कता लड्किन्छ’ शब्द सहित यो सर्गको बिट मारिन्छ ।
सप्तम सर्ग –
‘‘चिलाउनेको हलो जुवा, बिलाउनेको सोइला
आज राती खैला बैला ....... गै’छ पोइला ’
यही श्लोकबाट सातौं सर्गको थालनी भएको छ । यसरी जूँपितपी सङ्गठनका कार्यकारिणी जुटेर युद्धको विश्लेषण गर्दै विजय भएको थिर्पिवीका सबै नामिस लगायत बिराला र मुसाहरू, स्याल र ब्वाँसाहरू सबै यिनकै अधिनमा चल्नुपर्ने र यिनीहरूको अधिनमा नचल्नेलाई पानी घट्टमा दल्नु पर्छ, थिर्पितपी भने थिर्पामृत खाएर दरबारमा मस्त निदाई रहेको छ । राज्यसत्ता सबै जूँपितपीको हातमा पुगेर अहंकार बढेको छ । थिर्पिवीमा भएका स्रोत र साधनलाई प्रयोगमा ल्याउनु पर्छ र सुन्दरता भित्र जीवन र जीवनभित्र सौन्दर्य फल्नु पर्छ भन्दै पृथ्वीमा मन्त्रीपरिषद भने जस्तै त्यहाँ पनि पत्रु मरिषद गठन हुन्छ र मैमानव पत्रु मरिषदको मुखिया बन्छ । एकतर्फ जूँपितपीहरूले राष्ट्रिय सुविधामा मोजमस्तिमा छन् भने अर्को तर्फ जङ्गलमा जानेको हालत वेहाल छ । थिर्पितपी भने थिर्पामृत खाएर दरबारमा मस्त निदाई रहेको छ । राज्यसत्ता सबै जूँपितपीको हातमा पुगेपछि जङ्गलीलाई बोलाइन्छ तर यिनीहरूलाई उपेक्षित गरिन्छ । वन पसेकाले यो उपेक्षालाई सहन सकेनन् र आफ्नो हक अधिकारको लागि सङ्गठित भए ।
लडने प्रतिबद्धता जाहेर गरे–
नलडी सुखै छैन हामीले हाम्रो गास बास फिर्ता लिन
तयार छौं हामी हरघडी त्यसका निम्ति रगत दिन
जङ्गलबाट योजना बनाऊँ र गाउँ घेरौं
गाउँबाट योजना बनाऊँ र सहर घेरौं
सहरबाट योजना बनाऊँ र थिर्पिवी घेरौं
‘कहाँ जालास् मछिया मेरै ढडिया’
(सर्ग सात श्लोक २७ )
वनमा पसेकाले आपूm फाँसीमा झुण्डिन र सुलीमा चढ्न तयार तर आफ्नो प्यारो जन्म भूमि नछोड्ने प्रतिबद्धता सहित युद्ध गर्न अगाडी बढे । नेपालमा सरकार माओवादीसँग जे जस्ता हत्या हिंसा र युद्ध भएको थियो त्यस्तै प्रकारको युद्ध थिर्पिवीमा पनि लडिन्छ–
निशाना बनाएर मैमानवको पत्रु मरिषद थिर्पिवीमा
घेरे जङ्गल लखेटियाका जङ्गगलीहरूले
घोचा र भाला बोकेर घेरै, भेडाका छाला ओढेर घेरे
दुश्मनका किल्ला तोडेर घेरे, वैरीका बिल्ला जोडेर घेरे
उज्यालो भविष्यका पछ्यौरा ओढेर घेरे
अनाचारको छपनी फोरेर घेरे
(सप्तम सर्ग श्लोक ५६)
‘एउटा कुनामा बसेर हेर्न थालें म पनि यिनीहरूको युद्ध’ भन्दै यो सर्गको बिट मारिएको छ ।
अष्टम सर्ग –
‘‘ठोक ठोक ठिङ्ग्रेमुङ्ग्रेहरूलाई ठिङ्गुरामा हाल
ठेस ठेस ती ठेट्नाहरूलाई, ठेस ती भेट्नाहरूलाई ’’ भँुई न भाँडाकालाई ठेगाना लगाउने भन्दै यस सर्गको थालनी भएको छ । यस सर्गमा पत्रु मरिषदलाई लक्ष गरेर जङ्गलीहरूले निर्णायक लडाइँ लडन तयार भै अघि सर्ने काम हुन्छ । भयङ्कर युद्ध भएको विवरण यसरी जानकारी लिन सकिन्छ –
‘‘पहराहरू थर्किरहेछन्, आकाशहरू गर्जिरहेछन्
पानीहरू बगिरहेछन्, नानीहरू रोई रहेछन्
हावामा बारूतको गन्ध पानीमा रगतको रङ्ग
धर्तीमा लासहरूको विस्कुन, आकाशमा गिद्धहरूको रौनक
सोत्र्यान्हरूको बजारदेखि नसक्नु वीभत्सता हजार । ’’
यस्तो कठोर युद्धमा जङ्गलीहरूले विजय प्राप्त गर्न नसकी केही जङ्गलीहरू पूँजीतपीकोमा हली गोठाला भएको एकत्रितबाट तान्न सफल भएपछि र जङ्गलीलाई हरुवा, छेरुवा भन्दै पत्रु मरिषदको विजय वैठक बस्नु र थिर्पिवीको नै नयाँ नामाकरण ‘पेनाल’ राखिएको र थिर्पिवी अव पेनाल भएको र थिर्पिवी अव पेनालको नामले चिनिने भयो । थिर्पिवीका हरूवाहरूको पनि वेहाल भएको धाारणा आएको छ । पेनालमा तत्कालिन सामाजिक मूल्य, र मान्यता भत्किनुको साथै संस्कृति बाट विकृति, स्वीकृति बाट बलात्कार, नैतिकताबाट भ्रष्टता, प्रकृतिबाट कृतिमता, मानवताबाट दानवता, दयामायाबाट क्रुरता, अन्नबाट मादकता, पानीबाट निष्ठुरता, मन बाट पहिराहरू, विचारबाट खोल्साखोल्सी, तनबाट अनेकौ जातजातिको जन्म भयो । यसरी भत्किनेक्रममा नारीहरूको स्वाभिमान र स्वतन्त्र भत्कियो भन्दै अन्त्यमा कविले जिन्दगी जिउनका झलकहरू हेर्ने धारणा राख्दै यस सर्गको बिट मार्नु भएको छ ।
नवम सर्ग – यस सर्गलाई कविले क र ख गरि दुई खण्डमा जीवनका झलकहरू प्रष्ट्याउने प्रयत्न गर्नु भएको छ । ‘पूmलमारा पूmलको पूmलथुङ्गे जीवन आकाश भन्दा निलो प्रखर रक्त रिवन’ श्लोक सहित नवौं अध्यायको थालनी गर्नु भएको छ । यहाँ नारीको पूजा धुजा धुजा भएको, पुरुषको दासता स्वीकार्नु नस्वीकारे घर छाड्न पर्ने, फगत घसेउटी भए लोग्नेका स्वास्नीहरू, नारी एकताको र नारी स्व्तचन्त्रताको संलाप हराउनु, स्वास्नीले लोग्नेको दीर्घायुको कामना गदैृ ब्रत बस्नु पर्ने, लोग्नेले स्वास्नी मरे अर्की ल्याउन पाउने, यस्ता विकृतिले गर्दा पीडित बन्न जानु धार्मिक र सांस्कृतिक विभेदले आकाश छुँदै जानु महिलाहरू कहिल्यै स्वतन्त्र हुन नपाउनु भन्दै कवि लेख्नुहुन्छ –
बाल्यकाल बाबुको नियन्त्रणमा
यौवनकाल लोग्नेको नियन्त्रणमा
प्रौढावस्था टेकेपछि छोराको नियन्त्रणमा
नियन्त्रणै नियन्त्रणको पिँजडामा नारीको जिन्दगी बित्ने भो
(नवम सर्ग श्लोक ११)
नाारी माथि लादिएका थुप्रै तीता शब्दहरू यहाँ प्रस्तुत भएका छन् –
‘‘ओछ्यान, आसन, शृङ्गार, कामवासना, रिस, ढाँटछल
शत्रुता दुराचार, आदि नारीकै लागि बनेका हुन् रे’’ यस्तै पुरुषको इच्छ्यामा नारीको जिन्दगी, अस्तित्व विहिन भए नारीहरू र उनीहरूको पीडा पोख्ने ठाउँ कतै भएन भन्दै जे जति कानुन नियम बने तिनीले नारीलाई नै दासी बनाएकोले कविले एउटा पारिवारिक प्रतिनिधि घटनालाई हेरौं नारीप्रतिका भन्दै यस सर्गको क खण्ड सकिएको छ ।
नवम् सर्ग खण्ड खमा
‘‘सुत्केरी पीडाले रन्थनिएर मर्माहत आकुलव्याकुल
दर्दमाथि दर्द पीडामाथि पीडा,सहनुको चरमोत्कर्ष
योनी च्यात्तिएर चर्चरी चह¥याएर पर्परी ... ’’ आदि मार्मिक पीडालाई केलाउँदै थालनी गरिएको यस सर्गमा एउटी सुत्केरी व्यथाले मर्माहत नारीले छोरीको जन्म दिँदा उसका घरपरिवार त्यसमा खासगरि सासूबाट निस्किएका अमानवीय व्यवहार र कटुशब्द जो महिलाले महिलाप्रति गरिएका विभेदका धारणाले भरिएको छ सर्ग, । सासु र सुडेनी बीच बहसमा सासूले छोरा र छोरी समान हुँदैनन् , दैवले नै विभेद गरेको छ मान्छेले बराबरी भनेर हुन्छ ? भन्ने तर्क राख्नु , यसमा यस सर्गमा पुरानो परम्परा र मान्यतामा हुर्केकी सासूले छोराको र आजको परिवर्तित संसारमा छोरी र छोरामा कुनै विभेद हुनुहुँदैन भन्ने तर्क सुँडेनीले राख्नु, आजको सन्दर्भमा छोरालाई महत्वपूर्ण स्थान दिने परिवारको उएटा दर्दनाक वास्तविक घटनालाई समाइएको छ । संसारिक चक्रमा कहिले सासूको पालो कहिले बुहारीको पाले लगातार चत्र हो । यस चक्रमा सुँडेनीले भन्छिन् –
आफ्नी सासूसितको प्रतिशोध बुहारीसँग साँध्नु हुँदैन
मनलाई जति पगाल्न सक्यो मान्छे त्यति सुखी हुन्छ
खुसी जति सँगाल्न सक्यो जिन्दगी त्यति रमाइलो हुन्छ
दमनको संस्ककार छोडौं आमैं ! शमनको संस्कार जोडौं अब ’’
छोरा पाउनको लागि आमाले नै छोराको विवाह गराउन लगाएर अर्की छोरा पाउने बुहारी ल्यउन लगाइन्छ । नयाँ बुहारी ल्याउँदैमा छोरा नजन्मिन पनि त सक्छ किनकी बीउ छर्ने त छोरो नै हो । दोस्र्रो विवाहबाट पनि सदस्यबाट गिजोलिएकी बुढी कन्या जसको महिनावारी रोकिएको थियो सँग विवाह सम्पन्न हुन्छ । छोरा जन्मन्छ । घरमा उमङ्ग छाउँछ । तर जेठी र माइली स्वास्नी र छोरीहरूको वास्ता हुँदैन र उनीहरूले विना दाइजो विवाह गर्ने केटासँग विवाह गर्नु, छोरो पाएकी कान्छी कुनै ठिटासँग छोरो छाडेर पोइल जानु, बुढो र बच्चो जेठीतिरै लाग्नु, विना दाइजो विवाहा गर्ने दुई बहिनी जूँपितपी पत्रु मरिषदमा परेकालाई दाइजो नल्याएको भनी कष्ट दिन थालेको, छोरो पनि आवारा हुन पुग्नु, बुढी आमैले पनि कष्टदाई अवस्थामा मृत्युवरण गर्नु, जूँपितपीका नामिसहरूको मूल्यको कोडीमा पनि बिक्न थालेको विवरण सहित यो सर्गको बिट मारिन्छ –
हेरूँ एउटा भरौटेको कथाव्यथा
अति निम्न वर्गीय जीवन गाथा
दशम सर्ग –‘‘गुनियाको मुजो समातेर अघि र पछि गर्छन् यी छोराछोरीहरू के खान दिउँ पेटभरि’’ जस्ता दर्दनाद शब्दबाट थालनी गरिएको छ यो सर्ग । गरिबीले गाँजिएको यो परिवारमा सानुबा(पति )र कालिमा(पत्नी) बीच वार्तालापमा गर्दै सानुबाले हेला गर्दा र बच्चा बच्चीले खान नपाउँदा ऊ रुँदै भन्छे –
