असम्बन्धित सम्बन्ध

- विजय सापकोटा

सम्बन्ध र स्वामित्व नभएका कुराहरुको पनि माया लागेर आउँदोरहेछ कहिलेकाहीँ । यीभन्दा वरै संवेदनाको स्वरुपमा मात्रै पनि जीवनका थुप्रै क्षण, प्रसङ्ग, वस्तु, व्यक्ति, ठाउँ अथवा अन्य थुप्रै कुराहरु जोडिइरहने रहेछन् । जीवन हिँडाइको क्रममा त्यस्ता झिल्का र छिल्काहरु कतै आँखामा ठोकिएर ह्दयमा छाल उठाउँदै बिलाएर जाँदारहेछन् अनि केहीचाहिँ यात्रामा ठेस बनेर लामो समयसम्म असर बनाइरराख्दा रहेछन् । सायद यस्तै कारणले पो हो कि असान्दर्भिक र असम्बन्धित कुराहरु पनि यही ‘माया लागेर आउनु’ कै कारणले पछि स्वामित्वकरण हुने या सम्बन्धित भएर जाने ।
त्यसो त असामान्य र असाधारण कुराहरु आममान्छेका जीवनसँग कमै साक्षात्कृत हुन्छन् । भइहाले पनि सामान्य मान्छेको जीवनमा त्यो कि त दुर्घटना हुन्छ कि त बेवास्तापूर्वक बिलाएर जान्छ, विशिष्ट भनिएकाहरुको जस्तो विशिष्ट बन्दैन । असामान्य र असाधारण कुराहरु दुनियाँमा प्रतिभाशाली वा शक्तिशाली मान्छेहरुले मात्रै झेल्ने र भोग्ने हो । जगत्का तमाम शक्ति र सत्ताबाट किनारा लगाइएको आम मानिसको जीवनसँग सम्बन्धित कुराहरु जतिसुकै असामान्य र असाधारण नै किन नहुन ती स्वभाविक नै ठहर्छन् । सामान्य वा असामान्य अनि साधारण वा असाधारण भन्ने कुरा समय, सन्दर्भ र चरित्रको सापेक्षतामा हुँदोरहेछ ।
म बस्ने अपार्टमेन्टकोे पारिपट्टि यहुदीहरुको सिनेगगसँगै जोडिएको एउटा पुरानो घर छ । मान्छे बस्न छाडिसकेको जस्तो, बेस्याहारको । त्यहाँ कहिल्यै मान्छे देखेको छैन मैले । घरकोे आँगनमा पलाएका घाँस र जथाभावी बढेका फूलका झाडीहरुले लामो समयदेखि यहाँ कोही नबसेको छैन भन्ने बताउँछ ।
मलाई त्यो घरको अवस्थासित लिनुदिनु त केही थिएन । तर कुनै एक आइतबारको फुर्सदिलो दिन मैले यी सबै कुरालाई पुनर्विचार गरेँ । त्यो दिन म समयजस्तै खाली दिमाग बोकेर झ्यालको सिसाबाट छिरेको घाम ताप्दै लगभग रित्तोजस्तै सडकमा रमिता हेरिरहेको थिएँ । कहिलेकाहीँ यस्तो पनि हुँदोरहेछ, रित्तो सडकमा पनि रमिता ! निकैबेरपछि त्यही घरमा गएर आँखा ठोकिँदा भने मेरा जिज्ञासाहरु फेरि जागृत भए । एउटी वृद्धा घरको सरसफाइमा लागिरहेकी थिइन् । लगभग असी मास्तिरकै उमेरकी तिनलाई यसअघि मैले यतातिर कहिल्यै पनि देखेको थिइनँ ।
मैले हेर्दाहेर्दै तिनले टिन र प्लास्टिकका कन्टेनर, खोल र बोतलहरु सबै एउटा ठूलो झोलामा बटुलेर राखिन् । अनि हाँगाबिगा छिमोल्ने सानो कैँची लिएर जथाभावी झ्याङ्गिएका बिरुवाहरु छाँट्ने र तिनलाई बटुल्ने काममा ती व्यस्त भइन् ।
म खाली थिएँ, त्यसैले मैले तिनका क्रियाकलाप हेर्नमा केही मिनेट व्यतीत गरेँ । तर केहीबेरमै मलाई तिनको तन्मयताले अनौठो झट्का दियो । म एक्कासि उद्वेलित जस्तो भएँ र मेरो मनमस्तिष्कमा त्यो घर, त्यो आँगनप्रति एक्कासी मायाको भाव छचल्किएर आयो । त्यो लगभग खण्डहर बन्नै आँटेको घर फेरि घरजस्तै भएको हेर्ने रहर जागृत भएर आयो ।
साँच्चै, स्वामित्व र सम्बन्ध नभएका कुराहरु पनि कति मायालाग्दा भएर आउँदा रहेछन् !
केहीक्षण अगाडिसम्म मभित्र त्यो घरप्रतिको भाव जड थियो । तर एकैक्षणमा त्यो बेग्लै तरलतम बनिदियो । त्यसले मलाई धेरै कुरामा सोचनीय बनाइदियो । ती वृद्धाको बारेमा अनेक जिज्ञासाहरु जन्माइदियो । त्यो घरप्रति पनि अनेक जिज्ञासाहरु जन्माइदियो ।
धरमराउँदा वृद्ध हातले कैँची समातेर विरुवाका हाँगाबिँगा छिमोल्दै गरेको देख्दा आमाको याद आयो । आमा नेपालको सन्दर्भमा बुढेसकालको खुड्किलो टेकिसक्नुभयो, तैपनि उहाँको जाँगरमा किन्चित कमी आएकै छैन । खेतबारी आमालाई आफ्नो सबैभन्दा नजिकको संसार लाग्छ । सघाउने दोस्रो मान्छे कोही छैन । होस् न त काम गर्न सकिएन, बेचिदिऊँ भन्दा रिसाउनु हुन्छ र भन्नुहुन्छ–‘आफ्नो माटो पनि बेच्छन् ?’
आमाको पढाइ छैन, न त उहाँ कुनै संभ्रान्त सांस्कारिक परिवारमा जन्मनु हुर्किनु भएको हो । तैपनि आमाको माटो चेत देखेर कायल हुन्छु । राष्ट्रवादको तातो हावा चलिरहेको बेलामा देशको सीमानाको भेउसम्म नपाएकी आमाको माटोप्रेम आफ्नो माटो छोडेर भागी हिँड्ने मजस्ता सन्तानहरुप्रतिको रोष पो हो कि भन्ठानेर झसङ्गिन्छु पनि । आमाको माटोप्रतिको भक्ति, विश्वास या आस्था जे भनूँ त्यसको एक अंश पनि ममा रहेनछ त ? भावनात्मक तहलाई कोट्याएर हेर्दा कहिलेकाहीँ त ग्लानिले पनि भरिन्छ मन । यद्यपि हाम्रो युगजीवनका क्रूर जटिलतासँग आमाको साक्षात्कार लगभग हुँदैन र आमाले सोचेको या चाहेको जीवनमा हाम्रो पुस्ताले भोगिआएका या भोग्नुपर्ने जटिलताहरु पनि छैनन् । त्यसैले पनि आमाको माटो प्रेम निर्वाध चलिरहेकै छ । तैपनि आमाको माटोप्रेमले नतमस्तक बनाइरहन्छ । कहिलेकाहीँ भावुकतामय क्षणहरुमा त आत्मग्लानिको कालोनीलो रङ छ्यापेर पनि भाग्छ । त्यसो त कुनै अपराध गरेको पनि छैन, माटोलाई घात गरेको पनि छैन न त नेतागणको जसरी माटोको नाम जपेर त्यसकै दलाली गर्ने पापमा सहभागी भइएकै छ । त्यो आकांक्षा र हैसियत दुवै छैन पनि ।
यद्यपि आमाको दिनचर्यामा पहिलेको जत्तिकै सक्रियता त छैन तैपनि अहिलेसम्म पनि आमाको विश्वविद्यालय, अफिस या अरु यस्तै जे भने पनि तिनै खेतबारी हुन् । आमाको जीवनका सुखदुःख, खुसी आनन्द जे जति संवेगहरु छन् तिनका सबैभन्दा नजिकका साक्ष्य पनि तिनै हुन् । पत्तै नपाई आएको यौवनका पारिला घामहरुमा कहिलेकाहीँ बेगिएर गीत पनि गाउनुभयो होला आमाले रुख बुट्यानहरुलाई दर्शक, स्रोता बनाएर । कहिलेकाहीँ मन दुःखेको बेलामा चिलाउनेको फेदमा पलाएको झ्याउ कोट्याउँदै सुक्सुकाउनु पनि भयो होला । आमाको जीवनका कतिऔँ कति हिउँद, बसन्त यिनैको पेरिफेरिमा बिते । हामी बाँचेको युगको बिडम्बना– लगभग सबै ग्रामीण आमाको पुस्ता यसैगरी बित्यो रुखबिरुवा, बुट्यान, खेतबारी र पानी पधेरोसित मूक संवाद गर्दै । गहिरिएर सोच्दा पनि कटक्क मन खान्छ ।
गाउँको लगभग सबैभन्दा बूढो उमेरको मेरो घर, भूइँचालोले चरक्कै चिरिएको छ भन्ने सुनेको छु, जान पाएको छैन । मेरी आमाको किशोर र यौवनमय उमेर यही घरको मझेरी र भित्ता लिपपोत गर्दै बितेको हो । आमाको उच्छबास, आँसु, पसिना अनि हाँसो यसका चारदिवारीमा लेप लागेका छन् । अनि अब जीवनको उत्तराद्र्धमा आफ्नो सम्पूर्ण जीवनसँग गाँसिएका प्रिय चीजहरुबाट सम्बन्धविच्छेद गराउन खोज्दा आमाको मन दुख्दैन त !’ आमासित अझै त्यही माटो खनीखोस्री गर्ने सपना छ, तिनै रुखबिरुवा सुम्सुम्याउने रहर छ । त्यही आत्मीयता, उही प्रगाढताले आमालाई कति बलियो भावना दिएको रहेछ, तब न भन्नुहुन्छ– ‘आफ्नो माटो पनि बेच्छन् कहीँ ?’ अघिल्तिरकी यी वृद्धा मेरी आमाभन्दा केही नभएपनि पन्ध्र वर्ष त पक्कै जेठी छिन् । सकीनसकी घरको सरसफाइमा लागेकी तिनका क्रियाकलापमा म आमाकै झल्को पाइरहेको थिएँ । सायद, आफ्नोपनको माया होला यो ! यी आमाको पनि त यो घरसँग जीवनका सुखदुःख, संघर्ष सबै गाँसिएकै होलान्, नभए आफू नबस्ने घरलाई स्याहार्न, यहाँका बोट पातलाई सुम्सुम्याउन किन आउँथिन् र तिनी ।
भोलिपल्ट, पर्सिपल्ट हप्ताभरि मलाई त्यो हेर्ने फुर्सद भएन । त्यहीबाटो भएर बिहान बेलुकी ओहोरदोहोर गरिरहेँ । विहान बस पक्रन, बेलुकी फर्कँदा घर पक्रन । त्यही घरकै छेउबाट हप्ताभरि हिँड्दा पनि मलाई त्यो घरतिर हेर्ने फुर्सद भएन, अथवा मेरो ध्यान गएन । तर फेरि आइतबार आयो । आइतबारको उठाइ नै बेग्लै हुन्छ । दिमाग र शरीर दुवै अल्छ्याइलो तर मिठो । अबेर उठेको त्यो आइतबार जब चियाको चुस्की लिँदै गर्दा मेरा आँखा जब त्यही घरमा टाँसिए म झण्डै चित खाएँ । ओहो, विगत डेढ वर्षदेखि मैले देखेको घर त्यहाँ थिएन ।
छाँटिएका झाडी, काटिएको घाँस, सबै फोहोर सफा गरिएको । अघिल्लो हप्तासम्म परित्यक्त, खण्डहर जमिन जस्तै भइसकेको त्यो घर अब साँच्चै घर भएको थियो । एक्कासी मन भरंग भयो घर सम्झेर । हो रहेछ, मान्छेहरु बस्न छाडेपछि त घर घर कम खण्डहर बढी पो बन्दोरहेछ ।
सानोमा सामाजिक शिक्षा किताबमा मानिसका आधारभूत आवश्यकता गाँस, बास र कपास हुन् भनेर पढ्दा यसको कति सजिलै व्याख्या गरिन्थ्यो । योसँग जोडिएको अर्थशास्त्र बुझ्नु वा झेल्नु नपरेकोले होला । त, त्यही गास, बास र कपासको आधारभूत जगमा उभिएर मान्छे इच्छाहरुको बाटो हिँड्दोरहेछ । गाँस, बास र कपासले मान्छेलाई आकांक्षाहरुको अर्को तहतिर उकाल्छन् र त्यसलाई जग हालिसकेपछि मान्छे अनेक किसिमका आवश्यकताहरुको सिँढी चढेर जीवनको अन्तिम सीमासम्म पुग्छ । तर बास अर्थात् घर आधारभूत आवश्यकता र त्यसभन्दा अझ पर पनि केही रहेछ ।
मैले दिनभरि त्यहाँ कोही मान्छे देखिन्छन् कि भनेर चियाउने प्रयत्न पनि गरेँ तर त्यहाँ कोही थिएन । साँझमा अनि रातमा त्यहाँ बत्ती बलेको देखिएन । भोलिपल्टदेखि मेरो नियमित रुटिन सुरु भयो, सायद मनबाट त्यो विषय, प्रसंग ओझेलमा पर्यो । तैपनि कहिले केही भावले कहिले निष्पृह मेरा आँखा त्यस घरमा परि नै हाल्थे । तर त्यहाँ मान्छेको कुनै संकेत देखिएन ।
बस स्टपदेखि अपार्टमेन्टसम्म आइपुग्न लगभग ५ मिनेट लाग्छ । यति छोटो दूरीमा हप्तैपिच्छे स्टेट एजेन्सीका अनेक रंगका बोर्डहरु लगाइरहेको देखिन्छः कुनै बिक्रीमा छ भनेर, कुनै बिक्री भइसक्यो भनेर । मलाई लाग्यो, ती बूढी मान्छेले पनि घर मर्मत गरेर बेच्न राख्दैछिन् । मान्छे नबस्ने भएपछि घर त्यतिकै खालि राख्नुमा केही फाइदा पनि छैन । तर लगभग दुई महिनासम्म न त्यहाँ कोही आएर बसेको देखियो, न त वरपरका अन्य घरहरुमा जस्तो स्टेट एजेन्सीका बोर्डहरु लागेको नै देखियो ।
यो नचाहिँदो चासोले एकदिन मलाई टर्किस पसलेसम्म पु¥यायो । टर्किस पसले यो सानो र शान्त गाउँको न्यूज च्यानल नै थियो । उसको पसलका नियमित ग्राहक हुन् अथवा उसको पसल अगाडिको बस स्टपमा नियमित बस कुर्ने मानिसहरु हुन् सबैसँग नबोली बस्न सक्दैनथ्यो । सामाजिक, सांस्कृतिक अथवा अन्य कुनै पनि कारणले एकआपसमा बिल्कुलै नगाँसिएका मान्छेहरु बस्ने यो ठाउँमा उसले बताउने समाचार एउटै हुन्थ्यो कि को यो गाउँमा बसाइँ सरेर आयो, को यहाँबाट गइरहेको छ । खासमा यो बसाइँ सराइ यति तीव्र देखिन्थ्यो कि एक दुई महिनामै छरछिमेकमा बिल्कुलै नयाँ मान्छे देखिन्थे । बाँकीचाहिँ को मान्छे कहाँ काम गर्छ भन्ने कुराको सामान्य ज्ञान पनि उसले राखेको हुन्थ्यो । त्यस्तो मान्छेलाई नजिकैको घर र ती बुढी आइमाईको बारेमा पक्कै थाहा हुन्थ्यो ।
उसका अनुसार यो घर ती बूढी आइमाईको छोराको थियो, जो विगत ११ वर्षदेखि बेपत्ता छ । कुनै खोजखबर बिना । छोरो बेपत्ता भएपछि आमाचाहिँ मानसिक रुपमा थलिएकी छिन् । दुई वर्षसम्म त उनलाई केयर सेन्टरमा पनि राखियो । अहिले बिसेक भएपछि घर आएकी छिन् । उनलाई एकदिन छोरो फर्किएर आउँछ भन्ने विश्वास छ, त्यसैले यो घरको स्याहारसुसारमा लागेकी हुन् । सायद अब केही दिनपछि उनी आफ्नो अपार्टमेन्ट छाडेर यतै बस्ने गरी आउँदैछिन् । पसलले अगाडि थप्यो, ‘एउटा कुरा तिमीलाई थाहा छ, यो तिन्को जन्म घर नभएपनि बाल्यकाल यही घरमा बितेको हो । त्यसैले पनि उनलाई यो घरको अत्यन्तै माया लाग्छ रे ! मैले घर बेच भनेको त मलाई के भनिन् थाहा छ ? यो घर मेरो जीवनको पहिलो प्रेम हो । पहिलो प्रेम जतिको आत्मिक अरु केही हुनै सक्दैन ।’

टर्किस पसलेको कुरा सुन्दा आफ्नै आमाको अनुहारले आँखामा पीडाको गुलेली ताक्छ, पटक पटक । त्यो घरको ठाउँमा आफ्नै घर आएर ठडिन्छ बारम्बार, मन आफ्नैे मझेरी, चोटाकोठा र बुइँगलतिर चाहार्न थाल्छ । अनि कहिल्यै आमनेसामने नपरेकी ती बूढी आइमाई पनि आफ्नै आमा जस्तै लाग्छ । कतै पढेको जस्तो लाग्छ– ‘जब तिमी आफ्नो पुरानो घरमा फर्किएर जान्छौ, त्यहाँ तिमीले आफ्नो पुरानो घर होइन बिर्सिइएको बाल्यकाल पाउनेछौ ।’ आफू जन्मेहुर्केको घर सम्झेर मन भावुक हुन्छ । घरतिर लाग्ने बेलामा बूढी आइमाईले जतनले स्याहारेको त्यो घरलाई पुलुक्क हेर्छु– माया, इष्र्या एवम् नियास्रिएको अनुभूतिले ।
त्यसो त मसित कुनै स्वामित्व अथवा सम्बन्ध थिएन त्यो घरको । मसित आफ्नो मनमस्तिष्कमा टाँगेर हिँड्न आफ्नै नित्य सिंगाने जीवन थियो, मेरो वैयक्तिकताभित्रका सुखदुःख वा शून्यताहरु थिए अथवा मसित गाँसिएका पात्र, घटना वा परिस्थितिहरु थिए । यो परदेशमा कुनै भावुकताबस त्यो परित्यक्तजस्तो घरलाई सफा, सुघ्घर गरी सिहारीबस्ने फुर्सद, इच्छा अथवा सायद अधिकार मलाई केही पनि थिएन । त्यसैले एकदुई हप्तामै यस्ता कुरालाई चटक्कै बिर्सिएर म फेरि त्यसकै अघिल्तिरबाट दैनिक ओहोरदोहोर गरिरहेँ । अरु घरहरुजस्तै, अघिल्तिरका चर्च र सिनेगग अथवा छेउको चाइनिज रेष्टुराँ या टर्किस पसल जस्तै त्यो घर पनि मेरो आँखाका लागि स्वभाविक र नियमित बन्यो लामो समयसम्म ।
सांसारिक जीवनका अप्ठ्याराहरु मानिसका भावनात्मक केन्द्रहरुलाई भत्काउँदै छन् । मानिसहरु असाध्यै धेरै व्यवहारिक बन्दैछन्, बन्न बाध्य पनि छन् । अब संवेग, संवेदना या भावनात्मक पक्षहरुको कुनै औचित्य र अर्थ नहुने अवस्था देखापर्नथालिसकेको छ । यस्तो लाग्छ, कुनै क्षण यस्तो पनि आउनेछ दुनियाँमा मान्छेसँग यो भाव पक्ष नै हराएर जाओस् । वेगिएको मान्छेको जगत् देख्दा यो उतिसारो स्वैरकल्पना जस्तो पनि लाग्दैन ।
उपभोक्तावादी यो संसारमा ‘माटो बेच्नु नहुने’ मेरी आमाको दर्शन, या भनूँ अडान कहिलेसम्म टिक्ला ? चौतर्फि युगजीवनका जटिलताहरुले चेप्टिँदै गएका हामी सन्तानले आमाको त्यो दर्शन, भावनालाई जोगाउन कहिलेसम्म सकौँला ? यो प्रश्न तात्कालिकरुपमा अनुत्तरितजस्तो देखिएतापनि यसको इमान्दार उत्तर प्रष्टै छ– शायद नसकौँला । ‘आफ्नो माटो बेच्न नहुने’ धारणा राख्ने मेरी आमा र जीवनको अन्तिम घडीमा सुविधासम्पन्न आधुनिक अपार्टमेन्ट छाडेर आफू जन्मिए, हुर्किएकै पुरानो घरमा अन्तिम दिनहरु गुजार्न चाहने बेलायती आमाको ज्ञान, विद्वता या जीवनशैलीमा आकाशपातालको भिन्नता पक्कै छ । तैपनि ती आमा र मेरी आमामा मैले एउटा समानता भेटेँ । ती बेलायती आमामा पनि मैले मेरै आमाको मन देखेँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075

लेखकका अन्य रचनाहरु