रोजी

- अर्जुन यावा

“नारी आमा हुन, नारी जननी हुन। नारी देवी हुन। नारीबिना कुनै पनि कुरा अपूरो हुन्छ। यो प्रकृतिको नियम नै अधुरो हुन्छ यदि संसारमा नारी नभए। हाम्रो समाज जहाँ हामी बाँचेका छौं, यो देश जहाँ हामी गर्व गर्छौं, के नारी नभइदिएको भए यो समाज यस्तै हुने थियो होला। के हामी कल्पनासम्म पनि गर्न सक्छौं होला र यस्तो समाजको, यस्तो संसारको? अहँ यो हुनै सक्दैन। तर किन फेरि यहाँ उही समाजको अभिन्न अङ्ग मानिने नारीप्रति हाम्रो समाजले हेय दृष्टि राख्छन् मानिसहरू? किन नारीप्रति सधैं अन्याय, अत्याचार, शोषण, दमन, उत्पिढन् गरिन्छ। किन?’’
यस्तै-यस्तै प्रश्‍नहरूले भरिएको एउटा लेख बोकेर एक दिन “सर म पनि रेडियोमा बोल्न चाहन्छु। म पनि मेरा मनका कुराहरूलाई, असन्तुष्टिका कुराहरूलाई सम्पूर्ण रेडियोप्रेमी श्रोताहरूसम्म पुर्‍याउन चाहन्छु। हाम्रै समाजमा भइरहेका ब्यविचार अनि त्यसको परिणामहरूलाई देखाइदिन चाहन्छु’’ भन्दै आकाशवाणी गान्तोक आइपुगेकी थिई रोजी।
रोजी, मैले राखिदिएको नाम उसको। वास्तविक नाम मैले बिर्सिएँ। फूल जस्तै उज्यालो रूप थियो उसको भनौं गुलाब जस्तै। तर गुलाबसितै काँडाहरू पनि त हुन्छन्, जस्ले फूल टिप्न आउनेहरूबाट उसलाई बँचाउँने प्रयास गर्छन्। रोजीभित्र पनि उस्तै भावना थियो, विचार थियो समाजमा नारीहरूमाथि ब्यविचार राख्नेहरूप्रति। त्यसैले मैले नै नाम राखिदिएँ उसको- रोजी।
रोजी उसैकी शिक्षिकाको साथमा आएकी थिई सायद जुलाई महिनातिर हुनुपर्छ। ठीक मिति त मैले पनि कहाँ राख्न सकेंर! प्रत्येक महिनानै कति वार्ताकार, कति कथाकार, कति कवि-कवयित्रीसित भेट हुन्छ। हिसाब राख्न पनि नसकिँदो रहेछ।
देशको इतिहासमा यदि नारीहरूलाई हेर्‍यौं भने इन्दिरा गान्धी, मदर टेरेजा, झाँसीकी रानी, कल्पना चावला, किरन बेदीजस्ता राजनैतिज्ञ, समाज सेविका, स्वतन्त्र सेनानी आदि-आदिबाट आज पनि नारीहरूले प्रेरणा लिइरहेकै छन्। हुनुपर्छ रोजी पनि तीमध्येकी एक थिइन्। देशको कुरालाई अहिले छोडिदिउँ। 11औं श्रेणीमा अध्ययनरत एउटी किशोरीले राज्यमा कहाँ-कहाँ के-कस्तो प्रकारले नारीहरूमाथि अन्याय भइरहेको छ भन्ने कुराको सविस्तार टिप्पणी गरेकी थिई आफ्नो लेखमा। मैले सम्झे कसैले लेखिदिएको हुनुपर्छ। सोधें, “कस्ले लेखिदिएको?’’ भनेर। उत्तरमा “म आफै लेखेकी’ भनिन्। साथमा एउटा कविता पनि थियो।
रिकर्डिङ्को निम्ति मैले उस्लाई स्टुडियोमा पुर्‍याए। रिकर्डिङ् शुरू भयो। म छक्कै परें। उस्ले आफ्नो लेख पढ़िरहेकी थिई। तर मलाई लागिरहेको थियो कि त्यहाँ एउटी 11औं श्रेणीमा अध्ययनरत छात्रा होइन एक वरिष्ठ लेखिका थिई। कसैले लेखिदिएको हुनुपर्छ भनेर उसको लेखप्रति मैले जुन शङ्का गरेको थिएँ, त्यो गलत थियो। अथवा म भ्रममा थिएँछु भन्ने प्रष्ट भयो। मलाई आत्माग्लानि भइरहेको थियो व्यर्थै त्यो प्रश्‍न गरेछु भनेर। वर्तमान समाजमा नारीहरूले भोगिरहेका अन्याय, अत्याचारका घटनालाई उसले त्यसरी प्रस्तुत गरिरहेकी थिई जसबाट लाग्थ्यो कि ऊ कुनै मञ्चमा उभिएर तर्क प्रस्तुत गरिरहेकी थिई। आकाशवाणी गान्तोक स्टुडियोमा रोजीजस्ता युवा-युवाती भाइ-बहिनी कति आए कति गए। युवामात्र होइनन् तर वरिष्ठ-वरिष्ठहरू पनि कति देखियो। आकाशवाणी गान्तोकमा प्रवेश गरेको पाँचवर्षको अवधिमा धेरैसित मित्रता भयो, धेरैसित चिनाजानी भयो, परिचय भयो। रोजीले आफ्नो लेख पढ्दा जसरी पढ़िरहेकी थिई आजसम्म कसैले पढ्न सकेका छैनन्। मलाई लागेको थियो।
तर, दुःखको कुरा उसको लेखलाई मैले युवावाणी कार्यक्रममा समावेश गर्न पाइन। मेरो प्रेग्राम अफसर जो हुनुहुन्थ्यो वहाँले युवावाणीको लागि ऊ अथवा उसको उमेर नै सानो भयो भनिदिनु भयो। त्यसपछि मैले रोजीलाई “तिम्रो लेखलाई म पत्रिकामा छपाइदिन्छु’’ भनें। त्यसपछि छेवैको क्यानटिनमा चिया पिएपछि रोजी विदा लिएर गई। जानेबेला भन्दै थिई- “सर म भोलि त घर फर्किहाल्छु। मेरो आर्टीकल ज्यरेक्स गरेर तपाईंलाई कहाँ दिनु?’’
“कतिबजी जान्छौ तिमी...?’’ मैले प्रश्‍न गरें।
“बिहानै जान्छु। साउथ पुगेर स्कूल भ्याउनु पर्छ।’’ उसले भनेकी थिई।
“आज कहाँ बस्छौं, तिम्रो मेडमसितै होला, हो?’’ मैले फेरि प्रश्‍न गरेको थिएँ।
“होइन सर, म तादोङ बस्छु।’’ उसले उत्तर दिई।
“ए..! उसोभए तादोङ डाँडागाउँमा भीम दाजुको न्यूज पेपर दोकान छ। त्यहीं छोडीदेउ। नभए मलाई बिहानै फोन गर। म त्यहीं तल बस्छु। रोडमा निस्किन्छु नि’’ भनें।
“हुन्छ सर। म बिहान फोन गर्छु।’’ बनेर ऊ गई।
---
बेलुकी अबेर रातीसम्म काम थियो। पत्रकारिताको ब्यवशाय नै त्यस्तो। घर पुगेर बिस्तरा लाग्ने समय झण्डै साँढे बाह्र-एक बजेको थियो। बिहान उठ्न अबेर भयो। छ बजिसकेको थियो होला। फोनको घण्टी बज्यो। उठाएँ।
“सर मैले डाँड़ागाउँमा छोडिदिएकी छु।’’ रोजी भन्दैथिई
“ए...ल- ल। तिमी कहाँ छौ..?’’ प्रश्‍न गरें।
“सर म त घर जाँदै छु।’’ उसले भनी।
“ल उसो भए राम्ररी जानु ल।’’ भनेर फोन राखें।
---
लगभग हप्ता दिनपछि उसको कविता छापियो। रोजीलाई फोन गरें। लागेन। उसैको मेडमलाई फोन गरेर रोजीको कविता छापिएको छ। ‘समय दैनिक’ हेर्नु भनिदिनोस् ल।’’ भनें।
केही दिनपछि “सर मेरो कविता छापिएछ। थ्याङ्क्यू सर। सर! फेरि पठाउँछु छापी दिनुहोस् ल।’’ भन्दै रोजीले फोन गरी। मैले “हुन्छ पठाउनु नि।’’ भनिदिएँ। त्यसपछि पनि समय-समयमा मोबाइलमा म्यासेज पठाउँथी। म्यासेजमा पनि बिहानीको शुभसन्देशसितै अशल-अशल वाणीहरू पठाउथी त कुनै बेला बेलुकी पठाएका म्यासेजहरूमा पनि उस्तै सन्देश हुन्थ्यो। म छक्क पर्थे यति सानो उमेरमा पनि यति राम्रा-राम्रा विचार, ठूल-ठूला वाणीहरू। म सोच्थें कसरी लेख्थिई? आफै नलेखे कै सही तर त्यसप्रति कसरी प्रभावित बनेकी। हुन् म छक्क पर्थें।
---
समय विस्तारै वित्दै गयो। राज्य र देशभरि नै स्वतन्त्रता दिवसको लहर छाउन थालेको थियो। गाउँ-गाउँमा स्वतन्त्रता दिवसलाई केन्द्र गरेर विभिन्न खेल प्रतियोगिता हुन थालेको थियो भने राज्यमा विशेष यतिबेला ग्रामीण भेकका नानीहरूलाई खेलप्रति जागरुक गराउने उद्धेश्यले ग्रामीण युवा खेल क्रिया अभियान (पाइका) आयोजन भइरहेको थियो। 15 अगस्त अथवा स्वतन्त्रता दिवस आउन लगभग एकै हप्ता मात्र थियो। 7 अथवा 8 अगस्तको दिन थियो, एउटा नयाँ मोबाइलन नम्बरबाट फोन आयो। रोजी रहिछे। भन्दैथिई- “सर म रोजी बलेकी। आमाको नम्बरबाट फोन गरेकी नि। सर तपाईं कस्तो हुनुपुन्छ?’’ प्रश्‍न पनि थपी।
“ठिकै छु, तिमी कस्तो छौ?’’ प्रतिउत्तरसितै प्रश्‍न राखें।
“ठिकै छु।’’ उसले भनी। अझ भन्दैथिई- “सर एउटा आर्टिकल लेखेको थिएँ। 15 अगस्तलाई बेश गरेर लेखेको छु। छपाउन सकिन्छ सर?’’
“सकिन्छ नि किन सकिँदैन..!’’ प्रतिउत्तरमा मैले भनें।
“सर कसरी पठाउनु, पोष्ट गर्दा हुन्छ?’’ सोधी उसले।
“होइन 15 अगस्तलाई लिएर लेखेकी छौ भने 15 अगस्तभित्र छपाउनुपर्छ। ढिलो हुन्छ होला पोष्ट गर्दा त।’’ मैले भनें।
“सर उसो भए रेजिस्टर पोष्ट गर्दा हुँदैन?’’ फेरि सोधी उसले।
“त्यो पनि भर पर्न सकिँदैन। बरु कुनै गाडीमा पठाइदेउ। म रिसिभ गर्छु नि हुँदैन?’’ मैले समाधान निकाले रचना पठाउने समस्याको।
“सर उसो भए मेरो साथी पनि आउँदैछ। उसैलाई पठाउँछु। अस्तिको दोकानमा छोडीदिनु भन्छु नि, हुन्छ?’’ उसले लोधेकी थिई।
“हुन्छ, त्यसै गर।’’ मैले छोटो उत्तर दिएँ।
त्यसपछि हामी ढुक्कै भयौं। अन्तमा उसले- “सर यो मेरो आमाको नम्बर हो। सेभ गरिराख्नुहोस ल।’’ भनेकी थिई। मैले सेभ गरेँ।
---
13 अगस्तको दिन भीम दाजुको दोकानमा गएर सोधेँ, “दाज्यू, यहाँ मेरो नाममा कुनै-केही समान आएको छ?’’
“छैन त भाइ।’’ भीम दाजुले भन्नु भयो।
बेलुकी पख समय दैनिक जाँदै थिएँ। रोजीलाई सोध्नुपर्ला भनेर फोन लगाएँ तर लागेन। स्वीच अफ भन्ने प्रतिउत्तर आयो। फेरि आमाको नम्बरमा फोन लगाएँ। तर ब्यस्त रहेछ। सम्पर्क हुन सकेन। सम्झेँ भराई मिस्ट कल देखेर फोन गर्नुहुन्छ। तर फोन आएन। म पनि त्यतिकै बिर्सिएछु। बेलुकी काम सकिएपछि सम्झें तर रातको 10 बजीसकेको थियो।
---
भोलिपल्ट बिहान फोन गरें। रोजीको फोन स्वीच अफ नै थियो। आमालाई फोन लगाएँ। फोन लाग्यो।
“हेलो! को बोेल्नु भएको?’’ मलाई प्रश्‍न थियो।
म गान्तोकबाट अर्जुन बोल्दैछु। तपाईं रोजीकी आमा बोल्नु हुँदैछ? प्रश्‍नमा प्रश्‍न थपेँ मैले।
“हजुर बोल्दैछु।’’ छोटो उत्तर आयो कस्तो-कस्तो स्वरमा। सम्झेँ मैले वहाँको स्वर पहिलोपल्ट सुन्दैछु त्यसैले त्यस्तो लागेको हुनुपर्छ मलाई।
“रोजीसित काम थियो, भेट्न सक्छुहोला? 15 अगस्तको लागि एउटा आर्टिकल छ, छपाइदिनोस् ल भनेकी थिई। अझैसम्म पाएकै छुइन र नि।’’ मैले जिज्ञासा राखें। साथै कुरा प्रष्ट पारिहालें।
“नानी..! रोजी त छैन नि’’ उहाँले भन्नुभयो।
“कहाँ गएको छ?’’ सोधें।
“हैन रोजी छैन।’’ भन्नु भयो फेरि। मनमा कता-कता भय उत्पन्न भयो। फेरि सोधें- “किन कहाँ गयो कि?’’
त्यसपछि अर्कै कसैलाई फोन दिनुभयो उहाँले। अनि थाहा पाएँ रोजी त संसारमै रहिनछ।
सुनेको थिएँ राम्रो मान्छे भगवानले पनि मन पराउँछ भनेर। सानो हुँदा आमाले “राम्रो मान्छेलाई त भगवानले पनि छिट्टै लानुहुन्छ’’ भन्नुहुन्थ्यो। सायद हो जस्तो लाग्यो। फोनमा तेस्रो व्यक्तिले नारी आवाजमा “रोजी त एक्स्पायर भयो त। आज त अन्तिम संस्कार छ’’ भनिरहनु भएको थियो।
मनमा एक प्रकारको अप्ठ्यारो पनि लाग्यो। तर म पूर्णरूपमा अञ्जान थिएँ। फेरि मनमा प्रश्‍न आयो अनि झट्ट सोधिहालेँ- “के भाको थियो रोजीलाई?’’
जवाब झट्ट पाइन मैले। फेरि सोधें, “रोजी बिमार थिई?’’
“हो त बिमार थिई। तीन दिन त भयो ऊ एक्सपायर भएको।’’ उत्तर पाएँ।
त्यसपछि धेरै प्रश्‍न गरिरहन उचित ठानिन। दुःखको बेला धेरै प्रश्‍न नगर्नु नै राम्रो सम्झेर फोन लाइनमा रहेकी तेस्रो व्यक्तिबाट बिदा लिएँ। म पत्याउनै सक्दिनथें रोजीको देहान्त भएको कुरा। तर यथार्थ त्यही थियो। त्यसैले स्वीकार्नै थियो। मेरो भित्री मन-मुटु कता-कता दुँकेर आयो। विचरा रोजी...।
तर पनि मनमा एकप्रकारको प्रश्‍न आइरह्यो। एक हप्ता पनि त राम्ररी भएको छैन रोजीले फोन गरेकी। आमाको फोनबाट बोलेकी भन्थी। तर बिमार छु त भनेकी थिइन। के ऊ साँच्चै विमार थिइ त? गाउँ-घर तथा समाजमा नारीप्रति भइरहेको शोषण-दमनको विरोधमा आवाज उठाउन चाहने एउटी किशोरी उबाट ठूलो आशा लागेको थियो। लाग्थ्यो उसले भविश्य केही गर्नेछिन्। उसितको एउटै भेटमा भनेकी थिई- “सर समाजमा यस्ता घटनाहरू दिनहूँ घटिरहन्छ। मान्छेले देखेर पनि नदेखे झैं गर्छन्। बोल्न चाहन्छन्, तर डराउँछन्। मलाई डर लाग्दैन। म बोल्न चाहन्छु। म लेख्न चाहन्छु। नारीहरूलाई भइरहेको अन्याय-अत्याचारलाई हटाउन चाहन्छु।’’ भन्थी।
उसकी मेडमले “रोजी डिबेडतिर पनि राम्रो छ। तार्किक क्षमता राम्रो छ उसित। लेख-रचना, कथा-कविता लेख्छ तर कहाँ छपाउनु? थाहा नभएर त्यतिकै राखेकी छ।’’ भन्नु भएको थियो।
रेडियो स्टेशनमा आउँदा नै थाहा पाएको थिएँ उसका बाबा हुनुहुन्नथ्यो, आमा मात्रै हुनुहुन्छ भनेर। सम्झें- “उनकी आमाले त एउटी छोरी गुमाइसकी। यो समाजले पनि एक प्रतिभाशाली किशोरी गुमाएको छ जसबाट भोलिको दिनमा केही आशा साँच्न सकिन्थ्यो। तर मनमा अझै एउटा प्रश्‍न अल्झि रहेको छ- “के साँच्चै रोजीलाई बिमारले नै लगेको हो?’’ जति-जति रोजीलाई सम्झन्छु मन त्यसै छियाः छियाः भएर अउँछ। रोजीलाई यो मेरो श्रद्धाञ्जलीका दुई शब्द सम्झेको छु। अन्तमा यही कामना गर्न चाहान्छु कि हाम्रो समाजलाई थुप्रै रोजी चाहिएको छ। थुप्रै-थुप्रै रोजीको जन्म हुनुपर्छ यहाँ अनि ती रोजीहरू बाँच्नु पर्छ, बाँचिहरनुपर्छ।
---0---
(सत्यकथामा आधारित)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 बैशाख, 2075

लेखकका अन्य रचनाहरु