दार्जिलिङे नेपाली उपन्यासमा प्रतिविम्बित राजनैतिक परिदृश्य

- नवीन पौड्याल

१. आमुख-
प्रस्तुत लेखमा दार्जिलिङ भन्नाले दार्जिलिङ, खरसाङ, सिलगडी र कालिम्पोङ महकुमा बुझिन्छ। कालिम्पोङ महकुमा २०१६ देखि जिल्ला घोषित भए तापनि विगतका वर्षहरूमा दार्जिलिङकै महकुमाभित्र हुनाले समग्रमा दार्जिलिङ जिल्लाभित्रै रहेको बुझिन्छ। यसमा नेपाली भाषामा लेखिएका विभिन्न उपन्यासभित्र राजनैतिक पक्षको मात्र संक्षिप्त अध्ययन गर्ने कोसिस गरिएको छ।
२. दार्जिलिङको राजनैतिक परिस्थितिको विकासक्रम –
दार्जिलिङलाई पहिले चिया, पर्यटन र काठको निम्ति प्रसिद्ध स्थान मानिन्थ्यो भने अस्सीको दशकदेखि यता आन्दोलन गर्ने स्थान भनेर पनि चिनिन्छ। दार्जिलिङमा किन आनदोलन अशान्ति, अन्योलको स्थिति सृजना भइरहन्छ भन्ने विषयमा आफ्नो आफ्नो राय, विचार, निर्क्योल र निष्कर्ष हुन्छ। यद्यपि यो आन्दोलन दार्जिलिङका मूल बासिन्दा गोर्खालीहरूले आफ्नो छुट्टै प्रशासनिक व्यवस्थाको घर र आस्तित्विक परिचय निर्माणको निम्ति गरिएको हो। यसका निम्ति गोर्खालीहरूले संघर्ष गरेको इतिहास लामो छ। सन् १९०७ सालमा हिलम्यान एसोसिसएनको ब्रिटिस सरकार अधीनको अधिकारीहरूलाई दस्तावेजी माग गरेदेखि हालसम्म अनेक पटक मेमोरेन्डम र हिंसात्मक आन्दोलन जारी छ। बंगालको प्रान्तीय दिललीको केन्द्रीय सरकारको नजरअन्दाज हुँदै आएको दार्जिलिङ र दार्जिलिङवासी एकप्रकारले असन्तुष्ट छन्। दार्जिलिङ र यहाँको मूल वासिन्दाहरूको भाषिक, जातीय, सांस्कृतिक, राजनैतिक, आर्थिक आदि कुरामा सरकारी पक्षबाट गरिएको हेल्चेक्राईं, किनारीकरण, हेय दृष्टि, विदेशीको लाञ्छना, समान अवसरको कमी, उदासीनता आदि कारणहरूले दार्जिलिङका मूल बासिन्दा गोर्खालीहरू वर्षोदेखि आन्दोलित, उद्वेलित र असुरक्षित छन्। हिलम्यान एसोसिएसन, गोर्खालीग, कम्निस्ट पार्टी, प्रान्त परिषद्, गोरामुमो, क्रामाकपा, गोजमुमो आदि जस्ता अनेक राजनैतिक दलहरूले छुटटै प्रशासनिक व्यवस्थाका निम्ति आन्दोलन गरिरहे। सन् १९८६ सालदेखिको २२ महिने हिंसात्मक आन्दोलन र २००७ देखिको अहिंसात्मक आन्दोलन सम्पन्न भए। यदयपि अझैसम्म पनि दार्जिलिङको राजनैतिक समस्या समाधान भएको छैन।
३. नेपाली उपन्यास र दार्जिलिङमा नेपाली उपन्यास लेखनको परम्परा-
नेपाली उपन्यास साहित्यको विकासमा दार्जिलिङको महत्त्वपूर्ण योगदान रहेको छ। दार्जिलिङको नेपाली लेखनले प्रतिमानसिंह लामाको सन् १९२७ प्रकाशित तर अप्राप्य उपन्यास महाकाल जासुस देखि आजसम्मम लगभग नब्बे वर्ष पार गर्दैछ यस अवधिमा लगभग तीनसय भन्दा बढी उपन्यास प्रकाशित भइसकेका छन्। दार्जिलिङे नेपाली उपन्यास लेखनको परम्पराले विभिन्न मोड उपमोड चरण-उपचरण पार गर्दै धेरै विषयवस्तु समेट्दै सामाजिक आर्थिक, राजनैतिक भौगोलिक अवस्थाको चित्रण- प्रतिविम्बन गर्दै आएको पाइन्छ।
