भ्रमण, अनुभूति र दृश्यहरूको जीवन्त प्रस्तुति : विचरित पाइलाहरू

- डा.लेखप्रसाद निरौला

मानिस स्वभावैले भ्रमणप्रिय प्राणी हो । चरैवेति चरैवेतिको मान्यतालाई आदिम कालदेखि नै आत्मसात् गर्दै आएको मानिसको यात्राक्रम कहिल्यै रोकिएको छैन । सन्त/फकिरदेखि राजामहाराजासम्मका व्यक्तिहरू चलायमान अवस्थामा देखापर्दै आएका छन् । भ्रमणबाट नै जीवनका लागि आवश्यक त्यस्ता कतिपय दुर्लभ ज्ञान र मनोरञ्जनका अवसरहरू प्राप्त गर्ने मानवीय स्वभावकै परिणति स्वरूप गत्यात्मक साहित्यको अभ्युदय भएको हो । एउटा गत्यात्मक साहित्यभित्र भ्रमणप्रिय मानिसका जीवनक्रममा साक्षात्कार भएका र स्मृतिपटलमा विद्यमान रहेका कैयौँ अविस्मरणीय स्थानहरू, परिघटना र साक्षात्कारका परिसन्दर्भहरू, प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रभावहरूलगायतका अनेकौँ विशिष्ट विषयहरू मुखरित भएका हुन्छन् । साथै व्यक्तिका निजी अभिरुचिसँग गाँसिएका विषयहरूले प्राथमिकतापूर्वक प्रश्रय पाएका हुन्छन् । त्यसैले पनि गत्यात्मक साहित्यभित्रको नियात्रा विधाले भ्रमणप्रिय मानिसका माध्यमबाट नवीनतम सूचना, ज्ञान र अनुभूतिहरूको सम्प्रेषण गरिरहेको हुन्छ ।
नेपाली साहित्यमा गत्यात्मकतासँग गाँसिएर लेखिएका विधा/उपविधाहरूको शृङ्खला उल्लेखनीय रहेको छ । गद्य-पद्यजस्ता दुवैखाले साहित्यिक विधाहरूभित्र गत्यात्मकतालाई समेट्ने परम्परा रहे पनि नियात्रा वा यात्रासंस्मरणात्मक सिर्जनाहरू गद्यात्मक प्रकृतिकै रहँदै आएका छन् । राजा गगनीराजको यात्रा होस् वा जङ्गबहादुरको बेलायत यात्रा, यिनीहरू नेपाली साहित्यपरम्पराका प्रारम्भिक यात्राजन्य विषयकेन्द्री सिर्जनाहरू मानिन्छन् । यस्ता विचरणकेन्द्री नेपाली साहित्यको परम्पराले निरन्तर ऊर्वरता प्राप्त गर्दै आएको अवस्था छ । तीर्थाटन प्रवृत्तिले होस् वा प्रशासनिक ओहदामा रहँदा वा निजी भ्रमणशीलताका कारणले होस् नेपालीहरूको जीवनमा यात्राजन्य विषयवस्तुको अभिन्न सम्बन्ध रहँदै आएको छ । वैज्ञानिक समुन्नति, यातायातको सुलभता, विश्वभूमण्डलीकरणको तीव्रता र शैक्षिक तथा आर्थिक समुन्नति आदिका कारण वर्तमान नेपालीहरू देशविदेशको पर्यटनमा सक्रिय देखिन्छन् ।
नियात्राकार इन्दिरा दीक्षित पनि सात समुद्रपारका राष्ट्रहरूमध्ये खासगरी अस्टे्रलिया र बेलायतको भ्रमण गर्ने प्रतिभाशाली सर्जक हुन् । उनी आख्यान विधाबाट नेपाली साहित्यमा उदाएकी सिर्जनशील प्रतिभा हुन् । सम्बन्धका घुम्तीहरू (कथासङ्ग्रह) पछि देखापरेको उनको यो विचरित पाइलाहरू दोस्रो कृति हो । आफ्ना सन्ततिहरू विशेषत: छोरी, छोरो र छोरीज्वाइँजस्ता आफन्तहरूको बसोबास विदेशमा भएकाले उनलाई त्यसतर्फको भ्रमणका लागि वातावरण प्राप्त भएको छ । उनले तीनपटक विदेश भ्रमण गर्दा देखेका स्थानीय परिदृश्यहरू, वैयक्तिक अनुभूतिहरू र समकालिक सन्दर्भहरूलाई समेटेर तयार पारिएको नियात्रासङ्ग्रह नै विचरित पाइलाहरू हो । यसभित्र चौबीसओटा नियात्राहरू सङ्कलित छन्, जहाँ पृथक्-पृथक् अनुभूति र विषयसन्दर्भहरूको मिहिन प्रस्तुति पाइन्छ ।
दीक्षितका तीनपटक विदेश भ्रमणमध्ये सुरुका दुईपटक छोरी र छोराको दीक्षान्त समारोहका लागि अस्टे्रलियाको सिडनीतर्फ भएको हो । त्यसक्रममा पहिलोपटक छोरीको दीक्षान्तका सन्दर्भमा भ्रमण गर्दाका विषयहरू जम्मा सातओटा नियात्राहरूमा समेटिएका छन् । ती सातओटा नियात्राका शीर्षकहरू छोरीको दीक्षान्त समारोह, कफ्स हार्बरमा, सरसर्ती सिडनी सहर, तरङ्गा जुमा एकदिन, विश्वयुद्ध सङ्ग्रहालयमा युद्धको पीडा, क्यानबेराको छोटो यात्रा र ब्ल्यु माउन्टेनको हरियाली रहेका छन् । त्यसरी नै दोस्रोपटक छोराको दीक्षान्त समारोहमा जाँदाका अनुभूति र परिदृश्यहरू दोस्रोपटक सिडनी यात्रा, सिङ्गापुर विमानस्थलमा केही घण्टा, छोराको दीक्षान्त समारोह, हन्टर भ्यालीको स्वाद, सिडनी सहरको बीचतिर र गोलकोस्ट एक नजर गरी छओटा नियात्राहरूमा समेटिएका छन् ।
नियात्राकारको तेस्रोपटकको यात्रा बेलायतमा भएको छ । उनी इङ्गल्यान्डको ब्रिस्टल सहरमा रहेका छोरीज्वाइँको निमन्त्रणामा बेलायत गएकी हुन् । केही महिनासम्मको अवधिमा उनले बेलायका विभिन्न स्थानहरूको भ्रमण गरेकी छन् । बेलायतमा गरिएका भ्रमणजन्य अनुभूति र विषयहरूलाई सबैभन्दा बढी एघारओटा नियात्राहरूमा परिचर्चा गरिएको छ । ती एघारओटा नियात्रामा आधारित शीर्षकहरू यसप्रकार छन् :बेलायतको पहिलो यात्रा, वेल्सको राजधानी कार्डिफतिर, प्लेमाउथको भ्रमण, स्कटल्यान्डमा रमेको मन, स्वान्सी सहरमा एकदिनको रमझम, रोमन बाथमा साहित्यकारको साथ, अक्सफोर्डमा एक नजर, कृष्ण सरको घरमा पारिवारिक जमघट, ल्ान्डनको सम्झना, ब्ोलायतमा फैलिएका मठमन्दिर र ब्रिस्टलको एक फन्को ।
वस्तुत: नियात्राकारका वैयक्तिक विचरणजन्य अनुभूतिहरूकै परिणतिस्वरूप नियात्राको अभ्युदय हुन्छ । यसक्रममा नियात्राकारले आफूलाई लागेका नवीनतम सूचनाहरू सङ्कलन गर्न थाल्दछ र तिनै सङ्कलित सूचनाहरूको कलात्मक सम्प्रेषणका लागि प्रयास गर्दछ । आफूले प्राप्त गरेका सूचनाहरूबाट आफकति उत्साहित भइयो र त्यसले के सन्देश दिइरहेको छ भन्ने कुरामा समेत नियात्राकार अत्यन्त सचेत हुन पुग्दछ । कुनै एउटा स्थानीय रङ, अनुभूति, घटना, चरित्र, काल, इतिहास, समाज, संस्कृति वा धर्म दर्शनमा मात्र सीमित नभई गतिशीलता र संस्मृतिको अक्षुण्णताका दृष्टिले पनि नियात्राकार निकै सचेष्ट भइरहेको हुन्छ । यस दृष्टिले हेर्दा विचरित पाइलाहरूमा स्थानीय रङ, भौतिक/प्राकृतिक परिदृश्यहरू, सांस्कृतिक र मानवीय संवेदनामूलक नवीनतम सूचनाहरूको स्रोत वा भण्डारका साथै तिनको जीवन्त प्रस्तुति पाइन्छ ।
नियात्राकारले तीनपटकको यात्राका क्रममा तीन फरकफरक मार्गहरूको प्रयोग गरेकी छन् । पहिलोपटक छोरीको दीक्षान्त समारोहका लागि भ्रमण गर्दा उनी काठमाडौँबाट बैङ्कक हुँदै सिडनी पुगेकी छन् भने दोस्रोपटक छोराका दीक्षान्तका लागि काठमाडौँबाट सिङ्गापुर हुँदै सिडनी पुगेकी छन् । अनि, तेस्रोपटक छोरीज्वाइँको निमन्त्रणमा उनी काठमाडौँबाट दिल्ली हुँदै बेलायत पुगेकी छन् । यी तीनपटकका यात्राका क्रममा तयार पारिएका नियात्राहरूमा उनले फरकफरक अनुभूतिसहित फरक घटना र दृश्यहरूलाई प्रस्तुत गरेकी छन् । भनिन्छ, काठमाडौँ र सिडनीको मौसम र समय दुबैमा अन्तर पाइन्छ । सोहीअनुसार नियात्राकारलाई पनि भिन्न किसिमका अनुभूतिहरू भएका छन् । त्यसैगरी काठमाडौँ, दिल्ली र बेलायतका सन्दर्भमा पनि उनले फरकफरक किसिकको मौसम र समयलाई बिहोर्नुपरेको छ ।
तीन-तीनपटक काठमाडौँबाट विदेश उडेकी नियत्राकारले काठमाडाँै र खासगरी सिङ्गापुर विमानस्थलमा भोग्नुपरेका चुनौती र तत्कालीन अनुभूतिहरूलाई स्वाभाविक किसिमले उल्लेख गरेकी छन् । त्यसक्रममा उनले प्लेन ढिलो हुने, एउटा अवतरण केन्द्रबाट अर्को प्रस्थान केन्द्रसम्म जान निकै कसरत वा हतारो गर्नुपर्ने तथा यात्रामा कोही सहयोगी भेटिनासाथ तीबाट सन्तोष र हिम्मत प्राप्त हुनेजस्ता अनुभूतिहरू व्यक्त गरेकी छन् । त्यसरी नै हवाई उडानका क्रममा माथिबाट तल देखिएका दृश्यहरूले मानसपटलमा अनेकौँ किसमका प्रभावहरू पारिरहने कुरा बताएकी छन् । नियात्राकार जब दोस्रोपटक काठमाडौँबाट उडेकी छन् तब उनी माथिबाट काठमाडौँको प्रदूषणयुक्त दृश्यहरू देखेर दु:खी भए पनि केही टाढा पुगेपछि देखिएको सुन्दर दृश्यबाट प्रसन्न भएकी छन् । हिमाल नदेखिएकोमा केही खिन्नता छाए पनि उनी यात्रास्थलहरूको अवलोकनका लागि निकै आतुर बन्दै गएकी छन् । तेस्रोपटकको यात्राका क्रममा जहाजको स्क्रिनबाटै तल देखिएका युक्रेन, पोल्यान्ड, जर्मनी, बेल्जियम, नेदरल्यान्ड आदि राष्टर््रहरू तथा समुद्र, जङ्गल, फाँट, बस्ती र चटक्क परेका भौतिक सम्पदाहरूबाट उनी निकै उत्साहित बनेकी छन् । वास्तवमा नियात्राकारलाई जहाँबाट भए पनि महŒवपूर्ण वस्तुहरूले आकर्षित गरिरहेकै हुन्छ र अन्तस्करणबाट ससाना कुराहरूको चित्रणमा प्रवृत्त गराइरहन्छ ।
निरुद्देश्य कसैको पनि यात्रा हुँदैन । त्यस्तै नियात्राकारले दुईपटकको यात्रा छोरी र छोराको दीक्षान्त समारोहमा अभिभावकीय भूमिका निर्वाह गर्नका लागि नै गरेकी छन् । छोरीको दीक्षान्त वैशाख महिनामा अस्ट्रेलियन क्यथोलिक युनिभसिटी, नर्थ सिडनीको आयोजनामा रोजहिल गार्डेनसभित्र द ग्राग्ड पभिलियन हलमा भएको छ भने छोराको दीक्षान्त सन् २०१७ मार्च ३० मा सि क्यु युनिभर्सिटीको मुख्य कार्यालय क्विन्सल्यान्ड राज्यको ग्याडसन सहरमा भएको छ । उनी दुबै समारोहमा अलगअलग समयमा पुगेकी छन् । पहिलोपटक छोरीको दीक्षान्त हुनुभन्दा पन्ध्र दिनअगि नै पुगेर उनले भ्रमणलाई निरन्तरता दिएकी छन् भने दोस्रोपटक सिडनीबाट दुई दिन अगाडि नै ग्याडसन पुगेर त्यहाँको भ्रमण गरेकी छन् । दुबै दीक्षान्त समारोहमा आफ्ना सन्ततिहरू दीक्षित हुँदाको अवस्थामा उनी उत्साहित र भावुक बनेकी छन् । मञ्चबाट छोरी र छोराको नाम सुनाइँदाका दुबै अवस्थाहरूमा उनी हर्षविह्वल मात्र बनेकी छैनन् अपि तु दुबै समारोहमा नेपालीहरूको समेत समुपस्थिति देखेर गर्वानुभूति गरेकी छन् । पहिलोपटक छोरीको दीक्षान्तमा देखिएका सम्भवत: दुर्गम क्षेत्रका नेपाली र दोस्रोपटक आफूजस्तै साडी लाउने नेपालीहरू देखेर उनीभित्र नेपालीपनको स्वाभिमान जागृत भएको छ ।
पहिलोपटक सिडनी बसाइका क्रममा नियात्राकारले सिडनीदेखि ५४७ किमि टाढा कफ्स हार्बरको भ्रमण गरेकी छन् भने सिडनी सहरभित्रकै परिदृश्यहरू र चिडियाघरको समेत अवलोकन गरेकी छन् । त्यसक्रममा उनले कफ्स हार्बर जाँदा देखिएका कैयौँ निर्जन स्थलहरू, बीचबीचका घना जङ्गल र चहुरमा चरिरहेका गाई, भेडा र कतैकतै कङ्गारुहरू, समुद्री किनार र रमणीय पार्कहरू, बालबालिका र युवायुवतीका आआफ्नै क्रियाकलापहरू आदिको वर्णन गरेकी छन् । त्यसरी नै न्यु क्यासल तथा मक्वारीका दृश्यहरूसहित उनले सोलिटरी आइसल्यान्ड, कोस्टार वाल्क, द बिग बनाना, डोरिगा, नाम्बुका हेड्स तथा पिकनिक स्पटलगायत विभिन्न स्थानीय तथा कालिक सन्दर्भहरूको पनि चर्चा गरेकी छन् । उनलाई क्लग बर्न फार्मका परम्परित ढाँचाका काठबाट बनेका जुत्ता, साँचो राख्ने कि-रिङ, खुत्रुके, बच्चाका खेलौना आदिले समेत निकै आकर्षित तुल्याएको छ । कतिपय अवस्थामा उनले नेपालको पोखरा र मुक्तिनाथ यात्राको सन्दर्भसमेत स्मरण गरेकी छन् ।
कफ्स हार्बरबाट करिब ३०० किमिजति टाढा गोलकोस्टको यात्रामा समेत नित्रायाकार सहभागी भएकी छन् । त्यसक्रममा उनले कतै खेती गरिएका फार्महरू देखेकी छन् भने कतै तिनमा प्लास्टिकले बेरेर टनेलजस्तो बनाइएको तथा कतै भव्य रूपमा उखुको खेती गरिएको कुरा पाएकी छन् । उनी गोलकोस्टका भव्य बिल्डिङ र वरपरका हरिया पहाडले घेरिएका ठाउँँहरू हेर्दै सफस प्याराडाइज र नीलों समुद्र किनारका अर्धनग्न जोडीहरूसहित त्यहाँका गेम सेन्टर तथा आर्ट सेन्टर आदिबाट प्रभावित बनेकी छन् ।
यसैगरी दोस्रोपटक छोराको दीक्षान्त समारोहका लागि सिडनीबाट अलि टाढा जानुपर्दा नियात्राकारले कफ्स हार्बरकै जस्तो प्राकृतिक तथा भौतिक सम्पदाहरूको अवलोकन गरेकी छन् । उनले बाटामा कल्पनै गर्न नसकिने उपत्यकाहरू, खाली फाँट र रङबिरङका गाईहरू, गाईभन्दा चौगुना बढी अनुपातका भेडाहरू, कङ्गारु, खरायो, ठूला खाले मुसा र जङ्गली कुखुराहरूलगायत ससाना प्राणीहरूसमेत जङ्गलको छेउछाउ बाटामै हिँडिरहेको देखेकी छन् । त्यसैक्रममा कतै तराईजस्तै सम्म परेको अथाह जमिनमा उखु, मकै, गहुँ, अलिभ, आबोकार्डो, केरा, भुइँकटहरहरूका साथै तिनका धनाढ्य मालिकले सानो खाले एकल प्लेन उडाउने गरेको दृश्यसमेत देखेकी छन् । निर्जन ठाउँँतिरका उद्योगधन्दा, कार फ्याक्ट्री र सिमेन्ट फ्याक्ट्रीहरू हेर्दै उनी ब्रिसबेन र ग्याडसनसम्मको यात्राका लागि हतारिएकी छन् । होटल डिस्कभरि होलिडेज पार्कसमा विश्रामपछि पुन:उनी ग्याडसन सहर र टोन्डोन नेसनल पार्क, लेक ओँगा वरिपरिको जङ्गल, ग्याडसन आर्ट ग्यालरी एन्ड म्युजियम आदिको अवलोकनमा जुटेकी छन् । भनिन्छ, सर जोन ग्याडसन र एन मेकेन्जनका चौथो छोराको रूपमा बेलायतको लिभरपुलमा सन् १८०९ मा जन्मिएका विलियम इबार्ट ग्याडसनको नामबाट ग्याडसन सहरको नामकरण भएको हो ।
नियात्राकारले हन्टर भ्यालीको समेत यात्रा गरेकी छन् । त्यसक्रममा पनि उनले पहिलेकै जस्तो परपर खुला मैदान अनि झुन्डझुन्ड गाई र कतै घोडा चरिहेको देखेकी छन् । कतै धेरै घना जङ्गल पार गरेपछि पुराना नेपालकै तराईका जस्ता काठका ससाना घर र बस्तीहरू देखेकी छन् । निकै बाक्लो बस्ती छिचोलेपछि उनी झापा इलामतिरका चियाबगानजस्ता अङ्गुरबगानमा पुगेकी छन् । अठारदेखि बीस वर्ष पनि ननाघेजस्ता देखिने सुन्दर युवतीहरूले चखाउने थरीथरीका मदिरा र दसबाह्र अर्धनग्न युवतीद्वारा बाटाजस्तो भाँडोमा कुल्चिएका अङ्गुरको झोलबाट वाइन बनाइएको नौलो कुरासमेत उनले देखेकी छन् । त्यस्तै चकलेट फ्याक्ट्रीका राम्रा चिटिक्क परेका केटीहरूद्वारा बनाइने चकलेटका परिकारहरू लिएर निस्किएपछि हन्टरभ्याली नगिचैको बाटो वरपर थरीथरीका स्टेटहरू देखेकी छन् । सायद, ती स्टेट कुनै धनाढ्य व्यक्तिहरूका होलान् भन्ने उनको अनुमान छ ।
वास्तवमा सिडनी सहरभित्रको भ्रमणका क्रममा नियात्राकारले त्यहाँको प्राकृतिक तथा भौतिक दुबैखाले सुन्दरताबारे प्रकाश पारेकी छन् । ठूलाठूला पर्वत, घना जङ्गल, विशाल भ्याली तथा समुद्रले घेरिएका विकसित सहर अनि सहरनजिकै समुद्र छेउछाउमा फैलिएका बगरहरूका कारण सिडनीको अपार सौन्दर्यबाट उनी निकै रोमाञ्चित बनेकी छन् । त्यस्तै सिडनीसँगैको अर्को सहर उलङ्गनको हेलेनस्बर्ग, डाँडामाथि रहेको वैङ्कटेश्वरको मन्दिर, अलि तलको प्याराग्लाइडिङ गर्ने डाँडो, मिन्टोस्थित शिवमन्दिर तथा उलङ्गनस्थित नान तेन मन्दिर र त्यहाँको पेगोडा र कतै गुमुज शैलीका चैत्य आकारका बुद्धमन्दिरहरूबाट पनि उनले पृथक् किसिमको अनुभूति गरेकी छन् ।
जब दोस्रोपटक नियात्राकार सिडनी भ्रमणका लागि निस्किएकी छन् तब उनले त्यहाँको डार्लिङ हार्बरको समुद्री दृश्य, ओपेरा हाउस, एनज्याक ब्रिज, पिरमन्ट ब्रिज, हार्बर ब्रिज, बोन्डाइ बिच, सिडनी टावर, सिडनी अक्वारियम तथा वाइल्ड लाइफ सिडनीभित्रका जीवजन्तु र संसारका चर्चित एवम् महान् विभूतिका प्रतिबिम्बहरूको समेत अवलोकन गरेकी छन् । त्यस्तै अस्ट्रेलियाको युद्ध सङ्ग्रहालय अवलोकनका क्रममा उनी कतै पनि नेपालका जस्ता प्राकृतिक हिमाल, पहाड, तराईका फाँटहरू नेदेखी केवल बनावटी सौन्दर्य मात्रको अवलोकन गर्दै वार मेमोरियल अर्थात् अस्ट्रेलियाको युद्ध सङ्ग्रहालयमा पुगेकी छन् । उनका अनुसार जोन क्रस्ट र इमल सोइर्सनद्वारा डिजाइन भएर बनाइएको सो सङ्ग्रहालय सहिदको सम्झना गर्ने दिन नोभेम्बर ११ सन् १९४१ म्ाा उद्घाटन भएको हो । यसमा विश्वयुद्ध हुँदा प्रयोग भएका तोप, तोप पड्काउने यन्त्र, ट्याङ्कर, ट्रलीलगायत प्रथम र द्वितीय विश्वयुद्धमा प्रयोग भएका अन्य थुप्रै वस्तुहरू र सूचनाहरू राखिएका छन् । तत्कालीन युद्धका बेला प्रयोग गरिएका गोलाबारी, ट्याङ्कर, फाइटर प्लेन, समुद्रमाथि हिँड्ने ठूला सैनिक जहाज, समुद्रको भित्रभित्रैबाट युद्ध गर्न मिल्ने समुद्री जहाज आदिको सङ्ग्रह निकै दुर्लभ र रोमाञ्चक किसिमको रहेको बताइएको छ ।
त्यस्तै तरङ्गा जुजस्तो अनेकौँ पशुपक्षीहरू भएको चिडियाघरमा भ्रमण गर्दा नियात्राकार दीक्षितले तरङ्गा जिओलोजिकल पार्कभित्रका हात्ती, जिराफ, जेब्रा, घोडा, सिंह, बाघ, चितुवा, चिम्पान्जी, गोरिल्ला, पेङ्गुइन, सिल, सुगा र बकुल्लाजस्ता चरा, हाँस, परेवा, चिल आदिका साथै क्वालाले केटाकेटीहरूलाई आकर्षित गरेको, कर्मचारीले बोकेका सर्पले दर्शकलाई लोभ्याएको तथा रेल र केबुलकारले सेवा दिएकोलगायतका विषय सन्दर्भहरूको समेत अवलोकन गरेकी छन् । यसबाट उनी साँच्चिकै हर्षित पनि भएकी देखिन्छिन् । त्यति मात्र हैन उनले नेपालकै जस्तो प्राकृतिक स्थलविशेष ब्ल्यु माउन्टेनको पनि अवलोकनका क्रममा सिडनीबाट चिसो मौसमलाई पार गर्दै पहाडी इलाका, नागवेली परेका बाटा, बस्ती, स्कुल ज़ोनपछि ब्ल्यु माउन्टेनको माथि टुप्पोसम्मकै भ्रमण गरेकी छन् । वस्तुत: उनी थ्रि सिस्टर्स अर्थात् तीन दिदी-बहिनीको नामकरणबाट निक्कै प्रभावितझैँ देखिएकी छन् ।
नियात्राकारले क्यानबेराको समेत भ्रमण गरेकी छन् । यसमा पनि निकै लामो बाटोसम्म प्राय: खालीखाली ठाउँहरू र कतै पनि बस्ती अथवा मान्छे नदेखिएको चर्चा गरिएको छ । उच्याटलाग्दो लामो बाटोमा कतै बाक्ला रूख-जङ्गल आदि देखिए पनि सडक वरपर धेरैजसो घाँंसेमैदान र कतै भेडा-गाईका बथानहरू चर्ने फाँटहरू मात्र देखिएका छन् । यसपटक यात्राको मुख्य आकर्षण प्ाार्लियामेन्ट हाउस रहेको छ, जहाँ ४७०० वटा कोठाहरू रहेका छन् । भनिन्छ, यो भवन १९८१ म्ाा बनाउन सुरु गरेर १९८८ मा सम्पन्न गरी बेलायती महारानी एलिजावेथ द्वितीयको हातबाट उद्घाटन भएको हो । यसबाट क्यानबेरा सहर, अग्लो टेल्स्ट्रा टावर र अर्कोपट्टि युद्धसङ्ग्रहालय स्पस्ट देखिन्छ । सय वर्षजतिको इतिहास बोकेको यो क्यानबेरा सहर सन् १९०८ तिर अमेरिकी आर्किेटेक्चरद्वय वल्टर बर्लि गिफेन र मेरियन मोहोनि गिफेनद्वारा डिजाइन गरिएको थियो ।
यसरी नियात्राकारको पहिलो र दोस्रो भ्रमणसँग गाँसिएका तथा सिडनी र त्यसवरपर रहेका स्थानीय परिदृश्यहरूको सँगालोका रूपमा तेह्रओटा नियात्राहरू तयार भएका छन् । यिनमा नियात्राभित्र रहनुपर्ने स्थानीय रङ र अनुभूतिका साथै घटना, चरित्र, काल, इतिहास, समाज, संस्कृति तथा धर्मदर्शनहरूसहित गतिशील सन्दर्भ र संस्मृतिसमेतको प्रभावकारी संयोजन रहेको पाइन्छ ।
यस नियात्रासङ्ग्रहको उत्तरार्द्धजस्तै बनेर बेलायत भ्रमणका वियषयहरू प्रस्तुत भएका छन् । बेलायत बसाइको अवधिमा खासगरी नियात्राकार दीक्षितले बेलायतका वरिपरि रहेका विभिन्न स्थानहरूको भ्रमण गरेकी छन् । त्यस्ता उल्लेखनीय स्थानहरूमा कार्डिफ, प्लेमाउथ, स्कटल्यान्ड, स्वान्सी, रोमनबाथ, अक्सफोर्ड र ब्रिस्टल आदि क्षेत्रहरू रहेका छन् । त्यसैक्रममा उनी बेलायतका मठमन्दिर र साहित्यकार कृष्ण बजगाईँको घरमा समेत पुगेकी छन् ।
नियात्राकारले वेल्सको राजधानी कार्डिफको यात्राका क्रममा पनि अस्ट्रेलिया भ्रमणमा जस्तै आफूले देखेका प्राकृतिक तथा भौतिक दृश्यहरूको चित्राङ्कन गरेकी छन् । उनले बेलायतीहरूद्वारा सुरक्षित राखिएका प्राचीन घर-बङ्गला र मार्गहरूको प्रशंसा गरेकी छन् । त्यस्तै त्यहाँ पाइने मकै, तोरी तथा गहुँ आदि अन्नबालीको आधुनिक खेती तथा भेडा र गाईहरूको व्यवस्थित चरनबारे प्रकाश पारेकी छन् । कर्डिफ सहर, युनिभर्सिटी र नेसनल एसेम्ली फ़र वेल्स्ाको आकर्षणका पक्षहरूलाई उनले नजिकबाट नियालेकी छन् । कार्डिफजस्तै अर्को सहर प्लेमाउथमा भान्जीको आग्रहका कारण भ्रमणका लागि निस्कँदा उनले ब्ाटाभरि देखिएका ससाना चुच्चा हिमालजस्ता छाना भएका झुरूपप घरहरू, कतै उम्रिएका र कतै पाकिरहेका गहुँखेतीका फँाटहरू, गाईका बथानहरू, समुद्री मालवाहक जहाजहरू, बन्दरगाह, होटल, रेस्टुराँ, गानाबजाना, खेलकुद, वाटिका वा बगैँचा र माउन्ट बेटनका दृश्यहरूको समेत चर्चा गरेकी छन् । उनले समुद्री खोलाद्वारा छुट्ट्याइएको प्लेमाउथ र कोनवालको सन्दर्भसहित टाङ्गो र लुइ नदीका ठूलाठूला जहाजहरूको पनि अवलोकन गरेकी छन् ।
अर्को स्कटल्यान्डको यात्राका क्रममा पनि उनले बाटामा देखिएका थुम्काथुम्की, पाखोबारी र गहुँका बाला आदिको वर्णन गरेकी छन् । शताब्दियौँ पहिले बनेका भए पनि भर्खरै बनेकाजस्ता एडिन्बराका बुट्टेदार ढुङ्गाले बनेका नौलाखाले घर, अग्ला र टम्म परेको सहर र चोकहरूबारे प्रकाश पारेकी छन् । उनलाई स्कटल्यान्डका कतिपय दृश्यहरूले नेपाली मन्दिरका टुँडाल र काठका खाँवाहरूमा कुँदिएका सजीव मूर्तिजस्तै सम्झना गराएको छ । स्वयम्भूनाथ र गोर्खा दरबारको समेत स्मरण गरेकी छन् । एडिन्बरास्थित जिओलोजिकल नेसनलपार्कको पेङ्गुइनबाट उनी निकै प्रभावित बनेकी छन् । त्यस्तै भान्जाबाबुको बस्ती एबोर्डिनस्थित स्टोन हेभन अर्थात् ढुङ्गाको स्वर्ग किनारादेखि पर समुद्रमाथिसम्म देखिएका ती पानीका छालले खियाएर बनेका थुप्रै ढिस्काहरू हेर्दा उनी आश्चर्यचकित भएकी छन् । महिलाले लगाउने स्कट लगाएका स्कटिसहरू र इन्डियन रेस्टुराँबाट पनि उनी प्रभावित बनेकी छन् ।
वेल्स राज्यको स्वान्सी सहरमा पुग्दा देखिएको समुद्री खोला, ब्रिस्टल च्यानल र पुलमाथिको अनुभूतिलाई नियात्राकारले रोमाञ्चक ढङ्गबाट उतारेकी छन् । साथै त्यहाँ २,२५,००० जति दर्शहरूद्वारा हेरिएको एयर सोको वर्णनलाई अद्भुत किसिमले प्रस्तुत गरेकी छन् । एयर सोका क्रममा समुद्रमाथिको आकाशमा गडगडाएर उडेका छवटा फाइटर प्लेन, भिडको कोलाहल, टाढाबाट चिलजस्तो देखिने तर नजिक पुग्दा अजङ्गको देखिने प्लेन, तिनको गति र त्यहाँको विचित्र प्रदर्शनीलाई उल्लेख गरेकी छन् ।
बेलायत आएको तीन महिनापछि उनी ब्रिस्टलबाट लन्डन आएकी हुन् । त्यसक्रममा उनले लन्डन सहरभित्रका अनेकौँ सन्दर्भहरूलाई सूक्ष्म रूपले चित्रण गरेकी छन् । खासगरी त्यहाँको गाडी पार्क गर्ने समस्या, रेलवे स्टेसनको परिदृश्य, जमिनमुनिको संसार र तल्लैपिच्छेका बाटाहारुबारे वर्णन गरेकी छन् । त्यस्तै व्यस्त सहर, थेम्स रिभरको सेरोफेरो, दुईतले फेरी, हाउस अफ प्ाार्लियामेन्ट, एलिजाबेथ टावर, वाटर लु ब्रिज, ब्ल्याक फइज ब्रिज, मिलेनियम ब्रिज, लन्डन ब्रिज र सँगैको टावर ब्रिजको पनि वर्णन गरेकी छन् । उनले लन्डनभित्रै रहेका हेरिपोटरको अभिनय गर्नेले पढेको सिटी अफ लन्डन स्कुल, सेक्सपियरको ड्रामा थिएटर, विश्वयात्रा गरेको ८०० वर्ष पुरानो जहाज, टावर अफ लन्डन सार्ड हाउस, लन्डन हस्पिटल, ड््रयागनको प्रतिमूर्ति, मेमोरियल हाउस, बकिङ्गम प्यालेस, शाहीपार्क, हाइड पार्क, टर््याफलगार स्क्वायर, रातो कुखुराको भाले, टावरब्रिज, ‘ओटु एरिना’, गाना-बजाना, नाटक आदि देखाउने र फिल्म हेर्ने छुट्टाछुट्टै ठाउँँ भएको विश्ााल भवन, अरिना क्यानरी वार्फ, क्युटि सार्क, ग्रिनिच पार्क तथा मिस ब्रिटेन-३ जहाजसँग गाँसिएका अत्यन्त रोमाञ्चक तथा आकर्षणशील विषयहरूलाई जीवन्त किसिमबाट प्रस्तुत गरेकी छन् ।
त्यसरी नै बाथसहरको भ्रमणका क्रममा दीक्षितले प्राचीन सिक्का, धातु, वस्तु वा सम्पदाहरूको अवलोकनपश्चात् तातोपानीलाई पनि गन्तव्य बनाएकी छन् । उनले तातोपानीबारे सुनेको किंवदन्तीअनुसार कुष्ठरोगका कारण निष्कासित राजा र तिनले पालेका सुँगुरहरूको समेत उपचार गर्न सक्ने दैवीशक्ति भएको क्षेत्र तातोपानी हो । त्यस्तै उनले सुलेस मिनरभाको मूर्तिबारे जिज्ञासा राख्दै र ऐतिहासिक सन्दर्भहरू सुन्दै रोमन बाथको नगिचै रहेको बाथ अबी, युनिभर्सिटी अफ बाथ र फेसन म्युजियम आदिको अवलोकन गरेकी छन् । बाथ सहरमै अर्को दिन उनले कृष्ण बजगाईँसँग बेलायतकी प्रसिद्ध साहित्यकार जेन अस्टिनको निवास अवलोकगन गर्दै इन्डियन कवि मोहन राणासँग भेट गरेकी छन् । त्यसक्रममा कविको शेष अनेक कवितासङ्ग्रह र नियात्राकारको सम्बन्धका घुम्तीहरू (कथासङ्ग्रह) बारे विचारहरू आदानप्रदान भएका छन् ।
नियात्राकार दीक्षितले ब्रिस्टलबाट अक्सफोर्डको अवलोकनका लागि समेत यात्रा तय गरेकी छन् । उनले त्यसक्रममा पनि सहरी बाटाको ट्राफिक जाम, सहरबाहिरको खाली-खाली ठाउँ र कतै गहुँ, मकै र तोरीका फाँटिला दृश्यहरूको अवलोकन गरेकी छन् । उनलाई त्यस क्षेत्रमा ठूलो खेती गर्ने वा पशुपालन गर्ने किसानहरू धनाढ्य वर्गमा रहेको थाहा भएको छ । यात्राकै क्रममा उनले ज्वाइँँले पढेको डिफेन्स एकेडेमी अफ युनाएटेड किङडम, इङ्गल्यान्डको पुरानो सहर अक्सफोर्ड, विश्वका ठूलाठूला विशिष्ट व्यक्तिहरूले पढेको अक्सफोर्ड युनिभर्सिटी र त्यहाँका शिलानिर्मत भवन तथा सालिकहरुको अवलोकन गरेकी छन् । युनिभसिटी हातामै रहेको ठूलो चर्च, जिजसक्राइस्टको क्रस आकारको प्रतिमा र मदर मेरीको सौम्य मूर्तिलगायतका अन्य थुप्रै मूर्तिहरूको पनि अवलोकन गरेकी छन् । अक्स्फोर्डमा सन् १०९६ देखि पढाउन सुरु गरिए पनि सन् ११६७ देखि राजा हेनरी द्वितीयले विधिवत् रूपमा सर्वसाधारणलाई पठनपाठनका लागि व्यवस्था मिलाएको मान्ने गरिन्छ । नियात्राकारलाई तत्काल नेपालको त्रिभुवन विश्वविद्यालयको हालबारे स्मरण हुँदा केही क्षण पिरोलेको देखिन्छ ।
नियात्राकारले ब्रिस्टललाई पटकपटक गरी फन्को नै मारेकी छन् । छोरीज्वाइँसँगै ब्रिस्टलको हेइज क्लोजमा बस्ने भएकीले उनलाई यो अवसर मिलेको हो । उनले बेलायतका चारवटा राज्यमध्ये इङ्गल्यान्ड, स्कटल्यान्ड र वेल्स घुमिसकेकी छन् । नेपालमा दसैँ लागेझैँ जुन-जुलाईमा बेलायतका विभिन्न ठाउँहरूमा मेला नै लाग्ने गरेको छ । हाबर साइडतिर पनि मेला लागेकाले घुमन्ते व्यापारीका स्टल, कतै नाचगान, कतै सर्कस, कतै फरकफरक उमेरका व्यक्तिका लागि मनोरञ्जनात्मक खेलहरू भइरहेका हुन्छन् । ब्रिस्टलबासीहरू कोही पनि घरभित्र छैनन् भनेजस्तै ब्रिस्टल हार्बरनजिकै रहेको क्यासल पार्कतिर भरिएका देखिन्छन् । नियात्राकारले मेलाको अवलोकनका साथै क्विन स्क्वायर पार्कको साइडमा रहेको ब्रिस्टल काउन्सिल, वाइल्ड लाइफ ग्यालरी, डाइनोसरसको आकृति, डोडो, सेन्ट मेरी रेडक्लाफ चर्च र क्लिफ्टनको झोलुङ्गेपुल आदिको भ्रमण गरेकी छन् ।
ब्ोलायत क्रिस्चियन राष्टर््र भए पनि नियात्राकारले यहाँको धार्मिक सहिष्णुताबारे प्रकाश पारेकी छन् । उनले यात्राका क्रममा चर्चका अतिरिक्त मन्दिर, मस्जिद र गुरुद्वाराहरू पाइलैपिच्छे रहेको पाएकी छन् । ब्रिस्टल सहरमा अवस्थित ठूलो चर्चभित्र प्रवेश गर्दा त्यहाँ भव्य हिन्दू मन्दिर र ठूलाठूला देवीदेवताका मूर्तिहरू रहेको देखेकी छन् । त्यहीँ शिवलिङ्गमाथिको अटुट जलधारा, नन्दी, पार्वती, गणेश, कुमार, हनुमान्् र श्रीडीबाबा आदिका मूर्तिहरूको दर्शन गरेकी छन् । त्यसरी नै सुन्दर गरगहनाद्वारा सुशोभित देवीहरूको आकर्षक र उज्ज्वल मूर्तिहरू देखेर उनी स्तब्ध बनेकी छन् । त्यस्तै उनले इङ्गल्यान्डका रेडिङ र साउथहलजस्ता अन्य सहरहरूमा समेत हिन्दू टेम्पलहरूभित्र राम, लक्ष्मण, सीता, हनुमान््, लक्ष्मीनारायण, भगवती दुर्गा, उमामहेश्वर र गणेश आदिका मूर्तिहरूको दर्शन गरेकी छन् । उनले लन्डन घुमाइकै क्रममा पनि विशाल इस्कोन हरेकृष्ण मन्दिर परिसरका ती भिक्टोरियन जमानाका जस्ता देखिने लक्ष्मणसहित सीताराम र राधाकृष्णका मूर्तिहरूको अवलोकन गरेकी छन् । त्यस्तै दुर्गमजस्तै क्षेत्रमा रहेको पहाडी जङ्गलको स्कन्द भेलमा पुगेर पूरै पहाडको फेदीदेखि नै देवीदेवताका मन्दिर र मूर्तिहरूको अवलोकन गरेकी छन् । त्यहाँ उनले राजहाँसलगायत विभिन्न चराचुरुङ्गी र नगिचै हरिणहरू चरिरहेका दृश्यहरू पनि देखेकी छन् । त्यहीँ महाकालीसहित देवदेवीका मूर्तिहरू, शिवलिङ्ग, बूढानीलकण्ठ, चतुर्मुख ब्रह्माजी आदिका मूर्तिहरूको पनि अवलोकन भएको छ । यी मन्दिरहरुमा कतै क्रिश्चियनहरुद्वारा वदेमन्त्रले पूजा गराइएको देखेर उनी आश्चर्यचकित समेत भएकी छन् ।
ब्रिस्टलमा बस्दाबस्दै पुस्तक विमोचनका दिन झुलुक्क देखिएका कृष्ण बजगाईँको फोनका कारण समय मिलाएर नियात्राकार त्यसतर्फ निस्किएकी छन् । निकै लामो बाटो पार गरिरहँदा प्राय: फोनमा मात्र चिनिएका र राम्ररी साक्षात्कारसम्म नभएका व्यक्तिको घर कस्तो होला भन्ने उनमा जिज्ञासा जागेको छ । तीन घण्टाको बाटो तय गरेर कृष्णजीको घर पुग्दा उनकी पत्नी साहित्यकार सञ्जु बजगाईँले समेत मिठो मुस्कानसहित स्वागत गरेकी छन् । सोही समयमा लन्डन घुम्न आएका नेपालका साहित्यकार छविरमण सिलवालसँग पनि भेट भएकेा छ । सानो चिटिक्क परेको लन्डनेघरमा सत्र र एघार वर्षजतिका दुई छोरासहित कृष्ण दम्पति बसेको देख्दा नियात्राकारलाई खुसी लागेको छ । सञ्जुले बनाएका अनेकौँ परिकारहरू अचम्म मान्दै ग्रहण गरिएको छ । विदेशमा बस्नेहरूको जीवन अति खटिनुपर्ने भए पनि उदार मन र स्पष्ट वक्ताका रूपमा चिनिने कृष्ण बजगाईँको निरन्तर क्रियाशीलता र साहित्यसाधना देखेर नियात्राकारले वास्तवमै उनी प्रशंसनीय रहेको अनुभूति गरेकी छन् ।
यिनै यात्राका क्रममा नियात्राकारले दुदुईपटक फरकफरक चरित्रका व्यक्तिहरूसँग सङ्गत गर्नुपरेको छ । देस्रोपटक सिडनी जाँदा उनीसँगै सिटमा बसेकी अत्यन्त मिजासिली, हिम्मतिली वा आदर्शवादी चरित्रका रूपमा देखापर्ने गजुरेल्नी वृद्ध महिलाका विचार र संसर्गबाट उनी प्रभावित बनेकी छन् । साथै, दाजुको छोरा भदाले समेत विदेश घुमाउन बोलाउँदा रहेछन् भन्ने जानकारी तिनै महिलाबाट प्राप्त भएको छ । तर, तेस्रोपटकको यात्राका क्रममा आफूसँगै रहेकी महिलाको व्यवहारले उनलाई खिन्न तुल्याएको छ । त्यसवेला सँगै बसेकी महिलाले कुनै आत्मीयता नदेखाएपछि र आफूलाई झ्यालतिर हेर्न नदिएपछि नियात्राकार दिक्क भई उठेरै बाहिर हेर्न बाध्य भएकी छन् । जब कि दोस्रो पटककै यात्राका क्रममा सिङ्गापुरमा भेटिएका दम्पतिहरूको सहयोग पनि अविस्मरणीय रूपमै रहेको पाइन्छ । हुन त हरेक यात्राका क्रममा नियात्राकारले परिचारिकाहरूको सुन्दरता, हिस्सीपन, मिलनसारिता र कर्तव्यनिष्ठताजस्ता विशेषताहरूको मुक्तकण्ठले प्रशंसासमेत गरेकी छन् । त्यस्तै कफ्स हार्बरका भान्जाबाबुको सहृदयी मन, ज्वाइँसाहब र अन्य चरित्रहरूको प्रशंसा पनि उनीबाट भएकै छ । वस्तुत: नियात्राभित्रको एउटा प्रमुख पक्ष भनेको यात्राका क्रममा देखिएका चरित्रहरूको जीवन्त अङ्कन गर्न सक्नु पनि हो ।
यसरी प्रस्तुत नियात्रासङ्ग्रहभित्र भ्रमणजन्य अनुभूति र तत्कालीन परिदृश्यहरूसहित महŒवपूर्ण सूचनाहरू पनि समेटिएका छन् । अस्ट्रेलियाको सिडनी र बेलायतको ब्रिस्टललाई केन्द्रविन्दु मानेर फरकफरक स्थलहरूको भ्रमणका क्रममा खासगरी खाली फाँट, पशुपक्षी, खेती, जङ्गल, समुद्र, फेरी, वाटिका, चिडियाघर, सहर, विश्वविद्यालय, चर्च, मन्दिर, मनोरञ्जनकेन्द्र, सङ्ग्रहालय तथा विशिष्ट व्यक्तित्वसँगका साक्षात्कारमा आधारित विषयहरूको जीवन्त चित्रणसहित र ऐतिहासिक सन्दर्भहरू पनि प्रस्तुत भएका छन् । यिनले हरेक क्षेत्र र परिवेशभित्रको साक्षात्कारसँगै नियात्राकारका मनमा उत्पन्न हुने अनुभूतिहरूले नयाँनयाँ तथ्यहरूको प्रस्तुतिसँगै नेपालका कतिपय सन्दर्भहरूको समेत स्मरण गराएका छन् । अस्ट्रेलियन र बेलायतीहरूद्वारा अपनाइएको दूरदर्शिता, ऐतिहासिक वस्तुको संरक्षण, आधुनिक कृषि प्रणाली, पर्यटन प्रवर्धनका लागि दिइएको महŒव, मानिसको भ्रमणशीलता र मनोरञ्जनात्मक प्रवृत्तिलगायतका कुराहरूलाई समेटेका छन् । नियात्राकारका हरेक अनुभूतिहरू पाठकका लागि साधारणीकरण हुने किसिमका भएकाले पनि यी नियात्राका विषयवस्तुहरू नितान्त नौला र अनुभूतिगम्य रहेका छन् ।
वस्तुत: नियात्राकार इन्दिरा दीक्षितको यो दोस्रो प्रकाशित कृति भए पनि नियात्रासङ्ग्रहका दृष्टिले यो पहिलो कृति हो । यसमा उनले आफे देखेका, अनुभूति गरेका र भ्रमण गरेका स्थलहरूको सूक्ष्म र जीवन्त विवेचना रहेको छ । आत्मपरक शैलीमा लेखिएका यी नियात्राहरूको आयतन कतै विशालतातिर उन्मुख भए पनि धेरैजसो मध्यम प्रकृतिका रहेका छन् । उनका पाइलाले जहाँजहाँ विचरण गरेका छन् त्यहीँत्यहीँ कुनै न कुनै नौलो अनुभूति, रङ र सूचनाको स्रोत प्राप्त भएको छ । उनी मसिना कुराहरू केलाउनमा जति कुशल देखिन्छिन् त्यति नै ऐतिहासिक तथ्यको खोजीप्रति पनि तटस्थ बनेकी छन् । हो, तथ्यहरूको बाहुल्यका कारण उनीभित्रको कलात्मक शिल्पी केही शिथिल बनेको छ तापनि विचरित पाइलाहरूले दुई राष्ट्रको समग्र छविलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसरी नेपाली साहित्यमा एउटै कृतिभित्र प्राकृतिक तथा भौतिक किसिमका स्थानीय रङ, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सन्दर्भ र साहित्यकारसँगको भेटमा आधारित नियात्राहरू समेटिएकाले पनि यसको गरिमा बढेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु