प्रणाम ब्रहमपुत्र कवितासङ्ग्रहको एक झलक

- सदानन्द अभागी

परिचय
देवीमाया सापकोटाको परिचयतिर लाग्नु भन्दा मैले डिगबोईका मेरा श्रद्धेय गुरुहरू अग्निबहादुर क्षेत्री र हरिभक्त कटुवाल साथै गुरुआमा चन्द्रकला नेवारलाई स्मरण गर्न चाहान्छु । हरिभक्त कटुवालको प्रेरणा र नेपाली विद्यार्थी संघ डिबोईले विभिन्न समयमा सञ्चालन गर्दै आएका साहित्यिक एवम् भानुजयन्तीजस्ता विद्यार्थीद्वारा सञ्चालित साहित्यिक कार्यक्रम बाटै मेरो साहित्यि यात्राको थालनी भएकको हो । अब म देवीमायाको साहित्यि कृतितिर लम्कन चाहान्छु । देवीमायाको यो कृति पनि मैले दुलियाजान कला –साहित्य मञ्चले ‘अभिव्यक्ति ’ रजत जयन्तीको उपलक्ष्यमा आयोजना गरेको अन्तराष्ट्रिय नेपाली साहित्य समारोह (३१ मार्च र ०१ अप्रैल २०१८)मा श्रीमती देवीमाया सापकोटाबाट सम्झना स्वरूपमा प्राप्त गरेको थिएँ । आज यसलाई अध्ययन गर्ने मौका जु¥यो र पढ्न थाले साथै मनमा लागेका केही कुराहरू पनि लेख्न थाले । देवीमायाको लेखक परिचयलाई अध्ययन गर्दा देवीमायाको जन्म तिनसुकिया, वरगुरी, असममा पिता गोपाल क्षेत्री (कार्की) र माता मीना क्षेत्री (पौडेल) की पुत्री रत्नको रूपमा सन् १९७० को मार्च ३१मा भएको थियो । कला साहित्यमा स्नातक गरेकी देवीमायाको ८÷९ वर्षको स्कुले जीवनबाटै गायनमा झुकाउ बढेको देखिन्छ । गीत, कविता, भजन र गजलमा उनको कलम चल्छ । आधुनिक गीत, लोक गीत, भजन, ज्योति सङ्गीत, राभा सङ्गीत, भुपेन्द्र सङ्गीत, वरगीत, वनगीत, विहुगीत, समवेत गीत र तीज गीत उनको गायन शिक्षा हो भने हारमोनियम, तालपुरा र मादल जस्ता वाद्ययन्त्रमा पनि उनको दखलता देखिन्छ ।
सामाजिक संस्थाहरूमा सहभागिता –
देवीमाया सापकोटा साहित्य र सङ्गीतमा मात्र नभै विभिन्न संघ संस्थाहरूमा पनि उनको आवद्धता देखिन्छ । उपसभापति श्रीश्री एग्रीमृन्ट लाईन दुर्गापूजा कमिटि र असम गोर्खा सम्मेलन डिगबोई शाखा, श्रीश्री एग्रीमेन्ट लाईन दुर्गापूजा कमिटिबाट किर्तन मण्डलीमा जडित (१९८९ बाट) ,सांस्कृतिक सचिव नारी कल्याण समिती (२००६ बाट), सहसचिव जी–टेक प्रकाशन, डिगबोर्इ (२०१७ बाट), मुख्य सदस्य श्रीश्री नेपाली विष्णु मन्दिर समितिमा आबद्ध हुनुको साथै विभिन्न संस्था एवम् संगठनहरूद्वारा आयाजित नृत्य प्रतियोगिता, गायन प्रतियोगिता तथा कविता पाठ प्रतियोगिताहरूमा निर्णायकको भूमिका पनि उनले निभाउने गरेकी छन् ।
कृतिको संरचना – आवरण पृष्ठको अग्रभागमा ब्रह्मपुत्रको सुन्दर चित्रले सजिएको छ भने पछिल्लो आवरणमा कृतिकारको चिनार दिइएको छ । भित्री भाग ६३ पृष्ठको छ । यस कृतिको प्रकाशन जी–टेक प्रकाशनले गरेको छ र मूल्य रु १०० राखिएको छ । देवी मायाले यस कृतिलाई पिताश्री गोपाल क्षेत्री र माताश्री मीना क्षेत्रीमा समर्पण गर्नु भएको छ । ५० ओटा कविताले यस कृतिमा स्थान पाएका छन् ।
कृति र कृतिकारप्रति साहित्यकारहरूको धारणा–– हीरालाल शर्माले प्रकाशकीयमा देवीमाया सापकोटाको पहिलो कविता ‘मान्छेको नाटक बुझिन्न’ मुहान अङ्क ६मा प्रकाशित भएको र समयले निखार्दा–निखार्दै कृति प्रकाशनसम्म ल्याएको र लेखनमा निरन्तरता देख्न चाहेको धारणा राख्नु भएको छ । खडकराज गिरीले लेख्नु हुन्छ –‘‘ .... आजका दिनमा भने देवीमाया सापकोटालाई डिगबोईकी सक्रिय नारी लेखिका रूपमा लिन सकिन्छ ’’ । प्रा. डिगबोई काँलेजका देवीचरण सेढाईले प्रणाम ब्रह्मपुत्र कविताका केही पक्ष विपक्ष शीर्षकमा लेख्नुहुन्छ –‘‘.. अर्धशतक कवितालाई समेटेर आफ्नो मनोभाव र अन्तर मनका भावनाहरू पोखेर देखाउन सक्षम भएकी श्रीमती सापकोटाको ‘प्रणाम ब्रह्मपुत्र’ जाातीय चेतना र मानव मस्तिष्कलाई खोराक दिनसक्ने किसिमले आएको छ ’’ पृष्ठ (५१) । देवी मायाले केही भन्नु पर्दा शीर्षकमा लेख्नु हुन्छ –‘‘ बिहान भयो, मिरमिरे उज्यालोले अँगालेर आफ्नो काखमा राख्यो, म स्पूmर्त भएँ कता कता मन बोल्न थाल्यो, भावनाहरू कल्पनाको धुरीबाट बग्दै गए अनि बग्दै गए मन उत्साहित हुँदै गयो, कपी र कलम समाती भावनाहरू बटुल्दै गएँ , आशा, आकांक्षा, कल्पना र संघर्ष अनि धैर्यका अनुभवहरू सरितासरि बग्दै गए ’’ । बास्तवमा देवीमायाका धारणासरि नै स्वत स्पूmर्त मनोभावनाको प्रस्फुटनबाट नै कविले कविताको सिर्जना गर्दछन् ।
कृतिभित्र प्रवेश गर्दा – यस कृतिको पहिलो कविता हो प्रणाम ब्रह्मपुत्र र यही प्रणाम ब्रह्मपुत्र कविता बाटै यस कृतिको नामाकरण पनि भएको छ । ब्रह्मपुत्रको किनारमा युगौंदेखि विशाल हृदयका मानिसहरूको बसो बास भएको छ, यहाँका मानिसको सोच, सभ्यता–संस्कृति विशाल छ ,यही ब्रह्मपुत्रको उत्पादित अन्न र जल मानिसको रगतमा बगेको छ, जीवन सार्थक बनेको छ , यहींका अनेकौ धर्म–संस्कृतिका सरिता बगेर ब्रह्मपुत्रमा मिल्दछन् भन्दै कवयित्रीले ब्रह्मपुत्र महातीर्थ हो र यहाँ जन्मनु ओहो भाग्य हो जस्ता धारणा पस्कदै प्रणाम ब्रह्मपुत्र भनेकी छन्। बास्तवमा यस कवितालाई यस कृतिको मङ्गलाचरणको रूपमा लिन सकिन्छ । क्याक्टस रमाउँछ –मरूभूमिमा पानीको अभाव, रात्रीमा चिसो बालुवा, दिनमा सूर्यको किरणले बालुवा तातेर अग्निको रूप लिन्छ तर क्याक्टस नआत्तिई प्रकृतिलाई नतमस्तक गर्दै आफ्नो सिद्धान्तमा अटल हुन्छ । ‘‘आशाको रूखले प्रभातको किरणलाई पर्खिन्छ निरन्तर मरूभूमिको बालुवामा’’ भाव सहित योृ कविताको बिट मारिएको छ । मरूभूमिको जीवन कष्टदाई हुन्छ तर पनि जीवन जीउनको लागि आशाले प्रभातको किरणलाई खोजैको हुन्छ भन्ने धारणा आएको छ । सर्जकको अर्को बिम्ब–मानव जीवन अनमोल छ । मानवमा भेटिने सर्वगुणको अधिकारी अरूमा भेटिदैन, आँखामा तेज, शिरमा ब्रह्माण्ड, बाहुबलमा दुई हात, स्थिरताको लागि दुई पाउ छन् । तिम्रो इच्छामा धरातल उज्यालो बन्ने, पहाडलाई मैदानमा परिणत गर्न सक्ने, उर्लेको खोला फर्काउन सक्ने ढुङ्गो माटोमा हिडेर युद्धको मैदान जित्न सक्छौ त्यसो हुँदा नडराई हृदय एकाग्र बनाई आपूmलाई तुच्भ्छ नसम्झी, हरेश नखाई, निष्ठवान सोचलिई अघि बढेमा शत्रु शरणमा पर्छन् आँधी असिना थामिन्छन् रफेरी नयाँ बिहानी आउँछ भन्ने धारणा आएको छ । संक्षेपमा भन्दा मानिस जीवन अनमोल छ । मानिसले चाहेमा सबै काम गर्न सक्छ तर हरेश नखाई निष्ठवान भएर अघि बढ्नु पर्छ भनिएको छ । अन्तर्मन –यस कवितामा कवयित्रीले पूजा गर्दा आस्थाले मात्र पूजा सम्पन्न हुँदैन पूजा सफल हुनत आत्माबाट हुनुपर्छ, भक्ति द्रव्य नभए पनि श्रद्धाको पूmलबाट हुन्छ, श्रमदान असल दान, छोरी मात्र नभएर धर्मछोरीको कन्यादान उत्तम दान, विद्वान भएर महान हुँदैन महान हुनलाई त विद्यादान गर्नु पर्छ, धर्म गर्नको लागि मन सफा हुनु पर्छ, भौतिक सुख उपभोग भन्दा मानव सेवा गर्दा धेरै सुखी हुइने,बलि प्रथा अङ्गालदा मात्र ईश्वर खुसी हुँदैनन्, ईश्वर खुसीपार्न त विकार त्याग्नु पर्छ, ईश्वय( रचयिता)ले कहिल्यै विध्वंस गर्दैन बरु प्रकृति मोहक हुन्छ र कसैलाई कष्ट दिदैंन भन्ने धारणा आएको छ । संक्षेपमा भन्नुपर्दा ईश्वरलाई खुसी पार्न त स्वच्छ मन, श्रद्धा, मानव सेवा र विकारको त्याग हुनु पर्छ धन,जप पाठ भौतिक सुखभोगबाट सुख मिल्दैन र ईश्वर खुसी हुँदैनन् भन्ने धारणा आएको छ भन्न सकिन्छ । सुख – यस कवितामा कवयित्रीले सुख के हो त भन्न खोजेका चार पङ्क्तिलाई यहाँ उद्धृत गर्न मन लाग्यो –
‘‘सुखको हुन्न स्वरूप
जीवनको अनुभूति हो,
सुकर्मले भेटेको सन्तुष्टि
सुखको परिणाम हो’’
सुखको अनुभूति गर्न त मनमा शान्ति चाहिन्छ, सोच राम्रो राख्नु पर्छ, ज्ञान आर्जन गर्न सक्नुपछ र स्वत सुखको अनुभूति हुन्छ । धनले शान्ति र सुख किन्न सकिदैन ।सुन्दर धारणा आएको छ । महत्त्वकाङ्क्षा –समसामयिक यथार्थतालाई पकडेको छ कविताले । आजको समाजमा कमाउने होड छ, विलासितामा डुबुल्किएको समाजले खाना नभए पनि विलासिता समानको प्रयोगगरेको छ । असिमित आवश्यक्ता, अङ्ग प्रदर्शन, भााषा, संस्कार, मनका रहर आदि हराएको धारणा आएको छ कवितामा ।
जीवनकाो मूलमन्त्र –मेरो पनि धाराणा छ जीवन सङ्घर्ष हो । कवयित्रीले पनि ‘सङ्घर्षचाहिं जीवनको मूल मन्त्र हो’ भन्ने धारणा राख्नु भएको छ । कवियित्रीको धारणा छ कि जीवन भनेकै समस्यासित लड्नु, परिस्थितिसँग सम्झौता गर्नु विपदमा धैर्य लिनु, जीवनको मिठो स्वाद लिन जीवनका ओराली उकालीको मार्ग समाएर अघि बढ्नु, सुख र दुःख भोग्नु, दिनपछि रात हुन्छ, सानोबाट ठूलो भइन्छ । ज्ञानी मानिसले दःुखमा हार मान्दैन र सङ्घर्षचाहिं जीवनको मूल मन्त्र हो ’ भन्ने जानेको हुन्छ । पालो– यस कवितामा कवयित्रीले समय आफ्नो बाटो हिडिरहेको हुन्छ मानिसले धनको लागि समय र बल फाल्छ । दया सहानुभूति कर्मको क्षय भएको मानिसले थाहै पाउँदैन जब थाहा पाउँछ त्यति वेला जानेपालो आइसक्छ भन्ने धारणा आएको छ ।अस्तित्व– अस्त्त्वि जोगाउनको लागि धेरै बाधा अड्चन देखा पर्दछन् इष्ट मित्र टाढा हुन सक्ने, सहारा नभेटिन सक्छ, एक्लो महसुस हुन सक्छ तर प्रयास ग¥यो भने शिखरमा पुगिन्छ भन्ने धारणा राखिएको छ । तरङ्ग– यस कविताका तीन टुक्रा छन् । तीनवटैको भावनहरूा फरक देखिन्छन् प्रथम श्लोकमा जीवनको तरङ्ग र जीवनको रङ्गले क्षण भर उमङ्ग ल्याउँछ र स्वयम् विलुप्त हुन्छ भनिएको छ । दोस्रोमा ‘ऋृतुको आगमन, रङ्गको उपभोगमा हृदयमा अङ्कुरित अभिलाषा मेटिन्छ ’भनिएको छ र तेस्रोमा ‘परिस्थितिले टक्र्¥याउँछ परिवर्तनको सौगात । शून्यको सृष्टि शून्यमा बिलाउँछ’ भनिएको छ । ऐनाभित्रको अनुहार–कवयित्रीले यसमा जीवको जीवनको परिवर्तनलाई ऐनाले जस्ताको तस्तै देखाइदिने र कृतिम श्रृङ्गारले कुनै परिवर्तन ल्याउन खोजे पनि समयको प्रवाहले प्रमाण छोड्ने समय साँचो र बलवान हुने भएकोले सत्यको परिभाषा लुकाउन सकिदैन भन्ने धारणा राखिएको छ । पूmल–यस कवितामा अर्कालाई पूmलले अल्पआयुमै बलिदान दिने, मन्दिरमा सजिने, प्रेमिकाको चुल्ठोमा बेह्रिने यौवनरूपी कोपिलाको जीवन त्याग्दै फुल्ने, सबैको मनमा खुसी बाँड्ने पत्रदल झरेर अस्तित्व किन गुमाउँछ्यौ भन्दै प्रश्न राखिएको छ । पूmल सौन्दर्यकी प्रतीक हुँदा हुँदै पनि पूmलप्रति सोच्ने मानिसमा समय नभएको धारणा आएको छ कवितामा । सृष्टिको आशा –‘अनुपम सृष्टिको आशा गरौं जसले शून्यतामा भरिदिन्छ ज्ञान’ भन्दै कवयित्रीले राम्रो मानिसका ेखोजी गर्दा सुख दुःखमा साथ मिल्ने, सत्यताको खोजी, अन्यायको बीजलाई गोडेर फाल्ने, कठिन परिस्थितिमा पनि संघर्ष गर्ने, ‘नव सृष्टिको रचना गर्दै सधैं ज्ञानको ज्योति बाल्ने र नवपीढीको पदापर्णमा स्वागत गरेर धर्तीमा नयाँ किरण फैलाउँ भन्ने आवहान गरेकी छन् । सुन्दर सृष्टिबाट संसारलाई पनि सुन्दर पार्दै लानु पर्छ भन्ने धारणा स्वागत योग्य छ । कला सँस्कृतिप्रति मानव भावधारा– यस कवितामा कवयित्रीले कलासंस्कृति मानव भावधार र प्रकृतिलाई संयोजन गर्दै सृष्टिको अदभूत शिल्पकारी विचित्र सौन्दर्यमय प्रकृति कलाहरूको भावयुक्त प्रस्तुतिले उन्नत जीवन पद्धतिको आदर्स सौगात दिने, खुसी मुस्कुराउने, मानव एक पाइल बढने, दिव्य ज्ञानी मानव देखेर सुन्दरतामा रमाउने धारणा आएको छ कवितामा । बास्तवमा प्रकृति, मानव र कलाकारिताप्रतिको घनिष्टता अनुपम छ । अनुभूति –यस कवितामा कवयित्रीले भावनात्मक अनुभूतिलाई केलाउने कोसिस गरेकी छन् । कसैको मुस्कान कसैको जीवनको संजीवनी, उन्माद प्रेमको स्पर्श जीवनको उपहार, हेराइ जीवनको आशा, तृष्णामय आँखा आकाशबाट झरेका तारा, चाहना जीवनको प्रेरणा, मधुर बोली जीवनको आत्म बल र कोयलीको तान, हिड्ने बाटो जीवनको लक्ष, साधना जीवनको आधार र भविष्य बनाउने परिकल्पना हुन्छ भन्ने धारणा सहित ‘तिमी मुस्काउँदै हिंड कसैको त्रस्त जीवनमा मृदु हावाको स्पर्श हुन्छ भन्ने सुझाव समेत दिएकी छन् । त्रिमातृ –जन्म दिने आमा ,जन्मभूमि, र भाषालाई त्रिमातृको संज्ञा दिएको देखिन्छ । यो कविता एउटा गहन बास्तबिताको ऐना हो । आमाले छोराछोरीप्रति गरिएको मायाममता र लगानीलाई कसैगरी पनि मातृ ऋृणलाई तिर्न सकिदैन । जन्मभूमिप्रति कवियित्रीले हृदयबाटै नमन गर्दै, जन्मभूमिप्रति प्राणको आहुति दिन तयार रहेको र अन्तिम सास जन्मभूमिकै काखमा लिंदा धन्य भइनेधारण राखिएको छ । भाषारूपी माताले भावना व्यक्त गर्न, विद्या आर्जन गर्न, भाषा साहित्यको मुटु, संस्कारको मूल, जीवन प्रकृया शैली हो र भाषबाटै संसारमा सम्मान पाउन सकिन्छ भन्ने धारणा आएको छ कवितामा । मातृत्वबोध– मातृमा प्रवल शक्ति हुने भएकोले शिशुको कानमा ज्ञानको विगुल फुकिदिने, आमाले चाहेमा शान्ति फर्काउन सक्ने, दुराचार र आतङ्कको बाटो रोक्न सक्ने, पृथ्वीको छवि बदल्न सक्ने्, छोराछोरीलाई संस्कार दिने सक्ने हुँदा यस ‘पृथ्वीबाट बडारी देऊ दुराचार र आतङ्कको बिऊ’ भन्दै मातृसँग पुकार गरिएको छ । पश्चतापी आत्मा –यो धु्रव सत्य हो कि मानिस जन्मे पछि मर्छ । शरीर ढल्छ तर आत्मा मर्दैन भनिन्छ । यसै सन्दर्भमा कवयित्रीले आत्मा देह लडे पछि लाचार हुन्छ भन्दै आत्माप्रति राखिएका छ ओटा पङ्क्ति कवयित्रीकै शब्दमा अध्ययन गरौं–‘‘आत्मा परे छ अचम्ममा एकमुठी प्राणको भरमा व्यतित गरेछ समय भई अहङ्कारी अब पाउँ कसरी अर्को जुनी’’ (पृष्ठ १८)। माटोका मान्छे –यस कवितामा कवयित्रीले माटामा जन्मेका मानिस माटो जस्तै कोमल बन्ने, प्रेमको बाटो रोजौं, अत्याचारी नबनौं, सत्य मिठो बोल्यौं सत्यको पूजारी बनौं सिद्धान्ततमा उपकृत हुन र सत्य मार्गमा प्रकाश हुने भएकोले शिखर छुन सकिन्छ भन्ने धारणा आएको छ । अमानव –मानिस जन्मिन्छ नामाकरण आदि गर्दा ज्ञानी बनोस् भन्ने धारणा राखिन्छ तर त्यसो हुँदैन , मानवीय व्यवहार त्याग्दै अमानवीय कर्मतिर लाग्छ संस्कार समेत त्याग्छ भन्ने धारणा आएको छ ।आस्था –विश्मयले भरिएको संसारमा काम गर्दा धेरै सोच्नु पर्छ । बाधा अड्चन पर्दा डर मान्न हुँदैन, वीरताले जीवनलाई अघि सार्छ त्यसो हुँदा काम गर्नु पर्छ आँट ठूलो चाहिन्छ जस्ता धारणा राख्दै कवयित्री दह्रो आस्थाको भर पर्दा सफल भइन्छ भन्दै भन्छिन् –
‘‘रिक्त हृदय तिक्त वेदना
असिम टाढा छ लक्ष्य
सिद्धान्त मनमा छ अटल
नमानौं डर आस्थाको भर’’्
(पृष्ठ २१)
समयको स्वरूप –यसमा कवयित्रीले बर्तमाना महत्त्वपूर्ण हुन्छ, अतित गौरव हो जीवन सुखमय बनाउन अतितलाई सम्झनु पर्छ , भविष्यमा सुनौलो भविष्यको निर्माण गर्न न्यायपूर्ण विचार गर्दै सुखमय भविष्यको स्वागत गर्दै जीवन सफल बनाउँ भन्ने आग्रह आएको छ । मान्छेको नाटक बुझिन्न– जो कोही पनि सत्यतामा नरही नाटकीय रूपमा प्रस्तुत हुन्छ भने अवश्य बुझिदैन भन्ने धारणा आएको छ । भोक– क्रान्ति –यो शीर्षकमा भोक असहनीय , पीडादायक, संवेदनात्मक हुन्छ र क्रान्ति बोलाउँछ त्यसो हुँदा भोकलाई भोजनसम्म सिमित रहन दिनु पर्छ भक्षक बनाउन हुँदैन, स्वार्थी बनाउन हुँदैन भन्ने धाारणा आएको छ कवितामा । ढाकाको भाषण– बास्तवमा ढाकाले नेपाली समाजमा महत्वपूर्ण स्थान ओगटेको छ । ढाकालाई पुरुषले सिरमा टोपीको रूपमा महिलाले चौवन्दीको रूपमा लगाउँछन् । यसको पहिरनले शान र मान दुबै बढ्ने धारणा सहित ढाकाको अभिव्यक्तिलाई यसरी प्रकट गरिएको छ –
‘‘ढाका हुँ म चिनिन पाउँ संसारको अघि
नेपालीको विश्वासको प्रतिक हुँ भनी
ढाका हुँ म हिड्न पाउँ सधैंभरि
पुष्पको गोरेटोमा सबै अघि

ढाका हुँ म सबै नेपालीलाई
एकताको डोरीमा बाँधिराख्ने छु
ढाका हुँ म सबै प्रियजनहरूलाई ्
ममताको सप्कोले ओढाई राख्ने छु ’
शान्तिको दियो –यस कवितामा शान्तिको दियो मानव जातिको लागि कल्याण गर्न प्रज्ज्वलित हुन्छ र नव जीवन प्रतिक पनि हो भनिएको छ । लक्ष्य – कवयित्रीको कथन छ ‘‘लक्ष्य तबसमम सिद्धिन्न विजय जबसम्म भेटिन्न ’’ लक्ष्य निर्धारण गरेर यो आशाले भरिएको जीवनलाई दुखबाट मुक्ति र सुखी बनाउँ भन्ने धारणा आएको छ । देवतुल्य –सबैको कल्याण गर्ने मानिस देवतुल्य हुन्छ । यहाँ कवयित्रीले पनि तृष्णाको वेला पानी दिने, प्राण बचाउने, सहारा दिने, भोजन दिने, देश बचाउने र जीवन दिने देवतुल्य हुन्छन् भनेकी छन् । विजयतिलक– राष्ट्रियताले भरिएको यो कवितामा भारतका सपुतलाई कमजोड नठान र यिनलाई जिस्काउनु भनेको मौरीकोगोलोमा हात हाल्नु समान हो भनिएको छ । बेहुली –प्रणय सूत्रमा बाँधिदा नवरङ्गी सपना वोकेर भविष्यको परिकल्पना सुनौला किर।णको आभा भई सम्मिलित भइने, यस अवसरमा बेहुलीले बेहुलालाई जीवनको विश्वासको रूपा हेर्दै श्रद्धा भएर जीवनको भार बेहुलामा सुम्पिदिंदै शान्ति प्राप्त गर्ने न्यानो काखमा रहेर दुःख विमारमा शीतलताको सागर बनीदिने साथै यो अमृतमय जीवनलाई तिम्रो परिश्रमको पसिनाले पूर्णता पाउने छ भन्ने धारणा आएको छ । बास्तवमा शुभ प्रणयनमा बाँधिए पछि पति पत्नी जीवन रथका दुई पाङ्ग्रा हुन एकको अभावमा जीवनरथ सुखमयरूपमा हाँकिदैन । वास्तविक जीवनका अध्यायहरू– यस कवितामा कवयित्रीले हिजो गरेका कर्मका फल आज र आज गरेका कर्मका फल भोली भोग्नै पर्छ त्यसोहुँदा समयमै यो मानवको अमूल्य जुनिमा यस धर्तीमा केही छाडेर जाउँ र बाँचुन्जेल सबैलाई हर्षित पार्दै मरेपछि सबैले सम्झने बनाउन सकियो भनेमात्र जीवनको सार्थकता हुन्छ र ‘सही जीवनको वास्तविकता’ पनि हो भन्ने धारणा आएको छ । कमल – कमल कोमलताको प्रतीक , सुन्दरताले पूर्ण, नयनलाई शीतलता दिने, सूर्य उदाउँदा फक्रिने अस्ताउँदा निभ्ने जिउने बाटो सिकाउने, उश्रृंखल परिवेशमा पनि फोहोरको माझमा रहेर जगतलाई सिद्धान्तमा अटल रहेर दृढ निश्यतामा अगि बढे जीवन विचलित कहिल्यै नहुने कमलले सन्देश प्रवाह गर्छ भन्ने धारणा आएको छ । प्रलय रोकौं – यस कवितामा पृथ्वीमा प्रलय हुने दिन आउने छ त्यस वेला धेरै कष्टहरू भोग्न पर्ने छ त्यसोहुँदा चाडपर्व मनाउँदा रुखका बिरुवा रोपौं,पर्यावरण सफा र स्वच्छ बनाउन अभियान चलाउँ सबै जागौं, केही गरौं भविष्य उज्यालो पारौं, जनसंख्या नियन्त्रणको पाठ सिकाऊँ र नवोदितलाई जागृत पारौं भन्ने धारणा आएको छ । जिन्दगी–अनमोल जिन्दगाी जो ज्ञानको प्रकाशले चल्छ मायाको रङ्गले सजिन्छ र यो चुनौती पनि हो । यो अमर पनि छैन त्यसो हुँदा आफ्नो खुसीमा भन्दा अरुको दुखमा जिउनु छ भन्ने धारणा आएको छ कवितामा ।
नारी जागरण –नारी सवल,घरको ज्योति, समाजको मोति जगतकी अतुलनयि ममताकी प्रतीक, आन्तरिक मायाले सबैको मन जिती निरन्तर अस्तित्व जोगाउने, सृष्टिलाई जोगाउने,आदर्शकी देवी, श्रीराम, बुद्ध नानक जन्माउने सर्बगुण सम्पन्न भएर पनि नारी प्रताडित छन् । नारीलाई ऋृङ्गार र सौन्दर्यको रूपमा हेरिन्छि । त्योहुँदा अव नारीले अमूल्य समय खेर नफाली विप्लवी भएर अघिबढौं झाँसीकी रानी, इन्द्रैणी थापा, सावित्री थापा बनौ तर अवला नवनौ भन्ने आग्रह आएको छ कवितामा । पुर्खाको सम्झना –यस कवितामा पुर्खाले आर्जना गरेको र पूर्खाले देखाएको बाटोमा हिड्न बचन बद्ध बनौं र हाम्रो प्यारो भाषा र चोखो संस्कृतिलाई जोगाइ राखौं भन्ने धारणा आएको छ । अनुहार –मानिसको हेर्दा हरेक कुरामा राम्रो देखिए पनि आन्तरिक रूपमा लाटा सोझा माथि कुटिल आक्रमण गर्छ र बाहुबल देखाउँछ भने त्यस्ता दुष्कर्मीलाई कसरी पहिचान गन सकिन्छ र भन्ने धारणा आएको छ । मानवता कहाँ हरायो– आज यो पृथ्वीमा मानवताको खानी भएर मानव कल्याण होला भन्दा मानव जातिकै संहार भएको छ भन्ने धारणा आएको छ । आत्मासम्मान– यस कवितामा विषाक्त मानिसहरु समाजलाई विकल्पको बाटोमा घचेट्दै, समस्याको सृष्टि गर्दै, भोग विलासमा सङ्लग्न भएर पनि मान सम्मानको खोजी गर्न छाड्दैनन् । मान सम्मान इज्जत त मागेर हैन सबैले दिए भेटिन्छ भन्ने धारणा आएको छ ।ढुङ्गो बोल्दैन –कवयित्री भन्छिन् –‘‘मानिसले ढुङ्गाको मूर्ती समाती स्मरणीय चेतना जगाउँछ ।’’ मूर्ति मानिसको सुखमा पनि हाँस्दैन दुखमा पनि रूँदैन अर्थात त्यो मूर्तिले मानिसको कुनै क्रिया कलापमा प्रतिक्रिया जनाउँदैन तर अनुभूति भएको मानिस भने मूर्तिमा कुनै आधात पुगेमा आँसु झार्छ भन्ने धारणा आएको छ । समय – समय महान हो यसको उल्लङ्घन गर्न हुँदैन , यो दौडिरहेको हुन्छ ।यसले प्रतिदान सबैलाई बराबर दिन्छ अमृत वर्षाइदिन्छ तर जस्ले समयलाई चिन्दैन उसले अमृत पान नभै विष पान गर्नु पर्छ भन्ने सन्देश आएको छ कवितामा । बेलुन –आकाशमा उडेका बेलुन गन्तव्यतिर पुग्न नसकी माझ बाटोमा गएनर पुट्छन् र मानिसलाई सबैको गति यही हो भनी सङकेत गर्छन् भनिएको छ कवितामा ।नियति –नियतिको खेल कसैले बुझ्दैन जस्ले ‘संघर्षलाई लक्ष्य सोचेर जो हिड्छ विधिको विधान उसले बुझ्दछ’ भन्ने धाारणा आएको छ कवितामा । सूर्य –यसमा प्रभातको किरणले जीवनमा उर्जा ल्याउने र उर्जामय रत्नले सबैको भाग्य चम्काउने भएकोले सुनौला किरणलाई अङ्गाल्दै राम्रो छवि बनाउँदै प्रकाशको बाटोतिर हिड्यौं खुसीलाई सम्हालौं दुखलाई विदा गर्दै मेहनतको बलले प्रकृतिको यो देनबाट ्‘सूयर्’ भएर उदाउने छौं भन्ने धारणा आएको छ । जागृतिको खाँचो – यस शीर्षकमा निर्दोष मानिस माथिको वमको गोलाको प्रहारको आवाजले थरथराएका छन् मानिस, परिचय दिन डराएका छन् अघि बढ्न कोही सकेका छैनन् र पछि हट्न पनि चाहेको छैनन् । लाटा सोझा मानिसलाई अत्याचारीले ज्वालामा झोस्दा निस्केको ध्वनि, निर्दोषीलाई दोषीले घात गर्दाका निस्केको क्रन्दन आदिले सबैका पाइला डगमगाएका छन् । यी सबको निराकरणको लागि चाहिएको छ जागृति भन्ने धारणा आएको छ कवितामा । छोरी – छोरी पालेर घर र आगन तुलसीको मठले सिङ्गार्ने किनकी छोरी नभएको घरको महत्त्व हुँदैन र तुलसीको मठनभएको आगनकोमा शोभा बढ्दैन । गर्भमा छोरी भएको जानकारी पाएमा गर्भ फालिन्छ र कुकुरल्याएर पालिन्छ । छोरीलाई हेला गर्न नहुने यमको फेला पर्ने वेलामा छोरीले नै सेवा पु¥याउँछन् । छोरा र छोरी बीचमा देखिने विभेदमा तीखो व्यङ्ग कसिएको छ । गोर्खाली –गोर्खाली जाति देशको लागि बलि बन्ने तर उनीहरूको बस्ने थलो अथवा गोर्खाल्यण्ड छैन । खुकुरी गोर्खालीको चिनारी हो । नेपाली भर पर्नेलाई सहयोग गर्ने, वफादार, निष्ठवान विश्व विजयको शान भएका आमाका वीर सपुत हुन् गोर्खाली भन्ने धारणा आएको छ । बाटो– यस कवितामा बाटो लामो छ । बाटोको अन्त्य जीवको अन्तिम सासमा हुन्छ भनिएको छ । सदिच्छा– यसक कवितामा नजरबाट गिर्न हुन्न,आगोसँग ठट्टा गर्न हुन्न, मायालाई धोका दिन हुन्न, पानीसँग ठट्टा गर्न हुन्न, जिन्दगीसँग खेल गर्न हुन्न, काँचमाथि हिड्न हुन्न कसैको दिल तोड्न हुन्न तर यसको विपरित गरेकामा जीवन सुखदाई हुँदैन त्यसो हुँदा सुमार्गमा हिड्दा राम्रो दिन भेट्न सकिन्छ र नआत्तिइ हिडदा् गन्तव्यमा पुगिन्छ भन्ने धारणा आएको छ । प्रयास –यस कवितामा कवयित्रीले नराम्रो लाई राम्रो बनाउने, जीवनमा प्रलय आउँछ भने पनि आफ्नो सिद्धान्तलाई नछाड्ने, कुरू क्षेत्रमा लड्दा विघ्न बाधा आउन सक्छ तर प्रयास गरे जीत हात पर्ने, चर्केको हाँडी झनै नचक्र्याउँ सके टालौं साथै सबैको भलो गरे स्वर्ग यहीँ भेटिन्छ भनिएको छ ।
कवयित्रीले कवितामा पस्के्का भावनाहरूको भावसार मैले यहाँ पस्किने कोसिस गरें । साहित्यकारले यस कृति र कृतिकारप्रति पस्केका भावनालाई पनि माथि मैले पस्केको छु । यी दुबै पस्काईबाट यस कृतिको यथार्थता प्रष्टरूपमा आएको छ । कवितामा जीवन भोगाइलाई गहनरूपमा उठाइएको छ र मानवमा मानवता चाहिन्छ, अग्रगामी सोच हुनु पर्छ । जीवन संघर्ष हो । अमूल्य जीवनलाई सार्थक पार्नु पर्ने, शान्तिको चाहना, वीर गोर्खालीको निष्ठा, पूर्खाले आर्जेको परम्परा, भाषा संस्कृतिको संरक्षण, समयको सदुपयोग, अनुपम सृष्टिको आशा र अनुपम कलाकृति, प्रकृति र वातावरणको संरक्षण, जन्म दातृ, जन्मभूमि र भाषा गरी तीन मातृको महानताप्रतिको आदरभाव, मानव शरीर र आत्मको सम्वन्घ स्वर्गको अनुभूति यही प्राप्त गर्न सकिने आदिमा कृतिले सूक्ष्म रूपमा उठाएको छ र कतिपय कविताले मार्गदर्शन पनि प्रदान गरेका छन् ।
भाषा शैली– भाष सरल छ,सबै प्रकारका पाठकले सहजरूपमा ग्रहण गर्न सक्छन् । शब्द चयन र प्रस्तुतिमा प्रयासरत रहँदा परिमार्जन हुँदै जाने महसुस गरिन्छ ।
शीर्षकीकरण– असमको सभ्यता र संस्कृतिमा ब्रह्मपुत्र उपत्याकाको प्रभाव अतुलनीय छ । प्रणाम ब्रह्मपुत्र भन्दै थालनी गरिएको यो कृतिको नामाकरण पनि सार्थक भन्न सकिन्छ ।
अन्त्यमा – प्रथम कृति भए पनि कविताले भावनालाई बगाएको छ, समाज र मानवीय व्यवहारलाई केलाएको छ, विकृतिलाई त्याग्दै सवल समाजको परिकल्पना गरको छ । विविध पक्षबाट केलाएर नियाल्दा कविता कृति राम्रो छ । असमको डिगबोई जस्तो स्थानमा बसेर नेपाली साहित्यमा एउटा कृति थपिनु भनेको एउटा गहन काम हो । यस्तो गहन कृति प्रदान गर्ने कवयित्रीप्रति आदर भाव प्रकट गर्दै,लेखनमा तीब्रताको कामना गर्दै विदा चाहान्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 4 जेठ, 2075

लेखकका अन्य रचनाहरु