भारतीय नेपाली समाज, भाषा, साहित्य, संस्कृति, मानसिकता र चारित्रिक विशेषता आदिको संवर्द्धित, प्रवर्द्धित र रूपान्तरित हुने गरेको केन्द्रस्थल दार्जिलिङ जिल्ला हो भने यहाँबाट प्रकाशित उपन्यासहरूले पनि समयसापेक्ष यीनै कुरालाई प्रतिविम्बित गरेको पाइन्छ। दार्जिलिङको पहिलो बनिएको महाकाल जासुस उपन्यासमा नै राजनैतिक चेतनाको प्रतिबिम्बन भएको उल्लेख पाइन्छ भने आज रमिता छ, दुई मुहान एक स्रोत, यञ्त्रणा, नयाँ क्षितिजको खोज, भुँवरी, मने, लुङखुम क्याम्प, वास सल्किरहेछ, माटोको माया, चालिस दिन इत्यादि जस्ता उपन्यासमा प्रत्यक्ष रूपमा राजनैतिक अवस्थाको चित्रण – वर्णन गरिएको पाइन्छ भने अन्य धेरै उपन्यासमा परोक्ष रूपमा यहाँको राजनैतिक चेतनाको प्रतिविम्बन भएको पाइन्छ। दार्जिलिङलगायत भारतमा रैथानै भई रहेका नेपाली-गोर्खालीहरूले भारतको मूलधारामा राम्रो समावेश नपाएको, जहाँ र जहिले पनि बाहिरियाको संज्ञा पाएको र यहाँको सत्तामूलक राजनिती कोल्टे नीति अपनाएको कुरा यहाँका उपन्यासमा चित्रित भएको पाइन्छ। यहाँको मानिसहरूको मानसिकतामा नै असन्तुष्टि, असुरक्षा, अराजकता र संत्रासको भावना सल्बलाएको कुरा उपन्यास पढेर पनि थाहा पाइन्छ। अतः यहाँका उपन्यासहरूमा राजनैतिक अवस्थाको निरन्तर बदलिँदो अवस्थाको समयसापेक्ष चित्रण पाइन्छ।
३.१. आज रमिता छ उपन्यासमा राजनैतिक चेतना - इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ (१९६४) मा दार्जिलिङे राजनैतिक परिदृश्य स्पष्ट देखा पर्छ। उपन्यासको मूल पात्र जनक, भूदेव राजनैतिक कर्मी हुन् भने रवि, हरि, पार्थिव आदि राजनैतिक रूचि लिएको नवयुवक हुन्। चियाकमानहरूमा व्याप्त अत्याचारका विरूद्ध श्रमिकहरू संगठित हुन थालेका छन्। दार्जिलिङ शहरमा विभिन्न कमानहरूबाट श्रमिकहरू दिनदिनै जुलुस गर्दै हिँडेको देखाइएको छ। चियाश्रमिकवर्ग र मालिकवर्गबीच संघर्षस्वरूप दार्जिलिङ शहरमा विकराल रूप लिएको थियो जसको फलस्वरूप सन् १९५५ सालमा मार्गरेट्स होप गोलीकाण्डमा परी आठजना श्रमिकहरू मृत्यु भएको कुरा उपन्यासमा प्रतिविम्वित भएको देखाइएको छ। चियाकमानमा मजदूरहरूलाई थोरै ज्याला दिएर मालिकवर्गको मुनाफाखोरी प्रथा कायम रहेको देखाइएको छ। यद्यपि मालिकवर्ग शोषणलाई लिएर राजनैतिक दल र नेताको प्रादुर्भाव भएको तथ्य पाइन्छ। त्यसलाई राजनैतिक मुद्दा बनाएर केही अवसरवादी व्यक्तिहरू नेता बनेर राजनैतिक फाइदा लिएको तथ्य प्रकास पारिएको छ। नेताहरूले श्रमिकहरूलाई आन्दोलनको जुलुसमा हिँडाउनु, प्रशासनिक सुरक्षा शक्तिसँग मुडभेड गराउनु केही आन्दोलनकारी मर्नु, विद्रोहीहरूका क्रियाकलाप ठप्प पार्नु निषेधाज्ञा जारी हुनु र त्यही सरकारी निषेधाज्ञाको उल्लङ्घन गराएर श्रमिकहरूको ठुलो समावेश एवम् सभा गराउन उपन्यासकारको राजनैतिक चेतना स्पष्ट देखिन्छ। जस योञ्जन प्यासीले यस उपन्यासलाई प्रगतिवादी उपन्यासको रूपमा प्रस्तुत गरेका छन्। यद्पि यसलाई प्रगतिवादी उपन्यासभन्दा राजनैतिक चेतनामूलक उपन्यास मान्न सकिन्छ। आज रमिता छ उपन्यासमा भूदेव यस्तै अवसरवादी नेताको रूपमा प्रस्तुत छ। उपन्यासमा दुई प्रकारका राजनैतिक