पवित्र मार्गमा युरोपको भ्रमण: "भाया साक्रा"

- गोपाल झापाली

पर्यटन र साहित्य अलग्गै विषय हुन् । पर्यटनका बिभिन्न आयाम हुन्छन्–जैविक पर्यटन, जल पर्यटन, हिमाल पर्यटन, स्वास्थ्य पर्यटन लगायत अरु पनि छन् । तर साहित्य पर्यटन नेपाली जनजिव्रोका लागि नौलो लाग्छ । तर पश्चिमाहरु धेरै अघिदेखि यसमा अभ्यस्त रहेछन् । युरोपीयन देशहरु त्यसमा पनि बेलायतीहरु त्यसै संसार भरि राज गर्न सफल भएका होईनन् । त्यही बेलायतको उपनिवेश हुनबाट जोगिएको मुलुक नेपालका आदि कविदेखि महाकविसम्मका जन्मघर र जीवनशैलीका अवशेष खण्डहर र गुमनाम भएका बेला नेपाली फौजको काँधमा बन्दुक राखेर विश्व विजेताको लक्ष्यमा कुनै बेला सफल भएको बेलायत आफ्ना सर्जकहरुका निवाश र तिनले उपयोग गरेका विभिन्न वस्तुका वरिपरि फनफनी संसारलाई घुमाई रहेको छ । यस्ता विषयहरुलाई लिएर नेपाली बेलायती सर्जकका निवाशहरुमा रिंगटा लाग्ने गरि घुमेका नियात्राकार कृष्ण बजगार्इं पाठकबीच आएका छन् । बेलायतका अनुभूतीहरु समेटिएका नियात्राहरु नेपाली पाठकका लागि नौला बिषय त होईनन् । ताना शर्मादेखिकै हिसावले पनि ५ दशक हुन लागेको छ । अरु पनि धेरै लेखकहरुले आआफ्नै रुप र बान्कीमा युरोपीयन तथा बेलायती यात्राका अनुभव नेपाली पाठक माझ ल्याएका छन् । बजगाईले पनि त्यही बेलायत लगायतका यात्रानुभूतीनै ल्याएका हुन् । तर उनको आफ्नै लय छ ।
एक्काई शताव्दीको नेपाली मार्कोपोलो बन्ने धृष्टता देखिन्छ उनमा । जसरी मार्कोपोलोले रेशम मार्ग मार्फत संसारको फन्को मारेका थिए, उसै गरि बजगार्इंले पनि पवित्र मार्ग अर्थात ‘भाया साक्रा’ मार्फत युरोपको फन्को मारेका छन् । यस अघिको उनको नियात्रा कृति ‘युरेशियाको स्पर्श’मा उनले युरोप र एशियाका बिभिन्न देशाटनका अनुभव पाठकमाझ ल्याएका थिए । यस कृति मार्फत प्राचिन रोमको भाया साक्रा हुँदै युरोपका बिभिन्न ठाउँहरु पुगेका छन् । पाठकलाई पनि आफूसँगसँगै पु¥याएका छन् । ‘भाया साक्रा’ नेपाली पाठकका लागि अनौठो र जिव्रो नलाग्ने शव्दबाट कृतिको न्वारन गरेका बजगाईं पाठकलाई नामैबाट प्रभावमा पार्न खोज्ने चतुर पुरोहित जस्ता पनि देखिएका छन् । प्राचिन रोममा तिर्थाटनको मुख्य सडकलाई भाया साक्रा भनिन्छ भन्ने कुरा कृति मार्फत पाठकलाई बुझाएका छन् । विभिन्न मार्ग टेकेर गरेका यात्राका २१ वटा सृंखला भाया साक्रा मार्फत पस्किएका छन् ।
‘हामीले धेरै पर्खाल बनायौं तर पर्याप्त पुल बनाएनौं’ भन्ने विश्व विख्यात बैज्ञानिक न्युटनको यो दिव्यज्ञान बुझ्न पूर्वी ईङ्ल्याण्ड पुगेका नियात्राकारले ‘आईज्याक न्युटनको बगैंचामा स्याउ टोक्टा’ शिर्षकमा न्युटनका धेरै पक्ष उजिल्याउने प्रयास गरेका छन् । जुन रुखबाट स्याउ खसेर न्युटनलाई गुरुत्वाकर्षणको अकाट्य सत्यको पर्दा खुलायो, त्यहि बोटको स्याउ खान हुँदैन भन्ने जान्दा जान्दै टिपेर आफुले खाएको कुरा मात्र बताएका छैनन् । उनी त्यहीँ उभिएर नेपाली वैज्ञानिक गेहेन्द्र शम्शेरलाई स्मरण गर्दछन् । त्यहीँबाट बुद्धजन्मस्थलको बोधीवृक्षलाई सम्झन पुग्दछन् । यस प्रसंगले उनी मात्र होइन पाठक समेत तानिएका छन् । यो हो उनको डायस्पोरिक लेखनको शक्ति ।

‘डार्विनको घरमा सिस्नोको वाईन’ किनेका बजगार्इंले दुई शताव्दी अघिका डार्विनको धर्मबिरोधी रहेको कुराको रहश्य पाठक समक्ष खोलेका छन् । डार्विनले जिसस क्राईष्ट ईश्वरका पुत्र होईनन् भनेर त्यस बेलाको धर्म र आस्था बिरुद्ध धावा बोलेका थिए । उनले मानिसलाई बाँदरको सन्तान हुन् भनेर पुष्टि गर्न खोज्दा धर्मबिरोधी भनेर उनको चर्को बिरोध भएको थियो । आखिर यथास्थितीबादी समाजको रुपान्तरण गर्न खोज्नेहरु कि त बहुला ठह¥याईन्छन् कि त फाँसीमा चढाईन्छन् । जियोर्डानो ब्रुनो हुन् वा ग्यालिलियो । उनीहरुले संसारलाई नयाँ कोणबाट चिन्न र चिनाउन खोज्दा कैदभुक्तान गर्नु प¥यो, मारिनु प¥यो । हामै्र महाकविलाई हिजोअस्ति पागल भनेर राँची लैजाने समाज भन्दा पनि क्रुर रहेछ त्यस बेलाको युरोपियन समाज । यस्ता कुरा औसत साहित्यिक सिर्जनामा पाइँदैन । त्यसैले आम लेखन भन्दा नियात्राहरु शक्तिशालि हुन्छन् । उक्त नियात्रामा नेपाली पाखामा जताततै पाइने सिस्नो जस्तै बेलायती सिस्नोको वाईन डार्विन यज्ञशालाको पञ्चामृत ठानेर दंग पर्दै किनेको रोचक वर्णन गरेका छन् ।

‘बर्नाड शाको घरमा हिउँदको एक दिन’मा लेखक आफु मात्रै पुग्दैनन् पाठकलाई सँगसँगै घिस्याई रहन्छन् । विश्वविख्यात व्यक्तिका घरलाई चर्च वा मन्दिर भन्दा कम महत्व दिँदैन बेलायतले । त्यसैले त ती स्थानहरुमा अवकाश प्राप्त र बुढ्यौली लागेकाहरु पनि स्वयम्सेवाका लागि तयार हुन्छन् । हाम्रो समाजमा पनि विशिष्ट व्यक्तिहरुका निवाशलाई त्यस्तै रुप दिने हो भने धेरैको बुढ्यौली घरमैमा कोचिने र बोझिलो बन्ने थिएन होला । तर के गर्नु ? नीति निर्माताहरुले यस्ता नियात्राहरु पढ्दैनन् होला । ‘स्पिकर्स कर्नरमा निःशव्द म’ भन्दै त्यहाँको कथा सुनाई रहँदा लाग्छ, त्यो काठमाडौको टुँडीखेल वा माईतीघर हो । मृत्युदण्डनै पाएको व्यक्तिलाई पनि अन्त्यमा स्वतन्त्रतापूर्वक उसको कुरा राख्न दिने चलन हुन्छ भन्ने सुनेको थिएँ । त्यसैका लागि त्यो कर्नर खडा भएको रहेछ । सन् १८६६ को बेलायती जनसंग्राम प्रदर्शनको थलो बनेको त्यो स्पिकर्स कर्नरले लुकाएको क्रुरता, त्यहाँ मृत्यु दण्डको सजायमा रमाउने पाषाणी हृदय धन्न नेपाली माटोमा फैलावट भएन । शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ चन्दलाई पनि त्यो कर्नरमा पु¥याएको भए के भन्दा हुन् ? उनीहरुकै बलिदानीबाट आज नेपाली रैतीबाट नागरिक बने । स्पिकर्स कर्नरको नियात्राले ती महान शहिदहरुलाई सम्झना गरायो । यो नियात्रामा केवल नियात्राका सुत्र मात्र छैनन् बेलायती समाजमा प्रजातन्त्रको हुर्काई, विकास र अहिलेको अवस्था र तुलना पनि उपलव्ध छ ।
‘शर्लक होम्सको डेरामा एकछिन’ पुगेका लेखकसँगै त्यहाँबाट निस्कन मलाई भने धेरै समय लाग्यो । एउटा लेखक भन्दा उसले कल्पनामा जन्माएको पात्र कति बलशाली बन्न सक्दो रहेछ भन्ने कुरा आर्थर कोनन डोयल र शर्लक होम्सलाई हेरे पुग्ने रहेछ । अरे बाबा, लेखकका भन्दा काल्पनिक पात्रको त्यति धेरै शालिक ! त्यो पात्रलाई प्रशिद्धिको सगरमाथामा पु¥याउने लेखकको पाईन झन् कस्तो होला ? नेपाली जनजिव्रो र मन–मस्तिस्कमा बसेका मुना–मदनको शालिक, उनीहरुको नाममा प्रेम पार्क बनाउँदा के बिग्रन्छ ? तर मेरो देशमा कसले गर्ला र यस्तो काम ? ‘रहस्यमयी स्टोनहेन्जको तीन फन्को’ले चाँहि बेलायती समाजमा रहेको अन्धविश्वास चिहाउने एउटा ढोका। किन भने उनीहरु दैत्यहरुले स्टोनहेन्ज अर्थात बेढंगका भिमकाय ढुंगाका संरचना स्थापना गरेको किम्बदन्ती पुस्तान्तरण गरि रहेका छन् । हाम्रा कैयौं किंवदन्तीहरुलाई अंधविश्वास भन्दै बिरोध गर्न थालेका छौं ।
यस कृतिमा यात्रा वर्णन मात्र होईन व्यक्ति वर्णन पनि छ । साहित्यले मानिसलाई कसरी बाँच्ने शक्ति प्रदान गर्छ भन्ने कुरा ‘डाह्लको आईडीया बुक’मा छ । एउटा सैनिक अधिकारी कठोर हृदय लिएर युद्धमा भिड्छ । तर के गर्नु आखिर उ दुर्घटनामा पर्छ । संयोगवस कालबाट जोगिन्छ, भौतिक शरीर जोड–जाड गरेर बाँच्छ । श्रीमतीलाई पक्षघातले लडाउँछ तर पनि मान्छे नबहुलाई, आत्महत्या नगरि विश्वविख्यात बन्न पुग्छ । फौजी कठोरता बोकेका ब्यक्ति साहित्य जस्तो सरस विधा त्यसमा पनि बालसाहित्य जस्तो कोमल क्षेत्रमा कलम चलाउने रोआल्ड डाह्लको हिम्मतका बारे नियात्राकारका कलमले धेरै कुरा पोखेको छ । ‘चार्ली च्याप्लिनको निलो प्लेट’ हेर्न सुरुङ्मुनीको रेलयात्रा जति रोमाञ्चक लाग्छ चार्लीको रामकहानी झन् उस्तै । चार्लीले गरेका अभिनय गरेका दर्जनौ श्रव्य–दृश्य हेरेकालाई पनि उनका जुंगाको रहस्य थाह नहुन सक्छ । तर तानाशाहको रुपमा कुख्याती कमाएका हिटलरलाई उनकै शैलीको जुंगा पालेर उनैलाई व्यङ्ग्य गर्नु मरेका बाघको जुंगा उखेल्नु जस्तो मात्र होईन । ‘तानाशाह आफूलाई स्वतन्त्र गर्दछन् तर जनतालाई गुलाम बनाउँछन्’ भन्ने हिम्मत के ले दियो चार्लीलाई भनेर नियात्रा पढ्दा छक्क परिन्छ । आप्रवासीको देश भनेर चिनिने अमेरीकामा चालिस वर्ष बस्ता पनि चार्लीलाई अमेरिकी नागरिकको दर्जा नदिएको पढ्दा मैले परिजातलाई सम्झिएँ । सवै शासकको नजर उस्तै हुँदो रहेछ जस्तो लाग्यो ।
‘चाल्र्स डिकेन्सको म्युजियममा एकसाँझ’ले लोभ्याएको विषय के भने राजतन्त्रात्मक व्यवस्थामा त पैसाको नोटमा साहित्यकारको तस्विर आँट्दो रहेछ भने गणतन्त्रको स्वाद चाख्दै गरेका हाम्रा नीति निर्माताको तराजूमा हाम्रा लेखक–कलाकारले कहिले यो वजन राख्लान् ? प्रश्न जन्माउने मेरो मस्तिकमा उत्तर जन्माउने प्रशवपीडा थपियो । २ सय ४७ शव्दको पहिलो प्रयोगकर्ता र १५ सय ८६ वटा शव्दको नयाँ अर्थमा ब्याख्या गर्ने चाल्र्सको शिल्प थाहापाएका बजगाईं भन्छन्–‘साहित्य लेख्नु भनेको अरुले प्रयोग गरेका थोत्रा र जडौरी शव्द जोडजाड गरेर ठेलीका ठेली पुस्तक लेख्नु मात्र होईन ।’
‘नौग्रहको तीन फन्को’ नियात्रा एउटा वैभवशाली देशको प्रगतीको कथा हो । चरीचुच्चे रेल नियात्रा पनि हाम्रालागि उस्तै लाग्छन् । तिव्र गतिको रेल, साथमा एउटी सुन्दरीको साथ, बेला बेला आउने महक भएपछि के चाहियो र ? पुरुषहरुले सुन्दरीको साथ खोजेझै महिलाहरुले पनि लायकदार पुरुषको निकटता खोज्छन् कि खोज्दैनन् होला कुन्नी यात्रामा ?
नेपालीहरुका लागि समुद्र र ज्वालामूखीजस्ता विषय नौला हुन् । ‘नेपल्समा नेपाली खोज्दा ज्वालामूखी’ भेटाएका लेखकका परिवारका सदस्य मात्र होईन पाठकलाई पनि त्यहाँ तान्ने कोशिस गरेका छन् । ज्वालामुखी आँफैमा डरलाग्दो र निरस विषय हो । मलाई चाहीँ सँगै तानिनु भन्दा विचैबाट फर्किनु जस्तो भयो । ‘डेथ ट्रयापमा फनफनी’ घुमेका नियात्राकारसँग घुम्दा भने धेरै पाठकलाई रिंगटा पनि लाग्न सक्छ । किनकी कथा नृशंस छ, काटमारको छ, मानवीयता सकिएको समाज र समयको कथा छ । पश्चिमी समाजमा लामो समय विताएका लेखक ‘वेस्टर्न माईण्ड, ईष्टर्न हार्ट’को द्वन्द्वमा परेका छन् । पूर्वीय समाजको कोमल हृदय भएका लेखकलाई वेस्टर्न माईण्डको वैभता र सम्पन्नताले मख्ख पारे पनि हृदयहिनताले भने बेस्सरी घोचेको छ । त्यो दुखाई पाठकले पनि महसुस गर्न सक्छन् । मान्छे मार्ने खेल त्यो पनि प्रतियोगीताका बारेमा छ उक्त नियात्रा । ‘ईष्टर्न हार्ट’ले सोच्नै नसक्ने कुरा देखाई दिएका छन् लेखकले ।
‘बेलायतको मन्दिरमा ड्रागनसँग जम्काभेट’ पढ्दा थाह हुन्छ मातृभाषाहरुलाई कसरी आयातित भाषाले निल्छन् । वेल्सभाषा निल्ने कुरामा अंग्रेजी भाषा बेलायतको वेल्स राज्यमा ड्रागनझै देखियो । बुढा मरे, भाषा सरे हुँदै गएका बेला कसरी जोगाउने हाम्रा मातृभाषाहरुलाई ? हामीले पनि विचार गर्नु पर्ने बेला आएको छ । किन नेपालमा भगवानहरु अफ्ठ्यारो ठाउँमा बसेका होलान् भनेर सोच्ने गर्दथे ? नेपालका डाँडा, पहाड, हिमालय, गुफामा मात्र भगवान बस्ने भनेको त बेलायतमा पनि उही हाल रहेछ । यता हाम्रा पूर्विय संस्कृतिहरु संकटमा पर्दै छन् । तर बेलायतमा एउटा अंग्रेज पुजारीले संस्कृतका ऋचा वाचन गरेर टीका लगाई दिएको कुरा पढ्न पाउँदा अचम्म लागेको छ । हाम्रातिर भोग खाने काली माता बेलायत पुगेर शाकाहारी भएको कुरा पढ्न पाउँदा रमाईलो लाग्दछ । नियात्रा पढिरहँदा लाग्छ लेखक चकचके छन् । जे जहाँ नगर्नु भन्यो त्यही गर्नै पर्ने । न्युटनको बर्गैंचामा स्याउ टिप्न नहुने भनेको साईनवोर्डले न त काम ग¥यो । न वेल्सको कालीमन्दिरमा फोटो नखिच्नु भन्ने सुचनाले । उनले न्युटनको बगैंचामा स्याउ पनि टिपे र मन्दिरमा फोटा पनि खिचे । पाठक समक्ष लेखकले इमान्दारिता देखाएका छन् ।
‘भ्याटिकन सिटीमा शिवलिङ्ग’ र ‘शाश्वत नगर रोममा’ निक्कै रोचक नियात्रा हुन् । भ्याटिकनसिटी आँफैमा एउटा रहस्य हो । नेपालको एउटा गाउँ भन्दा पनि कम जनंख्या भएको संसारकै सवै भन्दा सानो देश । ईशाईहरुको आस्थाको केन्द्रका रुपमा त्यहाँ धर्मराज्य चलेको छ । सेना छैनन् तर सुरक्षित छ । भुगोल ठुलो छैन तर विशिष्टता छ । क्रिश्चियनहरुको आस्थाको केन्द्र भ्याटिकन सिटी संस्कृतको वाटिकाबाट अपभ्रंस हुँदै भ्याटिकन भएको हो भन्ने लेखकको अनुमान र तर्क रोचक छ । ४४ हेक्टरको देश करिव त्यतिनै मिनेटमा चक्कर चकाउन सकिन्छ । हामीलाई चक्कर लगाई दिने त्यसको विभिन्न इतिहास र तथ्य लेखकले नियात्रामा राखेका छन् । संसारलाई अभुतपूर्व तथ्यको पर्दा खोलिदिने बैज्ञानिक ग्यालिलयो त्यहीँ नजरबन्दमा थिए । एउटा रोचक देश जुन सिंगो मुलुकनै विश्वसम्पदा सूचीमा सुचिकृत छ । त्यसैको मुख्य चोक शिवलिङ्गाकार छ । उक्त नियात्रा मार्फत ईशाइहरुको आस्थाको केन्द्रमा लेखकसँगसँगै यात्रा गर्न पाइन्छ ।

‘कुमारी अष्टिनलाई खोज्दै वाथ सहरमा’ लेखक भौतारिँदा मैले भने हँसिलो फोटोमा देखेका भैरव अर्याललाई सम्झिएँ । भैरवकै हाराहारीको भौतिक रुपमा बाँचेकी बेलायती लेखिका सान र मान भने अझै उस्तै रहेछ । उनलाई भेट्न लाखौं मानिस पुग्छन् । तर हाम्रा भैरवको जन्मघर कहाँ पर्छ नेपाली पाठकलाई पत्तो छैन । पाठ्य पुस्तकमा समेत हाम्रा लेखक आँट्दैनन् । बेलायती बैंक नोट नोटमा लेखकहरु बाँचेका छन् । पैसामा फोटो छापिएर संसार घुमेका छन् । नियात्रा पढ्दा थाहा लाग्यो संसारलाई उपनिवेश बनाउने लक्ष्यमा हिँडेको बेलायत पनि चार सय वर्ष रोमनहरुको शासनमा बाँचेको रहेछ । कठैबरा बेलायत ! दुई हजार वर्ष अघि नै सामुहिक स्नानगृहको जग रोमनहरुले बसालि दिए बेलायतमा । सरसफाई प्रतिको त्यो चेतना पढ्दा सम्झिँए हाम्रो देशको खुल्ला दिशामुक्त अभियान । त्यो अभियान विदेशी दाताको भरमा चले पनि अझै सफल भएको छैन । वर्षेनी लाखौं रुपैँया दिशा गरे पछि हात धुनु पर्छ भन्ने चेतना जगाउँदैमा सकिन्छ । नुहाउनु र दिशा गरेपछि हात धुनु पर्दछ भन्ने चेतना नहुँदा रोम र बेलायत भन्दा हामी २ हजार वर्ष पछि रहे जस्तो लाग्यो । यस नियात्रामा रोमनहरु पनि नेपाली हिन्दू जस्तै मूर्ती पुजक रहेछन् भन्ने कुराको खुलासा गरेका छन् । यस्ता नयाँ, रोचक सांस्कृतिक पक्षहरुको जानकारी दिन सक्नु नियात्राकारको सवल पक्ष हो ।
‘वाटरलू पुगेर नेपोलियन भेट्दा’ पढेपछि थाह लाग्दछ संसारका ठूलाठूला बादशाह पनि कहीँ न कहीँ झुक्दा रहेछन् । फ्रान्सका सम्राट नेपोलिन बोनापार्ट १८ जुन, १८१५ मा आत्मसमर्पण गर्न बाध्य भएको कुरा लेखकले जानकारी दिएका छन् । युरोपलाई एक शताव्दीसम्म शान्तिको स्वास दिलाउने बेल्जियमको त्यो ठाउँ कस्तो होला, आधा दिनको लँडाईमा ५० हजार मानिस मारिए ? यस्ता रहस्मयी विषयको उत्खनन भएको छ त्यस नियात्रामा । फ्रान्समा राजतन्त्र बिरुद्धको क्रान्ति पछि एउटा सैन्य अधिकारी देशकै सम्राट बनेर स्थापित भएको घट्नाले कोतपर्व मच्चाएर जंगबहादुर स्थापित भएको सन्दर्भ सम्झाई दियो ।
‘रोम जलिरहँदा सम्राट निरो बाँसुरी बजाई रहेका थिए’ भन्ने उक्ती नेपाली नेता र शासकलाई व्यङ्ग्य गर्ने बिषयका रुपमा लोकप्रिय छ । त्यही रोम जहाँ २ हजार वर्ष भन्दा पुराना बास्तुकलाका खुल्ला संग्राहलय छ । २७ सय वर्ष भन्दा पुरानो मानव सभ्यता छ । रोमनका मौलिक धर्मलाई सातौ शताव्दीमा कसरी ईसाईकरण गरियो ? त्यहाँका मन्दिरहरु कसरी चर्चमा बदलिए भन्ने इतिहासको कुरा पनि छन् नियात्रामा । अन्धविश्वासको जालो संसारमा जहाँ पनि रहेछ । हाम्रो पाशुपत क्षेत्रका भित्ता–भित्तामा स–सना चेप छन् । ती चेपमा आँखा चिम्लेर जम्लाहात गरि छिराउन सक्ने मान्छे धर्मात्मी हो भन्ने श्रुतीसत्यको पछि लागि मानिसहरु त्यसै गरिरहेको मैले पनि देखेको छु । रोमको ‘माउथ अफ ट्रुथ’ले त्यसै झल्को दिलायो । सानो छँदा हजुरआमासँग बसमा यात्रा गर्दा माईधार पुगे पछि आमैले चारआना÷आठआनको सिक्का दिनुहुन्थ्यो र भन्नु हुन्थ्यो–‘नानी माई आईपुग्न लागिन्, झ्यालबाट यो पैसा पर पानीमा पुग्ने गरि चढाउनु अनि नमस्ते गर्नु है ।’ हुर्रिएको गाडीको झ्यालमा पुगेर म उसै गर्थे । माईमाताले चिताएको दिन्छिन् भनिन्थ्यो । पैसाचाहीँ पानीमा पुग्थ्यो कि पुलमै झथ्र्याे के थाहा ? अझै पनि झापाको कन्काई माथिको पुलमाथि गाडी पुगेपछि धेरैले यसै गर्छन् । त्यस्तै लाग्यो मलाई, ‘ट्रेभी फाउण्टेन ।’ पानीमा पैसा चढाउँदा मनोकामना पूरा हुने उत्तरआधुनिक युरोपमा पुस्तान्तरीत एउटा अन्धविश्वासको लहरो पढ्दा अचम्म लाग्यो ।
‘पिसा टावरमा धरहराको सम्झना’ आउनु स्वभाविकै हो । सन् ११७३ मा निर्माण शुरु भएर २ सय वर्षमा पूरा भएको यो नमूना वर्षेनी दुई सेन्टीमिटर ८ सय वर्ष देखि ढल्कि रहेको छ, कहिले गल्र्याम्म ढल्छ टुङ्गो छैन । निर्माणको १२ वर्ष पछि मात्र बाङ्गो भएको थाह भएको त्यसलाई कुरुप सिर्जनाको नमूना भनिए पनि त्यसलाई हेर्ने संसार झुत्तिखेल्दै पुग्छ । गीता सारमा छ , ‘जे भयो राम्रै भयो, जे हुँदैछ राम्रैका लागि हुँदैछ, जे हुने छ राम्रो हुने छ ।’ सायद त्यस बेला पीसा टावर बाङ्गो नभई दिएको भए यसले अहिलेको जस्तो मुल्य पाउँथ्यो कि पाउँदैन थियो ? उत्तर सजिलो छैन । तर वर्षौसम्म बाङ्गिएर पनि नढलेको भिमकाय पिसा टावर जस्तै बलियो हाम्रो धरहरा किन भएन ? लेखकलाई जस्तै हामीलाई पनि प्रश्न उठ्नु स्वभाविक हो ।
कृतिको नाम बोक्ने नियात्रा हो, ‘प्राचीन रोममा कुमारी’ । रोमसँग धेरै इतिहास छ । आधुनिक व्यसायको जग बसाल्न बनाईएको पहिलो सपिङ् सेन्टर, अनेकौं स्मारक, विविध संग्रालयहरु । त्यहाँ नपुगेकाहरुले पनि यस नियात्रा अध्ययन गरेर मनचित्र तयार पार्न सकिने गरि लेखेका छन् लेखकले । रोमन सम्राट जुलियस सिजर र उनका उत्तराधिकारी अगस्टसका नाममा राखिएको अंग्रेजी महिनाका जुलाई र अगस्ट घोकि रहेको सत्य उक्त नियात्राले देखाई दियो । मन्दिरै मन्दिरको सहर काठमाडौ जस्तै मन्दिरै मन्दिरको सहर रहेछ रोम । हिन्दूहरुले ३३ कोटी भगवान पुजे जस्तै प्राचीन रोमनहरु मूर्तीहरुको पूजा गर्दथे । कस्तो रोचक संयोग, शक्तिपीठहरुमा पशुबली दिने चलन त्यहाँ पनि रहेछ ! जव रोम ईशाई कोलोनी बन्यो सवै रोमन सभ्यताहरु बन्धक बनाईए । नेपाल यो कुरा बुझ्दै छ कि नाई ? ओहो, त्यहाँ पनि नौ ग्रहको मान्यता र पूजा गर्ने चलन रहेछ । हाम्रो वर्षा र सहकालका देवता ईन्द्र, रोमका नेप्च्युन । विद्या र ज्ञानकी देवी हाम्री सरस्वती, त्यहाँकी मिनेर्वा । धन र समृद्धीका देवी हाम्री लक्ष्मी, त्यहाँकी फोर्तुना । हामी कुमारीलाई पवित्रताको प्रतिक मान्छौ र जीवित देवी भनेर पूजा गर्छौ । त्यो चलन त रोममा पनि रहेछ । कुमारीको मन्दिरनै रहेछ देवी भिष्टा । उनी शनीकी छोरी । कस्तो अचम्म ! आखिर नाम त भाषा अनुसार फरक हुनु स्वभाविक भै हाल्यो । नेपाल र ईटालीको यो समानाताको थप अनुसन्धान कहाँ पढ्नु पाउनु होला ? ईशापूर्व ४९८ बनेको शनी मन्दिरको भग्नावशेष र पालाटिन पहाडको मिथक । प्राचिन दरवारहरुका निशाना । नियात्रा पढ्दै जाँदा धेरै कुरा देखेझँै लाग्छ । शासकमा महत्वकांक्षा बढ्दाको हविगत नेपालमा मात्र होईन, ईशापूर्व ४४ मै जुलियस सिजरले भोगेको इतिहास पनि छ नियात्रामा । उनको सम्झनामा उनका धर्मपुत्र अगष्टले बनाएको मानव मन्दिर र सम्राट अन्टोनिनसले उनकी पत्नीको सम्झनामा बनाएको अर्को मानव मन्दिरहरुको रोचक इतिहास नियात्रामा छन् ।
‘फ्लान्दर्शको मैदानमा’ नेपालीको वीरगाथा देख्न पाईन्छ । प्रथम विश्वयुद्धमा नेपाली बहादुरीको निशानी देखेर गर्विलो होइन स्तव्ध भइन्छ । प्रथम विश्वयुद्धमा घमासान लडाईं भएको ठाउँ र युद्धको अन्त्यको घोषणा भएको ठाउँ इपर हो । त्यहाँ नपुगे पनि छिपछिपे इतिहास अध्ययनको सुविधा नियात्रामा पाईन्छ । नियात्राकै विचमा जोन म्याक्रेको कविता बोनसको रुपमा अध्ययन गर्न पनि पाईन्छ । युद्धका क्रममा मारिएकाहरु फ्लान्दर्सको मैदानमा पप्पी फूलको विम्ब बनेर बाँचेका रोचक कविताले भावुक बनाउँदो रहेछ ।
नियात्राकार बजगाईंको कृति ‘भाया साक्रा’ दोहो¥याई, तेह¥याई पढ्दा युरोपको वैभव, रोचकता र रहस्य थाहा नपाएका पाठकहरुलाई धेरै दृश्यहरु सिनेमाका पर्दामा नाचेजस्तै मस्तिस्कमा नाच्न सक्छन् । दशगजा नकाटेको म जस्ता पाठकका लागि भाया साक्रा ज्ञानवर्धक र स्वादको लाग्दछ । आफूले देखेका दृश्यहरुलाई शव्दमा उतार्नु र ती शब्दहरुले पाठकको हृदयमा जीवन पाउनु नियात्राको बलियो पक्ष हो । प्रवासको यान्त्रिक जीवनबाट समय बचाएर नियात्राकार बजगाईंले नेपाली साहित्यलाई दिएको डायस्पोराको सुन्दर उपहार हो ‘भाया साक्रा’।
कृति : भाया साक्रा
विद्या : नियात्रा
लेखक : कृष्ण बजगार्इं
प्रकाशक : साङ्ग्रिला पुस्तक, काठमाण्डौं
मुल्य : २९५।–

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075

लेखकका अन्य रचनाहरु