नयाँ साल र जन्म दिवसको अघिल्लो रात

- मोहन सिटौला

सम्वेदित संघारमा पुगेछु क्यारे ! हठात् बौरिने तरखरमा होला ! जीवनजगत्का सबै सामाग्री बोकेर क्षणहरू पिउँदै कवितामा शब्द र लिपि, शब्द र लिपि मात्र नभएजस्तो शब्दशक्ति र ध्वन्यार्थमा रस बहेजस्तो चिन्तनप्रणालीमा !
प्रत्येक क्षण ध्वश्त भएर नयाँ जन्मिन्छौं रे हामी पुनर्निर्माणमा पार्थिव—अपार्थिव वा मृन्मयी—चिन्मयी अस्तित्वमा ! के थाहा र ?
जब बिम्बविधानका व्यञ्जनामा चिन्तनशील कल्पना गर्न लगाउँछन् अनागत हरुले ! तब अनौठो किसिमले सम्वेदनशील भोगाइमा वास्तविकताका अकाट्य पीडाबोध दिंदारहेछन् आगतहरुले !
अनि त स्रष्टाको साहित्यिक सिल्पिका ‘क्वान्टम’ परिवेसका व्यापक क्यानभासमा सम्वेदित एउटा निमेष र स्थान मुटुको सृष्टिसत्ताको स्पन्दन सम्वेदनाको तीखो टुप्पो प्रकाशको झिल्को र चेतनाको झल्को प्रमिथिएसको चट्टानी कैदबासबाट विद्रोहको युगिन मशाल बालेर स्वतन्त्रताको आव्हान गर्छन् तिनले जन्मदिवसका फूलबारीहरु रचना गर्न ! !

अनि पो कर्कला’को पात र सुमुन्द्र जस्ता विस्नु भनिने जनताजनार्दन बिम्बका अथवा त्यस्तै वा तिनै हरिया—नीला, फराकिला बुद्धका आँखामा शान्ति र ‘सम्यक’ न्यायकामी आराधनाहरू स्वतन्त्र र दूरगामी अन्तर्दृष्टिका बल्लरीहरू मौलाउँदारहेछन् करुणामा !

हो, करुणाका पीडा र दंशन कल्याणको लागि सारा शास्त्र, सन्त र सहिदत्वसम्मत सँधैका नवनीत मुना मञ्जरीका अनवरत पीडामा कविता लिएर उभिंदा रहेछन् ‘कर्कला’हरू शाश्वत साधारणिकरणमा जीवनबोध !

इतिहासविद् परिवर्तनका तत्वहरू, निर्दिष्ठ निपात् लिएर कारण र कार्य कलाको विज्ञानमा स्वाभाविक तर बेजोड कलाको काव्य र काव्यको कला लेखनीमा विलय भएर शब्दहरू प्रतिभाका प्रतीक र बिम्बहरुमा शङ्खनाद गर्दारहेछन् अन्तरालमा सिल्प हरू !

साथी ! ती युगीन निनादहरू देख्न अाँत्तुर भएको छु अहिले म शून्यमा सुन्न लालायित भएको छु ती कलाहरू सवै सङ्गीतका शाश्वत स्वरसाधनमा नसुनिएका मीठा धुनहरू लाइरहुन् !

अहो ! पीडा पनि कलामा बोधगर्दा अर्कै सौन्दर्यमा प्रस्तुत हुँदारहेछन् जिन्दगीका व्यवधानहरू कलाकारितामा जहाँ जीवन आफै प्रतीक हुन्छ क्यारे प्रकृति र संस्कृतिका सम्वेदित संयुक्त संघारहरुमा !
साथी ! निश्चयनै स्वागत म गर्छु नयाँवर्षलाई, धन्यवाद र विदाई पनि पुरानालाई !
यद्यपि व्यथित् छु भावविभोर भएर पीडाभिव्यक्तिको सौन्दर्यबोधमा अर्को कविता नआएसम्म सिर्जनात्मक शान्वनाका स्वर्णिम शब्द र स्वरहरू !
नभन्नु नै के छ र आशावादी छु भनी ! भनेर पो कति सकिन्छ र ? मित्र ! सङ्केत र ईशारामा बुझ्न सिकेका हामी मनुवाहरूका लाखौं भाषामा पनि भावाविव्यक्तिनै कति हुन्छ र ? मारिर्दैछन् ती पनि छटाछट काटिएर हाम्रा सभ्यताले विशाल विशाल भनिएका दिवालीहरुमा निर्मम काटिएका लाखौं बोकाहरु झैं !
मात्र प्रतीक र व्यञ्जनाका साङ्केतिक सूचनामा पुलकित विनिर्माणका पुनर्सरचनामा अर्थ खोज्दै विस्मित जिज्ञाषाले तहतहका सतह भित्र हेरेर निकै धेरै भन्न सक्ने हामी नवादिम ओढारवासीहरूको यो धर्तीका मैदान र
उकाली, ओह्रालीमा रहेका कङ्दरा र गुफाहरू हाम्रै संस्कृतिका उँधौली उँभौलीका चिर चलायमानमा पुन उघारिएका बेला साथी ! हामीले आआफ्नै मानसिकताले खसाएको , भत्काएको ‘खसेको, भाँचिएको ‘पुल माने साँघूका वारिपारि विभिन्डिएका अनि स्वस्व निमिति अत्याधुनिक गुफाबासी भएका हामी कठैबरी !
हामीले हामीलाई पुन प्राप्त गर्नेछौं होला विचरा हराएको मनुवालाई सयांै ‘साक्रा पार गरेर आएको सँधैको पुनर्जागरणको साहसिलो बच्चो त्यही सिर्जनशील र जुझारु सचेत र अथक यात्री नयाँवर्षमा !
मेरो पनि नमस्कार छ प्रतिभाशाली स्रष्टाहरुलाई र सम्वेदनशील पाठकहरुलाई ! अनि नयाँआशा उदाएको नयाँवर्षलाई !
यसै भन्न मन लागेको छः जहिले पनि कविताले सामर्थ्य पाएको होस् जहाँ निरन्तर आइरहुन् र गइरहुन् नवनीत सशक्त क्रियाशील मशाल लिएर नूतन निर्माणका समय र स्थान मरणशीलहरुका कालजयी युगान्तरमुखी अन्तर्दृष्टिका, मान्छेका सम्वेदनशील यथार्थिक जीवनका सौन्दर्यवान् काव्यबोधहरू नयाँवर्षमा !

अस्टिन् , टेक्सस् , अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 बैशाख, 2075

लेखकका अन्य रचनाहरु