मेलै छामेकी "अमेरिकामा आमा"

- नम्रता गुरागाईं

एउटा संयोगमा “अमेरिकामा आमा” पुस्तक पाएं । समयको अभाबले धेरै समय लाग्यो सिध्याउन तर जीवन जिउने क्रममा धेरै कथाहरु आफूसंगपनि मिल्न गएकाले समय पाउने वित्तिकै पल्टाइ हाल्थे । थालेको काम सिध्याउन कोशिस नै गर्ने भएकीले अमेरिकामा आमा लाइ पढेर सिध्याएं । पढिसकेपछि आफुलाइ कसैबाट ऋण लिएजस्तै भयो । जुन ऋण केही मात्रामा चुक्ता गर्न सक्छु कि भन्ने लागेर लेख्ने आंट गरें र कथाभित्र छिरें । पुस्तककि लेखिका भारती गौतमले आफनो जीवन भोगाइले ल्याएका उतारचढाब, भिन्न परिबेशका हांसो खुशी, अन्योलता, घर सम्झेर दुखेको मन, जागिरको राम्रो ठेगान नभइसक्दा विरालाले बच्चा सारेजस्तो परिवार
सार्दै हिडनु पर्ने बाध्यता, छोराछोरीले बनाएका साथी छोडेर सधैं नयां हुनुपरेको तितो सत्य र पारिबारिक दुखपिडालाइ यो आमारुपी कथाको पानीमा इमान्दारितापुर्वक बगाएकी छन जो पढदा जोसुकै आमापनि मज्जाले पौडिन्छ र पारी तरेरै छोडछ । एउटी वालिका बढेर नारी हुन्छे र सबैभन्दा कठिनको पद “आमा” सजिलै ग्रहण गर्छे ।
आमा नहुन्जेल सुन्दा हल्का र सजिलो लाग्ने आमा शब्द भोग्दा कति अप्ठयारो र गह्रौं हुन्छ नभोगी कहां थाहा हुन्छ र । भोग्दैजांदा आमा शब्दले दिने खुशी, सन्तुष्टि अरु कुनै बहुमुल्य बस्तुले दिन नसक्ने सन्देश अमेरिकामा आमाले दिन्छ । नितान्त आफना भोगाइलाइ साहित्यिक विम्बहरुले सजाएर पठनयुक्त बनाउन साच्चै कठिन हुन्छ तर लेखिका भारती पठनयोग्य बनाउन सफल भएकी छन । उनले पात्रलाइ आफू संगसंगै हिडाएकी छन । हंसाएकी छन रुवाएकीपनि छन । पुस्तकको आकार ठुलो, वाक्यहरु लामा भएपनि तिनीहरुले दिने मिठास र सन्तुष्टी अर्कै छ । करिव करिब ५०० पेजको पठनयोग्य अमेरिकामा आमालाइ पढदा एउटी नारीका भोगाइ जोसुकै नारीको कुनै न कुनै बेलाको भोगाइसंग मिल्न सक्ने भएकोले यसलाइ नारीप्रधान पुस्तक भन्दा अतियुक्ति हुदैन ।
अध्ययनको शिलशिलामा विगत दुइवर्षदेखि श्रीमानसंग छुटिएर बसेकी मलाइ आफनो जागिर भन्दा छुटिएर बस्नुको पिडालाइ शान्त पार्नु पहिलो काम थियो । सोही अनुरुप भिषा पाउने वित्तिकै म अमेरिका हानिएं तर मैले देखेको अमेरिका मैले सुनेको अमेरिकाभन्दा विलकुल फरक रहेछ । आएको ६ महिनासम्मपनि श्रीमानको जागिरको टुंगो नहुनु र आफनो जागिर खाने वर्क परमिट नहुनुले जन्माएका समस्या र चिन्ताले पाकेर टनटनी दुखेको घाउ कुनचाहिं डाक्टर भेटौं र देखाउं भइराखेको बेला मेरो यो पुस्तककी लेखिका भारती गौतमसंग चिनजान भयो । गफैगफमा चिन्ताले दुखेको मेरो घाउ उनलाइ देखाएं । उनले निचोरिमात्रै कहां दिइन र चिन्ताको घाउंको खील नै निकालिदिइन । अचम्म लाग्यो को मान्छे हुन यिनी जस्ले मेरा परदेशको बसाइ र जागिरे समस्यालाइ बुझेर मेरो चित्त बुझाइन ? त्यसपछि यिनका बारेमा अझै खोज्दै गएं । बुझ्दै जांदा नेपाली विषयका ज्ञाता, प्रष्ट बक्ता उही प्रोफेसर हेमचन्द्र पोख्रेलकी छोरी पो रहिछन जस्ले पढाएका नेपालीका दुर्लभ नोटहरु भेटेर मैलेपनि पढने मौका पाएकी थिएं । नाताले आफन्त मान्छेसंग अमेरिकामा चिनजान हुनुपनि अनौठो संयोग मिलेको हुनुपर्छ मेरो । मैले चिन्दा यिनी अमेरिकाको टेनेसी राज्यमा बस्थिन । ओ...हो...यति टाढा यति ठुलो सम्झाउने शक्ति भएकी महिलासंग मेरो चिनजान भयो, ल राम्रो भयो भनेर मैले हाम्रो विद्युतिय भेटघाटलाइ बढाउदै गएं । पछिपछि त हामी फोनमा घण्टौ कुरा गर्नेपनि भयौं । उनिसंग कुरा गरिसकेपछि ममा अर्कै फुर्ती बढेजस्तो लाग्थ्यो । बास्तबमा उनिसंग मान्छेलाइ सम्झाउने क्षमता छ जुन क्षमतामा उनी आफनो अनुभब मिसाएर गफिएका हरेक मान्छेको चित्त बुझाउन सक्छिन ।
जब मैले अमेरिकामा आमालाइ पल्टाएं, पढदैजांदा आफनो अमेरिका बसाइका अनुभबहरु धेरै नै त्यसमा मिल्न गए र अझै पल्टाउदै गएं । मपनि उनिसंगसंगै कथामा हिडन थालें । कथामा आमा धेरैपल्ट छोराछोरीसंग हारेकी छ । एउटी आमा विनाकसुर कहिलेपनि नहार्ने उ छोराछोरीलाइ जिताउनका लागि सजिलै हारिदिन्छे । छोराछोरीलाइ बुदिदमान बनाउनका लागि जानेरै केही समय आफू उल्लु बनिदिन्छे र छोराछोरीलाइ उठाउनैकालागि आफू लडिदिन्छे । आमाले छोराछोरीसंग यसरी हार्दा, लडदा, र जिल्लिदा मन कहिल्लै दुख्दैन बरु बल्ल यति सिकाएं भनरे गर्व गरेकी गर्छे जुन गर्व हरेक आमाले आफना नानीहरुबाट गर्छन । समय पाउनेवित्तिकै आमा आफनो शुसुप्त अबस्थामा रहेको पढने चाहना फुकाउछेपनि तर साना छोराछोरी, वर्ष वर्षमा बसेको ठाउं छोडदै
हिडनुपर्ने बाध्यताले फेरी आफना चाहनाहरु उसले भनेजस्तै मनको तल्लो कुनामा जतनले बांधेर राख्छे ।
पुस्तकमा समावेश ६३ वटा उनका जीवनका कथाहरु पढदा उनिसंगै मपनि सर्दै गए,ं हिडदै गएं तर मनले । यात्रामा संगै निस्कंदा उनलाइ दुख परेका बेला मैले संझाएं, मलाइ अत्यासलाग्दा उनले सम्झाइन दोहोरो नबोलिकनै । उनले आमा बुवा चांडै परलोक भएर वहांहरुसंग साटन नपाएको दुखसुख वाडुली भएर हिक्क हिक्क गरिरहन्छ पुस्तकभरी । पढदैजांदा यि हिक्काहरु मलाइपनि नछुटेका होइनन तर मलाइ आमा भएरपनि हिक्का छुटिरहन्छ । मैले नढांटी भन्नुपर्दा मेरी आमालाइ लागेको रोग र आमामा रोगले ल्याएको परिवर्तनले हरेक पल्ट घर जांदा साटन नपाएका सुखदुखहरु पिडा भएर दुख्दा फर्केर आएपछि सबैभन्दा धेरै उनैसंग पोखेकी छु र अघाउंजी मन दुखाएकी छु । उनका कथाहरु सबै चेलीहरुका कथा हुन जसले सात समुद्रपारी नै माइती छोडेर आएका छन । उनका कथाहरु सबै आमालाइ मिल्छन जस्ले सानो नानी च्यापेर अपरिचित गन्तब्यको यात्रामा निस्किएका छन र पराइ रितिथितिसंग मन नलागेरैपनि संझौता गरिरहेछन । कथामा आमा बाभन्दापनि बढि सम्झनामा आउने बहिनी कुनै न कुनै रुपमा दोहोरिरहेकी छन । जो छैन त्यसको महत्व बढि भएर हो वा आफनो सबैभन्दा नजिकको साथी भएर होला, बाटामा दुइटी महिला संगै हिडेको देख्नेवित्तिकै त्यही बहिनी संझनामा आउंछे ।
प्रबिधिले उचालिएको देशमा जीवनको आधा उमेर पार गरेर आउंदा मान्छेले आफूले मानिराखेको संस्कार कसरी छोडिहाल्छ र ? आफनो संस्कार छोडन नसकेजस्तो नयां संस्कार सिकिहाल्नपनि त सक्दैन नी ! है न र ? आफनो संस्कार छोडन नसक्नु र नयां
संस्कार सिक्न नसक्नुले दिएको परिणाम घाउ भएर दुख्छ, दुखिरहन्छ । कहिले घरैपिच्छे नआएको दशै भएर दुख्छ त कहिले घरैपिच्छे नआएको तिहार भएर दुख्छ । नयां चालचलन र संस्कार नसिकेर पनि कहां सुख हुन्छ र तर सिक्न कहां जाने ? बरु लाज भएपनि, संकोच भएपनि आफनै छोराछोरीबाट भन्दा फरक पर्दैन । अमेरिकामा आमाले छोराछोरीलाइ बिद्यालय भर्ना गर्दा आफुलाइ पनि भर्ना गर्छे तर मानसिक रुपले मात्र र प्रत्येक छोराछोरीसंग छरिएर भाषासंगै संस्कृतिपनि सिक्न थाल्छे । सिक्ने क्रममा उनिहरुलाइ विद्यालय पठाउंदा सामान्य कुरापनि थाहा नपाएर निहुरिएको आमा शीरको ग्लानी कति हुन्छ त्यो त भोग्नेलाइ मात्र थाहा हुन्छ । त्यो ग्लानी सबै आमाले कुनै न कुनै रुपमा भोगेकै हुन्छ नचाहेरपनि । देशभित्रैपनि एक ठाउबाट अर्को ठाउंमा जांदा उही संस्कार, उही संस्कृति भएपनि मान्छेहरुले फरक किसिमले मानेको देख्दा अचम्म लाग्छ झन देशै छोडेर अर्को ठाउंमा आइपुग्दा कस्तो हुन्छ नपुगी कहां थाहा हुन्छ र ।
समय, ठाउं र परिस्थितिसंग संझौता गर्नुपरेपछि हेरक अभिभाबकको डिग्री जति नै ठुलो भएपनि उसले आफनो सिकाइको शुरुवात छोराछोरीको प्रि स्कूलबाटै शुरुं गर्नुपर्छ त्योपनि आफनै छोराछोरीसंग सिकेर । कसैले आफनी छोरीले पढेको कक्षा भन्दा माथिको कुरा सोधे भने खोइ मेरी छोरी त्यहां पुगेकी छैन, पुगेपछि भनौला भनेर विट मार्नुको अर्थ आफु त्यो कक्षाको बारेमा अनभिज्ञ नै हुनु हो भन्ने कुरामा दुइमत हुदैन । लेखिकालेपनि आफनो छोराको कक्षा चढाइबाट सिकेको भाषा र संस्कृतिको अनुभबलाइ अरु नानीहरुमा बाडिन । त्यसैले त छोराछोरीका हरेक कक्षा चढाइमा आफुपनि चढदै गएको अनभुत गर्छे आमा । समग्रमा उनिहरु नै मेरो जम्मै हो भन्न सक्छे आमा । हरेक भिडभाडमा भित्रिएका आफना छोराछोरीलाइ चिन्न मनले बनाएको छुटटै विशेषण उच्चारण गरेर मन आफै बोल्छ आमाको । कहिले मेरो लामो वा छोटो कपाल खोइ भन्दै भने त कहिले लामा अथवा छोटा खुटटा खोइ भन्दै । यि विशेषण हालेर अमेरिकामा आमा धेरै बोलेकि छ । छोराछोरीका हरेक अप्ठयारामा सहयोगी हुने सबै आमाहरु यो किताबमा अटाएका छन । त्यसो त मन, वचन र कर्ममा दत्तचित्त आयश्रोतका एउटैमात्र आधार शिब गौतमको नामपनि हरेक कथामा उनिदै गएको छ ।

कसैको कुरा नकाटे समयनै नवित्ने मान्छेका केही प्रकारहरुसंग लेखिकाको जम्काभेट नभएको होइन । तिमी आमा मात्र भएर बसेकी अहिलेसम्म? यत्रो डिग्री खेरै फाल्यौ ? यत्रो विकसित देशमा आएर थांगना धोएरमात्रै विताउने भयौ? अथवा पढन नसकेर पो हो कि? कत्तिको साह्रो छ हौ? जस्ता छेडछाडहरु यिनको कानबाट पसेर मुटु नघोचेको होइन तर सहनु बाहेक के नै थियो र अरु । यि छेडछाडहरु यो लेखिकाले मात्र नभएर विदेश आएको छ महिनासम्मपनि जागिर खान नसक्ने धेरै आमाहरुले सुनेको हुनुपर्छ । आजै बाहिर गएर केही गरेर देखाउंजस्तोेपनि भएको हुनुपर्छ तर काम गर्ने वर्कपरमिट नहुंदा वा साना छोराछोरी हुंदा हरेक आमाले यि छेडछाडहरु पचाउनु पर्ने हुन्छ नचाहेरपनि । आमा कहां भन्नेवित्तिकै त्यसरी हिडन सक्छे र अनि उ कोही नभएकोबेला आफैसंग धेरै वात मार्छे । कहिले आफैले आफैलाइ रुवाउंछे भने कहिले आफैले आफैलाइ हसांउंछेपनि । हरेक कथामा म लेखिका भारतीसंगसंगै हिडेकी छु कति भोगेर त कति भोग्न बांकीहरु सिक्दै । जीवनका यथार्थहरुलाइ रत्तिभर नलुकाइ साहित्यक विम्बहरु प्रयोग गरेराब लेखिएको यो पुस्तकमा लामा कथा भएपनि कथामा हिडदै जांदा पटयार लाग्दैन बरु थकाइ मेटाउने चौतारो भेटिन्छ ।
आफना सन्तानहरुलाइ जहां बस्यो त्यहीको संस्कारमा हुर्किन दिनुपर्छ भन्दाभन्दैपनि हुबहु कुनैपनि अबिभाबकले दिन खोज्दैनन । नखोज्नुको अर्थ थोरै हाम्रोपनि लियोस भन्ने नै हो र हुनुपर्छ । त्यसैले होला भारतीलेपनि आफना छोराछोरीलाइ अमेरिकासंगसंगै अलिकति नेपाल दिन प्रयास गरेकी छन, कहिले भाषा सिकाउन लगेर त कहिले आफूजस्तै नेपालीका छोराछोरीसंग भेटाइदिएर । आफु जन्मेको माटो सबैसाइ उस्तै प्यारो हुन्छ भन्ने कुरा थाहा हुंदाहुंदैपनि हुर्किएको देशको वातावरणमा थोरै नेपाल दिएर खानेकुराको परिकारमा थपिएको अचार बनाएर जिब्रो ट्वाक्क पार्न कसलाइ मन हुदैन र । छोराछोरीको दैनिक रहनसहनमा थोरै आफनो भाषा र सस्कृति थप्न मन लागेर हुनसक्छ अथवा आफनो नेपाली पनको तिर्खा लागेरै हुनसक्छ लेखिकालेपनि कोशिस गरेकि छन । नेपालदेखि बाहिरिएर अमेरिकासम्म आइपुग्दा धेरैपल्ट मन छोडिएको छ लेखिकाको । आफु छोडिएको छ, कहिले आमाबुवाबाट विदा हुंदा, कहिले छोराछोरीलाइ कलेज पुरयाएर फर्किदा भने कहिले मन मिल्ने साथि छोडिदा । त्यही छोडिएको मन कतै छोराछोरीमा भेटिन्छ की भन्ने आशले लेखिकालाइ नडोरयाएको होइन ।
सोचेको अमेरिका र देखेको अमेरिकाम १८० डिग्रिकै फरक परेको देख्ने साक्षी भारतीका कथाहरुमा पढन पाइन्छ । यात्राका अप्ठयाराहरु भात खांदा लागेको गांसैपिच्छेको ढुंगाझै हुन्छ । छोराछोरीको बुझाइमा सबथोक जान्न सक्ने जादुको छडी अर्थात म्याजिक वाण्ड आमा फेरी जान्दिन भनेर छोराछोरीसंगै पढन बस्नु पर्दाको अबस्था शब्दहरुमा कहां अटाउन सक्ला र । दुख गरेर पढाएकी छोरीले पढेको कुरालाइ जागिरमा ढालेको हेर्ने रहर बोकेकी आमाले त्यत्रो पढेर फेरी छोरी आफूजस्तै आमा मात्र भएर बसेको देख्दा तं किन मजस्तै हुन खोजेकी भन्नु कहां अस्वभाविकपनि थियो र ? फेरी पढेपछि जागिर खाएर देखाउनै पर्ने हाम्रो समाजमा छोराछोरी हुर्काउदैछु भनेर केही गर्न नसक्ने पत्रु भनाउन कसलाइ मन हुन्छ र ? तर ती वाक्यहरु आमाबाट मात्र नआएर आफूसंगैका साथीभाइ, नातागोता, छरछिमेक सबैबाट कुनै कुनै रुपमा आउने भएकाले सुन्दा सुन्दा दुखेका कान पिलो भएर दुखिरहन्छन । त्यही दुखाइलाइ कम गर्ने समय पाउने वित्तिकै विश्वविद्यालयका ढोका ढक्ढक्याउंदापनि अनुकुल समय नपर्दा पलाएका आशा निमोठेर फेरी मनको तल्लो तहमा राख्दाका पिडालाइ कम गर्नैका लागिपनि यो कलमरुपी औषधीले जन्माएको यो पुस्तक हुनुसक्छ ।
वर्षका धेरै महिनाहरु पसलदेखि नै उस्तै महत्वपुर्ण भएर विज्ञापनमा आउने हुनाले बुझनलाइ कसैलाइ सोधिरहनु नपरेपनि नयां ठाउंको नया संस्कार र त्यहाको मुल्य र मान्यता बुझन देखेरै आउनु पर्ने हुनाले कम्तिमापनि एक वर्ष लाग्नु स्वभाविक हो तर बुझि नसकी आएका चाड पर्वहरुमा छोराछोरीको अगाडि साना साना कुरा थाहा नपाएर चुक्दा आमाको ओहोदा पग्लिएर पानी पानी भइरहन्छ । जीवनको आधा उमेर आधारभुत आवश्यक्तासंगै लडाइ गर्दै हुर्किएको समाजबाट आएको मान्छेलाइ फेरी अर्को समाजमा आएर सबैकुरा तुरुन्तै शुन्यबाट शुरु गर्न मन वचन र कर्मले तयार नहुनु अनौठो पनि होइन । सजिलै सबैकुरा प्राप्त हुने ठाउंमा कठिनले हुर्केर आएका मान्छेलाइ के नमिलेजस्तो के नभएजस्तो हुनु राउटेहरुलाइ शहर आउनुभन्दा कम कहां हुन्छ होला र ! र त उनि भन्छिन समुद्रमा आउने हुरिक्यानको अग्रिम समचार र आबश्यक खानेकुराको भण्डार गर्ने जानकारी रेडियो टिभीबाट आएपछि खानेकुरा किन्न जांदा पसलका आयलहरु खाली देखेर किन्न नपाइने चिन्ता त कता हो कता बरु आनन्द आयो । किनकी उनले आफु हुर्किदा रित्तिएका पसलका आयलजस्ता रित्तिएका पेटहरु धेरै देखेकि थिइन जसका पेट वर्षको एक दुइपटकमात्र भरिन्थे । त्यस्तै आफुले प्रेम विबाह गरेपनि प्रेमलाइ बिशेष दिवसमा मनाउने चलन कहां थियो र ! उनलेपनि कसैलाइ प्रेम गरिन तर देखाएर होइन । उनलेपनि कसैलाइ आफनो मान्छे बनाइन तर लुकाएर । फेरी प्रेम दिवसको परिभाषा कहां एकमुठी कुरकुरे बैंसमा मात्र सिमित हुंदोरहेछ र ! त्यो त फराकिएर आफूलाइ मायां गर्ने आमा बुवा, छरछिमेक, साथीभाइ, नातागोता सबैका पुग्दोरहेछ नी । आफना साना नानीहरुले स्कूलबाट प्रेमपुर्वक दिएका केन्डी र चकलेटका खोलमा लेखिएको धन्यबाद देख्दा बुझाइमा फरक परेको प्रेमदिवसलाइ बल्ल थाहा पाउनु अनि आफुले पनि त्यसै गरिदिन बिर्सिनु अथवा सानाहरुलाइ ठुला कार्ड बोकाएर स्कूल पठाउंदा के नमिलेजस्तो भान हुनु हरेक आमाका अनुभब हुन ।
घरका सबैजना आ आफना काममा हिडेपछि बांकी आमा घरमा एक्लै बोलिरहन्छे । लुगा धुने, भाडा माझने, घर सफा गर्ने सबै काम सकेर एकछिन थकाइ मार्दा अमेरिकामा आमाले आफनो सबैभन्दा प्रिय बस्तु आफै जन्मेर हुर्केको घर, आमा बुवा, भाइ बहिनीसंगै एक्लै बोलेकी हुन्छिन । हरेक पल्टका बाडुलीमा बुवा र भाइले पठाएका चिठठी पल्टाएकी छिन । त्यही चिठठीबाट घरदेखि पर र घरदेशदेखि परदेश सबैको खबर पाएकी छन । पटक पटक दुखिरहने बहिनीको संझना आमाको मृत्युपछि झन धेरै दुख्छ । ३ महिना अघि मात्र आमाको काखमा लडिबडी खेलेर आएकी अमेरिकामा आमाले खिचेका फोटाहरुपनि धुलाएर घरमा ल्याउन नपाउदै आमाको मृत्युको खबरले मनमा पहिरो जान्छ । छोराछोरी कै कारणले बाच्ने आशा नगुमाएको हुनुपर्छ उनले । नाम चलेका प्रोफेसर हेमचन्द
प्रोख्रेलकी छोरी, उनलाइ बुवाको मृत्युले त झन सुनामी नै ल्याएको छ । उनलाइ नानी भनेर बोलाउने मायालु शब्दमा सधैका लागि पूर्णविराम लागेपछि उनि धेरै समय एक्लिएकी छन तर उत्तरदायित्वमा अलिकतिपनि तलमाथि पर्न दिएकी छैनन ।
रित्तो काखबाट शुरु भएको भारतीको कथामा धेरै उतारचढाब र तिनिहरुले आफुमा ल्याएको परिवर्तन जस्ताको तस्तै छ जहां प्रत्यक कथामा आएका पात्रहरु भिन्न ठाउं र भिन्न परिबेशमा भेटिएका छन । सर्दै गएका ठाउंमा र भेटेका पात्रहरु सबै सम्झन सक्नुपनि अचम्मै मान्नुपर्छ । आफुसंग उमेर मिल्नेको मात्र नभएर छोराछोरीका साथीहरुको नामपनि रिठठो नबिराइ कथामा समाबेश हुनु भनेको भारतीको स्मरण शक्ति गतिलो नै भएको हुनुपर्छ ।मान्छे अमेरिकामा भएपनि घरसम्झेर उडिरहने मनले नेपाल र अमेरिकालाइ तुलनात्मक रुपमै प्रस्तुत गरेको छ । ब्यबहारिक बिश्वविद्यालयमा छोराछोरी र श्रीमानसंगै हरेक वर्ष पास हुदै गएकि उनि परिवारको खुशीको लागि कुनै मुल्य चुकाउन पछि पर्दिनन । जसको उदाहरणमा आफुले शुरु गरिसकेको डिग्रीको पढाइलाइ श्रीमानले बिश्वकै नाम चलेको बिश्वबिद्यालय हारर्वडमा पाएको जागिरसंग साटेको अबस्थालाइ लिन सकिन्छ । परिवारको सुखकै लागि पात पलाइ सकेको आफनो ब्यक्तिगत चाहनालाइ निमोठेर पुनरमुसिकोभब हुनुपर्दा धेरैको घरबार विग्र्रिएको उदाहरण छ तर भारतीको त झनझन बलियो र राम्रो भएको छ । उनले आफनै घरको विश्वबिद्यालयबाट बाहिर पढन पठाएका सन्तानहरुले आफु आफुले लिएका डिग्रिले उनको उचाइ थपिएको छ । आज उनका घरमा छाएको सुख देख्दा सजिलै लागेपनि यो सुख ल्याउनका लागि लेखिका मानसिक रुपले धेरैपल्ट मरेकी छ , बांच्नका लागि, धेरैपल्ट लडेकि छन, उठनका लागि र धेरैपल्ट डुबेकी छन उत्रिनका लागि ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075

लेखकका अन्य रचनाहरु