पागलहरुको राजनीति

- विद्याप्रसाद घिमिरे

संसार परिवर्तशील छ । मानिसको चेतमा पनि समयानुसार परिवर्तन आइरहेको छ । समयको यो परिवर्तनले हिजो र आजमा व्यापक भिन्नता ल्याइदिएको छ । हिजोका दिनसम्म कैयन मौलिक संस्कृति र परम्परालाई हामीले सामाजिक व्यवस्थाको अभिन्न अङ्ग मान्दै आएका थियौं, समयको चक्रसँगै त्यसमा आमूल परिवर्तन आइरहेको देखिन्छ । अस्तिको मानिसले जुन रीतिथितिलाई सामाजिक परम्परा मानी आएको थियो, त्यो परिपाटीलाई हिजोको मानिसले भताभुङ्ग पारेर आफ्नै ढङ्गले व्याख्या ग¥यो । कतिपय रिवाजको परिभाषा हिजोको भन्दा आज फरक भएको छ ।
अस्तिसम्म मातृसत्तामा रहेको पूर्वीय समाज हिजो पितृसत्तामा गएको पाइन्छ । हिजोको कट्टर पितृसत्ताको स्थितिमा अहिले मिश्रित लक्षणहरू देखा पर्दैछन् र समाज बिस्तारै मातृसत्ताको अवस्थामा फर्कने तयारीमा छ । यी सबै अधिकारसँग सम्बन्धित विषय हो । एक अर्थमा अर्थहीन र विवाद नै गर्न नपर्ने विषय पनि हो । किनभने महिला र पुरूषबीच प्रकृतिले नै विभेद गरिदिएको छऽ तर समाज भने हरेक युगमा महिला र पुरूषबीच समान अधिकार हुनुपर्ने वहानामा वकालत गरिरहेको छ । जब प्रकृतिले नै विभेद गरिदिएको छ भने त्यहाँ अधिकारको अँखाले हेर्दा एउटा न एउटा चुक त देखिन्छ नै । अब यसै वहाना अघि सारेर यहाँको हरेक पुस्ता अधिकारकै वहस र तर्क गरिरहेको छ ।
कहिले पुरूष प्रधान, कहिले महिला प्रधान । यो परिपाटी पनि समयकै परिवर्तनले खेल्ने एउटा अनौठोको खेल हो । समय मानिसको चाहनाअनुरूप चल्दैन । मानिसले चाहोस् वा नचाहोस्, परिवर्तनको यो चक्र समयको अन्तर्गर्भबाट आफै निस्कन्छ र समय आउँदा अस्ताउँछ । मानव सभ्यताको आरम्भदेखि पूर्वीय समाज धार्मिक र सामाजिक मान्यताबाट निर्देशित रह्यो । यसैले यहाँको समाज विगतमा नारीप्रति निकै उदार रहेको पाइन्छ । प्रमाण र उदाहरणका लागि पूर्वीय दर्शन र पौराणिक धार्मिक कथाहरू पर्याप्त छन् । पुरूषभन्दा नारीको नाम अगाडि राखेर लक्ष्मी–नारायण, सीता–राम, राधा–कृष्ण भनी सम्बोधन गर्ने परम्पराले हिजोको समाजले नारीलाई उच्च सम्मान दिएको देखाउँछ । महाभारतमा एउटी नारीले पाँच भाइको पत्नी बनेर सबैलाई अधिनमा राखेको प्रसङ्ग छ भने सोही ग्रन्थमा पुरूषलाई नारीको नामबाट ‘कौन्तेय’ ‘गङ्गापुत्र’ आदि सम्बोधनबाट बोलाइने प्रसङ्ग छ ।
“कहिले सासूको पालो त कहिले बुहारीको पालो” बनाएर प्रकृतिले परिवर्तनको यो चक्रलाई निरन्तर चलाइरहेको छ । यसैलाई नारी र पुरूषबीच अधिकारको मुद्धा बनाएर केही बाठाटाठाहरूले अहिले हामीलाई दग्भ्रमित बनाई समाजलाई कित्ताकित्तामा बिभाजन गरिदिएका छन् । सिधासाधा नागरिकबीच झगडाको बिजारोपण गर्दै उनीहरूलाई लडाइँमा होमेर आ–आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न यस्तो समूह अहिले तल्लिन छ । हामी तिनैका कठपुतली बन्दै आपसी लडाइँ मच्चाइरहेका छौं ।
उदाहरणका लागि केही शब्द यस्ता छन्, जुन के प्रयोजनका लागि आएका हुन् भन्ने कसैलाई थाहा छैन । हामी कस्ता–कस्ता विषयमा राजनीति गर्छौ भन्नेतिर विचार गरौं । केही वर्षअघिसम्म हामीले बोलीचालीमा प्रयोग गर्दै आएको ‘आइमाई’ शब्द अहिले नजानिँदो किसिमले लोप बनाउँदै लगिएको छ । एक किसिमले औपचारिक तवरमा बोल्न र लेख्न नै प्रतिबन्ध लगाइएको अवस्था छ । यो कुनै भाषाविद् वा भाषाविज्ञले लगाएको बन्देज होइन, विशुद्ध राजनीति हो । राजनीति गर्ने कुनै एजेण्डा नपाएर ल्याइएको बखेडा हो । हामी हरेक कुरोमा राजनीति गर्छौं र अलि बढी नै गर्छौं ।
आवाज प्राकृतिक हो तर भाषा प्राकृतिक होइन । भाषा सम्वादमा सहजता ल्याउनका लागि मानिसले नै विकास गरेको एउटा साधन हो । यो मानव निर्मित शुद्ध कृत्रिम हो । तसर्थ सम्वादमा भाषाको कुनै महत्व छँदै छैन भनी ठोकुवा पनि फरक पर्दैन । जे जति महत्व छ भाषाको भावमा छ । चाइनिज भाषा नबुझ्ने कुनै व्यक्तिसँग कसैले चाइनिज भाषामा केही भन्यो भने त्यहाँ शब्द त उच्चारण भएकै हुन्छ । सुन्नेले पनि शब्द सुनेकै हुन्छ । तर भाव थाहा नहुँदा कुनै सम्वाद हुन पाउँदैन । यसबेला भावको अभाव नै सम्वादको बाधक बन्छ । यही क्रममा “आइमाई” शब्दको कुरा गरौं । “आइमाई” शब्द हाम्रा पूर्वजले महिलालाई आदरपूर्वक सम्बोधन गर्न प्रयोगमा ल्याएको शब्द हो । ‘माई’ शब्द माता वा देवीलाई बुझाउने शब्द हो । मनकामनामाई, चुरीयामाई, छठीमाई आदि यसका केही उदाहरण हुन् । माईको अगाडि ‘आइ’ राख्नुको अर्थ आया वा काम गर्ने भन्न खोजिएको हो । तसर्थ समग्रमा आइमाईको अर्थ ‘कर्मकी देवी’ वा ‘कर्मकी माता’ भन्ने हुन्छ । मन्दिरमा रहने माता केवल आस्थाकी माता हुन् भने आइमाई कर्ममा क्रियाशील माता हुन् । यिनै माताले आफ्नो प्राकृतिक दायित्वमा त्रियाशील रहेर बालकलाई जन्म दिन्छिन् । त्यस बालकलाई स्याहारसुसार गरी लालनपालन गरेर सक्षम नागरिकको रूपमा सामाजमा स्थापित गराउँछिन् ।
यस्तो पवित्र शब्दमाथि कसलाई राजनीति गर्ने भूत सवार भयो कुन्नि ! अनि सुरू गरिदियो बेअर्थ विवाद ! अहिले कुनै पनि सरकारी कामकाजमा वा औपचारिक कार्यक्रममा कसैले महिला वा नारीको स्थानमा ‘आइमाई’ शब्द झुक्किएर प्रयोग ग¥यो भने उसले मुद्धा नै खेप्नुपर्ने अवस्था आइसकेको छ । आखिर भाषामा प्रयुक्त हुने शब्द हो । शब्दको भाव बुझेर सम्वादलाई अगाडि बढाउन छोडेर विवाद किन ? कुरो बुझ्ने र बुझाउने सरल शब्द हो । यसले कसैको केही बिगारेको छैन र गालीगलौजको भाव अउँदैन भने सम्वादमा प्रयोग गर्न मज्जाले मिल्छ । यसका लागि यति बिघ्न विवाद उठाउनुपर्ने कारण केही देखिँदैन । तर यो विवाद कुन प्रयोजनका लागि उठाएको हुँ भन्ने स्वयम् विवाद उठाउनेलाई नै थाहा छैन । यस किसिमको अर्थहीन विवादले हामी कहीँ पुगिँदैन । के यही एउटा शब्द हाम्रो सामाजिक रूपान्तरणको बाधक बनेको थियो ? यो शब्द हटाएको दिनदेखि हाम्रो वैयक्तिक, सामाजिक र आर्थिक जीवनमा कायापलट भएको छ ? धन्न हाम्रो राजनीति.....बुझेर बुझिसाध्य भए पो !
यस्तै शब्दहरूमा अल्झँदै जाँदा अहिले अनेकौं विवादहरू खडा भएका छन् । बालबालिकालाई अक्षर चिनाउन प्रयोग हुने नेपाली वर्णमालाको अवस्था अहिले हेरिसाध्य छैन । हामी सानो छँदा ‘ग’ अक्षर चिनाउन प्रयोग हुने ‘गणेश’ शब्द केही वर्षअघिसम्म ‘गमला’ बनेको थियो । अहिले त गधामा परिणत भइसकेको रहेछ । देख्दा आश्चर्य लागेर आयो । कुरो के रहेछ भनेर बुझ्दै जाँदा त्यहाँ पनि राजनीतिकै आवरणमा खेल मञ्चन भएको पाइयो । पहिले देश हिन्दूराज्य भएकाले ‘ग’ लाई चिनाउन ‘गणेश’ शब्द प्रयोग गरिएको रे ! धर्मनिरपेक्षको यो युगमा ‘ग’ अक्षरलाई ‘गणेश’ शब्दबाट चिनाउन अपराध हुन्छ रे ! गमलाबाट चिनाउँदा पनि गमलामा धर्मको धङ्धङी देखिएपछि निरपेक्ष शब्द खोज्दै जाँदा ‘गधा’ शब्दबाट ‘ग’ अक्षर चिनाउन थालिएको रहेछ । अखिर ‘गधा’ पो मानव शिक्षाका लागि हरेक धर्म, जातजाति र सम्प्रदायभन्दा धेरै माथि देखियो ।
हरे ऽऽ मुख्र्याइँ र पागलपनको पनि एउटा सीमा हुन्छ । हामीले त सारा सीमा पार गरिसकेका रहेछौं । होइन हामी कुन बाटो हिँड्दै छौं ? हाम्रो गन्तव्य कहाँ हो ? के यस्तै झिनामसिना कुराहरूमा अल्झनकै लागि थियो यहाँको राजनीतिक परिवर्तन ? आखिर एउटा बालकलाई ‘ग’ चिनाउने सवाल महत्वपूर्ण हो । उसले गणेशबाट चिनोस् कि गधाबाट के फरक पर्छ । गधाबाट चिन्न हुँदा गणेशबाट चिन्न किन नहुने ?
त्यस्तै म सानो छँदा ईश्वरलाई चिनाउने ‘ई’ अक्षर अहिले ‘ईँटा’ भएको रहेछ । देख्दा मन रोयो, साथै धिक्कारेँ आफैलाई । ‘ई’ चिनाउन त ईश्वर शब्द ठिकै थियो नि ! ईश्वर कुनै धर्मको वपौति पनि त होइन । सबै धर्म सम्प्रदायमा ‘ईश्वर’ हुन्छन् नै । कुनै धर्म सम्प्रदायले मान्ने गणेश जस्तो शब्दको विवादमा त खासै तुक देखिँदैन भने ईश्वर शब्दका लागि विवाद उठाउनु कति जायज मानिएला । ‘ईँटा’ शब्दले त ‘ई’ होइन ‘ईँ’ पो चिनाउने भयो त ! अब यो ‘र्इँटा’ बाट ‘ईँ’ चिनेको बालकले ‘ई’ चाहिँ के हेरेर चिन्ने ? यस्ता शब्दहरू वर्णमालामा कति छन् कति ? देख्दै अत्यार लाग्ने । पहिला ‘छ’ चिनाउने शब्द ‘छठ’ थियो, तर अहिले ‘छाता’ भएछ । किनकि छठ हिन्दू पर्व हो रे ! अहिले हिन्दूवादको गन्धसम्म आउने शब्दलाई अक्षर चिनाउने प्रयोजनमा राख्नै नमिल्ने भन्ने अर्थहीन तर्क अउँदैछ ! अब ‘छ’ अक्षर नै नचिनेको बालकले एकैचोटी ‘छ’ को पछाडि ‘आ’ कार थपेर छाता चिन्ने भयो । आखिर यो हतारो किन ? हिँड्नै नजान्ने बालकलाई दौडाउन खोज्दा पछारिने डर सदैव रहन्छ नै, तर यो सब बुझिदिने कसले ? राजनीति गर्नेलाई राजनीति गर्दै ठिक्क छ । भोलिको देश सम्हाल्ने पुस्तालाई पनि आफैजस्तो बज्रस्वाँठ बनाउने अभियानमा लागिपरेका यिनको अभियान सफलतातिर लम्कँदो छ ।
हुँदाहुँदै पहिलाको ‘आ’ स्वर व्यञ्जन चिनाउने ‘आमा’ शब्द अहिले ‘आगो’ मा परिणत भएछ । आगोमाथि सबै धर्म र सम्प्रदायको समान हक छ, यो सबैको साझा शब्द हो रे ! आमा शब्दमा हिन्दुत्व र ब्रह्मणवादको गन्ध आउँछ रे ! यस्तै अनेकौं राजनीतिको बखेडाले पहिले हामीले पढ्दा सिकेको ‘आ’ चिनाउने आमालाई खर्लप्पै निलेछ । बरू पहिला हामीले पढ्दाको ‘म’ अक्षर चिनाउने ‘मन्दिर’ को ठाउँमा आएर ‘मम्मी’ बसेछ । पहिले ‘मन्दिर’ चिनाउन प्रयोग हुने ‘म’ अक्षरले ‘मम्मी’ चिनाउने सौभाग्य पाउनु भएछ । यो देख्दा भने खुसी र हाँसो एकसाथ उमडिएर आयो । अर्को रमाइलो के भने पहिलाको ‘डमरू’ ‘ड’ चाहिँ अहिले ‘डन’ ‘ड’ भइसकेको रहेछ । अब कति हाँस्नु ? शिवजीको त्रिशूलमा त्यति राम्रोसँग बसेको डमरूको चित्रलाई हटाएर शरीरमा मासुका डल्ला र गाँठैगाँठा भएको, कालो चस्मा र ह्याट लगाएको डनलाई पो ‘ड’ भनेर चिनाउनुपर्ने ? हरे यो कस्तो बाध्यता र बिडम्बना भित्रियो हाम्रो समाजमा ? संसारभरमा अब्बल कोटीका पागल हाम्रै देशमा किन जन्मायौ ? प्रभू !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 आसाढ, 2075

लेखकका अन्य रचनाहरु