सम्झनामा इन्द्रबहादुर राई र त्रिफला राष्ट्रिय पुस्तकालय

- अर्जुन यावा

साहित्यकार टिका ढुङ्गेल दाजुले धुलाबारी झापा, नेपाल जानुपर्छ भन्नुभएको थियो। टिका दाजुले ‘धुलाबारीमा त्रिफला राष्ट्रिय पुस्तकालय छ। पुस्तकालयका संस्थापक श्री प्रेमप्रकाश फलाहारीज्यूले सिक्किमका साहित्यकार साथीहरूलाई पनि ल्याउनुपर्छ भन्नुभएको छ। भाइ पनि जानुपर्छ’ भन्नुभएको थियो। साहित्यमा त्यस्तो केही गर्न नसकिएको भए पनि सानैदेखि रुची थियो नै। यसअघिसम्म नेपालका कुनै पनि साहित्यिक कार्यक्रममा पुगेको थिइनँ। पहिलोपल्ट जाने अवसर मिलिरहेको थियो।
14 सितम्बर 2010-को दिन थियो कार्यक्रम। त्रिफला राष्ट्रिय पुस्ताकलयले ‘पुस्तकालय दिवस’ सितै 145औं ‘मोती जयन्ती’ पालन गरिरहेको थियो। यस अवसरमा ‘वृहत साहित्यिक समरोह’ नै आयोजन गरिरहेको टिका दाजुले जानकारी गराउनु भएको थियो। कार्यक्रमको मुख्य आकर्षण रहेको थियो पुस्तकालयद्वारा प्रदान गरिने भएको ‘पहिलो मोतीराम भट्ट साहित्य पुरस्कार’। तेस्रो आयाम तथा लीला लेखनका प्रवर्तक डा. इन्द्रबहादुर राईद्वारा दिइने भएको यो पहिलो पुरस्कार उनकै समकालिक तथा तेस्रो आयामका सम-प्रवर्तक तिलविक्रम नेम्बाङ (बैरागी काइँला)-लाई दिइन्दै थियो।
टिका दाजु अघिबाटै पुस्तकालयका सदस्य हुनुहुन्थ्यो। सिक्किममा अन्य साहित्यकार एवं साहित्यप्रेमीहरूलाई सदस्य बनाउने कार्यमा पनि जुटिनै रहनुभएको थियो। त्रिफला राष्ट्रिय पुस्ताकलयलाई अन्तरराष्ट्रिय तहमा पुर्‍याउने पुस्तकालय सञ्चालन समितिको उद्देश्य भएको हुँदा पनि सिक्किमेली साहित्यकारहरूलाई निम्तो रहेको हुनुपर्छ। हामी जाने भयौं।
साहित्यकार बैरागी काइँला भन्ने बित्तिकै ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’-को सम्झना कसलाई हुँदैन होला। पुस्तक, पत्र-पत्रिकाहुँदी देखिएको उहाँको तस्वीरबाहेक कहिल्यै भेट्ने अवसर जुरेको थिएन। जुरोस पनि कसरी? काठमाडौं र सिक्किमको दूरुत्व पानीधाराको थिएन। उहाँलाई भेट्ने, हेर्ने ठूलो रहर पूरा हुने भएको थियो। अझै इन्द्रबहादुर राईलाई त कति थियो-थियो भेट्ने रहर। नवौं श्रेणी पढ़दाको ‘रातभरि हुरी चल्यो’-ले कसको मनलाई छोएको छैनहोला। त्यसअघि सातौं श्रेणीमा हुँदा राङ्का स्कूलको पुस्तकालयमा पाएको थिएँ उहाँको ‘आज रमिता छ’ उपन्यास। त्यसअघिसम्म धेरैजसो प्रकाश कोविद अनि थोरै इन्द्र सुन्दास, लैनसिङ बाङदेनहरू, अच्छा राई रसिकहरू पढ़ेको। ‘आज रमिता छ’ छिचोल्न नसकेको मेरो कलिलो बुद्धिले ‘रातभरि हुरी चल्यो’ पढ़न पाएपछि मात्रै इन्द्रबहादुर राई मन पराउन थालेको थिएँ। पछि ठुलीकान्छी, विश्‍व तिम्रा चरणमा, पहेंलो दिन, जयमाया एकलै लिखापानी आइपुगी र अरु कथाहरू पढ़न पाइयो। यतिबेलासम्म त इन्द्रबहादुर राईबारे धेरै जान्ने अवसर पनि प्राप्त भएको थियो कलेजसम्म पुग्दा। अहिलेसम्म फोटोमै मात्र देखेको इन्द्रबहादुर राईलाई पनि भेट्न मन नलागेको होइन। फेरि दार्जीलिङ र सिक्किमको दुरुत्व पनि काठमाडौं र सिक्किमजस्तो होइन। तर, त्यो सौभाग्य मिलेकै थिएन। साँच्चै भन्नु हो भने प्रयास पनि गरेको थिइनँ। इन्द्रबहादुर राईलाई लिएर धेरै प्रश्‍नहरू हुन्थे मनमा। एकपल्ट उहाँको भाषिक प्रयोगलाई लिएर तादोङ कलेजमा अध्ययनरत रहँदा डा. राजेन्द्र बण्डारीलाई सोधेको थिएँ, “सबैले ‘दार्जीलिङ’ लेख्छन्, इन्द्रबहादुर राईले ‘दार्जिलिङ’ किन लेख्नुभएको?’’
14 सितम्बर 2010-को एकाबिहानै हामी लाग्यौं नेपालतिर। नेपालको मेरो पहिलो साहित्यिक यात्रा त्यही थियो। टीका ढुङ्गेल दाईको अगुवाइमा रहेको हाम्रो टोलीमा हुनुहुन्थ्यो वरिष्ठ साहित्यकारहरू श्री प्रद्युम्न श्रेष्ठ, श्री अमर बानियाँ ‘लोहोरो’ र श्री चक्रपाणि भट्टराई। गान्तोक मेनलाइन ट्यएाक्सी स्ट्याण्डदेखि सिधै काकरभिट्टा लाग्यौं ‘विङगर’-मा। कार्यक्रम शुरू हुने समय थियो बिहानको 11 बजीदेखि। त्यहीअनुसार पुग्नु थियो हामी। विङगरमा पहिलोपल्ट चढ़ेको म, साह्रै पट्यार लाग्दो। सिक्किमदेखि सिलगढीको सडक पहिलेजस्तो थियो झण्डै उस्तै नै हो अहिले पनि। सिलगढीदेखि काकरभिट्टा पुग्ने सडकको अवस्था दयनीय लागेको थियो। खाल्डाखुल्डी सडक, 14 सिटर विङगरअनुसार सानो लाग्ने टायर। कहिले पुगिने हो जस्तो सायद मलाई मात्र लागेको होइन। काकरभिट्टा बल्ल पुगियो। त्यसपछि सायद ‘टेम्पो’-मै गयौं। आठवर्षको अवधिमा कतिकुरा भुलिसकिएछ। हामी पुग्दा कार्यक्रम शुरू भइसकेको थियो।
आफ्नै अध्यक्षतामा भइरहेको कार्यक्रममा पुस्तकालयका संस्थापक एवं अध्यक्ष प्रेमप्रकाश फलाहारीले पुरस्कारबारे जानकारी गराइरहनु भएको थियो। स्थानीय समाजसेवी छत्रबहादुर बस्नेतद्वारा प्राप्त राशि पाँच लाख रुपियाँको अक्षयकोषबाट शुरू गरिएको रहेछ ‘मोतीराम भट्ट साहित्य पुरस्कार’। यद्यपि, पुरस्कार राशि दाता छत्रबहादुर बस्नेतको केही वर्षअघि स्वर्गवास भइसकेको रहेछ। पहिलो पुरस्कार अलङ्करण समारोहको पनि उनी साक्षी बन्न नसकेकोमा