‘‘अवलाको संस्कारमा हुर्केर जुठो लोटाउने गोवर भएकी सोझो हेरो सोझै देखिने बाङ्गो हेरे बाङ्गै मया गरे सुन्द्यर देखिने हेला गरे नाङ्गै लोग्नेहरूको संसारमा ढाँटे ढाँटिन्छन् स्वास्नीहरू, आँटे आँटिन्छन् स्वास्नीहरू फाटे फाटिन्छन् स्वास्नीहरू चाटे चाटिन्छन् स्वास्नीहरू नढाँट हे सानुबा , हेला नगर’’ (दशम सर्ग ,श्लोक १४) साना बालबालिकालाई खाना खुवाउनु दायित्व हुँदा हुँदै पनि नसक्नु, पतिले लाहुरेहरूको भारी बोकर ल्याएको पैसाले खान लाउन नसक्नु जस्ता नेपाली समाजका अति गरिबीले आक्रमण गरेको परिवारको मर्मलाई सफलरूपमा उतार्न सफल देखिन्छन् कविजी । जलुका सिस्नु, गिठा, भ्याकुर आदि खाएर जीवन रक्षा गरिरहेका त्यो परिवारमा कुकुर तरुल खाएर सबैको देहावसान हुन्छ । पेनालमा मुठी्ठभर जुँपितपीहरू ऐस आराममा बहुसंख्यक नामिसहरू तिनकै सेवामा ‘मैमानव पत्रु मरिषको नोकरी चाकरीमा बिजोगसँग बित्न थाल्यो पेनाल’ बासीहरूको जिदगी, धारणा सहित यो सर्गको बिट मारिएको छ ।
एकादश सर्ग –
‘‘युद्धका जुठा भाँडाहरू चोख्याइ साध्य छैन
डढेका भाँकुडाको कालो मोसो बाहेक उपलब्धी पनि देखिदैन
युद्धले ओकलेका रगतका फाल्साहरू सोहोरी साध्य छैन
मरेका लासहरूको दुर्गन्ध र चिहान बाहेक उपलब्धी पनि देखिदैन’’ भन्दै यस सर्गको थालनी भएको छ । युद्धले पेनालमा कहाली लाग्दो स्थिति सिजर्ना गरेको छ । जीवनका कुक्षण भोग्नु परेकको छ ‘मर्ने ठाउँ खोज्दै बाँच्ने ठाउँ खोज्दै बिचल्ली बिचल्लीमा वेस्वादिलो र निरसिलो जीवन बाँच्न बाध्य छन् नामिसहरू युद्धको कहाली लाग्दो यथार्थतालाई कविले बगरेको संज्ञा दिएका छन् र बगरेसँग खसी, राँगा रुनुको कुनै अर्थ छैन बरु चुपचाप गर्धन तेस्र्याए हुन्छ भन्ने धारणा आएको छ । कविको धारणा छ युद्धले ढुङ्गालाई देवता बनाउनु पर्ने, माटोलाई मूर्ति बनाएर प्राण भर्नु पर्ने ,सकरात्मक परिवर्तन ल्याउनु पर्ने, प्रेममा ,समृद्धिमा, न्यायमा, भावमा रुपान्तरण हुनु पर्ने त्यो नभै सभ्यता, सांस्कृतिक मूल्य र मान्यता, सामाजिक मूल्य र मान्यता समेत गएको धारणा, अवसरका खोजीहरू गर्ने विष वृक्षका बीउहरू नछर्ने आग्रह, नामिसहरूलाई काम गर्ने र पीडाहरू लुकाएर बाँच्न आग्रह यस सर्गको अन्त्यमा मैमानवको सत्ता गुड्दै, हालीमुहाली चल्दै गएको, अनेकौं जात जातिहरूर वर्गहरू जन्मदै गएका, नामिसहरूलाई जिउन कठिन हुँदै गएको र पत्रु मरिषदले उत्पादन गरेको वर्ग मध्ये मध्यम वर्गीय दम्पतिको कथाव्यथा हेरूँ भन्दै समाप्त भएको छ ।
द्वादश सर्ग–
लेक चढ्दा पनि भँगेरा र भँगेरी
्वेसी झर्दा पनि भँगेरा र भँगेरी
छिन घडी सन्तोष लिन्नथे एक अर्कालाई नहेरी, भन्दै यो सर्गको थालनी भएकाो छ । पहाडमा उनीहरूको जीवन सुखमय थियो सानो परिवार, सुन्दर संसार, नमुना गाउँको निर्माण थियो तर पत्रु मरिषद् बाजका कुदृष्टिहरू भँगेरा र भँगेरीका सुन्दर रमाइलो संसारमा पोखिन थालेर भँगेराको अस्त्त्वि र भँगेरीको सतित्व नै संकटमा पर्न थाल्यो । यिनीहरू तराईतिर लागे । यस प्रकारको जीवनलाई केलाउँदै कवि भन्छन् कि जिन्दगाी शुभप्रभात बिहानै बिहानको हो तर त्यसो नभएर जिन्दगी चिहानै चिहानको रहेछ, लासै लासको रहेछ, । यस सर्गको अन्त्यतिर भँगेरा र भँगेरीको मधेश झरेकोले तिनीहरूको सुख र आस्थाको केन्द्र सपनाको स्वर्ग विपनाको स्वर्ग कस्तो हुँदो रहेछ हेरौं भन्दै यो सर्ग समाप्त हुन्छ ।
त्रयोदश सर्ग– ‘मधेश पनि मासु मासु अघि अघि जाने र रैथानेले तुरिसकेका थिए पछि जानेहरूलाई मासु छोइनसक्नु महङ्गो थियो त्यसैले ‘प’ मात्रै छुट्थ्यो , हाड त त्यहाँ पनि रहेछ ’ भन्दै थालनी भएको छ । पत्रु मरिषदका विशाल महलहरू त्यहाँ पनि खडा भएका थिए तर यिनीहरूको आम्दानी हुने ठाउँ भएन खर्च बढ्दै गयो । गरिबीले सताउन थाल्यो । खानामा भात, तरकारीमा आलु, लामखुट्टेको टोकाई, रातभरी सुत्न नसक्नु, झुल किन्ने पैसा नहुनु छोराछोरीको बोर्डिङ्को फिस तिर्ने पैसा नहुनु, आफन्तले पनि सहयोग नगर्नु आखिरमा ऊ सहरतिर भासियो । भँगेरी विवश थिई न खानु नै थियो न कसैको सहयोग नै थियो त्यसैमा स्कुलमा छोरो विहोस भएर शिक्षकले लिएर आउनु, छिमेकी साहुजीसँग पैसा सापटी मागेर छोरालाई हस्पिटल पु¥याउनु छिमेकी साहुजी भँगेरीप्रति आकर्षकभै हस्पिटलमै पुग्नु, भँगेरीलाई होटेलमा लगेर रक्सि खुवाउँदै अस्मिता लुट्यो । यस घटनामा कविले भन्छन् कि सत्ता, शक्ति र सम्पत्तिको आडमा अस्मिता लुट्नेहरूएक दिन समाप्त भएर जान्छन् ,मैमानव पत्रु मरिषदका जूँपितपी को सञ्जाल पेनालका कुना कुनामा लेष्टित छ , ‘अब भँगेरीको झोपडीतिर दिउँ नजर एकफेर भन्दै यो सर्ग समाप्त हुन्छ ।
चतुर्दश सर्ग –‘भाइको त्यो गति बिसेक भयो या भएन आमा रोइरहेकी हालिन् ’ आदि मनको पिरलोमा रुमलिएकी भँगेरीपुत्रीको कथनबाट थालनी भएको यस सर्गमा ऊ डराएको अवस्थामा आवारा गुण्डाहरू आउनु हस्पिटलमा भाइलाई चापेको र तिमीलाई लिन आएको भन्दै घरबाट निकाली जङ्गलमा लगि बलत्कार गर्नु जङ्गलमै मर्नु, हस्पिटलमा छोरा मर्नु, भँगेरी मुर्छा पर्छे र झोपडीतिर फर्कन्छे, गोमन साँपकाो डसाइबाट मर्छे, भँगेरो पैसा कमाउन सहरतिर गएको कोइला खानीमा काम गर्छ, पैसा कमाउन सक्दैन, फर्केर गाउँ आउँछ, साहुले हड्पेको घर खोज्छ, साहुको हप्काइ खान्छ पहाडतिर लाग्छ, पुरानो घरमा पुग्छ, त्यहाँ पनि भँगेरीलाई पाउँदैन, बरु आँपूm कतै हिडेको, छोरो अस्पतालमा मरेको, छोरी हराएको र स्वास्नी सर्पले टोकेर मरेको घटना सुन्छ । यो सुनेर वेहोस भएर लड्नु ,गाउँलेले उसलाई कुरेर बसेकाहरू निदाउनु, ऊ होसमा आउनु, गाउँलेलाई देख्नु, उठेर आफ्नो जग्गाको माटो पैन्टको गोजीभरी भर्नु, भँगेरी र बचेरालाई बोलाउन आँपको रुखमा चढेर बेसुरमै झ्याङ्कुुसी खेल्दा हाँगो भाँच्चिएर रुखबाट खसेर भँगेरी र बचेरा बचेरीले लिएको बाटो समाउँछ । यो सर्ग अति कारुणिकताले भरिएको छ । यस सर्गका एक एक श्लोकले सबैका मन छुन्छन्, आँखा रसाउँछन् । बचेरी बलत्कार हुँदाको कविले देवत्वलाई सम्झँदै भन्छन् –
पाँचवटाकी स्वास्नीको चीरहरण हुँदा
नग्नताबाट जोगाउने देवत्व
निरीह बचेरीको हालत त्यो
कुन गोपिनीसँग लठ्ठ हुँदा हुन् ?,
(श्लोक १४, सर्ग १४,पृष्ठ २६४)
यो सर्गको ५० औं श्लोक राष्ट्रियता भरिएको छ । हेरौं दुई पङ्क्ति–
मेरो देशको माटो मेरो देशको धुलो
यही लाग्छ मलाई सबै भन्दा ठूलो
मैमानव पत्रु मरिषद् राज्य उत्कर्षमा पुग्यो । भन्दै यो सर्गको बिट मारिएको छ ।
पञ्चदश सर्ग –
‘‘निधार खुम्च्याएर नाकचेप्¥याएर
आँखा ओइल्याएर भाका सेलाएर शिर निहु¥याएर
जङ्गलीहरू पत्रु मरिषद जूपितपीका
सहर गाउँका हुक्के ,बैठके, चम्चे, भान्से,
पानी मरुवा, पानीभरूवा, गोबर सोरुवा,
भाँडामझुवा, डाँडाकटुवा, मरुन्जेलखटुवा
तलुवा चटुवा,’ धारणा सहित यो सर्गको थालनी भएको छ । मासुमा हाड घोटेर, गर्दनमा कष्टको कर्द रेटेर गर्धनमा एक गास ढिंडोमा कुइन्टलको भारी बोक्न बाध्य यी नामिसहरूले पत्रु मरिषदबाट कुनै दिन राहतको अनुभूति पाउन नसकेकोले आफ्नो माटो टेक्न, आँखाले मखमली सयपत्रीहरु हेर्न, पाखुराले धर्ती मेरो भनेर लेख्न उठ होइन भने बाँच्नुको अर्थ छैन, अर्काको मुख थुन्न पनि आफ्नो मुख खोल्नै पर्छ , ‘यदि भित्र चेतनाको प्राण छैन भने त्यो सिनु हो’ जस्ता धेरै धारणा आएका छन् यस सर्गमा । निम्न श्लोकको साथ यो सर्गको अन्त्य हुन्छ –
सह्यौ नामिसहरू असिमित मृत्यु र पीडाहरूसह्यौं
कुनै पनि बस्तु गएको गयै हुँदैन यो या त्यो रूप लिएर
फर्केर आउने छ फेरि कुनै दिन, यो या त्यो रूप लिएर
जसको संकेत पत्रु मरिषद जूँपितपी कहाँ बसेको
जङ्गली मध्येको एक गोठालो बुधेले दिइरहेछ
हेरूँ उसका कथा व्यथाका पीडाहरू
(५२ श्लोक , पृष्ठ २९७)
षोडश सर्ग –वर्षभरि रोपाइँ हिउँदभरि दाइँ दाइँ सकिएको भोलिपल्ट बुधेको घरमा खाने खर्च नाई हा.. हा...हा... भन्दै यो सर्गको थालनी भएको छ । बुधेले थिर्पामृत पिएर मालिकले बाजेको पालोदेखि गरेरको शोषणको बारेमा तथानाम बोल्छ, ओकेल्छ । जब थिर्पामृतले छाड्छ अनि मालिकसँग माफि माग्छ । थिर्पामृत खाएका बेला उसले पोखेका मार्मिक कथाव्यथा जस्तै रातभरी ढिकी जाँतो, दिनभरि हलो गर्दा पनि खाने बेला मालिकको कलो जस्ता बाजेका पालादेखि गरिएको भलो कहिल्यै नसकिने रहेछ भन्दै सान्नानीकोमा जाने र पिउने गर्दा सान्नानीले नपिउने सल्लाह दिने र उसकी श्रीमतीले पनि मालिकसँग जोरी नखोज्ने निकालिदिए कहाँ जाने भन्दा पनि उसले सुन्दैन र मालिकले हिसाव दिएर जा भन्दा उसले आफ्नो बाजेका पालादेखिको हिसाबकिताप मालिकका घरबाट पाए पछि चुक्ता गर्ने भन्ने जवाफ दिन्छ र हलिहरूलाई हलो फालेर उठ उठ भन्दै यो सर्ग सकिएको छ । बुधेले बोलेका केही मार्मिक यथार्थताहरू–
पुस्तौदेखिको श्रमको मूल्य गर्ने हो भने ्
अब ऊ त्यो घरमा म मालिक र ऊ नोकर हुनु पर्छ
(श्लोक २४ पृष्ठ ३०५)
तँसँग सम्पत्ति छ हामीसँग बिपत्ति छ
सम्पत्ति ठूलो कि विपत्ति ठूलो,
(श्लोक २४ पृष्ठ ३०६)
यस सर्गमा धनी वर्गले गरिव वर्गलाई श्रमको शोषण मात्र नभै घर जग्गा जमिन सबै हडपेका कुराको उठान भएको छ ।
सप्तदश सर्ग –
‘युद्धले बनाएन अनगिन्ति लास मात्रै
परिर्तनको आस पनि जगायो
युद्धले गन्हायन चाङ्का चाङ सिनो मात्रै
दुर्गन्धबाट नयाँ चेतना पनि पलायो
जित्नेहरू जिउँदै स्वर्ग जान पनि सकेनन्
धर्तीमै काल कुर्नु प¥यो
मर्नेहरू मरेरै गए
सिनो त बाँच्नेले पुर्नै प¥यो
आपूmजस्तै ज्यानहरू मारेर खाल्टामा हाल्नु पर्दा
बाँच्नेले बाँचुन्जेल तिनै लासहरू समझेर पलपल घुर्नु प¥यो’ (श्लोक १,पृष्ठ ३१३) बाट यो सर्गको थालनी भएको छ । श्लोक एकको यत्रो घटनाक्रमले पश्चतापका बीउ उम्रन थाल्नु हीनता बोधका ठूटाहरू पलाउनु आफ्नै जातका दाजुभाई दिदी बहिनी मारेर कुनै रामराज्य धर्तीमा नआएको धारणा राखेका छन् कविले । समयको पाइला पाइलामा मनहरू जोखिनु, भोगाइका पलपलमा तर्ककहरू पोखिनु, युद्धको परिणाममा गुण दोषको उद्बोध हुन थाल्नु, सीप भए पनि पीप लिएर बाँच्नेका पिडा, आदि यावत पीडाहरूको आन्वेषण , अनुसन्धान र विश्लेषण हुन थालेको, रक्तिम युगको अन्त्यपछि श्वेत आतङ्कको युग चलिरहेको , विचार छँदाछँदै हतियारको के आवश्यक्ता ?जीवनछँदा छँदै मृत्यु किन ? भैराखेका प्राण फुस्काएर निस्प्राण किन जस्ता प्रश्नहरू उब्जनु, हिजोको त्यो थिर्पिवीको विशारत पेनालको दुर्गतिमा परिणत हुनु ,मैमानवहरूले गरेका कुकृत्यहरूको सम्पत्ति आर्जन, परिवारजनमा ल्याइएको विलाशिता, सत्तास्वादको माद, जलन, लोभ, अहम्ता, रक्तशोषण ? श्रमशोषण, अस्मिता शोषण आदि कारणले पेनालको स्थिति भयावह भएको छ । रक्षक भएर भक्षकको भूमिका निर्वाह गर्नेहरूको छानविन हुनु पत्रु मरिषदका क्रियाकलाप पुराना भएका, मुक्तिका्े खोजी गर्दा अन्याय, अत्याचार, कुटिलता दर्शिन थाल्यो र चेतना बुद्धि विवेक र संवेदना बीचको मन्थन हुन्छ । पत्रु मरिषदका दरबारमा जङ्गली लडाकुहरूले घेरा हाल्नु । , नोक। चाकर प्रथाको अन्त्य गरि सबैलाई मालिक बनाउन चाहानेहरू अग्रसरता लिएको धारणालाई कविले यसरी लेख्नु हुन्छ कि वीरका छातीबाट वीरता खोस्ने, मायालुका मुटुबाट मायालुट्ने, विश्वासको सामा गुमाएर घातको व्याज खाने ब्वाँसाहरूको युगले ब्वाँसाहरूलाई नै फाल्दै छ निल्दै छ किनकी तिमीहरूले युगलाई निजी बनाउने र युगलाई नोकर बनाएका छौ अव युगले चिनी सकेको छ तिमीहरू बुढा हुँदै छौ र युग तन्नेरी हुँदै छ । कविको कथन छ कि अव केही परिवर्तन हुन्छ कि,जस्तो नयाँयुगका नयाँपिडीहरूले अब केही गर्छन् कि जस्तो खिया लागेर पुराना पुर्जाहरू ढल्छन् कि गल्छन् कि जस्तो र सकरात्मकतिर कोल्टे परेजस्तो छ वातावरण ‘आशावादी दृश्यहरू क्ष्तििजबाट मैले हेरिरहेंछु रमिते बनेर’ जस्ता शब्दबाट यो सर्गको बिट मारिन्छ ।
अष्टादश सर्ग– ‘आगो लिएर उठे अँगारहरू लौरो लिएर उठे जङ्घारहरू’को साथै निस्कनपर्ने निस्कनु,जाग्नु पर्ने जाग्नु भाग्नुपर्ने भाग्नु, र निर्धक्क भएर परिवर्तनका पक्षमा ढुक्कसँग लाग्नेहरू लागेका, कुराहरूको धारणा सहित थालनी भएको छ सर्ग । जब जाग्नेवाला सबै खाले मानिसहरूको जागरण भए पछि पत्रु मरिषदमा खैलाबैला मचिन्छ । पत्रु मरिषद एक्लिदै जान्छन् हिजो आफैबाट जितिएकाहरूको आज भाषण गर्जिरहेको, जूँपितपीहरूले सुनिरहेका छन् र धम्किको धागोमा विश्वास अडिन गाह्रो छ , सत्यको सूर्योदय हत्केलाले छेकिदैन र जादुगरिमा देश चल्दैन भन्ने कविको ठहर छ । पत्रु मरिषका क्रियाकलापले गर्दा नव क्रान्तिका बीउबिजनहरू उम्रिन थाले भन्दै क्रान्तिको विवरण कविले यसरी गर्नु भएकको छÞ
‘कणदेखि लवणसम्म धुलोदेखि फुलोसम्म
हात्ती गैडादेखि भुसुनासम्म, झारबुटीदेखि साल वृक्षसम्म
हुलका हुल सबैले औंलो ठड्याए पत्रु मरिषद विरुद्ध
बन्दुकहरू गले, बारुदहरू कुहे बमहरू सडे
उत्साहितहुँदै गए अँधेरालाई भकुन्डो खेल्ने खुट्टाहरू
प्रोत्साहित हुँदै गए निरङ्कुशताका अङ्कुश भाँच्ने हातहरू
छदाउँदै पानीपित्त पत्रु मरिषदलाई अघि बढे अदम्य छातीहरू’
यसरी क्रान्ति अघि बढ्छ, पत्रु मरिषदका कानुन, शक्ति, अस्त्रशस्त्र काम नआउने अवस्थामा पुग्न थाल्छन् । जनयुद्धको त्रासमा पुग्यो पत्रु मरिषद, हिजो अरूलाई दण्ड दिने आज आफै दण्डित हुने अवस्था आयो । परिवर्तनका झरिले पखालिए र आफ्न्नै टुँडीखेलमा लम्पसार परे ,मैमानवले पेनालका बहुमूल्य बस्तु उडाउनुको साथै स्वास्नी छोराछोरी सबै रकेटमा राखेर उडायो अन्तिममा ऊ रकेटमा रमाना हुन थाल्दा पत्रु मरिषदका सदस्यहरूले नउड्ने र परिवर्तनको साथ लिने भन्दाभन्दै उसले कुनै प्रतिक्रिया जनाउँदैन र उसको रकेट प्रक्षेपण हुन्छ । पेनाल मैमानव मुक्त भए पछि आवाजलाई आवाजले, विचारलाई विचारले, अन्यायलाई न्यायले जित्दै सबैलाई समेट्दै नयाँ युग प्रवेशको संघार टेक्दै निरङ्कुश सतिसाल कहिल्यै उठ्न नपाउने गराउँदै युवाहरू अगि बढ्दछन् भन्छन् ‘हाम्रो बिचार दिनमा सूर्योदय हो र रातमा चन्द्य्रोदय हो’ त्यसो हुँदा अबको पालो भनेको न्याय। सदाचार र असल गर्नेको हो । ‘पसिनालाई रगतले पनि जित्न सक्तैन, पसिनाकै उपजहुन् दुनियाका रगतहरू,’ ‘पत्रु मरिषदका भाइरस रेबिज र ब्याक्टेरियाहरू आधुनिक उपचार पद्धतिबाट सच्चिन सक्छन् सच्चिन देऊ ’, ‘पुरानो होइन अब हामी नयाँ आँखाले हेर्नु पर्छ , ‘अब हामी पुरानोबाट नयाँतिर जाँदै छौं सम्पूर्ण विभेदको अन्त्य गर्दै छौ , समता मुलक समाजको स्थापना, नयाँ सभ्यता, संस्कार, आधुनिक संस्कृतिको जग बसाल्नु, नयाँ र सुन्दर संसार बनाउनु, हिजोका पीडित जङ्गलीहरूले न्याय र क्षतिपूर्ति पाउनु पर्छ । पीडितले न्याय र क्षतिपूर्ति पाएपछि मात्र ‘बल्ल छाउने छ मुलुकमा स्वतन्त्रता र लोकतन्त्रको हरियाली र फैलने छ मुलुकमा सयौं पूmलहरूको समानुपातिक समावेशी पूmलबारी’को धारणासहित कविले हेर्दै बुझ्दै, सुन्दै गुन्दै ‘कस्तो हुन्छ त यिनको नयाँ र सुन्दर संसार बनाउने संयन्त्र हेर्नु छ’ भन्दै यस सर्गको बिट मारिन्छ ।
एकोनविंशति सर्ग –
मुक्त जङ्गलीहरू अनुहारमा गुराँस र हत्केलामा लालुपाते फलाउँदै
खुट्टाले आफ्नै धर्ती टेकेर,आँखाले आफ्नै प्रकृति हेरेर
फोक्साले आफ्नै धर्तीको सास फेरेर नाकले आफ्नै वासन्ती बास्ना सुँघेर
आफ्नै पसिनाले सिञ्चेर आपूmलाई आफ्नै पसिनाले भिजेर आपूmलाई
हास्तै गाउँदै र बजाउँदै मुक्ति पर्व मनाउन निस्के
मुक्ति उत्सव मनाउन निस्के । भन्दै यस सर्गको थालनी भएको छ ।
यस सर्गमा सबै खाले मुक्त जङ्गलीहरू एउटा हातमा रङ्गीन झण्डा र अर्को हातमा डण्डालिएर उत्सव मनाउन निस्के । उत्सवमा ठूलो जनसागर उर्लेको छ ।सबैले स्वतनत्रता प्राप्त गरेको अनुभूति भएको छ । सभामा बुद्धिले उद्घोषकको काम गर्ने, जिम्मेबारी पाउनु, विचारलाई सभापतिको आसनग्रहण गराइयो विवेकलाई व्यवस्थापनको जिम्मेवारी दिइयो । सबै खाले पीडितहरूले घटनाक्रम अनुसार क्षेतिपूर्ति , मुआब्जा, पुरस्कार र दण्डका आवाजहरू सभामा निस्के । पत्रु मरिषदका विभेदका सीमा रेखा ,निरङकुशका संरचनाहरू, असमानताका पर्खालहरू, विभेदका सीमा रेखाहरू मेटिनु पर्ने जस्ता धारणाहरू, अन्याय अत्याचार र निरङ्कुशता विरुद्ध शूरवीरहरूका सगोल स्वरहरू कुर्लिरहनु, जिन्दगीमा कहिल्यै वसन्त नआउनेहरू कहिल्यै पूmल नफुल्नेहरू र फल नलाग्नेहरू मौसमी परिवर्तन र वासन्ती वासना खोजीरहनु, परिवर्तनकारी, नयाँ सभ्यता, पहिल्याउने मन्थन चल्नु मन्थनमा नौनी वा मख्खनमात्र निस्केन त्यहाँ छोक्रा बोक्रा र लोप्रा पनि निस्के । दही विषाक्त थियो त्यसोहुँदा गरल, जहर वा हलाहल पनि निस्के त्यसको पनि चेतनहरूले परिस्थितिको सौम्य पार्दै तथा द्वन्द्वलाई व्यवस्थित पार्दै पेनाललाई नयाँ गति दिन, सत्य र न्यायको स्थापनाको साथै स्वतन्त्र, स्वाधीन र ज्यूँदो पेनाल निमार्ण, राष्ट्र र राष्ट्रियताको लागि, जनमत्स्यहरू एक ढिक्का भएर लाग्नु र पेनाललाई नयाँ गति दिनु , पेनाली राष्ट्रघाती र राष्ट्रवादीमा विभाजित हुन नसक्ने र सबै एक भएर समान हक, सबैले उपभोग र समान अधिकार उपभोग गर्ने पाउनु पर्छ र नातावाद, कृपावाद, चाकडीवाद, फरियावाद, अहङ्कारवाद जस्ता अनियमितता उम्रन नदिइ सबैलाई व्यक्तित्व विकासको लागि उचित अवसर दिएर लोकतन्त्रमा कुशल चालक सबै बन्न सक्ने बनाउनु पर्छ । कसैले पेनालको नाम फेर्न पर्ने धारणा निकाल्छन् कसैले शब्द फेर्न नपर्ने अर्थ फेरे हुने धारणा आउँछ । नयाँ अर्थमा ‘पेलिकृत नामांकित ललना’, ‘पेलेर नाम राख्नेलाई लखेटियो’ र ‘पेशल नायिकाको ललकार्’ यी मध्ये ‘पेशल नायिकाको ललकार्’को सही अर्थ भएको ठहर गर्दै जन समुद्र