कर्मी देखाइएको छ - सचेत राजनैतिक र असचेत राजनैतिक कर्मी। भूदेव, जनक, रवि, हरि पार्थिव आदि सचेत कर्मी हुन् भने चियाकमानका मानिसहरू असचेत समावेश छन्। उनीहरू र्रो नबुझी अरूको कुरामा लागी बहकिएर, कराउँदै, ठट्टामा जुलुसमा सामेल हुन्छ। पुलिसले जुलुसलाई निषेधाज्ञा लाएर चेतावनी दिँदा पनि त्यसलाई गम्भीरतासँग नलिइ अघि भड्ने हुँदा अनाहकमा आठजनाको मृत्यु हुन्छ। दार्जिलिङक चियाकमान र शहरमा अहिले पनि त्यही असचेत राजनिती खेल सम्पन्न भइरहेछन्।
३.२. इन्द्र सुन्दासका उपन्यासमा राजनैतिक चेतनाको संकेत - इन्द्र सुन्दासका चावटा उपन्यासमा राजनिती चेतनाका केही प्रभाव देखिन्छ। मङ्गली (१९५८) उपन्यासमा दोस्रो विश्वयुद्ध र दार्जिलिङमा परेको प्रभावलाई देखाइएको छ। ब्रिटिसहरूले भारतमा शासन गरेको समयमा दार्जिलिङको चिया खेती र मजदूरहरूप्रति चियाबगानका मालिक र व्यवस्थापकहरूको अन्यायमूलक क्रियाकलापको वर्णन गरिएकोछ। सुन्दासका जुनेली रेखा र सहारा उपन्यासमा दार्जिलिङका चियाकमानमा प्रचलित अन्यायको पराकाष्ट ह्ट्टाबाहिर प्रथाको उल्लेख गरिएकोछ। त्यहाँ व्याप्त श्रमिकहरूमाथिको आर्थिक, सामाजिक शोषण र अत्यचारका विरूद्ध श्रमिकहरू भित्रभित्र विक्षोभ, आक्रोस र असन्तुष्टी बड्दैगएको देखिन्छ। आफ्नो हक र अधिकारको निम्ति संघर्षको मार्ग सोझै नगएर पनि विद्रोहको आगोको धुँवा उठन लागेको देखिन्छ। विद्रोहस्वरूप जुनेली रेखामा जसे र मालिनी तथा सहारामा भाइमान र हौदेनी कमानबाट पलायन भई दार्जिलिङ शहर र कलकत्तामा बस्न थाल्छन्।
३.२. असित राईका केही उपन्यासमा राजनैतिक चेतना – असीत राईका जम्मा बीसवटा उपन्यासमध्ये दुइवटा उपन्यास नयाँ क्षितिजको खोज र यञ्त्रणामा भने राजनैतिक चेतना प्रवल पाइन्छ। नयाँ क्षितिजको खोज उपन्यासमा गोर्खालीहरूको अठारौं शताब्दीको उत्तरार्धतिर दार्जिलिङमा आगमन, भारतमा ब्रिटिसको शासन रहँदा दार्जिलिङको पहाड उनीहरूको निम्ति विशेष आकर्षणको केन्द्र र यहाँ दार्जिलिङ शहर सथापना गर्नु र अन्य विभिन्न निर्माण कार्य र चियाकमानको थालनी भएको, श्रमिकहरू खोजीखोजी ल्याएर काममा दलाएको पुस्ता दरपुस्ता दार्जिलिङमा रहँदै आएको तथ्य परिलक्षित छ। दाजिलिङमा गोर्खालीहरू जिजु-च्याब्जुदेखि पछिल्ला पुस्ताका नाति पनातिसम्मको सन्ततिको सामाजिक, आर्थिक राजनैतिक स्थितिको वर्णन गरिएको छ। विस्तारै विस्तार चियाश्रमिकहरू राजनिती गर्नथालेका छन् र आफ्नो राजनैतिक हक र अधिकारको निम्ति संघर्षको मार्ग अवलम्बन गर्न थालेको तथ्यलाई दर्साइएको छ। अघिल्लो पुस्तालाई आफ्नो जीवन धान्न नै धौधौ परेको तर पछिल्लो पुस्ता भने आफ्नो राजनैतिक हक, समानता, अन्याय अत्याचारको विरोध गर्न संघषशील र सचेत देखाइएको छ। यञ्त्रणा उपन्यास भने विशुद्ध रूपमा राजनैतिक चेतनामूलक बनेको छ। उपन्यासको मुख्य पात्र चन्द्रबहादुरले एउटा चियाकमानका चिया श्रमिकहरूलाई राजनैतिक रूपमा सचेत गराउन दिनरात वैचारिक, शारीरिक, सांगठनिक सङ्घर्ष गर्दछ साथै सबैलाई चेतनाको पुल्ठो बाल्दछ। यसलाई प्रगतिवादी उपन्यास मानिन्छ। चन्द्रबहादुरले कार्लमार्क्सको द्वनद्वात्मक भौतिकवादी सिद्धान्तलाई अवलम्बन गरी सर्वहारावर्गको हक र हित दिलाउन,चियाकमानका मजदूरहरूको दैनिक रोज, केही सुविधा र समनाफा वितरणका निम्ति मालिकवर्गसित संघर्ष गर्दछ। उसलाई सघाउन अरू पनि आउँदछन् तर मालिकका वफादार मानिसहरू श्रमिकको स्वार्थको विपरीत मालिककै स्वार्थलाई सहयोग गरिरहेका हुन्छन्।
३.३. सुवास घिसिङका केही उपन्यासमा राजनैतिक चेतना - सुवास घिसिङका केही उपन्यासमा राजनितीका पक्षहरू समावेश छन्। विशेषगरी उनको मने उपन्यासमा राजनैतिक चेतना प्रबल छ। लुङखुम क्याम्प उपन्यास नागालेन्डको क्याम्पमा बसेर बर्मासित लडाई गर्नुपर्दा विरक्तिको भाव उब्जेको हुनाले पल्टनको नोकरी नै छोडेको कथावस्तु पाइन्छ। मने उपन्यासमा उपन्यासकारले मुरली बजाई मागी खाँदैहिँड्ने मनेलाई गढी गढीतिर माग्न लाएका छन्। गढी जति सबै हाम्रो गोर्खालीको किपट हो भन्ने भाव लिन लगाएर सिलगढी धुपगढी, मैनागढी, जलपाइगढी आदि स्थानतिर माग्न पठाउँछन्। दार्जिलिङ हाम्रो हो र यो भूभाग हाम्रो राजनैतिक स्वत्वधिकारभित्र पर्नुपर्छ भन्ने भाव जगाइएको छ।
३.४. भगीरथ रावतका उपन्यासमा राजनैतिक चेतना - भगीरथ रावतका माटोको माया र बास सल्किरहेछ उपन्यासमा राजनितीको प्रभाव पाइन्छ। यद्यपि बास सल्किरहेछ उपन्यासमा अखिल भारतीय गोर्खालीग दलका संस्थापक डम्बरसिंह गुरूङ र अडिबहादुर गुरूङको पारिवारिक पृष्ठभूमि जीवनी र कार्यकलापलाई झल्काइएको छ।
३.५. बालकृष्ण थापाको हट्टाबाहिर उपन्यासमा दार्जिलिङको चियाकमानमा विदयमान हट्टाबाहिर प्रथामाथि प्रकाश पारिएको छ।
४. निष्कर्ष- दार्जिलिङबाट प्रकाशित उपन्यासहरूमा राजनैतिक चेतनामूलक उपन्यास थोरै नै देखिन्छन्। यसमा प्रत्यक्ष र परोक्ष राजनैतिक चेतना गरी दुइ किसिमका पाइन्छन्। इन्द्रबहादुर राईको सन् १९६४ म प्रकाशित आज रमिता छ उपन्यासमा राजनितीका विभिन्न पाटाहरूको उदघाटित भएका छन् भने असीत राईको यञ्त्रणा, हर्क योञ्जन विरहीको दुई मुहान एक स्रोत, भगीरथ रावतको बास सल्किरहेछ माटोके माया र बालकृष्ण थापाको ह्टाबाहिर आदिमा पनि प्रत्यक्ष राजनितीप्रेरित चेतना पाइन्छ। इन्द्र सुन्दास, सुवास घिसिङ, आदिका उपन्यासमा भने परोक्ष रूपमा पाइन्छ। दार्जिलिङ पहाडमा गोर्खालीहरू शोषित लाञ्छित भएर बस्नुपरेको, सत्तादेखि धेरै टाडा हुनाले यहाँको आवाज सत्ताको केन्द्रमा नपुग्नु, सत्ताको सहभागी नहुनु, विदेशीको लाञ्छना लाग्नु जस्त कारणले दार्जिलिङमा गत एक सय वर्षदेखि आफ्नो छुट्टै राजनैतिक र प्रशासनिक व्यवस्थाको माग गर्दै आइरहेछन् । यहाँका केही उपन्यासमा तिनै कुराहरू प्रतिविम्बित भएका छन्। यदयपि जति संख्यामा उपन्यास प्रकाशित भए तिनको अनुपातमा राजनैतिक चेतनापरकका थोरै नै हुन् भन्न सकिन्छ।

पेदोङ सरकारी कलेज पेदोङ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 15 चैत्र, 2074

लेखकका अन्य रचनाहरु