दुःख लाग्यो। आफूले दिएको राशिबाट सम्पन्न भइरहेको पुरस्कार अलङ्करण समारोहमा उनी हुनुपर्ने थियो। तर त्यसो हुन सकेन। लीला ‘अनमोल’-द्वारा खुबै रोचक ढङगले सञ्चालित कार्यक्रममा भारत तथा नेपालका विभिन्न भेगबाट साहित्यकारहरूको ठूलै जमघट रहेको थियो। आमन्त्रितहरूलाई बसेकै ठाउँ-ठाउँमा ‘पुष्पगुच्छा’ दिएर स्वागत जनाइने तरिका पनि खुब रमाइलो लागेको थियो। एकातिर आउनेहरूलाई स्वागत जनाइँदैथियो, अर्कोतिर मञ्चमा कार्यक्रम निरन्तर चलिरहेको थियो। चलचित्र हेरेजस्तै एकपछि अर्को प्रस्तुतिको बीचमा कुनै ‘पवश’ थिएन। समय किञ्चित पनि खेर फ्याँकिएको थिएन। वास्तवमै यत्ति राम्रो कार्यक्रम संयोजन र सञ्चालन देख्ने अवसर मिलेको थिएन। आगन्तुकहरू आइरहेका थिए, मञ्चमा डा. राईले ‘बैरागी काइला’-लाई पुरस्कार प्रदान गरिरहनु भएको थियो। पुरस्कार अलङ्करणपछि केही कुरा राखिरहनु भएको थियो मुख्य अतिथि डा. इन्द्रबहादुर राई। काइँलाको कवि व्यक्तित्वको चर्चा गरिरहनु भएको थियो।
इन्द्रबहादुर राई भन्नुहुँदै थियो- “कविता लेख्ने मान्छे होइन। अथवा कविता मान्छेले लेख्दैनन्। मैले लेखेको भन्नु भूल हो। समाजको ज्ञान, संसारको ज्ञान मान्छेभित्र हुन्छ अनि त्यो ज्ञानले मात्र लेखिन्छ। कविमा भएको कविता शक्तिले लेखाउँछ, ज्ञानले लेखाउँछ।’’ डा. राईलाई लागेको कुरा सबैलाई नलाग्न पनि सक्छ। लाग्नैपर्छ बन्ने पनि त छैन।
“पुरस्कृत भन्ने शब्द अलिक सानो भयो, सम्मानित भनौं।’’ इन्द्रबहादुर राई भनिरहनु भएको थियो- “तिलविक्रम नेम्बाङज्यूसित धेरैपछि भेट्न पाउँदा खुशी लागेको छ। बैरागी काइँलालाई नेपाली साहित्यमा उच्च कोटीका कवि हुन् भनेर सबैतिर मान्यता प्राप्त छ। कतिले बैरागी काइँलाको कवित्वमा आलोचना गरेको सुन्छु। तर, त्यो भ्रम मात्र हो। बैरागी काइँला ‘आयामिक लेखक भएर कवि भएका हुन’ भन्नेगरेको सुन्छु। त्यसो भन्नु भूल हो। आयामिक लेखकको त ‘लेबल’ मात्र लागेको हो। काइँला कवि भएरै कवि भएका हुन्।’’ राईले स्पष्ट पारिरहनु भएको थियो, “बैरागी काइँला आयामिक लेखक भएर होइन कवि भएरै कवि भएका हुन्।’’
उहाँले काइँलाका कवित्व विषय भन्नुहुँदै थियो- “उनका कविताहरू अघिका दिनहरूमा जुन कोटीका लेखिन्थे, लेखिएका थिए अहिले पनि उस्तै नै लेखिन्छन्। अघिका दिनहरूमा जुन कवित्व जोश, जाँगर र स्तर थियो त्यो अहिले पनि उस्तै छ। पहिला जुन स्तरमा लेखिएका थिए काइँलाका कविता अहिले पनि त्यही स्तरमा लेखिँदैछन्। उनको कविताशक्ति घटेन, घटेको छैन। अहिलेको आधुनिक परम्परामा लेखिने कविताहरू कै हारमा छन् उनका कविताहरू।’’ काइँलाको कविताशक्ति यथावत रहनुका कारणहरू बुझ्ने प्रयास गरेको बताउँदै भनिरहनु भएको थियो “युरोपबाट आएको संरचनावादले उनका कवित्वलाई स्तरीय बनाईराखेको छ। कवि काइँलामा कविता ज्ञानको संरचना जो अघि थियो त्यो अझै पनि छ। कविता समयअमुसार अथवा समयको मागअनुसार लेखिनुपर्छ। समयले मागेको लेख्नुपर्छ भन्ने कुरामा पहिले हामी भिन्नै अर्थ लगाउँथ्यौं’’ भन्दै उहाँले “समयसितै परिपक्वभएर हामीले यो समयबाटै सिक्नु पर्नेरहेछ’’ भन्ने आफूहरूले बुझेको बताइरहनु भएको थियो। अझ भन्नुहुँदै थियो, “यो संसार धेरै पक्ष-विषय मिलेर बनिएको हुन्छ। त्यसैले यो समाजमा बाँच्नुपर्छ भने हामी मल्टी डाइमेन्सनल बन्नुपर्छ, बहू-पक्षीय बन्नुपर्छ। हाम्रो जीवनमा धर्म, अर्थ, काम र मोक्ष चारै कुराको आवश्यक पर्छ। त्यसैले हामीले बहू-पक्षीय बन्नुपर्छ। तर हाम्रो समाजको अवस्थाले हामीलाई बहू-पक्षीय बन्न दिँदैन। एकातिर हामी बहू-पक्षीय बन्नु पर्ने समाजको माग रहेको छ त अर्कोतिर यही समाजले हामीलाई कुच्याएर राखेको छ। एकपक्षीय बन्न बाध्य गराइरहेको छ। यद्यपि, समाजको अवस्थाले हामीलाई एकपक्षीय बन्न बाध्य बनाए पनि हामी ज्ञानको तहमा त बहू-पक्षीय बन्न सक्छौं।’’
डा. इन्द्रबहादुर राईका कति कुरा बुझिरहेको थिएँ, कति बुझिरहेको थिइन। तर धेरै अघिदेखि उहाँलाई भेट्ने इच्छा बल्ल पूरा भएको थियो। लीलाको कुरा सुनेको, थोरै पढ़ेको। आयामेली आन्दोलनको कुरा सुनेको, थोरै पढ़ेको। दुवैका प्रवर्तकबारे सुनेको, केही पढ़ेको। थोरै बुझ्ने-जान्ने प्रयास थियो। जीवनमा पहिलोपल्ट साक्षात भेट हुँदा, सुन्न पाउँदा सकेको सर्तर्ती टिप्ने प्रयास गरिरहेको थिएँ। कति टिपेँ-लेखेँ। कति एउटा कानबाट पस्दानपस्दै अर्कोतिरबाट उड़िगए।
पटक्कै पट्यार नलाग्ने उहाँका कुराहरू म लेखिरहेको थिएँ। उहाँ आफ्ना कुराहरू राखिरहनु भएको थियो, “संसारमा सब चीजमा बिविधता छ। हामीले बहू-पक्षीय साहित्य लेख्नुपर्छ। त्यसको निम्ति हामीले सहनशील बन्नुपर्छ। अनि मात्र हाम्रो साहित्य पनि बहू-पक्षीय हुन्छ। साहित्यमा बहू-पक्षीय ल्याउनलाई हामीमा बहू-पक्षीय ज्ञान हुनु आवश्यक छ।’’ ज्ञान के हो त? उहाँले बुझाइरहनु भएको थियो त्यसरी नै, जसरी कक्षाभित्र शिक्षकले विद्यार्थीहरूलाई कुनै पाठ बुझाउँछन्। उहाँ भन्नुहुँदै थियो, “ज्ञान भन्ने कुरा एक दिशाबाट हेरेर हुँदैन। उदाहरणका लागि, एकापटिबाट एउटा डाँडालाई हेर्दा चराजस्तो देखिन्छ, ठीकै हो। फेरि अर्कोपटिबाट हेर्दा त्यहि डाँडालाई गाडीजस्तो देखिन्छ, त्यो पनि ठीकै हो। त्यसैले पूर्वबाट हेर्दा चराजस्तो देखिएको डाडाँलाई पश्‍चिमबाट गाडीजस्तो देखिने कुरा स्वीकार गर्नुपर्छ। आफूले देखेको कुरा मात्र ठीक हो भन्ने होइन। सयतिबेला उहाँले कवि काइँलाको कवित्वमाथि मानिसहरूले गरेको आलोचना विषय बोलिरहनु भएको थियो, “आफूले चराजस्तो देखेको डाँडालाई अर्काले किन गाडीजस्तो देखे? त्यसको कारण पत्तो लगाउँनुपर्छ। त्यस्तै साहित्यमा मैले हिँडेकै बाटो हिड्नुपर्छ भन्नु भूल हो। त्यो एक पक्षीय मात्र हुन्छ। हामीमा सहनशीलता हुनुपर्छ। आफू मात्र ठीक हो भन्नु भ्रम हो।’’
समारोहमा उपस्थित सबै साहित्यकार इन्द्रबहादुर राईमाथि केन्द्रित थिए। सबैले उहाँलाई नै सुनिरहेका थिए। उहाँ भनिरहनु भएको थियो, “हामी धेरै कुरा गर्छौं। कति कुरा मीठा हुन्छन्। रसिला हुन्छन्। तर लेख्ने मान्छेहरू भेला भएको ठाउँमा लेख्ने विषयमै कुरा गर्नुपर्छ। साहित्यकारहरूले सिद्धान्त कै कुरा गरेको असल हुन्छ। नभए कार्यक्रम पूरा हुन्छजस्तो लाग्दैन।’’ साहित्य कसतो हुनुपर्ने? आफ्नो विचार राखिरहनु भएको थियो, “हाम्रो साहित्य एकपक्षीय हुनुहुदैन। बहू-पक्षीय हुनुपर्छ। त्यसैले हामी सिद्धान्तवादी भएर मात्र पनि हुँदैन। अब यहाँ आएर हामीले आफूले देखेका कुरा मैले किन यस्तो देखे? भनेर अथवा किन त्यस्तो बुझें? अनि अरुले किन मैले देखेको जस्तो देखेनन्? त्यसको कारण खोज्नुपर्ने हुन्छ। कारण नबुझी आफू सही भन्नु अथवा ठीक भन्नु भूल हो। त्यो एउटा भ्रम मात्र हो।’’ उहाँ भन्नुहुँदै थियो, “आइन्स्टाइनको ‘माइन्स एण्ड लजिक’-ले पनि यही कुरा बताएको छ। आफूले देखेको, बुझेको, हिँडेको नै अरुले पनि पछ्याउनुपर्छ भन्न मिल्दैन। दुवै आफ्नो-आफ्नो ठाउँमा सहि हुन पनि सक्छन्। त्यसैले मैले एउटा देखेको कुरालाई अरुले किन अर्कै देख्यो? भन्ने कुराको कारण खोज्नु आवश्यक छ। त्यसको कारण ‘ज्ञान मिमांसा’ हो।’’
त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा नेपालद्वारा स्थापित पहिलो मोतीराम भट्ट साहित्य पुरस्कारले सम्मानित साहित्यकार बैरागी काइँलाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो। उहाँ भन्नुहुँदै थियो, “धेरै वर्षअघि एक-दुईवटा पुस्तक तान्द्राङ-तुन्द्रुङ झुण्ड्याएर शुरू गरेको पुस्तकालयले आज राष्ट्रिय रूप लिइसकेछ थाहै नपाई। ‘त्रिफला’ के अर्थमा नाम राखिएको हो? त्यो थाहा छैन। तर, आफ्नै गाउँघरमा यतिठूलो पुस्तकालय खोलिएकोमा अति हर्ष लागेको छ। त्रिफला भनेर एउटा औषधिको नामजस्तो लाग्छ।’’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म रहनुभएका काँइलाले भनिरहनु भएको थियो, “जे भए पनि यो पुस्तकालयले नेपाली साहित्यको क्षेत्रमा समाजलाई सानोतिनो औषधि कै काम गर्छजस्तो मलाई लागेको छ। आफूले त साहित्यमा त्यस्तो केही गरेजस्तो लाग्दैन। तर पनि पहिलो मोतीराम भट्ट साहित्य पुरस्कारको निम्ति मलाई चयन गर्नुभएकोमा अति खुशी छु। आज पुरस्कृत हुँदा जति खुशी लागेको छ त्योभन्दा बडी आइबी दाइसित भेट्न पाएकोमा खुशी लागेको छ। त्रिफला पुस्तकालयले आज यो अवसर दिएको छ।’’ कवि काइँलाले साहित्य र साहित्यकार विषय बोल्दै भन्नुभयो, “लेख्न थालेको मान्छेले अर्काको कुभलो कम्ति चिताउँछ। भलो काममा उत्प्रेरित गर्छ। त्यसरी नै आज त्रिफला राष्ट्रिय पुस्तकालयले साहित्यिक कार्यक्रम आयोजन गरेकोमा हामीले प्रशंसा गर्नुपर्छ। यस्ता कार्यक्रमहरूले मान्छेलाई असल मार्गमा डोहोर्‍याउँछ। समाजलाई विकृतिबाट जोगाउँछ।’’
दार्जीलिङबाट साहित्यकार इन्द्रबहादुर राई र ईश्‍वर बल्लभका साथमा नेपाली साहित्यमा आयामेली आन्दोलन शुरू गर्ने एक प्रवर्तकका रूपमा परिचित काइँलालाई मुख्य अतिथिका रूपमा उपस्थित डा. इन्द्रबहादुर राई स्वयंले टोपी र दोसल्ला ओढाएर सम्मान जनाउनु भएको थियो भने नगद 30 हजार रुपियाँ र ताम्रपत्र पनि प्रदान गरिएको थियो।
यद्यपि, पुस्तकालयको निम्ति अहिलेसम्म केही गर्न नसकेको बताउँदै काइँलाले सो पुरस्कार राशि त्रिफला राष्ट्रिय पुस्तकालयलाई नै सहयोगस्वरूप चढाउनु भएको थियो। पुस्तकालयले शुरू गरेको यो पुरस्कार प्रत्येक दुई वर्षमा एकजना साहित्यकारलाई दिने भएको अध्यक्ष फलाहारीले जानकारी गराउनु भएको थियो। यसको निम्ति पूर्णरूपले नेपाली साहित्यसितै जोडिएका साहित्यकार हुनुपर्ने नियामवाली पनि रहेको छ।
कार्यक्रममा विशिष्ठ अतिथि रहनुभएका नेपाली साहित्य परिषद, सिक्किमका पूर्वाध्यक्ष प्रद्युम्न श्रेष्ठले पनि सिक्किमलाई प्रतिनिधित्व गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो। यस अवसरमा कार्यक्रमका मुख्य अतिथि, सभाध्यक्ष तथा सम्मानित व्यक्तित्व काइँलालगायत विशिष्ठ अतिथि कृष्ण भूषण वलको बाहुलीबाट गोविन्द तिम्सिनाको आस्थाबिनाका यात्राहरू (उपन्यास), ऋषि राईको मनका तरङ्गहरू कविता सागरमा (कविता सङ्ग्रह), चक्रपाणि भट्टराईको लालुपाते (महाकाव्य), टीका ढुङ्गेलको समीक्षा कुञ्ज (समीक्षा सङ्ग्रह) आदि पुस्तकहरू विमोचन गरिएको थियो। कार्यक्रममा उपस्थित वरिष्ठ साहित्यकारहरूलाई ‘कदर पत्र’ तथा ‘मायाको चिनो’ स्वरूप उपाहर दिइएको थियो भने साहित्यकारहरूलाई पनि ‘मायाको चिनो’ भेट गरिएको थियो। पुस्तकालय दिवस तथा 145औं मोती जयन्तीको अवसरमा अघिबाटै राखिएको गजल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने क्रमैले अम्बिका कँडरिया, उब्तव ओझा र प्रकाश किरणलाई पनि अतिथिगणको बाहुलीबाट पुरस्कार बितरण गरिएको थियो।
कार्यक्रम समापनपछि सबै आ-आफ्नो बाटो समाइरहेका थिए। हामी सिक्किमतिर हाँकिने पक्षमा थियौं। मलाई तर साहित्यकारहरूसित फोटो खिच्ने खुब रहर थियो। विशेष पहिलोपल्ट भेट्ने अवसर पाएको थिएँ इन्द्रबहादुर राई र बैरागी काइँलालाई। त्यो क्षणलाई, त्यो दिनलाई क्यामरामा कैद गर्ने ठूलो रहर थियो। त्यसैले बाटो समाउनेतिरभन्दा पहिला बाटो छेक्नतिर लागेको थिएँ इन्द्रबहादुर राई र बैरागी काइँलाको। त्यतिबेला इन्द्रबहादुर राईसित लिएको तस्वीरलाई अहिले पनि कोठामा सजाएको छु।
साँझमा सबै लागे आ-आफ्नो बाटो। म र अमर बानियाँ लोहोरो लाग्यौं ‘बानियाँ बन्धु’ परिवारकोतिर। सायद चन्द्र भण्डारीले हुनुपर्छ भोलि बिहान अथवा 15 सितम्बर 2010-को बिहान कञ्चनजङ्गा एफएमको ‘सिमाना पारीबाट’ कार्यक्रमको निम्ति भेटनुपर्छ बन्नुभएको थियो। 15 सितम्बरको बिहान फेरि पुग्यौं त्रिफला राष्ट्रिय पुस्तकालय अनि भेट्यौं चन्द्र भण्डारीसित। उहाँसितको अन्तर्वार्तापछि लागेका थियौं हामी पनि सिक्किमतिर। त्यसपछि बैरागी काइँलासित सिक्किमको ‘इमानसिङ चेमजोङ स्मृति पुरस्कार’ समारोहमा भेट भएको थियो। सायद त्यो पुरस्कार पनि पहिलो नै हुनुपर्छ, जो बैरागी काइँलाला नै दिइएको थियो। 14 सितम्बर 2010-को भेटपछि न त इन्द्रबहादुर राईसित भेट हुनसक्यो, न त त्रिफला राष्ट्रिय पुस्तकालय नै पुग्न सकिएको छ। त्यसैले इन्द्रबहादुर राई र त्रिफला पुस्तकालय सम्झना बनेर बसेका छन्। त्रिफला राष्ट्रिय पुस्तकालय कुनै दिन पुगिएला, तर 6 मार्च 2018-मा संसारबाट विदा लिएर जानुहुने इन्द्रबहादुर राई केवल फोटो र सम्झनामा छन्।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 बैशाख, 2075

लेखकका अन्य रचनाहरु