मन्थन गर्दा निस्केकाा जहर हलाहलहरू चेतन, बुद्धि र विवेकले स्वयम् पान गरे र चेतन पेनाल प्रमुख, बुद्धि सरकार प्रमुख र विवेकहरू मन्त्री बने । पेनालमा कृषिसेवा र निर्माण सेवाको गठन गरियो र तालिम लिएर सबै समावेसीरूपमा सहभागी गराइने भएको र सबै सबै नै परिवर्तनका भागीदार बनाइयो, सरकारी राजस्व वृद्धिको लागि पत्रु मरिषदले प्रयोग गरेका सरकारी मोटर बेचियो, भवन भाडामा लगाइयो , चौरमा पालटाँगेर कार्य सञ्चालन, पेचेबुविस((पेनाल चेतना, बुद्धि र विवेकको सरकार)ले बाँधा,गोठाला, नोकरचाकरलाई मालिकबाटै अंश दिलाउँदै मुक्ति दिने काम भयो । क्रान्ति पछिका परिवर्तन सान्त वातावरणामा विना रक्तपातको सिर्जना सहित रुपान्तरण गराएको यो महाकाव्यमा राज्य सञ्चालकहरूलाई सचेत पनि गराइएको छ,–
‘याद गर बुद्धि, विवेक,र विचारहरू
हामीले नै थन्क्याउनु पर्छ
हिजोका निरङ्कुशताका प्रणामपत्रहरू’
(श्लोक ५५ पृष्ठ ३७५)
यो महाकाव्यको अन्तिमतिर कविको मन र दिल शान्त भएको, अचेतनहरूले हारेको र चेतनाले जितेको, सुयोग्य काम भएको, व्याप्त विकृतिर विसङ्गतिको उन्मूलनमा ध्यान दिनु, स्वाधिनताको सम्मान गर्नेतर्फ लाग्नु आफ्नो इतिहास आफै निर्माण गराएर जनतालाई प्रशस्त अधिकार दिलाएर छाडनु,जस्ता काम चेतन, त्रुद्धि, विवेक र विचारले गरेकोले यिनीहरूलाई धन्यवाद दिँदै कविले यिनै सत्य कथाहरूलाई लिएर पृथ्वीमा फर्कने र थिर्पिवीदेखि पेनालसम्म र पेनालदेखि पेनालसम्मका कथा व्यथालाई सुनाउने धारणाको साथमा कविले भन्छन् –‘‘तैपनि छन् कि पृथ्वीमा पनि चेतन, बुद्धि विवेक र विचारहरू’’ को धारणा सहित महाकाव्यको बिटमारिएको छ । द्वन्द्व र भयङ्कर युद्धमा रुमलिएको पेनाल, यथार्थतामा उभिएको यो महाकव्यको समाप्ति अति सहज र लोकतान्त्रिक व्यवस्थाको स्थापना, समनता प्रदान गर्दै हिंसा व्यभिचार, छल, कपट, आदि खेदाउँदै अन्याय अत्याचार, शोषण दमनबाट जनतालाई मुक्ति दिलाउने अग्रसरता देखाउँदै सकरात्मक सन्देशको साथमा समाप्त भएको छ ।
पात्रहरूको चयन – महाकाव्य सिर्जनामा पुराना मान्यताहरू भन्दा माथि उठेर कविले एक नविनतम र जनयुद्धको यथार्थतालाई प्रकटीकरण गर्दै युद्धको जीतपछि जित्ने पक्षले अवलम्वन गर्नुपर्ने शान्ति सुव्यवस्था, प्रतिसोध विहीनता र समानतामूलक समाजको सिर्जना गर्नको लागि दिइएको मार्गदर्शन आदि विविधतालाई समाएको यस महाकाव्यमा पात्रहरू बढीहुनु स्वभाविक हुन्छ । यस महाकाव्यमा कवि स्वयम वक्ताको रूपमा उभिएका छन् । प्रथम सर्गमा सुमन्त्र, सुमति र सुबुद्धिको नामबाट थालिएको काव्यमा , कविते, मानिस, नामिस, पूँजीपति, जूँपितपी, ढाडे बिरालो, मुसा, बाँदर।, मैमानव, पृथ्वीतपी, थिर्पितपीका जोडी, सुत्केरी, सुडेनी, सासू, कालिमा, सानुबा, लाहुरे, भँगेरा र भँगेरी, बचेरा र बचेरी, जङ्गलीहरू, बुधे, चेतन, बुद्धि, विवेक, विचार आदि थुप्रै (बहुपात्र, प्रतिनिधिपात्र र पात्र) पात्रहरूले क्रियाशीलतामा सजिएको छ महाकाव्य ।
परिवेश– यस महाकाव्यले पृथ्वीका समाजवादी रुसको हिमछादित भूभाग,,जनवादी चिनको कोइला खानी, नेपालको काठमाण्डौ भट्टे डाँडा, नयाँसडक, पशुपतिनाथ मन्दिर, सिनामङ्गलको होटेल, भारतको बाबरी मस्जित, नागलोक, थिर्पिवी (पेनाल) साथै यी स्थानहरूको प्राकृतिक सौन्दर्यता, वातावरण समाजिक, आर्थिक, राजनैतिक स्थिति आदि परिवेशलाई समेटेको छ ।
भाषशैली र प्रस्तुति – भाषा सरल छ , धाराप्रवाह रूपमा बहेको छ र सबैले पढ्दा सहजै आत्मसात गर्न सक्छन् । विविध रसको रसस्वादनगर्न पाइन्छ तापनि कहीं श्रृङ्गार, कहीं वीभत्स, कहीं करुणा र कहीं भयानक रसको प्रमुखता रहेको पाइन्छ । कवि व्यङ्ग कस्न निकै सिपालु हुनुहुन्छ । उखान टुक्काहरूले बीच बीचमा स्थान लिएका छन् र काव्यलाई रसिलो पारेका छन् । गद्यलय मात्रमा यो कृति सीमित छैन यसमा मुक्तकलय र लोकलयको मिश्रण पनि पाइन्छ । प्रस्तुति अति गहन र मार्मिक छ । शब्द शब्दले पाठकको मन छुन्छ । कतै आँसु बग्छन्, कतै हाँसो उठ्छ, कतै आक्रोहिशत भइन्छ,,कतै शोषण दमन अन्याय, अत्याचारले आपूmनै पिल्सिएको र कतै आपूmनै युद्धमा होमिएको अनुभूति हुन्छ ।
नामाकरण– कवि देवेन्द्रजीको तीक्ष्ण चिन्तनबाट नयाँ ग्रहको आविष्कार हुन्छ । यस नयाँ ग्रहको नामा थिर्पिवी हो । यो हरेक दृष्टिबाट तुलना गर्दा सुन्दर थियो । पछि पृथ्वीमा भएका सबैखाले विकृति र विसङ्गी भित्रिन गए । पृथ्वीबाटै गएको मैमानवले थिर्पितपीलाई हटाएर राज्यसञ्चालन गर्दा मैमानव र पत्रु मरिषद्ले पेनाल नाममा नविकरण गरे । पत्रु मरिषदको अन्याय अत्यचार शोषण् दमनको असह्यताले गर्दा जनताले युद्ध गरेर पुन लोकतन्त्रको बाहाली गरे । यही स्वतन्त्रताको पुनस्थापना र लोकतन्त्रको स्थापनापछि पेनालको नाम फेर्न पर्ने धारणा आउँदा शब्द राम्रो भएको र यसको अर्थ खोज्नु पर्ने जन आवाजमा पेशल नायिकाको ललकार अर्थ राम्रो भएकोले पेनाल नाम नै कायम गरियो । समयानुकूल भित्रको स्वादमा परिवर्तन आएको देखिन्छ । यसरी अर्थलाई विश्लेषण गरि हेर्दा पेशल (सुन्दर) नायिकाको ललकार(युद्धको आह्वान या हाँक) (पेनाल) नामाकरण सार्थक देखिन्छ । शब्दकोशमा पेनाल शब्द पाइँदैन ।
महाकाव्यको उद्देश्य या दिन खोजेको सन्देश–यस महाकाव्यमा कविले राज्य परिचलनमा भए गरेका शोषण, दमन, अन्य अत्याचार आदि विविध जनबिरोध्ी कर्मबाट जनतामा विद्रोह जन्मन्छ । विद्रोह जन्मेपछि जनआन्दोलन हुन्छ जनआन्दोलनमा जन आन्दोलन पक्षले विजयप्राप्त गरेपछि प्रतिशोधलाई त्यागी समता मूलक व्यवहार अपनाई जनता, राष्ट्र सबै सवल हुनुपर्छ भन्ने संदेश बोकेको छ । यस सम्बन्धमा कविले ‘‘पृष्ठभूमि भित्रको भूमि’’ शीर्षकमा प्रस्तुत गर्नु भएको धारणाहरू मध्ये दुईवटा धारणाले यस महाकाव्य लेखनको उद्देश्य र सदेश दिन खोजेका कुरा प्र्रष्ट हुने भएकोले कविकै धारणा यहाँ प्रस्तुत गर्न मनासिव ठान्दछु –‘कसैलाई पनि अगाडी बढ्न नदिने दवाएरै आफ्नो नियन्त्रणमा राख्ने ठालुहरूको प्रवृतिका कारण वर्गीय क्षेत्रीीय लिङ्गीय एवम् जातीयय विभेदको जन्म भएको अवस्थामा यिनै विभेद विरुद्ध सङ्घर्ष हुनुलाई पनि वर्तमान एक्काईसौं शताब्दीमा स्वभाविक मान्नु पर्ने देखिन्छ ’ । अर्को सन्देश यस प्रकार छ –‘हातहतियार प्रयोग गरेर जबरजस्ती ल्याइएको परिवर्तन क्षणिक हुन्छ भने चेतना बुद्धि, विवेक र विचारधाराका माध्यमबाट सबैले बुझेर सबैलाई बुझाएर आएको परिवर्तन दीर्घकालीन र सर्बमान्य हुन्छ भन्ने मान्यता राख्नु यस काव्यको निचोड हो ’। काव्यको अध्ययनबाट पनि यही कुरा सिद्ध हुन्छ ।
यो महाकाव्य पेनालमा भएका राजनीतिक घटनाक्रमलाई गहिरिएर हेर्दा नेपालको जनयुद्धको प्रतिबिम्बके रूपमा तुलना गर्न सकिन्छ । भूमिकाकारहरूले पनि पेनाल शब्द ‘पार्सी’ भएको र यसको ठिक नाम नेपालकै रूपमा लिएको देखिन्छ । आखिर जे भएता पनि यस महाकाव्यको भयङ्कर युद्धको घटनाक्रमलाई केलाउँदा माओवादी जनयुद्धको झझल्को आउँछ । यो माओवादी जनयुद्धको इतिवृत्त हो भन्न सकिन्छ तापनि महाकाव्यले युद्धपछि आएको परिवर्तनबाट प्राप्त उपलब्धीलाई पेनालका जनताले जेजसरी भोग्न पाए नेपालको जनयुद्धपछिको त्यो उपलब्धीको स्वाद भने नेपालका जनताले चाख्न पाएका छैनन् । प्रा.डा. गोविन्दराज भट्टराईले यस महाकाव्यमा दादावादको गहिरो प्रभाव भएको ठान्नु हुन्छ । प्रा. डा. नारायण प्रसाद खनालले यसलाई आफ्नो क्षेत्रको अनौठो कृति, देशप्रेम, माटो र ममताले भरिएको युद्ध साहित्यको प्रतिरूप ,प्रयोगधर्मी महाकाव्यरूपी महाकाव्यको धारणा राख्नु हुन्छ । विश्वप्रेम अधिकारीले आजसम्म लेखिएका प्रगतिवादी महाकाव्यमध्ये अब्बल र प्रयोगधर्मी महाकाव्य भएको ठान्नु हुन्छ । मलाई लाग्छ ‘पेनाल’ एउटा नविनतम् महाकाव्य हो । यसमा साम्यवादी दर्शनलाई अङ्गाल्न खोजेको देखिन्छ । यो महाकाव्यले राज्यसत्ताको विकृतिबाट विद्रोह जन्मन्छ, विद्रोहले परिवर्तन ल्याउँछ, परिवर्तनपछि प्रतिसोध, हिंसा, व्यभिचार, छल, कपट षडयन्त्र, शोषण दमन आदि विहीनको समता मूलक न्यायपूर्ण, गतिशील, जनहीतकारी राज्य सञ्चालन हुन पर्छ भन्ने मार्गदर्शन दिन सफल देखिन्छ । यस महाकाव्यले पस्केका धारणाहरूको जति विश्लेषण गरे पनि कमी नै हुन्छ । यथार्थतालाई समाएर, विविधतालाई सजाएर नविनतम् सोचको परिकल्पना गरेर, आजका यथार्थ घटनाक्रमलाई टपक्कै टिपेर स्वच्छन्दतालाई अपनाएर एउटा नवितम्, गहन महाकाव्य प्रदान गर्ने महाकवि देवेन्द्र लम्सालको सुस्वास्थ, दीर्घ जीवनको कामना सहित बिदा चाहान्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु