समयको हावा

- बैद्यनाथ उपाध्याय

समयको हावा चल्दछ
अनि जिन्दगीको पाना खुल्दछ
रूखको सुकेको हाँगामा
एउटा चराले पँखेटा फिजाउँछ
घामले त्यस्लाई सुमसुम्याउँछ।

सयौंबर्षदेखि दबिएको सपना
सर्सराउँछ
कहीं भित्रबाट सुँकसुँकाएको
आवाज आउँदछ
सुन्दछु केही सरिरहेछ
आस्ते आस्ते...

उदासीको पर्दा उठाएर
बाहिर हेर्छु
आकाशको चादर टंगिएको छ
घाममा
हावाको कुनै आहट छैन
निधारमा पसीना पुछ्दछु

केही फुल फुलेका छन
आँगनमा
सापटीको सपना रोपेको थिएँ
सुकेछ
कँटीला झार उम्रिएका छन
बारी भरी

जिन्दगी
बस, एक किताब हो
कालो अक्षरमा खुल्दछ
यसैको अनुसार
जीउँदछु, जीउँदछु
अन्तिम पाना सम्म...

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु