‘‘नून नीलिम कुमारका अन्य कविता’’ कृतिलाई अध्ययन गर्दा

- सदानन्द अभागी

परिचय–
‘‘नून र नीलिम कुमारका अन्य कविता’’ असमियाबाट नेपालीमा अनुवाद गरेको कृति हो । यस कृतिका अनुवादक मित्रदेव शर्मा हुनुहुन्छ । यस्तो गहन कामलाई सहज र सरल रूपमा व्यवहारमा उतार्ने मित्रदेव शर्माको व्य्िरक्तत्व र कृतित्वप्रति अनुवादकको परिचयबाट यहाँ प्रष्ट पार्ने अनुमति चाहान्छु । मित्रदेव शर्मा पिता स्व.टीकाप्रसाद शर्मा र माता स्व.कुन्तीदेवी शर्माका सुपुत्र हुनु हुन्छ । उहाँको जन्म १ जनवरी, १९४४ शोणितपुर जिल्लाको माङमौथानमा भएको हो । उहाँले स्नातकोत्तर (परिसंख्या)शैक्षिक योग्यता हाँशील गरीसक्नु भएको छ । पेशागत रूपमा हेर्दा उहाँ अरूणाचल प्रदेश सरकारको अर्थनीति विभागको सर्वोच्च ओहोदाको पदमा पुगी हाल सेवानिवृत्त भएको जानकारी पाइन्छ । मित्रदेव शर्मा, भारतको उत्तर पूर्वाञ्चल मात्र नभै सिक्किम, दार्जीलिङ, उत्तराखण्ड, राजस्थान, अरूणाचल, मिजोराम लगायत नेपालमा पनि आफ्नो साहित्यिक प्रतिभालाई परिचय गराउन सफल र स्थापित साहित्यकार हुनुहुन्छ । भूमिकामा छविलाल उपाध्यायले मित्रदेव शर्मामाको सिर्जनामा प्रकाश पार्दै लेख्नु हुन्छ –‘‘विशेष गरी उनको साहित्यको क्षेत्र अनुवाद, निवन्ध र जीवनीको सम्पादन कार्यमा पनि उत्तिकै हात भएको नै बढी देखिन्छ । ....... अनुवादका गद्य–पद्य दुवै विधामा बराबर कलम चलाउने विद्यानुरागी, अध्ययनशील, अनुसन्धान कर्ता पनि हुन् । यसै गरी सामाजिकताका पनि अग्रणी व्यक्ति हुन्, प्राचिन सामाग्रीहरूका संरक्षक पनि ।’’ दुलियाजान कला–साहित्य मञ्च दुलियाजान (असम)ले मिति ३१ मार्च (शनिवार र १ अप्रैल (आइतवार –२०१८मा आयोजना गरेको अन्तराष्ट्रिय नेपाली साहित्य समारोहमा मित्रदेव शर्माजीसँग साक्षत्कार हुने सौभाग्य जुरो । उहाँको मुस्कानपूर्ण अनुहार, भावपूर्ण अभिव्यक्ति, नेपाली शब्द उच्चारणमा शुद्धतामा गहिरो चिन्तन, उहाँको शालीनपूर्ण व्यवहार आदिले गर्दा उहाँसँग म निकै प्रभावित भएँ र यो कृति पनि सोही दिन प्राप्त गरें । छविलाल उपाध्यायज्यूको धारणाले नै उहाँको व्यक्तित्व र कृतित्वमा प्रकाश पारेको छ र असममा बसेर नेपाली, असमिया, अङ्ग्रेजी, हिन्दी आदि भाषामा दखलता नै उहाँको बौद्धिक परिचयको एक उदाहरण हो ।
सिर्जनशील व्यक्तित्व– नेपाली, असमिया, अङ्ग्रेजी, हिन्दी आदि भाषाका ज्ञाताको रूपमा परिचित व्यक्तित्वका धनी शर्माजीको कलम पनि यिनै भाषामा सिर्जनशील भएर अघि बढेको पाइन्छ । पत्रपत्रिका लगायत उहाँका सिर्जना मौलिक कृति र अनुवाद कृतिको रूपमा अध्ययन गर्न सकिन्छ । उहाँका मौलिक कृतिहरूमा नेफार परा राजस्थानालै (असमिया, सन् २००५), आन्दामान, आबु, आजमीर आदि (असमिया सन् २००५), स्मृतिर सुरभी (असमिया, सन् २००९) मित्र विविधा (नेपालस्ी सन् २०१०), बुँदा भाषा–नृशास्त्र–संस्कृति (नेपाली सन् २०१०), मित्र रचनावली ( नेपाली सन् २०१३), आङ् जिरिङ्ग पार्ने हत्या रहस्य (पहिलो संस्करण १९९६ र दोस्रो संस्करण २०१६) र भारतीय साहित्यका निर्माता नित्यानन्द उपाध्याय ( साहित्य एकादमीद्वारा प्रकाशित, २०१३) पर्दछन् भने अनुवादित कृतिहरू (स्मृतिर लेसेरी बुटली (नेपालीदेखि असमियामा अनुवाद सन् २००८), अन्तराष्ट्रिय नेपाली काव्य कविता (नेपालीदेखि असमियामा अनुवाद सन् २००८), ओपजा माटिर सुवास (तेलेगुदेखि असमियामा अनुवाद,२००८), जन्मभूमिको सुवास (तेलेगुदेखि नेपालीमा अनुवाद२००८) मनोग्राही नेपाली गल्प (नेपाली कथाहरूको असमियामा अनुवाद २०१२) र नून र नीलिम कुमारका अन्य कविता (नेपाली अनुवाद सन् २०१६) आदि कृतिहरूको साथै मित्रदेव शर्माका विभिन्न असमिया, नेपाली, हिन्दी, अङ्ग्रेजी पत्रपत्रिकाहरूमा कथा, लेख, प्रवन्ध र नियात्राहरू) प्रकाशन भएका छन् ।
सम्पादित कृतिहरू–मित्रदेव शर्माले, सेउजी छन्द (असमिया भाषाको द्विमासिक कविता पत्र),नवारूण (अरुणाचल प्रदेश सरकारी पेन्सनार संस्थाको स्मारिका असमिया र अङ्रेजी भाषामा), कवि टीकाप्रसाद शर्मा लुइँटेलको जीवनदर्शनमा आधारित स्मृतिग्रन्थ, त्रिप्रहर (जेष्ठ नागरीक संस्था, तेजपुरद्वारा प्रकाशित स्मृति ग्रन्थ असमिया र अङ्ग्रजीमा सन् २०१०, सहसम्पादक), पानस (शोणितपुर नेपाली साहित्य परिषद्को मुखपत्र ) पञ्चामृत (हरि–हर धाम सांस्कृतिक उन्नयन समितिको स्मृतिग्रन्थ) र दुर्वासा उपाध्याएका रचनाहरू (सन् २०१३),आदि कृतिहरू, सम्पादन गर्नु भएको छ ।
सम्मान ÷पुरस्कार – मित्रदेव शर्माले साहित्यमा पु¥याएको योगदानको उच्च कदर गर्दै विभिन्न संस्थाहरूले सम्मान÷पुरस्कारले विभूषित गरेका छन् । भारतका राष्ट्रपतिद्वारा उत्कृष्ट सेवाको निम्ति १९७१ सन्को काङ्श्य पदक प्रदान, पश्चिम सिक्किम साहित्य परिषद जिङद्वारा वरिष्ट साहित्यकार सममान र अभिनन्दन(२० अगस्त २०१०), स्रष्टाको २०१२ को श्रेष्ठ प्रवन्धकार पुरस्कार (१३ जुलाई २०१३), असम साहित्य सभा शोणितपुर जिल्ला शाखाद्वारा विशेष सम्मान (२०१४), सदौ असम बिहु सुरक्षा समितिद्वारा विशेष सम्मान(सन् २०१६) र तारानाथ शाण्डिल्य स्मृति सम्मान (सन् २०१५) बाट शर्माजी विभूषित भैसक्नु भएको छ ।
नीलिम कुमारप्रति अनुवादक एवम् साहित्यकारको धारणा –
मित्रदेव शर्माले अनुवादका कुरा शीर्षकमा नीलिम कुमारको छोटो परिचय दिनु भएको छ ।नीलिम कुमार सन् १९६१मा जन्मेका र उनका कृतिहरू १९८५ देखि प्रकाशनमा आउन थालेका, हालसम्म १६ भन्दा अधिक कविका कवितासङ्ग्रह प्रकाशन भै सकेका विवरण शर्माजीले प्रष्ट पार्दै लेख्नु हुन्छ– ‘‘उनका धेरै कविता बाङ्ला, हिन्दी, उडिया, मराठी, तामिल, कन्नड, अङ्ग्रेजी, आदि भाषामा इतिपूर्व प्रकाश भएको जान्न पाइन्छ । काव्य निर्माणमा प्रयोग भएको अनौठो कौशल उनको निजस्व सृजना हो । छन्दमुक्त कवितामा अत्याधुनिक प्रयोग गरेकाले यो समयका श्रेष्ठ असमिया कविका पङ्क्तिमा नीलिम कुमारको नाम लिनु पर्छ ।’’
पूर्व सभापति, नेपाली साहित्य परिषद् असम देवकोटा नगर गुवाहटी असमका वरिष्ठ कवि नवसापकोटाले नीलिम कुमारको बारेमा लेख्नुहुन्छ – ‘‘प्रेमका कविता उनका उच्चस्तरका हुने हुनाले उनी प्रेमका कविका रूपमा जनप्रिय छन् ।’’
सहयोगि अध्यापिका असमीया विभाग बि.बरुवा कलेज गौहाटिकी वरिष्ठ कवियित्री डा. इन्दु प्रभा देवी नीलिम कुमारको बारेमा लेख्नुहुन्छ – ‘‘मूलतः प्रेमका कवि हुन् नीलिम कुमार र धेरै नवीन कविहरूका निम्ति आदर्श पनि ।’’
उदालगुडीका वरिष्ठ कवि पुष्पधर शर्माले नीलिम कुमारको बारेमा लेख्नुहुन्छ – ‘‘अरूअरू जस्ता नभएर उनी जीवनलाई सोझै हेर्ने र अभिव्यक्ति दिन रुचाउँछन् ।’’
कृतिभित्र प्रवेश गर्दा –यस कृतिमा कविले नीलमकुमारका ५६ वटा कवितालाई नेपालीमा अनुवाद गरेको देखिन्छ । यस कृति भित्रका प्रायजसो कविता प्रेममा आधारित छन् । छविलाल उपाध्यायले यस कृतिका कवितालाई मूल्याङ्कन गर्दै लेख्नु हुन्छ –‘‘ हुन त यो कृतिले फ्रायडका मनोभावलाई पछ्याएको अनुभव हुन्छ र विशेष गरी युवाहरूलाई आकर्षण गर्ने प्रयासमा छन् अनुवादक ।’’ कविको पहिलो कविता हो नून । नूनलाई कविले महत्वपूर्ण स्थान दिँदै लेख्छन् –‘‘ मानिसको अन्त्य भए पनि नून रहन्छ । पृथ्वीको अन्त्य भए पनि नून रहन्छ ईश्वरको त्यो बेला आँसु झर्छन् आँसु भनेकै नून हो –(पृष्ठ ११) । कविले कतै प्रेमिकालाई सबै सबै थोक दिन तयार हुन्छन् भने कतै बेची रहेकासँग हृदय दिएर प्रेम माग्दछन् । प्रेमको आदान प्रदानमा धारणा राख्दा कविले स्पष्टसँग आफ्ना भावनालाई राख्न हिचकिचाउँदैनन् । हेरौं तलको उदाहरण–
कति खेप आरोहण गरें
तिम्रा छातीका स्फटिक श्रृङ्ग
सेतो उदरको ढल्केको समतलमा टाउको राखी
कति खेप सुतें
पृष्ठ ३१
प्रेममा अग्रसरता लिए पनि यस कृतिका कविताहरूमा विविधता पाइन्छ् । कविताहरूले मानव मनलाई छुन्छन् । ‘‘उस्ले मेरो हृदय छैन भनुन्जेल मैले हराएको थिइन हृदय’’( पृष्ठ ४०) , यस्तै कविता श्लोकहरूले स्थान पाएका छन् यस कृतिमा ।
अनुवादमा भाषा सरल छ र सहजरूपमा प्रस्तुतिले गर्दा पाठकले पनि सहजरूपमा यस्का भावनालाई ग्रहण गर्न सक्दछन् । शब्द अलङ्कारको प्रयोगसहति अनुवाद गरीएको यो कृतिले शर्माजीको अनुवाद शक्तिको सक्षमतालाई प्रदर्शन गरेको छ । यस कृतिले प्राकृतिक सौन्र्दतालाई समाएको छ ,प्रेमका सुन्दर भावनालाई बगाएको छ र पाठकलाई आकृष्ट गराएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 3 बैशाख, 2075

लेखकका अन्य रचनाहरु