शेक्सपियरको आँगनमा विमोचन

- विजय सापकोटा

‘बाहिर गर्ने कि भित्र ?’

‘होइन होइन... बाहिर निस्किएरै गरुँ होला । शेक्सपियरको घर पनि फोटोमा प्रस्ट आउँछ । नभए त कहाँको बगैँचा, कहाँको ? मान्छेले कसरी थाहा पाउने यो शेक्सपियरकै जन्मघर हो भनेर ?’
आखिर समय पनि त छुट्टै छ नि । बदलिएको यो समयमा धेरै कुरा सोच्नुपर्छ–आफ्नो लागि भन्दा पनि अरुका लागि । आफू खुसी बेखुसी के छ कुन्नि वास्ता हुँदैन.... तर अरुलाई यो प्रदर्शन गरेर आफू राम्रो भएको, खुसी भएको र क्षमतावान्, सिर्जनशील, बौद्धिक अथवा पौरखी भएको साबित गर्नैपर्ने समयको यो माहौलमा हामी पनि मिसिनु अस्वभाविक होइन सायद । यद्यपि अरुलाई देखाइनका लागि राम्रो भइदिँदा आफ्ना साँच्चिकैका खुसीहरुचाहिँ बाटो लागिसकेका तर्फ हामीले यादै गरिरहेका हुँदैनौँ । जब प्राकृतिक आनन्द मन र मस्तिष्कले महसूस गर्दैन, शरीरमात्रैले गर्ने त्यसको प्रकटीकरण त सिनेमाको सिकारु कलाकारको अभिनयजस्तै कृत्रिम र भद्दा देखिन्छ । हामी बाँचेको समयको खुसी आधी खुसी र आधीचाहिँ प्रदर्शनमात्रै हो ।
यहाँ पनि यस्तै खतरा थियो । प्रायः पलपल घट्ने र घटाइने भर्चुअल खुसीहरुले विशेष अवसरहरुको आनन्द र गौरवलाई स्खलित गर्ने काममात्रै गर्छन् । कतिपय अवस्थामा मआफैँ पनि तिनको साक्षी, भोक्ता अथवा माध्यमसमेत बनेको छु । भीडको लहलहैमा प्रारम्भमा त यस्ता कुराहरुले क्षणिक उत्तेजना पैदा गर्ने गर्दछन् तर ती क्षणभंगूर बनिदिन्छन् । आजको यो अवसर पनि त्यस्तै हुने त होइन....मनमा लागिरहेको थियो । तर प्रिय कृष्ण बजगाईँ दाजुको अनुहारमा पोतिएको उत्तेजना देख्दाचाहिँ म ढुक्क भइसकेको थिएँ । अझ आफूमा पनि त्यो आनन्द अलिअलि सर्दै आइरहेको छ जस्तो महसुस गरिरहेको थिएँ । त्यसैले म पनि मिसिँदो थिएँ । बजगाईँ दाजुको फुरफुर्र देख्दा यस्तो लागिरहेथ्यो मानौँ दाजु घरमा बुहारी भित्र्याउँदै हुनुहुन्छ र बाँकी हामीचाहिँ जन्ती । हामी भन्नाले नेपालबाट आउनुभएका कविद्वय बासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायती नेपाली साहित्यमा गनिएका विद्वान् डा. रुपक श्रेष्ठ अनि म ।
अगस्टको अन्तिम साता । दिनहरु अझै उज्याला छन् । खासमा बेलायतमा यस्ता उज्याला दिनहरु निकै कममात्रै हुन्छन् । छोटो समर हुन्छ...उसमाथि अगस्टको अन्तिम साता कुनै पनि दिन चिसा र अँध्यारा दिनको प्रारम्भ विन्दु हुने खतरा भइसकेको हुन्छ । तर आजको दिन कवि दाजु बासुदेव अधिकारीको हाँसो जस्तै उज्यालो छ । किनभने हामी संसारका साहित्यकार, रंगमञ्चकर्मी एवम् साहित्यप्रेमीहरुको तीर्थस्थलजस्तै मानिने (मलाई यो शब्दमाथि पटक्कै मोह छैन तर यस्तो ठाउँलाई सम्बोधन गर्ने अर्को शब्द के हुन्छ भेउ पाएको छैन) बिख्यात नाटककार शेक्सपियरको जन्मस्थल स्टार्डफोर्ड अपन एभनमा छौँ ।
हुन त यहाँको यात्रा पहिलो होइन । तर यो पहिलेको यात्राभन्दा बिल्कुलै फरक छ...अर्थात् साहित्यमय छ । यतिसम्म साहित्यमय छ कि हामीबीच साहित्यबाहेक अरु विषयवस्तु मुस्किलले प्रवेश गरिरहेको छ कुराकानीमा पनि । राजनीतिसमेत छिरेको छैन । नभए चारपाँचजना नेपाली आपसमा भेट हुनु, चारपाँच घन्टा निरन्तर साथमा बिताउनु तर राजनीतिको कुरा पटक्कै नगर्नू... ...के यो सम्भव छ त ? तर यहाँ यो परम्परा पनि तोडिएको थियो–अचेतनरुपमै भएपनि । बरु योचाहिँ सही हो लामो बाटोको कटाइमाचाहिँ धेरैजनाका कुरा काटेर हामीले नेपाली जातीय परम्परालाई चाहिँ कायम नै राखेका थियौँ ।
साबिकको घुइँचो छ सेक्सपियरको घर आँगनमा । बाहिर उभिएका जति सबै भित्र पस्दैनन् सायद, कति आँगनबाटै फर्किन्छन् । २६ अप्रिल १५६४ मा स्टार्डफोर्ड अपन एभनकै प्रसिद्ध होली ट्रिनिटी चर्चमा बाप्टाइज गरिएका विलियम शेक्सपियरको खास जन्मदिन कुन थियो त्यसको प्रामाणिक अभिलेखको पत्तो छैन । अझ गजबको कुरा त विश्व साहित्य र रंगमञ्च जगत्मा चार शताब्दीभन्दा लामो समय एकछत्र राज गरेको यो नामको वास्तविक अस्तित्वका बारेमा धेरै संशयहरु पनि आएका छन् । शेक्सपियर आफैँले ती सिर्जनाहरु नगरेको हुनसक्ने दाबी पनि वर्षौँदेखि हुँदै आइरहेको छ । तर यस्ता कुरा सामान्य पाठक, शेक्सपियरका प्रशंसक अथवा भावकहरुको टाउको दुखाइको विषय पटक्कै बनेका छैनन् । त्यसैले शेक्सपियरको अस्तित्व विश्वसाहित्य र रंगमञ्चमा अहिलेसम्म पनि सुरुका नम्बरमै आउँदछ । तिनै शेक्सपियरको नाउँमा सन् १८४७ मा शेक्सपियर बर्थ प्लेस ट्रस्टको स्थापना गरी अहिलेसम्म निरन्तरता दिइएको छ । शेक्सपियरको जीवनकालसित जोडिएका पाँचवटा घरहरुको रेखदेख र संरक्षण गर्नुका साथै शेक्सपियरसँग सम्बन्धित साहित्यिक र रंगमञ्चीय क्रियाकलापहरु यसले गर्दछ । यिनैमध्येको एउटा घर हो शेक्सपियरको जन्मघर । महङ्गो टिकट काटेर भित्रिएका हामीमध्ये कविद्वय बासुदेव अधिकारी र छविरमण सिलवाल अत्यन्तै उत्साही देखिइरहनुभएको छ । बाँकी हामी तीनचाहिँ पहिले पनि आएकाले होला जिज्ञासाविहीन जस्तै छौँ– तर कविद्वयको आनन्द र उत्साहका सहयात्रीचाहिँ भइरहेका छौँ ।
असाध्यैै उज्याला बासुदेव दाजुका जिज्ञासु नजर यति व्यस्त छन् कि मानौँ मिलेदेखि दाजु त्यो भौतिक संरचना आँखैले उचालेर आफूसँगै बोकेर हिँड्नुहोला जस्तो । अर्का कवि दाजु छविरमण सिलवालको पाराचाहिँ अलग्गै छ –प्लस टु उत्तीर्ण गरेर भर्खर क्याम्पस छिरेको लोर्के ठिटोजस्तो ! चुरिफुरी नै अलग्गै ! कृष्ण बजगाईँ दाजुको उत्साह सदाबहार छ । डा. रुपक कम बोल्नुहुन्छ तर टुच्च टुच्च उहाँको विद्वता भने खटाइ खटाइ पोखिइरहेकै हुन्छ उहाँबाट । यी सबै सिनियर दाजुहरुका बीचमा मचाहिँ पुल्पुलिएको कान्छो भाइ जस्तो !– अरुभन्दा म अलि बढी स्वतन्त्र छु । साँच्चै नै अर्कै किसिमको रमाइलो भइरहेछ ।
शताब्दीऔँ पुरानो त्यो ऐतिहासिक घर विगतमा देखेजस्तै थियो । शेक्सपेरियन पारिवारिक जीवन शैलीको स्पष्ट चित्रको वर्णन गर्ने त्यो घर र त्यहाँभित्रको संरचना सहीरुपमा शेक्सपियरकै हुन् या होइनन् त्यो त ठोकुवा गर्न सक्दिन । तर शेक्सपेरियन पारिवारिक जीवनलाई तिनले चिनाउँदछन् । त्यहाँभित्र कतिपय कर्मचारी र गाइडसमेतले गरेका व्याख्यालाई कानले सुनेर आँखामा बालक शेक्सपियर नचाउने पर्यटकहरुका अनुहारमाचाहिँ अर्कै किसिमको आनन्द र सन्तुष्टि देखिन्छ । सायद, धार्मिक मानिसहरुलाई आ–आफ्नो धर्मसँग सम्बन्धित स्थलहरुमा पुग्दा यस्तै परमानन्दको अनुभूति हुँदो हो !
करिब आधा घन्टा घरका चोटाकोठा चहारेर बाहिर बगैँचामा निस्किएपछि कृष्ण बजगाईँ दाजु र मेरो बीचमा माथि भनेझैँ ‘बाहिर कि भित्र’ को गलफती त नभनूँ छलफल भएको थियो । भ्रमण दलका केही सदस्यलाई समेत गुमराहामा पारिएको त्यो ‘बाहिर कि भित्र’ एउटा किताबको विमोचनसँग सम्बन्धित कुरा थियो । अन्त्यमा बाहिर गर्ने सहमति भएपछि हामी अघि बढ्छौँ । बगैँचामा एउटा सानो डबलीजस्तो छ–जहाँ चारपाँचजना ‘कलाकार’ ले शेक्सपियरको कुनै पनि नाटकको कुनै पनि अंशको अभिनय प्रस्तुत गर्छन् । तिनीहरु शेक्सपियरकालीन भेषभूसामा हुन्छन् । त्यसो त शेक्सपियरको जन्मस्थानको मूलघरभित्र काम गर्ने कर्मचारीहरु सबै त्यही स्वरुपमा हुन्छन् । डबलीमा नाटक प्रस्तुत गर्ने कलाकारहरुमा एकजना उमेर ढल्किएका कलाकार पनि छन् । चारवर्ष अघि यही ठाउँमा तिनले छोरीद्वारा अस्वीकृत भएर आँधीबेहेरीको रातमा एक्लै परेको राजा लियरको अभिनय गरेको मन्त्रमुग्ध भएर हेरेको थिएँ । ती बेनाम कलाकार आज पनि उत्तिकै उत्साहपूर्वक यताउति गरिरहेका थिए । ती शेक्सपियर बर्थ प्लेसका घोषित तलबी कलाकार थिए अथवा दर्शकहरुले खुशीले दिएको बक्सिसमा गुजारा चलाउँथे, त्यो त म जान्दिनँ । शेक्सिपयरका ४३ वटा नाटकमा झन्डै १२ सयभन्दा बढी चरित्रहरु छन्, ती सबै चरित्र र तिनका संवादलाई लगभग तत्काल याद गरेर प्रस्तुत गर्नु मेरो विचारमा विलक्षण प्रतिभा हो ।
‘लौ उता टैगोरको सालिकतिर जाऊँ ...।’ डबलीमा उभिएर आक्रोशित रोमियोको रोल गरिरहेको दारिवाल अभिनेता र उसलाई हेरेर मज्जा लिइरहेका मानिसहरुलाई त्यहीँ छाडेर हामी बगैँचाको अर्को कुनातिर पुग्छौँ । जहाँ भारतीय महाद्वीपका दुई बिख्यात कवि रविन्द्रनाथ टैगोर र डा. मुहम्मद इकबालका अर्धकदका सालिक राखिएका छन् । डा. मोहम्मद इकबाल उर्दूका बिख्यात कवि हुन् जसले भारतको चर्चित गीत ‘सारे जहां से अच्छा हिन्दोसिताँ हमारा....’ को रचना गरेका थिए । र, यहीँ एउटा नयाँ कुरा देखियो यसपटक, बिख्यात चिनीयाँ नाटककार– ताङ छियाङ्छुको पूर्णकदको सानो सालिक । शेक्सपियरका समकालीन छियाङ्छु चिनीयाँ साहित्यका महान् नाटककार हुन् । दुवैको मृत्युसमेत एकै वर्ष सन् १६१६ मा भएको थियो । सन् २०१४ शेक्सपियरको जन्मस्थलमा उनको सालिक यहाँ स्थापित गर्दा ‘पूर्व र पश्चिमको मिलन’ भएको संज्ञा पनि दिइएको थियो । शेक्सपियरको आँगनमा आफ्ना छिमेकी देशलाई प्रतिनिधित्व गर्ने दुई कविहरुलाई देखेपछि स्वभाविकै हो सबैका दिमागमा एउटै साझा झिल्का निस्कियो– अहो...हाम्रा देवकोटालाई पनि यहाँ राख्न पाए !’
नेपाली साहित्यको कुरा गर्दा देवकोटै आउँछन् पहिलो नम्बरमा ...तर नेपाली पाठकहरुले देवकोटा खासै पढेकै छैनन् भन्छु म त । यदि क्याम्पस र विश्वविद्यालयका कोर्समा नराखिएका भए देवकोटाको ‘मुनामदन’ बाहेक अरु कृति पाठकहरुले पढ्थे कि पढ्दैनथे यसमा शंकै लाग्छ... । किनभने हामी पाठक र लेखक दुवै कम इमान्दार बन्दै गइरहेका छौँ । देवकोटा जसलाई बहुला र सन्काहाको मिथ बनाएर रोमान्चित बन्ने र बनाउनेमा नेपाली साहित्यको एउटा सिंगो पुस्ता आजीवन लागिरह्यो, आजपनि विश्वविद्यालयका कतिपय वरिष्ठ विद्वान् प्राध्यापकहरु देवकोटाको लेखनको भन्दा उनले नभोगेको जीवन र नदेखाएका चरित्रलाई अपव्याख्या गरेर मिथहरु नै बनाउन व्यस्त छन् । राज्यको त कुरै नगरुँ....एउटा देवकोटाको घरसमेत आफूले स्याहार्न सकेको छैन । तर बेवास्ताका बावजूद पनि देवकोटाले हाम्रो लाज बचाइदिएकै छ । हाम्रो साहित्य धनी छ भन्नाका खातिर देवकोटालाई तेस्र्याइदिएर गजक्क पर्न हामीले पाएकै छौँ ।
स्याहारसुसार र उचित संरक्षण नपाएर देवकोटाको घरको कन्तबिजोग छ– पत्रकारहरु लेखिरहेछन् । सरोकारवालाहरुलाई देवकोटाको घरसँग कुनै लेनादेना छैन, किनभने त्यसको ‘व्यापार’ मा व्यक्तिगत फाइदा केही पनि छैन । अनि हामीचाहिँ यहाँ देवकोटाभन्दा करिब ३ सय ४५ वर्षअगाडि जन्मिएका शेक्सपियरको घरको संरक्षण गरेको देख्दा हाम्रा देवकोटाहरुलाई गरिएको अपहेलना सम्झेर दुख्दैछौँ । यसका बाबजूद पनि शेक्सपियरको आँगनमा ताङ छियाङ्छु, टैगोर, इकबालसँगै आफ्ना देवकोटालाई उभ्याउने स्वैरकल्पना पनि गरिरहेका छौँ । शायद, यो कुरा मिठो भावनाभन्दा बढी केही थिएन–त्यो पनि निरपेक्ष भावना ! टैगोर र इकबाल आफ्नो समयका बलिया, राम्रा र चर्चित कवि पक्कै हुन्– यसमा दुई मत छैन शायद । तर यहाँ उनीहरु उभिनुका पछाडि उनीहरुको प्रतिभाभन्दा बढी अरु नै केही कुराले प्रभाव पारेको छ । म त टैगोरको नोबेल पुरस्कार र इकबालले पाएको सर उपाधि दुवै मालिक अङ्ग्रेजहरुप्रतिको नजिकको दूरीलाई बुझ्दछु ।
खैर, टैगोर र इकबालका त्यहाँ उभिएका सालिकप्रति पूर्वाग्रही बन्नु आवश्यक पनि थिएन मलाई । तर मन न हो यो चाहिँ सही हो कि कल्पनामै पनि असम्भव लाग्दालाग्दै म हाम्रा देवकोटालाई पनि उनीहरुसितै उभ्याइरहेको थिएँ– अरु सहयात्रीहरुले जस्तै ।
अघिदेखि यो विषयले चाहिँ कृष्ण बजगाईँ दाजुलाई बढी छोइरहेको थियो । अघि बाटोमा पनि देवकोटाको घरको प्रसङ्ग चलेको थियो । कवि अधिकारीले देवकोटाको घरलाई सङ्ग्राहलय बनाउन बिगतमा भएका प्रयत्नहरु अनि त्यसभित्र जेलिएका घिनलाग्दा स्वार्थका खेलहरुका बारेमा खोल्नुभएको थियो, सविस्तार । यो कुरा सुनेर हाम्रो मनमा अघिदेखि नै विषाद्को भावना जन्मिएको थियो । त्यसो त यो कुनै नौलो कुरा नै थिएन...हामी बाँचेको समयको बिडम्बना नै यही हो कि हाम्रा शासक र प्रशासकहरुले बिघठन गर्न बाँकी ठाउँ र निकाय केही बाँकी राखिरहेका छैनन् । तैपनि बजगाईँ दाजु बारम्बार दोहो¥याइरहनुभएको थियो– ‘लौ है बासुजी । तपाईँका कुरा सुनुवाइ हुने ठाउँ छ ।’ उहाँ देवकोटाको घरलाई राज्यले गतिलोसित संरक्षण गर्ने पहल गर्नका लागि बासुदेव दाजुलाई आग्रह गरिरहनुभएको थियो । थाकेको भावमा अघि त्यतिधेरै बेलिबिस्तार लगाएका बासुदेव दाजु गम्भिरतापूर्वक यसलाई मनन पनि गरिरहनुभएको थियो ।

यो प्रसङ्ग जसरी कोट्टियो त्यसैगरी बिलाएर पनि गयो । शायद यो चिन्तन सही भए पनि ठाउँ र समय उचित थिएन कि ? किनकि त्यो पूर्णतः औचित्यहीन थियो । पटक पटक अनुभव गरेको विदेशमा जति जति यस्ता ठाउँहरुमा गइन्छ, जति जति सुविधाहरु उपयोग गरिन्छ– त्यति तयति देशको हालत सम्झेर चसक्क दुख्छ ! आफ्नो वास्तविक धरातल त त्यो पो कठै; कल्पेर उत्साह थचारिइहाल्छ । सबैमा यो अनुभूति नहोला, व्यक्तिपिच्छे अनुभूतिका पनि आफ्ना आफ्ना वर्ग र तह हुन्छन् । तर अक्सर मचाहिँ यही कुराले स्वयम्मा अपमानित भएजस्तो लाग्छ । कतिपयका मुखबाट यही अनुभूति सुनेको पनि छु ।
यथार्थ यही हो र यस्तै पनि हो । यो यथार्थसँग हामी सबै दैनिक सम्पर्कमा पनि छौँ । तैपनि बजगाईँ दाजु दोहो¥याइरहनुभएको छ– ‘लौ है साथीहरु ..पहल गरुँ ।’ उहाँ यसरी भनिरहनुभएको थियो मानूँ त्यो काम गर्ने बासुदेव अधिकारीले नै हो...कथम्कदाचित् बिर्सनुभयो भने त बर्वाद नै हुन्छ । तर त्यो चिन्ता ठट्टा थिएन, सिङ्गो वाङ्मयप्रतिको चिन्ता पनि थियो । त्यसैले त वासुदेव दाजु यसलाई गम्भिरतापूर्वक लिइरहनुभएको थियो । यद्यपि केही क्षणअघिसम्म उहाँका कुरा सुन्दा उहाँ स्वयम्लाई पनि यो कुराप्रति अविश्वास थियो कि जस्तो लाग्छ । यदि त्यो थियो भने पनि स्वभाविकै हो । किनभने जुन देशमा राजनीति गर्नेहरुको यात्रा एउटा चुनावदेखि अर्को चुनावसम्म मात्रै हुन्छ, उनीहरुबाट यति परको छलाङ मारिएला भनेर विश्वास पनि कसरी गर्नु...अहिलेको परिस्थितिमा ।
चिन्तनमै फेरो मारियो शेक्सपियरको बगैँचा । फोटाहरु खिचिए । छविरमण दाजु पोज दिनमा माहिर– अघि नै भनेँ नि उहाँ सबैभन्दा जवान देखिइरहनुभएको थियो !
अब शेक्सपियर ट्रस्टको पसलको बाटो गरेर बाहिरिनुथियो ।
मुख्य काम त बाँकी नै थियो । त्यही काम गर्नका लागि ‘बाहिर कि भित्र’ को कुरा उठेको थियो । त्यो काम थियो श्री ओेम श्रेष्ठ रोदनद्वारा सम्पादित र लघुकथा समाज नेपालद्वारा प्रकाशित ‘आजका लघुकथा’ कृतिको विमोचन । श्रीओम दाजुको नेतृत्वमा लघुकथा समाज रहरलाग्दो सक्रियता देखाइरहेछ । कृतिको विमोचन पनि नयाँ हिसाबले, न कुनै औपचारिक कार्यक्रम, न पट्याइलाग्दो भाषणबाजी न त अन्य तामझामको चटारो । ट्याक्क छाती नजिक पारेर किताब उठायो, फोटो खिचायो... बस् भइहाल्यो । आखिर किताबको अनुहार देखाउने नै हो । जसरी देखाए पनि भइहाल्छ । यो परम्परागत् विमोचनभन्दा छिटो, छरितो र किफायतीमात्रै होइन कम हानिकारक पनि थियो ।
अब यहाँचाहिँ अलिकति नाटकीयता पनि आउने भयो । हामीलाई किताब बिमोचन गर्नुमात्रै छैन, त्यसको बारेमा दुनियाँलाई थाहा दिनु पनि छ । त्यो पनि शेक्सपियरकै आँगनमा गरेको हो है भनेर प्रमाणित गर्नु पनि छ । त्यसैले होला सबैका मोबाइलले एङ्गल नियाल्ने काम गरे । शेक्सपियरको घर राम्रोसित आउने गरीको बिन्दु प्रष्ट भएपछि हामी फोटोग्राफरको खोजी गर्छौँ । एउटी बूढी आमै समुस्कान हाम्रो फोटो खिचिदिन तयार भइन् । हामी एउटा एउटा किताब समातेर लाइनै उभिन्छौँ लघुकथाका अन्तर्राष्ट्रिय संयोजक बजगाईँ दाजुलाई बीचमा पारेर । यतिबेला श्रीओम दाजुको भलाद्मी अनुहार आँखामा झल्झली आइरहेको छ । हँसिली बूढी आमैले फोटो क्लिक गरिदिन्छिन् र हामीबाट फोटो अनुमोदित भएपछिमात्रै बाटो लाग्छिन् । हामी आमैको बिनम्रतालाई हार्दिकतापूर्वक ग्रहण गर्छौँ ।
‘ल है... यो ऐतिहासिक काम भयो... शेक्सपियरको जन्मथलोमा पहिलोपटक नेपाली किताबकोे विमोचन गरियो ।’ कृष्ण दाजुको घोषणा थियो ।
‘लौ हामीलाई बधाइ छ...।’ खुसी हुने बाटो थियो । थाहा छैन, यो कामले के–कस्तो ऐतिहासिक महत्व राख्दछ कृष्ण दाजुले भनेझैँ । तर यहाँ भावनात्मक सन्तुष्टिचाहिँ पर्याप्त मिलेकै हो । यो भावनात्मक अनुभूतिले नेपाली साहित्यमा ठूलो योगदान त केही नदेला.... तैपनि आफैँभित्रचाहिँ छुट्टै तरङ्ग पैदा हुँदोरहेछ । सायद किताबका सम्पादक श्रीओम श्रेष्ठ र यस सङ्ग्रहमा अटाएका १३ जना लेखकहरुलाई चाहिँ पक्कै उर्जा दिनेछ । आफ्नो त जीवनकालकै पहिलो काम थियो यो, त्यसैले होला पछिसम्म पनि कसो कसो लागिरहेको थियो । यो किताब पढेको त छैन । तर प्रतिनिधि सङ्ग्रह भनेपछि नेपाली लघुकथाको इतिहासमा यसले पक्कै नै अलग्गै महत्व राख्नेछ । एउटा कुरा विमोचनचाहिँ मलाई ठ्याक्कै लघुकथाको स्वभाव सुहाउँदो लागिरहेको थियो । हठात्, विनायोजना सुरु भएर क्षणभरमै सकिने तर अन्त्यमा प्रभावशाली स्पर्श गरेर जाने ! पुस्तक विमोचनको प्रकृति र लघुकथाको आत्मगत विशेषता एकै भएन र ? उसमाथि महान् नाटककार शेक्सपियरको आँगनमा ‘नेपाली बाङ्मयको पहिलो कृतिको विमोचन’ गर्ने हातमध्ये एक जोडी हात आफ्नो पनि भएकोमा अलिकति त खुशीले फुल्नै प¥यो नि होइन र ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु