नियात्रा साहित्यको प्राप्ति : "भाया साक्रा"

- ज्ञानु अधिकारी

नियात्रा साहित्य पछिल्लो समय बढी लेखिने विधाका रूपमा पर्दछ । भ्रमणबाट प्राप्त अनुभूति तथा ज्ञानलाई कलात्मक रूपमा प्रस्तुत गरिने यस विधाले लोकप्रियता पनि हासिल गरिसकेको छ । तर पछिल्लो समय पारिवारिक भेटघाट र दृश्यको सपाट वर्णनमा सीमित रहेर यस विधाले आफ्नो साख जोगाउन भने हम्मेहम्मे परेको स्थिति देखिन्छ । नियात्रा साहित्यलाई कलाहीन गन्थनबाट मुक्त गराई एउटा स्तरीय र पठनीय नियात्रा कृति लिएर पछिल्लो समय कृष्ण बजगाईं देखा परेका छन् ।
कृष्ण बजगार्इं बेलायतमा रहेर नेपाली साहित्यमा समर्पित स्रष्टा हुन् । आख्यान, कविता र नियात्रा विधामा उनको विशेष रुचि देखिन्छ र यी विधामा उनको आधा दर्जनभन्दा बढी कृति प्रकाशन भइसकेको छ । ‘भाया साक्रा’ शीर्षकको पछिल्लो कृति उनको दोस्रो नियात्रा कृति हो । ‘युरेशियाको स्पर्श’ शीर्षकको कृति प्रकाशित गराइसकेका बजगाईंको प्रस्तुत नियात्रासङ्ग्रह यस क्षेत्रको महत्वपूर्ण कृतिका रूपमा देखिन्छ । भाया साक्रा नेपाली पाठकहरूका लागि परिचित शब्द होइन, त्यसैले यसले कौतुहल जगाए पनि प्रारम्भमा पाठक यस शब्दमा सम्मोहित हुन सक्दैन । पवित्र बाटो अर्थात् तीर्थयात्रा जाने बाटो भन्ने अर्थ भएको यो शब्द नियात्रा पढिसके पछि भने अत्यन्तै प्रभावकारी र सार्थक बनेर मन मष्तिष्कमा बस्न पुग्दछ । हुन पनि लेखकले पवित्र उद्देश्यले गरेका जतिपनि यात्राहरू छन् तिनलाई गन्तव्यसम्म पु¥याउने बाटो तीर्थ पु¥याउने बाटोजस्तै पवित्र छन् र त्यही भाया साक्रा भएर पाठकहरूले पनि यात्रा गर्ने अवसर यस कृतिबाट प्राप्त गर्दछन् ।
यात्राका अनुभूति र दृश्यलाई आफ्ना विचारहरूमा घोलेर कलात्मक रूपमा प्रस्तुत गर्न नियात्राकार यस कृतिमा सफल देखिन्छन् । युरोपियन देशका विभिन्न ठाउँमा गरिएका यात्रालाई विषयवस्तु बनाई लेखिएका एक्काइसवटा नियात्रा यस कृतिमा समावेश गरिएका छन् । विभिन्न उद्देश्यले गरिएका यात्राहरूको रोचक वर्णन गरिएकाले यात्राको उद्देश्य अनुरूप नै विषयवस्तु पनि पृथक् किसिमका देखिन्छन् । स्थान, पात्र र अनुभूति गरी मुख्य तीनवटा पक्षलाई केन्द्र बनाइ यस सङ्ग्रहका नियात्रा लेखिएका छन् ।
प्रस्तुत कृतिका नियात्राहरू कोरा भावना र सपाट वर्णनमा अल्झिएका छैनन्, बरु त्यसभन्दा पर पुगेर खोज र अनुसन्धानतर्फ अभिमुख भएका छन् । यात्रा जुन स्थान, विषय र व्यक्तिका बारेमा केन्द्रित भएको छ त्यसप्रतिको उत्सुकता, जिज्ञासा, पूर्वानुमानका साथै त्यसबारे आफूले सुनेका कुरा, थाहा पाएको ज्ञान आदि सबै कुरा प्रस्तुत गरेर नियात्राकारले यी नियात्राहरूलाई गहन र रुचिपूर्ण बनाउन कुनै कसर बाँकी राखेका छैनन् । लेखकको हिन्दू धर्मप्रतिको आस्था र पूर्वीय पश्चिमी मिथकीय सन्दर्भहरू पनि यी नियात्राहरूमा प्रभावकारी रूपमा प्रस्तुत भएका छन् ।
यी नियात्राहरूमा नियात्राकार आफ्नो अन्तर्यमा नेपाल बोकेर यात्रारत हुन्छन् र हरेक नौला दृश्यहरूमा नेपाल कल्पन्छन् । विश्वका महान् व्यक्तिहरूको घरमा पुग्दा होस् या प्रविधिद्वारा खेती गरिने बेलायती गाउँमा घुम्दा होस् अनि विभिन्न व्यक्तित्वहरूको स्मृतिमा बनेका म्युजियममा पुग्दा होस् या स्रष्टाहरूको फोटो छापिएको नोट देख्दा होस् उनी बारबार नेपाल र नेपालीलाई सम्झन्छन् । डार्विनको घरमा सिस्नोको वाइनलाई महगो मूल्यमा किनिसकेपछि लेखकले भनेका छन् – ‘वाइनको पैसा तिरेर बाहिरिए पछि हाम्रो देशमा पनि सिस्नोको वाइन उत्पादन गरेर युरोप अमेरिका पठाउन सके राम्रो बजार पाउने सम्भावना देखेँ । अझ ‘हिमाली÷पहाडी सिस्नोको वाइन’ भनेर प्रचार गर्ने हो भने नेपालको हिमाल र पहाड भनेर हुरुक्क हुने विदेशीहरूलाई अवश्य आकर्षित गर्दो हो ।’
प्रस्तुत नियात्रा सङ्ग्रहमा रहेका हरेक नियात्रामा पाइने मुख्य विशेषता भनेको नै केही न केही नयाँ कुराको जानकारी गराउनु हो । गन्तव्यका रूपमा रहेका स्थानहरूको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा भौगोलिक पक्षका बारेमा जानकारी गराई त्यस ठाउँसम्म पाठकलाई पु¥याउन सक्नु यी नियात्राहरूमा पाइने प्रमुख विशेषता हुन् । उनले आइज्याक न्युटनको बगैचामा पुगेर स्याउ टोक्दा होस् या चाल्र्स डार्विनको घरमा पुगेर सिस्नोको वाइन किन्दै गर्दा होस् या त बर्नाड शाको घरमा गई उनको भौतिक र साहित्यिक वैभवलाई देख्दा होस् या सर्लक होम्सको डेरामा पुग्दा होस् उनी हरेक पल नेपाल र नेपालीको सन्दर्भलाई जोड्न पुगिहाल्छन् । उनका अभिव्यक्तिमा राष्ट्रियता र देशप्रेम बारम्बार प्रकट भइरहन्छन् ।
शाश्वत नगरका रूपमा चिनिने रोमको ऐतिहासिकताको वर्णनदेखि फ्लान्दर्सको मैदानमा पुगेर भावुक भएको अनुभूतिले पाठकलाई रोमाञ्चित र भावुक एकैसाथ बनाउँछ । विशेष गरी नेपाली जातिप्रति श्रद्धा, प्रेम, स्नेह पोखिएका यस सङ्ग्रहका नियात्राहरूमा डायस्पोरिक चेतनाका साथै जातीय चेतना पनि प्रभावकारी रूपमा अभिव्यक्त भएको छ । बेल्जियमको इपर सहरमा अवस्थित मेनिनगेटमा प्रथम विश्वयुद्धमा वीरगति प्राप्त गरेका नेपाली जवानहरूको नाम पढेपछि भावुक हुँदै नियात्राकार भन्छन् –‘भाडाको सिपाही भएर अर्काको देशमा पुग्नु, कुनै शत्रुतापूर्ण सम्बन्धै नभएको कता हो कताको बिरानो मुलुकसँग युद्ध लड्नु, वीरगति प्राप्त गर्नु, आफ्नो धर्म, संस्कार र परम्पराअनुसार सदगत हुन नपाउनु अनि त्यतिले मात्र नपुगेर अर्काको देशको नागरिक भएर नाम छापिनु आदि यस्तो पनि मरण हुन्छ ? नेपाली युवाहरूलाई भाडाको सैनिक भएर जान बाध्य बनाउने नेपालका नालायक शासकहरूलाई त्यहीँबाट धिक्कारेँ ।’ यसरी यी नियात्राहरूमा नियात्राकार बेलायतबासीका रूपमा नभई एउटा सहृदयी नेपालीका रूपमा उपस्थित भएका छन् ।
विदेशको व्यस्त जीवनबाट अलिकति समय पाउने बित्तिकै नयाँ ठाउँको भ्रमण गरी ज्ञान र अनुभवको दायरालाई फराकिलो र समृद्ध पार्न यात्राको तयारी गरिहाल्ने र हरेक भ्रमणलाई सार्थक बनाउने लेखकको यो कलाबाट हरेक पाठक प्रभावित नभइरहन सक्दैन । प्रस्तुत कृतिमा साहित्यिक कार्यक्रमका लागि गरिएका भ्रमणसँग सम्बद्ध नियात्राहरू पनि समेटिएका छन् । यी नियात्राबाट लेखकको साहित्यप्रतिको लगाव, रुचि र समर्पणभाव प्रकट भएका छन् । नेपाली साहित्यका साथै नेपाली डायस्पोरा साहित्यका बारे उनले लिएको चिन्ता ठाउँठाउँमा प्रकट हुन पुगेको छ । साहित्य र सिनेमा क्षेत्रको प्रसिद्ध नोवेल र ओस्कार पुरस्कार प्राप्त गर्ने जर्ज बर्नाड शाको घरमा पुग्दा उनी भन्छन् – ‘जीवनमा पहिलो पटक प्रत्यक्ष रूपमा नोवेल पुरस्कार र ओस्कार अवार्डको सक्कल देख्न पाउनु मेरा लागि गर्वको कुरा थियो । यस्ता महान् लेखकको संसारप्रसिद्ध पुरस्कार देखेर मैले उर्जा प्राप्त भएको महसुस गरेँ । नेपाली लेखकहरूले पनि कुनै दिन यस्ता पुरस्कार अवश्य पाउन् भनेर कामना गरेँ ।’
नियात्राकारले स्पिकर्स कर्नरमा पुग्दा होस् या बाथ सहरमा कुमारी आस्टिनलाई खोज्दै हिँड्दा होस् अथवा स्टोनहेन्जलाई तीन फन्का मार्दा पनि त्यसको रहस्यसँग परिचित हुन नसक्दाको अवस्थालाई होस् आफ्ना सबै अनुभव र अनुभूतिलाई निर्धक्कसँग पोखिदिएका छन् । त्यसकारण पनि यस सङ्ग्रहका अघिकांश नियात्रामा वस्तु जगत्को वर्णनभन्दा अनुभूतिको अभिव्यक्ति अझ बढी प्रभावकारी रूपमा प्रस्तुत भएको छ । प्रस्तुत सङ्ग्रहका अधिकांश नियात्राहरूमा युरोपेली समाजको चित्रण छ । युरोपेली समाजको सभ्यता र त्यहाँका नागरिकहरूको संस्कारको सन्दर्भ त यी नियात्राहरूमा छ नै अझ त्यसभन्दा पनि महत्वपूर्ण कुरा त्यस आधुनिक समाजिक वातावरणमा नेपालीहरू कति सजिलै घुलमिल भएर सहज जीवन बिताउन सक्छन् भन्ने कुरा पनि यस कृति पढिसकेपछि थाहा पाइन्छ ।
नियात्रा पढिरहँदा लाग्छ, लेखक आफूले ड्राइभ गरिरहेको गाडीको देब्रे सिटमा बसाएर पाठकहरूलाई पनि युरोप घुमाउन सफल भएका छन् । युरोपका वैज्ञानिक, कलाकार, साहित्यकारहरूको घर अर्थात् म्युजियम लगायत अन्य महत्वपूर्ण ठाउँ जस्तै ः स्पिकर्स कर्नर, स्टोनहेन्ज, पिसा टावर, भ्याटिकन सिटी, प्राचीन रोम, नेपल्स, डेथ ट्रयाम्प, समुद्रमुनिको रेलयात्रा आदिको अवलोकन भ्रमण गर्दाको रोमाञ्चक अनुभूतिलाई यस कृतिमा आकर्षक रूपमा उतारिएको छ । नेपाली साहित्यमा पछिल्लो समय यस किसिमको गम्भीर र बौद्धिक नियात्रा कृति पढ्न पाउनु दुर्लभ अवसर नै मान्नु पर्छ । विचार, अनुभूति, कला, वर्णन, जानकारी, ज्ञान आदिको संयोजनबाट प्रस्तुत नियात्रा कृति प्रभावकारी र रोचक बनेको छ ।

नियात्राकार – कृष्ण बजगाईं
कृति– भाया साक्रा(नियात्रासङ्ग्रह)
प्रकाशक – साङ्ग्रिला बुक्स
पृष्ठ – १८५

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु