हास्य–व्यङ्ग्य रचनामा हास्य सृजनाका युक्ति र प्रयुक्ति

- प्रा.डा.गंगाप्रसाद अधिकारी

१. परिचय
हास्य–व्यङ्ग्य साहित्यका प्रायः सबै विधामा बेग्लै र विशिष्ट स्वाद दिने रचनाविशेष हो । ‘हास्य’ र ‘व्यङ्ग्य’ यी पृथक् अर्थ, अस्तित्व र महŒव भएका दुई तŒवलाई सँगै राखेर लेखिएको रचना नै हास्य–व्यङ्ग्य भनेर चिनिन्छ । ‘हास्य’ को अर्थ हाँस्न योग्य वा उपहास्य हो भने ‘व्यङ्ग्य’ को अर्थ घोचपेच वा बिझाइनु हो । यसबाट हास्यव्यङ्ग्य रचनाले मुख्यतः यी दुई तात्पर्य बुझाउँछ (१) कसैलाई हाँसोमा उडाएर छेडपेच गर्ने रचना र (२) कसैलाई छेडपेच गरेर अरूलाई हँसाउने रचना । यीमध्ये पहिलो अर्थले हास्यलाई साधन र व्यङ्ग्यलाई साध्य बनाएको देखिन्छ भने पछिल्लो अर्थमा व्यङ्ग्य साधन र हास्य साध्य रहेको बुझिन्छ । यसबाट पहिलो तात्पर्य व्यङ्ग्यतŒवप्रधान र पछिल्लो तात्पर्य हास्यतŒवप्रधान रहेको स्पष्ट हुन्छ । हास्यतŒवप्रधान रचनाले जीवनका खराबी वा विकृतिप्रति गिज्याएर÷खिल्ली उडाएर÷उल्लीबिल्ली पार्दै ती खराबी वा विकृतिलाई सुधार्ने उद्देश्य राखेको हुन्छ भने व्यङ्ग्यतŒवप्रधान रचनामा पनि त्यस्ता खराबीलाई घोचपेच गरेर सुधार्ने नै उद्देश्य राखेको हुन्छ । यसर्थ जुन तŒवको प्रधानता रहे पनि हास्य–व्यङ्ग्य रचनाको प्रमुख उद्देश्य भनेको सुधारको चेतना नै रहेको हुन्छ । हास्यले मानिसलाई हँसाएर मानसिक तनावबाट मुक्ति दिन्छ र यसबाट शारीरिक र मानसिक स्वस्थता प्राप्त हुन्छ भने व्यङ्ग्यले समाज वा जीवनजगत्का खराबीमाथि प्रहार गर्दछ र यसबाट सामाजिक स्वस्थता प्राप्त हुन्छ । यसर्थ दुवैको उद्देश्य स्वस्थता नै हो । समग्रमा हास्य–व्यङ्ग्यले जीवनका विकृति विसङ्गति वा खराबीमाथि उपहासात्मक ढङ्गबाट घोचपेच गरी त्यसकै माध्यमबाट मानव जीवनलाई स्वस्थता र स्वच्छता प्रदान गर्ने उद्देश्य राख्दछ ।
हास्य–व्यङ्ग्य रचनामा हास्य र व्यङ्ग्य परस्पर साध्य–साधन वा उपकार्य–उपकारकका रूपमा पनि आएका हुन्छन् । घोचपेच गर्नु व्यङ्ग्यको आधारभूत गुण वा धर्म हो भने गिज्याउनु वा उपहास गर्नु हास्यको चरित्र हो । हास्य–व्यङ्ग्य रचनामा हास्यको प्रयोगले व्यङ्ग्यलाई अझ प्रभावकारी र मर्मवेधी बनाउँछ । यसै गरी हास्यको लक्ष्य पाठकलाई हँसाएर मनोरञ्जन दिनुका साथै मानसिक तनावबाट मुक्ति दिनु हो भने व्यङ्ग्यले हास्यलाई बौद्धिकता प्रदान गर्दछ र रचना सोद्देश्य एवम् विशिष्ट बन्दछ । हास्यका माध्यमबाट व्यङ्ग्य धारिलो बन्दछ भने व्यङ्ग्यबाट हास्यको सृजना पनि हुन्छ र सृजित हास्यमा हास्यतŒव पनि सोद्देश्य बन्दछ । हास्य र व्यङ्ग्य परस्पर साध्य–साधन वा उपकार्योपकारक पनि रहेका छन् । यस प्रकार हास्य–व्यङ्ग्य रचनामा हास्यतŒव सम्बद्ध रचनाको प्रकृति अनुसार प्रधान–सहयोगी÷उपकार्य–उपकारक÷साध्य–साधन दुवै हुने गर्छ ।
‘हास्य’ संस्कृतबाट आएको शब्द हो । संस्कृतमा ‘हाँस्नु’ अर्थ हुने ‘हस्’ धातुमा ‘ण्यत्’ (य) प्रत्यय लागेर हास्य शब्द बन्दछ । यसको अर्थ हाँस्न लायक, हाँस्न योग्य, उपहासयोग्य भन्ने हुन्छ । अर्थात् हाँस्न योग्य वा हाँसोउठ्तो विषयवस्तु भएको रचनाविशेषका अर्थमा ‘हास्य’ शब्दलाई बुझ्ने गरिन्छ । साहित्यमा हास्यको प्रयोग गर्ने परम्परा पुरानै हो । पूर्व एवम् पश्चिम दुवैतिर साहित्यमा हास्यको प्रयोग गर्ने परिपाटि प्राचीन समयदेखि नै रहँदै आएको छ । संस्कृत काव्यशास्त्रमा साहित्यको प्रमुख तŒव मानिएको रसका नौवटा प्रकारमध्येको एक ‘हास्य रस’ का रूपमा हास्यलाई विशिष्ट स्थान प्राप्त छँदैछ । पूर्वमा भाण, प्रहसन, वीथी जस्ता रूपकभेद र नाट्यरासक, काव्य, रासक, विलासिका, दुर्मल्लिका जस्ता उपरूपकभेदमा हास्य तŒवको प्रचुर मात्रामा प्रयोग हुन्छ भने पश्चिममा पनि कमेडी (सुखान्त) नाटक र ह्युमर (परिहास) र कमिक (उपहास) जस्ता नाट्य उपविधाहरू हास्यतŒवप्रधान वा हास्य तŒवको अधिकतम उपयोग गरिने विधा–उपविधा मानिन्छन् । यसरी पूर्व एवम् पश्चिम दुवैतिर प्राचीन कालदेखि नै हास्यतŒवलाई महŒव दिइँदै आएको पाइन्छ । यसरी साहित्यमा हास्य एउटा महŒवपूर्ण तŒवका रूपमा रहँदै आएको छ ।
पूर्वमा आचार्य भरतले हास्य रसलाई शृङ्गारको अनुकृति मानेका छन् । यसको केही परवर्ती आचार्यहरूले खण्डन गरेका पनि छन् । तर पश्चिमको परम्परालाई हेर्दा पनि त्यहाँ कमेडी जस्तो हास्यव्यङ्ग्यप्रधान रचनालाई प्रजनन कार्यसँग सम्बद्ध उत्सवबाट विकसित भएको स्विकारिएको देखिन्छ भने पूर्वमा पनि भरतअघिको नाट्य परम्परामा त्यस्ता यौनिक वा प्रणयसम्बन्धी क्रियाकलापको सम्बन्ध हास्यप्रधान विधा–उपविधासँग रहेको थियो होला भन्ने अनुमान भने गर्न सकिने ठाउँ प्रशस्तै देखिन्छ । यी कुराहरूबाट हास्यको सम्बन्ध शृङ्गार वा यौनिक व्यवहारसँग कुनै न कुनै रूपमा रहँदै आएको कुराको सङ्केत प्राप्त हुन्छ ।
प्रस्तुत लेखमा हाँसो उठ्ने कारणहरू के हुन् ? मानिस किन हाँस्छ ? के कस्तो विधि वा पद्धतिबाट हास्य–व्यङ्ग्य रचनामा हास्यको सृजना गरिन्छ ? जस्ता विषयहरूलाई यथासम्भव प्रयोग पक्षलाई समेत उदाहृत गर्दै विवेचना गरिएको छ ।
२. हास्य र हाँसो सृजनाका युक्ति र प्रयोग
व्यङ्ग्यचित्र (कार्टुन), चुट्किला, विविध लोकनाट्य, नाटक–प्रहसन र साहित्यका विविध विधा आदि हास्य प्रस्तुतिका अनेक माध्यम हुन् । ती माध्यमका आधारमा हेर्ने हो भने हास्य सामग्रीहरू दृश्य र पाठ्य गरी मूलतः दुई किसिमका देखिन्छन् ।
हाँस्नु मानिसको जन्मजात गुण हो । कुनै अस्वाभाविक वा विकृत वस्तु वा दृश्य देख्नासाथ प्रथमतः हामीलाई हाँसो उठिहाल्छ । एकपटक हाँसेपछि मात्र विषयको गम्भीरताअनुसार हामी अन्य प्रतिक्रिया देखाउँछौं । कोही हिलामा पछारियो र हिलाम्मे भयो । यो देख्दा दर्शकको पहिलो मानसिक प्रतिक्रिया हाँसो नै हुन्छ अनि मात्र अवस्थाअनुसार ऊ सहानुभूतिशील हुन्छ । तर, कोही मान्छे अग्लो ठाउँबाट लड्यो र गम्भीर घाइते भयो वा म¥यो भने त्यहाँ हाँसोलाई कुनै गुन्जाइस हुँदैन । त्यहाँ मान्छे सहानुभूतिशील हुन्छ । यसर्थ परिस्थिति वा विषयको गम्भीरता पनि हाँसो उठ्ने र नउठ्ने कारण हुन सक्दो रहेछ । अर्को कुरा एउटै सामग्री पनि कसैका लागि हास्यको कारण हुन्छ भने कसैका लागि रिसको पारो चढाउने हुन्छ । कसैलाई आलम्बन बनाएर हाँसोमा उडाइदियो भने त्यो सबैका लागि हाँसोको विषय हुन्छ तर जसलाई आलम्बन बनाइएको छ वा उडाइएको छ उसका लागि भने त्यो कन्सिरीका रौं तताउने कारण बन्छ । त्यसैले हास्य एउटा मर्मवेधी विषय पनि हो । कतिपय विषय चाहिँ यस्ता संवेदनशील हुन्छन् जुन विषयमा हाँस्नु नहुने हो तर हाँसिन्छ, उडाइन्छ । जस्तै साठी वर्षको उमेरमा कोही व्यक्ति विधुर भयो । बाँकी जीवनको संवेदनशीलतालाई विचार गरेर उसले पुनर्विवाह गर्न चाह्यो र त्यस प्रयोजनका लागि सकेसम्म आफ्नो बार्धक्यलाई लुकाउने चेष्टा ग¥यो भने त्यो पनि अरूका लागि हाँसोको विषय बन्दछ; उडाउने, पखाल्ने र कुरा काट्ने विषय बन्दछ । उसको अन्तर्वेदना के छ त्यसप्रतिको संवेदनशीलताको अभावले नै यस्तो हुन्छ ।
हास्यको उद्देश्य मानिसलाई भरपूर मनोरञ्जन दिनु र उसलाई मानसिक परितुष्टि प्रदान गर्नु नै हो । मजाले हाँसेर पर्याप्त मनोरञ्जन प्राप्त गरेपछि उसलाई मानसिक एवम् शारीरिक स्वस्थता प्राप्त हुन्छ । ईष्र्या, द्वेष, रिस–राग आदि जस्ता मनोभावहरू नै मानिसलाई मानसिक रूपमा दुःखित बनाउने कारणहरू हुन् । यी कुरा मनभित्र रहेसम्म मानिसको मन स्वस्थ हुँदैन । यी कुराको शमन भएपछि मानिस मानसिक रूपमा स्वस्थ हुन्छ । हाँसोका कारण मानिसका ती मनोभावहरू पखालिन्छन् र मानिसले मानसिक स्वस्थता प्राप्त गर्दछ । जस्तो कि कुनै व्यक्तिप्रति ईष्र्या, द्वेष वा रिस–रागको भावना जागेको छ भने त्यस व्यक्तिलाई आफैंले हाँसोमा उडाएर उल्लीबिल्ली पार्न पाइयो वा अर्काले त्यसो गरिदियो भने ऊमाथि हाँसेर पनि मानसिक सन्तुष्टि प्राप्त हुन्छ; अलि सन्तोष हुन्छ । यसरी हास्यले असन्तोष वा विरोधको शमन गरेर मानसिक परितुष्टि प्रदान गर्दछ ।
मानिस कहिल्यै पनि एक्लै हाँस्दैन । त्यस्तो भयो भने कि त त्यो मानिसको बल्टु खुकुलिएको हुनुपर्छ कि त त्यो विषय अति नै हास्यास्पद हुनुपर्छ । यसर्थ हाँसोको मजा सामूहिक रूपमा मात्र पर्याप्त लिन सकिन्छ भन्ने कुरा यसले सङ्केत गर्दछ । त्यसैले हँसाइ व्यक्तिगत रूपमै हुने भए पनि हाँसो व्यक्तिगत भन्दा बढी मात्रामा सामूहिक कृत्य नै हो ।
मानिस आफू हाँस्नुभन्दा पनि अरूलाई हँसाउन चाहन्छ । अर्थात् आफू हाँस्नुमा भन्दा अरूलाई हँसाउनुमा बढी मजा छ । यसको कारण मानसिक नै हो । त्यो भनेको व्यक्तिगत अहम्को परितुष्टि नै हो मनोविज्ञानको भाषामा । आफू विशिष्ट व्यक्ति भएर अरूलाई प्रभाव पार्न जो कोही पनि चाहन्छ । यसको कारण पनि अरूका अगाडि आफू हिरो भएर अहम्को तुष्टि गर्नु नै हो । कोही कोही कत्थकेहरू त यस्ता पनि हुन्छन् जो आफू फिटिक्कै हाँस्दैनन् तर अरूलाई भने पेट मिची मिची हाँस्न बाध्य पार्छन् । यस्ता व्यक्ति नै खाँटी कलाकार हुन् र यस्ता कलाकार नै प्रायः साहित्यकार, अभिनेता आदि हुने गर्दछन् ।
हास्य प्रयुक्तिको जुनसुकै विषयक्षेत्र होस् हास्यसृजनाको कारक भनेको विकृति वा वैपरीत्य वा विचलन नै हो । सौन्दर्यशास्त्रीहरू आङ्गिक, वाणीगत वा भाषागत, सात्विक वा भावगत, आहार्य वा वेशभूषागत र आचरणगत वा नैतिक मूल्यगत विचलन, विकृति वा विशृङ्खलतालाई नै हास्यका कारण बताउँछन् । अर्थात् यी विषयमा जहाँ विचलन, विशृङ्खलता देखियो त्यहाँ हाँसो जन्मन्छ । मूलतः यिनै विषयहरूलाई हास्यव्यङ्ग्य रचनाका सन्दर्भमा पनि हास्योत्पत्तिका विषय बनाइन्छ र तिनलाई अनेक युक्तिबाट प्रयोग गरेर हास्य सृजना गरिन्छ । हास्य सृजनाका जे–जस्ता युक्ति÷उपायहरू छन् ती प्रायः उपर्युक्त पाँच वर्गभित्रै समेटिएका हुन्छन् । यहाँ ती पाँच प्रकारका हास्योत्पत्तिका हेतु÷कारणलाई उपयोग गर्दै प्रयोग गरिएका युक्तिहरू बारे केही चर्चा गरिन्छ ।
(१) आङ्गिक विकृतिविषयक युक्तिहरू ः
यो माध्यम श्रव्य रचनामा केवल वर्णनमा मात्र सीमित हुन्छ भने दृश्य सामग्रीमा बढी प्रभावकारी हुन्छ । कुनै शारीरिक अङ्ग विकृत हुनु वा आङ्गिक संरचनामा विशृङ्खलता वा विचलन देखिनु यस्तो प्रकारको विकृति हो जसबाट मानिस पेट मिची मिची हाँस्छ । प्रायः नाटकहरूमा मुख बाङ्गो पारेर बोल्ने, आँखा टेढ्याएर हेर्ने, खोच्याउने आदि प्रकारका अभिनयद्वारा हँसाइन्छ । अचेल यस प्रकारका युक्ति व्यङ्ग्यचित्र (कार्टुन) मा प्रशस्त प्रयोग भएको देख्न सकिन्छ भने सर्कसका जोकरको काम पनि यस्तै हो । कुनै विशिष्ट व्यक्तिका रूप आकृतिलाई विकृत बनाएर प्रस्तुत गरिएको ती व्यङ्ग्यचित्रले हँसाएर भुतुक्कै पार्दछन् भने जोकरका स्थूल प्रकारका हँसी मजाकयुक्त क्रियाकलाप पनि त्यस्तै सामग्री हुन् । हास्य व्यङ्ग्य रचनामा पाइने यी उदाहरणहरूलाई यस्तै युक्ति अन्तर्गत राख्न सकिन्छ ः
(क) बूढा अलिक फोहोरी भएकाले बडै मान्छेले मन पराउँदैनन् । मसँग गफ गर्दागर्दै उनले झर्नै आँटेको बाक्लो पहेंलो सिंगानको लत्कोलाई स्वाँक्क उँभो तानेर गिदीमै लगेर मिसाउन खोजे । (तित्रा, यी बूढा बित्थाँ बौलाउँछन्)
(ख) बेस छ बज्यै ? भन्यो भने बेस्से भनिस् भन्थी
अरू सबै हाँडी भन्थे ऊ त राँडी सुन्थी
पालि, तालि.............. भन्दा
फन्केर ऊ गाली गर्थी खाली ‘काली’ सुन्दा (बालकृष्ण सम)
(ग) हामी हाम्रो दौंतरी वीरबहादुर राईलाई “च्यान्टे भुँडी प्यान्टे राई कन्नो सुकेको” भनेर जिस्क्याउँथ्यौं । ...कुपोषणले बिग्रिएको उसको शारीरिक बनावटमाथि व्यङ्ग्य गरेर हामीले उसमाथि अन्याय गरेका रहेछौं । (लक्ष्मण गाम्नाङे, बाहुन काठा कन्दने....)
(घ) मेरा जुँगा पञ्चरङ्गी थिए । कुनै सिङ्गै कालो, कुनै आधा कालो, कुनै आधा खैरो, कुनै सिङ्गै खैरो, कुनै कस्तो कुनै कस्तो भएर टाटेपाटे थिए । (हृदयचन्द्र सिंह प्रधान, जुँगा)
(ङ) दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैं अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे — जस्तो नेता खोजे पनि ....(भैरव अर्याल, नेता नम्बर एक सय एक)
(च) एकाएक लल्याकलुलुक हुने हातखुट्टा, एकापट्टि मात्रै मुख, आङभरि झुस, टाउकोमा जगल्टा, मुख र आँखाको माझमा बडो चुच्चिएको नाक....(भैरव अर्याल, ब्रह्माको प्रयोगशालाबाट)
यी सबै उदाहरणहरुमा मानिसका आङ्गिक विकृतिहरु हास्योत्पत्तिका कारक बनेका छन् ।
(२) वाणीगत विकृति विषयक युक्तिहरू
बोलाइसँग सम्बद्ध सबै प्रकारका बोली र भाषागत विकृति वा विचलनलाई यस वर्गभित्र राख्न सकिन्छ । भक्भकाएर वा अन्य प्रकारबाट बोली बिगारेर, एकाधिक भाषाको मिश्रण गरेर वा एउटै भाषालाई पनि अर्को भाषाको स्वरूप दिएर वाणीमा विकार ल्याइन्छ । यस प्रकार वाणीगत विकृति वा विचलन सृजना गरेर हँसाउने धेरै प्रकारका युक्तिहरूको प्रयोग हास्यव्यङ्ग्यमा गर्ने गरिन्छ । यस्ता केही युक्तिहरू हेरौं ः
अनुप्रास ः
वर्णहरूको समान रूपमा आवृत्ति हुनु अनुप्रास हो । भाषामा अनुप्रासीयताको सृजना गरेर पनि हाँसो सृजना गरिएको हुन्छ । यस युक्तिका केही प्रयोगहरू निम्नानुसार छन् ः
(क) कालाकाला बाल छन्,
गोरागोरा गाल छन्
हेर्दा सारै माल छन्
घरकीलाई फाल्छन्
बाहिरकीलाई पाल्छन् (डम्मर घिमिरे, घामपानी कविता)
(ख) धुम्रपान, नजरानापान, कमिसनपानका साथसाथै घटघटी लाउडापान गर्नेहरूले स्तनपान जस्ता कार्यक्रमहरू किन छाड्थे । (तित्रा, स्तनपान सप्ताह)
(ग) मात्तिएको ठमेल, तात्तिएको न्यूरोड, पात्तिएको सिंहदरवार, आत्तिएको टुँडिखेल छेउटुप्पो कतैबाट फेला पर्ने होइन । (तित्रा, हजूर यो हो काठमाडौं खाल्डो)
(घ) दाजु हुँ, तैपनि आदरिलो, मानिलो, गतिलो, रसिलो, झर्रो, डेगिलो, स्याबासिलो काम गरेकामा भाइसाहेब जदौ है जदौ ! भाइ ज्यग्यनिधि ! (चूडामणि रेग्मी, जदौ हजूर)
(ङ) खुलुलुलु इज बेटर देन टुलुलुलु (कर्णकुमार श्रेष्ठ, बूढो हुनुको मज्जा)
(च) म भोजपुरमा जन्मेको, कीर्तिपुरमा हुर्केको, जनकपुरमा पढेको र हाल कान्तिपुरमा बसेको, अब मलाई पाखे, काँठे, मधिसे वा सहरिया जे भन्नुपर्छ तपाईं नै जान्नोस् । (भैरव अर्याल, कन्याकेटी खोज्दा)
झर्रा शब्द र कथ्य अभिव्यक्ति ः
कतिपय अवस्थामा ठेट वा झर्रा शब्दको प्रयोग तथा कथ्य लवजको प्रयोग पनि हाँसो उमार्ने कारण बन्दछन् । चूडामणि रेग्मीको ‘जदौ हजूर’ निबन्धमा प्रयुक्त जदौ, घोत्ल्याहा, जोइटिङ्ग्रे जस्ता झर्रा शब्दहरू हास्य सृजनाका कारक बनेका छन् । अन्य प्रयुक्तिलाई हेरौं ः
(क) अख्तियारवालाले भ्रष्टाचारको फेद पत्तो नलगाई टुप्पो मात्रै छासेर भ्रष्टाचार झन् मौलाए झैं मैले पनि ‘लोइताङे’ शब्दलाई गिजोल्दागिजोल्दै जिम्लियो, चाम्रियो, झुम्रियो, चटारियो । (तित्रा, लोइताङे आयोगको गठन)
(ख) होइन होउ, मैले त्यस्तो नराम्रो गाली गरेको जस्तो त लाग्दैन । के औधि रिसाएउ तपाईं्र त ? हैन तपाईं ता खोर्सानीकै खाजा खान्छौ कि कसो ? (तित्रा, लोइताङे आयोगको गठन)
(ग) आज म एउटा साइत्ते गोस्टीमा जानु पर्ने भइरच भाइ, कमसेकम साइत्ते गोस्टीमा जाँदा त दौरा सुराल, कोट टोपी र कमरमा खुक्रीसम्म भिर्न पादेखि क्या माल हुन्थ्यो नि ? मसित एक जोरी दौरा सुराल, दोडा टोपी र तिन्चाडा कोट समेत थे । (नकुल काजी, आज उनी साहित्ते गोष्टीमा जान हिँडेका रहेछन्)
(घ) ऐलेका कविता भाङको निसाले धतुलेको मान्छेको बोली जस्ता हुन्छन् । गीद र नाच ता झन् बान्कोले भेट्या मधौरु कामे जस्ता । धामी झाँक्रीका जीउमा देउदेउता चढेर कामेजस्ता । (नकुल काजी, आज उनी साहित्ते गोष्टीमा जान हिँडेका रहेछन्)
(ङ) समस्कीर्ति सबदबाट रहेका मान्छेका नाउँसमेत झर्रो नेपाले गराउने मेरो अठोट तपार्इँहरूले सुन्नुभएकै होला । देखोटको निम्ति केही नाम झारूँ ...(भैरव अर्याल, नयाँ भाखा नयाँ कवित्त)
अपव्याख्या तथा लालबुझक्कडी अभिव्यक्ति ः
कुनै कुराको अर्थ बरालेर अर्कै तुल्याएर वा लालबुझक्कडी÷डेढअक्कली अर्थ लगाएर पनि हँसाइन्छ । यस्तो युक्तिहरूका प्रयोगका केही बान्कीहरू ः
(क) रफ्फूचक्कर कड्कियो – ...राम्रो कान खोलेर सुन, काठमाडौंतिर काठ महँगो छ, अभाव छ । त्यहाँ एक हातको डेढ फिट हुन्छ, कतिपय तराइका जिल्लामा काठ पाइन्छ तर मान्छे धेरै भएकाले दुई हातको एक फिट हुन्छ । यो ठाउँमा मान्छे कम र काठ धेरै भएकाले चार हातको एक फिट हुन्छ । त्यति कुरा थाहा छैन ? तिमी कसरी जागिर खान्छौ ? यसो माथिबाट आएका परिपत्रको अध्ययन गर्नु पर्दैन ? (तित्रा, रफ्फूचक्करको कथा)
(ख) एउटाले भनेछ अर्जुनको जन्ममिति गीतामै कृष्णले बताएका छन् नि ! उसले प्रमाण दिँदै भन्यो — “बहूनि मे व्यतीतानि तव जन्मानि चार्जुन” मे (ःबथ) महिनाका धेरै दिन व्यतीत गरेपछि चार जुन (व्गलभ) मा तिमी जन्मेका हौ । यहाँ कृष्णले अर्जुनलाई हामीले धेरै जन्म बिताएपछि यस जन्ममा आएका हौं भन्ने कुरा बताएकोलाई अर्थ बङ्ग्याउँदा हाँसो सृजना भएको छ ।
(ग) ‘फलानाले फलानो दिन ठीक यति बजे यतिपल्ट डका¥यो≤ त्यसैले त्यो दिन राति उसले कतैबाट एउटा बासी पेडा खाएको हुनुपर्छ’ भने जस्ता अनुमान गरी त्यो पेडा ख्वाउने को होला र किन ख्वायो होला भनी गम्दागम्दै रातभर ननिदाउने कन्सुत्ले रोगीहरू पनि मैले धेरै पत्ता लगाएको छु । (भैरव अर्याल, केही राष्ट्रिय रोग ः एक अनुसन्धान)
(घ) “थोरैले धेरैलाई दल्ने व्यवस्थाको नाउँ हो बहुदल ।” आर्का बुज्रुकले अझ हौसिएर भने “नारी मुक्तिका नाममा छोरी बुहारी वा बहूका नाङ्गा चित्र देखाएर नाङ्गो नाच नचाएर दल्नु बहूलाई दल्नु नै बहुदल हो ।” लालबुझक्कडले दशहात उफ्रिएर आफ्नो उत्कृष्ट दर्शन छाँटे — “धेरै .. दलले जनतालाई दलदाल गर्नु नै साँचो अर्थमा बहुदल हो ।” (रोहिणीविलास लुइँटेल, भूत साधना)
(ङ) गोरक्षा राज्य भए पो गाई गोरुको रक्षा गर्नु, गोर्खा (गोरु खा) देशमा गाई गोरुको रक्षा किन गर्नुृ र ? त्यसमा पनि गोर्खालीको परिचय दिने सिक्किम र दार्जिलिङ छँदैछ नि ।
(विनोद खनाल, बोकाको दाइँ)
गफ जोत्नु ः
हास्यव्यङ्ग्य रचनामा अनेक प्रकारका फाइँफुट्टी हावादारी गफ हाँकेर पनि हाँसो सिर्जना गर्ने गरिन्छ । यस्ता गफहरूले समग्र रचनामा अर्थ वा महŒव राख्ने भए पनि त्यस्ता गफ तत्कालीन सन्दर्भमा भने हास्य सृजनाको मात्र कारण बनेका हुन्छन् । यस प्रकारका युक्तिका केही नमुना यसप्रकार छन् ः
(क) पाँडे पुराण, साँढे पुराण, भालु पुराण, भुँडी पुराण, आलु पुराण, पिंडालु पुराण, मायालु र बैंसालु पुराण आदि विभिन्न पुराणहरूमध्ये सबैभन्दा महŒवपूर्ण पुराण ‘हाउडी पुराण’ हो । (कोमलप्रसाद पोखरेल, हाउडी पुराण)
(ख) हजूर संयुक्त राष्ट्र संघको सदस्य पनि हुनहुन्थ्यो भन्ने सुनेको थिएँ... “अँ ...१२ वर्षजति त्यो काम पनि गरेर अनुभव बटुलें, अनि त्यो काम कान्छाबालाई गर्दै गर है भनेर छाड्न बाध्य भएँ । किन बाध्य भएँ भनौला, त्यहाँ बस्ता संयुक्त राष्ट्र संघको महासचिव खाइदेउ कि खाइदेउ भनेर दिक्क लाए । अब आफूलाई इन्टेस नभएको कुरो के....(कोमलप्रसाद पोखरेल, हाउडी पुराण)
(ग) जोन केनेडीसँग एक वर्षसम्म सँगै बाख्रा चराइयो भने राष्ट्रपति बे्रजनेभ र मैले एउटै गुरुबाट रुद्री पढेका हौं.. (कोमलप्रसाद पोखरेल, हाउडी पुराण)
(घ) एक दिन एउटा गफडीले अलिक बढी गफ दिएछ । जङ्गलमा सिकार गर्न गएको थिएँ । भिरको टाकुरामा एउटा बँदेल देखेर ठ्याङ्ङै बन्दुक हानेको त भिरबाट गुल्ढुङगुल्ढुङ लडेर खोलामा पुग्दा बँदेलको मासु मज्जैले पाकेछ, स्वादैले खाएर आइयो । (तित्रा, रफ्फूचक्करको कथा)
(ङ) अन्त्यमा मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भने बङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनु होला अथवा जग खन्ने मुसा, धुरी खोस्रने बिरालाको सिङमा झुन्ड्याइदिए पनि हामीकहाँ आइपुग्छ । सो पनि नसके एउटा लाटोकोसेरोका कानमा सुटुक्क भनी पठाए पनि हुन्छ । नोट गरिराख्नोस् – नेता नम्बर एक सय एक । (भैरव अर्याल, ‘नेता नम्बर एक सय एक’ निबन्ध)
(च) एउटा मान्छे हिँड्दा हिँड्दा यतिसम्म हिँड्यो रे कि उसको पैतालादेखि टाउकोसम्म खिएर साँझमा टुपी मात्र लुखुर लुखुर घर आइपुग्यो रे ...(भैरव अर्याल, हाँसोको जात थर)
बेतुकका कुरा ः
अर्थ न बर्थका कुराका माध्यमबाट पनि हाँसो सिर्जना गर्ने गरिन्छ । जस्तै ः
(क) चालक ः ..बसमा बसेका सकल उत्तिसघोडा बत्तीसघोडाहरू, सुन्नोस् सुन्नोस् र फेरि पनि सुन्नोस् ...(मोहनराज शर्मा, वैकुण्ठ एक्सप्रेस)
(ख) यमा ९ ः ...लौ फेरि पनि ढिलो भो !.. ढिलो कि हिलो, हिलो कि गिलो, गिलो कि पिलो, पिलो कि ... ॐ परार्धे ! (मोहनराज शर्मा, यमा)
भाषिक विकृति र मिश्रण ः
हास्यव्यङ्ग्यकारहरूले हाँसो सृजनाका लागि अपनाउने एउटा युक्ति भाषामा विकृति ल्याएर र भाषाको मिश्रण गरेर पनि हो । यसै गरी अर्को भाषाको लवज प्रयोग गरेर वा एउटा भाषीले अर्को भाषीको भाषा बोल्दा हुने फरक उच्चारणबाट पनि हाँसो सिर्जना गरिन्छ । जस्तै ः
(क) खुसीराम ः .... क्या बात गर्छ भलामान्छी, ...यो घडी सीको छैन भने के पिन्डालु उसिनेर पिच्काएको ढीको छ तो ? (मोहनराज शर्मा, वैकुण्ठ एक्सप्रेस)
(ख) नृपति ढाँटनम् चैव तुलसी कण्ठी धारणम्
भएभरका दोष जति कमजोरमाथि नै लादनम् (के.बी.कार्की, व्यङ्ग्य झटारोहरू)
(ग) यस्ता प्रश्न सुनेर क्यै रिस गरी भन्नुभयो हे हराम !
रे रे मूर्ख न बेत्सी कारणमिदम् झ्याल्यांं परी पश्यताम् (मोतीराम भट्ट)
(घ) डेभिड — ... मैले लर्ड क्रिस्नाको सँग एउटा अन्टर्वार्टा मागेको ! .... क्रिस्ना र क्राइस्टको टुलनात्मक स्टडी गरेर आर्टिकल बनाउनको लागि । .....नो नो भलाड्मी, टपार्इँ राइटमा छैन ! क्रिस्ना र क्राइस्टमा ठुप्रैठुप्रै सम्बन्ढ छ, ठुप्रैठुप्रै !.... लुक, क्रिस्नाको नामको फस्ट साउन्ड ‘क’ अनि क्राइस्टको नामको पनि फस्ट साउन्ड ‘क’ । ...वेल, ....पयरमा फलामको टीखो बान हानेर क्रिस्नालाई मारेको, अनि पयरमा फलामको टीखो कीला घुसाएर क्राइस्टलाई मारेको...(मोहनराज शर्मा, वैकुण्ठ एक्सप्रेस)
(ङ) लाजं नास्ति घिनं नास्ति नास्ति नैतिकता अपि
कामे एकं मुखे एकं लबस्त¥याइँति स्मृतम् (भैरव अर्याल, लबस्तराको ओखती)
निम्न स्तरको अभिव्यक्ति ः
हाँसो सिर्जनामा तल्लो स्तरको स्तर÷मूल्य÷महŒवहीन अभिव्यक्तिको पनि भूमिका हुन्छ । भैरव अर्यालको ‘कवि चम्रेल ः एक शब्दचित्र’ निबन्धमा चम्रेल कविको कवित्व यस्तै तल्लो स्तरको भएकाले उपहास्य बनेको छ । यीे उद्धरणलाई पनि उदाहरण मान्न सकिन्छ ः
(क) उनले “लु सुन मेरा दुस्रा कवित्त” भनेपछि पढ्न थाले —
तँ उडुस रगत खार ढाडिया उडुसपुडुस
तँ हैनस् मेरा मित्र अनि किन पसिस् सिरकभित्र
मान्छेको रगत खाने तँ बजियो राक्छेस् नै होस्
तेरा बाउ आमा मरिजाउन् तँ जा सोजै नर्क ।
“लु भन यो मेरो मुक्तक कस्तो लागो तपैंलाई ?” (नकुल काजी, आज उनी साइत्ते...)
(ख) कागज काट्ने बन्चरो त मुढा गिँड्ने कैंची
चितुवाले जुम्रा मा¥यो चिलले बोक्यो भैंसी (लोकगीत)
यसै गरी वाणी विकारका अनेक रूपहरू हुन्छन् । जस्तै भक्भकाएर बोल्नु, अनावश्यक थेगोको प्रयोग गरेर बोल्नु (प्वाक्क मुखाँ हान्नु जस्तो आदि), अङ्ग्रेजीकरण, संस्कृतकरण आदि गरेर नेपाली भाषालाई विकृत पारेर बोल्नु आदि अन्यान्य युक्तिहरूको पनि हाँसो सिर्जनामा प्रयोग गरिएको हुन्छ ।
(३) सात्विक (मनोगत÷भावगत) विकृति विषयक युक्तिहरू
सात्विक भनेको मानिसको मनोभावनासँग सम्बद्ध कुरा हो । मानिसका मनोभावलाई छोएर वा कुत्कुत्याएर हँसाउने कृत्यलाई यस कित्ताभित्र राख्न सकिन्छ । आफ्ना वा अरूका मनोभावमा देखिने वा देखिएका विकृतिको प्रदर्शनले मनोभावनालाई कुत्कुत्याउँछ र हाँसो उठ्छ । यस प्रकारबाट सृजना गर्ने युक्तिहरूमा विभिन्न सामाजिक बेथितिमाथि व्यङ्ग्य गरेर, विस्मयपूर्ण कुराको वर्णन गरेर, आफ्नो वा अर्काको मूर्खता अन्य त्यस्तै कमजोरीको बयान वा प्रदर्शन गरेर आदि प्रकारबाट हँसाउने युक्तिहरूलाई यसभित्र समेट्न सकिन्छ । यी प्रयुक्तिहरूका केही प्रकार र उदाहरण हेरौं ः
विविध प्रकारबाट व्यङ्ग्य (छेडपेच) गर्नु ः
(क) माननीयजी भन्नुहुन्छ, “कति होला त हाम्रो देशको वार्षिक आमदानी मन्त्रीजी ?”
गौरवपूर्ण रूपमा मन्त्रीजी उत्तर दिनुहुन्छ — “१२ अरब !”
अनि माननीय आश्चर्य मान्दै भन्नुहुन्छ — “वाह...यो जम्मै आफ्नै देशको आमदानी ...? माननीयको यो उच्छ्वासमय प्रश्चवचनमा मन्त्रीजीबाट यस्तो उत्तर आउँछ — “यसमा साढे एघार अरब जति मात्र वैदेशिक सहयोगबाट प्राप्त भएको छ । यस बाहेक अरू जम्मै आफ्नै देशको आमदानी हो ।” (कोमलप्रसाद पोखरेल, हाउडी पुराण)
(ख) कुनै पनि कुराको छेउ–टुप्पो भेटिएन भने लीला हुन्छ । अर्को अर्थमा आफूतिर कसैले हेर्न छोडे भने रातो टोपी, रातै सर्ट, रातै प्यान्ट लाएर हिँडेपछि अरूको ध्यान आफैंतिर खैंचिन सकिन्छ । शृङ्गारको नाउँमा मयूरको प्वाँख लगाएर हिँडेपछि मान्छेले हेर्छन् । यसरी कुनै न कुनै रूपले भड्किलो भ्रम सिर्जना गरी सबैको ध्यानाकर्षण गर्नु लीला हो । (तित्रा, महाकविसँग भेट)
(ग) मण्डलीभित्र एउटाले अर्कालाई फुर्को लाएर, चढाएर, बढाएर धुरीमा उकाल्छन् । अर्काले अर्कालाई त्यसै गर्छन् । पालो गरी गरी मण्डलीभित्रकै मान्छे धुस्सा ओढाओढ गर्छन् । आफैंले धुस्सा किनेर ल्याएर पनि ओढाइमाग्छन् । (तित्रा, महाकविसँग भेट)
(घ) त्यत्रा सर्वगुणसम्पन्न सुविधाभोगी माननीय, सम्माननीय र ताननीय भएका देशमा म एउटा देउँसै उत्ताननीयले त्यति एक पुरस्कारमा राल काढ्न समेत नपाउनु ? (रोहिणीविलास लुइँटेल, भूत साधना)
(ङ) उतै (सिमानापारि ले.) बाट आएको एउटा साथीले हाम्री काइँलीलाई गाभिनु पारेछ । अचेल त गाभिनु पार्न र गाभिनाहरूका गर्भ तुहाउन पनि उनीहरू नै पाइन्छन् । उसबेला त सबै थोक आफैं गर्नुपथ्र्यो । (होम सुवेदी, खुइलिएको तालु)
(च) हिजोसम्म जङ्गल जङ्गल र गुफामा बस्दै हिँड्ने मान्छे आज समयले छिप्याएपछि पर्धानमन्त्रीसम्म बन्न पुगे भने हिजोका दरबारियाहरू आज वनबासी बन्न पुगे । (विनोद खनाल, बोकाको दाइँ)
मूर्खता÷अनभिज्ञता ः
आफ्नो वा अरूका मूर्खतापूर्ण क्रियाकलाप, अज्ञानता वा त्यस्तै खाले कमी कमजोरीको बखान गरेर हँसाउने युक्ति यस प्रकारमा पर्दछ ।
(क) कन्यादान गरुन्जेल पनि कुन बेला घुम्टो उघारेर दुलहीको त्यो पहिले हेरेको चन्द्रमा जस्तो अनुहार देख्न पाइएला भनी चौचौ भइरहेको थियो, सौभाग्यवश माहुर ख्वाउने मौका आयो । हत्त न पत्त घुम्टो खोलेर माहुरको हात लगेको त दुलही खितितित्त हाँस्यो । ‘दुलही हाँस्यो’ भन्नासाथ तपार्इँहरूले बुझिहाल्नुभयो होला । (भैरव अर्याल, कन्याकेटी खोज्दा)
(ख) दुर्घटना परेर मरेको मान्छेको लासलाई हेर्दै एउटा भन्छ — “हत्तेरिका कसो आँखो चाहिँ जोगिएछ !”
(ग) साहित्यकारको जीवनी पढ्दा गाँठी कुरा मैले पत्ता पाएँ । त्यो के भने साहित्यकार हुनको लागि प्रेममा फँस्नु जरुरी नै रहेछ । अझ जति प्रेम गर्न सक्यो उति राम्रो । किनभने यसो गर्नाले अनुभव पनि बढ्छ .... (शारदा कोइराला, साहित्यकार बन्ने रहर)
(घ) शास्त्रको फर्मुला पिताजीले ममा भिडाउनुभयो । ...कपाल झरेको र दाँत छुट्टिएर दन्तद्वारे भएको देखेर आफ्नो छोरो विद्वान् र धनवान् हुने भएछ भन्ने कुरामा उहाँ वास्तवमै विश्वस्त हुनुहुन्थ्यो । उहाँको अन्तरात्मा ममा एक विद्वान् र धनी पुरुषको दर्शन गरेर प्रसन्न भयो । (होम सुवेदी, खुइलिएको तालु)
(ङ) एकपटक रामे रत्न पार्कमा सुतिरहेथ्यो । एउटा कुइरे आएर सोध्यो – आर यु रिल्याक्सिङ् ? रामेले भन्यो नो, आइ एम रामे । रामे जुरुक्क उठ्यो र अर्को एउटा त्यसरी नै सुतिरहेको मान्छे भएठाउँ गयो र सोध्यो “आर यु रिल्याक्सिङ् ?” उसले “यस्, आइ एम रिल्याक्सिङ” भनेर जवाफ दियो । रामेले त्यो मान्छेलाई भन्यो – “तपार्इँलाई ऊ त्यो कुइरेले खोज्दैछ ।”
प्यारोडीकरण ः
कुनै रचनालाई त्यसकै लयमा मिलाएर कतैतिर छड्के हानेर हँसाउने काइदा यसभित्र आउँछ । जस्तै ः
(क) एक् दिन् भानु त कान्तिपुर पुगिगया लोक्को बुझौं रित भनी
साह्रै दङ्ग प¥या घुम्या वरिपरी मो भानुभक्तै भनी
खाया हन्डर खूब कान्तिपुरमा चिन्दै नचिन्ने भया
आफ्नै सालिकमा कटाइ अलि बेर् ती अन्तरैध्यान् भया । (भैरव अर्याल, कान्तिपुरी नगरी)
(ख) कटिकूच कसी हिँडन्या युवती
चलन्या पथमा नलजाई रती
सँगमा छ युवादल ओरिपरी
अमरावती कान्तिपुरी नगरी (भैरव अर्याल, कान्तिपुरी नगरी)
विस्मिति ः
अचम्म लाग्दा वा विस्मयजनक कुराबाट हँसाउने पनि हास्य सृजनाको एउटा युक्तिभित्र पर्दछ । यस्ता प्रकारका प्रयुक्तिहरू निम्नानुसार छन् ः
(क) अब तपाईं एउटा नानी जन्माउन तम्तयार भएकी श्रीमती र साठीहजार नानीहरू जन्माउने बेला हुन लागेकी सगर राजाकी श्रीमतीको पेटको तुलना गर्नुहोस् ...(कोमलप्रसाद पोखरेल, हाउडी पुराण)
(ख) मेरो एउटा विद्यार्थीले भन्थ्यो “सर काठमाडौंमा ‘होम ट्युसन’ पढाउन जाँदा एउटा विद्यार्थीलाई ‘दुध केले दिन्छ ?’ भनेको त, ‘पोकाले’ पो भन्यो ।” (विनोद खनाल, बोकाको दाइँ)
(ग) पल्ला गाउँका सुब्बा कान्छाले संघीय शैलीको हर्स कटिङ नै वास्तविक हर्स कटिङ्ग हो भनिरहँदा पनि साँच्चै हो कि जस्तो लाग्थ्यो भने पल्ला घरको नरेले मौलिक शैलीको हुनुपर्छ भन्दा पनि र माथ्ला गाउँको ठुलाकान्छाले सबैलाई सुहाउने किसिमको समावेशी हर्स कटिङ्गका बारेमा लामो भाषण छाँट्दा पनि म वाल्ल पर्थें । (कुलेन्द्र मैनाली, मेरो हर्स कटिङ्ग)
(घ) स्वर्ग पुगकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । (अर्याल, कान्तिपुरी नगरी)
अरूलाई होच्याउने वा मूर्ख बनाउने ः
अरूलाई पखालेर होच्याएर वा गिज्याएर र मूर्ख बनाएर पनि हाँसो सृजना गरिएको हुन्छ । यस्ता केही उदाहरणहरू ः
(क) धेरै भयो पहाड छाडेको । तराईका स्कुलमा पनि हामी गीत गाउँदै उफ्रन्थ्यौं – “हिमालचुली पल्लापट्टि कुखुराको सुली, सुलीबाट बनेका हुन् गन्धे पराजुली ।” (लक्ष्मण गाम्नागे, बाहुन काठा कन्दने...)
(ख) एकपटक दाहाल सरले मेरो गालामा थप्पड हान्दा कक्षाकोठामै मैले “दाहाल पाडो, खुट्टा ठाडो, आयो भैंसी छोडदे पाडो” भनेर कडा प्रतिवाद गर्ने हुँदा.. (लक्ष्मण गाम्नागे, बाहुन काठा...)
(ग) मलाई ‘भट्टराई टट्टराई कुखुरा चोर” भनेर होच्याउने केटाहरू अधिकारी थरका थिए । म पनि ... बुरुक बुरुक उफ्रँदै “अधिकारी पधिकारी पादको भकारी, पानसय जन्तीलाई भोकले मारी” भनिदिन्थें । (गाम्नागे, बाहुन काठा...)
(४) आहार्य (वेशभूषा) गत विकृति विषयक युक्तिहरू
हास्य सृजनाको अर्को कारण वेशभूषा अर्थात् पहिरनसँग सम्बद्ध विकृति÷विचलन वा विशृङ्खलता पनि हो । कसैले अनौठो प्रकारको पहिरन लगाएको देख्दा पनि हाँसो उठ्छ । त्यसैले हास्य–व्यङ्ग्य स्रष्टाहरूले यस प्रकारको वेशभूषा वा पहिरन, अलङ्कार आदिलाई गलत वा विशृङ्खलित ढङ्गबाट लगाइएको अवस्थाको वर्णन वा चित्रण गरेर पनि हाँसो सृजना गरेका हुन्छन् । तलका युक्ति र तिनका प्रयुक्तिलाई यस प्रकारको उदाहरण मान्न सकिन्छ ः
(क) जनैमा देखिने सेतै लिखा
शिरमा चाहिँ चन्दन टीका...
टुप्पी ठाडो जनै लामो
सम्झ त्यसैले धर्म थाम्यो .. (के.बी. कार्की, चोखो छेत्री बाहुन)
(ख) उर्वशी पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराले कसिएका निकै पुड्का भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदि चपला अबलाहरूका चनमते आँखा छनमते कम्मर कसले हेरिदेओस् ! (भैरव अर्याल, कान्तिपुरी नगरी)
(ग) ...बाहुनीलाई अघि लाएर श्राद्धका लागि खुइल्याएको मुडुलो टाउकाभरि अरसल्लै छरिएको टुप्पी हावामा हल्लाउँदै दिनको बाह्र बजेतिर बाटो लागियो...(गंगाप्रसाद अधिकारी, मेरो यात्रा धुलाबारीदेखि मुलाबारीसम्म ः होम डेलिभरी सर्भिसमा)
(घ) भित्र हजारौं भ्वाङ छँदाछँदै पनि बाहिर रेडिमेड भएर सुकुलगुन्डे स्वाङ पार्नै पर्ने । (नरेन्द्रराज पौडेल, बिहेको निम्तो)
(ङ) ऊ त रहेछ त्यही गाउँको सुब्बा ! रेसमी लुङ्गी लगाएको कानसम्म डम्बरकुमारीको खास्टो ओढेको रातो जनाना स्लिपर लगाएको पाखातिर हावा खान लागेको सुब्बा । ...(भैरव अर्याल, बाबूसाहेबको लभ)
(५) आचरणगत विकृति विषयक युक्तिहरू
मानिसका हिँडाइ, डुलाइ, सोचाइ, लवाइ–खवाइ, रुचि–अरुचि, एकार्काप्रतिको विधिव्यवहार, दैनन्दिन क्रियाकलाप आदि नै आचरण भित्र पर्ने कुरा हुन् । उपर्युक्त आचरण वा आनीबानीमा देखिने विचलन वा वैपरीत्य वा विशृङ्खलता नै आचरणगत विकृति हुन् । मानिसका यस प्रकारका आचरणगत विशृङ्लता वा विकृति देखेर पनि हाँसो उठ्छ । हास्यस्रष्टाहरूले यस प्रकारका आचरणगत वैपरीत्य वा विचलनको वर्णन चित्रण गरेर पनि हँसाउने अनेक युक्तिहरू अपनाएका हुन्छन् । यस प्रकारका युक्ति र तिनका प्रयुक्ति ः
व्यक्तिगत स्वभाव ः
(क) नढाँटी भनौं भने म मेरी श्रीमतीलाई सधैं जदौ ठोक्ने महान् जोइटिङ्ग्रे हुँ ... (चूडामणि रेग्मी, जदौ हजूर !)
(ख) कसैले ‘हजुर्बा’ भने चित्त दुख्छ
बिना काम ‘बाजे’ भने रीस उठ्छ
धरोधर्म ‘बूढो’ भन्ने भएन
गयो जोबनै बैंस चाहिँ गएन (कोमलप्रसाद पोखरेल, गयो जोबनै बैंस जाँदै गएन)
(ग) आधुनिक केटीहरू कुकुरका छाउरा खेलाउन खोज्छन् भनेर ब्याउने गाई बेचेर एउटा बेलायती कुकुरसमेत किनिदिएँ । (भैरव अर्याल, कन्याकेटी खोज्दा)
(घ) दुई मुठा प्याज बेचेको पैसाले दुई हजारसम्म ब्याज लगाउन सक्ने सुब्बाको दयामायाबारे के बयान गर्नु ! तर उनैको नाम थियो दयाराम ! .... (भैरव अर्याल, नाम फेर्ने धुनमा)
सामाजिक राजनीतिक आदि क्षेत्रका विकृति ः
(क) नवाफी रवाफी कवाफी छ नेता
विलासी गिलासी सुवासी विजेता (देवकोटा, नयाँ जवाना) ।
(ख) न नारा लगाएर सातो लगार्छन्
न गाडी डढाई त्यहाँ भष्म पार्छन्
यसो गर्न पाइन्न भन्ने बुझेर
म फर्केर आएँ अलिक दिन घुमेर (कोमलप्रसाद पोखरेल, अमेरिकामा नेपालको गन्ध आएपछि)
(ग) आज हरेक क्षेत्रमा साँडे नै साँडे भए पनि दाइँ चैंं बोकाले नै गरिरहेका छन् । सचिवालयदेखि गाउँ विकाससम्म जहाँ जाऔं त्यहाँका हाकिम साँडेहरू काज र गोष्ठीमै व्यस्त हुन्छन्, दाइँ चैं बोकाले नै गरिरहेका हुन्छन् । (विनोद खनाल, बोकाको दाइँ)
३. बिसौनी
हास्यव्यङ्ग्य रचनामा के कसरी कस्ता युक्तिहरूको प्रयोगबाट हास्य तŒवको सृजना गरिन्छ भन्ने कुरालाई यस लेखमा सैद्धान्तिक आधारबाट भन्दा पनि प्रायोगिक पक्षलाई नै विशेष महŒव दिएर विवेचना गर्ने प्रयास गरिएको छ । यस क्रममा केही नेपाली हास्यव्यङ्ग्य स्रष्टाहरूका रचना र विशेषतः झापाली हास्यव्यङ्ग्य स्रष्टाका रचनाका साथै केही श्रुतिपरम्परामा आधारित लोक सामग्रीलाई पनि आधार लिई हास्य सृजनाका युक्तिहरूको खोजी गरिएको छ ।
यी सम्पूर्ण सामग्रीहरूलाई साक्ष्यका रूपमा अगाडि सार्दा माथि वर्णित पाँच प्रकारका विसङ्गति÷विकृतिजनित हास्य सृजनाका उपायमध्ये हास्य स्रष्टाहरूले विशेष गरी वाणी÷भाषागत विसङ्गति, साŒिवक÷भावगत विसङ्गति र आचरणगत विसङ्गतिमाथि विशेष जोड दिएर तदनुकूल अनेकानेक युक्तिहरूको प्रयोगबाट हाँसो सृजना गरेको देखिन्छ । वाणीगत÷भाषागत विकृतिको प्रदर्शन गर्नका लागि भाषिक विकृति, भाषिक मिश्रण, भाषामा झर्रोपन, अनुप्रासीकरण, अपव्याख्या, बेतुकी गफ, निम्न स्तरको अभिव्यक्ति आदि जस्ता विभिन्न उपायद्वारा वाणी÷भाषागत विसङ्गतिको प्रदर्शनका माध्यमबाट हाँसो सृजना गरेको देखिन्छ । यसै गरी साŒिवक वा भावगत विकृतिको प्रदर्शनका लागि सामाजिक, राजनीतिक, आर्थिक आदि विविध क्षेत्रका असङ्गतिमाथि घोचपेच÷कटाक्षका माध्यमबाट गरिने व्यङ्ग्यको प्रयोग नै बढी मात्रामा भएको देखिन्छ भने मानिसका मूर्खता, अज्ञानता र विस्मयजनक कुराहरूको वर्णनका साथै प्यारोडीकरण आदि जस्ता विधिलाई पनि हाँसो सृजनाको महŒवपूर्ण उपायका रूपमा अपनाएको देखिन्छ । यसका साथै अरूलाई मूर्ख वा उल्लू बनाएर हँसाउने, आफैं मूर्ख बनेर हँसाउने, अरूलाई होच्याएर गिज्याएर उल्लीबिल्ली पारेर वा आफैंलाई क्षुद्र देखाएर र कतै कतै अश्लीलता प्रदर्शन गरेर पनि (काइँलीलाई गाभिनु पारेको प्रस¨) हँसाउने प्रयास गरिएको देखिन्छ । आचरणगत विसङ्गतिलाई आधार बनाउँदा मानिसका वैयक्तिक आचरण वा बानी बेहोरामा देखिने असङ्गतिलाई नै हास्य सृजनाको उपाय बनाइएको पाइन्छ ।
आङ्गिक विकृति अर्थात् शारीरिक कुरूपता, अङ्गभङ्ग, अनावश्यक भद्दापन आदि जस्ता कुराहरू नै हाँसो सृजनाका उपाय बन्न सक्छन् भने आहार्य अन्तर्गत मानिसका वेशभूषा, शृङ्गारपटार आदिमा देखिने असङ्गति नै हाँसोका कारण बनेका हुन्छन् । यहाँ उद्धृत गरिएका प्रयुक्तिहरूलाई हेर्दा स्रष्टाहरूले मूलतः तिनै तिनै कुरालाई नै हाँसो सृजनाको युक्तिका रूपमा लिएको देखिन्छ तापनि यहाँ प्रस्तुत सामग्रीहरूका आधारमा हेर्दा हास्य स्रष्टाहरूको रुचि आङ्गिक र आहार्य (वेशभूषागत) वर्गका युक्तितर्फ त्यति नरहेको देखिन्छ ।
हास्यव्यङ्ग्य रचनामा हास्यको प्रयोग सोद्देश्य र सार्थक हुनुपर्छ । कुनै अभीष्ट लक्ष्य लिएर नै हास्यव्यङ्ग्य रचना रचिएको हुन्छ । यी दुवै तŒवले परस्पर आवश्यक सहकार्य गर्दै रचनाको अभीष्ट पुरा गरेका हुन्छन् । यस क्रममा हास्यको प्रयोग भनेको व्यङ्ग्यलाई तीव्र वेधक तुल्याउनु र भावकलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नु हो । यी दुई कुरा भए भने नै हास्य सोद्देश्य र सार्थक बन्न सक्छ । त्यसका लागि मानिसका वैयक्तिक शारीरिक एवम् वेशभूषागत असङ्गतिले भन्दा समग्र जीवनका सामाजिक बेथिति र जताततै देखिएका असामञ्जस्यपूर्ण परिस्थितिले नै स्रष्टा र भावक दुवैलाई बढी संवेदित बनाउने हुन्छ । आजको मान्छे विदूषकीय वा सर्कसका जोकरका हँस्यौली ठट्यौलीबाट सृजित कोरा मनोरञ्जनात्मक हाँसोलाई भन्दा पनि जीवन जगतप्रति बढी संवेदनशील भएर हाँसिने अर्थपूर्ण हँसाइलाई नै महŒव दिन्छ । त्यसैले आफ्नै वरिपरि बग्रेल्ती छरिएका जीवनका अनेकौं बेथितिमाथि कटाक्ष गरेर सृजिएको हाँसोले नै हास्यव्यङ्ग्य रचनामा विशेष अर्थ र आकर्षण राख्ने हुँदा स्रष्टाहरूले पनि नियतिले नै ठगेर विद्रूप वा कुरूप बनाएका निर्दोष व्यक्तिको शारीरिक कमजोरी र आजको युगमा नितान्त वैयक्तिक रुचि अरुचि मानिएको वेशभूषा वा पहिरनगत असङ्गतितर्फ त्यति रुचि नराखेको स्पष्ट हुन्छ । यसै कारण पनि यी प्रयुक्तिहरूमा आ¨िक र वेशभूषामा देखिने विशृङ्खलतालाई भन्दा वाणीगत, सात्विक र आचरणगत असामञ्जस्य वा असङ्गतिलाई नै बढी व्यापकता र वैविध्यका साथ प्रस्तुत गर्ने अनेकानेक युक्ति÷उपायहरूको उपयोग गरी रचनालाई बढी सार्थक र उद्देश्यपूर्ण बनाउने प्रयास गरेको बुझिन्छ ।
कौशलटार, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु