खरानी पाेलिरहँदा

- डा. विदुर चालिसे

हिमालयकाे चिसाे वायु मन्तिर
फुसफुस उडिरहेका कुहिराहरू
मेरा अाँगमा सुम्मसुम्याइरहेथे
विषालु सर्पका मन्द विषले जस्तै
म लठ्ठिएर दाेभानकाे सँगममा
छटपटाउँथे खरानी बालेर हरपल !

खरानी न हाे, बलिसकेका वस्तुहरू !
बालिरहन्थेँ, फुकिरहन्थेँ अागाेलाई,
चिसाे न चिसाे खरानीकाे तापक्रममा
हेरिरहन्थेँ खरानीका उडेका झिल्काहरू
अनि कुहिरे उडानका अदम्य शाहसहरू

हिउँकाे तापक्रम जसरी वाफिरहन्थ्याे
खरानीकाे ताप त्यसरी नै हापिदिन्थ्याे
माैसमका हर घडिमा खरानी बालेर उनीहरू
जीन्दगीका विवश झाम्टाहरूसँग तिनीहरू

बारबार बलिसकेका धूला खरानीहरू
गाउँ अनि सहरमा हरपल तयार हुन्थे
अाफूलाई जगाउन जिन्दगीका भाेगाइले
न उठ्न सक्थे, न बस्न सक्थे न सुत्न नै
छटपटिएर खरानीका सिरानीहरूसँग !

देश दुनियाका जादूगरहरू
बस्तीका खरानीहरू टिप्न अाएथे
सडकका सुख्खा धूलाेहरू पन्छाउँदै
पिराे न पिराे तुवाँलाेहरूलाई मन्छाउँदै !
मानिसहरू पनि खरानी बालिरहेथे, तापिरहेथे,
मानिसहरू अाफै सेकिरहेथे अमिलाे घाउ !

बलिरहेका खरानीहरू झिल्किँदै उडेथे नजरमा
टाढा टाढातिर रगतलाई बिक्रि गर्नका खातिर
निभिरहेका खरानीहरू पिल्सिँदै सडेथे बगरमा
टाढा टाढातिर बगिरहँदै माटाे बन्नका खातिर

थुप्रिएका खरानीका बस्तीहरू
साना न साना हावा हुरिमा पनि
कहिलेकाँही झिल्काहरू बाेकेर त्यसै
पुरै सहर जलाउन सक्थे हुरिका साथमा
पुरै नहर पिइदिन सक्थे हुरिका बातमा !

जागिरहेका खरानीहरू
भागिरहेका कुहिराहरू
छेकिरहेका तुवाँलाेहरू
खाेजिदिन्थे जामुन गुभाजुका तन्त्रहरू
खाेलाका पानीमा खुल्खुल बगिरहेका
धमिलाे छायाँ भेट्टाउनका खातिर !

घाटमा मानिसहरूकाे रूवाबासी थ्याे
पाेलिएका खरानीहरू उडिरहेथे जाेडले
मलेवाकाे पङ्खमा अल्जिएर निकै परसम्म !

अझै खरानी पाेलिरहँदा पनि रित्तिदैन थे
मानिसका अन्तिम भन्दा अन्तिम बहहरू !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 7 बैशाख, 2075

लेखकका अन्य रचनाहरु