ज्यूँदो सहिद

- पुण्य खरेल

बायाँ हात पेन्टको गोजीमा ख्वास्स घुसारेको, एउटा हृष्टपुष्ट किराँती कटको अधवैंशे मानिस सेतो सर्ट, खरानी रङको पेन्ट, गोडामा पुराना भारतीय छालाका सेन्डल पहिरेर, केस पर्याप्त तेल लगाई अगाडि अलिकति तानी सिधै पछाडि कोरेको, देख्तैमा दार्जेलिङे भनिने किसिमको भेषभुषाको मानिस करिडरबाट अफिसतर्फ बडो अनुशासित सिपाहीले झैं “भित्र आउनु हुन्छ ?” भनेर सोध्दै अति संवेदनशील मुखमुद्रामा प्रवेश गर्छन् । अफिसभित्र शिक्षकहरू दुईटा पेरियडबीचको छोटो अन्तरालको समयमा कुर्सीमा सास फेर्दै छन् । यस्तैमा आगन्तुकमाथि सङ्केत गर्दै एक जना विपिन नजिकै कुर्सीमा बसेका उपेन्द्रलाई कानेखुसीको स्वरमा ‘गोर्खाल्याण्ड ...” भन्छन् ।
आगन्तुकले यो शब्द सुनिहालेछन् । उनले भने– “अँ ! हो, मित्रहरू ! म गोर्खाली हुँ । तपाईंले (विपिनलाई सङ्केत गर्दै) भने जस्तै गोर्खाल्याण्ड आन्दोलनको बाइप्रोडक्ट (उप–उत्पादन) हुँ ।”
उनले लामो सुस्केरा ताने । दाहिने हातले निधारको दुईपट्टि चल्ली निचोरेर आँखा मिचे र भने– “आँसुका कथाहरू सुनाउने इच्छा त पटक्कै थिएन तर मित्रहरू ! परिस्थिति सधैं आफ्नो विचारअनुकूल कहाँ हुँदो रहेछ र ! त्यसैले त म फ्याँकिएर यहाँ आइपुगें, हुत्याइएँ ।”
विपिनलाई शरम भयो । कानेखुसीको कुरा त्यस आगन्तुकले सुनिहाले छ । उनी हल्लिएको बुहारी झार झैं लत्याकलुतुक भए । यसरी प्रवेश गर्नासाथ त्यस नवागन्तुकले विपिनको थाप्लोमा तातोपानी खन्यायो । यो कुरा उपेन्द्रले पनि छर्लङ्ङै बुझे । त्यसैले यो स्थिति सजिल्याउन आगन्तुकलाई प्रश्न गरे– “यहाँको घरचाहिं कहाँ ...?”
प्रश्नको वाक्य औपचारिक रूपमा टुङ्गिन पाएकै थिएन, आगन्तुकले भने, “मेरो घर मिरिक हो । म डीबी मोक्तान हुँ । चालीस दिने बन्दको सिलसिलाको आज ट्वेन्टीफोर्थ डे (चौबीसौं दिन) हो । मैले हिजो दार्जेलिङ छाडेको हुँ ।”
एउटा प्रश्नको धेरै उत्तर एकै सासमा दिएर झ्यालबाट त्यही दार्जेलिङतिरको पहाडलाई आँखाले छाम्न थाले । ज्यादै भावुक बन्यो त्यो एक छिनको सन्नाटा । कसैले बादलमा गड्याङ हान्ने कोसिस गरेन । बरु सन्नाटा भङ्ग गर्दै डीबी आफैंले बडो गलारुद्ध स्वरमा भने “म केही कुरा बताउँ ?”
यति भन्दा नभन्दा उनको अनुहारको आकास काला बादलले वर्षात् खन्याउन आँटे जस्तो देखिन्थ्यो । त्यसैले अर्कोपट्टिको टेबुलमा केही लेख्तै आद्योपान्त यस दृश्यको सहभागी बनेका जगतले भने, “बताउनोस् न ! नबताईकन कसैको कथा–व्यथा कसैले थाहा पाउने नै कसरी त ? तर आफ्नो कथा–व्यथा बताउनु भन्दा पहिले बस्न त बस्नोस् !”
डीबी कुर्सीमा बढो हल्का र अप्ठेरो पाराले बसे । पिठ्यूँ अडेसाएनन् । बसाइ हेर्दा उनको चाकमा पिलो होला कि जस्तो थियो । पेन्टको गोजीमा हालेको वायाँ हात अहिलेसम्म निकालेका थिएनन् । बोल्दाखेरि जेजति इशारा गर्थे उनी दाहिने हात एक्लैले गर्दै थिए । उनले आफ्नो आँखालाई दार्जेलिङबाट तानेकै थिएनन् । दार्जेलिङ अहिले आँधीबेरीको कालो बादलमुनि तोपका गोलाहरूको ताँतीको जस्तो थर्कमानमा थर्किरहेको थियो । बादलका लप्काहरू स्वच्छन्द रूपमा यता र उता मडारिरहेका थिए । यो काँकरभिट्टा डाँडाको आकास पनि जल्याङजुलुङ गर्दै नखरा पारिरहेको थियो । दार्जेलिङमा आँखा अल्झाएरै अनुहार अलि मलिन पाराले भने डिबीले “बाबु–बाजे भनौं, पुर्खादेखिको हाम्रो थलो । आज हामीले हाम्रो हो भन्न बन्दुक बोक्नु पर्ने ... (आँसु बरर्रर्र झार्छन् र आफैंलाई झैं गरी भन्छन्) छिः ... अपाङ्ग भएर आँत पनि अपाङ्ग भयो । हात, पाखुराभन्दा पहिले मन डराएर आँसु झार्छ । गोर्खाली हुँ भनेर अभिमान गर्न पनि सरम लाग्ने बेला भयो ... तर ... बन्धुहरू ! ती भारतकै बङ्गाली बन्धुहरूभन्दा आत्मीयता हाम्रो तपाईंहरूसँग नै नजिक होला भन्ठानेर नामर्दी प्रदर्शन गर्न आएँ बाध्य भएर । यो मेरो अक्षम्य गल्ती हो । मैले त्यहीं मर्नु पथ्र्यो । आफूलाई त्यहीं होम्नु पथ्र्यो मैले । तर जान्दाजान्दै पनि म यतातिर लागें । जानीजानी खुट्टा तानेर कहाँ मरिंदो रहेछ र ? यसरी म यहाँ आइपुगें ।”
दाहिने हातले आँसु पुस्छन् । आँखा दार्जेलिङबाट तानेर बाहिर फूलबारीमा डुलाउँछन् । जल्याङजुलुङले घाम छोपेको मौका छ । हल्का हावाको झोक्काले सिरिसका पातहरू बुरुरुरु झरेर मैदान ढाकिन्छ । केटाकेटीले च्यातेका कापी कागतका टुक्राहरू भुईँमा यताउति हल्लन्छन् । डीबी भन्दै जान्छन्– “आँसुले इतिहास लेखिन्न, बरु मेटिन्छ । गोर्खाली वीरहरूले रगतले इतिहास बनाए । त्यो इतिहास गोर्खालीले नै स्याहार्नु छ । मलाई इतिहास धमिल्याउने आरोप नलागोस् ! प्रिय बन्धुहरू ! म गोर्खाली रहिन अब । अभागी अपाङ्ग भएँ ।”
गह आँसुले भरिन्छन् । पोखरीमा तैरेको पात जस्ता डब्डबाउँदा आँखा उनी भित्र्याउँछन् । दाहिने हातको बुढी औंलाले दाहिने आँखा र चोर औंलाले बायाँ आँखा एकैसाथ निचोर्छन् । आँसु बुढी औंला र चोर औंलाको बाटो पाएर भुर्इँतिर बररर झर्छन् । उनी आँखा खोलेर हेर्छन् । एक सर्को तेजिलो हावा सररर कोठाभित्र ओइरिन्छ । उनी तुरुन्त फेरि आफ्ना आँँखा बाहिर चौरतिर लैजान्छन् । देख्छन्– पातपतिङ्गर, कागज, पातहरू हावासँगसँगै भाग्छन् । पर्खालका फेदमा, भित्तामा, कुनामा पातपतिंगरको काँठो लाग्छ । एक दिन अघि मिस्त्रीले छाडेको फलामको काँटी अविचल त्यहीं रहिरहन्छ । डीबी यसबेला आफूलाई पतिंगर जस्तो ठान्छन् । त्यो फलामको काँटी जुनसुकै आँधीबेहरी, हुरी बतासलाई हाँक दिन्छ । उनी त्यस काँटीको त्यो वजनबाट मोहित हुन्छन् । आफ्नो वायाँ हात, वायाँ टाङका हालतले बढी पिरोलिन्छन् । उनलाई आँधीसँग युद्ध गर्ने त्यस फलामको काँटीले व्यङ्ग्य गरे झैं लाग्छ– ‘हेर् पतिङ्गर ! जति डराएर भाग्छस् त्यति लखेटिन्छस्, त्यति छिटो कुहुन्छस् ! भोलि तेरो अस्तित्वको कुनै अवशेष हुँदैन, तर म आँधीसँग युद्ध गर्छु । हराउन सकूँ या नसकूँ उसलाई तर म भाग्नेवाला छुइन’ भनेर । डीबी पेन्टको जेबमा पसेको आफ्नो हातलाई दुश्मनलाई हेर्ने आँखाले हेर्छन् । वाध्यताका आँसु खस्छन् उनका आँखाबाट ।
डीबीको यो अवस्थाबाट संवेदनशील बन्न पुग्छन् जगत । भन्छन्– “डीबीदाइ ! दुःख मान्ने कुरा केही छैन । गर्न सकेसम्म आफूले गर्नुभएकै छ । एक जनाले गर्न सकिने कार्य होइन त्यो । तपाईं आफूलाई अपाङ्ग भन्नुहुन्छ, मैले त बुझेकै छैन । बरु तपाईं किन एउटा हात गोजीबाट निकाल्नु हुन्न ? के त्यो हात गोजीबाट ननिकाल्नुको कुनै कारण छ ? भन्न हुने भए नरिसाइ भन्नुहोस् न !”
डीबीलाई मर्म ताकेर हानेको वाण लागे झैं लाग्यो । यही कुरा उनले कसैलाई थाहै नदिई लुकाउन कोसिस गरेका थिए । त्यही कुरा डोकाले छोपे झैं भएर पहिला उदाङ्गिएछ । अब हात लुकाउनुको कारण भनौं र नभनौंमा उनी पिल्सिए । सोधिसकेको प्रश्नको उत्तर नदिई भाग्ने कठोरता पनि त उनीसँग थिएन । त्यसैले उनले भने– “हुँदै नभएको कुरा कसरी देखाउन सकिन्छ र मित्र ! न मसँग वायाँ हात छ, न म लुकाउँ ? आफ्नो पहिचान खोज्ने दौडमा लागेर मेरो एउटा हात गयो । ‘गोर्खाली’ हुँ भन्न खोजेर एक हाते भएँ । मेरो एउटा हात बन्दुक समाउन नसक्ने भयो । मैले युद्धको मैदानबाट पलायन हुन विवश हुनुप¥यो । त्यो पहिचान ल्याउने हिम्मत ? व्यक्तिगत रूपमा मेरो हिम्मतमा ठेस लाग्यो । हिजोको त्यो बहादुर योद्धा आज भिखारी भएँ । मेरो भित्री अन्तस्करणले यो भिखारीत्वलाई घृणा गरिरहेछ । म आँखाहरूलाई त्यही बारुदको धूँवामा राखिरहन खोज्छु । मेरो नाक त्यही बारुदको वासनामा पौडिरहन खोज्छ । मेरा कानहरूलाई त्यही बन्दुकहरूको आवाज र बमहरूको विस्फोटन मनपर्छ । दुर्भाग्य ! यो सैयौं वर्षको दासताले बल्लतल्ल उठाएको लडाकु मानसिकतामा अचानक असिना खसे । मैले अब एउटा एक्लो हात बोकेर अति घृणित जीवनको अवशेष घिसार्नु पर्ने भयो । एउटा ‘गोर्खाल्याण्डको आन्दोलनको बाइ–प्रोडक्ट’ भएँ मित्र म अब !”
“ओहो डीबीदाइ ! किन यति सारो भावुक बन्न पुग्नुभएको ? युद्धमा जाने सबकासब सिपाही एकसेएकले कहाँ विजयको माला पाइहाल्छन् त ? युद्ध, आन्दोलन, क्रान्ति त्यति सजिलो कुरा पनि त हैन नि ! तालिम प्राप्त र आधुनिक शस्त्रअस्त्रले सुसज्जित लाखौं सेनासँग विचरा तपाईं हामीले लड्नु भनेको त गोली र मट्याङ्रा बीचको लडाईं हो । तैपनि नआत्तिनुहोस् ! बन्दुकले नछेड्ने न्याय गोर्खालीको छातीभित्र भएकोले जीत चाहिं तपाईं हाम्रो निश्चित छ । युद्धमा जानेले आफू परियो भनेर दुःख मान्नु हुँदैन । तपाईं भिखारी होइन । तपाईं त उदाहरण हुनुभयो । त्यो हत्यारा सरकारको हत्याको उदाहरण । त्यो दार्जेलिङमा भएको गोर्खालीमाथिको अत्याचार र दमनको सजीव उदाहरण तपाईं । नसुर्ताउनुहोस् ! हामी सबैको आँखामा तपाईं एउटा साहसी योद्धाको रूपमा सम्मानित हुनुभएको छ । एउटा ज्यूँदो सहिद हुनुभएको छ । दार्जेलिङको गोर्खालीले यदि आन्दोलनलाई सफल बनाउनु छ भने तपाईंको नामको मन्त्र लिएर लड्ने छन् र विजय हासिल गर्नेछन् । यो तपाईंलाई फुक्र्याउने कुरा नभएर कठोर यथार्थ हो ।” जगतले सहानुभूति पूर्ण स्वरमा डीबीलाई आस्वस्त बनाए ।
हावाको झोक्काले मुर्झाएको बुहारी झार समयको गतिसँगै ब्यूँझिएर फेरि ताजा भए झैं विपिन पनि पहिलेको झिल्टोबाट अब ताजा भए । मानसिक रूपले आफूलाई अब सबल बनाए । डीबीप्रति अगाध श्रद्धा उब्जियो । उनले गल्ती महसुस गरे । प्रायश्चित गर्ने उपाय खोज्दै उनले भने– “डीबीदाइ ! नरिसाउनु होला । यहाँ गोर्खाल्याण्डको आन्दोलनको नाम बेचेर ठग्ने थुप्रै ठगहरू आउँछन् । मैले गलत अनुमान गरें । म माफ माग्छु । तर तपाईंजस्ता त्यागी, महान योद्धालाई सहयोग गर्न हामी इच्छुक छौं । हामीहरू पनि आफ्नै मुलुकमा त छौं नि तर ज्यामी मौरी झैं अर्कैको लागि मह जम्मा गरिदिंदै हामीलाई फजिती छ । हामी पनि हाम्रो मङ्सिर आफ्नो ढिकुटीमा ल्याउन युद्धरत छौं । के गर्नु ? टिस्टासम्मका आफ्ना बन्धुहरू मेचीले छेकिंदा, काङ्गडासम्मको हाम्रो मातृभूमि महाकालीले काटिंदा हामीलाई आफ्नै मुटु काटिए झैं त लागेको छ नि ! हिउँमा पौडी खेले झैं शरीरै चिसिएर आउँछ । त्यसैले हामीले लड्ने आन्दोलन तपाईंहरू लड्दै हुनुहुन्छ भन्ने हामी ठान्दैछौं । यस्तो अवस्था छ यहाँ । बरु, बताउनुहोस् हामीले कस्तो सहयोग गर्नु छ, हामी तपाईंलाई आफ्नो रगत दिन तयार छौं । आफ्नो दिलोज्यानले सहयोग गर्न तत्पर भएको कुरा हामी देखाउँछौं ।”
उपेन्द्रले पनि विपिनको कुरामा सहमत व्यक्त गरे ।
डीबी यी विपिन र उपेन्द्रका कुरा सुन्दै आँखा काँकरभिट्टा डाँडाबाट मेची खोलामाथिको आकासमा उडाउँदै त्यही दार्जेलिङ, त्यही खर्साङ हेर्न कोसिस गरिरहेका थिए । बादलको मुस्लो उनका आँखाको अगाडि पर्दा बन्दै दूधियामाथिको जङ्गलबाट हानिएर आई नेपालतिर पस्यो । मेचीमाथिको आकासमा रतिभर रोकिने पर्वाह गरेन । उनलाई लाग्यो यो आकासमा सिमाना रहेन छ । बादललाई सिमानाको पर्वाह रहेन छ कि ? एकै छिन पश्चात् नेपालपट्टिबाट अर्को बादलको मुस्लो दुधियामाथिको जङ्गल हुँदै खर्साङको थाप्लोमा ठोकिन पुग्यो । बादलको त्यो उन्मुक्तता, त्यो स्वतन्त्रता देखेर उनको मनमा सुगौली सन्धिमाथि ठुलो रोष जागृत भयो । उनले भने– “प्यारा मित्रहरू ! वर्गीय नाता हाम्रो हाडनाताभन्दा अपार नाता हो, तर संस्कारभित्र लुकेर बसेको कुरा आपत–विपतमा फुत्किएर निस्कँदो रहेछ । माफ गर्नु होला । म पनि तपाईंहरूले भने जस्तै हिम्मत खोज्दै आएको हुँ । मलाई हिम्मत दिएर, आँट दिएर सहयोग गर्नुभयो । अझ हाम्रो आन्दोलनलाई सफलतामा टुङ्ग्याउने सदिच्छा, सुभकामना, समर्थन दिनुहोस् ! मलाई त्यही भए पुग्छ ।”
खल्तीको हात खल्तीमै थियो । उनी उठे, यस्तो लाग्थ्यो, त्यस हात हालेको गोजीमा हात नभएर सर्टको बाहुलो मात्र हालेको थियो । तर घाउ पुरानो थिएन । दाहिने हातले सलाम गर्दै उनले बिदा मागे । शिक्षकहरू उहाँलाई राम्रो आर्थिक सहयोग पनि गर्न चाहन्थे तर उहाँले आफूलाई ‘पैसामा अवमूल्यन नगरिदिन’ अनुरोध गर्दै विदा लिए ।
शिक्षकहरू आपस्तमा उहाँप्रति श्रद्धा जागेको र उहाँको आन्दोलनप्रति समर्थन र सद्भावना भएको कुरा गर्दै विद्यालयको प्राङ्गणमा पल्लोछेउ नपुगुन्जेल आँखा नहटाई ती ‘ज्यूँदा सहिद’ प्रति सम्मान प्रकट गरिरहे ।

काँकरभिट्टा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 बैशाख, 2075

लेखकका अन्य रचनाहरु